योगेन्द्र योगी “हिमाल”, क्वालालाम्पुर मलेसिया/ एचकेनेपाल डट कम-
हिन्दूहरुको महान चाड विजया दशमी २०६७ मलेसियाको बिभिन्न ठाउंहरुमा भब्यताका साथ सम्पन्न सम्पन्न भएको छ।
नेपाली कामदारहरुको बाहूल्यता रहेको मलेसियामा जताततै नेपाली श्रमिकहरु पाइन्छन्। नेपाली श्रमिकहरु मिलेर यहाँ बिभिन्न संघ संस्थाहरु गठन गरी भईपरी आउने समस्याको समाधान सबै संघ सस्था मिलेर सहयोग गर्ने गर्दछन। यिनै संघ सस्था मिलेर विजया दशमीको आयोजना गरेका थिए।
मलेसियाको निलाई शहरभित्र पर्ने तमान सेमारक भने ठाउमा युनाईटेड मोर कम्पनीमा रहेका दुई संस्था नेपाली एकता समाज र असल साशन युवा क्लबले पनि विजया दशमी २०६७ को आयोजना गरे। युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा सम्पन्न भएको शुभकामना दशैँ कार्यक्रममा नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाह, उपाध्यक्ष अम्बिका लिम्बु, कोषाध्यक्ष पदम कुँवर, सचिव रुद्र खतिवडा, सहसचिव लेख बहादुर बि.क बरिष्ठ सल्लाहकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागी थिए। शुभकामना कार्यक्रममा बरिष्ठ पत्रकार तथा हाम्रो संखुवासभा डट कमका प्रधान सम्पादक योगेन्द्र योगी “हिमाल”को पनि उपस्थिति रहेको थियो।
त्यसै गरी, असल शासन युवा क्लबको तर्फबाट अध्यक्ष रामनाथ दसलगायत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो। विजया दशमीको पावन अवसरमा पुजारी श्यामलाल ओलीले पूजा आराधना गर्नु भएको थियो। १०;४३ को टीकाको शुभ साइत आफू भन्दा ठूला मान्यजन जिबलाल घिमिरेको हातबाट साथीहरुलाई टीका लगाई दिदै शुभकामना दशैँ २०६७ सम्पन्न भएको थियो।
शुभकामना दशैँ २०६७ लाई थप मनोरंजन बनाउनका लागि नाचगान कार्यक्रमको आयोजना गरेर शुभकामना दशैँ मनाईएको थियो।
अम्बिका गिरी, नेदरल्याण्ड/एचकेनेपाल डट कम -
हिन्दू नेपालीहरुको महान चाड बडादशैं २०६७ लाई सम्पूर्ण नेदरल्याण्डबासी नेपालीहरुले ऐतिहासिक रुपमा मनाए।
हरेक वर्ष बडादशैँका नाममा दुई वा सो भन्दा बढि पटक दशैँको निम्तो पाउने नेपालीहरु यसपालीको संयुक्त दशैँमा आउन पाउँदा एकदमै उत्साहित देखिन्थे।
राष्ट्रिय एकता नेपाल नेदरल्याण्ड, गैरआवासीय नेपाली संघ नेदरल्याण्ड, नेपाल समाज नेदरल्याण्ड, नेपाल म्यूजिक फाउन्डेशन, नेपाल लोकतान्त्रिक मञ्च, नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड तथा नेपाल विकास प्रतिष्ठानको पहलमा आम्स्र्टडामको नसाउकेर्कमा बडादशैँको आयोजना गरिएको थियो।
नेदरल्याण्डमा धेरै लामो समयदेखि बसोबास गर्दै आएका अग्रज व्यक्तित्व लिलाधर गैरेले परम्परालाई निरन्तरता दिँदै उपस्थित सबैलाई विजया दशमीको टिका र जमरा प्रदान गर्नुभयो। विगत वर्षहरुमा नेपालीहरुलाई आफ्नै घरमा निमन्त्रणा गरेर नेपाली चाडबाडहरु मनाएपनि यसपाली सबै नेपालीहरुलाई एउटै थलोमा भेट्न पाउँदा आफू अत्यन्तै खुशी भएको कुरा व्यक्त गर्दै गैरेले भन्नुभयो- ‘विदेशमा बसेर हाम्रो कला संस्कृति र परम्परालाई बचाउनका लागि हामी सबै नेपालीहरुको दायित्व समेत रहेको छ।’
बडादशैँ आयोजक मूल समारोह समितिका संयोजक हरि पौडेललगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पानसमा बत्ती बालेर बडादशैँको कार्यक्रमलाई औपचारिक रुपमा शुरुवात गरेका थिए।
कार्यक्रमको शुरुवातलगत्तै संयोजक पौडेलले ‘आगामी दिनहरुमा पनि नेपालीहरुका लागि गरिने सम्पूर्ण कार्यक्रमहरु यसरी नै एकजुट भएर गर्नुपर्छ जसले कार्यक्रमलाई भव्य सफल र उत्साही बनाउनेछ’ भन्नुभयो।’
हिमचुली कल्चरल ग्रुप र नेपाल म्यूजिक फाउन्डेसनले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो। त्यसैगरि, कार्यक्रमको मध्यभागमा खेलाईएको बिंगो खेल उपस्थित सहभागीहरुका लागि आर्कषणको विषय बनेको थियो। कार्यक्रममा माउन्ट एभरेष्ट नेपाली रेष्टुरेण्ट आम्र्टडाममा बनाईएका विभिन्न परिकारहरु दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सम्पूर्ण उपस्थित दर्शकहरुका लागि खुला गरिएको थियो।
साँझ ६ बजेदेखि मुक्ति निरन्तर मुक्ति ब्याण्डको कार्यक्रममा सहभागीहरू झुमेका देखिन्थे। बडादशैँ आयोजक मूल समारोह समितिको सम्पूर्ण आर्थिक कार्यभारको जिम्मा राष्ट्रिय एकता नेपाल नेदरल्याण्डले बहन गरेको थियो भने निःशूल्क प्रवेश र खानपान रहेको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
दशैंको टीका थाप्न जाँदै गर्दा खोटाङको साप्सु खोलामा बगेर एकै परिवारका तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा गाईघाटकी २८ वर्षीया विमला भण्डारी, उनका नौ वर्षीया छोरी सविना र एक वर्षीय छोरा साजन रहेका छन्।
उनीहरू भँडारेबाट टिप्चुङमा दसैंको टीका थाप्न जाँदा करीब ११ बजे विहान खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूसंगै खोलामा बगेका २८ वर्षीय पुरूषोत्तम खतिवडा र २१ वर्षीया अम्बिका खतिवडा पौडिएर बाहिर निस्के पनि उनीहरू विहोस अवस्थामा छन्।
साप्सु खोला सुनकोसीमा मिसिएकोले बेपत्ताहरूको जीवित रहने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नयाँ सरकार तथा बजेटका विषयमा राष्ट्रपति डा. रामवरण यादवले तीन दलका शीर्ष नेताहरूसंग मंगलवार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा राष्ट्रपति यादवले राष्ट्रिय सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन्।
भेटवार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए।
भेटपछि सञ्चारकर्मीहरूसंग बोल्दै एमाले अध्यक्ष खनालले सहमतिबाहेक अर्को विकल्प नरहेको बताए। राष्ट्रपतिले दलहरुबीच सहमति निकालेर शान्ति र संविधानका मुद्दामा चांडो निकास निकाल्न आग्रह गरेको खनालले बताए।
त्यसैगरी, कांग्रेस सभापति सुशील कोइरालाले दलहरुबीच ठोस सहमति नभएसम्म कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने बताए।
कृष्ण सोमाई, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुले विविध कार्यक्रमहरू आयोजना गरी बडादशैं धुमधामले मनाए।
नेपाली विद्यार्थीहरुको साझा संगठन सोनसिक ख्यङ्सानबूक्दोले दशै कार्यक्रम ख्यङ्सानबूक्दो स्थित यङ्नाम विश्वविद्यालयमा आयोजना गरेको थियो।
यङ्नाम विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले सोनसिकका सदस्य कृष्ण सोमै र डा. दिनेश थापाको नेतृत्वमा हर्षोल्लासका साथ २ दिने दशैं कार्यक्रम सम्पन्न गरेको छ।
शनिवार तथा आईतवारसमेत ल्याव जानुपर्ने (डी-फ्याक्टो) वाध्यता तथा हाल थेसिसको चटारो सहितका कठिनाईहरु र व्यस्तताका वावजुत पनि दशैं कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
जमरा, पिङ, खसीका विभिन्न परिकारले नेपालकै झल्को दिने दशैं कार्यक्रममा सामान जुटाउन र ठाँउ मिलाउन सरला मानन्धर, राधा कार्की र स्मृति पोखरेलले जिम्मा लिएका थिए।
सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म र पहाडदेखि तराई सम्मका विभिन्न जात जाती, धर्म, संस्कृतिका विद्यार्थीहरु भए पनि सवैको उपस्थिती तथा सहभागिता अति उत्साहजनक रहेको थियो।
कार्यक्रम सम्पन्न गर्न चिलिमे जल विद्युतका पूर्व कर्मचारी तथा इलेक्ट्रीकल इन्जिनियर राजेन्द्र लाल श्रेष्ठ, देउराली जनता फार्मेसीका पूर्व फार्मासिस्ट प्रतिक न्यौपाने तथा फार्मेसी विभागका निर्मल मरासिनीको वेजोड् कोअपरेसन तथा कोअर्डिनेसन रहेको थियो।
कोरियाकै उत्कृष्ठ विश्वविद्यालयहरु मध्येका एक योङ्नाम विश्वविद्यालयमा नेपालका सत् प्रतिशत विद्यार्थीहरु छात्रवृत्तिमा फार्मेसी, इन्जीनियरिङ, वायोटेक्नोलोजी लगायतका प्राविधीक विषयहरुमा स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत छन्।
फोटोहरूः नेपाली विद्यार्थीहरुको साझा संगठन सोनसिक ख्यङ्सानबूक्दोले आयोजना गरेको दशै कार्यक्रममा उपस्थित विद्यार्थीहरु तथा
नेपाली पोसाकमा योङ्नाम विश्वविद्यालय, फार्मेसी विभागका विद्यार्थीहरु
एचकेनेपाल डट कम संवाददाता-
खुर्पाले हानेर बुहारीको हत्या प्रयाश गरेको अभियोगमा पक्राउ परेकी एक महिलाको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछाप घर भएकी ४५ वर्षीया सिता विक रहेकी छिन्।
विकको शव मंगलवार बिहान महानगरीय प्रहरी वृत्त ठिमीको हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विकको मृत्युबारे अनुसन्धान भैरहेको नायब उपरीक्षक राधिका खड्काले बताएकी छिन्।
घाँस काट्ने क्रममा खुर्पाले हानेर बुहारी मसली विकको हत्या प्रयाश गरेको अभियोगमा उनी चार दिनअघि पक्राउ परेकी थिइन्।
गम्भीर रूपमा घाइते भएकी मसलीको टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार मसलीको दुबै हात चुडिन लागेको अवस्थामा रहेको तथा टाउको, गर्धन, गाला र शरीरका अन्य भागमा गहिरो चोट लागेको छ।
मृतक विककी पति रोजबहादुर विकले तीन सातादेखि सीताले मानसिक सन्तुलन गुमाएको बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
फेवाताल घुम्न गएका एक बेलायती पर्यटक सोमवार साँझदेखि बेपत्ता रहेका छन्।
बेपत्ता हुनेमा ४९ वर्षीय बेलायती नागरिक गिमी बज रहेका छन्।
दुई दिनअघि मात्र पोखरा घुम्न आएका गिमी बज फोटो खिच्ने क्रममा डुंगा असन्तुलन भै फेवातालमा डुबेको प्रहरीले बताएको छ। उनीसंगै डुबेका विलियम डन्कन मुन्रोलाई स्थानीवासीले उद्धार गरेको प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताए।