योगराज राई, वेलायत/ एचकेनेपाल डट कम, अक्टोबर १०-
बीएफबीएस गोर्खा रेडियो युकेले आयोजना गरेको तेश्रो विश्वब्यापी रेडियो कविता प्रतियोगिता सन् २०१० प्रसारणको तयारीमा पुगेको छ।
यो वर्षको प्रतियोगितामा वेलायत, हङकङ, अफ्गानिस्थान, नेपाल, मलेसिया, ब्रुनाई, जापान, अष्ट्रिया र बहराइन गरी जम्मा ५२ जना प्रतियोगिहरुले सहभागिता जनाएका छन्। जसमा नेपालबाट सबैभन्दा बढी २० जनाको सहभागिता रहेको छ।
यो प्रतियोगिता दुइ हप्तासम्म क्रमशः अक्टोवर महिनाको बुधवार १३ तारिख, बिहीवार १४ तारिख र शुक्रवार १५ तारिख र पुनः प्रसारण अक्टोवर महिनाको २० तारीख बुधवार, २१ तारिख बिहीवार, र २२ तारिख शुक्रवार वेलुकी पान्च बजेर दश मिनेट जाँदा गरिने छ। साथै, अन्तिम प्रसारण अक्टोवर ३० तारिख शनिवार तीन घण्टा वेलुकी क्रमशः चारबजे देखि सात बजेसम्म गरिने छ।
यो प्रतियोगितामा प्रथम हुने प्रतियोगिलाई चाम्स् फिल्मस् प्रोडक्सनद्वारा प्रायोजित अवार्ड, प्रमाणपत्र, बीएफ्बीएस चिन्ह अंकित पुरस्कार र लण्डन कलेजअफ इन्जिनियरीङ एण्ड म्यानेजमेन्टद्वारा प्रायोजित नगद १५ हजार रुपैयाँ प्रदान गरिने छ। त्यस्तै, द्वितीय र तृतीय हुने प्रतियोगीलाई पनि बीएफबीएस चिन्ह अंकित पुरस्कार, प्रमाणपत्र र लण्डन कलेजअफ इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टद्वारा नै प्रायोजित नगद क्रमशः १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने छ।
चाम्स् फिल्मस् प्रोडक्सनद्वारा अवार्ड चाहि प्रत्येक वर्षका विजयी प्रतियोगीलाई रनिङ्ग शिल्डको रुपमा हरुतान्तरण गरिदै जानेछ। यदि युके बाहिरको प्रतियोगीले जित्नुभएमा भने उक्त अवार्डमा विजयी प्रतियोगिको नाम लेखेर बीएफबीएसमै अर्को बर्षसम्म राखिने छ। यो वर्ष एक जना प्रतियोगीलाई सान्त्वना पुरस्कार पनि प्रदान गरिने निर्णय गरिएको छ।
धन बस्नेत, पोखरा/ एचकेनेपाल डट कम-
सहारा एफसी युकेले बेलायतकै फानबर क्लबसित भगिनी सम्बन्ध विस्तार गरेको छ। सम्बन्ध विस्तारले नेपाली उदयमान खेलाडीहरुले बेलायतको क्लबहरुमा अवसर पाउन सक्नेसमेत सहारा एफसी युकेले जनाएको छ।
भगिनी सम्बन्ध विस्तारको क्रममा फानबार एफसी र लिउस एफसी बीचको मैत्रीपूर्ण फुटबल खेलमा फानबरले लिउसलाई १-० ले गरेको थियो। सोही अवसरमा बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेले फानबर क्लबका अध्यक्षलाई नेपाली मायाको चिनो प्रदान गर्नुभएको थियो। क्लबका अध्यक्ष साइमन होलिसलाई खुकुरी चिनो स्वरुप हस्तान्तरण गर्नुभएको हो।
सोही अवसरमा राजदूत चालिसेले इङ्गलिस क्लबको सम्बन्धले बेलायतमा बस्दै आएको नेपाली र नेपालमा भएका उदयनमा खेलाडीहरुले अवसर पाउने बताउनुभयो। उहाँले नेपाली खेलाडीहरुको बेलायती क्लबमा अनुबन्धको लागि प्रयाससमेत गरिने जानकारी दिनुभयो।
दिवाभोज समेत आयोजना गरिएको कार्यक्रममा सहारा एफसी युकेका पदाधिकारीहरु, विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। सहारा एफसी युकेका अध्यक्ष नविन गुरुङ, एनआरएन युकेका अध्यक्ष सुर्य गुरुङ, नेपाली राजदूताबासका सल्लाहार गणेश अधिकारी, तमुधि युकेका अधयक्ष सुवाससिंह गुरुङ, मगरसंघ युकेका अध्यक्ष मे. कुलबहादुर थापालगायतका पदाधिकारीको उपस्थिति रहेको थियो। बेलायतका लागि फानबर एफसी युकेका अध्यक्ष साइमन होलिसलाई मायाको चिनो प्रदान गर्दै नेपाली राजदूत सुरेशचन्द्र चालिसे।
मणिकुमार श्रेष्ठ, धनकुटा/ एचकेनेपाल डट कम-
पुनरावेदन अदालत धनकुटाका मुख्य न्यायधीश हरिप्रसाद घिमिरेले समयको परिवर्तनसँगै प्रहरी संगठनको चूनौतिहरु पनि थपिदै गएको वताएका छन्।
५५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाले आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा मूख्य न्यायधिश घिमिरेले यस्तो वताएका हुन्। उनले राष्ट्र र समाजका लागि प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण भूमिका रहने वताउदै मूख्य न्यायधिश घिमिरेले परिवर्तित समयसँगै प्रहरी संगठनले पनि परिवर्तन हुँदै जानु पर्ने वताए।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, एकीकृत नेकपा माओवादीका तिलकप्रसाद राई, स्थानीय शान्ति समितिका संयोजक मनोहरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष बिजयसन्तोषी राई, नेपाल नेत्रज्योति संघ धनकुटाका सभापति उपेन्द्र पोखरेललेलगायतले वालेका थिए।
सो अवसरमा प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले दिनु भएको शुभकामना मन्तब्य जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी नायव उपरीक्षक अरुण बि. सी. ले पढेर सुनाएका थिए।
प्रहरी दिवस कार्यक्रममा सहिद किशोर राईकी श्रीमती राजकुमारी राई र भक्तबहादुर राईको पिता बलेश्वर राईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। प्रहरी दिवसकै अवसरमा धनकुटामा सम्पन्न भएको भलिवल प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरिनुका साथै उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक अरुण बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी बिजेन्द्र गौतम लगायत विभिन्न राजनीतिक दल, सरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। त्यसक्रममा प्रहरी जवान तरुणबहादुर बोहराले मार्मिक कविता बाचन गरेका थिए। कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक भद्रमान मोतेले गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
निर्वाचन आयोग र मधेसकेन्द्रित चार राजनीतिक दलबीच हाल नगरपालिकाहरुमा सञ्चालन भइरहेको फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा नागरिकतालाई अनिवार्य गर्ने प्रावधान हटाउन सहमति भएको छ।
आयोगको कार्यालयमा बसेको बैठकमा नागरिकता नहुनेका हकमा साविकको मतदाता नामावलीलाई आधार मान्ने सहमति भएको छ।
साविकको मतदाता नामावलीमा कुनै व्यक्ति वा निजको बुबाआमाको नाम रहेछ भने स्थायी ठेगाना र उमेर प्रष्ट हुनेगरी मतदाता नामावली ऐन २०६३ अनुसार पेस भएको प्रमाणको आधारमा मतदाता नामावली सङ्कलन विवरणमा समावेश गर्ने उल्लेख छ।
उक्त प्रावधान समेत पूरा नगर्नेको हकमा त्यस्तो व्यक्ति वा निजको आमाबाबुको साविकको मतदाता नामावलीमा नाम भए गाविस/नगरपालिकाले स्थायी ठेगाना र उमेर खोली फोटोसहित सिफारिस गरेमा मतदाता नामावली विवरणमा नाम समावेश गर्ने सहमति भएको छ।
आयोगमा भएको उक्त सहमतिमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का मृगेन्द्रकुमारसिंह यादव, मधेसी जनअधिकार फोरम नेपालका सिताराम अग्रवाल, तराई मधेस लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लाल र गोविन्द चौधरी तथा सद्भावना पार्टीका मनिषकुमार सुमनले हस्ताक्षर गर्नुभएको छ।
फोटोसहितको मतदाता नामावली सङ्कलनका क्रममा निर्वाचन आयोगले यसअघि मतदाताको नागरिकता अनिवार्य हुनुपर्ने प्रावधान राखेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा माओवादीका केन्द्रीय सदस्य वर्षमान पुनले संविधान र शान्ति निर्माण कार्य टुङ्गोमा नपुगेसम्म सेना समायोजन नहुने बताउनुभएको छ।
योङ कम्युनिष्ट लिग भक्तपुरले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तथा सेना समायोजन समितिका सदस्य वर्षमान पुनले माओवादीको जनमुक्ति सेना बिघटन गराएर दलहरु माओवादीलाई समाप्त पार्न खोजेको आरोप लगाउनुभयो।
उहाँले जबसम्म जनमुखी संविधान र शान्ति प्रक्रिया टुङ्गोमा पुग्दैन तब सम्म सेना समायोजन र हतियार नछाड्ने बताउनुभयो।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य जनार्दन शर्माले माओवादीको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग बिघटन होइन बरु अझ विस्तार र सुदृढ गरेर लैजाने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
गृह मन्त्रालयले नेपालका लागि भारतीय राजदूत राकेश सूदप्रति सोलुखुम्बु जिल्लाको भ्रमणका सिलसिलामा एकीकृत नेकपा (माओवादी) बाट भएको विरोधप्रति औपचारिक रुपमै दुःख व्यक्त गरेको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण तरिकाबाट विरोध प्रदर्शन गर्न पाउनु लोकतान्त्रिक मूल्य र मान्यता भित्रकै कुरा हो तर अमर्यादित र अशिष्ट व्यवहारप्रति मन्त्रालयले विरोध गर्दै दुःख व्यक्त गर्दछ’ भनिएको छ।
विज्ञप्तिमा सोलुखुम्बुको परिस्थितिबारे गृह मन्त्रालयद्वारा सम्बन्धित निकायलाई पूर्व जानकारी गराइएको, सुरक्षा प्रबन्ध मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको तथा स्थानीय प्रशासनले पनि यथेष्ट मात्रामा सुरक्षाको बन्दोबस्त मिलाएको उल्लेख गरिएको छ।
यसैबीच, नेपाल भारत मैत्री सङ्घले पनि विज्ञप्ति प्रकाशन गरी राजदूत सूदमाथि भएको उच्छृङ्खल र अमर्यादित व्यवहारले नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई बिथोल्ने बताएको छ।
एचकेनेपाल डट कम संवाददाता-
सुर्खेतबाट सामान बोकेर उडेको मकालु एयरको ९ एनएजेजी नम्बरको कार्गो विमान आइतबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।
विहान ७ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने बेलामा ब्रेक फेल भएर विमान दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरण हुम्लाले जनाएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
विमान ल्याण्ड गरिसकेपछि बाँयापट्टी टर्निङ गर्ने बेलामा विमान दुर्घटना भएको प्राधिकरण प्रमुख टेकबहादुर पातलीले बताए। ‘दुर्घटनाबाट विमानको अघिल्लो भागमा क्षति भएको छ।’ पातलीले भने ‘पाइलटको दक्षताका कारण मानवीय क्षति भएन।’
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले आज मुगु, जुम्ला र कालीकोट जिल्लामा सञ्चालित गरिबी निवारण कोषका कार्यक्रमको स्थलगत अनुगमन निरीक्षण गर्नुहुने भएको छ।
निरीक्षणका क्रममा प्रधानमन्त्री नेपालले कोषका योजनासँग सम्बन्धित समुदायसँग अन्तर्क्रिया र अनुगमन गर्नुहुने सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले बताउनुभयो।
प्रधानमन्त्री नेपाल गरिबी निवारण कोषका अध्यक्ष समेत हुनुहुन्छ।
एचकेनेपाल डट कम संवाददाता-
योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) र प्रगतिशील युवा सङ्घ नेपालबीच एकीकरण भएको छ।
जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ क्रान्तिकारी युवाबीच एकता अनिवार्य भएको आत्मसात् गर्दै दुई सङ्गठनबीच एकताको घोषणा गरेको जनाइएको छ।
एनेकपा (माओवादी) मुख्यालय पेरिसडाँडामा भएको एकता घोषणा समारोहमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा सङ्घका पदाधिकारीलाई पार्टी प्रवेश गराउनुभएको थियो।
यसरी प्रवेश गर्नेहरूमा नेकपा (माले) सँग आवद्ध प्रजातान्त्रिक युवा सङ्घका महासचिव हरिवंश मैनाली, कोषाध्यक्ष रामराज नाथ, सचिवालय सदस्य गोविन्द परियार, राजेन्द्र कोइराला, पूर्णबहादुर तामाङ, दिनेश कार्की, लक्ष्मण वेल्बासेलगायत १० जना छन्।
समारोहमा उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा उपस्थित हुनुहुन्थ्यो।
एचकेनेपाल डट कम संवाददाता-
झापाको ज्यामिरगढी गाउँ विकास समिति वडा नं. ९ बस्ने एक व्यक्तिले आफ्ना दुई सन्तान र श्रीमतीको निर्मम ढङ्गबाट हत्या गरेका छन्।
मजदुरी गरेर गुजारा चलाउँदै आएका रञ्जु करुवा नाम गरेका बङ्गाली भाषी ३० वर्षीय ती व्यक्तिले २५ वर्षीया श्रीमती सीता करुवा, ५ वर्षीय छोरा रञ्जित र ३ वर्षीया छोरी सोनियाको शनिबार अपराह्न ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तीनै जनालाई रञ्जुले बन्चरोले टाउको र शरीरमा प्रहार गरेर हत्या गरेका थिए।
श्रीमती सीता र छोरी सोनियाको घटनास्थलमै मृत्यु भएको थियो भने छोरा रञ्जितको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रञ्जु करुवाले परिवारका सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने उद्देश्यले घाँटी रेट्न खोजेको अवस्थामा छिमेकीहरूले देखेर उनलाई बचाएका थिए।
उनको गम्भीर अवस्थामा भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
रञ्जुले रक्सी पिएको प्रहरीले जनाएको छ। यद्यपि, हत्याको कारण खुल्न अझै सकेको छैन।