रेम विक, पोखरा/ एचकेनेपाल डट कम-
पोखरामा रहेर उद्यमशिलता विकासको क्षेत्रमा काम गरिरहेका एक युवा विश्वकै युवाहरुको निम्ति प्रेरणादायक ठहरिन पुगेका छन्।
जर्मनीको बर्लिनबाट प्रकाशन हुने युथलिडर म्यागेजिनको पछिल्लो संस्करणमा पोखरेली समुन्द्र पौडेल र उनको संस्था अल्टरनेटिभ्सको काम र कथा आलेखको रुपमा प्रकाशित गर्दै उनको युवा उद्यमशिलता विकासका कार्यलाई सिर्जनशील एवं परिवर्तनकारीको संज्ञा दिदै विश्वभरिकै युवाको लागि प्रेरणादायक रहेको जनाएको हो।
विश्वभरिकै नौलो एवं सिर्जनशील कार्य गर्ने अगुवा युवाहरुको गतिबिधि प्रकाशन गर्ने उक्त प्रतिष्ठित म्यागेजिनको पछिल्लो एशियाली संस्करणमा नेपालबाटै पहिलो पटक छनोट भई यी पोखरेली युवाको फरक ढङ्गको उदाहरणिय कामलाई प्राथमिकताका साथ प्रकाशित गरेको हो।
अमेरिकी पत्रकार लिदिया भालदेजद्वारा लेखिएको आलेखमा संस्थाका संस्थापक एवं अध्यक्ष पौडेलको कार्यलाई उदाहरणीय बताउदै भनेकी छन्, यसरी नै काम गर्दै गए यी युवा आफ्नो सोचले देशलाई नै परिवर्तन गर्ने सामर्थ्य राख्छन्। उनले पत्रिकामा लेखेकी छन् -”एउटा सानो तरङ्गले ठूलो छाल ल्याउँछ, अल्टरनेटिभ्सको जस्तै काम/झट्कानै परिवर्तनको संवाहक बन्न सक्छ।”
कास्कीको भलाममा जन्मेका एवं पोखरा विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नाकोत्तर गरेका अठ्ठाईस बर्षीय यी युवाले नेतृत्व गरेको अल्टरनेटिभ्सले स्थापनादेखि नै पोखरा र यसको सेरोफेरोमा युवा उद्यमशिलता विकासको निम्ति विविध कार्य गरिरहेको छ। आलेख अनुसार सन् २००६ मा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसको विद्यार्थीहरुको सँस्था म्यानेजिङ हायाड्सका संस्थापक अध्यक्ष समुन्द्र पौडेल र युवा फोरम नेपालका संस्थापक अध्यक्ष जीवन बरालले संयुक्त रुपमा संस्थाको स्थापना गरेका थिए।
संस्थाले यस अघि नै अन्तर्राष्ट्रिय रुपमा युवाको क्षेत्रमा सिर्जनशिल काम गरेवापत अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले स्थापना गरेको क्लिन्टन ग्लोबल इनिसियटिभ अवार्ड २००९ एवं वर्ल्ड युथ समिट अवार्ड २००९/१० समेत प्राप्त गरिसकेको छ।
अल्टरनेटिभ्सले व्यवसाय सिर्जना एंव व्यवसाय प्रबद्धन, विभिन्न क्षेत्रका युवा, महिला, विद्यार्थीलाई उद्यमशिलता तालिम, ग्रामिण उद्यमशिलता विकास केन्द्र, कथा उद्यमीको, उद्यम शिक्षा अभियान लगायतका विभिन्न काम गरिरहेको छ। मोफसलमा रहेर युवा उद्यमशिलता विकासको क्षेत्रमा काम गरिरहेको संस्थाले नेपालमै पहिलोपटक पोखराबाटै सप्ताहव्यापी रुपमै सन् २००८ बाट विश्व उद्यमशिलता सप्ताह मनाउनसमेत शुरु गरेको थियो।
युथलिडर म्यागेजिनमा आलेखको साथमै प्रकाशित अन्तवार्तामा अल्टरनेटिभ्सका संस्थापक एंव अध्यक्ष समुन्द्र पौडेलले द्धन्द, गरिबी र बेरोजगारीको अन्तको निम्ति उद्यमशिलता विकासनै एक मात्र विकल्पको रुपमा जोड दिदै भनेका छन्-हाम्रो सोच अनुसार कार्य हुने र देशमै उद्यमशिलता एवं स्वरोजगारको लहर सिर्जना गर्न सके, नेपालमा बेरोजगारी निमिट्यान्न पार्न सकिन्छ।
शुरुमा युथलिडर म्यागेजिनको निम्ति अमेरिकी पत्रकारले आलेख एवं अन्तर्वार्ताको लागि सम्पर्क गर्दा पत्यार नलागेको बताउदै संस्थाका संस्थापक एंव अध्यक्ष समुन्द्र पौडेलले भने, फरक ढङ्गले काम गर्दै गयो भने समाजमा त्यस प्रकारका काम र व्यक्तिको खोजी पनि हुने साथै उदाहरणिय एवं प्रेरणाको श्रोत पनि बन्न सकिने रहेछ।
पोखरा न्यूरोडस्थित अल्टरनेटिभ्सको कार्यालयमा पत्रकारसंग कुरा गर्दै पौडेलले थप योजनाका बारेमा प्रस्ट पार्दै भने, हामी देशव्यापी रुपमै युवाको उद्यमशीलता विकासको लागि काम गर्दै जाने र प्रत्येक नेपाली युवालाई जागिर खोज्ने बेरोजगार भन्दा अवसर सिर्जना गर्ने उद्यमी बनाउने ध्येयको साथ लागेका छौं। उनले थपे, यस आलेखले हामीलाई काम गर्ने थप हौसला दिएको छ।
हाल अल्टरनेटिभ्समा पोखरा विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापन विषयमा स्नातक एंव स्नाकोत्तर गरेका ५ जना युवा प्रत्यक्ष संलग्न छन्।
इन्टरनेटमा आलेखको बढ्दो चर्चा
युथ लिडर म्यागेजिनले पौडेलको र अल्टरनेटिभ्सको काम सिर्जनशील एवं विश्वभरीकै युवाको लागि प्रेरणादायक भनेर प्रकाशित गरेपछि इन्टरनेटमा संस्था र आलेखको चर्चा बढेर गएको संस्थाका कार्यक्रम निर्देशक आशिष हिमालीले जनाएका छन्।
अमेरिकाको हवाई प्यासिफिक विश्वविद्यालयका प्रोफेसर एवं विश्व प्रसिद्घ किताब ‘एडभेर्न्चर्स् अफ जोनाथन गुलिबल’ का लेखक केन स्कोलान्डले फेसबुकमा म्यासेज लेख्दै पौडेलको कामको प्रशंशा गर्दै पौडेललाई स्वतन्त्र उद्यमको अभियानमा सामेल हुन समेत आग्रह गरेका छन्। फेसबुकमै पोखराकी वरिष्ट पर्यटनकर्मी लक्की क्षत्रीले अल्टरनेटिभ्सको कामलाई नौलो एवं प्रशंसनिय बताउदै बधाई दिएकी छन्।
हाल क्यानडामा रहेका पोखरा विश्वविद्यालयका प्राध्यापक सरोज रिजालले आलेखको कमेन्ट गर्दै पौडेल विधार्थीकालबाटै फरक ढङ्गको काम गर्नेगरेको चर्चा गर्दै भनेका छन्, बधाई छ समुन्द्र, मलाई मेरा विधार्थीको कामप्रति गौरब महसुश भईरहेको छ। त्यस्तै अन्नपुर्ण पोष्ट दैनिकका भरत कोइरालाले युथ लिडर म्यागेजिनको अनलाईन संस्करणमै आलेखको कमेन्ट गर्दै अझै अघि बढ्न सल्लाह तथा सुझाव दिएका छन्।
फेसबुक मात्र नभएर टुइटर, अमाडो, चेन्जमेकरलगायत अन्य सामाजिक सञ्जालमार्फत आलेखबारे हजारौंको सख्यामा टुइट, फलो, लाइक भइरहेको साथै म्यासेज र कमेन्ट आइरहेको संस्थाका कार्यक्रम अधिकृत शिव पौडेलले जानकारी दिए।
रघु त्रिपाठी, दक्षिण कोरिया/ एचकेनेपाल डट कम-
प्युठान जिल्ला ओखरकोट गाविस वडा नं. ९ निवासी मृतक खेमबाहदुर घर्तिमगरको पार्थिव शरिरलाई २१ दिनपछि दक्षिण कोरियाको सुवानस्थित दाहात्मक स्थलमा आज दाहसंस्कार गरिएको छ।
श्रीमती २ छोरा र ३ छोरीलाई नेपालमा छोडेर रोजगारीको शिलसिलामा ११ वर्षअगाडि दक्षिण कोरिया आउँनु भएका ४६ वर्षीय घर्तिमगरलाई हृवासाङ्ग सिटीमा बाटो पार गर्ने क्रममा जनवरी २३ मा ट्रकले ठक्कर दिएको थियो।
मृतक घर्तिमगरकी धर्मपत्नी चद्रकला पुनको कोरिया आगमनमा प्रविधिक कारणले हुँन गएको ढिलाई तथा निजले पाउँनु पर्ने क्षतिपूर्तिको आवश्यक प्रकृया मिलाउँने क्रममा दाहसंस्कारमा ढिलाई भएको मृतकका आफन्त चित्र रानाले जानकारी दिनुभयो।
नेपाली दूतावास दक्षिण कोरियाको रोहवरमा सवारी धनी मार्फत २ करोड कोरियन वोन मृतकका आफन्तलाई क्षतिपूर्ति वापत दिएको छ भने उहाँलाई अस्पतालमा राख्दा र दाहसंस्कारमा लागेको आवश्यक खर्च उहाँ कार्यरत कम्पनीले बेहोर्ने जानकारी प्राप्त भएको छ। त्यसै गरी, बिमा कम्पनीबाट पाउँनु पर्ने रकम भने नेपाली दूतावास तथा नेपाल सरकारले आवश्यक कागज पत्र उप्लब्ध गराएपछि मात्र दिने बताइएको छ।
दाहसंस्कार तथा शोक सभामा सहभागी भएका नेपाली समुदायले शोक प्रकट गर्दै केही आर्थिक संकलन समेत गरेर मृतकका आफन्तलाई हस्तान्तरण गरेका थिए। नेपाली सम्पर्क समिति,नेपाल पत्रकार महासंघ, नेको परिवार, नेपाल मगर संघ ,किराँत राई परिवार, तमुधीलगायत नेपाली संघ सस्थाका प्रतिनिधि तथा मृतकका आफन्तजन र साथी भाईहरुको उपस्थिती रहेको थियो।
हुम तमु, पोखरा/ एचकेनेपाल डट कम-
लोक श्रष्टा स्वर्गीय कल्याण शेरचनको सातौं दिनको पुण्य तिथिमा आज पोखराका छ वटा संस्थाले संयुक्त रुपमा थकाली सेवा समितिमा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ।
हिमाली साँस्कृतिक परिवार, थकाली सेवा समिति, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, पोखरा लोक संगीत समूह, भूपू खेलाडी मञ्च कास्की, अमरसिंह नमुना उच्च माविको भूपूविद्यार्थी एशोसियशनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव तीर्थ श्रेष्ठले स्वर्गीय शेरचनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राज्यले श्रष्टाहरुको पहिचान गर्न नसकेको गुनासो गर्नुहुदै संगीत नाट्य प्रतिष्ठानले श्रष्टाको सूचि तयार गर्ने अभियानमा लागेको बताउनु भयो।
श्रद्धाञ्जलि व्यक्त गर्नुहुदै थकाली सेवा समितिका अध्यक्ष अम्वर तुलाचनले थकाली भाषा सँस्कृतिको जगेर्ना गर्न शेरचनले थकाली भाषाको गीत संग्रह निकाल्न सुझाव दिनुभएकोमा समितिले उहाँको स्मृतिमा थकाली भाषाको गीति एल्वम निकाल्ने बताउनु भयो।
यसैगरी, पोखरा लोक संगीत समूह पोखराका अध्यक्ष धनबहादुर गायकले स्वर्गीय शेरचनको प्रोत्साहनबाट आफू कलाकार बनेको बताउनु भयो। शोक मन्तव्य व्यक्त गर्नुहुदै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष गायक पुरुषोत्तम न्यौपानेले स्वर्गीय शेरचनको कृतिको प्रतिष्ठानले संरक्षण गर्ने बताउनु भयो।
हिमाली साँस्कृतिक परिवारको अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा वरिष्ठ चलचित्र, साहित्य, सँस्कृतिकर्मी चेतन कार्की, प्राज्ञ हरिदेवी कोइराला, भूपू खेलाडी मञ्चका अध्यक्ष प्राडा वीरेन्द्रसिह गुरुङ, अमरसिंह उच्च मावि भूपूखेलाडी मञ्च एशोसियसनका बालकृष्ण शर्मा, धर्मराज गुरुङलगायतले शोक मन्तव्य व्यक्त गर्नुहुदै स्वर्गीय कल्याण शेरचनको योगदानको राज्यले उचित कदर नगरेकोमा दुखेसो गर्नुभयो।
विभिन्न संघ संस्थाका प्रतिनिधी, श्रष्टा, कलाकार, सञ्चारकर्मी र स्वर्गीय शेरचनका इष्टमित्रको बृहत उपस्थिती रहेको श्रद्धाञ्जलि सभामा राजनीतिक दलका प्रतिनिधी, स्थानीय निकाय तथा राज्यपक्ष कुनै प्रतिनिधीको सहभागिता थिएन। यसअघि, अन्त्येष्टिमा पनि दलिय प्रतिनिधी र राज्य पक्षको उपस्थिति रहेको थिएन।
धर्मराज अधिकारी, बेलायत/एचकेनेपाल डट कम -
हाईस्ट्रिट ब्याण्ड रारा नेपलीज लाइभ ब्याण्ड कम्पिटीसन २०११ को ब्याण्ड अफ द इयर घोषित भएको छ। बेलायतस्थित नेपाली युवाहरुको ८ वटा ब्याण्डको सहभागिता रहेको सो प्रतिस्पर्धामा ‘हाईस्ट्रिट’ले उपाधि चुमेको हो।
विजयी व्याण्ड ‘हाईस्ट्रिट’ ले एकलाख नगदसहित ट्रफी हात पारेको थियो। आयाम साउण्ड एण्ड भिजनले बर्षेनी आयोजना गर्दै आएको ब्याण्ड कम्पिटीसन यो चौथो पटक हो।
प्रतिस्पर्धामा उत्कृष्ट छान्ने जिम्मा पाएका निर्णायकहरुमा काउन्सिलर धन गुरुङ, क्याप्टेन सेवन्त पुर्जा पुन तथा नेपालबाट आउनुभएका गायक क्रान्ति आले थिए। तीन सदस्यीय निर्णायक मण्डलले प्लमस्टिडस्थित ‘हाईस्ट्रिट’ ब्याण्डलाई सबैभन्दा उत्कृष्ट टहर्याएको हो। रारा नेपलीज लाइभ व्याण्ड कम्पिटीसनमा फस्ट रनर अपको उपाधि ‘प्लग एन प्ले’ ब्याण्डले चुमेको छ।
रारा नेपलीज लाइभ ब्याण्ड कम्पिटीसनको उद्घाटन बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गर्नुभएको थियो। सो अवसरमा वोल्दै डा. चालिसेले यस्ता कार्यक्रमहरुले नेपाली नेपालीबीचको सौहाद्रता बढाउने विश्वास व्यक्त गर्नुभयो। युवाहरुलाई मनोरञ्जन प्रदान गर्न तथा नेपाली कला संस्कृतिको विकासका लागि यस्ता प्रतिस्पर्धा आवश्यक हुने उहांको भनाई थियो।
रारा नेपाली रेष्टुरेण्ट प्रमुख प्रायोजक रहेको सो कार्यक्रममा राजदूत डा. चालीसेले प्रयोजकहरु प्रताप रायमाझी तथा मिसेस रायमाझी, समाजसेवी डा. राघब धिताल, खुशीमान गुरुङ्ग, गोविन्द गुरुङ्ग, नेपाली टिभीका डाइरेक्टर द्धय विजय थापा तथा प्रविन गुरुङ, किशोर सापकोटा, विराज भट्ट, विज्ञान प्रसाई, कृष्ण शाह, लरेन्स मुकेरी, सचिन श्रेष्ठ, समिर राना, बि एफविएस गोर्खा रेडियो, पत्रकार नविन पोखरेल तथा सुशील सिंहलगायत दर्जनौंलाई खादा मालाले सम्मान गर्नुभएको थियो।
सुस्मिता गुरुङ तथा विशाल गुरुङको सञ्चालन रहेको सो प्रतिस्पर्धामा फार्नबरोस्थित कम्बोयथिक्स, कोलचेष्टर स्थित मेटाफेज, नर्थ योर्कसायरस्थित संघर्ष, प्लमस्टिडस्थित हाईस्ट्रिट, इसेक्सस्थित निस्काट्स, वेम्ब्लीस्थित प्लग एन प्ले, केन्टस्थित फुल स्पेक्ट्रम र अल्डरसोटस्थित आस्तु व्याण्डले भाग लिएका थिए।
प्रतिष्पर्धामा प्रदान गरिएका अन्य उपाधिहरु वेष्ट इन्स्ट्रुमेन्टमा अस्तुका रबी थापा, बेष्ट ड्रमरमा हाईस्ट्रिटका आकृत शाह, वेष्ट गितारीष्टमा हाईस्ट्रिटकै अनुप गुरुङ, बेष्ट लिड गितारिष्टमा हाईस्ट्रिटकै सुदीप आले तथा वेष्ट भोकलिष्टमा अस्तुका मनी घलेले प्राप्त गरेका थिए। विजयी ब्याण्ड तथा कलाकारहरुलाई रारा नेपलीज रेष्टुरेण्टका सञ्चालक प्रताप रायमाझीले नगद तथा ट्रफी प्रदान गरेका थिए।
सो अवसरमा भेट्रन्स, हेडेज तथा पेपरेज ब्याण्डले अतिथि ब्याण्डको रुपमा सहभागिता जनाएका थिए। कार्यक्रममा निर्णायकहरु गुरुङ, पुर्जा पुन, आले तथा सञ्चालकहरु सुस्मिता र विशाललाई आयोजकको तर्फबाट टोकन अफ लभ प्रदान गरिएको थियो।
धर्मराज अधिकारी, प्लमस्टिड, लण्डन /एचकेनेपाल डट कम -
गुरुङ समाज प्लमस्टिडले सडक दुर्घटनामा परि घाइते हुनुभएका कृष्ण गुरुङको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ। नेपाली टेलिभिजन बेलायतको सभाहलमा एक विशेष कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो।
तमुधी प्लमस्टेडका अध्यक्ष रि. क्याप्टेन नारायण गुरुङले एक कार्यक्रमकाबीच संकलित २१०५ पाउण्ड गुरुङ परिवारलाई हस्तान्तरण गरेका हुन्। सो रकम संकलन गर्नका लागि नेपाली टेलीभिजनका प्रमुख मोहन गुरुङ तथा गुरुङ समाज प्लमस्टिडका अगुवाहरुले अग्रणी भूमिका निर्वाह गरेका थिए।
गतसाल डिपेण्डेन्ट भिषामा बेलायत आएका कृष्ण गुरुङ साउथ इष्ट लण्डनस्थित चार्ल्टनमा भएको दुर्घटनामा घाइते भएका हुन्। गत डिसेम्बर १ मा साइकलमा यात्रारत उनलाई कारले ठक्कर दिंदा उनी अचेत अवस्थामा थिए। घाइते गुरुङको बेलायतस्थित हृवाइटच्यापल अस्पतालमा उपचार भइरहेको छ। उनी अहिलेसम्म पनि अचेत अवस्थामा उपचार गराइरहेका छन्।
बारपाक गोर्खाका गुरुङका आमा शुकमाया गुरुङ तथा बुबा मंगलबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो। नेपाली समाजका श्याम शेरचनले गुरुङ परिवारलाई कानुनी प्रकृया तथा बिमा लगायतका विषयमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए। सो अवसरमा ५ सदस्यीय कृष्ण गुरुङ सहयोगार्थ चन्दा संकलन समितिसमेत गठन गरिएको छ। उक्त समितिमा हरी गुरुङ, खड्ग गुरुङ, योगेश गुरुङ, गंगाराम गुरुङ तथा हिरा गुरुङ रहेका छन्। घाइते गुरुङका परीवारलाई समितिमार्फत सहयोग गर्न प्लमस्टेड गुरुङ समाजले अनुरोधसमेत गरेको छ।
प्लमस्टेड गुरुङ समाजको संयोजकत्वमा भएको रकम संकलन कार्यक्रमलाई डांडा गाउंले समाज तथा शिख कम्युनीटिका शुकविन्दर सिंहले समेत सहयोग गरेका थिए।
यसअघि घाइते कृष्ण गुरुङको परिवारलाई एनआरएन युके पनि आर्थिक सहयोग गरेको थियो।
सागर राज तिमिल्सिना, पोखरा/ एचकेनेपाल डट कम-
हातमा कलश। विभिन्न पहिरंगमा सजिदैं महिला कलश लिएर लामबद्ध। कलशमा सेती नदीको जल लिएर महिलाहरु पैदल यात्रा गर्दै सिद्धबराह मन्दिर ठूलाखेत पुगे। कलश यात्रा आइपुगेपछि ठूलाखेतस्थित माथुमको सिद्धवराह मन्दिरमा आइतबारदेखि महायज्ञ शुरु गरियो।
एकसय आठ कलश लिएर महिलाहरुले पोखराबाट कलश यात्रा शुरु गरेका थिए। एकमहिने श्रीस्वास्थानी ब्रतकथा प्रारम्भ भइरहेको छ । एकसातापछि टुंगिदैं छ । सिद्धबराह धार्मिक संरक्षण संवर्द्धन समितिद्वारा आयोजित सिद्धबराह धनधाञ्चल सप्ताह ज्ञान महायज्ञ भने ८ गतेसम्म सञ्चालन हुने छ।
महायज्ञको प्रचार प्रसारका लागि अघिल्लो दिन पोखरमा मोटरसाइकल र्याली निकालिएको थियो। महायज्ञमा श्रीमद् भागवत, महापुराण, वेद परायण, रुद्राविषेक तथा तुला दान, भुमिदान, अन्नदान लगाएका अनुष्ठानहरु गरिने छ। भदौरे, चापाकोट र कास्कीकोटको साँधमा पर्ने माथुम मन्दिर छ।
महायज्ञबाट माथुममा रहेको सिद्धवराह मन्दिरको पुननिर्माण, सँस्कृत पाठशाला स्थापना, धार्मिक पर्यटकीय क्षेत्रको विकास र मन्दिर वरपर विभिन्न भौतिक संरचना निर्माण गर्ने उद्देश्य राखिएको महायज्ञ आयोजक समितिका महासचिब गंगाधर तिमिल्सिनाले बताउनुभयो। महायज्ञबाट करिब २ करोड उठाउने लक्ष्य छ।
महायज्ञ सम्पन्न गर्न स्वामी निषेषानन्दको अध्यक्षतामा १ सय ११ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। माथुममा अहिले रहेका मन्दिर, कुटी, घरहरु, गौशाला सबै जिर्ण अवस्थामा रहेका छन् । महायज्ञ पछि मन्दिर, कुटी, घरहरु, गौशाला सबैको पुनर्निमाण गरिने समितिले जनाएको छ । महायज्ञमा भागवत् परिकर ब्र्हृमचारी नारायण प्रसादले विभिन्न भजन, किर्तन सहितको श्रीमद् भागवत कथा प्रवचन हुनेछ।
एचकेनेपाल डट कम संवाददाता-
कञ्चनपुरको सीमा जोडिएको भारतको उत्तराञ्चलको उद्यमसिनगरमा हत्या गरी गहुँखेतमा फालिएका दुई शव नेपाली नागरिकको हुनसक्ने भारतीय प्रहरीले आशङ्का गरेको छ।
भारतीय उक्त क्षेत्रको रेल्वेस्टेसन नजिकको हनुमान गढीमार्गको रेलपट्टी नजिकको गहुँखेतमा शुक्रबार उक्त शव फेला परेको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार अन्दाजी ३५ र ५५ वर्षको देखिने दुवै शवको घाँटीमा डोरीले कसेर हत्या गरिएको छ।
भारतीय वरिष्ठ प्रहरी अधिरक्षक अभय रौतेलाले भारतीय सञ्चार माध्यमलाई दुवै शव नेपालीको भएको र हालसम्म सनाखत हुन नसकेको बताएका छन्।
जिल्ला प्रहरी कार्याल्य कञ्चनपुरले यसबारे अनभिज्ञता प्रकट गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) स्थायी कमिटी सदस्य केपी ओलीले गृह मन्त्रालय एकीकृत माओवादीलाई कुनै पनि हालतमा दिन नसकिने बताउनुभएको छ।
नेकपा (एमाले) रुपन्देही काठमाडौँ सम्पर्क मञ्चको आठौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उहाँले वाइसीएलका कमान्डरलाई सुरक्षा निकायको जिम्मा दिँदा अराजककता बढ्ने भएकाले गृह मन्त्रालय दिन नसकिने स्पष्ट पार्नुभयो।
पार्टीको स्थायी कमिटी बैठकले एमाओवादीलाई गृह मन्त्रालय नदिन र गृहमन्त्री विष्णु पौडेललाई दिने विषयमा समेत निर्णय भइसकेको समेत उहाँले जानकारी दिनुभयो।
‘एमाओवादीको व्यवहार, उद्देश्य सच्चिनु पर्नेमा जोड दिंदै उहाँले अझै पनि एमाओवादी जनताको सम्पत्ति कब्जा गर्न छाडेको छैन, यस्तो अराजकता शैली बोकेको माओवादीलाई कसरी गृह मन्त्रालयको जिम्मेवारी दिन सकिन्छ? भनी प्रश्न गर्नुभयो।’
नेता ओलीले विद्रोह गरिरहेको लडाकू र हतियार पुनःस्थापन एवम् समायोजन नभएसम्म एमाओवादीले गृह मन्त्रालय पाउने आशा नगर्न पनि आग्रह गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले सरकारले केही दिनभित्र नै पूर्णता पाउने बताउनुभएको छ।
“हाम्रा (दलहरू) बीचमा वार्ता र संवादहरू जारी छन्, चाँडै नै सरकारले पूर्णता पाउनेछ र शान्ति र संविधानको अर्जुनदृष्टि लिएर मेरो सरकार अघि बढ्नेछ,” नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री खनालले भन्नुभयो।
उहाँले नेपालीहरू अप्ठयारासँग जुध्न पारङ्गत भएकाले अहिले सरकार गठनलगायत मुलुकसामु रहेका चुनौति समाधान गरेर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो।
“गाह्रा अप्ठ्याराका तालुमा टेकेर यो देशलाई सुनौलो भविष्यतर्फ लैजाने सङ्कल्प मेरो छ, यसमा म दृढ छु,” प्रधानमन्त्री खनालले भन्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान २०६३ को धारा ४० बमोजिम नियुक्त उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अर्थमन्त्रालयको कार्यभार तोक्नुभएको छ।
यसअघि उनले बिना विभागीय उपप्रधानमन्त्रीका रुपमा शपथ लिएका थिए।