Archive for November, 2010

‘बाटोमुनिको फूल’ को प्रदर्शन

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम -
बहुप्रतिक्षित चलचित्र ‘बाटोमुनिको फूल’ को प्रदर्शन गत शुक्रबार देशभरका हलहरुबाट सुरु भएको छ।

सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको यो तेस्रो चलचित्र हो।

यसअघि नेपाली चलचित्र क्षेत्रमा पटकथा लेखनमा जमेका नाल्बोले लगभग डेढ दशकको अन्तरालपछि निर्देशनमा हात हालेका हुन्। प्रेम प्रसङ्ग र जातीय छुवाछुतलाई मुख्य कथावस्तु बनाएर चर्चित गायक यशकुमारको कथामा तयार भएको ‘बाटोमुनिको फूल’ मा यशकुमारले मुख्य भूमिका निभाएका छन्। उनीसँगै चलचित्रमा बाबु बोगटी, रेखा थापा, नन्दिता केसी, सुभद्रा अधिकारी, गणेश उप्रेतीलगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा महानायक राजेश हमाल पनि पुलिस इन्स्पेक्टरको सानो भूमिकामा छन्।

हलहरुबाट सानदार ओपनिङ नमिले पनि सन्तोषजनक व्यापार गरिरहेको यो चलचित्रले अन्य नेपाली चलचित्रभन्दा छायाङ्कन, सम्पादन, ब्याकग्राउण्ड म्युजिकमा निक्कै ध्यान दिएको देखिन्छ।

यशकुमार पनि आफ्नो भूमिकामा निक्कै जमेका छन्। उनले तल्लो जातको युवा र रेखा थापाले माथिल्लो जातकी युवतीको भूमिका निभाएका छन्। दुवैको प्रेमको विषयलाई मुख्य कथावस्तु बनाएको छ। कथामा नौलोपन नभए पनि बोर भने पटक्कै हुँदैन। यशकुमारको चर्चित गीत ‘मैले छोएको पानी चल्दैन’ लाई कथावस्तुको ठीक ठाउँमा राखिएको छ। यशकुमारको संगीत रहेको अन्य गीतहरु पनि कर्णप्रिय छन्। समग्रमा नेपाली चलचित्रका पारखीहरुलाई मात्र नभएर हिन्दी चलचित्रका पारखीहरुलाई पनि चलचित्रले राम्ररी मनोरञ्जन दिने विश्वास गर्न सकिन्छ।

Recent Videos:

Popularity: 7%

1 comment November 30th, 2010

लोकेन्द्र शाहको कथा

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
लोकेन्द्र शाहको जन्म २०२४ साल साउन १५ गते र निधन २०४८ साल साउन १६ गते भएको थियो। उनी जाजरकोटमा उदाएका र काठमाडौंमा अस्ताएका थिए। केदारजङ्ग शाह र रमारानी शाहका जेठी छोरी इन्दिरा र कान्छी छोरी अन्जनाका माझ लोकेन्द्र शाह जन्मेका थिए।

लोकेन्द्र शाह बाल्यकालमा लिखुरे थिए । उनी सानामा कहिले विच्छिको टोकाईमा परे, कहिले घरको धुरीबाट खसे र कहिले झाडावान्ताबाट मर्माहत भए । त्यस बेला घरिघरि यी मर्दै बाँच्दै गर्थे । तर उनी होनाहार थिए र उनी आफ्नो उमेर या शरीरिक बनौटको गच्छेभन्दा बढी ज्ञानका भण्डार थिए।

लेखक प्रसाईका साथ शाह (तस्वीरमा वायाँ)

लोकेन्द्र शाह सानैदेखि कल्पना गर्थे र ती कुरा आफ्नी आमालाई भन्थे। उनले आफू तीन वर्षो हुँदा भनेका थिए “मेरो घर रुकुममा हो म यहाँ सिधा लिन मात्र आएको हुँ । मलाई सिधा दिनुहोस् म जान्छु ।” शाहका विषयमा त्रिभुवन विश्वविद्यालयबाट एम्एमा शोध गर्ने अशोक सुवेदीका अनुसार शाह आठ वर्षो हुँदा उनले आफ्नी आमा र दिदीलाई “लालीपाउडर लगाएकी एउटी गोरी केटी हाम्रो घरतिर आउँदै छे” भनेका थिए । वास्तवमा उनी कल्पनाका मालिक थिए । पछि गएर उनको कल्पना साहित्यरचनामा केन्द्रित भयो।

लोकेन्द्र शाहले स्कुले शिक्षा आफ्नै गाउँमा लिए । पछि आफ्नी दिदी इन्दिरा शाहलाई पछयाएर उनी काठमाडौं पनि आए र आइएल, बीएल पढे । उनी दिवङ्गत भएपछि मात्र उनले बीएल पास गरेको नतिजा प्रकाशित भएको थियो।

लोकेन्द्र शाह प्रायः नरेन्द्रराज प्रसाईका घरमा आइरहन्थे । यी दुवैको मन, वचन र कर्म मिल्थ्यो । हुनत उनीहरूको उमेरमा १२ वर्ष फरक थियो; तर विचार एकै प्रकारको हुन्थ्यो । दुवै जना विपरित सिद्धान्तका थिए तर उनीहरू एउटै आन्द्राजस्ता थिए । शाहको रुनेहाँस्ने र प्रसाईको रुनेहाँस्ने उनीहरू नै एक अर्का थिए।

२०४८ साल साउन १५ गते पनि सँधै झैं लोकेन्द्र शाह नरेन्द्रराज प्रसाईका घरमा आए तर त्यसको भोलिपल्ट प्रसाईले शाहका नाउँमा धेरै आँसु पोख्नु पर्यो । परोपकार संस्थाको ल्याण्डक्रुजरनामक एम्बुलेन्स आधारातमा शाहको शरीरमाथि कुदे पछि शाहको प्राण त्यहीँ रित्तियो । एउटा विचारक, एउटा सञ्चारकर्मी र एउटा असल मान्छेलाई यस धर्तीले अनायसै विदा दियो । अनि वीर अस्पतालको पोस्टमार्टम पछि रमारानी शाह, इन्दिरा शाह, अन्जना शाह र नरेन्द्रराज प्रसाई एउटै अँगालोमा बाँधिएर डाँको छोडेर रोए । त्यस दिन त्यो ठाँउमा सबैका आँखामा आँसु छछल्किएका थिए । उक्त परिसर लोकेन्द्रलाई माया गर्ने मान्छेले टनाटन भरिएको थियो । त्यस बेलाको वाताबरण नै करुणा, माया र विछोडले भरिएर भक्कानिएको थियो, सुक्सुकाइरहेको थियो र कंकलाशब्दको चित्कारले भरिएको थियो।

लोकेन्द्र शाह ज्यादै भलाद्मी थिए । ठट्टा रमाइलोमा पनि उनी निपूर्ण थिए । उनी बोल्दा ठोस कुरा बोल्थे । अर्कालाई होच्याउने मान्छे उनी मन पराउँदैन थिए । उनी आफूभन्दा ठूलाको मान गर्थे र सानालाई माया गर्थे।

लोकेन्द्र शाहले बाल्यकालमै साहित्य लेख्थे, पढ्थे र नाटकहरूमा पनि भाग लिन्थे । उनी कार्लमार्क्स, लेनीन र माओत्सेतुङलाई पृथ्वीले पूजा गर्नुपर्छ भन्थे। शाह प्रेमिल थिए। केटीहरू भनेपछि चाख मानेर कुरा सुन्थे। तर उनले बिहे गरेनन्। बिहे गर्ने कुरा चल्दाचल्दै उनलाई दैवले हेरेर लग्यो।

लोकेन्द्र शाहले स्कुले जीवनदेखि नै कविता लेखे। त्यसै बेला उनले निबन्ध, कथा र उपन्यास पनि लेखे। उनका लेखरचना नेपालका विभिन्न साहित्यिक र समाचार पत्रपत्रिकादेखि भारतबाट प्रकाशित ‘रवीवार्ता’,'नवभारत टाइम्स’देखि बीबीसी नेपाली सेवासम्मले प्रकाशनमा ल्याए। रेडियो नेपालबाट उनका केही गीत रेकर्ड भए। नेपाल टेलिभिजनमा चाहिँ उनी कार्यरत नै थिए। त्यहाँ उनी राम्राराम्रा कार्यक्रम चलाउँथे। नेपाल टेलिभिजनमा उनले आफ्नो सीप रोपेर चाँडै जनप्रियता कमाएका थिए। त्यति बेला उनैको सम्पादनमा त्यहाँबाट टेलिपत्र नामक पत्रिका पनि प्रकाशित भएको थियो।

लोकेन्द्र शाहका दुइवटा कवितासङ्ग्रह प्रकाशित भए ‘मन एकान्तमा हराउँदैन’ र ‘बूढो करङमा वृत्त’ । उनले सोमनाथ घिमिरेको ‘युगसम्वाद’ लगायत केही साप्ताहिकमा स्तम्भकारका रूपमा पनि काम गरे। साथै उनले रेडियो नेपालमा पुरुषोत्तम दाहालको नेतृत्वमा सञ्चालित ‘घटना र विचार’ मा पनि आफ्नो सीप, जाँगर र समर्पण रोपे।
लोकेन्द्र शाहले राजनीतिमा प्रखररूपमा चासो राखे। वास्तवमा उनी सानैदेखि विद्रोही थिए। उनी नेपाली जनताको सुक्ख, समृद्धि र नेपालको चौतर्फी विकासका लागि चिन्तन गर्थे। उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)मा आबद्ध भएर राजनीतिमा ढल्केका थिए। अशोक सुवेदीले नै पनि लोकेन्द्र शाहविषयक आफ्नो शोध ग्रन्धमा भनेका छन् “लोकेन्द्र शाह नेपालमा नौलो जनवादी क्रान्ति भइ किसान मजदुरको राज्य स्थापना गर्नुपर्छ भन्ने मान्यता राख्थे।”

लोकेन्द्र शाहले बाँचुन्जेल नेपाल कम्युनिष्ट पार्टी मसालकै गीत गाइरहे। त्यसै परिवेशमा उनी नेपाल ल क्याम्पसमा अध्ययनका समयमा क्याम्पसस्तरीय सचिवमा कार्यरत थिए। साथै छैटौं समूहको स्वतन्त्र विद्यार्थी युनियनका सदस्यमा पनि उनी निर्वाचित थिए। सङ्गठनकै क्रममा उनले इलेक्ट्रोनिक मिडियाको स्थापना गरेर त्यस संस्थाको आफै अध्यक्ष बसे।

लोकेन्द्र शाहले केही नाटक र टेलिफिल्ममा खेले। उनले नाटकको निर्देशन पनि गरे। यस क्षेत्रमा उनले जति गरे प्रगतिशील धाराबाट गरे। साथै यस विधामा मनोरन्जनात्मक शैलीबाट पनि उनी प्रस्तुत भइरहे।

लोकेन्द्र शाहले धेरै इष्टमित्र कमाए तर पैसा कमाएनन्। उनी मध्यम वर्गीय परिवारमा नै परिचालित थिए। उनको भौतिक चोलाको विर्सजन भएपछि उनका परिवारजनले उनको नाउँमा ‘लोकेन्द्र पुरस्कार’को स्थापना पनि गरे र सो पुरस्कार केही वर्षम्म प्रदान पनि गरियो।

लोकेन्द्र शाह स्वाभिमानी थिए। त्यसैले उनले आफ्नो सिद्धान्त बेच्ने काम कहिल्यै गरेनन्। किनभने उनी सिद्धान्तका लखपति थिए। अशोक सुवेदीका अनुसार उनको सिद्धान्तलाई किन्न प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एउटा ढक ठीक पारेका थिए। तर उनको सिद्धान्तको ढकले अरूलाई निहुराएको थियो। उनी नेपालमा जनताको दिग्विजयका लागि पसिना काड्थे। उनको भाषण गर्ने शैली देखेर बुर्जुवा पनि छक्क पर्थे। तर नेपाल र नेपालीको एउटा आशाको त्यान्द्रो एकै छिनमा चुँडियो। नेपाल र नेपालीको उदियमान सूर्य चम्किनै नपाई अनायसै यस धराबाट अस्तायो। त्यस घडी उनको सोकमा एक पटक नेपाल डुबेको थियो। उनको सम्मानमा धेरैले धेरै दिनसम्म सोकसभा गरिरहे। उनी आफ्ना कृत्यले अनन्तसम्म बाँचे तापनि उनको भौतिक देह हामीमाझबाट सदासदाका लागि विदा भयो:
जीवन भन्नु यस्तै रै’छ भुवाजस्तै उड्दै जाने
आफन्तका आँखाबाट आँसु बनी बग्दै जाने।

naiprasai@gmail.com

Recent Videos:

Popularity: 7%

1 comment November 30th, 2010

भारतीय एसएसबीको कुटाईबाट एक नेपाली गम्भीर घाइते

एचकेनेपाल डट कम संवाददाता-
भारतीय एसएसबीका जवानहरूको कुटपिटबाट आइतबार गम्भीर घाइते भएका एक नेपाली नागरिकको गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ।

रौतहटको बन्जरहा गाविस वडा नं. ७ घर भएका मदनप्रसाद चन्द्रवंशीले दुई देशको सीमामा जोडिएको खेतमा गहुँको बीउ छर्न गइरहेको अवस्थामा गुवाबारी हीरापुर क्याम्पका एसएसबीका जवानहरूले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए।

क्याम्पका दुई जना एसएसबीका जवानले नियन्त्रणमा लिई कुटपिट गर्दा चन्द्रवंशीको देब्रे घुँडा समेत भाँचिएको छ र शरीरभरि निलडाम छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले एसएसबी जवानहरूले कुटपिट गरेको विषयमा भारत पूर्वी चम्पारणका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग कुरा गरी दोषीलाई कारबाही गर्न लगाउन पहल गर्ने बताए।

Popularity: 7%

1 comment November 30th, 2010

दलितलाई पेट बोकाई बाहुन फरार

एचकेनेपाल डट कम संवाददाता-
उदयपुर बेल्टार गाविस–९ की प्रमिला परियारलाई स्थानीय नुतन भट्टराईले गर्भ बोकाई फरार भएपछि अहिले तिनी घर न घाटको भएकी छिन्। गत वैशाख महिनादेखि नै प्रमिलालाई बिहे गर्ने प्रलोभन देखाई नुतनले शारिरीक सम्पर्क राख्दै आएको बताइन्छ।

तर प्रमिलाको पेटमा गर्भ बसेको थाहा पाएपछि तीन महिनाअघि फरार रहेका नुतन भट्टराईको अहिलेसम्म अत्तोपत्तो नभएपछि प्रमिला बिचल्लीमा परेकी हुन्।

अहिले प्रमिलालाई आफ्नो घरबाट बाबु हस्तबहादुर परियारले पनि घरबाट निकालिदिएपछि तिनको जिन्दगी बर्बाद भएको प्रमिलाकी आमा चित्रकुमारी परियार बताउँछिन्।

अहिले प्रमिलाको पेटमा नुतन भट्टराईको साढे आठ महिनाको बच्चा छ। यता नुतन फरार भएपछि प्रमिलाको बुबाले समेत घरनिकाला गरेकाले प्रमिला न्याय माग्दै जिल्ला प्रहरी तथा विभिन्न मानवअधिकारवादी र महिलावादी सङ्घसंस्थामा गुहार माग्ने गरेकी छिन्।

अहिलेसम्म प्रहरीले नुतनलाई पक्राउ गर्न सकेको छैन।

प्रमिला दलित भएकै कारण नुतनका आफन्तहरूले पनि यस कुरालाई बेवास्ता गर्ने गरेको प्रमिलाकी आमा चित्रकुमारीको गुनासो रहेको छ।

Popularity: 7%

Add comment November 30th, 2010

खुला चौरमै पोस्टमार्टम

एचकेनेपाल डट कम संवाददाता-
जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा पोस्टमार्टमगृह नहुँदा स्वास्थ्यकर्मीले खुला चौरमै शव चिरफार गर्न बाध्य छन्।

नयाँ पोस्टमार्टमगृह निर्माणका लागि टेन्डर भए पनि ठेकेदार कम्पनीले पुरानो भवन भत्काएर नयाँ भवन समयमा नै नबनाएका कारण आफूहरू खुला आकाशमुनि शवको चिरफार गर्न बाध्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाले बताउनुभयो।

उहाँका अनुसार– गत जेठ महिनामा असार मसान्तभित्र सक्ने गरी रु १२ लाखमा भवन निर्माणको जिम्मा पाएको पिङ्खुरी निर्माण सेवाले काम ढिला गर्‍यो।

निर्माण कम्पनीका प्रोप्राइटर उमेशकुमार भण्डारीले वर्षात्का कारण काम गर्न नसकिएकाले अब छिट्टै काम थाल्ने बताउनुभयो।

अहिले जिल्ला स्वास्थ्य कार्यालय रामेछाप आत्महत्या र विष सेवन गरेर मृत्यु हुनेहरूको खुला आकाशमुनि नै पोस्टमार्टम हुने गरेको छ।

सदरमुकाम मन्थलीको भुतेखोलामा रहेको शवघरको पनि विजोग उस्तै छ। जिल्ला विकास समितिले निर्माण गरेको शवघर अहिले भत्कने अवस्थामा रहेको छ।

Popularity: 7%

Add comment November 30th, 2010

चीनले नेपालसँग क्षमा माग्यो

एचकेनेपाल डट कम संवाददाता-
नेपाल र चीन सरकारबीच तातोपानी भन्सार क्षेत्रमा बढ्दै गएको असमझदारी हटाउन दुवै देशका प्रशासकबीच सिन्धुपाल्चोकको वञ्जी द लास्ट रिसोर्टमा सीमा बैठक सम्पन्न भएको छ।

बैठकमा नेपाली पक्षको नेतृत्व सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्याय र चिनियाँ पक्षको तर्फबाट नेलाम राज्यको क्षेत्रीय प्रमुख हाड–विनले नेतृत्व गर्नुभएको थियो।

विगतका दिनमा चिनियाँ पक्षबाट नेपालीप्रति दुर्व्यवहार भएकोमा माफी माग्दै आगामी दिनमा सहज वातावरण सिर्जना गरिने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको छ।

सीमित सङ्ख्यामा मालबाहक गाडी छाडिँदै आएकामा अबदेखि दैनिक १२० वटासम्म कन्टेनर भ्यान छाडिने भएको छ। त्यसैगरी मितेरी पुलमा पार्किङ गर्न निषेध गरिने तिब्बतीलाई नेपाल प्रवेशमा कडाई गरिने, अस्थायी प्रवेशपासलाई व्यवस्थित गरिने, नेपाली विशिष्ट व्यक्तिलाई खासा प्रवेशमा सरलीकृत गरिनेलगायत १३ बुँदे सहमति भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो।

Popularity: 7%

Add comment November 30th, 2010

फोरमको आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरम, नेपालले कुनै पनि नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम सङ्कलन गर्नबाट इन्कार गर्न नपाउने व्यवस्था प्रतिबद्धताका साथ लागु गराउनेतर्फ आफू कानुनी र राजनीतिकरूपले प्रतिबद्ध रहने जनाएको छ।

सर्वोच्च अदालतबाट यही मङ्सिर ९ गते मतदाता नामावलीमा नाम सङ्कलन गराउन पाउने नेपाली नागरिकको अधिकार कुण्ठित गरिएको दाबी गर्दै पार्टीले संविधान र ऐनको व्यवस्थाको प्रतिकूल आदेशबारे आपत्ति जनाएको छ।

Popularity: 7%

Add comment November 30th, 2010

उपसभापति र महामन्त्री बनाउन काँग्रेसमा विवाद

एचकेनेपाल डट कम संवाददाता-
पदाधिकारी चयन गर्न सभापति सुशील कोइरालाद्वारा प्रस्तावित नाम पारित गर्ने बारेमा आज तेस्रो दिन पनि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा छलफल हुँदैछ।

सोमबारको बैठकमा डेढ दर्जन केन्द्रीय सदस्यले आआफ्नो मत राख्दै प्रस्तावलाई कसरी टुङ्ग्याउने भन्नेबारेमा बेग्लाबेग्लै धारणा प्रस्तुत गरेका थिए।

सभापतिले पदाधिकारीको लागि उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलाको नाम आइतबारको केन्द्रीय समितिको बैठकमा राख्नुभएको थियो।

विधानले केन्द्रीय कार्यसमितिमा एक उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन गर्ने अधिकार सभापतिलाई दिएको छ तर यस्तो मनोनयन केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्नुपर्छ।

सो प्रस्ताव निर्वाचन, सर्वसम्मति वा फिर्तासमेत लिएर भए पनि सहमतिबाटै समाधान खोज्नुपर्छ भन्नेबारेमा बैठकमा बोल्ने वक्ताहरूले धारणा राखेका थिए।

सभापतिले प्रस्ताव राखीसकेकाले यसलाई सर्वसम्मत पारित गरेर अरु कुरामा सहमति गर्दै जानेबारेमा पनि केन्द्रीय सदस्यहरूले राय दिएका थिए।

“पहिले सहमति गरेर सभापतिको प्रस्ताव टुङ्ग्याउँ र सहमति गर्ने अरु कुरामा छलफल अघि बढाआँै भन्ने धारणा बढी आएको छ,” बैठकपछि केन्द्रीय सदस्य रामचन्द्र पौडेलले संवाददाताहरूलाई भन्नुभयो।

पार्टीको नयाँ विधानको प्रयोग भइरहेको सन्दर्भमा विभिन्न ढङ्गबाट व्याख्या गर्ने काम भइरहेकाले बैठकमा अल्पमत वा विवादभन्दा पनि बहसको थालनी भएको नेता पौडेलको तर्क थियो।

अर्का केन्द्रीय सदस्य गगन थापाले काँग्रेसभित्र कोइराला वा देउवा पक्षको कुरा उठ्छ भने विधान, प्रक्रिया र बहसबाट समस्याको निकास खोज्ने आफूहरूजस्ता युवा प्रशस्त भएको बताउनुभयो।

बैठकमा भइरहेको छलफललाई विवादभन्दा पनि विधानको अलगअलग ढङ्गबाट व्याख्या भइरहेको भन्दै थापाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा वा त्यसलाई फिर्ता लिएर सहमतिबाट निकास खोज्नुपर्छ भन्ने धारणा उठेको बताउनुभयो।

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने सभापतिले ल्याएको प्रस्ताव फिर्ता गरेर सहमतिमा अघि बढौँ भन्ने धारणा आफूले बैठकमा राखेको संवाददाताहरूलाई बताउनुभयो।

बैठकमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँड, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, धनराज गुरुङ्ग, कृष्णचन्द्र नेपाली, नवीन्द्रराज जोशी, रत्ना शेरचन, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायतले बोल्नुभएको थियो।

Popularity: 7%

Add comment November 30th, 2010

मतदाता परिचयपत्र वितरण रोक्न रिट

एचकेनेपाल डट कम संवाददाता-
सम्पूर्ण मतदाता परिचयपत्र सङ्कलन तथा वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नागरिकता वितरण गर्न निर्वाचन आयोगलाई अधिकार नभएको भन्दै अधिवक्ता सुनिलरञ्जन सिंह र सर्लाही गैरीशङ्कर गाविस बस्ने रिझनप्रसादले आयोगले गरिरहेको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, आयुक्तहरू दोलखबहादुर गुरुङ्ग र डा अयोधीप्रसाद यादवलाई विपक्षी बनाइ दायर गरिएको रिटमा अन्तरिम संविधान २०६३ को प्रस्तावनामा अन्तरनिहित भावना विधानको धारा १३ (१२९) ले गरेको निर्देशन भन्दा बाहिर गएर आयोगले काम गरेको र राष्ट्रिय परिचयपत्र वितरण कार्य संवैधानिक व्यहोरा विपरित भएको भन्दै अयोगले गरिरहेको कार्य उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ।

तराईमा नागरिकताविना मतदाता परिचयपत्र दिइँदा गैरनागरिकले मतदाता परिचयपत्र लिने हुँदा विना नागरिकता मतदाता परिचयपत्र वितरण बन्द गर्न रिट परेपछि अदालतले सो रिटको अन्तिम टुङ्गो नलागेसम्म नामावली सङ्कलन रोक्न आयोगलाई यही मङ्सिर ९ गते अन्तरिम आदेश दिएको थियो।

नागरिकताबाट मात्र मतदाता परिचयपत्र वितरण गरिरहेको अयोगले तराईकेन्द्रित केही दलको दबाबमा गत कात्तिक १६ गते तराईका जिल्लाको हकमा नागरिकताविना नै मतदाता परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो।

Popularity: 7%

Add comment November 30th, 2010

महिला हिंसामा संलग्नलाई नछाडौँ : प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालले महिला हिंसामा संलग्न व्यक्तिलाई जस्तोसुकै अवस्थामा पनि सजायबाट मुक्त नगर्न अपील गर्नुभएको छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय सक्रियता अभियानको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले त्यस्ता व्यक्तिलाई समाजले प्रोत्साहन गर्न नहुने स्पष्ट पार्नुभयो।

‘महिलामाथि यातना दिने र हिंसा गर्नेलाई पक्राउ गरेपछि कुनै पनि हालतमा छोड्न हुँदैन।’ सुरक्षा निकायलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘त्यसपछि मात्र दण्डहीनताको अन्त्यका लागि बल पुग्नेछ।’

Popularity: 7%

Add comment November 30th, 2010

तमू खेलकुद समितिले खेलाडीहरुको विदाई गर्‍यो

बिल गुरूङ, कतार/ एचकेनेपाल डट कम-
तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिले आफना खेलाडीहरु क्रमशः खेम गुरुङ र विकास थापालाई छुट्टा छुट्टै सम्मान कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ।

लामो कतार बसाईलाई छोट्याउदै स्वदेश फर्कन लागेका खेलाडीद्वय गुरुङ र थापालाई कदरपत्र र खादाले सम्मान गरिएको तमू खेलकुद समितिका अध्यक्ष बुद्ध गुरुङले जानकारी दिनु भयो।

कतारमा आयोजित हरेक भलिबल प्रतियोगितामा तमू खेलकुद समितिको तर्फबाट आफनो खेल कौशल देखाउदै समितिलाई सफलता दिलाउन सफल खेलाडी खेम गुरुङ र बिकाश थापालाई तमू बौद्ध सेवा समितिका सल्लाहकार तथा संस्थापक अध्यक्ष राम गुरुङले कदरपत्र प्रदान गर्नु भएको थियो भने तमू बौद्ध सेवा समितिका अध्यक्ष जगन गुरुङले मायाको चिनो प्रदान गर्नु भएको थियो। त्यसै गरि टिम क्याप्टेन भिम गुरुङले खता लगाई खेलाडीद्वयलाई सम्मान गर्नु भएको थियो। स्मरण रहोस् कतारमा आयोजना भएका भलिबल प्रतियोगिताहरुमा समितिलाई सफलता दिलाउनमा खेलाडीद्वयको उल्लेख्य योगदान रहेको छ। उक्त कार्यक्रममा तमू बौद्ध सेवा समिति कतारका निर्देशक सल्लाहकार बुधबल गुरुङलगायत तमू खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति थियो।


Popularity: 7%

Add comment November 29th, 2010

नेपाली माईकल ज्याक्सन फेन क्लबले बेल्जियमलाई सहयोग

माइकल ज्याक्शन फेन क्लव-
क्लब खोलेको १ बर्षभित्रै “माईकल ज्याक्सन फेन क्लब तथा हिल द वोर्ल्ड ट्रष्ट नेपाल” माईकल ज्याक्सन परिवारको सम्पर्कमा पुगेको छ। यो सबै हुनुमा बिशेष सहयोग बेल्जियमको ” द म्याजिक चाईल्ड ” तथा बेल्जियम माईकल ज्याक्सन फेन क्लबको महत्वपूर्ण भूमिका रहेको छ।

डेविड ईलान र भेरोनिका अमेरिकाबाट युरोपको राजधानी आउने क्रममा ब्रसेल्सको आल्स्टको ” मुभ डान्स सेन्टरमा ” भएको स्वागत कार्यक्रममा नेपाल क्लबको संस्थापक लाल नेपालीलाई बिशेष निमन्त्रणामा भाग लिनु भयो। उक्त अबसरमा अमेरिकाबाट डेविड इलनले कलमको थोप्ला थोप्लाबाट चित्र निर्माण भईसके पछि यो चित्र उनको परिवारलाई हस्तान्तरण गरिने र यसमा ज्याक्सनको दाई जर्मन ज्याक्सन, प्र्ख्यात गायिका लेडी गागा, सि. एन. एन. का लेरी किङ, डियाना रोस लगायतका थोप्ला लगाइसकेका बताउनु भयो।

नेपाल क्लबको नेपालीले पनि मुटुमा थोप्ला लगाउने अबसर प्रदान गर्दै डेविड इलनले नेपालका फेनहरुको १०,००० थोप्ला लगाउने चाहना र इन्टरनेट नभएको ठाउमा जान चाहेको बताउदै सकेसम्म छिटो नेपालमा बोलाउन अनुरोध गर्नु भयो। उक्त अबसरमा माईकल ज्याक्सनका निकट साथीहरुले आफ्नो ज्याक्सनसंग पहिलो भेट हुँदाको क्षण सुनाउनु भएको थियो।

त्यसै गरी युरोपमा २००९ मा भएको ” माई नेम इज माईकल” मा प्रथम हुनुभएको क्रिस्टोफले गीतसहित नाच प्रस्तुत गर्नु भयो।
यसै क्रममा पेरु, इजिप्ट र बेल्जियममा हुन लागेको ” अर्थ ट्री प्रोजेक्ट “मा पार्ट्नर रहेको नेपाल क्लबले बेल्जियमको लागि भनेर १०० रुखको रकम ” बेल्जियम माईकल ज्याक्सन फेन क्लबको ” अध्यक्ष मारिएकेमार्फत क्रिस्टोफलाई हस्तान्तरण गर्नु हुँदै १० लाख वटा बोट रोप्ने उक्त प्रोजेक्ट नेपालको लागि महत्वपूर्ण रहेको भन्दै सहयोग गर्न अनुरोध गर्नु भयो।

बेल्जियम आउने क्रममामा त्यसै गरी डेबिड मार्फत माईकल ज्याक्सनको छोरी क्याथरिनलाई पत्र पठाएको छ र त्यस्को जबाफ तुरुन्तै ईमेल मार्फत आउने खबर आएको छ। यसै गरी पोखरा अन्नपूर्ण डटर क्लबको साथमा क्लबका अध्यक्ष रेखा र कोषाध्यक्ष रिमा नियुक्ती हुनु भएको र ३ दिने अन्नपूर्ण धम्पुस टुर हुँदै डकुमेन्ट्री तयार भएको जनाउनु भएको छ।

Popularity: 7%

Add comment November 29th, 2010

काँग्रेस बैठकमा पदाधिकारी चुन्न रडाको

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको हिजोदेखि सुरु भएको बैठकमा सभापति सुशील कोइरालाले राख्नुभएको पदाधिकारी मनोनयनको प्रस्तावका विषयमा छलफल सुरु भएको छ।

पार्टीको १२ औँ महाधिवेशनपछि केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा सभापति कोइरालाले विधानबमोजिम केन्द्रीय समितिको उपसभापतिमा केन्द्रीय सदस्य रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई प्रस्ताव गर्नुभएको छ।

विधानबमोजिम निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले प्रस्ताव गरेर केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

सभापतिले पदाधिकारीको नाम प्रस्ताव गरेपछि केन्द्रीय सदस्यले पार्टीको बृहत्तर हितका लागि एकता, मेलमिलाप र सन्तुलित ढङ्गले मनोयनलगायतका काम हुनुपर्ने भन्दै आ–आफ्नो धारणा राखेका थिए।

बैठकमा बोल्ने ११ सदस्यमध्ये केहीले पदाधिकारी, केन्द्रीय समिति, कार्यसम्पादन समिति र विभाग गठन सबैलाई मिलाएर प्याकेजमा गर्न आग्रह गरेका थिए।

केही सदस्यले वर्तमान राजनीतिक गतिरोध र पार्टीले खेल्नुपर्ने भूमिकासहित पदाधिकारी मनोनयनका सन्दर्भमा चयन प्रक्रियाबारेमा बोलेका थिए। पार्टीको नियमावलीलाई पूर्णता दिएर पदाधिकारी चयन गर्नुपर्ने केहीको धारणा थियो।

केन्द्रीय सदस्य एवं संसदीय दलका नेता पौडेलले सभापति कोइरालाले पदाधिकारी मनोनयनका लागि आफ्नो प्रस्ताव राख्नुभएकाले त्यसमा केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्ने क्रम सुरु भएको भन्दै उक्त प्रस्ताव पास हुने दाबी गर्नुभयो।

अर्का केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने सभापतिले राख्नुभएको प्रस्तावका बारेमा प्रक्रिया निर्धारण गरेर अनुमोदनमा जानुपर्ने धारणा राखिएको बताउनुभयो। “ निर्णयमा पुग्नुअघि पार्टीका विभाग, कार्यसम्पादन समिति, कार्यसमिति र पदाधिकारीको नियुक्तिलाई प्याकेजमा समाधान गर्नुपर्छ भन्ने धारणा बैठकमा उठ्यो,” डा. महतले भन्नुभयो।

केन्द्रीय सदस्य सुजाता कोइरालाले आफूलाई उपसभापति बनाउन नेताहरूले विगतमा दिएको वचन पुरा नभएको भन्दै असन्तुष्टि बैठकमा राख्नुभएको थियो।“ विगतमा नेताहरूले मलाई उपसभापति बनाउने वचन दिनुभएको थियो, त्यो बमोजिम प्रस्ताव आएन, मैले पार्टीमा गुट उपगुटको अन्त गरेर सबैलाई मिलाएर जाऊँ भनेर आफ्नो असहमति राखेँ,” नेत्री कोइरालाले भन्नुभयो।

उहाँले गिरिजाप्रसाद कोइरालाले पार्टीको विधान सभापतिलाई बलियो बनाउने खालको हुनुपर्छ भन्दा कसैले नमानेकाले आज यो विधान सभापतिका लागि घाँडो भएको धारणा बैठकमा राखेको संवाददतालाई बताउनुभयो। केन्द्रीय सदस्य बालकृष्ण खाँड, गगन थापा, खुमबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीले पनि पार्टीले खेल्नुपर्ने भूमिका र पदाधिकारी मनोनयनका प्रक्रिया बारेमा छलफल भएको पत्रकारलाई बताउनुभयो।

Popularity: 7%

Add comment November 29th, 2010

युवतीको लास बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
तीन दिनअघि हत्या गरी सिरहाको महनौरमा फ्याँकिएकी एक अविवाहित युवतीको लास अझसम्म फेला परेको छैन।

बलही घर भएकी साह थरकी युवतीको लास यही मङ्सिर १० गते बुढियाचाप नजिक कल्भर्टमुनि मृत अवस्थामा देखिएको स्थानीयवासीले बताएका थिए।

तर मङ्सिर ११ गते बिहान सो ठाउँमा प्रहरी पुग्दा ती युवतीको लास गायब भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घाँटी रेटेर हत्या गरिएकी ती युवती गर्भवती रहेका कारण मृत्यु शङ्कास्पद रहेको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment November 29th, 2010

हतियार नत्यागेसम्म माओवादीको सरकार बन्दैन– मन्त्री रिजाल

एचकेनेपाल डट कम संवाददाता-
संस्कृतिमन्त्री डा मीनेन्द्र रिजालले हतियार र लडाकूको मोह नत्यागेसम्म एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सरकारको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ।

उहाँले विचारको प्रतिस्पर्धा हुनुपर्ने लोकतन्त्रमा हतियार र लडाकूको दबाबमा सरकारको नेतृत्व गर्न खोज्नु एकीकृत नेकपा (माओवादी)को मूर्खता भएको बताउनुभयो।

बुटवल जेसिजको यहाँ सम्पन्न ३७ औँ शाखा अधिवेशन तथा वार्षिक साधारणसभामा मन्त्री डा रिजालले आफूहरूले सरकारको नेतृत्वका लागि नभई एमाओवादीको सर्वसत्तावादी सोचका कारण विरोध गरेको बताउनुभयो।

उहाँले सरकारको नेतृत्व गर्ने चाहना भए हामी दिन तयार छौँ तर एमाओवादीले हतियार र लडाकूको भरमा गरिरहेको निषेधको राजनीति त्यागेर लोकतान्त्रिक संस्कारको पद्धतिमा आउनुपर्‍यो भन्नुभयो।

Popularity: 7%

Add comment November 29th, 2010

दलित भएकै कारण युवती कुटिइन्

एचकेनेपाल डट कम संवाददाता-
पानी छोएको भन्दै सप्तरीको राजविराजमा एक युवती कुटिएकी छिन्। सप्तरीको दौलतपुर गाविस–२ घर भई सदरमुकाम राजविराजमा डेरा लिई बस्दै आएकी २० वर्षीया बच्कुनकुमारी राम छिमेकी एक व्यक्तिद्वारा निर्घात कुटिएकी हुन्।

पानी छोएको निहुँमा आफूलाई छपकी निवासी रामनारायण यादवले कुटपिट गरेको पीडित युवती रामले बताइन्।

छिमेकीको कुटपिटबाट गम्भीर घाइते भएकी रामको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ।

राजविराजस्थित राजदेवी टेक्निकल इन्स्टिच्यूटमा राम अध्ययनरत छिन्। यादव भने राजविराज नगरपालिका कार्यालयमा कार्यरत छन्।

एकै घरमा डेरा लिई बस्दै आएका उनीहरूबीच धारामा पानी लिने क्रममा विवाद उत्पन्न भएको बताइएको छ।

Popularity: 7%

Add comment November 29th, 2010

डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या मन्त्रालयलाई थाहा छैन

एचकेनेपाल डट कम संवाददाता-
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगका कारण अहिलेसम्म मृत्यु भएका व्यक्तिको सङ्ख्याका बारेमा आधिकारिक जानकारी नभएको स्पष्ट गरेको छ।

सरकारी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या हालसम्म पाँच पुगेको र निजी अस्पतालमा के कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

संसदको महिला बालबालिका तथा समाजकल्याण समिति अन्तर्गत डेङ्गु रोग नियन्त्रण समितिले दिएको निर्देशन कार्यान्वयन कार्यदलको आजको यहाँ बसेको बैठकमा महाशाखाका निर्देशक डा जी डी ठाकुरले सो जानकारी दिँदै आधिकारिक जानकारीका लागि निजी अस्पतालसँग पत्राचार गरिराखेको जानकारी दिनुभयो।

Popularity: 7%

Add comment November 29th, 2010

प्रधानमन्त्री निर्विरोध घोषणा गर– नेता पौडेल

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको आदेशअनुरुप आफूलाई व्यवस्थापिका संसदबाट प्रधानमन्त्री पदमा विजयी भएको घोषणा गर्न सभामुखसँग आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री पदको प्रत्यासीमा हाल नेता पौडेल मात्र एकल उम्मेदवार हुनुहुन्छ। व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयन गर्न हालसम्म १७ औँ निर्वाचन सम्पन्न भइसक्दा पनि बहुमत सांसदको समर्थन नभएका कारण उहाँ निर्वाचित हुन सक्नुभएको छैन।

नेता पौडेल र सोही पार्टीका प्रमुख सचेतक लक्ष्मण घिमिरेले अपराह्न सभामुख सुवास नेम्बाङसँग भेट गरी सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न मागसमेत गर्नुभयो।

भेटपश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेता पौडेलले भन्नुभयो, “छिटोभन्दा छिटो व्यवस्थापिका संसदको अधिवेशन बोलाउन र आफूलाई निर्विरोध प्रधानमन्त्रीको घोषणा गर्नुपर्छ भन्ने विषयमा सभामुखसँग आफ्नो पार्टीको धारणा राखेका छौं।”

उहाँले यही मङ्सिर १६ गते अगावै व्यवस्थापिका संसदको अधिवेशन पनि बोलाउने वातावरण तयार गर्न आग्रह गरिएको जानकारी दिनुभयो।

Popularity: 7%

1 comment November 29th, 2010

एनआरएनए कतारले सांस्कृतिक कार्यक्रम गर्ने

दीपक पौडेल, दोहा/ एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार च्याप्टरले नयाँ बर्षको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रवासमा रहेर पनि आफ्नो भाषा-साहित्य एवं कला-संस्कृतीको संरक्षण, सम्बर्द्वन तथा विस्तारका साथै पर्यटन बर्ष२०११ को अभियानलाई टेवा पुर्‍याउन सो कार्यक्रमको आयोजना तय गरिएको एनआरएनए कतारका अध्यक्ष नरेन्द्र भाटले बताए। ‘आफ्नो कलासंस्कृति प्रति देश-विदेशका हरेक नेपालीहरूको उत्तिकै उत्तरदायित्व छ’ अध्यक्ष भाटले भने- ‘बर्ष२०११ लाई सरकारले पर्यटन बर्षको रुपमा घोषणा गरेकोले पनि हाम्रा लागि थप जिम्मेवारी आएको महसुस गरी यो आयोजनामा जुटेका हौं।’

कार्यक्रमका लागि नेपालबाट ख्यातीप्राप्त कलाकारका साथमा नेपालको पर्यटन प्रवर्द्वनका लागि सामाजिक एवं राष्ट्रिय ब्यक्तित्वहरूलाई पनि आमन्त्रण गर्ने योजना रहेको भाटले बताए। कतार आउने कलाकार एवं राष्ट्रिय ब्यक्तिहरूको चयन छिट्टै गरिने उनले उल्लेख गरे। सो कार्यक्रमको प्राविधिक तयारी शुरु भइसकेको पनि एनआरएनए कतारले जनाएको छ। ‘मनोरञ्जनकासाथ सहयोग’को अवधारणा अनुरुप एनआरएनए कतारले सो कार्यक्रमबाट मुलुकमा सामाजिक कार्य गर्ने उद्धेश्य राखेको छ।

Popularity: 7%

Add comment November 28th, 2010

बेल्जियमको हिज्जेमा नेपाली भाषा स्कूल प्रथम

संवाददाता, बेल्जियम/ एचकेनेपाल डट कम-
प्रवासमा नेपाली भाषा,साहित्य र संस्कृतिको उत्थान र संवर्द्वन गर्दै प्रचार प्रसारमा कृयाशिल साँग्रिला समाज बेल्जियमको आयोजनामा तेश्रो साँग्रिला वालहिज्जे प्रतियोगिता सम्पन्न भएको छ।

बेल्जियमको लुभेन शहरमा यहि नोभेम्वर २७ तारिख सम्पन्न प्रतियोगितामा ६ टिम साहभागी थिए। साँग्रिला समाज वेल्जियमद्वारा संचालित नेपाली भाषा स्कूलका विधार्थीको अतिरिक्त्त कृयाकलाप अन्तर्गत शुरुका दिनदेखि आयोजना गर्दै आएको यस प्रतियोगितामा नेपाली भाषा स्कूलका सन्तोष पन्त, शर्मिला पन्त र मेलान नेपाली प्रथम, लालीगुँरास टिमका ॠचा अधिकारि, सविना नेपाली र अमृत के. सि द्वितीय,यूरो नेपाल कलाकार संघका शिखा शाक्य, आल्फा शाक्य र शिलु शाक्य, चितावन सहायता कोष बेल्जियमका रोशन क्षेत्री, सुरेन्द्र सापकोटा र विजय सापकोटाका विच तेश्रो स्थानको लागि ६ पटकसम्म दुई टोलीविच प्रतिस्पर्धा गराउदाँ पनि बरावर भएकोले दुबै टिमलाई आयोजकले तेश्रो घोषणा गरेका थिए। सुशिल अधिकारी, मनिष अधिकारी र गणेश लामिछाने हिमालयन रेष्टुरेन्ट, रमेश लामिछाने,आकृति निरौला र आकाश रावल गोर्खा टिमबाट सहभागी उक्त कार्यक्रम महेन्द्र विक्रम भट्टराईको अध्यक्षता र एन.आर.एन यूरोप सह-संयोजक रविन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ३००, २०० र १०० यूरो नगदसहित पुरस्कार प्रदान गरिएको थियो। दोश्रो पुरस्कार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रवासी संगठन)बेल्जियमका तर्फबाट अध्यक्ष राजन वस्नेतले प्रदान गरेका थिए। तृतिय दुई टिमलाई जन सम्पर्क समिति बेल्जियम वाट१०० यूरो र अर्जुनकुमार श्रेष्ठ (आई. सि. सि सदस्य एन. आर.एन वेल्जियम)वाट १०० यूरो उपलब्ध गराएको उक्त्त प्रतियोगिताको लागि प्रमाण पत्र भने रिया मनि ट्रान्सफर(नमस्ते कम्युनिकेशन)लुभेन बेल्जियमले सौजन्य गरेको थियो।
द्वितिय र तृतीय हुने टिमले पुरस्कार स्वरुप प्राप्त भएको रकम मध्ये क्रमश: ५० र ३० यूरो नेपाली ख्याति प्राप्त गायक कुमार कान्छाको उपचारको सहयोगार्थ यूरो नेपाल कलाकार संघ बेल्जियमकी कोषाध्यक्ष पार्वती अधिकारीलाई कार्यक्रममा हस्तान्तरण गरेका थिए।

वेल्जियमस्थित विभिन्न संघ सस्थाबाट अतिथिको रुपमा यूरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ्, चितवन सहायता कोष बेल्जियमका अध्यक्ष रामहरि घिमिरे, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतम, ईन्द्र धनुष क्लवका उपाध्यक्ष सूर्य ढकाल, नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका महासचिव गोपाल सिंखडा र क्षेत्री समाज बेल्जियमका अध्यक्ष गोपाल सिंह थापा, उपस्थित उक्त्त सबै संघ संस्थाको प्रतिनिधित्व स्वरुप एन.आर.एन वेल्जियमका महासचिव नन्दराज घले, समाजका संस्थापक अध्यक्ष पुष्पराज अधिकारी, नि-वर्तमान अध्यक्ष दीपेन्द्र के.सि द्वारा प्रवासमा आफ्नो भाषा र संस्कृतिको महत्वको विषय मन्तव्य प्रकट गरिएको उक्त कार्यक्रमको संचालन परमानन्द सापकोटाले गरेका थिए।

दीपक ज्योति पौडेलले संचालन गरेको प्रतियोगितात्मक कार्यक्रममा विष्णु सापकोटा, मोहन खत्री, रघु आचार्य, सचिन के.सि, हिमालय लामिछाने, दीपक सुवेदी र रमेश कार्कीले सहयोग गरेका थिए।

विपिन खड्काको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा १८ वर्ष भन्दा कम उमेरका वालवालिकाको लागि नेपालको भूगोल, ईतिहास, धर्म, सँस्कृति, साहित्यका साथ साथै नेपाली भाषाका शब्दावली, बेल्जियम सम्वन्धि प्रश्न र I.Q गरि प्रश्न ११ राउण्ड प्रश्न सोधिएको थियो।

प्रवासमा नेपाली भाषा र संस्कृतिको उत्थान र संवर्द्वनको लागि बिभिन्न रचनात्मक कार्यक्रम संचानल गर्दै आईरहेको साँग्रिला समाज बेल्जियमले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गरेको छ।

Popularity: 7%

Add comment November 28th, 2010

कोरियाबाट नेपालका अपाङ्ग तथा अनाथ बालबालिकालाई सहयोग हुने

डम्बर सुब्बा /एचकेनेपाल डट कम-
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आज एक प्रेस विज्ञप्ति जारी गरि आगामी बर्ष२०११ को फेब्रुअरी ४ तारिखको दिन कोरियाको नयां बर्ष सलनालको अवसरमा गर्न गई रहेको श्रीजंगा सांस्कृतिक सौगात कार्यक्रममार्फत संकलन गरिएको रकम नेपालको अपाङ्ग, अनाथ बालबालिकाहरुको निम्ति सहयोग गर्नुको साथै केही प्रतिशत अंश कोरियामा रहेका मजदुरहरुको सहयोगार्थ स्थापना भएको एनआरएनद्वारा संचालित नेपाल हाउसलाई सहयोग गर्ने जनाएको छ।

किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाद्वारा आयोजित श्रीजंगा सांस्कृतिक सौगात कार्यक्रममा सांगीतिक धरातलमा एकल प्रभुत्व जमाई रहेकी आधुनिक गायिका अन्जु पन्त, हांस्यव्यंग्य सम्राट मनोज गजुरेल,चर्चित लोक दोहोरी गायक जोडी बिमा दुरा,राजु परिवार,चर्चित नृत्यकार रन्जीता गुरुङ र नेपाली कलाकार क्षेत्रमा उत्कष्ठ स्तम्भ जमाई सकेकी अभय सुब्बा जस्ता कलाकारहरुको विजोड प्रस्तुती हुने विज्ञप्तिमार्फत जानकारी गराएको छ।

विज्ञप्तिमा थप भनिएको छ कोरियामा छरिएर रहनु भएका विभिन्न संघ संस्था, मजदुर, बुद्धिजीवी,व्यापारी, विधार्थी तथा अन्य कृयाकलापमा सहभागी रहनु हुने आदरणीय महानुभाव एवम सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारी दिनु हुन किरात याक्थुङ्ग चुम्लुङ्ग हार्दिक अनुरोध गर्दछ।

Popularity: 7%

Add comment November 28th, 2010

जनविद्रोह गर्न बाध्य नपारियोस् – एनेकपा माओवादी

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना र संविधान लेखन कार्यमा षडयन्त्र भइरहे जनविद्रोह गर्न आफूहरू बाध्य हुने बताउनुभएको छ।

छैटौँ विस्तारित बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले विद्रोह गर्न पाउनु जनताको अधिकार भएकाले जनपक्षीय संविधान बनाउने कार्यमा षडयन्त्र भए लाखौँ जनतालाई सडकमा उतार्ने चेतावनी दिनुभयो।

बैठकमा आफूहरूबीच केही सैद्धान्तिक मुद्दामा बाहेक तत्कालीन कार्ययोजनामा एकमत भएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– पार्टी तीन टुक्रा होस् भन्नेहरूको सपना चकनाचुर पार्न पालुङ्टार बैठक सफल भएको छ।

उहाँले आफूहरू काठमाडौँ पुगेलगत्तै वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलसँग प्रयत्न गर्ने बताउनुभयो।

एक अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीको एउटै राजनीतिक दस्तावेज तयार पार्न केन्द्रीय समितिलाई जिम्मा दिएको जानकारी दिँदै थप्नुभयो– तत्कालीन कार्ययोजनामा एकमतले कार्यक्रम ल्याउँनेछौँ, सहमति हुन नसकेका अन्तरविरोधलगायतका विषयलाई फोरम चलाएर वा अन्य माध्यमबाट बहसको प्रक्रियामा जानेछौँ।

सोही अवसरमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा.बाबुराम भट्टराईले पनि बैठकमा उठेका सबै विषयलाई समेटेर सहमतिका आधारमा केन्द्रीय समितिले एउटै दस्तावेज ल्याउने छ भन्नुभयो।

यसैबीच बैठकले विस्तारित पालुङ्टार बैठक ऐतिहासिक एवम् असाधारण भएको र मुलुकको राजनीतिक इतिहासमै अहिलेसम्मकै उच्च जनवादको अभ्यास भएको ठहर गर्दै विभिन्न समसामयिक १४ बुँदे प्रस्ताव पारित गरेको छ।

प्रस्तावहरूमा प्रधानमन्त्रीका लागि जारी मतदान प्रक्रिया अन्त्य गरी निमावली संशोधनसहित नयाँ प्रक्रियामा अगाडि बढ्न व्यवस्थापिका–संसदको बैठक तुरन्त बोलाउन र राष्ट्रिय संयुक्त सरकार अविलम्ब गठन गर्न जिम्मेवार सबैपक्षलाई आह्वान गरिएको छ।

यसैगरी देशलाई पुनः एकपटक गृहयुद्धको दिशामा धकेल्न उद्दत प्रतिक्रान्तिकारी शक्ति एवम् षड्यन्त्रकाविरुद्ध एकजुट भई शान्ति एवम् संविधान निर्माण प्रक्रियालाई देश र जनताको पक्षमा सफल पार्न सम्पूर्ण वामपन्थी, देशभक्त तथा सच्चा गणतन्त्रवादी शक्ति र आम जनसमुदायलाई प्रस्तावमा अपिल गरिएको छ।

त्यस्तै राष्ट्रिय स्वाधिनता, धर्म, निरपेक्षता, सङ्घीयता, गणतन्त्र र सामाजिक न्यायका साथै शान्ति, संविधान र राष्ट्रिय सहमतिका पक्षधर सम्पूर्ण वामपन्थी, देशभक्त, गणतन्त्रवादी एवम् परिवर्तनकामी शक्तिहरूलाई व्यापक संयुक्त मोर्चा निर्माणका दिशामा अधि बढ्न आग्रह गरिएको छ।

त्यस्तै प्रस्तावमा जनयुद्ध कालमा लगाइएका मुद्दालाई खारेज गर्ने सम्झौताविपरित पार्टीका नेता तथा कार्यकर्तालाई पुराना मुद्दाका आधारमा पक्रने, जेल हाल्ने, थप झूटा मुद्दा लगाउने कार्य तत्काल बन्द नगरे कडा प्रतिवाद गरिने चेतावनी दिइएको छ।

सरकारले हालै व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत पूर्ण बजेट ल्याएको भन्दै प्रस्तावमा सो कार्यलाई असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक एवम् सहमति विरोधी गतिविधिका रूपमा लिइएको छ।

प्रस्तावमा राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने एमाओवादीको प्रतिबद्धतालाई सार्थक निष्कर्षमा पुर्‍याउने गरी उच्चस्तरीय बैठक र छलफललाई पुनः अगाडि बढाउन काँग्रेस, एमालेलगायत दलसँग आग्रह पनि गरिएको छ।

आफूलाई लस्करे तोइवासँग जोडेर भारतीय माओवादीलाई सैनिक तालिम दिएको भन्ने आरोप सतप्रतिशत झूटो भएको जनाउँदै प्रस्तावमा १९५० को असमान सन्धि सम्झौता खारेज गर्न, सीमा अतिक्रमण बन्द गर्न, नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता गर्न र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न जोडदार माग गरिएको छ।

यसैगरी भारतमा ‘ग्रिन हन्ट’ अप्रेसनका नाममा भारतीय जनतामाथि भइरहेको दमनको भर्त्सना गर्दै हालै त्यहाँ मारिएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ नेता आजादप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरिएको छ।

यही मङ्सिर ५ गतेदेखि सुरु भएको बैठक आज सकिएपछि सहभागी प्रतिनिधि आ–आफ्नो कार्य क्षेत्रमा फर्किएका छन् भने अध्यक्ष प्रचण्डलगायतका नेताहरू यहीँ रहनुभएको छ।

विस्तारित बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्डलगायतका वरिष्ठ नेताले सहिद परिवार, घाइते तथा बेपत्ता परिवारसँग भेट गर्नुभएको थियो। साथै स्थानीय जनताको सहभागितामा सम्पन्न अन्तरक्रियामा शीर्ष नेताहरू सरिक हुनुभएको थियो।

Popularity: 7%

2 comments November 28th, 2010

बाघको बच्चा वनमै छाडियो

एचकेनेपाल डट कम संवाददाता-
पोखराको बैदामस्थित देवराज पहारीको घरमा हिजो बेलुका बाघको बच्चा फेला परेको छ। करिब आठ किलोको सो बच्चा अचानक घरको पर्खालभित्र रुखमुनि तुलसाको मठमा देखिएपछि घरका परिवार सशंकित भएर प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीय जनताको सक्रियतामा सो बच्चालाई रातभर डोकोले छोपेर राखिएको थियो।

आज बिहान जिल्ला वन कार्यालयका प्रतिनिधि सो ठाउँमा पुगी बच्चालाई रानीवनमा लगेर छाडिएको पुम्दीभुम्दी रेञ्जपोष्टका प्रमुख माधव बरालले जानकारी दिनुभयो।

बाघको बच्चा पहारीको घरमा देखिएपछि हेर्नलाई स्थानीय बासिन्दाको ठूलै भिड लागेको थियो।

Popularity: 7%

Add comment November 28th, 2010

वामपन्थीका कारण देश बर्बादः फोरम अध्यक्ष

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको निर्वाचनपछि सवैभन्दा ठूलो दलको रूपमा स्थापित हुन पुगेको एकीकृत नेकपा (माओवादी)ले आफ्नो सरकार आफै ढालेर सरकार चलाउन नसक्ने अवस्था आफैंले सिर्जना गरेको जगजाहेर छ भन्दै उपप्रधानमन्त्री गच्छदारले माओवादीकै कारणले देश अझ सङ्कटग्रस्त बन्दै गएको टिप्पणीसमेत गर्नुभयो।

उहाँले माओवादी जसरी सरकार चलाउन असफल भयो त्यसैगरी नेकपा (एमाले)ले पनि पछिल्लो समयमा आफ्नै पार्टीका नेता प्रधानमन्त्री भएको सरकारलाई सडकमा ल्याएर बामपन्थीले कुशलतापूर्वक सरकार चलाउन सक्दैनन् भन्ने कुरा पुष्टि गरिरहेको बताउनुभयो।

प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारलाई राजीनामा गराएर नेकपा (एमाले)ले देशको परिस्थिति गम्भीर बनाउने कार्य गरेको टिप्पणी गर्दै उपप्रधानमन्त्री गच्छदारले बामपन्थी राजनीतिक दलहरूका व्यक्तिगत लहडबाजीले देश बरबाद बन्दै गएको दाबीसमेत गर्नुभयो।

Popularity: 7%

Add comment November 28th, 2010

अन्मिनको म्याद थपिन्छ : मन्त्री चेम्जोङ

एचकेनेपाल डट कम संवाददाता-
शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले एकीकृत नेकपा (माओवादी)सँग रहेका लडाकू व्यवस्थापन नभएसम्म नेपालमा रहेको राष्ट्रसङ्घीय राजनीतिक मिसन (अन्मिन) फर्काउन नमिल्ने र अन्मिनको म्याद थप हुने बताउनुभएको छ।

रसुवाको स्याफ्रुबेंसीमा पत्रकारसँग कुरा गर्दै मन्त्री चेम्जोङले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याइ नेपालमा शान्ति स्थापना नभएसम्म अन्मिन फिर्ता गरिनु हानिकारक हुने धारणा राख्नुभयो।

साथै उहाँले लडाकूको पुनःस्थापना नभएसम्म शान्तिप्रक्रिया टुङ्गोमा नपुग्ने पनि बताउनुभयो।

देशमा शान्ति पुनर्वहाली गर्न एनेकपा (माओवादी) लचिलो र गम्भीर हुनुपर्ने बताउँदै शान्तिमन्त्री चेम्जोङले माओवादीले सैन्यवादी सोच राखेका कारण समस्या उत्पन्न भइरहेको उल्लेख गर्नुभयो।

मन्त्री चेम्जोङले द्वन्द्वका समयमा ध्वस्त भएका संरचनाको पुनःनिर्माण, द्वन्द्व पीडितलाई राहत प्रदान तथा शान्ति स्थापनार्थ सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो।

Popularity: 7%

Add comment November 28th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2010
M T W T F S S
« Oct   Dec »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category

More news....