एचकेनेपाल डट कम संवाददाता-
सयभन्दा बढी सुन्दरी प्रतियोगीहरूलाई पछि पार्दै संयुक्त राज्य अमेरिकाकी १८ वर्षीया अलेक्जेद्रिया मिल्सले मिस वर्ल्ड २०१० को ताज जितेकी छिन्।
चीनको सान्यामा शनिवार साँझ सम्पन्न ६०औं विश्व सुन्दरी प्रतियोगितामा बट्सवानाकी इम्मा वारेज फस्ट रनरअप र भेनेजुलाकी अड्रिना भास्नी सेकेण्ड रनरअप भए।
मिस नेपाल २०१० सदिच्छा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेकी भएपनि उनी २०औं स्थानमा समेत पर्न सकिनन्।
खेमनाथ पौडेल, यूएई/ एचकेनेपाल डट कम-
दिपावलीको पावन अवसर पारेर आयोजना गर्न लागिएको सास्कृतिक दिपावली साँझ कार्यक्रमकोलागि अहिलेकी जल्दिबल्दी गायिका अञ्जु पन्त पहिलो पटक यूएई आउने भएकी छिन्।
आगामी शुक्रवार नोभेम्वर ५ २०१० लक्ष्मिपूजाका दिन बरदुवईमा अवस्थित अष्टोरिया होटलमा आयोजना हुन लागेको उक्त साँगीतिक कार्यक्रममा उनलाई साथ दिदै छन् यूवा जमातका लोक हिपपप गायक मिङ्गमा शेर्पा।
तिहारलाई लक्षित गरि आयोजना गर्नलागिएको उक्त कार्यक्रमा अञ्जु पन्त, मिङ्गमा शेर्पा मात्र नभई यूएईमा विगत लामो समयदेखि नेपाली साँगीतिक कार्यक्रमहरुमा तहल्का मच्चाएका स्थानीय कलाकारहरुको पनि सहभागिता रहने आयोजकले बताएको छ।
राजु श्रेष्ठ, सरोज थापा तथा भोजराज घलेले संयूक्तरुपमा आयोजना गर्नलागेको उक्त कार्यक्रमको सहयोगीको भूमिका भरौला यूवा जमात यूएईले गरिरहेको तथा कार्यक्रमको अन्तिम तयारी भईरहेको आयोजकले बताए।
अञ्जुका सुरिलो आवाजले लठै परेका प्रवासी नेपालीहरु प्रत्यक्ष आफू अगाडि नै गायिकालाई भेट्न पाउँने हुँदा उक्त कार्यक्रममा प्रवासी नेपालीहरुको उपस्थिति बाक्लो रहने आयोजकले बताएको छ।
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
दीर्घराज कोइराला विवेकका मानिस थिए। विवेक भएकाले नै यिनलाई चिन्थे । वास्तवमा बुद्धिजीवीहरूले मात्र उनको जीवन चिनेका थिए, उनको महानता बुझेका थिए र उनको त्याग पढेका थिए।
दीर्घराज कोइराला, जीवनभर बिहे नगरी देशहितमा लाग्ने कोइराला ब्रम्हचारी थिए। हुन त राजनीतिमा त्यस्ता सन्त कृष्णप्रसाद भट्टराई देखा पर्छन्। तर यी दुई जनाको नीति बेग्लै छ। कोइराला सामाजिक उत्थान वा त्यसबारेको चिन्तमा मात्र लागे। अनि भट्टराई राजनीतिमा मात्रै लागे। तर दुवै जना त्यागी भएरै लागे, राष्ट्रका निम्ति लागे र अर्काका लागि लागे।
कोइरालामा अर्काप्रतिको सेवा गर्ने भावना थियो। यिनमा गरिबदुःखीको आँसु अञ्जुलीमा थाप्न सक्ने धैर्य देखिन्थ्यो र अरूका लागि मरिमेट्ने गुण सानैदेखि थियो।
कोइरालाले मानवजीवनमा हुनुपर्ने सद्भावनाको सही अर्थ बुझेका थिए। अर्कालाई कसरी सहयोग गर्नुपर्छ भन्ने विद्या यिनले पढेका थिए। त्यसैले ‘असहाय र दीनदुःखीका निम्ति गाँस र वासको व्यवस्था गर्नु समाजसेवाको एक अभिन्न अङ्ग हो’ यी भन्थे।
कोइराला वर्तमान युगमा भौतिक सुखका निम्ति स्वार्थी भावना बढेकोमा ज्यादै दुःखित थिए । यही प्रसङ्ग कोटयाएर यी भन्थे, “यसले गर्दा एकअर्काप्रति धोका, छलकपट, जबर्जस्तीको भावना बढ्दै गएको देखिन्छ।”
नेपालमा कुशल चरित्रवान् नागरिकका रूपमा कोइरालाले नाउँ कमाए । यिनको नाउँ पनि समाजसेवामा नै प्रतक्ष्य गाँसिएको थियो। समाजसेवा के हो भन्ने विषय यिनले पढेका थिए । त्यसैले यी समाजसेवाको नै पनि बलियो ढाड भएर अबिरल प्रस्तुत भइरहे।
कोइराला साँचो बोल्थे । यी न्याय र अन्यायलाई तौलन सक्थे । यी कुनै आशाको फन्दामा पर्न चाहँदेन थिए । उनी कसैलाई फोस्रो आश्वासन पनि दिदैन थिए । नेपाली समाजमा उनी वास्तविकताको सग्लो नमुना थिए।
कोइरालाको समाजसेवा शिक्षामा नै केन्द्रित थियो । सहरमा शिक्षित बेकारी छन् तर दुर्गम क्षेत्रमा शिक्षक नभएर विद्यालय बन्द छन्’ उनी भन्थे । सरकारले सबैतिरको सामञ्जस्यता ल्याउनुपर्नेमा उनी जोड दिन्थे । साथै राजा महेन्द्रको सपना ‘गाउँफर्क’लाई फर्काउनु पर्छ उनी भन्थे । त्यसैबाट ग्रामीण तहमा योग्य काम गर्न सकिन्छ भनेर उनी दोहोर्याएर समाजसामू आफ्नो भनाई राख्थे।
कोइराला देशमा जनता नाङ्गा नरहून् भन्थे। तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार भएपछि यिनको सुकिलो व्यक्तित्वको शाख घटेको थियो। त्यसपछि यिनको महानता पनि गिरिजाप्रसादकै तराजुमा जोखनि थालियो । गिरिजाप्रसाद कोइरालाकै राजनीतिमा लाग्दा यिनले जीवनभरी कमाएको यिनको इमान झन्नै नास पनि भयो । वास्तवमा जव उनी गिरिजाप्रसादको चङ्गुलबाट फुस्के तब फेरी यिनी दीर्घराज कोइराला नै भए । अनि उनी क्रमशःक्रमशः सबैका प्रिय पात्रमा रुपान्तरित पनि हुँदैगए।
कोइरालाले गान्धीका आदर्श पाठहरू पढेका थिए । यिनले यसै सिद्धान्तमा डुबेर थुप्रै रोगीहरूको चाकर गरे । यिनले विभिन्न गाउँगाउँमा गएर सफाइ आन्दोलन गरे । त्यस काममा पनि यिनले आफै नमूना बनेर देखाइदिए।
कोइराला निस्सहायहरूलाई पढ्नलेख्न सहयोग दिन्थे। यिनले कैयौँ स्कुल खोले। अथवा भनौं यिनले नेपालका ७२ जिल्लामा त विद्यालय मात्र खोले। धेरै स्कुलको यिनैले अध्यक्षता पनि ग्रहण गरे। यिनले शिक्षा विकासका लागि व्यवस्था मिलाएर जनतालाई यसमा सरिक हुन प्रेरणा प्रदान गरे। शिक्षाक्षेत्रका यी विशेषज्ञ थिए। यी विद्वान् भईकन सादा थिए र धनी भईकन पनि उच्च थिए । अरू बोल्थे, यी गर्थे । अरू मुख खोल्थे, यी दिल खोल्थे।
नेपालमा समाजसेवाको संस्थागत विकास नभएको कुरा कोइराला बराबर दोहोर्याउँथे । उनी समाजसेवामा अधिकारीतन्त्र वा कर्मचारीतन्त्र बढेकोमा गुनासो गर्थे । पर्यवेक्षकहरूको दृष्टिकोणमा कोइरालाको बोलाइमा सच्चाइ हुन्थ्यो । वास्तवमा यी सत्य बोल्थे तर थोरै बोल्थे । साथै यिनको केही दर्शन वाइरनसँग मिल्थ्यो । यतिहुँदाहुँदै पनि यी सुरा र सुन्दरीसँग चाहिं टाडा थिए।
विष्णुप्रसाद कोइराला र मानकुमारीका सुपुत्रका रुपमा दीर्घराज कोइराला १९७६ साल भदौ २५ गते विराटनगरमा जन्मे। राणाद्वारा आफ्ना बुबा र्सवस्वसहित खेदिंदा यी दुधे बालक पनि आमासँगै भारत पसेका थिए।
कोइरालाका लागि सानोठूलो सबै मान्छे बराबरी हुन्थे । गरीबधनी यिनका लागि उस्तै थिए । शिक्षामा झुकाव भएकाले यी यस पेशामा पवित्र भएर लागेका थिए । हीरालाल विश्वकर्मा र उनका भाइ टीआर विश्वकर्मालाई पनि यिनले नै स्कुलमा भर्ना गरिदिए। यस्तो काम गर्दा अत्याचारी, निरङ्कुश र शोषक माधवशमशेर राणाले दीर्घराज कोइरालालाई कोर्रा हान्ने आदेश दिए। अनि चाँडै यो बेहोरा जनरल मृगेन्द्रशमशेर राणाले थाहा पाए। उनले कोइरालालाई काठमाडौं बोलाए। अनि कोइराला पनि रातोरात राजधानी आए। मृगेन्द्रशमशेरले कोइरालाका सबै कुरा सुने। अनि भने ‘यी अछूतलाई तिमीले पढाएर ठीक गरेका छौ। तिम्रो गुणको म संरक्षण गर्छु। यिनीहरुलाई तिमीले पढाउनू तर बेग्लै बेन्चमा बसाउनू र बेग्लै खाने पानी राख्न लगाउनू।’ राणाको यस्ता कुराले कोइराला गद्गद् भए। धरान पुगेर यिनले यो कुरा पण्डित छविलाल पोखरेललाई सुनाए। पण्डित पनि यस कुराबाट सारै रमाए।
कोइराला समाजसेवी मात्र होइनन् कुशल प्रशासक पनि थिए। यी ३६ वर्ष सरकारी सेवामा रहे । यी नेपालका विभिन्न मन्त्रालयको सचिव भए र बैकहरुका पनि अध्यक्ष भए। यिनले कामबाट खुबै नाम कमाए। यिनले त्यस बेला थुप्रै सङ्घसंस्था पनि उकासे। यिनले प्रशासनमा आफ्नो सीप देखाए र जाँगर पोखे। यिनले चाकरी नै नगरी तक्मा पाए। तर यिनले जागिरदारले लाउने खालको सामान्य गोरखादक्षिण बाहु र त्रिशक्तिपट्ट मात्र पाए।
कोइरालाले एमए र एम्एड पढेका थिए। तर यिनमा एक इन्ची घमण्ड पलाएको थिएन। बरु यिनीभित्र त्याग पलाएको थियो। यिनले गरीवसँग पनि कहिल्यै सर्केर कुरा गरेनन्। खनुप्रुदे रामबाबूको स्वभावजस्तै यिनले पनि सानोठूलो सबैलाई समान व्यवहार गरे। कृष्णप्रसाद भट्टराई झै यिनले पनि पद हेरेर कसैलाई मान्दैन थिए। अथवा भनौ भट्टराईले जसरी गुण भएका व्यक्तिलाई मात्र गने, यिनले पनि त्यसै गरे। उनी समाजसेवाका तपस्वी थिए र समाजसेवीका आत्मीय डोरी थिए।
कोइराला सानैदेखि धार्मिक थिए। उनी आध्यात्मिक चिन्तनमा डुब्थे। उनी कहिलेकहिले त जीवन नै धर्ममा भुल्थे। सनातन धर्म सेवा समितिमा पनि यी बसे र उनले त्यहाँ पनि नयाँ आलोक दिए।
कोइरालाले थुप्रै वर्ष प्रवासमा गुजारे । उनले त्यहाँ धेरै हण्डर खाए। उनले आर्थिक सङ्कट भोग्दै पढे। तर नोकरी पाएपछि उनी मज्जाले फक्रिए। नोकरी र सेवामा लागि पर्दा उनी नेपालका सारा जिल्ला घुमे र विश्वका केही भाग पनि पुगे।
दीर्घराज कोइराला पक्षघातबाट लामो समयसम्म पीडित थिए। त्यही रोगले अरु रोग थप्तै लाँदा उनी दिनानुदिन खिइँदै गए। अन्ततः उनी २०६७ साल कात्तिक ६ गते काठमाडौँमा स्वर्गीय भए।
naiprasai@gmail.com
एचकेनेपाल डट कम संवाददाता-
साङ्घाई (चीन), कार्तिक १३ - नेपालसहित विश्वका एक सय ९० मुलुक तथा ५७ अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको साङ्घाई वल्र्ड एक्स्पो २०१० सकिन एक दिन बाँकी हुँदासम्म केही नयाँ विश्व कीर्तिमान कायम भएका छन्।
‘सन् १८५१ मा लण्डनमा आयोजित पहिलो एक्स्पोपछिको डेढसय वर्षको इतिहासमा यो सबैभन्दा ठूलो सहभागिता हो,’ नेपाल मण्डपका निर्देशक विनायक शाह दाबी गर्छन्।
साङ्घाई एक्स्पो अवलोकन गर्नेको सङ्ख्याले पनि नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारसम्ममा सात करोड २६ लाखभन्दा बढीले त्यसको अवलोकन गरिसकेका छन्।
सन् १९७० मा आयोजित ओसाका एक्स्पोमा छ करोड ४० लाखले अवलोकन गरेका थिए । साङ्घाई एक्स्पो सञ्चालन भइरहेको पाँच दशमलब २८ वर्गकिलोमीटर क्षेत्र पनि हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको एक्स्पो स्थल हो।
त्यस्तै अक्टोबर १६ तारिखका दिन १० लाख ३२ हजारले साङघाई एक्स्पोको अवलोकन गरेका थिए। एकै दिनमा त्यति धेरैले एक्पो अवलोकन गरेको पनि नयाँ रेकर्ड भएको साङ्घाई एक्स्पोको आधिकारिक वेबसाइटमा उल्लेख छ।
साङ्घाई एक्स्पोमा निर्माण गरिएको नेपाल मण्डप पनि हालसम्मको सबैभन्दा ठूलो भएको निर्देशक शाहको दाबी छ।
नेपाली मण्डप अवलोकन गर्ने दर्शकको सङ्ख्याले पनि ७५ लाख नाघिसकेको छ । सन् २००० मा जर्मनीको ह्यानोवरमा आयोजित एक्स्पोमा निर्मित नेपाल मण्डपको ३५ लाखले अवलोकन गरेका थिए।
निर्देशक शाहले सन् १९७० बाट एक्स्पोमा सहभागिता जनाएको नेपालको ४० वर्षको इतिहासमा यो नयाँ रेकर्ड हो भने । छ महिना अगाडिबाट सुरु भएको एक्स्पो भोलि आइतबार समापन हुँदैछ। (रासस)
एचकेनेपाल डट कम संवाददाता-
रक्षामन्त्री विद्यादेवी भण्डारीले एकीकृत नेकपा (माओवादी) सहमतिमा नआए सङ्कटकाल लगाएर भए पनि कात्तिक मसान्तभित्र बजेट ल्याउनुपर्ने धारणा राख्नुभएको छ।
अखिल नेपाल महिला सङ्घ ललितपुरद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले बजेट अभावका कारण आर्थिक सङ्कट सिर्जना हुने भएकाले जसरी भए पनि बजेट ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो– ‘बजेट ल्याउनु सरकारको कर्तव्य हो। हामी कर्तव्यबाट बाहिरिन सक्दैनौं।’
‘अरु सबै काम कामचलाउ सरकारले गर्न भएपछि बजेट चाँही ल्याउन किन नमिल्ने?’ भनी प्रश्न गर्दै रक्षामन्त्री भण्डारीले भन्नुभयो– ‘कि त सहमतिमा सरकार बेलैमा बनाउन सक्नुपर्थ्यो, कि त निःशर्त बजेट ल्याउन दिनुपर्छ।’
एचकेनेपाल डट कम संवाददाता-
साङ्घाई एक्स्पोमा रहेको नेपाल प्रदर्शनीस्थलमा राखिएका मूर्तिहरूमा आगन्तुकले चढाएको रकमलाई परोपकार कोष बनाई राखिने भएको छ।
नेपाल प्रदर्शनीस्थलको सञ्चालनको जिम्मा पाएको इम्प्लिमेन्ट एक्स्पर्ट ग्रुपले भेटी र दक्षिणाबापत उठेको रकमबाट विपन्न र पिछडिएका महिलाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले परोपकार कोष स्थापना गर्ने निर्णय गरेको नेपाली प्रदर्शनीस्थलका निर्देशक विनायक शाहले बताउनुभयो।
एक्स्पो सुरु भएदेखि नै आगन्तुकले नेपाल पेभिलियनमा प्रदर्शनीका लागि राखिएका करिब एकसय बुद्ध र हिन्दु देवीदेवताका मूर्तिमा पैसा फ्याँक्न सुरु गरेका थिए।
टाढाबाट फ्याँकिएका सिक्काबाट नेपाली हस्तकलाका मूर्ति कोरिने र बिग्रने डरले हामीले सुरुसुरुमा आगन्तुकलाई रोक्न खोजेका थियौं, निर्देशक शाहले भन्नुभयो– उनीहरूले धर्मप्रति देखाएको अगाध आस्थाका कारण पैसा फ्याँक्ने क्रमलाई हामीले रोक्न सकेनौं।
एचकेनेपाल डट कम संवाददाता-
मुलुकको वर्तमान राजनीतिक र आर्थिक गतिरोध अन्त्यका लागि सरकार र राजनीतिक दलहरूलाई मार्ग निर्देश गर्ने उध्देश्यले पूर्व साँसदहरूको राष्ट्रिय भेला आगामी मङ्सिरमा हुने भएको छ।
मङ्सिर २७ र २८ गते काठमाडौमा हुने उक्त भेलामा २०१५, २०४८, २०५१, २०५६ र २०६३ का संसद सदस्यलाई समेट्ने निर्णय पूर्व सांसद मञ्चको कार्यसमितिको बैठकले गरेको छ।
भेलामा २०१५ सालको संसदमा प्रतिनिधित्व गर्ने जीवित रहनु भएका ७ सांसद सहित करिव १ हजार ५०० सहभागी हुने अपेक्षा गरिएकोछ।
सो मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दलहरूबीच बढ्दै गएको अविश्वास र शङ्काले देशको समग्र परिस्थिति नराम्रोसँग प्रभावित भएको, संविधानसभा पार्टीको लाचार छाँया बनेको, प्रशासन र सुरक्षा संयन्त्र कम्जोर हुँदै सामाजिक एकता र सद्भाव बिग्रदै गएको जानकारी दिइयो।
सरकारले देशका लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न र संसदमा पटक–पटक मतदान हुदा समेत प्रधानमन्त्रीको चयन हुन नसक्दा संविधान लेखन र शान्तिप्रकृयामा नै तुसारापत भएको जनाउँदै मञ्चले आग्रह र पूर्वाग्रहमाथि उठी विवाद र हठलाई त्यागेर देशलाई अनिर्णयको अवस्थाबाट मुक्त गराउन दलहरूलाई सुझाउ दिएको छ।
नागरिक समाज र राज्यको चौथो अङ्रग सञ्चार क्षेत्रले पनि बर्बादीतर्फ उन्मुख मुलुकलाई जोगाएर विकासको बाटो तर्फ लैजान दलहरूलाई दवाव दिनुपर्ने आवश्यकता मन्चले औल्याएको छ।
मन्चका अध्यक्ष पूर्वसभामुख तारानाथ रानाभाट हुनुहुन्छ।