Archive for November 4th, 2010

कारागारमै जन्मियो बालक

एचकेनेपाल डट कम संवाददाता-
गौशाला, कात्तिक १८ - कर्तव्यज्यान मुद्दामा छ महिनादेखि पुर्पक्षका लागि महोत्तरी कारागारमा थुनामा रहेकी एक महिलाले आज दिउँसो कारागारमै एक बालकलाई जन्म दिएकी छन्।

भारतको मधुवनी जिल्लाको रहिता पञ्चायतको बेलिपट्टी गाउँ घर भएका सुवोध मण्डलकी श्रीमती रेणु मण्डलले आज दिउँसो ३ बजे महोत्तरी कारागारमा बच्च जन्माएकी हुन्।

जनकपुरमा एक बालकको हत्या गरेको अभियोगमा रेणु २०६७ साल जेठ २५ गतेदेखि पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा रहेकी छिन्। (रासस)

Recent Videos:

Popularity: 11%

Add comment November 4th, 2010

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ,राष्ट्रपति डा रामवरण यादवले यसवर्षको महानपर्व दीपावली तथा तिहारको शुभ अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

यी पर्वले आर्थिक विपन्नतालाई दूर गर्दै समृद्धिको बाटोतर्फ लाग्न र आपसी भाइचाराको माध्यमबाट समाजमा शान्ति र समृद्धि हासिल गर्न प्रेरणा दिने तथा हामी नेपालीलाई दिगो शान्ति, आपसी सद्भाव र सामाजिक एकताको वैभव हासिल गर्न दत्तचित्त भएर लाग्न ऊर्जा प्रदान गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।

यसैगरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले तिहार (भाइटीका)को हाम्रो पवित्र र साँस्कृतिक पर्वको उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

आफ्नो देशको संविधान आफैंले लेखेर, नेपालमा दिगो शान्ति कायम गर्ने तथा देशलाई समुन्नत बनाउने गुरुत्तर जिम्मेवारीलाई हामीले उचित तवरले पूरा गर्नुपर्छ भन्दै उनले हाम्रा प्रत्येक चाडपर्वहरू हाम्रो एकताका प्रतीक हुन भन्ने यथार्थ सबैले मनन् गर्नुपर्नेमा जोड दिएका छन्।
(रासस)

Recent Videos:

Popularity: 10%

Add comment November 4th, 2010

प्रशान्त तामाङ र पेम्बा छ्योटी शेर्पा ह्यामबर्ग आउने

शेर्पा समाज ह्यामबर्ग, जर्मनी /एचकेनेपाल डट कम-
शेर्पा समाज जर्मनले शुभ दिपावलीको अवसर पारेर नोभेम्बर २५ तारिखका दिन भव्य मनोरन्जनात्मक लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ।

त्यसै सिलसिलामा नेपालबाट प्रख्यात गायक तथा कलाकार प्रशान्त तामाङ (इन्डियन आइडल ३) र स्पेनबाट ख्यातिप्राप्त गायिका पेम्बा छ्योटी शेर्पा कार्यक्रमको लागि जर्मन आउने भएका छन्।

शुभ दिपावलीको उपलक्षमा नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भरपूर मनोरंजन दिनाका साथै आगामी दिनहरुमा पनि जर्मनस्थित नेपाली र नेपाली संघ संगठनहरुलाई एकात्मक रुपमा अघि बढाउने, विभिन्न चाड पर्व र कार्यक्रमहरुलाई विभाजन गरी प्रभावकारी रुपमा आयोजना गर्ने लक्ष्य जर्मन शेर्पा समाजले लिएको छ।

कार्यक्रम हुने स्थान: Spielbunden plaatz 19 , 20359 Hamburg , Germany
मिति र समय: नोभेम्बर २५, बेलुकी ११ बजे
टिकट र अन्य जानकारीको लागि सम्पर्कः
सोनाम शेर्पा 016091272187
पासांग देण्डी शेर्पा 015203378736
दावा शेर्पा 015229279324
निमा लामा 01759257959
छिरिंग + माया शेर्पा 015110776779
पासांग रिन्जी शेर्पा 01748659267

Popularity: 11%

Add comment November 4th, 2010

गैरआवासीय नेपाली संघ स्पेनको दशैँ तिहार

बिनोद ढकाल, बार्सिलोना स्पेन /एचकेनेपाल डट कम-
गैरआवासीय नेपाली संघ स्पेनद्वारा आयोजित दशैँ तिहार बिशेष साँस्कृतिक कार्यक्रम सफलता पूर्बक सम्पन्न भएको छ।
दुई चरणमा विभाजित उक्त कार्यक्रम अन्तरर्गत पहिलो चरणको औपचारिक कार्यक्रममा एनआरएन स्पेनका अध्यक्ष भिषाम कुमार गुरुङ “अनिल” को सभापति र नेपाल सरकारका संघीय मामिला, संबिधान सभा, संसदीय ब्यबस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्य तथा नेपालका लागि स्पेनिश काउन्सिलर अम्बिका श्रेष्ठ र एनआरएन अन्तराष्ट्रिय समन्वय समिति सदस्य रामलाल कंडेलको बिशेष आतिथ्य रहेको थियो।

सोही आवसरमा एनआरएन स्पेनका अध्यक्ष भिसाम कुमार गुरुङले स्पेन युरोपमा नेपालीहरुका लागि नयाँ गन्तब्य स्थानको रुपमा बिकाश हुदै गरेको, नेपालीहरु व्यवसायिक रुपमा स्पेनमा स्थापित हुदै गरेको अबस्थालाई मध्यनजर गर्दै स्पेन र नेपाल बीचको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन स्पेनमा नेपाली दूताबास आवश्यक रहेको भन्दै स्पेनमा नेपाली दूताबास स्थापनाको माग गर्नु भयो। नेपाली दूताबास स्थापनाको लागि नेपाल सरकार ध्यनाकर्षणको लागि हस्ताक्षर आभियान शुभारम्भ गर्नु भयो। संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई बुझाउने भएकोले स्पेनबासी सम्पूर्ण नेपालीहरुलाई कसैले पनि नछुटाईकन हस्ताक्षर गर्न आवहान गर्नु भएको थियो।

उक्त आवसरमा प्रमुख आतिथिको आसनबाट बोल्दै डा. रिजालले नेपालमा द्वन्द्वको घाऊ आझै नमेटिएकोले यस समस्यालाई सम्बोधन नगरी नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुग्ने र संबिधान पनि समयमा बन्न नसक्ने कुरा बताउदै आफूले पनि प्रबासी जीबन बिताएकोले प्रबाशी नेपालीहरुको भावना आफूले राम्रोसंग बुझेको बताउनु भयो।

त्यसै गरी, बिशेष अतिथिको आसनबाट बोल्दै नेपालका लागि स्पैनेश काउन्सिलर अम्बिका श्रेष्ठले आफूले स्पेनबासी नेपालीहरुको काम कारबाहीमा कुनै बरोध खडा गर्ने नगरेको र नगर्ने बताउदै अबका दिनमा आफूबाट हुने काम झै सहज तरिकाले हुने कुरामा बिश्वस्त हुन सबैमा आग्रह गर्नु भएको थियो। अर्का अथिति एनआरएन अन्तराष्ट्रिय समन्वय समिति सदस्य रामलाल कंडेलले सम्पूर्ण सबैमा शुभकामना दिदै एनआरएन सबैको साझा सस्था भएको र यो सधै गैरआवासीय नेपालीको हक हितको पक्षमा रहेको कुरा बताउनु भयो।

सोही आवसरमा स्पेन स्थित बिभिन्न्न नेपाली संघ सस्थाहरुका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए। शुभकामना ब्यक्त गर्नेहरुमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष एकराज गिरि, नेपाली जन प्रगतिशील मंचका अध्यक्ष ईश्वर शर्मा, नेपाली लोकतान्त्रिक मंचका अध्यक्ष पुष्पराज तिमिल्सेना, चितवन समाजका अध्यक्ष जगतपाल सिलवाल, तमु समाज बार्सिलोनाका बेलकाजी गुरुङ, मगर समाजका राजु थापा हुनु हुन्थ्यो। कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा एनआरएन स्पेनका उपाध्यक्ष गोपाल रेग्मीले गर्नु भएको थियो भने संचालन दिनेश गुरुङले गर्नुभएको थियो।

दोश्रो चरणको कार्यक्रम शुरु हुनुघि स्वादिष्ट नेपाली खाना र सेल रोटीको ब्यवस्था गरिएको थियो। नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको साँस्कृतिक कार्यक्रमको संचालन एनआरएन स्पेनका सचिब बिनोद ढकालले गर्नु भएको थियो।

झण्डै ५ घण्टासम्म चलेको साँस्कृतिक कार्यक्रममा नेपाली लोक गीत दोहारी गीत तथा बिबिध नृत्यहरु प्रस्तुत गरिएको थियो। लोक गायक राजेन्द्र लम्सालको लोकगीतले सम्पूर्ण दर्शकलाई नचाएको थियो भने भरतराज न्यौपानेको यो “बाटो कहा जाने होला….” भन्ने गीतले सबै सबैलाई उत्साही बनाएको थियो। सुमित्रा घिमिरे र बिकाश बि. क . को दोहरीले नेपाल कै झल्को दिलाएको थियो भने अनिल गुरुङको मादल तथा बिनोद कटुवालको विभिन्न किसिमका बाजाको धुन तथा रेशम फिरिरीको धुनले स्वदेशी तथा बिदेशी सबै दर्शकलाई मन्त्र-मुग्ध बनाएको थियो। कार्यक्रममा अजय लोप्चन, दिव्या भण्डारी, सुस्मिता गिरि, दिब्या राम्जाली,शोभा गुरुङ, केशब सापकोटा ,बिकाश ,लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गर्नु भएको थियो।

Popularity: 11%

Add comment November 4th, 2010

माननीय मन्त्रीका अमान्य शैली

युवराज गुरुङ्ग, वेल्जियम-
राजनीतिक दलहरुको खिचातानी र अदूरदृष्टिका कारण मुलूक अस्तव्यस्त रहेको यथार्थ जग जाहेर हुंदा हुंदै पनि सरकारका उच्च तहका व्यक्तित्वहरु प्रवासमा आई पुग्दा समय अनुकूल भएसम्म तिनका कुरा सुन्न र केही जिज्ञासा मेटाउन तलतल लागी हाल्छ र सहभागी पनि भै हाल्छु।

आफू कुनै राजनितिक दल र धर्म विशेषको प्रभावबाट सकेसम्म तटस्थ हुने प्रयत्न गरे पनि त्यस विषयका र्सार्वजनिक वहसमा सामेल हुन आफनो कर्तब्य ठान्दछु । यसै क्रममा माननीय मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा वेल्जियममा सम्पन्न हुन गैरहेको एक अन्तक्रियात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। आयोजकले वर्तमान राजनितिक गतिरोध, संविधान निर्माण प्रक्रियालगायत दोहोरो नागरिकता जस्ता आम सरोकारका विषयमा अन्तरक्रिया हुने भनि आव्हानसहित निम्ता दिएका थिए। दूतावास, एनआरएनलगायतका वेल्जियमका अधिकांश संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा मन्त्रिज्यूले आफ्ना संवोधन सकेपछि आयोजकले प्रश्न तथा जिज्ञासाका लागि सहभागीतिर इशारा गरे। उक्त क्षणलाई अवसरका रुपमा लिदै मा. मन्त्रिज्यूसंग मैले तीन वटा जिज्ञासा राखें। ति जिज्ञासाहरु र मन्त्रिज्यूको उत्तर सकेसम्म जस्ताको तस्तै यहां राख्ने प्रयत्न गर्दैछु।

पहिलो जिज्ञासा
अल्पविकसित देशहरुको सम्मेलन जेनेभामा सकाएर वेल्जियम, स्पेन लगायत आर्थिक भौतिक रुपले सम्पन्न मुलूकको भ्रमणमा आउनु भएको तपाई एक गरिबी र अभावले ग्रस्त नेपालको मन्त्रि, नेपाल र्फकदा तुरुन्तै लागु गर्न सकिने के चिज या योजना लिएर जांदै हुनुहुन्छ? ता कि यसपछिका वेल्जियम आउने नेताहरुले पनि तपाइको सिको गरुन्। यस भ्रमणको उपलब्धिले तपाईको अर्को पटकको वेल्जियम भ्रमण अरु स्वागत योग्य रहोस….
….वोल्दा वोल्दै.. विचैमा मन्त्रिज्यूको उत्तर थियो .. “म वेल्जियम तपाईलाई भेट्न आएको, तपाईसंग भेट भैहाल्यो यही हो उपलब्धि” भन्दै अस्वभाविक रुपमा उत्तर दिन भयो र म तिर रिसाएको भाव फ्यांक्नु भयो। मैले राखेको जिज्ञासालाई अझ प्रष्ट पार्न प्रयत्न गर्दै थिएं झन् त्यही उत्तर दोहोरयाउंदै झर्किनु भयो। म अलि विचलित भएं। कतै मैले नितान्त वैयक्तिक र अमिल्दा करा पो राखें कि? तुरुन्तै सम्हालिए र दोश्रो जिज्ञासा राख्न शुरु गरें।

दोश्रो जिज्ञासा
कार्यकारी अंगका प्रमुख मन्त्रिका नाताले पहिलो जिज्ञासा राखें, अव सभासदको नाताले दोश्रो जिज्ञासा राख्ने अनुमति चाहान्छु। … तपाइको भर्खरैको संवोधनमा थप गरिएको समयमा पनि संविधान लेखन सम्पन्न नहुने आशंका बलियो रुपमा उठाउनु भयो। यो सामूहिक उत्तरदायित्वको सवाल भए पनि एक वौद्धिक नेताको हैसियतले समयमै संविधान नलेखिएमा त्यसको प्रायश्चित कसरी गर्नु हन्छ?
….वोल्दा वोल्दै.. मन्त्रिज्यूको उत्तर थियो ..”मैले किन प्रायश्चित गर्ने? संविधान मेरो कारणले नलेखिने हो र? बरु तपाई नेपाल आउनु होस् र तपाईले गर्नुहोस ति कामहरु” …। मेरो जिज्ञासालाई नजिक बस्नेहरुले सहज ढंगले लिइदिन मन्त्रिज्यूलाई आग्रह गर्दै थिए तर झन् उहां म तिर हेरेर झोंकिनु भयो। तै पनि मैले भन्दै थिएं, मत पलायन भैसकेको व्यक्ति, यद्यपि एनआरएनको अभियान लिएर मातृभूमि फर्कने प्रयत्नमा छु। उहांले त त्यो हप्काई मार्फत नै मेरो उत्तर दिइसकेका रहेछन्।

तेश्रो जिज्ञासा
मन्त्रिज्यूको संबोधनमा धर्म सापेक्ष, धर्म निरपेक्ष तथा संस्कृतिका कुराहरुले समय लियो र लिने नै पनि भयो एक विभागीय मन्त्रिको नाताले। वेल्जियममा पनि धार्मिक सांस्कृतिक र जातीय विषयहरुले चर्चा पाई रहने र ति विषयहरुमा सहिष्णुताको यदा कदा अभाव देखिनाले नेपाली समुदायमा भावनात्मक सन्तुलन खलबलिन नदिन सहायकको रुपमा अन्तिम जिज्ञासा राख्ने अनुमति मागे।
…मन्त्रिज्यू ! राज्यको कुनै धर्म हुदैन भन्ने तपाईको भनाइमा पूर्ण सहमत हुंदै अहिले मुलूक धर्म निरपेक्ष भै सकेको अवस्थामा सरकारको निकाय दूतावासले हिन्दूहरुको महान चाड दशैंलाई औपचारिक रुपमा मनाईनुको कारण के हुन सक्छ होला? वाफ रे मन्त्रिज्यू त आक्रोशमै आएर “दशै तपाईले मनाउने नमनाउने, दशैमा जाने नजाने तपाइको कुरा हो .. आदि इत्यादि.”. म त अक्क न वक्क भएं। सम्हालिदै विनम्र अनुरोध गरें, म पनि सामाजिक दृष्टिकोणबाट दशै मनाउछु र मनाई रहेको छु, कोही धार्मिक त कोही सांस्कृतिक दृष्टिकोणले मनाउलान्। मेरो आशय दूतावासका पदाधिकारीहरुको तलब भत्ताले स्वविवेकमा आफ्ना चाड मनाएको हो कि? सरकारको निर्देशनमा चाडबाड मनाउने छुट्टै कोषको व्यवस्था गरेको छ भनी स्पष्ट पारी दिन पुनः आग्रह गरें तर म त्यस क्षण सम्ममा मन्त्रिज्यूको नजरमा एक विरोधी पात्र दरिई सकेको रहेछु। जिज्ञासा मेटिने आशा त मरयो मरयो, हलको पछाडिबाट अरु प्रश्नहरु मन्त्रिमाथि खनिन थाले।

म तुरुन्तै सम्हालिएं। वातावरणलाई उत्तेजित बनाउन मन्त्रि आफै कस्सिएको महशुस गरें, तर कारण ठम्याउन सकिन। स्थिति असहज बन्यो। सिङ्गो नेपाली समुदायलाई संस्कृति र सभ्यता सिकाउने जिम्मा लिएका संस्कृति मन्त्रिलाई १८ घण्टा काम गरेर आएका मजदुर मित्रहरुले तपाइको शैली सुधार्नु होस, प्रश्न सुनेर सभ्य शैलीमा उत्तर दिनोस भन्दा उनका अनुयायीहरुले समेत लज्जाबोध महशुस गरेको देखिन्थ्यो। आयोजकले जुक्ति लगाएकाले अरु असन्तुष्टिहरु पोखिनबाट जोगीयो। म त्यहां कनै सेलीब्रेटी हेर्न गएको थिइनं, त्यसैले तिनको हाउ भाउ र चेहरा देख्ने चाहना पनि थिएन। न त उनी कुनै दल विशेषको नेता भएकै कारण म अर्ति उपदेश सुन्न त्यहां पुगेको थिएं। एक बौद्धिक ठूलो जिम्मेवारी बोकेका माननीय मन्त्रि सामने संकटपूर्ण दलदलबाट मुलूकले पाउने मुक्ति अनि डायस्पोराका एनआरएनका भूमिका के हुन सक्लान् भन्ने विषयमा सारगर्भित मन्तब्यको जिज्ञासा मेटाउन गएको थिएं। संवोधनमा भन्दै त हुनुहुन्थ्यो “मलाई भोट दिएर जिताउनेले मात्र गाली दिने अधिकार छ” । मैले त्यसलाई यसरी बुझेको थिएं, भोट उनका क्षेत्रका जनताले हालेर जिताएका भए पनि मन्त्रि सभासद त सबै नेपालीको साझा व्यक्तित्व हुन्। तर मेरो अर्थ्याई निकम्मा रह्यो। मन्त्रिज्यूसंगको साक्षात्कारले केही पूरानो याद पनि दिलायो। सबैभन्दा बढि का.वा.प्रधानमन्त्री बनेका माननीयज्यूसंग केही समय विताउने क्रममा क्यारेमबोर्ड र बुद्धिचाल खेल्ने अवसर मिलेको थियो। मैले ति खेलमा एक दुइ पटक जितेको मात्रै के थिएं, उहां यसरी रिसाउनु भयो कि म पूरै अवाक् बनें, अनि अर्को पटक हारेर उहांलाई खशी बनाएको थिएं। त्यस्तै अर्को पनि अनुभूति छ पूलचोक मन्त्री क्वाटरको पञ्चायत कालको। अघिल्लो सांझ नै मन्त्रि मण्डल विघटन भएको रहेछ, भोलिपल्ट विहानै माननीयज्यूले क्वाटर परिसरमा फूल्न लागेको काउली उज्यालो हुन अगावै खुकुरीले सबै छप्काई दिएको। संयोगवश वेल्जियमको यो घटना पनि अविस्मरणीय भएर मेरो जिवनमा रही रहने भयो।

अन्तमा, म सबैसंग के आग्रह गर्न चाहन्छु भने, माथि उल्लेख गरिएका जिज्ञासाहरु सार्वजनिक महत्वका विषयहरु हुन या हैनन् ? यी प्रश्नहरुको जवाफ दिन मा. मन्त्रिका कार्यक्षेत्राधिकार र कर्तब्य भित्र पर्छ कि पर्दैन? मेरा जिज्ञासाहरु असान्दर्भिक भए फिर्ता लिन तयार छु, नत्र तिनको सही जवाफ नपाउन्जेल उनी मेरा लागि सदासदा अमाननीय मन्त्रि कै कोटीमा रहि रहने छन्। तै पनि उहांको यूरोप यात्रा सुखद् रहोस्।

युवराज गुरुङ्ग
वेल्जियम
प्रतिक्रियाको लागिः tamuyubaraj@hotmail.com

Popularity: 11%

1 comment November 4th, 2010

धरानमा नेताहरुले लगाए जुवा मेला

हेमा राई, धरान /एचकेनेपाल डट कम-
यस पटक सांस्कतिक मेला भनेर लगाइए पनि संस्कृति झल्कने एउटै कार्यक्रमहरु छैनन्। वरु उल्टै स्थानीय डान्स सेन्टर जस्ता व्यवसायिक नर्तकहरुको संस्थाका केटाकेटीहरु ल्याएर छाडा डान्स गराउने गरेका छन्।

बिहारमा ‘थिएटर’ भनिने शैलीका अर्धनग्न नाच देखाउने धरानका युनाईटेड मल्टी आर्ट्स, गरिमा डान्स सेन्टर, मुनलाइट डान्स सेन्टर, देवश्री डान्स सेन्टरहरु बीच कसले बढी अश्लील नृत्य गर्ने भन्ने जुहारी र प्रतिष्पर्धा नै हुने गरेको छ।

यसैगरी, मेलाका प्राय सवै स्टलहरु जुवाजन्य खेलहरुले भरिएका छन्। ती खेलहरुमा अधिकांश मानिसहरु हारेर जान्छन, यदि कसैले जितिहाले पनि मेलाका स्वयंसेवकहरुले पाकेट मार्ने त्यतिले नभए लुटपाट नै गर्ने गरेको एक भुक्तभोगीले वताएका छन्।

धरान साँस्कृतिक मेला घुमेर फर्कदा धरानको संस्कृति भनेको नै जुवा, लुटपाट, दुर्व्यसनीहरुको दादागीरी, लाहुरेका अर्धनग्न छोरीहरु हो भन्ने भान पर्छ।

धरानमा नेताहरुले लगाए जुवा मेला
धरान, सांस्कृतिक उत्सवको नाम दिएर धरानका १३ राजनैतिक दल र धरान नगरपालिकाको स्वीकृतिमा संचालित धरानको मेलामा दिनहुँ हज्जारौं मानिस ठगिएका छन्।

कार्तिक १ गतेदेखि स्थानीय पब्लिक उच्च माविको मैदानमा लगाईएको मेलामा १४ वटा घुर्नी, १२ वटा फेन रेस, ६ वटा लक्की सेभेन जस्ता जुवाजन्य खेलहरुमा दिनहु सयौं सोझासिधा मान्छेहरु धरानका पेशेवर जुवाडेहरुको फन्दामा परेर रुवावासी भएका छन्।

त्यसवाहेक मेलाका आयोजकहरुले टिकट दर रु १५ लेखिएको टिकट दिएर ४० रुपैयासम्म लिने गरेका छन्। गत कार्तिक ६ गते राजेश पायल राईको कार्यक्रम हुंदा आयोजकहरुले ४० रुपैयासम्म गेटमा पैसा लिएपछि मेला हेर्न गएका गरीव सोझासाधा जनताहरु साँस्कृतिक मेलाको नाममा आफू नराम्ररी ठगिएको गुनासो बोकेर घर फर्किएका थिए।

कार्तिक १० गते मेला भर्न गएका धरान ३ का प्रवीण साहले मेलामा राखेको घुर्नीमा १७ हजार हारेर घरमा आई आत्महत्या गर्ने प्रयास गरेका छन्। नवमीका दिन मेला हेर्न गएकी क्याबिन रेष्टुरेन्टकी एक युवतीलाई राति ९ बजे रोटे पीङभित्र हातपात र बलात्कार गर्ने कोशिश गरेको घटनालाई आयोजकहरुले गुपचुप बनाएका छन्।

अर्धनग्न पोशाक लगाएर आउने केटीहरु र दुर्व्यसनी युवाहरु र पाकेटमारको लागि क्रिडास्थल बन्न पुगेको सो मेला भरेर राति घर फर्कने क्रममा विभिन्न ठाउंमा झगडा हुने गरेको कुरा अभिभावकहरु बताउछन्। एक अभिभावक धनहर्क राई भन्छन्- यो मेला लगाएपछि ठूलो चिन्ता थपिएको छ। छोरा छोरी घर नर्फकन्जेलसम्म निद्रा नै लाग्दैन। पैसा चोरेर उस्तै।

Popularity: 10%

1 comment November 4th, 2010

प्रधानमन्त्रीको भनाईप्रति मन्त्री र देउवाको आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री माधवकुमार नेपालको भनाईप्रति सिँचाइमन्त्री बालकृष्ण खाँड र नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले आपत्ति जनाएका छन्।

राष्ट्रपतिलाई कार्यकारी अधिकार सुम्पने भन्ने प्रधानमन्त्रीको पछिल्लो भनाईप्रति खाँडले आपत्ति प्रकट गरेका हुन्। नेपाल प्रेस युनियनले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिलाई अधिकार सुम्पने अधिकार र कुनै पनि संवैधानिक बाटो नरहेको खाँडले बताएका छन्।

त्यसै गरी, नेकाका वरिष्ठ नेता देउवाले राष्ट्रपतिलाई सत्ता सुम्पने प्रधानमन्त्रीको भनाई असंवैधानिक र अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले आफ्नो भनाईबारे स्पष्ट पार्नु पर्ने उनले बताए।

प्रधानमन्त्री नेपालले ४ महिनाभित्र प्रधानमन्त्री चयन नभएर बजेट ल्याउने अवस्था नरहे राष्ट्रपतिलाई सत्ता सुम्पने चेतावनी दिएका थिए।

Popularity: 11%

1 comment November 4th, 2010

गैरआवासीय नेपालीलाई नागरिकता दिइने निर्णयको स्वागत

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघले नेपाल सरकारको उच्चस्तरीय कार्यदलद्वारा गैरआवासीय नेपालीलाई नागरिकता दिने गरी गरेको निर्णयको स्वागत गर्दै नेपाल सरकार तथा उच्चस्तरीय कार्यदलका सम्पूर्ण सदस्यहरूमा हार्दिक आभार प्रकट गरेको छ।

गैरआवासीय नेपाली संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी गैरआवासीय नेपालीलाई नागरिकता दिने गरी गरेको निर्णयको स्वागत गरेको हो। यस निर्णयप्रति संघले खुशी व्यक्त गर्दै आभार प्रकट गरेको छ।

संघका अध्यक्ष देवमान हिराचनद्वारा हस्तक्षरित प्रेस विज्ञप्तिमा भनेको छ- ‘यस निर्णयले संसार भर भएका गैरआवासीय नेपालीलाई अत्यन्त खुशी तुल्याउनुका साथै देश विकासमा अझ तदारूकताका साग सहभागी हुन थप उर्जा सिंचन गरेको छ।’

Popularity: 11%

2 comments November 4th, 2010

एनआरएनलाई विशेष प्रकारको नागरिकता

एचकेनेपाल डट कम संवाददाता-
विदेशमा रहेर दोहोरो नागरिकताको माग गर्दै आइरहेका गैरआवासीय नेपाली(एनआरएन)ले विशेष प्रकारको नागरिकता पाउने भएका छन्।

संविधानसँग सम्बन्धित विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले एनआरएनलाई विशेष प्रकारको नागरिकताको व्यवस्था गर्ने निर्णय गरेको हो।

गैरआवासीय नेपालीका रूपमा प्रदान गरिने नागरिकता अन्तर्गत नागरिकले राजनीतिक अधिकार बाहेक नेपाली नागरिकसरह अन्य सबै अधिकार प्रयोग गर्न पाउनेछन्।

वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा महिला र पुरुषबीच राज्यले एकात्मक विभेद नीति लिने छ। यसको अर्थ नेपाली पुरुष नागरिकसँग विवाह गरी आउने विदेशी महिलाले आफ्ना देशको नागरिकता त्याग प्रकृया सुरु गरेपछि अंगीकृत नेपाली नागरिकता पाउने छिन्। तर, नेपाली महिला नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले भने तत्कालै नभई १५ वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नेपाली नागरिकता पाउनेछ।

अंगिकृत नागरिकले राष्ट्र प्रमुख, उपप्रमुख, सरकार प्रमुख, व्यवस्थापीका अंगको प्रमुख, सुरक्षा निकायको प्रमुख र प्रान्तीय सरकारका अंगहरूमा प्रमुखका जिम्मेवारी लिन पाउने छैनन्।

Popularity: 11%

Add comment November 4th, 2010

कात्तिक २० गते सहमति हुन्छ –डा भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईले यही कात्तिक २० गते साँझसम्म ठूला तीन दलबीच सहमति कायम भई राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि टुङ्गो लाग्ने सम्भावना रहेको बताउनुभएको छ।

राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालद्वारा नेपाल संवत् ११३१ को उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले तीन दलका तर्फबाट पाँच/ पाँच नेताको सहभागितामा कात्तिक १९ र २० गते हुने बैठकले त्यसको निर्णय गर्ने सम्भावना रहेको बताउनुभयो।

उपाध्यक्ष भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधान गर्नका लागि यथाशक्य नयाँ सविधान निर्माण गर्नुपर्ने भएकाले राष्ट्रिय संयुक्त सरकार निर्माणको आवश्यकता आँैल्याउनुभयो।

उपाध्यक्ष भट्टराईले शान्ति, संविधान र राष्ट्रिय सरकारको गठनको आधार तयार भएपछि बजेटको समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

Popularity: 11%

Add comment November 4th, 2010

मङ्सिरभित्र नयाँ सरकार–ओली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले मङ्सिरभित्र नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ।

झापाको बिर्तामोडमा आफैँले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन गृह जिल्ला आउनुभएका नेता ओलीले सरकार निर्माणको आधार भने खुलाउनुभएन।

उहाँले विगतमा राजनीतिक उद्देश्यका लागि गरिएको हिंसा त्यागे देशमा स्वतः शान्ति छाउने उल्लेख गर्नुभयो।

उहाँले एमालेले सहमतिकै लागि प्रधानमन्त्रीको पद त्यागे पनि समस्या नसुल्भिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

नेता ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति सङ्केत गर्दै दुनियाँ सामु लाजमर्दो काम भइरहेको टिप्पणी गर्नुभयो।

Popularity: 11%

Add comment November 4th, 2010

नागरिकताबाहेक अन्य प्रमाणपत्र पनि मान्य हुने

एचकेनेपाल डट कम संवाददाता-
निर्वाचन आयोगले मतदाताको विवरण सङ्कलन एवम् दर्ताका लागि नागरिकता प्रमाणपत्रका अतिरिक्त अन्य प्रमाणपत्रलाई समेत आधार मान्ने सम्बन्धमा निर्वाचन आयोगबाट मङ्गलबार निर्णय भएको छ।

सो निर्णयअनुसार मतदाता नामावलीसम्बन्धी ऐन २०६३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकको फोटोसहितको नामावली सङ्कलन गर्न नागरिकता प्रमाणपत्रलाई आधार मानिएकामा सो प्रमाणपत्र पेस गर्न नसक्ने मतदाता हुन योग्यता पुगेका व्यक्तिको स्थान, स्थायी ठेगाना, जन्ममिति, उमेर वा बाबुआमासमेतको नाम पुष्टि हुनेगरी ऐनअनुसार जग्गाधनी प्रमाणपुर्जा वा सरकारी कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा जारी गरिएको परिचयपत्र पेस गरिएमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिने छ।

सो प्रमाणपत्र पेस गर्न नसक्ने अवस्थामा ऐनअनुसार सम्बन्धित गाविस वा नगरपालिकाको सम्बन्धित वडाले जन्मस्थान, स्थायी ठेगाना, र बाबुआमासमेतको नाम पुष्टि हुनेगरी मतदाता नामावालीमा विवरण समावेश गरिदिन निर्धारित ढाँचामा सिफारिस गरेमा त्यस्तो व्यक्तिको विवरण सङ्कलन गरी फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरिनेछ।

साविकको मतदाता नामावलीमा नाम भएका व्यक्तिले पनि पहिचानका लागि प्रक्रिया पुरा गर्नुपर्ने आयोगले जनाएको छ।

यस निर्णयबाट हाल सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यमा देखापरेका अवरोध निराकरण भई मतदाता नामावली कार्यक्रम सुचारुरूपले सञ्चालन हुने विश्वास आयोगले लिएको छ।

Popularity: 10%

1 comment November 4th, 2010

तिहारका लागि आन्दोलन स्थगित

एचकेनेपाल डट कम संवाददाता-
नेपाल पेट्रोल व्यवसायी महासङ्घले यही कात्तिक २७ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको छ।

महासङ्घले दीपावली र छठपर्वलाई ध्यानमा राख्दै सर्वसाधारणलाई असुविधा भोग्नु नपरोस् भनेर आन्दोलनका कार्यक्रम स्थगन गरेको हो।

महासङ्घले पेट्रोलियम पदार्थको ढुवानी गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तापक्रममा तेल लोड, अनलोड गर्नुपर्ने, सरकारले चैत १ गतेदेखि लागु गरेको वैज्ञानिक भाडादर कार्यान्वयन गर्नुपर्ने, भारतको बरौनीबाट तेल सुचारुरूपले आयात गर्न पाउनुपर्नेलगायतका माग राखी सोमबार र मङ्गलबार देशभर ढुवानी सेवा ठप्प बनाएको थियो।

महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले आफूहरूले सोमबारदेखि सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम विभिन्न पर्वका कारणले कात्तिक २७ गतेसम्मका लागि स्थगन गरेको र सरकारले ती मागलाई सम्बोधन नगरेमा कात्तिक २८ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिनुभयो।

Popularity: 10%

Add comment November 4th, 2010

पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेले यस्तै स्थितिमा सहमति नहुने हो भने संविधान सभाको बाँकी अवधिमा पालैपालो तीन दलका नेता प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले हिजो तीन दलको शीर्ष नेताको बैठकमा यस्तो प्रस्ताव राखेका हुन्। प्रधानमन्त्री माधवकुमार नेपालले पनि कम्तिमा एक महिनाका लागि काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए।

मुलुकमा बढ्दै गइरहेको आर्थिक सङ्कट र राजनीतिक गत्यावरोध अन्त्यका लागि पहिले बजेट ल्याउने कि नयाँ सरकार बनाउने भन्ने विषयमा तीन दलका शीर्ष नेताको बैठकमा मतान्तर देखिएको थियो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा एकीकृत नेकपा(माओवादी)ले राजनीतिक गत्यावरोधको अन्त्यपछि मात्र नयाँ सरकार गठन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ भने सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले मुलुकमा आर्थिक सङ्कट चुलिँदै गएकाले बजेट ल्याएपछि मात्र नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक गतिरोधको अन्त्यबिना कुनै विषयमा छलफल गर्नु निरर्थक भएकाले नयाँ सरकार गठनपछि मात्र बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले दुई दिनभित्र राजनीतिक गत्यावरोधका लागि तीन दलका शीर्षनेताले छलफललाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन बजेटलाई प्राथमिकता दिइएपनि राजनीतिक गतिरोधको अन्त्य गरी नयाँ सरकार गठनलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो।

Popularity: 10%

Add comment November 4th, 2010

आजदेखि तिहार सुरु

एचकेनेपाल डट कम संवाददाता-
हिन्दूको महान् चाड दीपावली आजदेखि कागको पूजा गरी सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई, गोरु चौथो दिन गोबर्द्धन पूजा र भाइटीका गरी सम्पन्न हुन्छ।

बत्तीको झिलिमिली र उज्यालो, मिठाइ र फलफूलको सेवन, फूलहरूको ढकमक, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, नेपालको मौलिक संवत् नेपाल संवत्को प्रारम्भ, आत्मपूजा, पक्षी र जनावरहरूको पूजा तिहारको विशेषताका रूपमा रहेको छ।

पुराण अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरी विविध खानेकुरा दिने चलन छ।

हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

Popularity: 10%

Add comment November 4th, 2010


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2010
M T W T F S S
« Oct   Dec »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category

More news....