अंगालो यो मायाँको प्रिमियर शो
एचकेनेपाल डट कम संवाददाता, मार्च ३१-
बहुप्रतिक्षित नेपाली चलचित्र ‘अंगालो यो मायाँको’ प्रिमियर शो सिक्किमको ग्यान्टोकमा सम्पन्न भएको छ।
नेपाली फिल्मको इतिहासमा पहिलो सिलिकोन टुके एचडीको रेकर्ड बनाएको यस चलचित्र सिक्किमको सानो हिमाली राज्यमा निर्माण भएको हो।
चलचित्रमा इंडियन आइडल ३ प्रशान्त तामाङ, सिक्किमका होनहार अभिनेता महेन्द्र गुरूङ, नेपालकी अभिनेत्री हर्षिका श्रेष्ठ, कुर्सियांगकी प्रतिभाशाली अभिनेत्री विजयता बराइली, नेपालका अनुभवी कलाकारहरू चुनिलाल घिमिरे, महेन्द्र बजगाइ, अभिनेता प्रेम सुब्बाका प्रमुख भूमिका रहेका छन्।
‘अंगालो यो मायाँको’ पहिलो प्रदर्शनीको अवसरमा सिक्किमका मुख्यमन्त्री डा. पवन चामलिङ, बलिउड अभिनेता तथा झलक दिख्ला जा सिजन ३ का विजेता मायाङ चाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
चलचित्र बजार व्यवस्थापन प्रमुख सुरेश के. लामाका अनुसार सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा निर्मित यस चलचित्र स्व. मायादेवी राईको नेपाली सामाजिक कथामा आधारित छ। चलचित्रमा पटकथा र निर्देशन विनोद सेरेङ, सम्पादन विपिन मल्ल, संगीत ईजक क्षेत्री, छायाँकार युवराज राई, द्वन्द रत्न र नृत्य निर्देशन गोविन राईको रहेको छ। त्यसैगरी, गायक गायिकाहरूमा गीता शर्मा, जर्ज सुमन पेगा, सागर बल र सुक्मित रहेका छन्।
यस चलचित्रलाई वेब अफिसियल मिडिया पार्टनरका रूपमा एचकेनेपाल डट कमले सघाएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले आफूले गलत प्रवृतिको कुरा उठाउँदा पार्टी फुटाउने हल्ला चलाएर बदनाम गर्न खोजिएको भन्दै त्यसतर्फ सचेत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
दोलखा सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले भन्नुभयो – माओवादी पार्टीभित्र आन्तरिक जनवादको उच्च अभ्यास भइरहेपनि त्यसले पार्टी फुट्दैन।
शान्ति र संविधान निर्माण प्रक्रियालाई बिथोलेर नेपाललाई द्वन्दतर्फ फर्काउने षड्यन्त्र भइरहेको भन्दै उपाध्यक्ष डा भट्टराईले जेठ १४ भित्र शान्ति प्रक्रिया पूरा भएर नयाँ संविधान जारी नभए मुलुक अर्को दुर्घटनामा फस्ने चेतावनी दिनुभयो।
मुलुक अहिले अत्यन्त जटिल मोडमा रहेको चर्चा गर्दै उपाध्यक्ष डा भट्टराईले दलहरू कुर्सी तानातानमै व्यस्त रहे अबको दुई महिनामा संविधान निर्माण हुन नसक्ने र मुलुक प्रतिगमनमा फस्न सक्दछ भन्नुभयो।
सत्तामा बसेर शान्ति र संविधान निर्माण गर्न नसक्ने दलहरूलाई सरकारमा बसिरहने अधिकार नभएको टिप्पणी गर्दै उपाध्यक्ष भट्टराईले संविधान नबनेसम्म संविधानसभा तुहिन नहुनेमा जोडसमेत दिनुभयो।
उहाँले मुलुकमा पुनः द्वन्द भए वैदेशिक हस्तक्षेप बढ्ने र नेपाल पनि अफगानिस्तान बन्ने खतरा रहेको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अवकाश प्राप्त प्रमुख आयुक्त ललितबहादुर लिम्बु र आयुक्त वेदप्रकाश सिवाकोटीलाई कारबाहीका लागि निर्देशात्मक आदेश जारी गर्नुभएको छ।
लिम्बु र शिवाकोटीले पदमा रहँदा सरकारको नाममा रहेको काठमाडौँ महानगरपालिका–१० बुद्धमार्गको दुई रोपनी तीन आना जग्गा कान्छी तण्डुकार (व्यक्तिका नाममा) नामसारी गर्न भूमिसुधार मन्त्रालयलाई आदेश दिएको भनी उहाँहरूविरुद्ध परेको रिट परेको थियो।
सरकारका नाममा रहेको सो जग्गा २०६६ साल पुस १७ गते व्यक्तिका नाममा नामसारी गर्न लिम्बु र शिवाकोटीले आदेश दिनुभएको थियो।
प्रधानन्यायाधीश श्रेष्ठले आज सो कार्य अख्तियारको दुरूपयोग भएको भन्दै निजहरूलाई आवश्यक कारबाही गर्न आदेश दिनुभएको हो।
सो आदेश प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संविधानसभा राज्यव्यवस्था समिति, स्वयम् अख्तियार दुरूपयोग अनुसन्धान आयोग र फैसला कार्यान्वयन समितिसमेतलाई उचित कारबाही गर्न आदेश दिनुभएको हो।
मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत प्रेमबहादुर खापुङले दायर गर्नुभएको सो रिटमा सो जग्गा २०५९ जेठ १० गते सर्वोच्च अदालतले गरेको फैसलामा सरकारका नाममा रहेको उल्लेख थियो।
एचकेनेपाल डट कम संवाददाता-
अर्थ सचिव रामेश्वर खनाललाई सम्मानजनकरूपले आफ्नो काममा फर्कने वातावरण बनाउनका लागि नेपाल निजामति कर्मचारी युनियनले सरकारसँग माग गरेको छ।
युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा कानुनविपरित जुनसुकै राष्ट्रसेवक कर्मचारीमाथि हुने ज्यादतीविरुद्ध पेशागत मूल्य र मान्यताको संरक्षणका लागि कर्मचारी युनियन पछि नपर्ने जानकारी दिइएको छ।
कार्यक्रममा युनियनका अध्यक्ष सुवोधकुमार देवकोटाले अर्थ सचिव रामेश्वर खनाल माथि ज्यादती भएमा राष्ट्रसेवक कर्मचारी चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो।
त्यस्तै युनियनका पूर्वअध्यक्ष भवानीप्रसाद थानीले विकृति र विसङ्गतिलाई निर्मूल गरी स्वच्छ र पारदर्शी प्रशासन यन्त्र स्थापनामा जोड दिनु मुलुकको वर्तमान चुनौती हो भन्नुभयो।
युनियनले भ्रष्टाचार, आर्थिक अनियमितता, राजश्व छलिजस्ता जघन्य अपराध गर्ने व्यक्ति वा संस्थालाई राज्यले कडा कारवाही गर्नुपर्नेमा उल्टै राष्ट्रसेवकमाथि अन्यायपूर्ण व्यवहार हुनु राम्रो नहुने जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
हात्तीपाइले रोग विरुद्धको औषधि सेवनपछि बाँकेमा थप एक जनाको मृत्यु भएको छ। यो सँगै जिल्लामा मृत्यु हुनेको सङख्या दुई पुगेको छ। शम्शेरगञ्ज—५ का ८० वर्षीय तिलकु थारुको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
हिजो मात्र नेपालगञ्ज—१० का पाँच वर्षीय सम्मन बेहनाको मृत्यु भएको थियो। औषधि खाए लगत्तै वाक्वाकी, झाडापखाला, बान्ता आउने जस्ता समस्या देखापरेको बताइन्छ।
औषधि खाएर बिरामी भएकाहरूको भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज र स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ।
बिरामी पर्नेहरूको चाप बढ्दै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले अनुसन्धान थालेको जनाएको छ।
बिरामी, गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई औषधि नखुवाइने भनिएपनि हचुवाको भरमा स्वास्थ्यकर्मीले औषधि खुवाएको भन्दै सर्वसाधारण आक्रोसित भएका छन्।
मञ्जु थापा / एचकेनेपाल डट कम-
सउल, कोरियामा विभिन्न पेशामा रहदै आएका स्याङजा जिल्लाका प्रवासी नेपालीहरुले कोरियामै बसेर पनि आफ्नो देश नेपाल र आफ्नो समाजमा केही गर्न सक्छौं भन्ने स्याङजा परिवार दक्षिण कोरिया राम्रो उदाहरण बन्न सफल भएको छ।
राम्रो कामको लागि हामी सबै एकजुट भएर सानो रकमले पनि ठूला काम गर्न सक्छौं भन्ने अध्यक्ष इश्वर गुरुङ विश्वास गर्नु हुन्छ। कोरियामा बेला बेलामा विभिन्न कार्यक्रम गदै आएको र पछिल्लो समयमा स्याङजा परिवार दक्षिण कोरियाले आँधीखोला दशै रनिङ्ग कप प्रतियोगिता संचालन गरेको थियो। उक्त प्रतियोगिताबाट संकलन भएको रकम जिल्लाबासीहरुको सहयोगमा वालिङ्ग नगरपालिकास्थित सामुदायिक अस्पतालमा अल्टा साउण्ड मेशिन खरीद गर्नको लागि ३ लाख १६ हजार सहयोग गरेको छ। उक्त निर्णय गत हप्ता बसेको बैठकबाट पारित भएको अध्यक्ष इश्वर गुरुङ्गले जानकारी दिनु भयो।
त्यसैगरी, भेलाले मनकामना गाविसको दलित बस्तिमा ठूलो आगोलागी हुंदा अग्नि पीडितहरुको लागि रकम संकलन गर्न आगामी जुलाइ ३१ मा आँधीखोला सांगीतिक सौगात भाग-३ प्रस्तुत गर्ने निर्णय पनि गरेको छ। भेलामा कोरियाको एसविएस टिभिबाट प्रसारित कार्यक्रममा वेस्ट कुकको उपाधि जित्नु भएका सहसचिव पिताम्बर भण्डारीलाई बधाइ तथा सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन सचिव आनन्द गैरेले गर्नु भएको थियो भने उपाध्यक्ष मिलन रानाले स्वागत मन्तब्य दिनु भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
बेलायत, ग्रेटर रेडिङ्ग नेपाली समाजको हालै भएको साधारण सभाले महेश गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयां कार्य समितिको चयन गरेको छ।
साउथ रेडिङ्गको लिजर सेन्टरमा भएको साधारण सभाको उद्धाटन समारोहका प्रमुख आतिथ्य एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङले पानसमा दियो वालि गर्नु भएको थियो। तीन चरणमा विभाजन गरिएको उक्त समारोहमा प्रथम चरणको उद्धाटन कार्यक्रम रहेको थियो। उपस्थित आमन्त्रित व्यक्तिहरुको स्वागत सस्थाका पूर्व उपाध्यक्ष कृष्ण न्यौपानेले गर्नु भएको थियो।
प्रमुख अतिथि सूर्य गुरुङले आफ्नो मन्तव्यको क्रममा रेडिङ्ग नेपाली समाजले आफूलाई आमन्त्रण गरिएकोमा धन्यवाद दिदै साधारण सभाको सफलताको कामना गर्नु भएको थियो। रेडिङ्ग नेपाली समाजले पुर्र्याएको योगदानको प्रशंसा गर्दै समाजसंग सहकार्य गर्ने इच्छा व्यक्ति गर्नु भयो। एनआरएनले नेपाल हाउसको परिकल्पना गरिरहेको कुरा उल्लेख गर्दै रेडिङ्ग नेपाली समाज जस्तै संस्थाको सहयोगमा मात्रै उक्त योजना सफल हुने भएकोले सवै नेपाली संस्थाहरु एक जुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो। सोही अवसरमा उहांले बेलायत सरकारले गर्न लागेको राष्ट्रिय जनगणनाको फारम किन भर्नु पर्छ भन्ने कुरामाथि पनि प्रकाश पार्नु भएको थियो। समारोहमा उपस्थित अन्य आमन्त्रित अतिथि अश्निनी गुप्ताले पनि नेपाली समाजको साधारण सभाको सफलताको कामना गरेका थिए।
दोस्रो चरणको साधारण सभाको कार्यक्रम रेडिङ्ग नेपाली समाजका अध्यक्ष महेश गुरुङको अध्यक्षतामा भएको थियो। वन्द सत्रमा उपस्थित सदस्यहरुको स्वागत मन्तव्य व्यक्त गर्दै समाज पूर्व उपाध्यक्ष दिपेश श्रेष्ठले समाजको गतिविधिमाथि प्रकाश पार्नु भएको थियो।
महासचिवको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन कीर्तिविलास पन्तद्वारा प्रस्तुत गरिएको थियो। सो उपर व्यापक रुपमा छलफल भई समाजका सदस्यहरुले आफ्नो राय सुझावसमेत प्रस्तु गरेका थिए।
तेस्रो चरणको कार्यक्रममा निर्वाचन समितिका संयोजक डा.कृष्णराज रेग्मीले समाजका अध्यक्ष पदमा महेश गुरुङ नै पुनः अर्को दुइ वर्षको कार्यकालको लागि निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो। त्यसै गरी चार उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनेहरुमा कीर्तिविलास पन्त, दीपक गुरुङ, रमेश शर्मा वस्तोला तथा ओमेन्द्र गुरुङ हुनुहुन्छ। समाजको महासचिव, सचिव तथा कोषाध्यक्ष पदमा क्रमशः नारद भण्डारी, प्रेमवहादुर गुरुङ तथा भिमसेन खड्डकालाई चयन गरिएको छ। त्यसै गरी संस्थाको सदस्य पदमा नियुक्त हुनेहरूमा शुभाष दाहाल, चन्द्रमान गुरुङ, कमला खड्का,अरुण ढुङ्गेल, महेशहरि आचार्य, किरण न्यौपाने, कुमवहादुर केसी, टीकाराम थापा, राधादेवी भट्टराई, तिलवहादुर गुरुङ, डा. नविन आचार्य, सीता लामिछाने, संजयराज दहाल, शेरजंग शाही, यादव श्रेष्ठ तथा मनवहादुर थापा हुनुहुन्छ।
एचकेनेपाल डट कम संवाददाता-
संयुक्त अरब एमिरेट्स (युएइ) मा घरेलु महिला कामदारका रूपमा कार्यरत दुई नेपाली महिला नेपाली राजदूतावास आबुधाबीको शरणमा पुगेका छन्।
आबुधाबीको अल साहामास्थित एक इमराती नागरिकको घरमा कार्यरत ती नेपाली महिलालाई गत शुक्रबार अरबी मालिकका घरबाट नै उद्धार गरी दूतावास पुर्याइएको नेपाली समाज युएइका केन्द्रीय उपाध्यक्ष भरतराज रानामगरले जानकारी दिनुभयो।
उहाँका अनुसार समाजका केन्द्रीय उपाध्यक्ष तथा समाजका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष सूर्य गिरी र सहयोगी दीपेन्द्र राईको सहयोगमा करिब रातको ९ बजे उद्धार गरी दूतावास भवनमा पुर्याइएको थियो।
झापा र गोरखा घर बताउने दर्जी र गुरुङ थर रहेका ती दुबै महिला एउटै घरमा ‘हाउसमेड’का रूपमा युएइ गएका थिए।
घरमालिकद्वारा शारीरिक तथा मानसिक पीडा दिँदै ससना गल्तीको बहानामा आफूहरूलाई कुटपिट गर्दै डरधम्की दिने गरेको उनीहरूले बताएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) भक्तपुर जिल्ला सङ्गठन समितिका इन्चार्ज भाष्कर प्रधानाङ्गले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ।
माओवादी जिल्ला समितिले समितिको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानाङ्गले आफूलाई त्यस्तो धम्की आएको बताउनुभएको हो।
उहाँले आफूलाई लुम्बिनी अञ्चलको नम्बर प्लेटको मोटरसाइकलमा आएका केही गुण्डाले पेस्तोलसहित घरमै आक्रमणको प्रयास गरेको बताउनुभयो।
आफूलाई मोवाइलबाट समेत ज्यान मार्ने धम्की दिइएको र यसको रेकर्ड आफूसँग रहेको उहाँले बताउनुभयो।
पार्टी केन्द्रीय कार्यालय एवम् राज्य समितिले घटनालाई गम्भीर रूपमा लिएर छानबिन अगाडि बढाएकाले पार्टीको निर्णयलाई आफूले मान्ने उहाँले बताउनुभयो।
पत्रकार सम्मेलनमा वैद्य निकट मानिने माओवादी भक्तपुर जिल्ला सह–इन्चार्ज देवेन्द्र श्रेष्ठ (दिवाकर) र सचिव राजकाजी महर्जनको निर्देशनमा सूर्यविनायकस्थित मजदुर सङ्गठनको कार्यालयमा राजकुमार तिमल्सिना, पवन लामा, देवराज गुरुङलगायतका व्यक्तिहरू आएर कार्यालयमा बसेका कार्यकर्तालाई कुटपिट गर्नुका साथै कार्यालय तोडफोड र महिला कार्यकर्तालाई हातपात गरेको आरोपसमेत उहाँले लगाउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बैठकले अखिल नेपाल ट्रेड युनियन महासङ्घलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
माओवादीको भ्रातृ सङ्गठनका रूपमा रहेको महासङ्घको आधिकारिकतामा विवाद रहँदै आएको थियो।
राष्ट्रिय सम्मेलन आयोजक समिति गठनका लागि मजदुर नेताहरूसँग कुराकानी गरिने बैठकपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– समितिको गठन र सम्मेलन मिति पछि तय गरिने छ।
बैठकले हालै तराईका विभिन्न सहरहरूमा श्रृङ्खलाबद्ध रूपमा भएका बम विस्फोटनको घटनाप्रति भर्त्सना एवम् खेद व्यक्त गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) को तर्फबाट समानुपातिक कोटामा संविधानसभामा सर्लाहीबाट सदस्य रहनुभएकी किरणदेवी यादवले आफ्नो नाममा छोरीलाई एसएलसी परीक्षामा सामेल गराएको भनी केही पत्रपत्रिकामा प्रकाशित समाचारप्रति पार्टीको केन्द्रीय अनुशासन आयोगले गम्भीर भएको जनाएको छ।
सभासद्जस्तो मर्यादित पदमा रहेको व्यक्तिबारे प्रकाशित समाचारको सत्यता के हो यदि यस्तो सामाजिक आचरण र मर्यादा विपरितको कार्य भएको हो भने यो अत्यन्त गम्भीर र दण्डनीय कार्य हो भनी सो आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पत्रपत्रिकामा प्रकाशित समाचारहरूको सत्यताबारे सम्बन्धित व्यक्तिसमेतबाट बुझी यथाशीघ्र यथार्थ जानकारी आयोगमा पठाउन आयोगका अध्यक्ष अमृतकुमार बोहराको तर्फबाट पार्टीका संसदीय दलका प्रमुख सचेतकको नाममा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
बैतडी जिल्लाको दुर्गम भेगमा पर्ने खेती उच्चमावि तल्लादेही परीक्षा केन्द्रमा सहभागी छात्रा ललिता साउदले पहिलो परीक्षा दिएलगत्तै सुत्केरी भएपछि एसएलसी दिनबाट वञ्चित भएकी छिन्।
परीक्षाको पहिलो दिन अङ्गेजी विषयक परीक्षा दिई एक घण्टाको बाटो हिँडेर घर पुगेकी १६ वर्षीया साउदले छोरा जन्माएको उनका आफन्तले बताएका छन्।
श्रीमती सुत्केरी भएपछि उनको सट्टा परीक्षा दिन गएका श्रीमान्लाई सो दिन नमिल्ने भन्दै फर्काइएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
यस वर्षको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ।
प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि उल्लेखनीय योगदान पुर्याएबापत रिपोर्टर्स क्लव नेपालले स्थापना गरेको ताम्रपत्र सहितको एक लाख एक हजार राशिको सो पुरस्कार पहिलोपटक वरिष्ठ पत्रकार विरहीलाई प्रदान गर्न लागिएको हो।
यसैगरी २५ हजार राशिको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार जनादेश साप्ताहिकका सम्पादक मनऋषि धिताललाई, २५ हजार राशिबराबरकै बाबुछिरी फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका फोटो पत्रकार श्रुती श्रेष्ठलाई र वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार विविसी नेपालका सम्वाददाता वृजकुमार यादवलाई प्रदान गरिने क्लवका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो।
पुष्पराज लामिछाने/ एचकेनेपाल डट कम-
दक्षिण कोरिया, नेपाली कथानक चलचित्र देवयानी सउल र आन्सानसहित किमेमा पनि अप्रिल २४ तारिखमा प्रदर्शन हुने भएको छ।
किमे म्यूजियम हलमा दिउँसो १ बजेबाट प्रदर्शन गर्ने भनिएको उक्त चलचित्रलाई प्रबासी नेपाली मानब अधिकार संघ, ख्यम्साङ्नाम्दो छाङ्वान,काभ्रे सम्पर्क समिति तथा योङ स्टार ग्रुपले संयुक्तरुपमा आयोजना गर्न लागेको हो।
काभ्रे सम्पर्क समितिका उपाध्यक्ष मनिक लामाका अनुसार नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्न तथा विदेशमा पनि नेपालीपनको आभाष गराउँन उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए। नेपाली समाजको पितृसत्ताका विरुद्ध नारी विद्रोहको कथामा आधारित यस चलचित्रमा कलाकारहरु निखिल उप्रेती दिलिप रायमाझी तृप्ति नाडकर तथा नयाँ प्रस्तुतिमा विमला केसी देवयानीको भूमिकामा देखिने भएका छन्।
बिजय बस्नेतको लेखन निर्माण तथा निर्देशनमा तयार परिएको यस चलचित्र ९५ लाख कूल लगानीमा तयार भएको निर्देशक बस्नेतले बताएका छन्। टेलिफोन कुराकानीमा चलचित्रको बारेमा छोटो जानकारी दिदै नायक निखिल उप्रेतीले भने २ घन्टा ३० मिनेट समयावधि रहेको देवयानी त्रिकोणात्मक प्रेमको संघर्षबाट अघि बढेको चलचित्र हो। यस चलचित्रमा राष्ट्रियताको भावना जोडदार ढंगले मिसिएको छ। असाध्यै खँदिलो संरचनामा हल्का हाँस्यसहित तयार पारिएको यो चलचित्र नेपाली पराम्परागत मूल धारभन्दा नितान्त भिन्न र सार्थक प्रयासको सफल उदाहरण बनेको जानकारी दिए।
यस चलचित्रबाट कोरियामा रहेका नेपालीहरुले मातृभूमिको तृर्सना मेटाउन सक्ने आयोजक संघ संस्थाहरुको आर्थिक सुदृढीकरणमा सानै भए पनि टेवा पुग्न सक्ने तथा कोरियामा पहिलो पटक प्रिमियर सो हुन लागेको नेपाली चलचित्र हेर्ने अवसर मिल्ने भएकाले यो चलचित्रले ब्यवसायिकरुपमा पनि कोरियाबाट सफलता हासिल गर्ने चलचित्र प्रेमीहरु बताँउछन्।
मञ्जु थापा/ एचकेनेपाल डट कम-
सउल कोरिया, तपाई कल्पना समेत गर्न सक्नु हुन्न मैले पाएको पीडा कुन हद सम्मको थियो भनेर। म प्रमिला श्रेष्ठ, नेपाल घर पूर्व धरान हो। कोरिया आएको एक हप्ता मात्र भयो। इपिएस कृषि भिषामा काम गर्न आएको। कोरिया आउनको लागि २ वर्षअगाडि नै परीक्षा पास गरेको थिएं। तर खै के कारणले हो कोरिया आउन निकै वर्ष कुर्नु पर्यो।
कोरिया जान नाम निस्कियो भनेर वि.ए दोस्रो वर्षको परीक्षा पनि नदिइ बसियो तर समयमा भिषा नै आएन। जिन्दगी नै बर्बाद भयो कोरिया आउने भनेर खुट्टा उचालेको पनि २ वर्ष पुगेपछि बल्ल भिषा आयो।
बल्ल बल्ल कोरिया आएं। तर, कृषिमा काम गर्ने भन्थ्यो त्यसैले गाउं घरतिर गर्न काम जस्तै होला भनेर आएको त यहाँ विहानै ५ बजेबाट त्यो कठाङरिदो जाडोमा सानो सानो साग टिप्दा नै जिन्दगी जाने रहेछ। ढाड दुखेर उभिन पनि सकिराको छैन।
खै के गर्ने साग हो कुन्नि?- हाम्रो धराने डुकु जस्तो राम्रोसंग सप्रिन दिएको छ। न त त्यो साग हाम्रो देश नेपालको जस्तो ठूलो नै छ। म त छक्क परें। विहानबाट मसिना सांग टिपेको टिपै। कति रोपेको होला कहिल्यै नसकिने? प्लाष्टिकका घरहरुभरी रोपेको ३,४ दिनमा नै फेरी उखेल्नु पर्ने। न उठेर साग टिप्नु मिल्ने न बसेर नै काम गर्न एकदमै गाह्रो थियो।
मलाई खाना खाने वितिकै घोप्टो परेर साग टिप्न निकै सारो पर्यो। अनि अर्को कुरा न त्यहाँ बस्ने राम्रो बन्दोबस्त नै थियो न त खानाको व्यवस्था नै। सबै व्यवस्था आफैले गर्नु पर्ने रहेछ। त्यो काम छोडेर आएको तर कहाँ जाने थाहा छैन। त्यसैले यता कता हो मजदुरहरुको ट्रेड यूनियनमा गए भने काम गर्ने ठाउँ साट्न मिल्छ रे त्यसैले यहाँ आएको।
खै न त भाषा बोल्न आउंछ, न त कतै जान सकिन्छ। मलाई त लाटोहरुको देशमा आए जस्तो लाग्यो। कोरिया जति अंग्रेजी जाने पनि काम नलाग्ने ठाउं रहेछ।
धेरै सपनाहरु बुनेर आएको तर पैसा तिरेर दुखको सागरमा पौडिन आए जस्तो लाग्यो। नेपालमा हुंदा कोरियाको एमदमै मिठा कल्पनाहरु गरेको थिएं। तर, यहाँको मानिसहरुले गर्ने व्यवहार कोरिया आएपछि मात्र थाहा भयो। मान्छेलाई पनि जनावर सरह व्यवहार गर्दा रहेछन्। काम गरिरहेको ठाउमै पेटमा हान्न थाल्यो। मैले साहुको कुरा बुझिन होला तर काम गराउने तरिका गलत थियो।
काम वाहेक मानवीय कुनै ब्यवहार नगर्ने यिनिहरुले काम गर्न आएका श्रमिकहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक पाएं। हामीहरु त मानौ खानै नपाएर यिनिहरुकोमा आए जस्तो ब्यवहार गर्दा रहेछन्।
झिलिमिलि देखिन कोरियाको कुनै एउटा दुर्गम क्षेत्रमा काम गर्नु पर्ने रहेछ। न त त्यहाँ कुनै फोनको सुविधा छ, न त भोक लाग्दा किनेर खाने पसल नै। पैसा मात्र भएर के गर्नु भोकै पेट सुत्नु पर्दा घरमा बुढी भएकी आमालाई सम्झेर रुनु बाहेक अरु विकल्प देखिंन। न आफ्नो कुरा काम गराउने साहुले बुझ्छ ? न उसको कुरा मैलै बुझ्छु। ३ दिन भयो रुदै बसेको छु।
(पीडित महिलाको नाम मात्र परिवर्तन गरेको छ। कानुनी उपचारको लागि एम टि यूको कार्यालयमा आएको समयमा गरिएको कुराकानी यहा हुबहु राखिएको हो)
सागर राज तिमिल्सिना / एचकेनेपाल डट कम-
पोखरा, धरानमा जारी १३ औ बुढासुब्वा टुबोर्ग गोल्डकप फुटबल अन्तर्गत मंगलवार भएको क्वाटर फाइनल खेलमा सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै होन्डाइ मनाङ मस्याङ्गदी क्बल सेमिफाइनलमा प्रवेश गरेको छ।
खेल शुरु भएको दुइ मिनेटमा नै शिव श्रेष्ठले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको हो।
सहारा क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ट्राइवेकरमा ३-१ ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो।
आजै भएको अर्को खेलमा नेपाल पुलिस क्बलले हिमालयन शेर्पालाई १-० पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ। पुलिसका लागि एकमात्र गोल ७५ औ मिनेटमा पर्वत पाण्डेले गरेका थिए।
एसबि राना मगर / एचकेनेपाल डट कम-
ओकाजीकी, मध्य जापानको हिगासी ओकाजाकीस्थित माया रेष्टु्रेन्टको हलमा थकाली सेवा समिति टोकाई जापानको आयोजनामा थकाली जातिको महान साँस्कृतिक पर्व तोरन्ल २०६७ कार्यक्रम सम्पन्न भएको छ।
समितिका सचिव योगेन्द्र शेरचनको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपस्थित पाहुनाहरुलाई सहसचिव गोपाल शेरचनले स्वागत गरेको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।
नेपाली आदिवासी जनजाति महासंघ जापानका केन्द्रीय अध्यक्ष केवि मगरले प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य दिदै नेपालमा धर्म निरपेक्षता राज्य घोषणा भईसके पनि व्यबहारतः अझै लागु हुन नसकेको बताउनु भयो। राज्यले सबै जातजातिको भाषा, धर्म र संस्कृतिलाई समान व्यवहार गनुपर्ने कुरामा उहाँले जोड दिनुभएको थियो।
विशेष अतिथि सूर्य तामाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा हालै जापानमा गएको महाभूकम्प र सुनामीका कारण जन धनको ठूलो क्षति भएकोमा दुख व्यक्त गर्दै एक मिनेट मौनधारण गरी अलपत्र परेकाहरुको लागि नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापान र विभिन्न संघ संस्थाहरुको अगुवाईमा सहयोग संकलन सुरु गरेका थिए।
अन्तमा समितिका अध्यक्ष चन्द्र शेरचनले पहिलो चरणको कार्यक्रमको समापन गरी दोस्रो चरणमा प्रवेश गरेको उक्त कार्यक्रम विहानसम्म विविध मनोरन्जनात्मक वातावरणमा सम्पन्न भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
पाल्पा, एसएलसी परीक्षामा कडाई गरेको भन्दै परीक्षार्थीहरूले जिल्ला शिक्षा अधिकारीको गाडीमा तोडफोड गरेका छन्।
तोडफोडका कारण जिल्ला शिक्षा अधिकारी बिष्णुबहादुर द्वारे सवार बा १ झ ६६३६ नम्बर गाडीको अगाडिको सिसा फुटेको छ।
पूर्वी पाल्पाको दर्छा परीक्षा केन्द्र निरीक्षण गरेर फर्कने क्रममा उनको गाडीमाथि तोडफोड भएको हो। सेनीबन जंगलमा कुरेर बसेका परीक्षार्थीहरूले उनको गाडीमाथि आक्रमण गरेको द्वारेले बताए।
एचकेनेपाल डट कम संवाददाता-
विराटनगर उपमहानगरपालिका ट्राफिक चोकस्थित नगर प्रहरी कार्यालयमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
अज्ञात समूहले कार्यालयमा बम राखिएको भेट्टिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
पेट्रोल, केही काँटीहरु र एउटा घडी राखिएको उक्त बम निश्क्रिय पारिएको प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिएका छन्।
बमसंगै जनतान्त्रिक मधेस मुक्ति टाइगर्स नामक भूमिगत संगठनको पर्चा फेला परेको प्रहरीले जनाएको छ।
रूद्र श्रीस मगर/एचकेनेपाल डट कम-
पोखरा,नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पस इकाई समितिको दोश्रो इकाई अधिवेशनले सुरेन्द्र तमुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
महासंघको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः विवेक थापामगर, भाइराज रानामगर, कृष्ण थापामगर र सिर्जना श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। त्यसैगरी, सदस्यहरूमा रोशनी पुनमगर, तुलसी पुर्जामगर, पासाङ घले, बविता तमु, शान्ति तमु, कविता पुनमगर, अमृत रानामगर, लेनिन कुमाल लगायत रहेका छन्।
यसअघि, अधिवेशनको उद्घाटनसत्रमा बोल्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष फरेन्द्र थापामगरले आदिवासी जनजाति समुदायको भाषा, धर्म, लिपि, वेशभूषा र संस्कृतिको संरक्षण र विकासका लागि सम्पूर्ण आदिवासी जनजाति विद्यार्थीहरू एकजुट भएर लाग्नुपर्ने बताए। उनले स्ववियुमा आदिवासी जनजाति विद्यार्थीहरूको समानुपातिक प्रतिनिधित्वका लागि आफूहरू संर्घषरत रहेको उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि पृथ्वीनारायण क्याम्पसका उप-प्राध्यापक डा. मीन पुनमगरले विद्यार्थीहरूले अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। शैक्षिक प्रगतिका लागि सदैव मेहनतको खाँचो रहेको डा. पुनको भनाइ थियो।
कार्यक्रममा महासंघका जिल्ला सचिव विनेश दुरा, निवर्तमान जिल्ला सचिव एवं अनिज कास्कीका सचिव रूद्र श्रीस मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तथ्याङ्क विभाग प्रमुख खम थापा मगर लगायतले बोलेका थिए। निवर्तमान अध्यक्ष गोविन्द सिंजाली मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोशनी तमुले गरेकी थिइन् भने उपाध्यक्ष सुरेन्द्र तमुले स्वागत मन्तव्य राखेका थिए।
चिरन शर्मा/ एचकेनेपाल डट कम-
बेलायत, नेपाली जनसम्पर्क समिति बेलायतले स्वर्गिय गिरिजाप्रसाद कोइराला र स्वर्गिय कृष्णप्रसाद भट्टराईको सम्झनामा श्रद्धाञ्जलि सभाको आयोजना गर्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालीसेले गिरिजाप्रसाद कोइरालाले नेपालको शान्ति प्रकृयामा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहांले कोइराला नेपालका लागि आवश्यक राजनेता भएको बताउनुभयो। सन्त नेता भट्टराईले राजा तथा राणाहरुसंगको लडाईमा आफूलाई सधैं अब्बल राख्नुभएको टिप्पणी गर्नुभयो। नेपालमा छोटो समयमा नै प्रजातान्त्रिक संविधान दिन सफल व्यक्तित्व भट्टराईको अभाव अहिले टड्कारो रहेको बताउनुभयो।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष लोक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सललाहकार विश्व आदर्श पण्डितले गिरीजाप्रसाद कोइराला आंटिलो स्वभावका राजनेता भएको चर्चा गर्नुभयो। उहांले माओवादी जस्तो जंगली पार्टीलाई शहरीया बनाउन कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । निष्ठावान नेता किसुनजी नेपाल र नेपालीका गौरब भएको चर्चा गर्दै यस्ता नेताहरु नेपालका लागि प्रेरणादायी रहेको उललेख गर्नुभयो।
सो कार्यक्रममा नेपाली जनम्पर्र्क समितिका सदस्यद्वय प्रवेश केसी, चिन्तन पौडेल लगायतले कोइराला र भट्टराईका बारेमा बोल्नुभएको थियो।
सदस्य राजकुमार शाक्यले संचालन गर्नुभएको कार्यक्रममा जनसम्पर्क समिति बेलायतले क्षेत्रिय समतिहरुबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको थियो।
श्रदाञ्जलि सभामा चितवन एड ट्रष्टका राजेन्द्र खरेल, किरांत याक्थुंग चुलुंगका सभापति डम्मर लिम्बु, किरात राई योयोखाका सभापति दिलिप राई, सगरमाथा गोर्खा नेपाली कमिटिका उपसभापति पपीराज राई, नेपाल शिक्षक संघका पूर्व सदस्य कृष्ण विलास अधिकारी, एनपीसीसी बेलायतका उपाध्यक्ष भिम राईलगायतको उपस्थिति रहेको थियो।
व्यङ्ग्य लेखनका हस्ती, पुरातत्वका ज्ञाता अनि नेपाली भाषासाहित्यका महारथी जनकलाल शर्मा नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
जनकलाल शर्मालाई नचिन्ने नेपाली साहित्यकार प्रायः छैनन् । यिनलाई चिन्नेमध्ये वासुदेव शर्मा लुइँटेल पनि एक थिए । लुइँटेलले जसको नाउँ पनि त्यस मान्छेको केही न केही प्रवृत्ति जोडेर र उसलाई अलिक होच्याएर नै राख्ने गर्थे । त्यसैले उनले जनकलाल शर्मालाई धोवी भन्थे।
जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए। तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो । उनी सारै पेचपरेपछि मात्रै मान्छेलाई घोचेर भन्थे र व्यङ्ग्य गरेर लेख्थे। अनि लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका पनि महारथी भए । उनको लेखनको सीपले उनी देशदेशान्तरमा सुपरिचित भए । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य छ त्यहीँत्यहीँ उनको लेखकीय व्यक्तित्व पुगेको छ । लेख्तालेख्तै यिनले दर्ुइ दर्जनजति पुस्तक लेखे । लेखेरै यिनले चार नम्बरको गोरखादक्षिण बाहु पाए । लेखेरै यिनले चार हजार रुपियाँ राशिको मदन पुरस्कार पनि पाए।
‘१९८३ साल वैशाख १७ गते जन्मेको हो मेरो छोरो भनेर दार्जिलिङको स्कुलमा नाउँ लेखाइदिएका थिए मेरा पिताले’ भन्ने जनकलाल शर्मा यथार्थमा इलामको क्याबुङमा १९७८ साल वैशाख १७ गते नै जन्मेका थिए । यिनका बुबा आमाको नाउँ थियो गोविन्दप्रसाद उपाध्याय ढकाल र कौशल्यादेवी । यिनीहरु कृषि पेशामा आबद्ध थिए । तर ताक परेका बेला गोविन्दप्रसाद ढकाल जजमानी पनि गर्थे । आफ्ना आमाबुबाकै नेतृत्व र संरक्षणमा शर्माको वाल्यकाल र किशोरावस्ता टुङ.गिएको थियो।
शर्मा नेपाल र नेपाली प्रति खुवै चासो राख्थे । त्यसैले यी नेपालका धेरै गाउँ डुले र त्यही परिवेशमा डुबेर यिनले ‘हाम्रो समाज : एक अध्ययन’ नामक एउटा वृहत् सामाजिक इतिहास लेखे । साथै यिनले आफू पुगेका ठाउँमा पाठकहरूलाई पुर्याए । अर्थात् भनौं यिनले नियात्रा पनि लेखिरहे । साथै यी एसिया र युरोपका केही देश पुगे र त्यस विषयमा पनि यिनले लेखे।
शर्माले दार्जिलिङदेखि बनारससम्मका स्कुल तथा कलेजहरू पढे । अन्त्यमा यिनले भारतको उत्तर प्रदेशबाट साहित्यरत्नको उपाधी लिए र यी फेरि नेपाल पसे । नेपाल आएर उनले सुरुमै सरकारी जागीर खाए तर त्यस बेला यिनको पद मास्टर थियो । क्रमशः उनी पुरातत्व विभागको महानिर्देशकसम्म पनि भए । उनले अरु हाकिमजस्तै कुर्सीमा बस्ने काम मात्र गरेनन् । त्यहाँ जागीर खाएर उनले त्यसै सर्न्दर्भमा नेपालका विभिन्न ठाउँको भ्रमण गरे र पुरातत्वका ज्ञानहरू बटुले । अनि उनले त्यस विषयका लेखरचनाको पनि आविष्कार गरे । त्यही काममा लाग्दा भारतका महापण्डित राहुल साङ्कृत्यायनसँग पनि यिनको सर्म्पर्क भयो । यिनहिरुको एकअर्कासँग सम्बन्ध पनि कस्तो थियो भने राहुलले उनलाई लेखेका चिठीमात्र १०४ वटा फेला परे । शर्माकै कारण राहुलले तेश्रो पत्नीका रुपमा डा. कमला साङ्कृत्यायनसँग विहे पनि गरे।
शर्माले महाकवि देवकोटालाई मामा भन्थे । शर्माका कारणले राहुलले देवकोटालाई भारतीय तीन कवि पन्त, प्रसाद र निराला बराबर नेपालका एकजना महाकवि देवकोटा लेखे । अनी त्यसै घडी राहुलले देवकोटालाई पागलको सङ्केत गरेर पनि लेखे । त्यो पढेर देवकोटाले जनकलाललाई उति नै खेर लछारपछार गरे । अनि त्यसै राति उनले ‘जरुर साथी म पागल’ भन्दै एउटा कविता पनि लेखे र भोलिपल्टै त्यो जनकलाललाई सुनाए।
शर्मा पुस्तक प्रेमी थिए । हात बाहिर पुस्तक भएका बेला उनीसँग कलमकापी हुन्थ्यो । उनी लेखिरहन्थे । त्यो पनि भएन भने उनको जनसर्म्पर्कमा समय जान्थ्यो यात टेलिफोनमा उनी झुण्डिरहन्थे । तर उनी ध्यान गरेरचाहिं बस्नै सक्तैन थिए । साथै उनी साथीभाइ भेला पारेर रक्सी खुवाउँथे र आफू पनि खान्थे । विजुली खाएर यी टिल्ल मात्थे तर नाक र मुख भूईँमा जोत्तैन थिए । एक दिन बिजुली खाएर उनले भनेका थिए, ‘एक पटक केशवराज पिँडाली बिजुली खाएर पिसाब गर्न गएका थिए । पिसाब गरिसकेपछि उनले प्यान्टको टाँक (त्यस बेला प्यान्टमा फस्नर लाउने चलन थिएन) लगेर कोटको टाँक लगाउने ठाउँमा लगाएछन् । त्यसै कारण उनी शौचालयमै कुप्रो परेकापरेकै भएछन् । केही छिनपछि पनि पिँडाली फर्केर नआउँदा म उनलाई खोज्दै शौचालय छिरेँ । त्यहाँ उनलाई कुप्रो परेर बसेको देखेपछि हत्तपत्त बोकेर वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएँ । उनी इमर्जेन्सीको खाटमा सुताइए । डाक्टरले कैंचीले च्वाट्टै टाँक काटेर उनलाई बिदा दिए ।’ त्यस दिन शर्माका कुरा सुनेर हाँस्नेहरूमा दार्जिलिङका डा.कुमार प्रधान, ईश्वरवल्लभ र नरेन्द्रराज प्रसाई थिए । उनको विशेष सोख नै हाँस्नु हो भनेझैं गरी उनी प्रायः हाँस्थे । उनको हँसाइमा पीडाको रूपरङ्ग देखिँदैनथ्यो । दिल खोलेर हाँस्नु उनको कला थियो।
आफूलाई भेट्न आउनेलाई शर्मा हँसाइरहन्थे । उनी अरूलाई प्रायः व्यङ्ग्य पनि हानिरहन्थे । अनि उनलाई पनि अरूले अपमान गरिहिन्थे, त्यो पनि उनी सहिरहन्थे । उनी केही कुराको पनि प्रत्युत्तरचाहिँ छिट्टै दिँदैनथे । त्यसैले उनले दिने प्रयुत्तरहरू पनि छुट्तै जान्थे । पछिपछि आफ्ना निबन्धमा उनी आफूलाई अपमान गर्नेलाई हिर्काएर पनि आफ्नो मन शान्त पार्थे।
शर्माले २००२ सालमा (चन्द्रकला) संग बिहे गरे । यी दम्पत्तिबाट तीन छोराछोरी जन्मे । उनलाई २०४३ सालमा पत्नीशोकले छोप्यो । त्यसपछि मात्र उनले आफ्नो सक्कली जुनी बुझे।
शर्मा हरेक प्रकारका खानाका सौखिन थिए । जुवा खेल्नेको विरोधी थिए । कसैले उनका विषयमा कुरा गर्दा उनी थाहा पाइहाल्थे ‘यो के भन्दै छ -’ उनी आफूलाई र्सकाएको रहेछ भने तुरुन्तै बुझथे र भन्थे ‘मसँग तपाईं के पटयाउन लाग्दै हुनुहुन्छ !” उनी खुलस्तका चौबीस क्यारेडका सुन थिए।
शर्मा प्रायः सबै कुराका सोखिन थिए । बजारमा राम्रो कलम निस्केको छ भने त्यो उनका घरमा पनि देखिन्थ्यो । राम्रा किताब, राम्रो लाइट, राम्रो चिम र भान्सामा प्रयोगमा आउने राम्राराम्रा सामानहरू किन्नमा पनि उनको विशेष रुचि थियो । उनी पैसाले माल किन्दैनथे, मालका लागि पैसा तिर्थे । उनका घरमा एउटा असल छोरो सुमन र एउटी असल बुहारी रम्भा पनि थिए । वास्तवमा उनको घर नै मनमोहक थियो । उनी बराबर भन्थे ‘कसैको सभ्यता हेर्नुपर्छ भने त्यस घरको शौचालय, घरमूली स्त्रीको कुर्कुच्चो र काम गर्ने मान्छेको कपडा हेरे पुग्छ।’
शर्माको सुत्ने कोठामा पनि पुस्तकका र्याक नै र्याक हुन्थे । उनको बैठककोठा त पुस्तकालय नै थियो । तर उनी कसैलाई एउटै पुस्तक दिँदैनथे । कसैलाई पुस्तक दिँदा लामो तमसुक नै लेख्नुपथ्र्यो । त्यसरी उनले पुस्तकहरूको आदर गरेका थिए । तर उनको शेषपछि त्यहाँको पुस्तकालय, दराज र पुस्तकहरु खण्डित भएर हरेक कोठाकोठामा शरण पर्न थाले।
नेपाली साहित्याकाशका प्रखर, निष्ठावान् र माथिल्ला कोटीका साधक शर्मा सिर्जनामा नै जोतिदा जोतिंदै थला परे । २०५६ साल माघ १६ गते अथवा शहीद सप्ताहको अन्तिम दिन उनी पनि स्वर्ग गए। naiprasai@gmail.com
योगेन्द्रमिलन छन्त्याल/ एचकेनेपाल डट कम-
लिस्बोन पोर्तुगल, माओवादी नेता पोष्टबहादुर बोगटी ‘प्रभाकर’ले सभासदहरुलाई गाली गर्नु बेकार भएको बताउनुभएको छ । बोगटीले नेताहरुले जे जे भन्छन् सभासदहरु त्यही त्यही गर्नुपर्ने बाध्यता भएको खुलासा गर्नुभएको छ।
‘संसद्को कार्य संचालन बडो अचम्मको हुँदोरहेछ । हामी ३ जना ठूला दलका प्रमुख सचेतकले हतार हतारमा जे जे योजना बनायो, सभामुख त्यही प्रक्रिया अनुसार संसद संचालन गर्नुहुन्छ ।’ पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत रहेका बोगटीको भनाइ थियो : ‘बिहान १० बजे आउनुस भने पनि उपस्थित भा’कै छन् राति ८ बजे आउनुस भने पनि आ’कै छन् । बिचराहरु, मलाई त बिचरा भन्न मन लाग्छ । बिचरा सांसदहरु।’
पार्टी सचिव बोगटीले नेपालका हरेक आन्दोलनका मागहरुको संविधानमा सम्बोधन हुनुपर्ने बताउनुभयो । आधारभूत सहमति भएमा जेठ १४ भित्र संविधान जारी गर्न सकिने कुरा त बताउनुभयो तर समयसीमाभित्र जारी हुने कुराको ग्यारेन्टी दिन सक्नुभएन।
एक फरक प्रसंगमा बोगटीले भन्नुभयो :’दुतावास वा कन्सुलर नहुँदा पोर्तुगलमा रहेका नेपालीहरुले समस्या झेल्नुपरेको कुरालाई म पार्टी र संसदमा गम्भीरतापूर्वक उठाउने छु ।’ उहाँले थप्नुभयो : ‘अधिकारसम्पन्न कुटनीतिक नियोगको लागि यथाशक्य छिटो पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछु।’
कार्यक्रममा अर्का वक्ता बेल्जियम जनप्रगतिशील मंचका सल्लाहकार विष्णु भुजेलले नेपालीहरुले जताततै दुखै दुख, जताततै पीडैपीडा सहनुपरेको उल्लेख गर्दै भन्नुभयो : ‘यी सबै राजनीतिक कारणले भएका हुन ।’ उहाँले विदेशमा समेत राष्ट्रगान गाउने नेपालीहरुलाई दोहोरो नागरिकता दिन हिच्किच्याउने नेताहरु नै भारतीय दलाल रहेको ठोकुवा गर्नुभयो।
अन्तरक्रियामा जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष सुरेन्द्र भुसाल, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य मकर हमाल, एनआरएन पोर्तुगलका अध्यक्ष लक्ष्मी सापकोटा, जनसम्पर्क समिति अध्यक्ष पूर्ण हमाल, एनडिएफ अध्यक्ष बालाराम बिक लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । होटेल डिप्लोमाटिको कास्टिलिओमा सम्पन्न कार्यक्रममा मंचका अध्यक्ष राम गौचनको अध्यक्षता, उपाध्यक्ष राममणि रिजालको स्वागत र महासचिव शेरसिंह ठकुरीको संचालन रहेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
उदयपुरको लेखगाउँ गाउँ विकास समिति–९ मा दाजुले भाइको हत्या गरेका छन्। सामान्य घरायसी विवादले उग्ररुप लिएपछि ३२ वर्षीय छापबहादुर राईले आफ्नै २८ वर्षीय भाइ मीनबहादुर राईको हत्या गरेका हुन्।
भैंसी बाँध्ने किलोको प्रहारले घाइते भएका राईको उपचार गर्न कटारी अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायबउपरीक्षक मनोज यादवले बताउनुभयो।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय, कटारीको प्रहरी टोली गएको छ।
भाइको हत्या गर्ने छापबहादुर फरार रहेको र उनको खोजीकार्य तीव्रताका साथ भइरहेको उदयपुर प्रहरीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आगामी जेठ १४ भित्रमा संविधान जारी नभए आदिवासी जनजातिले विद्रोह गर्ने चेतावनी दिनुभएको छ।
झापाको दमकमा महासङ्घको नगर समन्वय समितिले गरेको भेटघाट कार्यक्रममा उहाँले अबको संविधानले आदिवासी जनजातिको अधिकारको प्रत्याभूति गर्नुपर्ने बताउनुभयो।
उहाँले आदिवासी जनजातिले सम्पूर्ण क्षेत्रमा गरेको अग्राधिकारको माग कुनै जातिविशेष विरुद्ध नभएको दाबी गर्नुभयो।
आदिवासी जनजातिको अधिकार स्थापनाको आन्दोलनलाई दबाउन जातीय भातृसङ्गठनहरु निर्माण गरेको लेखीले आरोप लगाउनुभयो।