रूद्र श्रीस मगर, पोखरा/ एचेकनेपाल डट कम-
मगर कला र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मायाको गाउँको पोखरा र काठमाडौं एकैसाथ प्रदर्शन हुने भएको छ।
यही आउँदो शनिबार १६ गते पोखराको पूर्णिमा चलचित्र घर न्यूरोड र काठमाडौंको राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुदै छ।
पोखरामा नेपाल मगर विद्यार्थी संघ कास्कीको आयोजनामा उक्त चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो।
बागलुङ जिल्लाको गलकोट र बागलुङ बजार तथा काठमाडौंमा छायांकन गरिएको उक्त चलचित्रमा मगर जातिको कला र संस्कृतिलाई विशेष प्राथमिकता दिइएको निर्माता एवम् नायक प्रकाश पुन मगरले जानकारी दिनुभयो। मगर जातिको सन्तान भएर पनि आफ्नो मातृभाषा बोल्न नजान्दाको पीडा उक्त चलचित्रमा देखाउन खोजिएको छ। साथै, आफ्नो मातृभाषा कतिसम्म प्यारो हुँदो रहेछ भन्ने कुरालाई यस चलचित्रले पुष्टि गर्न खोजेको निर्माता पुन मगरले जानकारी दिनुभयो।
चलचित्रमा प्रकाश पुन मगर, तारा पुन मगर, अनिता पुन मगर, ऋतिका काउचा मगर लगायतले अभिनय गरेका छन्। चलचित्र निर्माण भएपछि पहिलोपटक पोखरा र काठमाडौंमा एकैसाथ विशेष प्रदर्शन गर्न लागिएको चलचित्रका निर्देशक मानबहादुर बराल मगरले जानकारी दिनुभयो। नेपाली भाषामै भएकाले मगर जातिबाहेक अन्य जातिले समेत उक्त चलचित्र हेन सक्ने निर्माणपक्षले जानकारी दिएको छ।
रूद्र श्रीस मगर, पोखरा/ एचकेनेपाल डट कम -
युवा गजलकार अनुराग अधिकारीको पहिलो गजल एल्बम अनुपमको विहीबार पोखरामा एक कार्यक्रमका बीच विवेचना गरियो।
सो विवेचना कार्यक्रममा बोल्दै वरिष्ठ लोकगायिका एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइरालाले पाइरेसीका कारण सर्जकहरू मर्कामा परेको बताउनुभयो। पाइरेसीले नेपाली संगीत उद्योगलाई नै संकटमा पारेको बताउनुहुँदै उहाँले यस्तो अवस्थामा मोफसलमा रहेर सर्जकहरूलाई संर्घष गर्न निकै कठिन रहेको बताउनुभयो।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, पत्रकार तथा हिमदूत राष्ट्रिय दैनिकका सम्पादक बद्रीविनोद प्रतीक, कसमस समूह पोखराका अध्यक्ष तेजबहादुर गुरुङ, पोखरा एफ.एमका कार्यकारी निर्देशक उत्तममान बुद्धाचार्य, विग एफ.एमका स्टेशन म्यानेजर अमित रिजाल, ग्लोबल कलिजियट उच्च माविका प्राचार्य पदमराज ढकाल, ताराकुञ्ज बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल युवराज त्रिपाठी, मदरल्याण्ड उच्च माविका प्राचार्य त्रिभुवन शर्मा, माउण्ट अन्नपूर्ण उच्च माविका प्राचार्य रामजी शर्मा, प्याब्सनका केन्द्रीय सदस्य बाबुराम पन्तलगायतले बोल्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले युवा गजलकार अधिकारीले मोफसलमै बसेर संर्घष सुरु गर्नु साहसिक र चुनौतीपूर्ण रहेको बताएका थिए। उनीहरूले छोटो समयमै उक्त गजल एल्बमले राम्रो लोकप्रियता कमाउनुले सिर्जनाको उत्कृष्टतालाई कम आँक्न नमिल्ने धारणा राखेका थिए। आफ्नो एल्बममाथि विवेचना गरिदिनुहुने सबैलाई धन्यवाद दिँदै गजलकार अधिकारीले सबैको साथ र माया पाएकोमा आफू निकै हर्षित भएको बताउनुभयो। एल्बम रिलिज भएको ४ महिनामै एक हजार प्रति बिक्री भएको जानकारी दिँदै उहाँले आफूले छिट्टै अर्को गजल एल्बमको तयारी गरिरहेको जानकारी समेत दिनुभयो।
कार्यक्रममा अनुपम गजल एल्बमको प्रवर्द्धनका लागि सहयोग पुर्याएको भन्दै पोखराका विभिन्न सञ्चारमाध्यम, संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो।
यसरी प्रशंसापत्र पाउनेहरूमा माउण्ट अन्नपूर्ण उच्च मावि, पोखरा एफ.एम, विग एफ.एम, रेडियो गण्डकी, रेडियो अन्नपूर्ण, रेडियो बाराही, हिमचुली एफ.एम, रेडियो नेपाल, रेडियो सराङकोट, रेडियो तरंग, आदर्शसमाज राष्ट्रिय दैनिक, न्यूज मार्ट डेली, कसमस समूह, ग्लोबल कलिजियट उच्च मावि, हिलप्वाइन्ट हाइस्कूल, पद्मज्योति बोर्डिङ स्कूल, टप्स उच्च मावि, मदरल्याण्ड उच्च मावि, ओजोन बुक्स, क्याफे डी गार्डेन, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान र हिमालयन गार्डेन रहेका छन्।
गजल यात्रा साथी समूह पोखराका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा एफ.एमका स्टेशन म्यानेजर अमृत सूवर्णकारले सञ्चालन र कार्यक्रम संयोजक गोविन्द सुवेदीले स्वागत गर्नुभएको थियो। सो एल्बममा मलाई रुच्दैन तिम्रो बारेमा अरुले कुरा गरेको जस्ता चर्चित गजलसहित आठ गजल समावेश छन्। जसलाई लोकप्रिय र चर्चित गायक एवम् गायिकाहरू अञ्जु पन्त, जगदीश समाल, दीपक लिम्बू, शिव परियारलगायतले स्वर दिएका छन् भने गैरे सुरेशको एकल संगीत रहेको छ।
रिन्जी, केन्ट आशफोर्ड/ एचकेनेपाल डट कम-
केन्ट आशफोर्डमा युके शेर्पा किदुगको दोस्रो बैठक संस्थाका अध्यक्ष गोम्बा पिनासा शेर्पाको अध्यक्षतामा हालै सम्पन्न भएकोछ।
संस्थाका महासचिव रिन्जी टकतोक शेर्पाले बैठकमा उपस्थितिहरुलाई स्वागत तथा धन्यबाद दिएपछि कार्यक्रम अगाडी बढेको थियो। कार्यक्रमको प्रथम चरणमा संस्थाका कोषाध्यक्ष साना गोपर्मा शेर्पाले आयब्यय पढेर सुनाउनु भएको थियो भने उपाध्यक्ष दावासोनाम लामा शेर्पाले फांगी कार्यक्रमको हिसाबकिताब पेश गर्नुभएको थियो।
संस्थाका अध्यक्ष गोम्बा शेर्पाले युकेका शेर्पा समुदायको भाषा, संस्कृति तथा कला र आफ्नो मौलिकपनालाई जीवन्त राख्दै यस संस्थाले बिबिध कार्यक्रम गर्दै आएको र आर्थिक रुपमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्र नेपाललाई पनि सहयोग गर्दै आइरहेको जानकारी गराउनु भयो। हाल शेर्पाहरुको बाक्लो बसोबास रहेको लण्डनको पूर्बी शहर आशफोर्ड केन्टमा शेर्पा भाषा प्रशिक्षण गत अगस्त महिनाको २८ तारिखबाट सुरु भएको जानकारी पनि दिनु भयो। प्रशिक्षण दिनको लागि लामा पासांग नुरु शेर्पालाई बैठकले औपचारिकरुपमा प्रस्ताब पास गरेको छ।
आसफोर्ड केन्ट, शेर्पा किदुग शाखाका अध्यक्ष निमा लामा शेर्पाले यस शाखाले गरेका गतिबिधिबारे प्रकाश पर्नु भएको थियो भने युरोपियन शेर्पा संघका अध्यक्ष आंग कल्जांग लामा शेर्पाले युरोपियन शेर्पा संघको उद्धेश्य साथै निकट भविष्यका कार्ययोजनामाथि प्रकाश पार्नु भएको थियो।
बैठकमा कर्मा सिंग लामा शेर्पाले सिक्किम देजोंग शेर्पा एसोसिएसनले शिक्षा क्षेत्रमा गरेका प्रगति र समस्याका बारेमा जानकारी गराउनु भयो। फूर्बा गर्जा शेर्पा, सोनलाक्पा लामा शेर्पा, फुर्बा लामा शेर्पाबाट जेहेन्दार तथा उत्कृष्ट शेर्पा बिधार्थीहरुलाई पुरस्कार तथा प्रशंसापत्र दिने व्यवस्था साथै बिबिध बिषय सम्बन्धि सवाल जबाफ तथा छलफल भएको थियो।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
आठ वुँदे हिले घोषणा पत्र जारी गर्दै रेडियो प्रसारक सङ्घ सामुदायिक अकोराबको पूर्वाञ्चल क्षेत्रीय भेला धनकुटाको हिलेमा सम्पन्न भएको छ।
अकोराबले न्यूनतम पारिश्रमिक निर्धारण समितिसंग संयुक्त रुपमा आयोजना गरेको क्षेत्रीय भेलामा जारी आठ वुँदे घोषणा पत्र जारी गर्दै विहीबार सम्पन्न भएको हो। उक्त घोषणापत्रमा सामुदायिक रेडियोहरुलाई छुट्टै परिचान वनाउँनु पहल गर्ने, सामुदायिक रेडियोहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि व्यवस्थापन, लेखा, प्राविधिक जस्ता तालिम गर्न पहल गर्ने लगायतका उल्लेख गरिएको छ।
त्यस्तै रेडियो फ्रिक्विन्स व्यवस्थित गर्न पहल गर्ने, रेजिनल हव स्रोत केन्द्रको रुपमा विकास गर्न आवश्यक पहल गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरे अनुसारको पारिश्रमिक सामुदायिक रेडियोहरुले लागु गर्न प्रतिवद्धता जनाउँनु पर्ने, सी.आइ.एन.को वुलेटिन थप्न पहल गर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ।
विहीबार सम्पन्न भेला २ चरणमा गरिएको थियो। पहिलो चरणमा न्यूनतम पारिश्रमिक निर्धारण समिति र सामुदायिक रेडियोहरुका प्रतिनिधिहरुसंघ छलफल गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा सामुदायिक रेडियोहरुले अनुभव साटासाट गरेका थिए। कार्यक्रममा १९ वटा सामुदायिक रेडियोहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
ओराबका पूर्वाञ्चल उपाध्यक्ष ङीमा पाख्रिनको अध्यक्षतामा सम्पन्न न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्ट, अकोरावका केन्द्रिय कोषाध्यक्ष सुवास खतिवडा, सदस्य राजेन्द्र किराती, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य स्नेह सायमी, संगीता खड्का, रेडियो मकालु धनकुटाका प्रवन्ध निर्देशक कुलप्रसाद राई, नेपाल पत्रकार महासंघ धनकुटाका सभापति विजय सन्तोषी राईलगायतल वोलेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई थमौती गर्ने राष्ट्रपतिको कदमबिरुद्ध परेको रिटलाई विहीवार खारेज गरिदिएको छ।
राष्ट्रपतिविरूद्ध परेको रिटलाई न्यायाधीशत्रय तपबहादुर मगर, प्रेम शर्मा र मोहनप्रसाद सिटौलाको पूर्ण इजालसले खारेज गरि दिएपछि सेनापति प्रकरण समाप्त भएको छ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा बर्खास्त गरिएका तत्कालिन सेनापति कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले पुनर्वहाली गरेपछि राष्ट्रपतिको कदमविरूद्ध रिट परेको थियो।
न्यायधीशत्रयको पूर्ण इजालसले रिटलाई जारी गरिरहनु पर्ने नदेखिएको भन्दै खारेज गरेको हो।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०६६ बैशाख २० गते सरकारको निर्देशन नमानेको भन्दै कटवाललाई हटाएर तत्कालिन रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्ति गरेका थिए। सोही राति राष्ट्रपतिले तत्कालीन प्रधानसेनापति कटुवाललाई यथास्थानमै रहेर कार्यसञ्चालन गर्न पत्र थमौती गरेपछि सेनापति प्रकरण उत्कर्षमा पुगेको थियो।
सेनापति प्रकरणकै कारण प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका थिए।
सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित रोमान्टिक गीत “सपनीमा देखेकीलाई कहाँ पठाउं चिठ्ठी” को म्युजिक भिडियो निर्माण भएको छ।
बेकिंग क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका गायक गोबिन्द गुरुङको स्वर तथा शक्ति बल्लभको संगीत रहेको उक्त गीतको भिडियो निर्देशन फुर्बा शेर्पाले गरेका छन्।
नन्दिता के. सी. र दीपर्शन जंग राणा। तस्वीरः सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम
म्युजिक भिडियो निर्माणमा अहिले निक्कै चर्चामा रहेका निर्देशक शेर्पाले नन्दिता के. सी. र दीपर्शन जंग राणालाई म्युजिक भिडियोमा उतारेका छन्।
धुलिखेलको रमणीय स्थलमा सागर प्रधानद्वारा छायाँकन गरिएको भिडियोको सम्पादन प्राज्वल श्रेष्ठले गरेका छन्। राष्ट्रकवि घिमेरेको उक्त गीत २०५१ सालमा ‘किन्नर किन्नरी’मा प्रकाशित भएको हो।
निर्देशक शेर्पा र छायांकार प्रधान यो वर्षको इमेज अवार्डमा ‘यौवनमा त तिम्रो..’ गीतको म्युजिक भिडियोको लागि सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट क्यामरमेनमा नोमिनेशनमा परेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरिया जानका लागि दिएको कोरियन भाषा परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्।
विहीवार सार्वजनिक गरिएको नतिजा अनुसार कोरियन भाषा परीक्षामा ४ हजार १ सय ८० जना उतीर्ण भएका छन्। भदौ १२ र १३ गते लिएको परीक्षामा ३६ हजार १ सय ८१ जना सहभागी थिए भने ४२ हजार ४७ जनाले आवेदन दिएका थिए।
भाषा परीक्षामा उतीर्ण भएका कामदारहरूको स्वास्थ्य परीक्षण, रोजगारीका लागि आवेदन फाराम भरेर रोस्टरमा राखिन्छ। कोरियाबाट रोजगारदाताले माग गरेको आधारमा रोस्टरमा रहेका नेपालीले कोरिया जान पाउने इपिएस नेपालका संयोजक महेश आचार्यले बताए।
कोरियाले चार हजार कामदार लिने घोषणा गरे अनुरूप भाषा परीक्षा लिइएको थियो।
उतीर्ण भएकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्
एचकेनेपाल डट कम संवाददाता-
प्रधानसेनापति छत्रमानसिंह गुरुङ असोज १८ गते सोमवार बेलायत भ्रमणमा जाने भएका छन्।
बेलायती सेनाका पूर्व प्रमुख सर डेभिड रिचार्डको निमन्त्रणामा प्रधान सेनापति गुरूङ पाँच दिने बेलायत भ्रमणमा जान लागेका हुन्।
प्रधानसेनापति गुरूङसंगै श्रीमती कमला र उपरथी नेत्रबहादुर थापा पनि जाने बेलायती दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रधानसेनापति गुरूङको बेलायत भ्रमणको क्रममा दुई देशका सेना प्रमुखहरुले भ्रमणका क्रममा द्विपक्षीय हीत, राष्ट्रसंघीय शान्ति स्थापनामा सहयोग, बेलायती सेनामा रहेका गोर्खा सैनिक तथा नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ।
भ्रमण क्रममा गुरूङले परराष्ट्र मन्त्रालयका अधिकारीहरु तथा अन्तरराष्ट्रिय विकास विभागका अधिकारीहरुसंग पनि छलफल गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, प्रधान सेनापति गुरूङले विशेष तालिम प्राप्त रोयल गोर्खा राइफल बटालियनमा समेत भ्रमण गर्ने जनाइएको छ।
प्रधानसेनापति गुरूङको भ्रमण टोली घटनास्थापनाको दिन स्वदेश फर्कने कार्यक्रम छ।
एचकेनेपाल डट कम संवाददाता-
पूर्वपश्चिम राजमार्गअन्तरगत दाङ देउखुरी रिहार नजिक विहीवार विहान बस दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा बर्दिया जिल्ला कालीका गाविस- ८ का ४२ वर्षीया मंगलादेबी कार्की र धनुषा घर भएका २८ वर्षीय लक्ष्मीकान्त झा रहेका छन्।
दुर्घटनामा बर्दीयाका ५३ बर्षीय रणबहादुर केसीसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ। घाइते केसीको सामुदायिक अस्पताल लमहीमा र अन्यलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।
दुई वटा बस एकपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
युवराज बराल, क्वालाम्पुर, मलेसिया/एचकेनेपाल डट कम -
क्षेत्री समाज मलेसिया शाखाले मलेसियामा रहेर लामो समयदेखि बिबिध क्षेत्रमा सक्रिय योगदान पुर्याउने नेपाली श्रमिकहरुलाई सम्मान गरेको छ।
सेप्टेम्बर २६ तारिखका दिन कोतरायास्थित सोल्टी रेष्टुरेन्टको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा सम्मान हुनेहरुमा साहित्य क्षेत्रमा अतुलनिय योगदान पुर्याउने इन्द्र नारथुङ्गे, श्रीजन श्री, खेल क्षेत्रमा शेरमान बुढा मगर, पत्रकारिता क्षेत्रमा सुन्दर आले, युवराज बराल, कलाकारिता क्षेत्रमा अगम गुरुङ, सन्तोष लामा, सामाजिक क्षेत्रमा कर्णबहादुर धामी, अनिल पालुङवा, तेजकुमार राई साथै क्षत्री समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दिलबहादुर सेन्चुरी रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूताबासबाट श्रम सहचारी श्री सुर्यनाथ भण्डारी, अतिथिहरुमा समाजका संरक्षक दीपक बोगटी, ताप्लेजुङ्ग प्रबास समितिबाट पञ्च थुलुङ्ग, इलामेली जनसर्म्पर्क मञ्चबाट होमप्रसाद भट्टराई, सुदूरपश्चिम सेवा समाजबाट टेकबहादुर बुढा, नेपाल श्रमिक संगठनबाट धर्मराज श्रेष्ठ, अ.ने.सा.स.बाट रुबेन पुन मगर, एन.आर.एन.बाट जीबन देवान, प्रबासी मगर संघबाट खुम राना मगर लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा बोल्दै सम्मानित ब्यक्तिहरु इन्द्र नारथुङ्गे, तेजकुमार राई, श्रीजन श्री, सन्तोष लामा, कर्णबहादुर धामीले प्रथमपटक सबै क्षेत्रलाई समेटेर मूल्याङ्कन गर्न भ्याएकोमा आफूहरुलाई खुशी लागेको बताएका थिए । साथै समाजलाई उचित सल्लाह, सुझाब दिँदै अझ शसक्त ढंगले अगाडि बढोस् भन्ने शुभकामना दिएका थिए।
सोही अवसरमा बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाली दूताबासका श्रम सहचारी सूर्यनाथ भण्डारीले श्रमिकको चाप अत्यन्तै भएको हुँदा श्रमिकहरुका समस्याहरु पूर्णरुपले समाधान हुन नसकेको खुलासा गर्दै आफूहरु सकेसम्म समस्या समाधानका लागि लागिपरेको बताउनुभयो। उहाँले आफ्नो अनुभबहरु सुनाउँदै आगामी दिनहरुमा मलेसियामा कार्यरत श्रमिकहरुका समस्यालाई द्रुत गतिले समाधान गर्ने दृढ बिश्वास दिनुभयो । कार्यक्रम सोचे अनुरुप भन्दापनि फरक भएको बताउदै मलेसियामा रहेका संघ संस्थाहरुको प्रतिनिधित्व गरी पाल्नुभएका प्रतिनिधिहरुलाई एकै ठाउँमा जमघट गरी आफ्ना मनका भावना, गुनासा, सुझाब र सल्लाह दिन पाएकोमा आभार प्रकट गर्नुभयो। संरक्षक बोगटीले आफू श्रमिक जीबनबाटै प्रवेश गरेर सफल ब्यबसायी बन्न सकेको जानकारी गराउँदै छोटो समयमा समाजलाई स्थापित बनाउनमा पदाधिकारीहरुलाई धन्यबाद दिनुभयो।
सोही अवसरमा समाजलाई समाजको स्थापना, बिस्तार र स्थापित गराउनमा प्रमुख भूमिका निर्बाह गर्नुहुने राजु क्षेत्री ‘अपुरो’लाई मायाको चिनोसहित सम्मान-पत्रले कदर गर्नुभएको थियो।
यसै अवसरमा मलेसियामा खेलकुद, पत्रकारिता, साहित्य र समाज सेवामा पुर्याएको उचित कदर गर्दै प्यूठान सेवा समाजले पनि राजु क्षेत्री ‘अपुरो’लाई सम्मान गरेको थियो।
राष्ट्रिय गान, शहिदहरुप्रति मौनधारणपश्चात् भरत अधिकारीद्वारा स्वागत मन्तब्य रहेको सो कार्यक्रमको सञ्चालनमा रेशम खत्री रहेका थिए भने कार्यक्रमको सभापतित्व रामबहादुर रेग्मीले गरेका थिए। यसैगरी, दोश्रो चरणको छुट्टै कार्यक्रममा मलेसियामा स्थापित पत्रिका श्रम साप्ताहिकले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको कदर गर्दै राजु क्षेत्री ‘अपुरो’को बिदाई गरिएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
ठगीको आरोपमा शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारलाई बुधवार प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरको टोलीले उनलाई जैसीदेवलस्थित उनकै घरबाट पक्राउ गरेको हो।
पाइलट तालिम दिने भन्दै पाइलट तालिम लिने विद्यार्थीबाट करोडौ रूपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्। रञ्जितकार नेपालकै पहिलो फ्लाइङ स्कूल शिवानी एयरका सञ्चालकमध्येका एक हुन्।
यसअघि, शिवानी एयरका अर्का सञ्चालकले शिवेन्द्रबहादुर बस्नेतको तर्फबाट दाजु वीरेन्द्रले १ करोड ३५ लाख ५१ हजार रुपैयाँ पाइलट तालिम लिने विद्यार्थीलाई फिर्ता दिएका थिए। बाँकी ५० प्रतिशत रन्जितकारबाट असुल हुने गरी कागज पत्र गरेको थियो।
शिवेन्द्रले पैसा उठाएर फरार भएपछि शिवानीको सम्पूर्ण दायित्व रञ्जितकारले लिएका थिए। शिवेन्द्रले २३ देखि २६ लाखका दरले साढे ७ करोड रुपैयाँ लिएका थिए। २०६३ मा स्थापना भएको शिवानी एयरका संस्थापक शिवेन्द्रबहादुर बस्नेत हुन्।
शिवेन्द्रले करोडौ रूपैयाँ उठाएर फरार भएपछि नेपालकै पहिलो फ्लाइङ स्कूल संकटमा परेको हो।
एचकेनेपाल डट कम संवाददाता-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाबिना देश नचल्ने दाबी गरेका छन्।
सुनसरी सदरमुकाम इनरुवामा बुधबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै थापाले राजाबिना देशमा दिगो शान्ति स्थापना हुन नसक्ने बताउंदै राजाबिना नेपालको कल्पनासमेत गर्न नसकिने बताएका हुन्।
उनले संघीयता र राजतन्त्रवारे जनमत संग्रह गरिनु पर्ने बताए। राजनैतिक दलहरुको आपसी विवादका कारण देश खाडलमा फसेको उनको आरोप थियो।
एचकेनेपाल डट कम संवाददाता-
पूर्व वामपन्थी नेता राधाकृष्ण मैनाली बुधवार माओवादीमा प्रवेश गरेका छन्।
माओवादीले पेरिस डाँडास्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरी मैनालीलाई माओवादीमा स्वागत गरेका छन्। कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका शीर्ष नेताहरू सहभागी थिए।
झापा आन्दोलनका चर्चित नेता तथा एमाले स्थायी कमिटी सदस्य रहिसकेका मैनाली पछि शाहीकालमा शिक्षामन्त्रीसमेत भएका थिए।
मैनालीले प्रचण्डसंग बामपन्थी राजनीतिमा सक्रिय रहने इच्छा व्यक्त गरेपछि प्रचण्डको आग्रहमा उनी माओवादीमा प्रवेश गरेका हुन्।
एचकेनेपाल डट कम संवाददाता-
माओवादी, एमालेसहित ११ दलको संयुक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेससंग आग्रह गरेका गरेका छन्।
माओवादी संसदीय दलको कार्यालयमा बुधवार विहान बसेको संयुक्त बैठकले नेपाली कांग्रेससंग प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सहमतिको विकल्प नरहेको ठहर गर्दै काँग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ।
त्यसै गरी, काँग्रेसले उम्मेदवारी फिर्ता लिन नमाने सभामुखलाई बाधा अड्काउ फुकाउनका लागि आग्रह गर्ने र त्यसले पनि काम नगरे संसदको नियमावली संशोधनको प्रकृयामा जाने निर्णय गरेको छ।
आठौं पटकसम्म मतदान हुंदा पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेको छैन। प्रधानमन्त्री निर्वाचनको सातौं चरणमा माओवादीले उम्मेलवारी फिर्ता लिएको थियो भने कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल एक्लै प्रधानमन्त्रीका उम्मेदवार छन्।
सीता तमु, नारायणगढ चितवन/ एचकेनेपाल डट कम-
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद र तमुस्यो ह्युल छोंज धीं नगर समितीको संयुक्त आयोजनामा चितवनको भरतपुरस्थित तीनखोले सिद्धार्थ महाबौद्ध गुम्बामा तमु (गुरुङ) भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको छ।
कार्यक्रम उदघाटन कार्यक्रमका वक्ताहरुले तमु भाषा हाम्रो जातिय पहिचान भएकोले यसलाई संरक्षण सम्बर्धन गर्न सबै तमुहरु आ-आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिएका थिए।
तमुस्यो ह्युल छोंज धीं भरतपुर नगर समितीका अध्यक्ष मिना तमुस्योको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमुस्यो ह्युल छोंज धीको केन्द्रिय अध्यक्ष कमला तमु, नेपाल आदिबासी जनजाती महासंघ चितवनका अध्यक्ष पदम तमु, तमु पे ल्हु संघ चितवनका सचिव तुलाराम तमु, समाजसेवी रामप्रसाद घले, शारदा तमु लगायतले लोपोन्मुख अवस्थामा रहेको तमु भाषालाई जगेर्ना गर्न यो प्रशिक्षण कार्यक्रम फलदायी हुने बताए।
तीन हप्तासम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा कालिका एफएममा तमु भाषा कार्यक्रम सञ्चालिका सीता तमु, बलबहादुर तमु, शिवकमल तमु, दलप्रसाद तमु, उमिता तमु, हेमकाशी तमु, अनु तमुलगायतले प्रशिक्षण दिइ रहेका छन्। ६० जना प्रशिक्षार्थी रहेको सो तमु भाषा प्रशिक्षण कार्यक्रममा अधिकांश पाका तमु महिला पुरुष रहेका छन्।
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगर समितीका अध्यक्ष इशानबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बलबहादुर तमुले र तमुस्यो नगर अध्यक्ष योगमाया तमुले स्वागत गरेका थिए।
निहिता आमाछोरीलाई जेल बस्न नपर्ने
एचकेनेपाल डट कम, सेप्टेम्बर २९-
अधिवक्ता शकुन्तला थापा र उनकी छोरी निहीता विश्वासले अदालतलाई हर्जना तिरेपछि जेल बस्न नपर्ने भएको छ।
सर्वोच्च अदालतले अदालतको मानहानी गरेको आरोपमा उनीहरूलाई रु. ५० जरिवाना र सात दिन कैद सजाय गर्ने फैसला सुनाएको थियो। उनीहरूले मंगलवार सर्वोच्चले तोकेको जनही २ सय २५ रुपैयाँका दरले जरिवाना र सात दिनको कैदवापत १ सय ७५ रुपैयाँ हर्जना तिरेपछि जेल सजाय भोग्नु नपर्ने भएको हो।
उनीहरूले आइन्दा अदालतको मानहानि नगर्ने कागजसमेत गरेका छन्।
गत साउन १४ गते सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई कर्तव्यज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला सुनाउँदा निहिता आमाछोरीले न्यायाधीशहरूलाई पैसामा विकेको आरोप लगाउंदै गालीगलौज तथा मानहानि गरेका थिए।
निहिता आमाछोरीलाई सात दिन कैद
एचकेनेपाल डट कम, सेप्टेम्बर २७-
सर्वोच्च अदालतले अदालतको मानहानी गरेको आरोपमा अधिवक्ता शकुन्तला थापा र निजकी छोरी निहीता विश्वासलाई जनही रु ५० जरिवाना र सात दिन कैद सजाय गर्ने फैसला सुनाएको छ।
न्यायाधीश बलराम केसी र रामकुमारप्रसाद शाहको इजलाशले सो फैसला गरेको हो।
गत साउन १४ गते सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई कर्तव्यज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला सुनाउँदा आफूलाई शोभराजकी सासू समेत बताउने अधिवक्ता शकुन्तला थापाले अदालत परिसरमा नै ‘न्यायाधीशहरू पैसामा बिक्न थाले, यसको प्रमाण जुटाउन सक्छु’ भन्दै न्यायाधीशलाई गालीगलौज गरेकी थिइन्।
एचकेनेपाल डट कम संवाददाता-
असोज १४ गते हुने नवौँ पटकको प्रधानमन्त्री निर्वाचन रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
व्यवस्थापिका–संसदको कार्य सञ्चालन नियमावली नियम २२ विपरीत भन्दै अधिवक्ता संसदीय कानुन मञ्चका अध्यक्ष चन्द्रकान्त ज्ञवालीले रिट दायर गर्नुभएको हो।
असोज १४गते हुने प्रधानमन्त्री निर्वाचन रोक्न अन्य दलले गरेको तटस्थता तोड्न लगाउने र नयाँ निर्वाचनको मिति घोषणा गरी बहुदलीय प्रतिस्पर्धाबाट चुनाव गराउन आदेश गर्न माग गरिएको छ।
प्रधानमन्त्रीका लागि एमाओवादी अध्यक्षको उम्मेदवारी फिर्ता भइसकेको अवस्थामा नेका उपसभापतिको एकल उम्मेदवारी बहुदलीय मान्यता विपरीत भएको भन्दै सो रिट दायर गरिएको हो।
एचकेनेपाल डट कम संवाददाता-
सन् २००८ मा दक्षिण कोरियामा काम गर्न जानका लागि भाषा परीक्षासहित अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेका नेपालीले रोजगारीका लागि अविलम्ब कोरिया जाने वातावरण तयार पार्न सरकारसँग माग गरेका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) पीडित युवा सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा पीडितले सो माग गरेका हुन्। माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले बताएका छन्।
सो अवसरमा सङ्घका संयोजक ध्रुवप्रसाद आचार्यले उक्त प्रणालीअन्तर्गत सम्पूर्ण प्रक्रिया पुरा गरेर जानका निमित्त प्रतीक्षासूचीमा बसेका करिब ३५० जना नेपाली कामदारलाई त्यहाँ लैजान अगावै दोस्रो समूहका कामदारको छनोट प्रक्रिया अघि बढेकाले सरकारले पहिलेका पीडितलाई रोजगारीका लागि जाने वातावरण तयार पारिदिनुपर्ने माग गर्नुभयो।
पीडित उद्धव सेढाईं र रसबहादुर तामाङले आफूहरूले कोरिया काम गर्न जानका लागि प्रवेशाज्ञा शुल्कसमेत बुझाइसकेको भए पनि कामका लागि जाने अवसर नमिलेकाले घर परिवारमा मानसिकरुपमा चिन्ता थपिएको गुनासो गर्नुभयो।
अर्का पीडित सन्तोष घिमिरेले विगतमा नेपालबाट कोरिया जाने कामदार विभिन्न किसिमले दलालमार्फत ठगिँदै आएपछि सरकारले त्यसलाई नियन्त्रण गर्न यो प्रणाली लागु गरिएको भए पनि आफूहरू अहिले पनि ठगिएकाले सम्बन्धित पक्षले सहयोग गर्नुपर्ने माग गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली सेनाले सञ्चालन गरेको कल्याण कोषको रु १७ करोड रकम जोखिममा परेको छ।
नेपाल विकास बंैकमा रहेको सो कोषको रकम विकास बैंक टाट पल्टेकाले जोखिममा परेको हो।
नेपाली सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा सो बंैकमा रहेको रु १८ करोडमध्ये रु एक करोडमात्र फिर्ता भएको नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी पूर्णचन्द्र थापाले जानकारी दिनुभयो।
नेपाली सेनाका अधिकृत र जवान विश्वका विभिन्न द्वन्द्व र सङ्कटग्रस्त क्षेत्रहरूमा खटिएबापत प्राप्त हुने भत्ताबाट केही प्रतिशत कट्टा गरी बहावाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य र आवास क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सो कोष स्थापना गरिएको हो।
सो कल्याणकारी कोष कार्यक्रम २०३२ सालमा रु एक करोड २४ लाख रकमबाट प्रारम्भ भएको हो।
हाल सो कल्याणकारी कोषमा रु १६ अर्ब रकम सञ्चित रहेको छ भने संयुक्त राष्ट्रसङ्घबाट थप रु चार अर्ब आउन बाँकी रहेको सेनाले जनाएको छ। सेनाले सो कोषबाट चालु आर्थिक वर्षमा रु छ अर्ब ६४ करोड आम्दानी र रु छ अर्ब पाँच करोड खर्च हुने अनुमान गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
सरकारले सर्वोच्च अदालतको भवन निर्माणका लागि सिंहदरबार परिसरस्थित गृहमन्त्रालय पश्चिमतर्फ रहेको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी दिंदै हालको सर्वोच्च अदालत रहेको स्थानलाई सिंहदरबार परिसरभित्र राख्ने निर्णय गरेको बताउनुभयो।
बैठकले मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको, उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति समिति गठन गरेको र आतङ्कवादसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रावधान संसदमा पेस गर्ने निर्णय गरेको छ।
नेपाल सरकार र मातहतका निकायमा गोरखकाली टायर प्रयोग गर्न प्राथमिकता दिइने पनि बैठकले निर्णय गरेको छ।
एस हङकङ/ एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङ (एनआरएन)ले आयोजना गरेको टिशर्ट लोगो डिजाइन प्रतियोगितामा तेल अभिभ इजरायलका कृष्ण थापा विजयी भएका छन्। (more…)
एचकेनेपाल डट कम संवाददाता-
मूनाल फिल्म प्रा.लि. र विन्दवासीनी चलचित्र मन्दिरको संयुक्त प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘साहसी’ अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ।
चलचित्र साहसी अक्टोबर ९ तारिख हर्स्टभाइलस्थित हर्स्टभाइल इन्टरटेन्मेन्ट सेन्टरमा प्रदर्शन गरिने चलचित्रका नायक भोजबहादुर गुरूङले जानकारी दिएका छन्। अष्ट्रेलियामा साहसी प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक शामिम अन्वारले अष्ट्रेलियाबाट जानकारी दिएका छन्।
यसअघि, गत जुन महिनामा साहसीको प्रथम प्रदर्शन हङकङमा भएको थियो। अष्ट्रेलियामा दोश्रो प्रदर्शन गरिन लागेको चलचित्र साहसीको तेश्रो प्रदर्शन नोभेम्बर २८ तारिखदेखि वेलायतका विभिन्न शहरहरूमा हुने बताइएको छ। नेपालमा प्रदर्शनको मिति कुरिरहेको ‘साहसी’ ले विश्वका प्रमुख शहरहरुमा प्रदर्शन गरेपछिमात्र नेपालका हलहरुमा प्रदर्शन गर्ने योजना वनाएको छ।
साहसी व्यक्तिले नै बाजी हात पार्छ भन्ने मूल सन्देश वोकेको यस चलचित्रले पत्रकारले आफ्नो ज्यानको बाजी राखेर समाचार सम्प्रेषण गर्नुपर्ने विषयलाई समेत दर्शाइएको छ। समुद्री सतहदेखि करीब ४ हजार मिटर माथिको स्थानमा रंगी विरंगी लेकाली फूलहरुको विचमा यस चलचित्रको गीतको छायाङ्कन गरिएको छ भने नेपाली ठेट रोइला भजनलाई कलात्मकरुपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा महानायक राजेश हमाल, भोज ब. गुरुङ, गणेश उप्रेती, स्नेहा शर्मा, ज्याक गुरु मणिरत्न पौडेल, राजु अधिकारी, राजेन्द्र अधिकारी, छबि सुवेदीलगायतका कलाकारहरुले अभियन गरेका छन्।
चलचित्रको कार्यकारी निर्माता मणिरत्न पौडेल, निर्माता झमबहादुर गुरुङ, कुविना गुरुङ र धनमाया गुरुङ रहेका छन्। चलचित्रको गीत/संगीत लोकनाथ सापकोटाको रहेको छ। वासुदेव पोखरेलको निर्देशनमा बनेको साहसीका प्रस्तुतकर्ता एवं नायक भोजबहादुर गुरुङ हुन्।
चलचित्र ‘साहसी’ ले नयाँ कथा वस्तु वोकेको हुनाले हङकङमा राम्रो प्रदर्शन भएको साथै अष्ट्रेलियामा धेरैले ‘साहसी’ लाई कुरिरहेको आयोजक मध्यका भुवन पुनले वताए। नेपाली दर्शकले भने दशै तिहारपछि विदेशका विभिन्न शहरमा प्रदर्शन गरेपछि मात्र हेर्न पाउने चलचित्र ‘साहसी’ का एक निर्माता झमबहादुर गुरुङले बताए।
Date: 9 October 2010
Venue: Hurstville Entertainment center.
16 th Mcmohan st, hurstville, Australia.
Time-3.30pm -5.30 pm
Organizer: Cathmandu films हङकङमा साहसीको प्रथम प्रदर्शनः
अर्जुन मैनाली, न्युयोर्क/ एचकेनेपाल डट कम-
संसारकै अति व्यस्त शहर न्युयोर्कमा बिभिन्न नेपाली संघ-संस्थाबाट केही बर्ष यता नियमित रक्तदान कार्यक्रम हुँदै आइ रहेको छ। यहि क्रममा युनाईटेड नेप्लिज डेमोक्रेटिक फोरमले न्युयोर्कमा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ।
आफ्नो व्यस्तताका बाबजुत पनि मानबिय जीवन बचाउन आफ्नो अमूल्य रगत दान गर्न ५७ जनाले नाम लेखाएकामध्ये ३५ जनाले मात्र आफ्नो रगत दान गर्न पाए। बाँकी रक्तदाताहरु रक्तदान गर्ने प्रारम्भिक प्रक्रियामा छनौट भएनन्।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष टेक गुरुङले सम्पूर्ण रक्तदातालाई धन्यवाद दिंदै यस्तो मानबिय कार्यलाई नियमित रुपमा आयोजना गर्ने बताए। संयुक्त राष्ट्र संघको ६५औं सभामा भाग लिन नेपालको तर्फबाट प्रतिनिधित्व गरेका मन्त्री भिम रावलले रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै परदेशमा बसेर पनि नेपालीहरुले एक जुटका साथ यस्तो पुण्य काम गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गरे।
रेडक्रसका प्रबन्धक थोमस कानले केही बर्ष यता नेपाली समुदायले रक्तदान जस्तो पबित्र कार्यमा भाग लिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गरे। कार्यक्रमको संयोजन तथा सञ्चालन संजय थापाले संचालन गरेका थिए। लोक गायक एबं महाबाणिज्यदूत प्रेमराजा महतले रक्तदान जस्तो पुण्य काम अमेरिकाका अन्य राज्यहरुमा पनि गर्न आफूले सघाउने इच्छा ब्यक्त गरे।
नेपाली समुदायमा हरेक व्यक्ति वा संथालाई रक्तदान गर्न रातदिन मध्यस्थता र सहयोग गरिरहने अर्जुनप्रसाद मैनालीले यस कार्यक्रमसहित ९३औं पटक, संजय थापाले ३९, बिद्या बरालले ३६, मङ्गलदास श्रेष्ठले ३१, भुबनेश्वोर अधिकारीले २१, अर्जुनबहादुर सिंहले १४, केशव लामाले १२, सुधिर महर्जनले ८औं पटक रक्तदान गरिसेका छन्।
एचकेनेपाल डट कम-
उद्घोषकले नामको अगाडि डाक्टर भनेपछि मदनकृष्ण श्रेष्ठले रोष्ट्रममा पुगेर आफ्नै नाम अनौठो सुनिएको अनुभव सुनाउनुभयो। उहाँको प्रतिक्रिया थियो, ‘डा. मदनकृष्ण श्रेष्ठ, के भनेको?’
हास्यकलाकार मदनकृष्ण मात्र होइन विगत तीन दशकदेखिका उहाँका सहयात्री हरिवंश आचार्यलाई डाक्टर भनेर बोलाइएपछि दुवैले आफू अभिनयकै क्रममा मञ्चमा उभिएजस्तो भान परेको बताउनुभएको थियो।
त्यसपछि हरिवंशले राष्ट्रिय सभागृहको हलमा उपस्थित नेतागण, सामाजिक क्षेत्रका व्यक्ति र विद्यार्थीलाई हँसाउने शैलीमा मन्तव्य दिन थाल्नुभयो। उहाँको पहिलो वाक्य थियोे, जीवनमा पहिलोपटक मलाई डाक्टर भन्नेलाई धन्यवाद।’
मानार्थ विद्यावारिधीका लागि गाउन र टोली लगाएर सजिएका हरिवंशले आज आफूलाई दशैंमा जमरा पूजा गर्ने पण्डित झैं लागेको भन्दै आफूहरूले ‘प्यारालाइसिस’ नामको शृङ्खलामा नक्कली डाक्टर बनेको स्मरण गर्नुभयो।
मध्य अमेरिकास्थित ग्रीनफर्ड इन्टरनेशनल युनिभर्सिटी (जिआइयू) ले सामाजिक सेवातर्फ कलाकार महजोडी र राजनीतिशास्त्रतर्फ नेताहरू केपी ओली र बिजयकुमार गच्छदारलगायतलाई आज राजधानीमा आयोजित दीक्षान्त समारोहमा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।
आफ्नो छोराले अमेरिकामा स्नातकोत्तरको दीक्षान्त लिँदा अभिभावकका तर्फबाट उपस्थित हुँदा भावुक बनेको उल्लेख गर्दै आचार्यले छोराले दुःख र मेहनत गरेर पढेको तर आफूले ‘लण्ठ्याङ्गलुण्ठुङ्ग’ गरेर विध्ाावारिधी पड्काएको भनी हँसाउनुभएको थियो।
एक कार्यक्रमका सिलसिलामा विदेशमा रहँदाको रात्रीभोजमा भेट्ने मानिसहरूले परिचय गर्दा ‘म डाक्टर फलानो, म डाक्टर फलानो भनेर’ हात मिलाएपछि आफूले पनि ‘म डा हरिवंश’ भनिदिएको रमाइलो सन्दर्भ उहाँले सुनाउनुभयो। एक मित्रले ‘कुन विषयको डाक्टर?’ भनेर प्रश्न गरेपछि उहाँलाई अब के भनेर ढाँट्ने भन्ने समस्या परेको रहेछ।
विदेशमा हुँदाको त्यस्तै सन्दर्भ मदनकृष्णसँग पनि रहेछ। उहाँलाई एकजनाले ‘पिएचडीवाला हुँ’ भनिदिएपछि मदनले ‘के को?’ भनेर सोध्दा तिनले भनेछन्, ‘पिजा होम डेलिभरी’ को।’
मदनकृष्णले पढेरभन्दा परेर विद्यावारिधी गर्न कठिन हुने बताउनुभयो।
आफूसँगै राजनीतिशास्त्रमा मानार्थ डाक्टर पाएका ओली र गच्छदारलाई व्यङ्ग्य गर्दै हरिवंश आचार्यले भन्नुभयो, ‘एउटा प्रधानमन्त्री पनि छान्न नसक्ने दलका मनस्थितिलाई उहाँहरूले उपचार गर्ने आशा लिएको छु।’