Archive for October, 2010

सहारा भिलेजलाई एनआरएन अध्यक्ष हिराचनबाट सहयोग

दिननाथ बराल, पोखरा/ एचकेनेपाल डट कम-
पोखरा उपमहानगरपालिकाको वडा नं. १७ दोबिल्लामा निर्माणाधिन अवस्थामा रहेको साहारा भिलेजको निर्माण कार्यलाई अगाडि बढाउन गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष देवमान हिराचनले ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

साहारा भिलेजको निर्माणकर्ता सहारा क्लब पोखराले आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा अध्यक्ष हिराचनले सो रकम दिने घोषणा गर्नुभएको हो। सोही अवसरमा बोल्नुहुँदै एनआरएनका अध्यक्ष हिराचनले मोफसलबाट खेलकूदको विकास एवं सामाजिक कार्यमा निरन्तर रुपमा लागेकोमा सहारा क्लबको प्रशंसा गर्नुभयो। साथै उहाँले क्लबको लागि थप सहयोग जुटाउन एनआरएन र मातहतका विभिन्न संघहरुलाई सहयोगका लागि आव्हान गर्ने बचन दिनुभयो। उहाँले पोखरा उपमहानगरपालिकाको उत्तरी भेगमा पर्ने सरागंकोट गाविसमा अवस्थित जीर्ण अवस्थामा रहेको भ्यूटावरको मर्मतका लागि समेत सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष विक्रम थकालीले एनआरएन अध्यक्ष हिराचनलाई खादा ओढाएर स्वागत गर्दै क्लबका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो।

क्लबका प्रथम उपाध्यक्ष वीरभद्र आचार्यले स्वागत गर्नुभएको कार्यक्रम महासचिव केशव बहादुर थापाले सञ्चालन गर्नुभएको थियो।

Recent Videos:

Popularity: 7%

Add comment October 31st, 2010

विदेशीले होइन, नेपाली जनताले बनाउंछन् प्रधानमन्त्रीः बाबुराम

एचकेनेपाल डट कम संवाददाता-
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले विदेशीले नभएर नेपाली जनताले आफूलाई प्रधानमन्त्री बनाउन चाहेको बताएका छन्।

क्रान्तिकारी पत्रकार संघ मोरङद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली जनताले आफूलाई प्रधानमन्त्री बनेको हेर्न चाहेको बताएका हुन्।

जनताको चाहनालाई लुकाउन केही तत्वहरू लागेको बताउंदै त्यो तत्व पार्टीभित्र वा बाहिर जहाँ भएपनि गलत भएको भट्टराईले बताए।

हिजो भएको भेला गुटबन्दीको लागि नभएको स्पष्ट पार्दै आफू जहाँ गए पनि पार्टीका नेता तथा कार्यकर्तासंग छलफल गर्ने गरेको बताए।

उनले शनिवार भएको भेटघाट छलफलमात्र रहेको बताए। आफू पार्टीको खिलाप नगएको बताउंदै स्थायी कमिटीले प्रस्तावलाई जिल्ला तहमा लग्न नपाइने भनेको छैन, उनले भने। अध्यक्ष पक्षधरहरुले जिल्लाका कार्यकर्ताहरू भेला गरेर लबिङ गरेको आरोप उनीमाथि लगाएपछि भट्टराईले सो कुरा व्यक्त गरेका हुन्।

Recent Videos:

Popularity: 7%

3 comments October 31st, 2010

शिक्षकको अपहरणपछि गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहले बाराका शिक्षक सुरेश पटेलको अपहरणपछि हत्या गरेको छ।

महेन्द्रआदर्श जयनगर च्युँटाहा गाविस ९ खजुरीयाका शिक्षक सुरेश पटेललाई शनिवार राति अपहरण गरी गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

राति करीव १० बजे मोटरसाइकलमा सिम्रौनगढबाट घर फर्कदै गर्दा ४० वर्षीय पटेल अपहरणमा परेका थिए। १०/१५ जनाको अज्ञात समूहले बतराबाट उनको अपहरण गरिएको प्रहरीले जनाएको छ।

पटेलसंगै अपहरणमा परेका सोही गाउँका ३५ वर्षीय सुजित कोइरीलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। दुबै जना बीआर २२ ईओ ३५५ नम्बरको भारतीय मोटरसाईकलमा घर फर्कदै गर्दा अपरहणमा परेका थिए। कोइरीलाई हातखुट्टा बाँधेर राखेको र पटेलको शव ढाडमा गोली हानी हत्या भएको अवस्थामा फेला परेका थिए।

घटनाको जिम्मेवारी प्रतीक नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको क्षेत्र नम्बर १ का सेक्रेटरी जेके सिंहले लिएका छन्।

Popularity: 7%

1 comment October 31st, 2010

इदमा नेपाली लोकप्रिय साँझ

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
विश्वभरिका मुस्लिम सम्प्रदायको महान पर्व इद उल अधाको अवसरमा कतारमा हरेक वर्ष झैं यस बर्ष पनि नेपालीहरूले सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरूको आनन्द लिन पाउने भएका छन्।

इद उल अधाका अवसरमा प्राप्त सार्वजनिक विदामा स्याङजा सहयोग समाज (स्यासस) ले सो आयोजना गर्ने भएको छ।

‘नेपाली लोकप्रिय साँझ २०१०’ नाम दिइएको सो आयोजनामा स्याङजा सहयोग समाज र ब्यवसायी डिवी सुनामको सहकार्य रहेको छ। ३ लाख भन्दा बढि नेपाली जनसंख्या भएको कतारमा हरेक ठूला चाडबाडका सार्वजनिक विदामा यस किसिमका आयोजना हुने गर्छन्। स्यासस र ब्यवसायी सुनामले केही बर्षअघि पनि नेपाली लोकप्रिय साँझको आयोजना गरेका थिए। सो कार्यक्रमको सफलताबाट स्यासससंगको सहकार्यलाई यसपाली पनि निरन्तरता दिन प्रेरणा मिलेको कार्यक्रम ब्यवस्थापक सुनामले बताए।

नेपालीहरूमाझ विगतदेखि नै सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रममा निकै रुची रहँदै आएको र यसपाली पनि दर्शक निरास हुनु नपरोस्, चाडबाडका अवसरमा नयाँ उत्साह थपियोस् भनेर सो आयोजनामा जुटेको ब्यवस्थापक सुनामले बताए। स्यासस र सुनामले यसअघि पनि पटक-पटक नेपाली सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्दै आएका छन्।

यसपालीको नेपाली लोकप्रिय साँझमा फरक फरक प्रतिभा भएका नेपालका ख्यातिप्राप्त १० जना कलाकारहरूका चित्ताकर्षक प्रस्तुती रहने आयोजकले बताएका छन्।

इदको पहिलो दिन अलखोर र दोश्रो दिन दोहामा आयोजना हुने सो कार्यक्रमका लागि १० जना कलाकारको टोली नोभेम्बरको दोश्रो साता कतार आउनेछन् र लोकप्रिय साँझका क्रममा १ साताको समय कतारवासी नेपालीमाझ रहनेछन्। यसपाली कतार आउने कलाकारहरू पनि तय भइसकेको ब्यवस्थापक डिवि सुनामले जनाएका छन् भने स्याससका अध्यक्ष गुरु नारायण रानाभाटले कलाकारहरूसंग लोकप्रिय साँझमा सहभागिताका लागि लिखित सम्झौता सम्पन्न भइसकेको बताए।

कतारमा लोकप्रिय साँझका लागि आउने कलाकारहरूको १० सदस्यीय टोलीमा पछिल्लो समयका चर्चित आधुनिक गायक नरेन्द्र प्यासी र मल्लिका कार्की प्रमुख आकर्षण रहेका छन्। ‘तिमी विनाको जीवन..’, ‘तिमीले दिने माया..’, ‘के भूल भयो प्रिया..’ लगायतका दर्जनौं सुपरहिट गीतका गायक प्यासी र ‘यति धेरै मान्छेहरूको भिडमा…’ बोलको सुपरहिट गीतकी गायीका कार्कीका साथमा युवा पुस्ताकी प्रसिद्व पप गायिका मौसमी गुरुङ कतार आउँदैछिन्। लोकगितका पारखीलाई लोकगायक निकै प्रिय नाम खुमन अधिकारी पनि कतार आउँदैछन् भने उनलाई गायनमा साथ दिन सुनिता दुलाल पनि दोहा आउँदैछिन्। स्टेजमा नृत्यको कमान प्रसिद्व नायपका करिश्मा मानन्धरले गर्नेछिन् भने उनलाई नायिकाद्वय सौजन्य सुब्बा र सोभिता सिंखडाले साथ दिनेछन्। दोहावासी नेपाली दर्शकलाई मनोरञ्जन दिलाउन नायक दिलिप रायमाझीले कम्मर कसेका छन् भने गोपाल नेपाल फिस्टेले दर्शकलाई हास्यरस चखाउने आयोजकले बताए। आयोजकले जनाए अनुसार दर्शकसंग सक्दो बढी कुराकानी गर्ने हेतुले कलाकारहरूले कार्यक्रमको उद्घोषण सामुहिक रुपमा गर्नेछन्। यसअघिका अनुभव र यथासम्भव कलाकारिताका धेरै क्षेत्रलाई समेट्दै चर्चित कलाकारहरूलाई आमन्त्रण गरिएकोले कतारबासी नेपालीहरुले यसपाली विशिष्ट प्रकारको प्रस्तुती हेर्न पाउने विश्वास ब्यवस्थापक सुनामले ब्यक्त गरे।

३ घण्टा लामो स्टेज प्रस्तुतीमा मौलिक गीत-संगीत, नृत्य, हास्यब्यंग्य लगायतका विधा समावेश हुनेछन्। कार्यकमको तालिका छिट्टै सार्वजनिक गरिने र टिकट पनि केही दिनभित्रमै बजारमा उपलब्ध हुने स्याससले जनाएको छ।

Popularity: 7%

Add comment October 31st, 2010

जहाज दुर्घटनाका मृतकको परिवारलाई क्षतिपूर्तिको पहल जारी

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
गत बर्ष ३० जुनमा कतारको समुन्द्रमा भएको एक पानी जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारजनले क्षतिपूर्ति पाउनेमा दूतावास पूर्णरुपमा विस्वस्त रहेको राजदूत डा. सुर्यनाथ मिश्रले बताएका छन्।

क्षतिपूर्ति रकमको लागि दूतावासले सम्बन्धित स्थानीय कम्पनीविरुद्व कानुनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेकोमा कानुनी प्रकृया जारी छ। ‘हाम्रो बलियो पहल भइरहेको छ’ राजदूतले भने- ‘सम्बन्धित पक्षबाट विमा पाउनेमा हामी पूर्णरुपले आशावादी छौं।’ क्षतिपूर्ति दिने सम्बन्धित पक्षमा आपसी विवादका कारण आवश्यक कानुनी प्रकृया लम्बिएकोले केही ढिलाई भने हुनसक्ने राजदूतले बताए। ‘सम्बन्धित स्थानीय कम्पनी र विमा कम्पनीविचको कानुनी झमेलाका कारण सो ढिलाई हुन गएको छ’ राजदूतले भने। सो मुद्दा हाल नागरिक अदालत (सिभिल कोर्ट)मा रहेको छ। यसअघि पनि धेरै नेपालीले क्षतिपूर्ति पाएको स्मरण गर्दै राजदूत डा. मिश्रले न्यायीक प्रणालीमाथि पूर्ण भरोसा जनाएका छन्।

दोहादेखि १० नौटिकल दूरीमा ३० जुन, २००९ को सवेरै जहाज दोहा केनलमा प्रवेश गर्दै गर्दा भएको दुर्घटनामा १२ नेपालीसहित ३० जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा १६ भारतीय, १ बंगलादेशी र १ इन्डोनेशियनको पनि मृत्यु भएको थियो। संयुक्त अरव इमिरेट्स (यूएइ) अवस्थित एक ब्यापारिक समूहको सो सप्लाई पानी जहाज दुर्घटना हुँदा त्यसमा चालकदलसहित ३५ जना सवार थिए। जहाजमा रहेका ३५ जनामध्ये २४ जना दोहास्थित एच.बि.के. पावर क्लिनिङ कम्पनीका कामदार हुन्। जहाजमा सवार अन्य ब्यक्तिहरूमा ९ जना चालकदलका सदस्य र २ जना एक क्याटरिङ कम्पनीका कामदार थिए। सो दुखद दुर्घटनामा परेका नेपाली युवाहरूमा गुम्दी- ५ धादिङ्गका गंगाबहादुर गुरुङ, छिस्ती-१ वाग्लुङ्गका लिलाराम पौडेल, फेटा-८ वाराका मेहदी हुसेन मिया, कटकुइया -१ बानियाँगाउँ, बाँकेका अब्बास अहमद र्सइ, दिभर्ना- ५ अर्घाखाँचीका मानसिंह खत्री, बगडा-६ महोत्तरीका शेषनाथ यादव, गौराकोट-१ पाल्पाका तिलकबहादुर खम्चा, सुगाभवानीपट्टी- ५ महोत्तरीका राजीव कुमार दत्त, जौलीपोखरी- ८ रोल्पाका जय वहादुर पुन मगर, हापुर- २ दाङका शंकर विष्ट, कुर्घा- ३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेल र हुप्सेकोट -८ नवलपरासीका घनश्याम सार्की रहेका थिए। सुतिरहेको अवस्थामा सो दुर्घटना भएकोले उनीहरू ज्यान जोगाउन असफल भएका थिए।

कार्यस्थल दुर्घटना वा काममा रहँदा भएको दुर्घटनामा मृत्यु भएका कामदारका परिवारलाई सम्बन्धित कम्पनीले ‘ब्लड मनि’ स्वरुप २ लाख रियाल क्षतिपूर्ति दिनुपर्ने कानूनी ब्यवस्था रहेको छ। कम्पनीका अधिकारीहरूलाई धेरैपटक बोलाउँदा पनि अटेरी गरेको कारण नेपाली दूतावासले सो मुद्दालाई अदालतमा लगेको थियो। ११ मृतकको क्षतिपूर्ति मुद्दा गत ५ जनवरीमा दर्ता भएको थियो भने परिवारवाट अख्तियारनामा आउन ढिलाईका कारण मृतक आवास अहमद सहीको मुद्दा २८ जुनमा (म्याद सकिन एक साताअघि) दर्ता भएको थियो। सो मुद्दावारे सिभिल कोर्टमा पहिलो चरणको सुनुवाई भइसकेको छ। १२ अक्टुवरमा १ जनाको, १३ अक्टुवरमा ३ जनाको, १९ अक्टुवरमा ५ जनाको, २० अक्टुवरमा १ जनाको, २४ अक्टुवरमा १ जनाको र २६ अक्टुवरमा १ जनाको गरी पहिलो चरणको सुनुवाई सम्पन्न भएको छ। पहिलो चरणको सुनुवाईमा एचविकेका प्रतिनिधि उपस्थित नभएकोले नागरिक अदालतद्वारा अर्को चरणमा उपस्थितिका लागि जारी औपचारिक पत्र बुझाउन प्रहरीकासाथमा नेपाली दूतावासका अधिकारी गत आइतवार एचविके कम्पनीमा पुगेका छन्। अर्को चरणको सुनुवाई ३ नोभेम्बरमा हुँदैछ। जुलाई अगस्त र सेप्टेम्बर महिनामा अदालत बन्द रहेकोले मुद्दाको सुनुवाई हुन सकेको थिएन। अव सो मुद्दामा अन्तिम फैसला आउन ५-६ महिना लाग्नसक्ने दूतावासका वकिलले बताएका छन्।

यसअघि, दूतावासले कामदार कार्यरत कम्पनी एचवीकेलाई मृतकको ब्लड मनी तत्काल उपलब्ध गराउन १५ दिनको म्याद पनि दिएको थियो। एचवीकेले सो मुद्दालाई सिभिल कोर्टमा नपठाउन आग्रह गरेको भएपनि म्यादभित्र सम्पर्कमा नआएकोले कानुनी प्रकृया अघि बढाउनुपरेको राजदूतले बताए। सो दुर्घटनाको एकमात्रै कारण ‘सिपिङ कम्पनी’ र ‘क्याप्टेन’ रहेको भन्ने एक स्थानीय अदालतको ठहरपछि विमा कम्पनीले उदासिनता देखाएकोले क्षतिपूर्तिवारे अनिश्चितता छाएको हो।

जहाजका इन्डोनेशियन क्याप्टेनलाई ५ लाख रियाल जरिवाना र ६ बर्षको जेल सजाय दिइएको छ। दुवईको देमास मेराइनको सो मालवाहक पानीजहाज ‘देमास भिक्टोरी’लाई एचविके कम्पनीले पेट्रोलियम उद्योगमा ‘सहयोगी सेवा’ उपलब्ध गराउन प्रयोग गर्दै आएको थियो।

मृतकका परिवारजनले बेला मौकामा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र दोहास्थित दूतावासमा फोनसम्पर्क गरी क्षतिपूर्तिका वारेमा के भइरहेको छ भन्ने जिज्ञासा राख्दै आएको राजदूतले बताएका छन्। ‘क्षतिपूर्तिवारे दूतावासले गरिरहेको पहलको वारेमा अनभिज्ञताका कारण मृतकका आश्रित परिवारजन विश्वस्त हुन नसकेको अवस्था देखियो’ राजदूतले भने- ‘हामी उहाँहरूलाई सन्देश पठाएका छौं कि ढिला भएपनि अवश्य क्षतिपूर्ति मिल्नेछ।’ मुद्दा जितेको खण्डमा वकिलले २० प्रतिशत शुल्क लिने गरेका छन् भने मुद्दा हारेको खण्डमा वकिलले शुल्क लिँदैनन्।

Popularity: 7%

1 comment October 31st, 2010

विदेशी हस्तक्षेपका कारण प्रम हुन सकिन–प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको हस्तक्षेपका कारण आफू प्रधानमन्त्री चुनिन नसकेको बताउनुभएको छ।

नेपाल सम्वत् ११३१ को उपलक्ष्यमा एमाओवादीको १० नम्बर निर्वाचन क्षेत्रमा आयोजित ‘राजनीतिक भेटघाट तथा चियापान’ कार्यक्रममा उहाँले तेस्रो चरणको प्रधानमन्त्री निर्वाचनमा आफूलाई समर्थन गर्न मधेसकेन्द्रित दलसँग बिहान ७ बजे सहमति भए पनि लगत्तै विदेशी दूतावासबाट मधेसी सभासद्लाई धम्की आएकाले सो सम्भावना टरेको खुलासा गर्नुभयो।

सहमति भएअनुसार तेस्रो चरणको निर्वाचनमा केही मधेसी सभासद्ले ‘फ्लोर क्रस’ गरेको प्रस्ट गर्दै अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो– ‘म प्रधानमन्त्री बन्ने निश्चित भएपछि त चौथो चरणको निर्वाचनसम्म विशेष दूतहरू नेपाल नै आएर दूतावासमा रातारात बैठक बसेर निर्वाचन परिणाम रोकियो।’

उहाँले अहिले पनि विदेशीको ‘रिमोट कन्ट्रोल’का कारण मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको धारणा राख्नुभयो।

आफ्नो पार्टी राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि विदेशीसँग नझुकेकाले सीमा क्षेत्रमा रहेका नेपाली जनतालाई समेत अपमानित गरिएको बताउँदै अध्यक्ष प्रचण्डले थप्नुभयो–’ती क्षेत्रका जनता भारतमा केही सामान लिन जाँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतमा किन आएको, अब सबै चिज प्रचण्डसँग माग्न जाऊ भन्छन् रे।’

आफूहरूले नेपाली जनताको नयाँ चेतनाअनुसार भारतसँग नयाँखालको सन्धि–सम्झौता र एकता गरेर राम्रो सम्बन्ध स्थापित गर्न चाहे पनि भारतले यस्तो नचाहेको उहाँको भनाइ थियो।

आफूले हालै सम्पन्न चीन भ्रमणका बेला आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीयस्तरको अस्पताल बनाउने विषयमा कुराकानी गरेको बताउँदै उहाँले आफू प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्री हुँदाजस्तै जनताका माग पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

Popularity: 7%

Add comment October 31st, 2010

सहमतीय सरकार नभई पूर्ण बजेट आउँदैन– खनाल

एचकेनेपाल डट कम संवाददाता-
सरकारमा रहेका एमाले कै केही मन्त्रीहरुले संकटकाल लगाएर भए पनि बजेट ल्याउनु पर्ने बताइरहेका बेला नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पूर्ण बजेट सहमतीय सरकारबिना आउन नसक्ने बताउनुभएको छ।

नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोक र सिन्धु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित चियापान तथा सम्मान कार्यक्रममा उहाँले सरकारले प्रतिपक्षसँग मिलेर बजेट ल्याउन पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष खनालले पछिल्लो समयमा नेकपा (एमाले)लाई निर्णयको बाधक भनिएकोप्रति टिप्पणी गर्दै एमालेले कुनै पनि निर्णय गर्न बाधा नपुर्‍याएको स्पष्ट पार्नुभयो।

Popularity: 7%

Add comment October 31st, 2010

गायक कुमार कान्छालाई सहयोग गर्न समिति

एचकेनेपाल डट कम संवाददाता-
भारतको मुम्बईमा उपचार गराइरहेका नेपाली लोकप्रिय गायक कुमार शाही (कुमार कान्छा)का लागि सहयोग गर्न गठन गरिएको कुमार कान्छा स्वास्थ्य उपचार सहयोग समितिले आह्वान गरेको छ।

समितिले पत्रकार सम्मेलन गरी कुमार कान्छा दैलेखमा जन्मिएका र उनले नेपाली साङ्गीतिक क्षेत्रमा ठूलो योगदान दिएको जनाएको छ।

मेरुदण्ड अर्थात् स्पाइनल कर्डमा उत्पन्न खराबीका कारण शरीरको तल्लो भाग चल्न नसकी भारतको मुम्बईस्थित रइजा अस्पतालमा कुमारको उपचार भइरहेको छ।

गायक कुमारले उपचारका क्रममा गायन क्षेत्रबाट आर्जेको सारा सम्पत्ति र घर धितो राखेर ऋण लिई उपचार गराएको बताइएको छ।

नेपालमा गठित समितिले इन्भेस्टमेन्ट बैंकमा खाता खोली सहयोग रकम सङ्कलन गर्न लागेको कुमार कान्छाका सहयोगी दीप तुलाधरले बताउनुभयो।

सर्वसाधारणलाई सजिलो होस् भन्ने उद्देश्यले मोबाइलको एसएमएसमा एचइएलपी टाइप गरी ५००१ मा पठाउन सकिने तुलाधरले जानकारी दिनुभयो। एसएमएस गर्दा एक रुपैयाँ ३७ पैसा कुमार कान्छाको सहयोगका लागि खोलेको खातामा जम्मा हुन्छ।

कुमार कान्छाले करिब दुई हजार नेपाली गीत गाइसकेका छन्।

Popularity: 7%

Add comment October 31st, 2010

विमानभित्रै बिरामीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
डोल्पाबाट नेपालगञ्ज आएको तारा एयरको विमानभित्र एक यात्रुको मृत्यु भएको छ।

डोल्पा पहाडा गाविस–१ का ६५ वर्षीय शक्तिराम रोकायाको विमानभित्र मृत्यु भएको हो। रोकाया केही दिनअघिदेखि बिरामी रहेकाले उपचारका लागि नेपालगञ्ज आउँदै गर्दा उनको विमानभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Popularity: 7%

Add comment October 31st, 2010

मिस वर्ल्डको ताज अमेरिकी सुन्दरीलाई…

एचकेनेपाल डट कम संवाददाता-
सयभन्दा बढी सुन्दरी प्रतियोगीहरूलाई पछि पार्दै संयुक्त राज्य अमेरिकाकी १८ वर्षीया अलेक्जेद्रिया मिल्सले मिस वर्ल्ड २०१० को ताज जितेकी छिन्।

चीनको सान्यामा शनिवार साँझ सम्पन्न ६०औं विश्व सुन्दरी प्रतियोगितामा बट्सवानाकी इम्मा वारेज फस्ट रनरअप र भेनेजुलाकी अड्रिना भास्नी सेकेण्ड रनरअप भए।

मिस नेपाल २०१० सदिच्छा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेकी भएपनि उनी २०औं स्थानमा समेत पर्न सकिनन्।

LIVE updates: MISS WORLD 2010


Photo Courtesy: missworld.com

Popularity: 7%

1 comment October 30th, 2010

अञ्जु पन्त यूएई आउने

खेमनाथ पौडेल, यूएई/ एचकेनेपाल डट कम-
दिपावलीको पावन अवसर पारेर आयोजना गर्न लागिएको सास्कृतिक दिपावली साँझ कार्यक्रमकोलागि अहिलेकी जल्दिबल्दी गायिका अञ्जु पन्त पहिलो पटक यूएई आउने भएकी छिन्।

आगामी शुक्रवार नोभेम्वर ५ २०१० लक्ष्मिपूजाका दिन बरदुवईमा अवस्थित अष्टोरिया होटलमा आयोजना हुन लागेको उक्त साँगीतिक कार्यक्रममा उनलाई साथ दिदै छन् यूवा जमातका लोक हिपपप गायक मिङ्गमा शेर्पा।

तिहारलाई लक्षित गरि आयोजना गर्नलागिएको उक्त कार्यक्रमा अञ्जु पन्त, मिङ्गमा शेर्पा मात्र नभई यूएईमा विगत लामो समयदेखि नेपाली साँगीतिक कार्यक्रमहरुमा तहल्का मच्चाएका स्थानीय कलाकारहरुको पनि सहभागिता रहने आयोजकले बताएको छ।

राजु श्रेष्ठ, सरोज थापा तथा भोजराज घलेले संयूक्तरुपमा आयोजना गर्नलागेको उक्त कार्यक्रमको सहयोगीको भूमिका भरौला यूवा जमात यूएईले गरिरहेको तथा कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले बताए।

अञ्जुका सुरिलो आवाजले लठै परेका प्रवासी नेपालीहरु प्रत्यक्ष आफू अगाडि नै गायिकालाई भेट्न पाउँने हुँदा उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको उपस्थिति बाक्लो रहने आयोजकले बताएको छ।

Popularity: 7%

Add comment October 30th, 2010

दीर्घराज कोइराला विवेकका मानिस थिए

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
दीर्घराज कोइराला विवेकका मानिस थिए। विवेक भएकाले नै यिनलाई चिन्थे । वास्तवमा बुद्धिजीवीहरूले मात्र उनको जीवन चिनेका थिए, उनको महानता बुझेका थिए र उनको त्याग पढेका थिए।

दीर्घराज कोइराला, जीवनभर बिहे नगरी देशहितमा लाग्ने कोइराला ब्रम्हचारी थिए। हुन त राजनीतिमा त्यस्ता सन्त कृष्णप्रसाद भट्टराई देखा पर्छन्। तर यी दुई जनाको नीति बेग्लै छ। कोइराला सामाजिक उत्थान वा त्यसबारेको चिन्तमा मात्र लागे। अनि भट्टराई राजनीतिमा मात्रै लागे। तर दुवै जना त्यागी भएरै लागे, राष्ट्रका निम्ति लागे र अर्काका लागि लागे।

कोइरालामा अर्काप्रतिको सेवा गर्ने भावना थियो। यिनमा गरिबदुःखीको आँसु अञ्जुलीमा थाप्न सक्ने धैर्य देखिन्थ्यो र अरूका लागि मरिमेट्ने गुण सानैदेखि थियो।

कोइरालाले मानवजीवनमा हुनुपर्ने सद्भावनाको सही अर्थ बुझेका थिए। अर्कालाई कसरी सहयोग गर्नुपर्छ भन्ने विद्या यिनले पढेका थिए। त्यसैले ‘असहाय र दीनदुःखीका निम्ति गाँस र वासको व्यवस्था गर्नु समाजसेवाको एक अभिन्न अङ्ग हो’ यी भन्थे।

कोइराला वर्तमान युगमा भौतिक सुखका निम्ति स्वार्थी भावना बढेकोमा ज्यादै दुःखित थिए । यही प्रसङ्ग कोटयाएर यी भन्थे, “यसले गर्दा एकअर्काप्रति धोका, छलकपट, जबर्जस्तीको भावना बढ्दै गएको देखिन्छ।”

नेपालमा कुशल चरित्रवान् नागरिकका रूपमा कोइरालाले नाउँ कमाए । यिनको नाउँ पनि समाजसेवामा नै प्रतक्ष्य गाँसिएको थियो। समाजसेवा के हो भन्ने विषय यिनले पढेका थिए । त्यसैले यी समाजसेवाको नै पनि बलियो ढाड भएर अबिरल प्रस्तुत भइरहे।
कोइराला साँचो बोल्थे । यी न्याय र अन्यायलाई तौलन सक्थे । यी कुनै आशाको फन्दामा पर्न चाहँदेन थिए । उनी कसैलाई फोस्रो आश्वासन पनि दिदैन थिए । नेपाली समाजमा उनी वास्तविकताको सग्लो नमुना थिए।

कोइरालाको समाजसेवा शिक्षामा नै केन्द्रित थियो । सहरमा शिक्षित बेकारी छन् तर दुर्गम क्षेत्रमा शिक्षक नभएर विद्यालय बन्द छन्’ उनी भन्थे । सरकारले सबैतिरको सामञ्जस्यता ल्याउनुपर्नेमा उनी जोड दिन्थे । साथै राजा महेन्द्रको सपना ‘गाउँफर्क’लाई फर्काउनु पर्छ उनी भन्थे । त्यसैबाट ग्रामीण तहमा योग्य काम गर्न सकिन्छ भनेर उनी दोहोर्याएर समाजसामू आफ्नो भनाई राख्थे।

कोइराला देशमा जनता नाङ्गा नरहून् भन्थे। तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार भएपछि यिनको सुकिलो व्यक्तित्वको शाख घटेको थियो। त्यसपछि यिनको महानता पनि गिरिजाप्रसादकै तराजुमा जोखनि थालियो । गिरिजाप्रसाद कोइरालाकै राजनीतिमा लाग्दा यिनले जीवनभरी कमाएको यिनको इमान झन्नै नास पनि भयो । वास्तवमा जव उनी गिरिजाप्रसादको चङ्गुलबाट फुस्के तब फेरी यिनी दीर्घराज कोइराला नै भए । अनि उनी क्रमशःक्रमशः सबैका प्रिय पात्रमा रुपान्तरित पनि हुँदैगए।

कोइरालाले गान्धीका आदर्श पाठहरू पढेका थिए । यिनले यसै सिद्धान्तमा डुबेर थुप्रै रोगीहरूको चाकर गरे । यिनले विभिन्न गाउँगाउँमा गएर सफाइ आन्दोलन गरे । त्यस काममा पनि यिनले आफै नमूना बनेर देखाइदिए।

कोइराला निस्सहायहरूलाई पढ्नलेख्न सहयोग दिन्थे। यिनले कैयौँ स्कुल खोले। अथवा भनौं यिनले नेपालका ७२ जिल्लामा त विद्यालय मात्र खोले। धेरै स्कुलको यिनैले अध्यक्षता पनि ग्रहण गरे। यिनले शिक्षा विकासका लागि व्यवस्था मिलाएर जनतालाई यसमा सरिक हुन प्रेरणा प्रदान गरे। शिक्षाक्षेत्रका यी विशेषज्ञ थिए। यी विद्वान् भईकन सादा थिए र धनी भईकन पनि उच्च थिए । अरू बोल्थे, यी गर्थे । अरू मुख खोल्थे, यी दिल खोल्थे।

नेपालमा समाजसेवाको संस्थागत विकास नभएको कुरा कोइराला बराबर दोहोर्याउँथे । उनी समाजसेवामा अधिकारीतन्त्र वा कर्मचारीतन्त्र बढेकोमा गुनासो गर्थे । पर्यवेक्षकहरूको दृष्टिकोणमा कोइरालाको बोलाइमा सच्चाइ हुन्थ्यो । वास्तवमा यी सत्य बोल्थे तर थोरै बोल्थे । साथै यिनको केही दर्शन वाइरनसँग मिल्थ्यो । यतिहुँदाहुँदै पनि यी सुरा र सुन्दरीसँग चाहिं टाडा थिए।

विष्णुप्रसाद कोइराला र मानकुमारीका सुपुत्रका रुपमा दीर्घराज कोइराला १९७६ साल भदौ २५ गते विराटनगरमा जन्मे। राणाद्वारा आफ्ना बुबा र्सवस्वसहित खेदिंदा यी दुधे बालक पनि आमासँगै भारत पसेका थिए।

कोइरालाका लागि सानोठूलो सबै मान्छे बराबरी हुन्थे । गरीबधनी यिनका लागि उस्तै थिए । शिक्षामा झुकाव भएकाले यी यस पेशामा पवित्र भएर लागेका थिए । हीरालाल विश्वकर्मा र उनका भाइ टीआर विश्वकर्मालाई पनि यिनले नै स्कुलमा भर्ना गरिदिए। यस्तो काम गर्दा अत्याचारी, निरङ्कुश र शोषक माधवशमशेर राणाले दीर्घराज कोइरालालाई कोर्रा हान्ने आदेश दिए। अनि चाँडै यो बेहोरा जनरल मृगेन्द्रशमशेर राणाले थाहा पाए। उनले कोइरालालाई काठमाडौं बोलाए। अनि कोइराला पनि रातोरात राजधानी आए। मृगेन्द्रशमशेरले कोइरालाका सबै कुरा सुने। अनि भने ‘यी अछूतलाई तिमीले पढाएर ठीक गरेका छौ। तिम्रो गुणको म संरक्षण गर्छु। यिनीहरुलाई तिमीले पढाउनू तर बेग्लै बेन्चमा बसाउनू र बेग्लै खाने पानी राख्न लगाउनू।’ राणाको यस्ता कुराले कोइराला गद्गद् भए। धरान पुगेर यिनले यो कुरा पण्डित छविलाल पोखरेललाई सुनाए। पण्डित पनि यस कुराबाट सारै रमाए।

कोइराला समाजसेवी मात्र होइनन् कुशल प्रशासक पनि थिए। यी ३६ वर्ष सरकारी सेवामा रहे । यी नेपालका विभिन्न मन्त्रालयको सचिव भए र बैकहरुका पनि अध्यक्ष भए। यिनले कामबाट खुबै नाम कमाए। यिनले त्यस बेला थुप्रै सङ्घसंस्था पनि उकासे। यिनले प्रशासनमा आफ्नो सीप देखाए र जाँगर पोखे। यिनले चाकरी नै नगरी तक्मा पाए। तर यिनले जागिरदारले लाउने खालको सामान्य गोरखादक्षिण बाहु र त्रिशक्तिपट्ट मात्र पाए।

कोइरालाले एमए र एम्एड पढेका थिए। तर यिनमा एक इन्ची घमण्ड पलाएको थिएन। बरु यिनीभित्र त्याग पलाएको थियो। यिनले गरीवसँग पनि कहिल्यै सर्केर कुरा गरेनन्। खनुप्रुदे रामबाबूको स्वभावजस्तै यिनले पनि सानोठूलो सबैलाई समान व्यवहार गरे। कृष्णप्रसाद भट्टराई झै यिनले पनि पद हेरेर कसैलाई मान्दैन थिए। अथवा भनौ भट्टराईले जसरी गुण भएका व्यक्तिलाई मात्र गने, यिनले पनि त्यसै गरे। उनी समाजसेवाका तपस्वी थिए र समाजसेवीका आत्मीय डोरी थिए।

कोइराला सानैदेखि धार्मिक थिए। उनी आध्यात्मिक चिन्तनमा डुब्थे। उनी कहिलेकहिले त जीवन नै धर्ममा भुल्थे। सनातन धर्म सेवा समितिमा पनि यी बसे र उनले त्यहाँ पनि नयाँ आलोक दिए।

कोइरालाले थुप्रै वर्ष प्रवासमा गुजारे । उनले त्यहाँ धेरै हण्डर खाए। उनले आर्थिक सङ्कट भोग्दै पढे। तर नोकरी पाएपछि उनी मज्जाले फक्रिए। नोकरी र सेवामा लागि पर्दा उनी नेपालका सारा जिल्ला घुमे र विश्वका केही भाग पनि पुगे।

दीर्घराज कोइराला पक्षघातबाट लामो समयसम्म पीडित थिए। त्यही रोगले अरु रोग थप्तै लाँदा उनी दिनानुदिन खिइँदै गए। अन्ततः उनी २०६७ साल कात्तिक ६ गते काठमाडौँमा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 7%

Add comment October 30th, 2010

वर्ल्ड एक्स्पोमा कीर्तिमानै किर्तिमान

एचकेनेपाल डट कम संवाददाता-
साङ्घाई (चीन), कार्तिक १३ - नेपालसहित विश्वका एक सय ९० मुलुक तथा ५७ अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको साङ्घाई वल्र्ड एक्स्पो २०१० सकिन एक दिन बाँकी हुँदासम्म केही नयाँ विश्व कीर्तिमान कायम भएका छन्।

‘सन् १८५१ मा लण्डनमा आयोजित पहिलो एक्स्पोपछिको डेढसय वर्षको इतिहासमा यो सबैभन्दा ठूलो सहभागिता हो,’ नेपाल मण्डपका निर्देशक विनायक शाह दाबी गर्छन्।

साङ्घाई एक्स्पो अवलोकन गर्नेको सङ्ख्याले पनि नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारसम्ममा सात करोड २६ लाखभन्दा बढीले त्यसको अवलोकन गरिसकेका छन्।

सन् १९७० मा आयोजित ओसाका एक्स्पोमा छ करोड ४० लाखले अवलोकन गरेका थिए । साङ्घाई एक्स्पो सञ्चालन भइरहेको पाँच दशमलब २८ वर्गकिलोमीटर क्षेत्र पनि हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको एक्स्पो स्थल हो।

त्यस्तै अक्टोबर १६ तारिखका दिन १० लाख ३२ हजारले साङघाई एक्स्पोको अवलोकन गरेका थिए। एकै दिनमा त्यति धेरैले एक्पो अवलोकन गरेको पनि नयाँ रेकर्ड भएको साङ्घाई एक्स्पोको आधिकारिक वेबसाइटमा उल्लेख छ।

साङ्घाई एक्स्पोमा निर्माण गरिएको नेपाल मण्डप पनि हालसम्मको सबैभन्दा ठूलो भएको निर्देशक शाहको दाबी छ।

नेपाली मण्डप अवलोकन गर्ने दर्शकको सङ्ख्याले पनि ७५ लाख नाघिसकेको छ । सन् २००० मा जर्मनीको ह्यानोवरमा आयोजित एक्स्पोमा निर्मित नेपाल मण्डपको ३५ लाखले अवलोकन गरेका थिए।

निर्देशक शाहले सन् १९७० बाट एक्स्पोमा सहभागिता जनाएको नेपालको ४० वर्षको इतिहासमा यो नयाँ रेकर्ड हो भने । छ महिना अगाडिबाट सुरु भएको एक्स्पो भोलि आइतबार समापन हुँदैछ। (रासस)

Popularity: 7%

1 comment October 30th, 2010

अश्लील सिडी वितरक पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
महानगरीय अपराध अनुसन्धान महाशाखाले अश्लील सिडी बिक्रि गर्ने समूहलाई पक्राउ गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा अश्लील सिडीहरू बिक्री गर्ने समूहका सात जनालाई महाबौद्धबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा डिल्लीराज अधिकारी, निरज यादव, विष्णु परियार, दीपेश राई, देवी चौलागाई, सोनाम भट्टराई र गोपाल लामा रहेका छन्।

उनीहरूलाई आवश्यक कारबाहीको लागि आजै महानगरीय प्रहरी परिसरमा पठाइएको छ। पक्राउ परेका व्यक्तिबाट ३०३ थान सिडी फेला परेको प्रहरीले जनाएको छ।

Popularity: 7%

1 comment October 30th, 2010

संकटकाल लगाएर भए पनि बजेटः रक्षामन्त्री

एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री विद्यादेवी भण्डारीले एकीकृत नेकपा (माओवादी) सहमतिमा नआए सङ्कटकाल लगाएर भए पनि कात्तिक मसान्तभित्र बजेट ल्याउनुपर्ने धारणा राख्नुभएको छ।

अखिल नेपाल महिला सङ्घ ललितपुरद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले बजेट अभावका कारण आर्थिक सङ्कट सिर्जना हुने भएकाले जसरी भए पनि बजेट ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो– ‘बजेट ल्याउनु सरकारको कर्तव्य हो। हामी कर्तव्यबाट बाहिरिन सक्दैनौं।’

‘अरु सबै काम कामचलाउ सरकारले गर्न भएपछि बजेट चाँही ल्याउन किन नमिल्ने?’ भनी प्रश्न गर्दै रक्षामन्त्री भण्डारीले भन्नुभयो– ‘कि त सहमतिमा सरकार बेलैमा बनाउन सक्नुपर्थ्यो, कि त निःशर्त बजेट ल्याउन दिनुपर्छ।’

Popularity: 7%

Add comment October 30th, 2010

एक्सपोको भेटीले छात्रवृत्ति

एचकेनेपाल डट कम संवाददाता-
साङ्घाई एक्स्पोमा रहेको नेपाल प्रदर्शनीस्थलमा राखिएका मूर्तिहरूमा आगन्तुकले चढाएको रकमलाई परोपकार कोष बनाई राखिने भएको छ।

नेपाल प्रदर्शनीस्थलको सञ्चालनको जिम्मा पाएको इम्प्लिमेन्ट एक्स्पर्ट ग्रुपले भेटी र दक्षिणाबापत उठेको रकमबाट विपन्न र पिछडिएका महिलाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले परोपकार कोष स्थापना गर्ने निर्णय गरेको नेपाली प्रदर्शनीस्थलका निर्देशक विनायक शाहले बताउनुभयो।

एक्स्पो सुरु भएदेखि नै आगन्तुकले नेपाल पेभिलियनमा प्रदर्शनीका लागि राखिएका करिब एकसय बुद्ध र हिन्दु देवीदेवताका मूर्तिमा पैसा फ्याँक्न सुरु गरेका थिए।

टाढाबाट फ्याँकिएका सिक्काबाट नेपाली हस्तकलाका मूर्ति कोरिने र बिग्रने डरले हामीले सुरुसुरुमा आगन्तुकलाई रोक्न खोजेका थियौं, निर्देशक शाहले भन्नुभयो– उनीहरूले धर्मप्रति देखाएको अगाध आस्थाका कारण पैसा फ्याँक्ने क्रमलाई हामीले रोक्न सकेनौं।

Popularity: 7%

Add comment October 30th, 2010

पूर्व सांसदको भेला हुने

एचकेनेपाल डट कम संवाददाता-
मुलुकको वर्तमान राजनीतिक र आर्थिक गतिरोध अन्त्यका लागि सरकार र राजनीतिक दलहरूलाई मार्ग निर्देश गर्ने उध्देश्यले पूर्व साँसदहरूको राष्ट्रिय भेला आगामी मङ्सिरमा हुने भएको छ।

मङ्सिर २७ र २८ गते काठमाडौमा हुने उक्त भेलामा २०१५, २०४८, २०५१, २०५६ र २०६३ का संसद सदस्यलाई समेट्ने निर्णय पूर्व सांसद मञ्चको कार्यसमितिको बैठकले गरेको छ।

भेलामा २०१५ सालको संसदमा प्रतिनिधित्व गर्ने जीवित रहनु भएका ७ सांसद सहित करिव १ हजार ५०० सहभागी हुने अपेक्षा गरिएकोछ।

सो मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलहरूबीच बढ्दै गएको अविश्वास र शङ्काले देशको समग्र परिस्थिति नराम्रोसँग प्रभावित भएको, संविधानसभा पार्टीको लाचार छाँया बनेको, प्रशासन र सुरक्षा संयन्त्र कम्जोर हुँदै सामाजिक एकता र सद्भाव बिग्रदै गएको जानकारी दिइयो।

सरकारले देशका लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न र संसदमा पटक–पटक मतदान हुदा समेत प्रधानमन्त्रीको चयन हुन नसक्दा संविधान लेखन र शान्तिप्रकृयामा नै तुसारापत भएको जनाउँदै मञ्चले आग्रह र पूर्वाग्रहमाथि उठी विवाद र हठलाई त्यागेर देशलाई अनिर्णयको अवस्थाबाट मुक्त गराउन दलहरूलाई सुझाउ दिएको छ।

नागरिक समाज र राज्यको चौथो अङ्रग सञ्चार क्षेत्रले पनि बर्बादीतर्फ उन्मुख मुलुकलाई जोगाएर विकासको बाटो तर्फ लैजान दलहरूलाई दवाव दिनुपर्ने आवश्यकता मन्चले औल्याएको छ।

मन्चका अध्यक्ष पूर्वसभामुख तारानाथ रानाभाट हुनुहुन्छ।

Popularity: 7%

Add comment October 30th, 2010

कोरियामा नेपाली इन्जिनियर शेर्पा सम्मानित

पुरू जोशी, दक्षिण कोरिया / एचकेनेपाल डट कम-
कोरियामा नेपाली इन्जिनियर तेन्जी शेर्पा सम्मानित भएका छन्।

इन्जिनियर शेर्पा कोरियाको राजधानी सउल महानगरपालिकाको मानार्थ नागरिकबाट सम्मानित भएका हुन्।

सउल सिटीद्वारा विहीवार सेजोङ कल्चरल सेन्टरमा बिशेष सम्मान समारोहको आयोजना गरी शेर्पालाई महानगरपालिकाको मानार्थ नागरिकताबाट सम्मान गरिएको हो।

समारोहमा शेर्पासहित अन्य १६ वटा देशका १६ जना नागरिकहरुले उक्त सम्मान पाएका छन्। सम्मानित हुने सबैलाई सउल महानगरपालिकाका मेयर ओसेहुन्ले सम्मान गरेका हुन्।

सन् १९८७ मा अध्ययनको सिलसिलामा दक्षिण कोरिया प्रवेश गरेका शेर्पाले दक्षिण कोरियाको सउल नेशनल युनिभर्सिटीमा ग्रेजुएट गरेका हुन्। करीव १५ बर्ष हुन्डाइको इन्जिनियरिङ कम्पनीमा सेवा गरेका नेपाली इन्जिनियर शेर्पा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव हुन्।

शेर्पाले कोरियाली इन्जिनियरिङ प्रविधिको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरे बापत शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान समारोहमा नेपाली महामहिम राजदूत कमलप्रसाद कोरालाको पनि बिशेष उपस्थिति रहेको थियो।

सन् १९५८ यता कोरियालाई बिश्वभर चिनाउनमा योगदान गर्नेहरुलाई सम्मान गर्दै आएको सउल महानगरपालिकाले करीव ६ सय ४९ जनालाई सम्मानार्थ नागरिकता प्रदान गरिसकेको छ। यस अघि २००९ मा नेपाली पर्यटन ब्यवसायी केपी सिटौला पनि सम्मानित भएका थिए।

Popularity: 7%

Add comment October 29th, 2010

एमालेले भोट दिए निकासा निस्किहाल्छः पौडेल

एचकेनेपाल डट कम संवाददाता-
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जारी प्रधानमन्त्रीको निर्वाचनमा नेकपा एमालेले भोट दिए निकासा निस्किने बताएका छन्।

प्रधानमन्त्रीको १४ औं चरणको निर्वाचनमा पनि पराजित भएका पौडेलले सञ्चारकर्मीहरूसंग बोल्दै एमालले भोट दिए निकासा निस्कने बताएका हुन्।

सहमतिबाट होस् या भोट दिएर होस् आफूलाई प्रधानमन्त्रीमा चयन गर्नुपर्ने उनले बताए। सहमति गर्न नसके मलाई भोट दिनु पर्छ, पौडेलले भने। जति पटक चुनाव भएपनि आफू प्रधानमन्त्री हुनुपर्ने उनको भनाई थियो।

Popularity: 7%

4 comments October 29th, 2010

१५ औं चरणको प्रधानमन्त्री निर्वाचन कात्तिक १५ गते

एचकेनेपाल डट कम संवाददाता-
कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीको १५ औं चरणको निर्वाचन कात्तिक १५ गते हुने जनाएको छ।

समितिको बैठकले प्रधानमन्त्रीको १४ औं चरणको निर्वाचन हुनुअगावै १५ औं चरणको निर्वाचनको मिति तय गरेको हो।

Popularity: 6%

1 comment October 29th, 2010

चीन भ्रमण गएका लडाकुमाथि कारवाही हुन्छः शान्तिमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङले हालै चीन भ्रमण गएका माओवादी लडाकुमाथि कारवाही हुने कुरा दोहोर्र्याएका छन्।

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरुसित बोल्दै मन्त्री चेम्जोङले सरकार र अनमिनलाई जानकारी नै नदिई चीन भ्रमण गएका माओवादीका सैन्य कमाण्डरहरुमाथि कारवाही हुने बताए।

कारवाहीका विषयमा विशेष समितिमा छलफल हुने छ, मन्त्री चेम्जोङले भने। विशेष समितिको मातहतमा रहेका तथा सरकारले तलबभत्ता दिइरहेको लडाकुलाई सैन्य उद्धेश्यका निमित्त विदेशमा राजनीतिक भ्रमण गर्ने पाइदैन, उनले भने।

सैन्य कमाण्डरहरूको चीन भ्रमण शान्ति प्रक्रिया विपरीत रहेको उनको भनाई थियो। उनीहरूमाथि कारवाही हुने या नहुने भन्ने विषयमा विशेष समितिमा छलफल हुनेछ, मन्त्री चेम्जोङले भने।

त्यसै गरी, कात्तिक महिनाभित्र बजेट पारित नभए सरकारले माओवादी लडाकुहरूलाई दिदै आएको तलव भत्ता रोकिने समेत मन्त्री चेम्जोङले बताए। बजेट ल्याउन माओवादीले सरकारलाई सहयोग गर्न आग्रह गर्दै बजेट पारित नभए सरकारसंग लडाकुहरूलाई दिने पैसा नहुने मन्त्री चेम्जोङले बताए।

Popularity: 6%

1 comment October 29th, 2010

हाइटीमा नेपाली सेनालाई हैजा फैलाएको आरोप

एचकेनेपाल डट कम संवाददाता-
हाइटीमा शान्ति सेनाको रूपमा कार्यरत नेपाली सेनालाई त्यहाँका स्थानीय नेताहरूले हैजा फैलाएको आरोप लगाएका छन्।

स्थानीय नेताहरूले नेपाली सेनाको शिविरबाट निस्केको फोहोरबाट हैजा फैलिएको बताएपछि शिविरबाट निस्केको फोहोरको नमूना परीक्षण गरिएको छ।

परीक्षणमा ती फोहोरमा हैजाको जिवाणु नभएको तथ्य बाहिर आएको छ।

हाइटीमा गत सातादेखि फैलिएको हैजाका कारण कम्तीमा ३ सय ३ जनाको मृत्यु भइसकेको छ।

Popularity: 6%

Add comment October 29th, 2010

काँग्रेस महाधिवेशनमा १२ लाख रुपैयाँ बचत

एचकेनेपाल डट कम संवाददाता-
काँग्रेस महाधिवेशनका आर्थिक समितिका संयोजक दीपकुमार उपाध्यायले महाधिवेशनमा दुई करोड ७६ लाख रुपैयाँ आम्दानी भएको, दुई करोड ६४ लाख रुपैयाँ खर्च तथा करिब १२ लाख रुपैयाँ बचत भएको जानकारी दिनुभएको छ।

उहाँले महाविधेशनमा काँग्रेसले गरेको आम्दानी खर्चको विवरण सबैका लागि नमूना हुनेगरी सार्वजनिक गर्ने बताउनुभयो।

Popularity: 7%

Add comment October 29th, 2010

एमाले स्थायी समिति बैठक १४ गते

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)को स्थायी समितिको बैठक यही कात्तिक १४ गते बिहान पार्टी कार्यालयमा बस्ने भएको छ।

समसायिक राजनीतिक घटनाक्रम र पार्टीको साँगठनिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको पार्टी स्रोतले जनाएको छ।

बैठकले केन्द्रीय कमिटीको अन्तिम बैठकको मिति र एजेन्डाबारे पनि छलफल गर्ने बताइएको छ।

Popularity: 7%

Add comment October 29th, 2010

नयाँ सरकारले मात्र नयाँ बजेट ल्याउने: माओवादी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)ले नयाँ सरकार नबनाई अहिलेकै सरकारलाई बजेट ल्याउन नदिने भएको छ।

सो पार्टीको बसेको पदाधिकारी र काठमाडौँमा उपलब्ध स्थायी समिति सदस्यको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले भन्नुभयो– …अहिलेको कामचलाउ सरकारले बजेट ल्याउन सक्दैन, हाम्रो पार्टीले पहिले सरकार बनाएर बजेट ल्याऔं भन्नेमा जोड दिएको छ।’

Popularity: 6%

1 comment October 29th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2010
M T W T F S S
« Sep   Nov »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....