Archive for February, 2011

माओवादी नेता महरा हङकङ आउने

एस/ एचकेनेपाल डट कम-
हङकङ, एकीकृत नेकपा माओवादीका नेता तथा विदेश व्यूरो इन्चार्ज कृष्णबहादुर महरा हङकङ आउने भएका छन्। (more…)

Popularity: 7%

Add comment February 28th, 2011

माओवादीले समर्थन फिर्ता लिन सक्छः बैद्य

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यले सात बुँदे सहमति कार्यान्वयन नभए माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताएका छन्।

राजधानीमा सोमवार ओयोजित जनसंचार अभियानमा बोल्दै उपाध्यक्ष बैद्यले सहमति बमोजिम मन्त्रीपरिषद विस्तार हुन नसकेको बताउंदै यस्तो अन्योल बढ्दै गएमा माओवादीले समर्थन फिर्ता लिन सक्ने बताएका हुन्।

बैद्यले सरकार माओवादीको समर्थनमा बनेको भएपनि एमाले भित्रै रहेको अष्पष्टताका कारण मन्त्री परिषद विस्तार हुन नसकेको बताए।

उनले सातबूंदे सहमति अनुसार गृहमन्त्रालय माओवादीले नै पाउनु पर्ने बताए।

Recent Videos:

Popularity: 7%

2 comments February 28th, 2011

जीप दुर्घटनामा ५ को मृत्यु, ५ गम्भीर घाइते

एचकेनेपाल डट कम संवाददाता-
बाग्लुङ, बाग्लुङको पाण्डवखानी ३ को डाउंदीखोलामा आइतवार राति जीप दुर्घटना हुंदा ५ जनाको मृत्यु र ५ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेहरूमा एउटै गाउं पाण्डवखानी ६ का ४४ बर्षीय भक्तबहादुर पुन, १८ बर्षीय दीपक पुन, २३ बर्षीय दिनेश श्रीष, २५ बर्षीय श्याम काउचा मगर र विक्रम श्रीष रहेका छन्। प्रहरीका अनुसार भक्तबहादुर र दीपक एकै घरका हजुरबुवा र नाती हुन्।

त्यसैगरी, घाइते हुनेहरूमा पाण्डवखानी ८ का बलबहादुर श्रीष, ९ का कुमार थापा, प्रकाश श्रीष, पाण्डवाखानी ६ का गंगा श्रीष र जीप चालक चित्रबहादुर मगर रहेका छन्। उनीहरू गम्भीर रूपले घाइते भएको प्रहरी निरिक्षक होविन्द्र बोगटीले बताए। उनीहरूको हटिया स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपाचरको लागि बागलुङ अस्पतालमा राखिएको छ।

भलिबल र बास्केटबल प्रतियोगितामा भाग लिन हिडेका युवाहरु चढेको ना१ज १२८६ नम्बरको यात्रुवाहक जीप राति पौने दश बजे पाण्डवखानी ३ को डाउँदीखोलामा सडक देखि २ सय मिटर तल भीरमा खसेको थियो।

Recent Videos:

Popularity: 7%

Add comment February 28th, 2011

पोर्तुगलमा अर्को ल्होसार मनाइदै

योगेन्द्रमिलन छन्त्याल / एचकेनेपाल डट कम-
लिस्बोन, लिस्बोनमा रहेका नेपालीहरु फेरि अर्को एउटा ल्होसार कार्यक्रममा नाच्न, गाउन र रमाउन पाउने भएका छन्।

युरोप शेर्पा किदुग, पोर्तुगल र तामाङ समाज पोर्तुगलले यस्तो कार्यक्रमको आयोजना गर्ने भएका छन्।

२० मार्चका दिन शेर्पाहरुको २१३८ औं ल्होसार (च्याक मो ह्येद लो) र तामाङहरुको २५४७ औं खरायो वर्षको अवसरमा लिस्बोन ल्होसार साँझ २०११ को आयोजना गरिदै छ।

कार्यक्रममा तामाङ सेलो, शेर्पा शेब्रु, नेपाली जनजातिहरुका संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिहरु, गायिका पेम्बा छोटी शेर्पासहित विकास गुरुङ, विष्णु क्षेत्रीलगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।

किदुग सचिव धनराज शेर्पाका अनुसार कार्यक्रम बारोस्सो इस्टाफानियामा दिउसो १ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने छ। जनजातिहरुले अलग अलग तिथिमा नयाँ वर्ष मनाउदै आएकोले उनीहरुको परम्परागत साल पनि फरक फरक रहेका छन्। यसअघि, जनवरी २ का दिन तमु (गुरुङ) समाजले ल्होछारकै नाममा भव्य कार्यक्रम सम्पन्न गरेको थियो।

Popularity: 7%

Add comment February 28th, 2011

तमु प्ये ल्हु संघ युकेको दोश्रो अधिवेशन सम्पन्न

बि. च्हाक्ली तमु / एचकेनेपाल डट कम-
बेलायत, ओएभल कम्युनिटी क्याम्पसमा शनिवार तमु प्ये ल्हु संघ युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

तीन बर्ष कार्य अवधि रहेको संघको कार्य समितिको हरेक तेस्रो बर्षमा अधिवेशन आव्हान गरिने प्रावधान अनुसार यो दोस्रो अधिवेशन आयोजना गरिएको हो।

प्राध्यापक नारायण ल्हेँगे तमुको विशेष उपस्थिति रहेको उक्त दोस्रो अधिवेशनलाई खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको थियो भने खुल्ला सत्र संघको अध्यक्ष जगत प्हच्यु तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमु र सह-सचिव जीत क्रोम्छे तमुले सन्चालन गर्नु भएको थियो।

संघको अध्यक्ष तथा खुल्ला सत्रका सभापति जगत प्हच्यु तमु र पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छे तमुको संयुक्त बाहुलीबाट पानसमा दीप प्रज्वलन गरी प्रोजेक्टरमा तयार पारिएको अधिवेशनको व्यानर विवृत गरेर औपचारिक समुदघाटन गरिएको कार्यक्रममा हेल्थ एण्ड सेफ्टीको बारेमा सह-सचिव जीत क्रोम्छे तमुले जानकारी गर्नु भएको थियो भने उपाध्यक्ष सोम त्होर्जे तमुले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो।

पच्यु पैँडी चिवा यारजङ् तमु, प्रमुख सल्लाहकार ले. याम बहादुर तेल तमु र प्राध्यापक नारायण ल्हेँगे तमुले संघको स्थापना प्रगति उपलब्धि तथा जिम्मेवारी आदि लगायत तमु जातिको कुल-धर्म, संस्कार-सँस्कृति, भाषा, भेषभूषा परम्परा र पहिचानको संरक्षण सम्बर्धनको लागि तमु प्ये ल्हु संघले निभाएको भूमिकाको बारेमा आ-आफ्नो अभिव्यक्ति दिँदै दोस्रो अधिवेशन सफलताको कामना गर्नु भएको थियो।

कोषाध्यक्ष नेत्र टु तमु र सचिव भेग च्हाक्ली तमुद्धारा संघको आर्थिक प्रतिवेदन र साँगठनिक प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा अधिवेशन सफलताको लागि तमु प्ये ल्हु संघ केन्द्रीय समिति पोखरा नेपाल, कास्की जिल्ला शाखा, पौरे क्षेत्रिय शाखा पोखरा, चितवन जिल्ला शाखा, नवलपरासी जिल्ला शाखा, मकवानपुर जिल्ला शाखा, तनहूँ जिल्ला शाखा, तमु प्ये ल्हु संघ अन्तर जिल्ला मूल समिति र तमु ह्युला छोँज धि नेपालले पठाएको शुभ कामना सन्देश पनि सुनाईएको थियो भने कार्यक्रमको सभापति जगत प्हच्यु तमुले दोस्रो कार्य समितिले संघको वैधानिक सिमानाभित्र कर्तव्यनिष्ठ भई आफ्नो कार्यकाल पूरा गरेको कुराप्रति गम्भीर भई यसको मूल्याङ्कन गरिदिन तमु समुदायलाई आग्रह गर्दै पहिलो खुल्ला सत्र समापन भएको थियो।

दोस्रो चरणको बन्द सत्र शुरु हुनुभन्दा अगाडि आर्थिक एवं साँगठनिक प्रतिवेदनमाथि जिज्ञासा राख्ने समय निर्धारण गरिएको थियो सो क्रममा सल्लाहकार बालासिङ्ग क्रोम्छे तमुले लिखित रुपमा बुझाएको सुझाव बाचन गरी सुनाईएको थियो। त्यसपछि बन्द सत्रमा प्रवेश गर्दै दोस्रो कार्य समितिका अध्यक्ष जगत प्हच्यु तमुले संघको मूल कार्य समिति लगायत कार्य समितिको मातहातमा गठित अन्य सबै समितिहरुको समेत विघटन भएको घोषणा गर्दै तेस्रो कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई बैधानिक अधिकार सुम्पिएको थियो। त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्रलाई अगाडी बढाउदै तेस्रो कार्य समितिको लागि उम्मेदवारीको योग्यता, अयोग्यता र मनोनयन प्रकृयाको नियम सुनाईएको थियो।

पच्यु पैँडी चिवा यारजङ्ग क्रोम्छे तमुको प्रमुख संयोजन रहेको अध्यक्ष मण्डलमा ले. यामबहादुर तेल तमु, ले. मदन प्ल्हेँ तमु, क्या. बुद्धिकुमार पर्जु तमु र मनबहादुर टु तमु गरी पाँच जना सदस्य रहेको थियो। नयाँ कार्य समिति गठनको लागि अध्यक्ष मण्डललाई नेतृत्व गर्दै पच्यु पैँडी चिवा यारजङ् क्रोम्छे तमुले सञ्चालन गर्नु भएको मण्डलले तमु प्ये ल्हु संघको तेस्रो कार्य समितिको रुपमा पूर्व उपाध्यक्ष सोम त्होर्जे तमुको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकोछ भने उपाध्यक्षमा नरबहादुर टु तमुलाई मनोनयन गरेकोछ। सचिव पदको लागि भने पूर्व सचिव भेग च्हाक्ली तमुलाई नै राखिएकोछ। सह-सचिवमा हुमबहादुर क्होल तमु मनोनित हुनु भएकोछ भने सदस्यहरुमा अमर त्होर्जे तमु, बुद्धी टु तमु, सेतु ङोर तमु, श्रीमती पार्वती पर्जु तमु, श्रीमती बिष्णु टु तमु र श्रीमती बिष्णु क्रोम्छे तमु मनोनयन गरिएकोछ। बाँकी सदस्यहरु अध्यक्षले आवश्यकता अनुसार मनोनयन गर्न सकिने प्रावधान राखिएकोछ भने कोषाध्यक्ष र सह-कोषाध्यक्ष पद बिचराधिनमा नै राखिएकोछ।

Popularity: 7%

1 comment February 28th, 2011

नियोगद्वारा ५ म्यानपावरलाई कारवाही सिफारिस

दीपक पौडेल/ एचकेनेपाल डट कम-
दोहा, वैदेशिक रोजगार ऐन २०६४ को उल्लंघन गरी कतारमा कामदार पठाएर विचल्लीमा पार्ने ५ म्यानपावर कम्पनीलाई कारवाहीका लागि नेपाली दूतावास कतारले सम्बन्धित निकायमा सिफारीस गरेको छ।

आयुस इन्टरनेशनल ओभरसिज प्रालि बसुन्धरा, अल अरब ओभरसिज प्रालि कुपण्डोल, क्षितिज इम्प्लाइमेन्ट सर्भिस प्रालि बानेश्वर, अल दहबिया ओभरसिज प्रालि धापासी र अल जाफर इन्टरनेशनल प्रालि कुपन्डोलको ललितपुरको कारोवार रोक्का गर्न र हदैसम्मको कानुनी कारवाही गर्न श्रममन्त्रालय, पराष्ट्र मन्त्रालय तथा बैदेशिक रोजगार विभागमा मंगलबार पत्राचार गरेको नेपाली दूतावासले जनाएको छ।

नेपाल सरकारले यसै बर्ष २७ बैशाखमा राजपत्रमा प्रकाशित गरेको कतारको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा पठाउने, एउटा कम्पनीको भिषामा अर्कै कम्पनीको नक्कली श्रमसम्झौता बनाएर पठाउने, एउटा कामको आश्वासन दिएर अर्कै काममा पठाउने, नेपाल सरकारको उपस्थिति र सहज पहुंच भएको स्थानमा समेत सरकारलाई अविश्वास गरी नियोग भन्दा बाहिरबाट मागपत्र लगि नियोगमार्फत सरकारलाई प्राप्त हुनुपर्ने प्रतिमाग पत्र ३ सय ९० कतारी रियाल राजश्व प्राप्त गर्नबाट बञ्चित गराउने ती कम्पनीहरुलाई कारवाही सिफरीस गर्दा दूतावासले यस पटक कालो सूचीमा रहेको कम्पनीको नाममा श्रम स्वीकृति दिने कर्मचारीलाई समेत कानुनको दायरामा ल्याउन सुझाव दिएको छ।

आयुस इन्टरनेशनल ओभरसिजले कतार पठाएका मध्ये यमबहादुर बिक हालसम्म दूतावासको आश्रयस्थलमा शरणागत छन् भने अल अरब ओभरसिजले पठाएकामध्ये बिनोदकुमार सिँह दूतावास शरणमा छन्। यसैगरी, क्षितिजका अनिरुद्र मण्डल, मदनकुमार महरा शरणागत छन् भने अलदहबिया ओभरसिज प्राली धापासीबाट पीडित लक्ष्मण खनाल पनि दूतावास शरणमा आएका छन्। अलजाफर इन्टरनेशनलका पीडित जैसी मोची पनि अलपत्रमा छन्। सम्बन्धित कामदारका समस्या समाधानका लागि दूतावाससंग समन्वय गर्न पनि दूतावासले निर्देशन दिएको छ। पीडित कामदारहरूबाट ती म्यानपावरहरूले १ लाख को हाराहारीमा चर्को शुल्क असुल गरेका थिए।

Popularity: 7%

1 comment February 28th, 2011

महासंघको अवधारणा आदिवासीको घरघरमा पुर्‍याउनुपर्ने

हुम तमु/ एचकेनेपाल डट कम-
पोखरा, आदिवासी जनजाति उत्थान प्रतिष्ठान नेपालका सदस्य सचिव लोकबहादुर थापामगरले आदिवासी जनजाति महासंघको बृहत राष्ट्रिय सम्मेलनबाट पारित अवधारणालाई आदिवासीको घर घरमा पुर्‍याउनु पर्ने बताउनु भएको छ।

नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा आयोजित उनन्तीसौं मगर दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि थापामगरले महासंघको हालै काठमाण्डौंमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित राज्य संचालनमा आदिवासी जनजातिको सहभागी विना अधिकार प्राप्ति हुन नसक्ने भएकाले राजनितिक दलहरुमा समानुपातिक प्रतिनिधीत्वको सुनिश्चिततालाई आम आदिवासी जनजातिले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ बन्ने संविधानमा आत्मनिर्णायकको अधिकार, बहुभाषिक व्यक्तित्व विकास, लैगिक समानताको सुनिश्चितता हुनुपर्ने बताउनु भयो।

मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषाका आदीकवि जीतबहादुर सिञ्जाली, डा.मीन पुनलाई सम्मान पत्र र भाङ्ग्राले र मगर समुदायका असी वर्षभन्दा जेष्ठ २० जनालाई प्रमुख अतिथि लोकबहादुर थापामगरले सम्मान पत्र, दोसल्ला र ढाकाटोपीले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सहभागी हुन मौलिक पोशाक, नौमती बाजा, झाँकीसहित र्‍यालि पोखरा सभागृहबाट शुरु भई नयाँ सडक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुदै मगर संघको भवनमा पुगी कार्यक्रममा परिणत भएको थियो।

मगर संघमा भएको समारोहमा र्‍यालीमा सहभागी इकाईहरुमध्ये बुढीवजार मगर संघ प्रथम हुदै तीन हजार, हेम्जा इकाई द्धितीय हुदै दुइ हजार र रामबजार इकाइ तृतीय हुदै एक हजार रुपैयाबाट पुरस्कृत भए भने कार्यक्रममा विभिन्न इकाइका तर्फबाट मगर मौलिक सँस्कृतिका नृत्यहरु प्रस्तुत गरेका थिए।

र्‍यालीमा मगर संघ कास्की अर्न्तगतका २८ इकाई समिति, विद्यार्थी समिति, युवा समिति, महिला समितिलगायतको उल्लेखनिय सहभागिता रहेको थियो।

कार्यक्रममा मगर संघका संस्थापक अध्यक्ष क्याप्टेन कृष्णबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, जितबहादुर सिंजाली प्रतिष्ठानका सञ्जोग लाफा मगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका खेम पुन, उपप्राध्यापक महेन्द्र आले मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रुद्र श्रीस मगर, विमला पुलामी, नेपाल मगर महिला संघकी पूर्व सचिव बृन्दा राना, मेजर प्रेमबहादुर थापा, यमबहादुर थापा, गोविन्द सिंञ्जालीलगायतले नयाँ बन्ने संविधानमा मगरको अधिकारको सुनिश्चितता, मगराँतको ग्यारेन्टी, लखन थापालाई प्रथम शहिद घोषणा गर्नुपर्नेमा जोड दिएका थिए।

Popularity: 7%

Add comment February 27th, 2011

वायुसेवा निगमका अध्यक्षलाई जेल चलान

एचकेनेपाल डट कम संवाददाता-
नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकारलाई आइतबार जेल चलान गरिएको छ।

विशेष अदालतले माग गरेको ६ करोड रूपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको हो। उनलाई डिल्लीबजारस्थित चारखालमा राखिएको छ।

विमान खरिदमा अनियमितता गरेको ठहर गर्दै अदालतले ६ करोड रूपैयाँ माग गरेको थियो।

विमान खरिदका लागि एयर बस कम्पनीलाई निगम सञ्चालक समितिको निर्देशनविपरीत आफू खुशी बैना दिएको भन्दै कंसाकारविरूद्ध मुद्दा दायर गरिएको थियो।

Popularity: 7%

Add comment February 27th, 2011

कांग्रेस गोप्य सम्झौतामा बनेको सरकारमा सहभागी नहुने

एचकेनेपाल डट कम संवाददाता-
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको सरकारमा नेपाली कांग्रेस सहभागी नहुने बताएकी छिन्।

कोइरालाले सातबुंदे गोप्य सम्झौतालाई अपवित्र भन्दै सहमति खारेज नभएसम्म नेपाली कांग्रेस सरकारमा सहभागी नहुने बताइन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक वेइमानी गरेको बताइन्। एमाले र माओवादी दुई दलबीच आलोपालो सरकार चलाउने गोप्य सम्झौता लोकतन्त्रको मर्मविपरित रहेको उनको टिप्पणी थियो।

Popularity: 7%

1 comment February 27th, 2011

एमाले र माओवादी लड्दा सरकार तुहिने सम्भावना- यादव

एचकेनेपाल डट कम संवाददाता-
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गृह मन्त्रालयका लागि माओवादी र एमाले एक आपसमा लडाईं गर्दा सरकार तुहिने सम्भावना बढ्दै गएको बताएका छन्।

रिपोर्टर्स क्लव बुटवलद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले गृहमन्त्रालयलाई तारो बनाएर दुई दल लडेर मुलुकलाई धरापमा पार्न नहुने बताए।

गृह अन्तर्गत देशको सम्पूर्ण प्रशासन रहंने हुंदा सत्ता कसले आफ्नो हातमा लिने भन्ने विषयमा दुई दलवीच लडाईं भैरहेको उनले बताए। यसले झलनाथ खनालको सरकार तुहिने सम्भावना बढ्दै गएको उनको टिप्पणी थियो।

Popularity: 7%

Add comment February 27th, 2011

सुरक्षासम्बन्धी मन्त्रालय आफैंले राख्नेमा एमाले अडिग

एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेले सुरक्षासम्बन्धी मन्त्रालय आफैंले राख्ने पुरानो निर्णयलाई निरन्तरता दिने भएको छ।

संसदीय दलका कार्यालय सिंहदरवारमा आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

बैठकले माओवादीसंग सरकारलाई पूर्णता दिने विषयमा पुरानै निर्णयलाई टेकेर वार्ता गर्ने निर्णय गरेको छ।

बैठकपछि महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीहरूसंग बोल्दै आज वा भोलिसम्म सरकारले पूर्णता पाउने गरी माओवादीसंग निर्णायक वार्ता गर्ने बताए।

Popularity: 7%

Add comment February 27th, 2011

काठमाडौँ भित्रिन लागेको विस्फोटक पदार्थसहित पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
डेटोनेटर पड्काएर सर्वसाधारणलाई आतङ्कित पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शङ्कास्पद गतिविधि गरिरहेका केही युवकलाई निगरानी तथा जाँचका क्रममा सुरक्षाकर्मीले हिजो बिहान नागढुङ्गाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विद्युतीय डेटोनेटर लिएर हिंडेको अभियोगमा वीरगन्ज उपमहानगरपालिकाका भरत राउत र कलैयाका रामशेखर यादवलाई ४१ वटा विद्युतीय डेटोनेटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अभियुक्तहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा लगाइने तयारी भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

Popularity: 7%

Add comment February 27th, 2011

प्रतिक्रान्तिकारीको चलखेलले मन्त्रिमण्डल बनेनः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी र प्रतिक्रान्तिकारीको चलखेलका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको बताउनुभएको छ।

सहिद सप्ताहको अवसरमा नेवाः राज्य समितिले ललितपुरको कुपण्डोलमा आयोजना गरेको कार्यक्रममा उहाँले विदेशीको इसारामा चल्ने यथास्थितिवादीको चलखेल नै मन्त्रिमण्डल विस्तारको बाधक भएकाले त्यो अवरोधलाई चाँडै चिर्छौं भन्नुभयो।

अध्यक्ष प्रचण्डले नेपालका दलहरुकै शक्तिमा सरकार गठन गरेको विदेशी शक्तिलाई स्वीकार्य नभएकाले उनीहरुले षडयन्त्र गरेको आरोप लगाउँदै ती षडयन्त्रलाई परास्त गरी नेपाली जनताको सपना पूरा गर्न दृढताका साथ लागिपर्ने बताउनुभयो।

उहाँले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति रातारात गरिएको नभई जनताको विभिन्न चरणको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न गरिएको दाबी गर्दै सातबुँदे सहमति अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो।

लोकतान्त्रिक गठबन्धन सम्भव छ भने वामपन्थी गठबन्धन पनि हुनसक्ने तर्क गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रलाई एकजुट भएर अगाडि बढाउन वामपन्थी नेतृत्वको सरकारमा लोकतान्त्रिक शक्तिहरु पनि सामेल हुनुपर्छ भन्नुभयो।

हरेक वर्ष फागुन १४ गते माओवादी निकट भ्रातृ सङ्गठनहरुले बलिदान दिवसका रुपमा सहिद सप्ताह मनाउँदै आएका छन्।

Popularity: 7%

Add comment February 27th, 2011

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

एचकेनेपाल डट कम संवाददाता-
मोरङ जिल्लाको बाहुन गाविस–२ मा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

मोरङको बनिगामातर्फ गइरहेको को १ ह ३५९६ नम्बरको ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

घाइतेको स्थानीय कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

Popularity: 7%

Add comment February 27th, 2011

आगलागी हुँदा करोडौं रुपैयाँको क्षति

एचकेनेपाल डट कम संवाददाता-
ताप्लेजुङको लिङ्गखिङ–९ शिवा बजारमा हिजो दिउँसो आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

आगलागीबाट १३ घर जलेर नष्ट भएका छन्।

स्थानीय टेकबहादुर सेम्बुको घरबाट सुरू भएको आगलागीबाट सुकबहादुर काम्बाङ, हेमकुमार लिम्बु, अनुज काम्बाङ, इलोक लिम्बु, मानबहादुर लिम्बु, सन्तोस खबास, थापा अन्तरे, बलबहादुर लिम्बु, सावित्रा लिम्बु, मानवीर तामाङ र बलबहादुर इजमको घर जलेर नष्ट भएको स्थानीय दिनेश अधिकारीले बताउनुभयो।

आगलागी हुँदा घरमा रहेका सामग्री निकाल्न नपाएकाले पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दिउँसो २ बजे सुरू भएको आगलागी चार घण्टापछि प्रहरी र स्थानीबासीको सहयोगमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट अलैंची, चिराइतोलगायतका बहुमूल्य सामग्री जलेर नष्ट हुनुका साथै घरपालुवा जनावर पनि मरेको प्रहरीले जनाएको छ।

आगो लाग्नुको कारण भने खुल्न नसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Popularity: 7%

Add comment February 27th, 2011

लिवियाबाट ६२ जना नेपाली कामदार नेपाल आइपुगे

एचकेनेपाल डट कम संवाददाता-
लिवियामा चर्केको सरकारविरोधी आन्दोलनको जोखिमबाट उद्धार गरिएका ६२ जना नेपाली कामदारहरू शनिवार दिउंसो नेपाल आइपुगेका छन्।

लिवियाबाट बुधवार उद्धार गरी इजिप्ट पुर्र्याइएका ५६२ जनामध्ये ६२ जनालाई इजिप्टस्थित नेपाली दूतावासले नेपाल पठाइएको हो।

बाँकी कामदारहरूलाई समेत आइतवारसम्म नेपाल पठाइसक्ने तयारी गरिरहेको छ।

लिवियाको सरकारविरोधी आन्दोलनमा ३०० देखि २ हजार प्रदर्शनकारी मारिएको अनुमान गरिएपनि सही तथ्याङ्क सार्वजनिक हुन सकेको छैन। त्यहाँको स्थिति जटिल बन्दै गएपछि जोखिममा परेका नेपाली कामदारहरूको उद्घार नेपाल सरकारको पहलमा भैरहेको छ। उद्धार गरेर नेपाल पठाउन सरकारले ३० हजार अमेरिकी डलर दूतावासमा पठाइएको छ।

नेपाली कामदारको उद्धार गरी नेपाल फर्काउन लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।

वैदेशिक रोजगारका लागि ३ हजार ६४ जना नेपाली लिविया पुगेको आधिकारीक तथ्याङ्क देखिएपनि यसभन्दा बढी नेपाली कामदारहरू लिवियामा कार्यरत रहेको अनुमान गरिएको छ।

Popularity: 7%

Add comment February 26th, 2011

कांग्रेस, एमाले र माओवादीका कारण मुलुकमा गम्भीर समस्या

कन्हैया गुप्ता/ एचकेनेपाल डट कम-
वीरगंज, राष्टिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष पशुपति शम्सेर राणाले आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार कार्यक्रममा तीन ठूला दलकै कारणले देशको सम्पूर्ण प्रशासनिक तथा अर्थतन्त्र लगायतका संरचनालाई तहस नहस गरी मुलुकलाई नै वरबाद बनाएको बताएका छन्।

कार्यक्रममा केन्द्रिय अध्यक्ष राणाले कांग्रेस, एमाले र माओवादीका कारण मुलुकमा गम्भीर समस्या सृजना गर्नुको साथै पछिल्लो सात बुंदे सहमति पश्चात माओवादी र एमालेको कारणले गर्दा अझै एकमाथि अर्को समस्या थपिदै गएकोमा राणाले चिन्ता चिन्ता व्यक्त गरे।

त्यसै गरी राणाले सात बुंदे सहमति गरी आलोपालो प्रधानमन्त्री र माओवादी लडाकुको अलग फोर्स राप्रपालाई मान्य नभएको समेत बताए।

दलहरुमा इमान्दारिता भए जेठ १४ सम्ममा शान्ति प्रकृयाले पनि निश्कर्ष पाउनुका साथै नयाँ संबिधान पनि जारी हुने कुरामा समेत जोड दिए। बैशाखसम्म जनशक्ति पार्टी राप्रपा पार्टीबीच एकीकरण हुने दाबी समेत उनले गरे।

साक्षात्कार कार्यक्रमको अतिथिमा केन्द्रिय सदस्य भुवन पाठक, केन्द्रिय सदस्य बाबुराम पौडेल, केन्द्रिय सदस्य गोखुल प्रसाद कुर्मी र जनशक्ति पार्टी पर्साका जिल्ला अध्यक्ष डा.राम प्रसाद यादब रहनु भएको थियो भने कार्यक्रम क्लवका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्त्वमा सम्पन्न भएको थियो।

Popularity: 7%

1 comment February 26th, 2011

बाबुलाई मार्न हिडेका युवा रिभल्बरसहित पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
झापा, बाबुलाई मार्न हिडेका एञ्जल धिमाल र उज्ज्वल धिमाल दुई युवक रिभल्बरसहित पक्राउ परेका छन्।

बाबुले कान्छी श्रीमति ल्याएपछि आक्रोशित बनेका एञजल बाबुको हत्याका लागि तयारी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। उनीसंगै उनका साथी उज्वलसमेत पक्राउ परेका छन्।

एञ्जलले बुबाले अर्की श्रीमति ल्याएकाले मार्न रिभल्बर बोकेर हिडेको प्रहरीसमक्ष बयान दिएका छन्।

उनी दमक नगरपालिकाका पूर्वमेयर मोहन धिमालका छोरा हुन्।

Popularity: 7%

Add comment February 26th, 2011

राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रका आठ जनालाई नइ पुरस्कार

एचकेनेपाल डट कम संवाददाता-
नइ प्रकाशनले नेपाल राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रका गरी आठ जना महानुभावहरूलाई २०६७ सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले निर्णायक टोलीको सिफारिसका आधारमा सो निर्णय गरेको हो। उक्त बैठकमा पुरस्कार संस्थापक खनूपरुदे ‘रामबाबू’को पनि उपस्थिति थियो।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, नइ प्रकाशनका उपाध्यक्ष प्रा.डा.रामप्रसाद उप्रेती तथा साहित्यकारत्रय जगदीशशमशेर राणा, डा.मोदनाथ प्रश्रित र शान्तिकुमारी राईको निर्णायक टोलीको सिफारिस, सुझाव र रायमा पुरस्कारका निम्ति देशदेशान्तरका प्रतिभाहरुको चयन गरिएको हो।

नइ प्रकाशनले तीन लाख रूपिया राशिको ‘नइ देरुख अन्तराष्ट्रिय पुरस्कार’ वेलायतका प्रा.डा. माइकल हटलाई प्रदान गर्ने भएको छ। उहाँलाई सो पुरस्कार साहित्य र शिक्षासेवामा समर्पित भएबापत प्रदान गरिने भएको हो। यो पुरस्कार विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

यसै गरी, दुईलाख रुपिया राशिको ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’ रुसका कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तराष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिने भएको हो। यो पुरस्कार नेपालीगोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

चित्रकार शशी शाहलाई एक लाख रुपिया राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ प्रदान गरिने भएको छ। उहाँलाई चित्रकलाका क्षेत्रमा समर्पित हुँदै अन्तराष्ट्रिय स्तरको चित्रकला सृजनागरी चित्रकलाका क्षेत्रमा नेपालको गौरव बढाउनमा महत्त्वपूर्ण योगदानका निम्ति सो पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको हो।

त्यसै गरी, नेपाली संस्कृतिलाई वेषभाषा तथा अभिनयका माध्यमबाट जीवन्त राख्न विशिष्ट योगदानका निम्ति चरित्र अभिनेत्री श्रीमती वसुन्धरा भुसाललाई पचास हजार रूपियाँ राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

नेत्रविहीन भएर पनि नेपालको सामाजिक जागरणमा समर्पित हुँदै अपाङगहरुको हित, मर्यादा र अधिकारका लागि रातोदिन समर्पित भएवापत वीरेन्द्रराज पोखरेल तथा नरबहादुर लिम्बुलाई संयुक्त रुपमा पचास हजार रूपियाँ राशिको ‘नइ खरा सुरभि पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ। यो पुरस्कार नेत्रहीन तथा अपाङ्ग प्रतिभाहरुलाई मात्र प्रदान गरिन्छ।

शिक्षासेवामा मन, वचन र कर्मले समर्पित हुँदै जनस्तरमा शिक्षाको जागरण ल्याउनका साथै निम्न आर्थिकस्रोत भएका समूदायलाई समेत शिक्षाको ज्योति प्रदान गर्न जागरुक भएवापत उत्तम सञ्जेललाई पच्चीस हजार रुपिया राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

यसै गरी, पन्ध्र हजार रुपियाँ राशिको ‘नइ खरा पौरख पुरस्कार’ नृत्य र पढाइकी प्रखर प्रतिभा सुश्री अनुजा अग्रवाललाई प्रदान गर्ने निर्णय गरिएको छ।

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार पुरस्कार आगामी वैशाख १५ गते राजधानी काठमाडौंमा प्रदान गरिने भएको छ। नइ प्रकाशनका पच्चीसवटा पुरस्कारहरु क्रमशः बैशाख, कात्तिक र माघ गरी तीन चरणमा प्रदान गरिन्छ।

Popularity: 7%

Add comment February 26th, 2011

घाँटी रेटेर श्रीमतिको हत्या

एचकेनेपाल डट कम संवाददाता-
सुर्खेत, खाना पकाउने विषयमा झगडा परेपछि साटाखानी गाउँ विकास समिति–७ का इन्द्रबहादुर रानाले हँसियाले घाँटी रेटेर श्रीमतिको हत्या गरेका छन्।

शुक्रवार राति श्रीमति ३६ वर्षीया श्रीमती भिमाको हत्यापछि उनी सुब्बाकुना प्रहरीचौकीमा आत्मसमर्पण गर्न गएका थिए। उनी अहिले प्रहरी नियन्त्रणमा छन्।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको बताएको छ।

Popularity: 7%

Add comment February 26th, 2011

तत्काल सरकारमा सामेल नहुने माओवादीको निर्णय

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीले तत्कालका लागि सरकारमा सामेल नहुने निर्णय गरेको छ।

माओवादी स्थायी समितिको शुक्रबार साँझ बसेको बैठकले सातबुंदे सहमतिप्रति एमालेको निर्णय स्पष्ट नभएको भन्दै तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

सरकारमा सहभागी नभएपनि समर्थन भने जारी रहने जनाइएको छ।

Popularity: 7%

2 comments February 25th, 2011

काँग्रेस कार्यकर्ताको गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
सिरहा, अज्ञात समूहको गोली प्रहारबाट विहीवार राति काँग्रेस कार्यकर्ताको मृत्यु भएको छ।

मृत्यु हुनेमा भगवानपुर प्र.ध. ४ का ३८ वर्षीय मोहम्मद आसुव मिया रहेका छन्।

सिरहाको लहानबाट मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा बाटोमा उनीमाथि गोली प्रहार भएको वडा प्रहरी कार्यालय लहानले जनाएको छ। उनको छाती र टाउकोमा दुई गोली लागेको छ।

मियासंगै मोटरसाइकलमा घर फर्कदै गर्दा ६/७ जनाको संख्यामा रहेका हतियारधारी समूहले सागरलाल चौधरीलाई पनि आक्रमण गरेका छन्। आक्रमणबाट चौधरी गम्भीर घाइते भएका छन्।

उनको टाउकोमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। सोही समूहले १ प. २६८७ नंम्बरको चौधरीको मोटरसाइकलसमेत लुटेर लगेको छ। उनको लहान अस्पतालमा उपचार भैरहेको छ भने मियाको शव पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा दिइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।

Popularity: 7%

Add comment February 25th, 2011

हङकङपछि नेपाल थाइल्यान्डसँग पराजित

एचकेनेपाल डट कम संवाददाता-
समूह चरणका सबै खेल जिती एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटको सेमी फाइनलमा पुगेको नेपाल लगातार दोस्रो पटक आज थाइल्यान्डसँग पराजित भएको छ।

हिजो सेमी फाइनलमा हङकङसँग पराजित भएको नेपाल आज तेस्रो स्थानको लागि भएको खेलमा थाइल्यान्डसित १३ रनले पराजित भएको हो।

थाइल्यान्डलाई १७.५ ओभरमा ७६ रनमा अल आउट गरेको नेपाल ६३ रनमा अल आउट हुन पुग्यो। आजको खेल व्यक्तिगत रुपमा करुणा भण्डारीलाई फाइदा भयो। उनले प्रतियोगिताको पहिलो ह्याट्रिक गरिन्। उनले कूल पाँच विकेट लिइन्।

Popularity: 7%

Add comment February 25th, 2011

गृह प्रधानमन्त्रीले राख्ने प्रस्ताव माओवादीद्वारा अस्वीकार

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालको गृह प्रधानमन्त्रीले नै राख्ने प्रस्तावलाई एकीकृत नेकपा माओवादीले अस्वीकार गरेको छ।

एमाले र माओवादीका नेताहरूवीच शुक्रवार सिंहदरवारमा भएको छलफलमा खनालले तत्कालको लागि गृह प्रधानमन्त्रीले राख्ने प्रस्ताव माओवादीसंग राखेको थियो।

लडाकु समायोजन तथा पुनःस्थापना प्रक्रिया पूरा नहुंदै सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिंदा अन्य पक्ष नमान्ने तर्क प्रधानमन्त्री खनालले राखेका थिए।

माओवादीले प्रधानमन्त्री खनालको प्रस्ताव अस्वीकार गर्दै सातबुँदे सहमति कार्यान्वयन हुनु पर्ने आग्रह गरेको छ। सात बुँदेमा गृह, रक्षालगायतका महत्वपूर्ण मन्त्रालयको सम्मानजनक र उतित बाँडफाँड गर्ने उल्लेख रहेको बताउंदै सहमति अनुसार माओवादीले गृहमन्त्रालय पाउनु पर्ने अडान दोहोराएको छ।

छलफलपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा कुराकानी सकारात्मक हुन नसकेको बताए। गृहमन्त्रालय आफूसंगै राख्ने एमालेको व्यवहारप्रति माओवादी सशंकित बनेको छ, उनले भने। एमालेसंग कुरा नमिलेपछि माओवादीले सरकारमा सहभागी नहुने निर्णय गर्न सक्ने सम्भावना रहेको उपाध्यक्ष श्रेष्ठले बताए।

Popularity: 7%

2 comments February 25th, 2011

जनजाति महासंघ टोकियोको महाधिवेसन मार्च २७ मा

एचकेनेपाल डट कम संवाददाता-
टोकियो, नेपाल आदिवासी जनजाती महासंघ टोकियोले आगामी मार्च २७ तारिखको दिन टोकियोको तोगोसी गिन्जास्थित नेपाल जापान संस्कृतिक प्रतिष्ठानमा आफ्नो तेस्रो महाधिवेशन हुने भएको छ। महासंघका संस्थापक अध्यक्ष तथा जनसम्पर्क संयोजक ङावाङ सोनाम शेर्पाले बिज्ञप्तिमार्फत सो जानकारी गराएका हुन्।

अधिबेशनलाई सरल र सहज बनाउन अध्यक्ष धुर्ब भट्टाचनको संयोजकत्व संघिय परिषद र प्रत्येक जातिय संस्थाका प्रतिनिधि रहने गरी महाधिवेसन आयोजक समिती गठन गरेका गर्नुका साथै निवर्तमान अध्यक्ष तथा महासंघका सल्लाहकार ओम गुरुङको संयोजकत्वमा निर्वाचन समितिको गठन गरिएको छ।

उक्त अधिवेशनमा सहभागी भइ कार्यक्रमको शोभा वढाइदिनुहुनका लागि जापानस्थित सम्पूर्ण संघ संस्थाका पदाधिकारी, सदस्य तथा जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई महासंघको तर्फबाट अध्यक्ष धुर्ब भट्टाचनले हार्दिक अनुरोध गरेका छन्।

स्थानः नेपाल जापान संस्कृतिक प्रतिष्ठान तोगोसीगिञ्जा टोकियो
मिति: मार्च २७, २०११ आइतबार
समयः बिहान ९ बजेदेखि १२ बजेसम्म महाधिवेशनको बन्दसत्र,
दिउसो १ बजेदेखि ५ बजेसम्म साधारण सभा तथा साँस्कृतिक कार्यक्रम

Popularity: 7%

Add comment February 25th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2011
M T W T F S S
« Jan   Mar »
 123456
78910111213
14151617181920
21222324252627
28  

Posts by Month

Posts by Category

More news....