एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले स्वदेशी तथा विदेशी प्रतिगामी तत्वहरूले नेपालमा नयाँ संविधान बनाउन नदिएको आरोप लगाउनुभएको छ।
भूपू विद्यार्थी सङगठन श्री रामचन्द्र प्रावि, रिपानी बगुवा गोरखाले यहाँ आयोजना गरेको ‘सहिद परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले नयाँ संविधान निर्माणका लागि प्रतिगामी तत्वहरूले चलखेल गरिरहेको भएता पनि अन्तिम समयसम्म एमाओवादी संविधान लेख्न लागि परेको स्पष्ट पार्नुभयो।
‘संविधानसभा भङ्ग गर्ने, राष्ट्रपति वा अन्य शक्तिहरूलाई शासन गर्न दिने भन्ने जस्ता प्रतिक्रियावादी तत्वहरूसँग एमाओवादी डटेर मुकाविला गर्र्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो,–’जेठ १४ मा संविधान जारी गर्नका लागि अन्तिम समयसम्म पनि एमाआवादीले प्रत्यन्त गरी मुलुकलाई सही निकास दिनेछ।’
उपाध्यक्ष भट्टराईले समतामुलक र समुनत नेेपाल निर्माण गर्नका लागि सहिदले देखाएको बाटो हिड्नुपर्ने र सहिदको योगदानलाई सदा सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) संसदीय दलको आजको बैठकले शान्ति र संविधान लेखनलाई असर नपुग्ने गरी अन्य दलहरूसँग समेत छलफल र परामर्श गरेर बजेट ल्याउने निर्णय गरेको छ।
नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सो बैठकमा बोल्ने प्रायः सबै सदस्यले शान्ति र संविधानलाई केन्द्रबिन्दुमा राखेर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
पूर्ण वा पूरक जस्तो बजेट ल्याए पनि त्यसले दीर्घकालीन राजनीतिमा कुनै खास अर्थ र महत्व नराख्ने बताउँदै सदस्यहरूले तर त्यसैलाई आधार बनाएर अहिले दलहरूबीच अविश्वासको वातावरण सिर्जना गरी शान्ति र संविधानलाई नै ओझेलमा पार्ने काम नगर्न नेतृत्वलाई सल्लाहसमेत दिएका थिए।
सदस्यहरूले एमालेले अर्थमन्त्रालयको नेतृत्व पाए पनि विपी र जिपी कोइरालाका नाममा स्थापित संस्था र माओवादीले सिफारिस गरेका कार्यक्रमलाई हालै जारी गरिएको स्वेतपत्रमा बजेट विनियोजन गर्ने कुरा उल्लेख भएको तर आफ्नै पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारीको नाममा खुलेका संस्थाहरू र सुदूरपश्चिमाञ्चलका लागि सिफारिस गरिएका विकास योजनाहरूको बजेट कटाइनुले यो बजेट नेकपा (एमाले)ले बनाएको होइन भन्ने पुष्टि गरेको भनाइ राखेका थिए।
स्वेतपत्रमा आफ्नै पार्टीको नाम गल्ती लेखिएको र बजेटका कारण पार्टीमा आन्तरिक द्वन्द्व अझ बढेकाले त्यसलाई सुल्झाउन बैठकले नेतृत्वको ध्यानाकर्षण गराउनाका साथै पार्टीभित्र एकअर्कालाई सिध्याउन खाल्टो खन्ने प्रवृत्ति अन्त्य गर्न सदस्यहरूले आग्रह गरेका थिए।
बैठकमा केही सदस्यहरूले एमालेको भूमिका यस्तै रहने हो भने जनतामा एमालेप्रति नकारात्मक धारणा अझ मौलाउने चेतावानी दिँदै मदरसामा धार्मिक पढाइ मात्रै हुनेगरेकाले त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा समावेश गराउन आग्रह गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
दुई सय वर्ष पुरानो एकात्मक शासन अन्त्य गरेर नेपाल सङ्घीयतामा प्रवेश गरी धेरै अघि बढिरहेकाले यसको विकल्प सोच्न पनि नसकिने विभिन्न वक्ताहरूले बताएका छन्।
मेधावी राष्ट्रिय मासिकद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा बोल्दै नेकपा (एमाले)का वरिष्ठ नेता प्रदीप ज्ञवालीले सङ्घीयतामा जाँदैमा मुलुक टुक्रिन्छ भन्नु भ्रम मात्रै हो भन्नुभयो।
उहाँले सङ्घीयतालाई ठीक ढङ्गले प्रयोग गरेमा सबै समस्याको समाधान हुन्छ भन्दै एमालेले नेपाललाई छदेखि आठवटा सङ्घमा छुट्टयाउन सकिने अवधारणा प्रस्तुत गरेको स्पष्ट पार्नुभयो।
एनेकपा (माओवादी)का नेता देवेन्द्र पौडेलले जनताको भावनाको प्रतिनिधित्व गर्ने सङ्घीय मोडलमा जाने निर्णय माओवादीले सुरुमै अघि सारेको बताउनुभयो।
नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईले सङ्घीयताले नेपालमा कुनै परिवर्तन नहुने दाबी गर्दै सङ्घीयतामा जाँदा विभिन्न मुलुकहरू टुक्रिएको उदाहरण प्रस्तुत गर्नुभयो।
उहाँले सङ्घीयताको पक्षमा हस्ताक्षर गरिरहेकाले नेपाली काँग्रेस सङ्घीयताको विपक्षमा भने नरहेको चर्चा गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
सरकारले काठमाडौँ उपत्यकामा कार्यरत निजामती सेवाका महिला राष्ट्रसेवक कर्मचारीका नानीहरूका लागि खोलेको दिवा शिशु स्याहार केन्द्र सञ्चालनमा आएको छ।
निजामती कर्मचारी श्रीमती सङ्घले सञ्चालनको जिम्मेवारी पाएको सो केन्द्रमा हाल ३१ जना शिशु भर्ना भइसकेका छन्।
केन्द्रमा हालको क्षमता ४० जना शिशुलाई व्यवस्थापन गर्नसक्ने रहेको छ। सिंहदरवारस्थित महिला, बालबालिका तथा समाजकल्यण मन्त्रालयको हाताभित्र सो केन्द्र स्थापना गरिएको छ।
भर्नाका लागि एकल महिला र एकल पुरुष कर्मचारी, अपाङ्गता भएका कर्मचारी र पति/पत्नी दुवै निजामती सेवामा संलग्न राष्ट्रसेवकका शिशुलाई क्रमशः भर्नामा प्राथमिकता दिइने गरी केन्द्रले छिट्टै निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ।
तर अहिले भने केन्द्रमा राख्न चाहने राष्ट्रसेवक कर्मचारीको निवेदनको आधारमा शिशु भर्नालाई प्राथमिकता दिइएको केन्द्रका सहव्यवस्थापक सङ्गीता घिमिरेले जानकारी दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल निजामती कर्मचारी सङ्गठनले न्यूनतम तलब रु १५ हजार तीन सय ७५ हुनुपर्ने माग गरेको छ।
सङ्गठनले यहाँ एक कार्यक्रम आयोजना गरी कर्मचारीलाई आधारभूत आवास, खाजा, शिक्षा, स्वास्थ्यलगायत दैनिक गुजारा गर्न कम्तीमा पनि त्यति रकम आवश्यक पर्नेमा जोड दियो।
नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अभिसन्धिहरूमा श्रमिकहरूको न्यूनतम तलब उसलाई दैनिक रूपमा आवश्यक पर्ने ‘क्यालोरी’ प्राप्त हुने गरी तोक्नुपर्ने उल्लेख गर्दै सङ्घले त्यो लागू गर्न माग गरेको छ।
राष्ट्रिय योजना आयोगको अध्ययनले पनि प्रतिदिन प्रतिव्यक्ति दुई हजार दुई सय ७९ क्यालोरी आवश्यक पर्ने सुझाव दिएको उल्लेख गर्दै उच्चस्तरीय तलब आयोगले सिफारिस गरेअनुसार तलबभत्ताको व्यवस्था गर्न सङ्गठनले अनुरोध गरेको छ।
सबै कर्मचारीलाई महँगीभत्ता समानरूपले प्रदान गर्नुपर्ने, तलबवृद्धिका लागि निजामती सेवा ऐन, नियमावलीमा अवलम्बन गरिएका सिद्धान्त अवैज्ञानिक रहेकाले त्यसलाई परिमार्जन गर्नुपर्नेमा पनि सङ्घले जोड दिएको छ।
सरकारी ढुकुटीबाट चार लाख ५० हजार कर्मचारीले तलब लिने गरेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को पाँचौ विश्व सम्मेलन आगामी असोज २५ देखि २७ गतेसम्म काठमाडौँमा हुनेभएको छ।
सङ्घले एक प्रेस विज्ञप्ति जारी गरी सक्रियरूपमा सहभागी भई भव्यताका साथ सो सम्मेलन सफल तुल्याउन विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूसँग आग्रह गरेको छ।
यसैगरी नेपाल सरकार, निजी क्षेत्रका उद्योगी व्यवसायी, सङ्घसंस्था, समाजसेवी, बुद्धिजीवी र सञ्चारजगतसँग पनि सहयोगका लागि उसले आग्रह गरेको छ।
सङ्घका अध्यक्ष देवमान हिराचनको संयोजकत्वमा छिट्टै नै सम्मेलन कार्यान्वयन समिति गठन गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।
नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको समेत सहयोगमा सो सङ्घको विश्व सम्मेलन हरेक दुई वर्षमा नेपालमा हुनेगरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विराटनगरसँग जोडिएको जोगवनी नाकामा सघन चेकिङ्ग अभियान सुरु गरेको छ।
सो अभियानअर्न्तगत नेपाल–भारत मुख्यमार्ग जोगवनीस्थित गान्धीचौकमा कुकुरद्धारा आगमन गर्नेहरूको जाँच गरिन्छ।
खुल्ला सीमाका कारण अपराधिक गतिविधि बढेकोले त्यसलाई नियन्त्रण गर्न बथनाहास्थित एसएसवी–२४ बी बटालियनका प्रमुख एके सिंहको नेतृत्वमा सघन चेकिङ्ग अभियान सुरु गरिएको छ।
प्रमुख सिंहका अनुसार उक्त चेकिङ्ग अभियान नियमित रूपमा हुने जानकारी दिनुभयो।
हाल पूर्वाञ्चलमा केही दिनदेखि भइरहेको अपराधिक गतिविधि नियन्त्रणमा प्रहरी प्रशासन लागि कडाइका साथ लागि परेको र नेपाली सीमा क्षेत्रमा आवागन गर्ने व्यक्ति, गाडी र समानको जाँचमा विशेष जोड दिएको सशस्त्र प्रहरी वल कङकालिनी माईगणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक गोपाल मिश्रले बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
उत्तरी धादिङको फूलखर्क गाउँ विकास समिति वडा न. १ मा ससुराको हत्या गरिएको छ।
प्रहरीका अनुसार फूलखर्क गाविस–१ निवासी ६५ वर्षीय लालबहादुर गुरुङको उनकै बुहारी र सम्दिनी मिलेर हत्या गरिएको हो।
प्रहरीले हत्या आरोपमा मृतकका बुहारी २० वर्षीया साइलीमायाँ तामाङ र सम्दिनी ४६ वर्षीया लालमायाँ गुरुङलाई गिरफ्तार गरी कर्तब्य ज्यानमा मुद्धा चलाइने जनाएको छ।
प्रदीप पौडेल / एचकेनेपाल डट कम-
पोखरा, अधिवेशन नै नगरी दलिय भागवण्डाका आधारमा नेपाल पत्रकार महासंघ कास्कीको कार्य समिति र पार्षद भागवण्डा गरिएकोमा पुनरावेदन अदालत पोखराले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बैधानिक अधिवेशनको माग गर्दै बिहीबार प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोलाले दायर गर्नुभएको रिटमा पुनरावेदनका अदालतका न्यायाधीश किशोर सिलवालको एकल इजलासले विपक्षीका नाममा १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो।
अधिवेशनको माग गर्दै रिलेअनसनमा बसेका पत्रकारहरुको तर्फबाट ‘उप्रेषण मिश्रति परमादेशको आदेश जारी गरि पाउँ’ भन्दै दायर मुद्दामा महासंघ कास्कीका अध्यक्ष नारायण कार्की र अवैधानिक तवरबाट चयन गरिएका अध्यक्ष बद्रीविनोद खनाललाई विपक्षि बनाईएको थियो। जसमा अधिवेशन बिना नै गरिएको भनिएको नेतृत्व चयनको निर्णय बदर गर्नुपर्ने र अधिवेशन बोलाएर नयाँ कार्यसमितिको निर्वाचन गर्नुपर्ने ब्यहोराको मुद्दा दायर भएको थियो।
अदालतमा पहिलोपटक दर्ता हुन आएको उत्प्रेषण मिश्रति परमादेशको आदेश जारी गरी पाउन आएको निवेदनमा अधिवक्ताद्वय तिलक पराजुली र रोहितराज बाँस्तोलाले बहस गर्नुभएको थियो।
अधिवेशन नै नगरि दलीय आधारमा केही पत्रकारहरुको गोप्य बैठकले प्रेस यूनियनलाई १५, प्रेस चौतारीलाई १३ र क्रान्तिकारीलाई ९ पार्षदको भागबण्डा लगाएको थियो। त्यसैगरी, कार्यसमितिमा अध्यक्षसहित एक सदस्य चौतारीलाई, सचिव र सहसचिव सहित ३ सदस्य क्रान्तिकारीलाई, उपाध्यक्ष र कोषाध्यक्ष सहित ४ सदस्य यूनियनलाई भागबण्डा गरेका थिए।
आन्दोलनरत पत्रकारहरुले आफूहरुको माग सुनुवाई नभए शसक्त रुपमा अघि बढ्ने चेतावनीसमेत दिएका छन्। पूर्ण प्रेस स्वतन्त्रताको लागि आफूहरु जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनीहरुको भनाई छ। उनीहरुले महासंघको निर्माणाधिन भवन पार्दीमा जारी राखेको अनसन आज १० औं दिन पनि जारी छ।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव बहुमतबाट पारित गरेको छ।
गत शुक्रबारदेखि सुरु भई आज सम्पन्न सो बैठकले शान्ति र संविधानमा जोड दिँदै अध्यक्ष दाहालको सो प्रस्ताव पारित गरेको हो।
सो पार्टीका उपाध्यक्ष मोहन वैद्यले भने अध्यक्षको प्रस्तावमाथि सैद्धान्तिक असहमति जनाउँदै नोटअफ डिसेन्ट लेख्नुभएको छ।
उपाध्यक्ष वैद्यले गत मङ्सिरमा सम्पन्न पार्टीको विस्तारित बैठकको म्यान्डेटअनुसार तत्कालको कार्यनीति जनविद्रोहलाई बनाउनुपर्नेमा जोड दिनुभयो।
शान्ति र संविधानप्रति षड्यन्त्र सुरु भइसकेकाले जनविद्रोहमा जानुपर्ने कुरा उल्लेख गरी उहाँले पनि बैठकमा छुट्टै प्रस्ताव पेस गर्नुभएको थियो।
अध्यक्ष दाहालले भने तत्काल शान्ति र संविधानलाई नै कार्यनीति बनाई त्यसमा अवरोध खडा भएमात्र जनविद्रोहमा जानुपर्ने विचार राख्दै आउनुभएको थियो।
अध्यक्षको सो विचारलाई अर्का उपाध्यक्ष डा बाबुराम भट्टराई पक्षधरले साथ दिएकाले उहाँको प्रस्ताव बहुमतले पारित हुन सम्भव भएको हो।
यसैबीच मई दिवस र आगामी जेठ १४ गते अगाडिको अवस्थालाई दृष्टिगत गरेर ल्याएको कार्ययोजनालाई भने बैठकले सर्वसम्मतिबाट पारित गरेको स्थायी समितिका सदस्य देव गुरुङले बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
प्रहरी कारबाहीमा परी नवलपरासी र रूपन्देहीको सीमावर्ती रोहणीखोला नजिक भूमिगत सङ्गठन प्रमुखको मृत्यु भएको छ।
बिहीबार राति आफूलाई मधेसी मुक्ति टाईगर्सको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो प्रमुख बताउने अनिल चमारको मृत्यु भएको हो ।
गएराति १२ बजे रोहणीखोलामा गएको प्रहरी गस्तीमाथि आक्रमण गर्ने प्रयास गर्दा उनको जवाफी कारबाहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ।
एचकेनेपाल डट कम संवाददाता-
महोत्तरी भोल्टीमा गएराति बसमा भएको बम विस्फोटमा परी चालकसहित तीन घाइते भएका छन्।
प्रधानमन्त्रीको जनकपुरमा आयोजित कार्यक्रमपछि नेकपा (एमाले)का कार्यकर्तालाई घर पुर्याई जलेश्वरतर्फ फर्किरहेको ज१ख ५४२ नम्बरको रुपेश ट्राभल्सको बसमाथि भोल्टी चोकमा बम प्रहार हुँदा चालक आगेपुरका जयोम राई, सहचालक धनुषा विन्धी–६ का धर्मेन्द्रकुमार मण्डल र एमाले कार्यकर्ता उटहर्ना–६ का फेकन राम गम्भीर घाइते भएका छन्।
घाइतेको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ। बस पूर्णरुपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बन्दको अवज्ञा गरेका कारण आफूले घटना गराएको भनी जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) का केन्द्रीय सदस्य भास्कर मुक्तिले फोनबाट जिम्मा लिएका छन्।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीका अध्यक्षले केन्द्रीय कमिटीको बैठक तत्काल नबोलाए आफूहरुले विधानको प्रक्रियाबाट बोलाउने चेतावनी दिनुभएको छ।
उपाध्यक्ष भण्डारीले अध्यक्षले बैठक नबोलाए विधान सम्मत रुपमा पहिले मौखिक रुपमा आग्रह गर्ने र त्यसबाट पनि नबोलाइए लिखित रुपमा सो बोलाउने स्पष्ट पार्नुभयो।
उहाँले बैठक बोलाउन आवश्यक परे केन्द्रीय कमिटिमा बहुमत देखाउन पनि आफूहरु तयार रहेको पनि स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो–मुलुकलाई निकास दिन अहिले पार्टीको धारणा आउन आवश्यक छ, तर अध्यक्षबाट विनाकारण बैठक स्थगित गर्नुभएको आरोप लगाउनुभयो।
वर्तमान पार्टीको नेतृत्वको सरकार बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकार भन्दा निकै कमजोर रहेको दावी गर्दै उहाँले अहिलेको सरकार शान्ति प्रक्रिया निस्कर्षमा पुर्याएर संविधान बनाउन निर्माण नभएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो–यो सरकार न सहमतिकै हो न सर्वदलिय नै हो। यो त पुरानो सरकारलाई विस्थापित गर्न मात्र बनेको आरोप लगाउनुभयो।
सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन प्रधानमन्त्री झलनाथ खनालले नचाहेको आरोप लगाउँदै उपाध्यक्ष भण्डारीले प्रधानमन्त्रीको एक्लै हिड्ने ब्यवहारले सहमति बन्न नसकेको दावी गर्नुभयो।
प्रधानमन्त्री खनालको नेतृत्वमा सहमति बन्न नसके पार्टीभित्र सबै विकल्प खुल्ला रहेको भन्दै त्यसका लागि पार्टी स्थायी कमिटी सदस्य केपी शर्मा ओली पनि विकल्प बन्न सक्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो–ओलीजीलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट वा मन्त्री परिषदले मनोनयन गर्ने २६ सभासदमध्येबाट मनोनयन गरेर सभासद बनाउन सकिन्छ।
उपाध्यक्ष भण्डारीले शान्ति र संविधानको सुनिश्चितताकालागी एमाले बाधक नबन्ने स्पष्ट पार्दै उहाँले कुनै एक ब्यक्तिकालागी एमाले पार्टी सति जान नसक्ने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले केन्द्रीय कारागारका कैदी युनुस अन्सारीमाथि गोली प्रहार भएको घटनाका सम्बन्धमा छानविन गर्न गठित जाँचबुझ आयोगको अवधि एक महिनाका लागि थप गरेको छ।
नक्कली भारतीय मुद्राको कारोबारको आरोपमा थुनामा रहेका सञ्चारउद्यमी अन्सारीमाथि गत फागुन २५ गते कारागारभित्रै गोली प्रहार गरिएको थियो।
बैठकपछि मन्त्रिपरिषद्का प्रवक्ता तथा शिक्षामन्त्री गङ्गालाल तुलाधरलेे आयोगको अध्ययन जारी रहेकाले अवधि थप गरिएको बताउनुभयो।
यसैगरी, आजको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनामा लगानी र सहकार्यका सम्बन्धमा विश्व बैङ्कसँग आवश्यक परामर्श गर्ने निर्णय गरेको छ।
प्रवक्ता तुलाधरले दिनुभएको जानकारीअनुसार बैठकले नेपाली महिला अन्नपूर्ण आरोहण दलका लागि तीन हजार २०० डलर सलामी छुट दिने र आगामी मे २१ मा साउदीअरबमा हुने अन्तर्राष्ट्रिय सेमिनारमा युवा तथा खेलकुद मन्त्रीलाई पठाउने निर्णय गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वयुवराज पारस शाहलाई कागज गराई छाड्ने निर्णय गरेपछि उनी केही दिनमा नै चितवन जाने भएका छन्।
प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले केही सार्वजनिक अपराध तथा तथा सजाय ऐन २०२७ को दफा ६ को (२) वमोजिम पहिलोपटकका लागि कागज गराई छाड्ने निर्णय गरेको हो।
गोलीकाण्डका पीडित भनिएका बङ्गलादेशी नागरिक रुबेल चौधरी र पूर्वयुवराज पारस शाहसँग गत चैत्र ८ गते लिइएको बयानका आधारमा प्रमुख जिल्ला अधिकारी गौतमको एकल इजलासले आजका लागि पेशी तोकेको थियो।
शाहले फैसला चित्तनबुझेमा पुनरावेदन गर्नसक्ने प्रावधान रहेको छ। कानुन व्यवसायी शिवबहादुर पाण्डेका अनुसार म्यादभित्र पुनरावेदन नगरेमा निर्णय स्वतः कार्यान्वयन हुनेछ।
पूर्वयुवराज शाहका तर्फबाट अधिवक्ताहरू हिरा रेग्मी, शिवबहादुर पाण्डे, गणेश केसी, चुडामणि सापकोटा, कोशराज काफ्ले र बद्री गौतमले बहस गर्नुभएको थियो।
उहाँहरूले पूर्वयूवराज शाह घटनामा दोषी नदेखिएको भन्दै शाहलाई पूर्ण सफाइ दिनुपर्ने माग गरेका थिए।
त्यस्तै सरकारका तर्फबाट सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायधिवक्ता गीताप्रसाद तिमिल्सिना र सहन्यायधिवक्ता भिमप्रसाद भुर्तेलले केही सार्वजनिक अपराध ऐन २०२७ दफा २ को (ग) अनुसार कार्वाही हुनुपर्ने माग गर्नुभएको थियो।
गत मङ्सिर २५ गते टाइगरटप्स होटलमा रुबेललाई गोली हानेको आरोपमा मेघौली प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक गङ्गाबहादुर क्षेत्रीले पूर्वयुवराज शाहविरुद्ध सार्वजनिक अपराध ऐनअर्न्तगत मुद्दा दायर गर्नुभएको थियो।
मङ्सिर २८ गते पोखराबाट प्रक्राउ गरी चितवन ल्याइएका आरोपित शाहलाई प्रमुख जिल्ला अधिकारी गौतमको इजलासले गत पुस १ गते रु १० हजार धरौटीमा तारेखमा छाडेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
चितवनको माडीमा द्वन्द्वकालमा माओवादीले विष्फोट गराएको ठाउँ वाँदरमुढेको विकासका लागि सरकारले रु सात लाख सहयोग उपलब्ध गराएको छ।
राष्ट्रिय योजना आयोजले शान्ति मन्त्रालयअर्न्तगत जिविस चितवनबाट परिचालन हुने गरी सो रकम छुट्याएको हो।
सो स्थानमा स्थानीयवासी र घटना पीडितले रु तीन लाखको लागतमा स्मारक निर्माण गरेका थिए।
सो रकमले वाँदरमुढेमा बनेको स्मारकको विकाससँगै शान्तिबाटिका निर्माण गरिने भएको छ। बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्ति न्यौपानेको संयोजकत्वमा अहिले शान्तिबाटिका निर्माण समिति गठन गरिएको छ।
सो रकम चितवनको पुनःनिर्माण आयोजनामार्फत जानुपर्ने भएकाले हिजो मात्रै आयोजना चितवतका इन्जिनियर सम्मरबहादुर खनालसँग सम्झौँतासमेत भइसकेको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताउनुभयो।
यहाँ चार कट्ठामा शान्तिबाटिका निर्माण हुँदैछ। गत २०६६ सालमा तत्कालीन माओवादीले यहाँ बम बिफोट गराउँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले लडाकु समायोजन गर्ने ठोस आधार तयार नभएसम्म संविधानसभाको म्याद थप्न नहुने बताउनुभएको छ।
नेपाली काँग्रेस झापाले विर्तामोडमा आयोजना गरेको मोटरसाइकल र्यालीपछिको कोणसभालाई सम्बोधन गर्ने क्रममा उहाँले माओवादीको द्वैधचरित्रका कारण राजनीतिकरुपमा समस्या समाधान हुन नसकेको बताउनुभयो।
आगामी वैशाख १७ गते विर्तामोडमा हुने आमसभालाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले आज झापाका विभन्नि स्थानमा मोटरसाइकल र्यालीको आयोजना गरिएको नेपाली काँग्रेसका जिल्ला अध्यक्ष उद्धव थापाले बताउनुभयो।
…शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली काँंग्रेसको राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ निकालिएको र्याली बाहुनडाँगी, काँकडभिट्टा, ज्यामिरगढी, भद्रपुर, चन्द्रगढी चारआलीहुँदै विर्तामोडमा गएर कोणसभामा परिणत भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
बेलायती सेनामा कार्यरत नेपालीहरूले म्याग्दीको सिङ्गामा रहेको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
बेलायती सेनामा कार्यरत ५२ जना नेपालीले सिङ्गा गाविसको थामडाँडामा रहेको भृकुटी प्राथमिक विद्यालयलाई एक लाख ३० हजार मूल्य बराबरका चार थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएका हुन्।
थामडाँडा घर भई हाल बेलायती सेनामा कार्यरत भद्रबहादुर गुरुङको पहलमा ५२ जनाबाट सहयोग सङ्कलन गरी सो सामान विद्यालयलाई उपलब्ध गराइएको हो।
शैक्षिक सामग्री सहयोग पाएपछि विद्यालयको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सशस्त्र प्रहरीका जवानले दुर्व्यवहार र हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ।
नारायणहिटी दरबार सङ्ग्रालय नजिक रहेको अमेरिकी रिक्रिएसन सेन्टरअगाडिको बाटोबाट दरबारमार्गतिर जाँदै गरेको अवस्थामा हिजो अमेरिकी सेन्टरको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानले वरिष्ठ पत्रकार घिमिरेमाथि हातपातका साथै दुर्व्यवहार गरेका थिए।
नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने संवैधानिक अधिकारलाई बिर्सेर आमनागरिककै सुरक्षामा खटिएको प्रहरी निकायबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित वरिष्ठ पत्रकार घिमिरेमाथि दुर्व्यवहार र हातपात हुनु सम्पूर्ण प्रेस जगतमाथिकै हस्तक्षेप भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न, प्रेसको सम्मान गर्न र घटनाप्रति सार्वजनिक क्षमायाचना गर्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ।
यसैगरी नेपाल मानवअधिकार सङ्गठनले एक विज्ञप्ति प्रकाशित गरी प्रहरीद्वारा हुने यस्ता व्यवहारले मुलुकको कानुन र सामान्य मानवीय मर्यादाको गम्भीर उल्लङ्घन भएकोतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै प्रहरीको यस्तो अमर्यादित व्यवहारप्रति दुःख प्रकट गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
सभासद्का रातो पासपोर्ट दुरुपयोग गरी दुई जनालाई विदेशमा पठाउने अध्यागमनका एक अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।
सभासद् गायत्री शाह र विश्वनाथप्रसाद (विपी) यादवको पासपोर्ट दुरुपयोगमा सघाउ पुर्याउने अध्यागमनका अधिकृत भूमिनन्द भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।
साभासद्द्वयको पासपोर्ट प्रयोग गरेर अबुधाबी पुगी फर्केका दुई नेपालीलाई भण्डारीले पासपोर्टमा छापसमेत नलगाई पठाएको अनुसन्धान व्यूरोका प्रमूख प्रहरी उपरीक्षक राजेन्द्रसिंह भण्डारीले बताउनुभयो।
पक्राउ परेका भण्डारीले आफ्नो गल्ती स्वीकारिसकेको बताउँदै व्यूरोले थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी परिसरमा पठाएको जानकारी दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
कुटनैतिक राहदानी दुरूपयोग गरेको अभियोगमा अनुसन्धानको लागि पक्राउ परेकी सभासद गायत्री साहले रातो पासपोर्ट नबेचेको दाबी गरेकी छिन्।
साहले अपराध अनुसन्धान महाशाखालाई दिएको निवेदनमा आफूबाट कुटनैतिक राहदानी दुरूपयोग नभएको बताउंदै क्यानडाबाट एक कार्यक्रमको लागि आफूलगायत अरू सभासदहरूको निमन्त्रणा आएको र अष्ट्रेलिया जाँदा सोही रूटबाट क्यानडा जानको लागि भिषा लगाइदिन्छु भनि सन्तोषराज उप्रेतीले पासपोर्ट लगेको बताएकी छन्।
त्यसपछि, राहदानी दुरूपयोग हल्ला फैलिएपछि आफूले पासपोर्ट माग गर्दा उप्रेती स्वंय उपस्थित नभइ अन्य व्यक्तिमार्फत पासपोर्ट प्राप्त भएको साहले निवेदनमा उल्लेख गरेकी छिन्।
उप्रेतीलाई वारम्बार सम्पर्कमा आउन आग्रह गरेपनि सम्पर्कमा आउन नचाहेकोले निजलाई पक्राउ गरी कारवाही गर्न साहले प्रहरीसमक्ष निवेदन दिएकी छिन्।
साहको निवदेनमा उप्रेतीको ठेगाना सर्लाही जिल्ला लालबन्दी गाउं उल्लेख छ।
राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौं, गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङ सम्मानित भएका छन्।
अन्याय र बिभेदमा पारिएका बिट्रिस गोरखा सैनिकहरुलाई बेलायत सरकारबिरुद्ध कानुनी लडाई लडेर न्याय दिलाए बापत सभापति गुरुङलाई वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कारबाट सम्मान गरिएको हो।
रमा-कृष्ण सृजना प्रतिष्ठानले राजधानीको प्रज्ञाभवनस्थित सभाहलमा गरेको बिशेष सम्मान कार्यक्रममा सभापति गुरुङलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
स्याङ्जा फेदीखोलाको तल्लो कुडुलेमा लसबहादुर गुरुङ्ग माता शुभा गुरुङको कोखाबाट बि.सं. २०११ मा जन्मिएका गुरुङले चालिसको दशकदेखि अन्यायमा परेका गोरखा सैनिकहरुको हक हितका लागि अहोरात्र गरेको बिशिष्ट योगदान कदर गदै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।
‘आपफ्नो व्यक्तिगत जिन्दगीलाई तिलाञ्जली दिएर सारा गोर्खालीहरुको निम्ति अहोरात्र खटिरहेको व्यत्तिलाई सम्मान गर्न पाउदा खुसी लागेको छ’ आयोजकको तर्फबाट महेन्द्र गुरुङले भने। ‘प्रजातन्त्रको पुन स्थापना लगत्तै २०४७ असार २७ गते सभापति गुरुङको नेतृत्वमा स्थापना भएको गेसोले यस गोरखा भूतपूर्व सैनिक सघंहरुको हकहितको लागि निरन्तर काम गदै आएको छ।
सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरले सभापति गुरुङ्गलाई सम्मान गर्न पाउंदा खुसी लागेको बताए। ‘अन्यायमा परेका गोरखाहरुको अहोरात्र लड्ने नायकलाई सम्मान गर्न पाएकोमा मलाई खुसी लागेको छ’ उनले भने, ‘उहाँलाई सम्मान गर्न पाउनु मेरो पनि अहोभाग्य हो।’
सम्मान कार्यक्रममा बोल्दै सभापति गुरुङले गोरखा सैनिकहरुको पक्षमा निरन्तर लडि रहने बताए। ‘यो लडाईमा कैयन अप्ठ्यारो दिनहरु बिताएको छु, जति अप्ठ्यारो आएपनि निरन्तर लडिरहेने छु’ उनले भने। सभापति गुरुङले आफूले पाएको सम्मान गोरखा आन्दोलनका आफ्ना सहकर्मीहरुप्रति समर्पण गरिएको घोषणा समेत गरे । ‘यो लडाई म एकजनाले मात्रै लडेका होईन, मलाई साथ दिने गेसो परिवारका सबै सहकर्मीहरुप्रति समर्पण गर्न चहान्छु, यो मेरो मात्रै होईन सारा गेसो परिवारको खुसी हो’ उनले भने, ‘मेरो वा गेसको विजय सबै नेपालीहरुको विजय हो।’
कार्यक्रममा सभापति गुरुङले गेसोले अब वास्ताविक अर्थमा राष्ट्रिय स्वाधीनतको लडाई लड्ने पनि बताए । ‘बेलायतले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउदै गोर्खालीहरुलाई युद्धमा पठाएको छ। अब हामी बेलायतसंग हाम्रा पुर्खाहरुको एक एक रगत, पसिना र आशुको मुल्य माग्नेछौं,’ उनको भनाई थियो।
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. अभि सुबेदी, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती लगायतले गुरुङलाई बधाई दिएका थिए। कार्यक्रममा गेसोका उपसभापति कृष्णकुमार राई, कोषाध्याक्ष जितबहादुर राई, केन्द्रीय सदस्य देबीमाया पुनलगायतको उपस्थिति रहेको थियो। गेसोका उपसभापति कृष्णकुमार राईले जिन्दगीका सभापति गुरुङ सम्मानित भएकोमा खुसी व्याक्त गरे।
उमेश बस्नेत / एचकेनेपाल डट कम-
सिओल, कोरियामा सबै भन्दा पाहिले स्थापित तथा सम्पूर्ण नेपाली संघ सस्थाहरुको छाता संगठन नेपाली संपर्क समितिको आयोजनमा तेश्रो एनसिसी रनिङ कप भब्याताका सम्पन्न भएको छ।
तीन बर्षअघि सुरु गारिएको एनसिसी रनिङ कप प्रतियोगितामा बिभिन्न १२ टिमले भाग लिएका थिए। प्रतियोगितामा सुदूर पश्चिम समाज कोरिया टीम बिजयी भई ५ लाख कोरियन वन नगद,प्रमाण पत्र तथा कप सहितको प्रथम उपाधि जितेको छ।
अप्रिल २४ तारिखका दिन सिओलस्थित माङगोलसानको कवर्ड हलमा आयोजना गरिएको भलिबल प्रतियोगितामा म्याग्दी ,बाग्लुंग,पर्बत,गुल्मी, घान्द्रुक समाज, तनहू,स्यांजा, सुदूर पश्चिम समाज, प्रबासी मजदुर संघ, नेपाल संपर्क समिति, मगर संघ गरी १२वटा टिमले सहभागिता जनाएका थिए।
सहभागी टिम मध्य दोस्रो स्थानमा पुग्न सफल नेपाल भलिबल संघले नगद ३लाख वन र प्रमाण पत्र तथा गोला प्रथाद्धारा तेस्रो स्थान ओगटन सफल बाग्लुङ सम्पर्क समितिले प्रमाण पत्र र २ लाख वन नगद पुरस्कार पाए। नेपाल भलिबल संघका खेलाडी संतोष मल्ल उत्कृष्ट खेलाडीमा छनौट भई एकलाख वोंन प्राप्त गरे।
नेपालीहरु बिच भाईचाराको सम्बन्ध बढाउने र कोरियामा अधिकांश भलिबल खेलाडीहरु रहेकोले उनीहरुलाई सहभागी गराई खेलाडिहरुको छमता प्रदर्शन गर्ने एउटा राम्रो अबसरको रुपमा उक्त खेलको आयोजना गरिएको कुरा खेलकी संयोजक तथा नेपाली संपर्क समितिकी प्रथम महिला उपाध्यक्ष श्रीमती गंगा थापा श्रेष्ठ बताउनु भयो। स्थानीय ब्यापारी, बुद्धिजीबी ,पत्रकार,बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा उपस्थिति रहेको उक्त खेलमा रबी प्रकाश मल्ल, आनन्द गुरुंग,केश भक्त गुरुंग र कमल सिं रेफ्री रहनु भएको थियो। नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राईको अध्यक्षतामा एनसिसीका सचिब गिरीराज कुंवरले संचालन गर्नु भएको थियो।
विजय खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र नेपाली सम्पर्क समितिका अध्यक्ष डेविड राई तथा खेलकी संयोजक श्रीमती गंगा थापा सयूक्तरुपमा प्रदान गर्नु भएको थियो। अध्यक्ष डेविड राईले उपस्थति सबैलाई हार्दिक धन्यवाद दिँदै आगामी खेलमा पुरस्कारको रासी अझै बढाई सकेसम्म अझै व्यवस्थित गर्ने र तेश्रो एनसिसी रनिङ कपलाइ सफल बनउन उपस्थित सबै महानुभाबहरुलाई कृतज्ञताका साथ हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो।
स्मरण रहोस्, म्याग्दी समाज समिति गत साल पनि एनसिसी रनिङ कप बिजेता बनेको थियो। सो भलिबल कार्यक्रममा आयोजक एन.सि.सीले बिक्री वितरण गरेको भाग्यशाली चिठ्ठा कार्यक्रम खेल समापन लगतै खोलिएको थियो। चिठ्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार ल्याप्टप कम्प्यूटर आनन्द गैरे ००१२६२ ,दोस्रो पुरस्कार भिडियो क्यामरा ००१४७६ रामबाहादूर थापा , तेस्रो पुरस्कार डिजिटल क्यामरा ००१२८७ शुशील श्रेष्ठले प्राप्त गरेका छन्। साथै सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा ००६०५५ गान्धिव सुवेदी ,००१४६१ टेक, ०००५१४ उमा थापा तथा बहादुर राना रहेका छन्। पुरस्कार विजयीहरुले चिठ्ठाको अर्धकट्टी सहित एनसिसी कार्यलयमा सम्पर्क राख्नुहुन आयोजक कमिटिले अनुरोध गरेको छ।
धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, बाबु - बाबा के काम गर्नुहुन्छ…….एम सी । अनि, आमा नी……टिपन टापन गोर्खा परिवारको अवस्था केलाउंदै गरिएको नाटकको एक संवाद हो यो। रिटायर्ड गोर्खाद्वय चक्र राना तथा चुनबहादुर पुनको नाटकिय संवाद जस्तै छ बेलायतमा गोर्खाहरुको अवस्था। बाबा भांडा मस्काउने चम्काउने काम गर्नुहुन्छ, अनि आमा सिमी टिप्नुहुन्छ।
संवादमा छोराले सोधकर्तालाई दिएको जवाफ। नाटकमा गरिएको संवाद जस्तै छ बेलायतमा गोर्खालीहरुको अवस्था। भाषाको कमि तथा ओर्लंदो उमेरका कारण गोर्खा आर्मीका परिवारहरुले राम्रो कामको अवसर पाउंदैनन्। नेपालमा बेलायती आर्मी भनेपछि सुख, सयल र मोजमस्ती जीवनशैलीको रूपमा हेर्ने गरिन्छ तर बेलायतको अवस्था त्यस्तो छैन। उनीहरुले बेलायतमा राम्रो कामको अवसर अत्यन्तै न्यून पाएका छन्।
ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गोर्खालीहरुका छोराछोरीहरुमा देखिएको कुलत र त्यसको जडबारेमा पनि कलाकारहरुले स्पष्ट चित्रण गरेका थिए। सो अवसरमा डांडा गाउंले समाजले लोकप्रिय चुड्का नाच देखाएको थियो। त्यस्तै, नेवार समुदायको भैरवनाच तथा स्थानीय कलाकारहरुले विभिन्न गीतहरुमा नाच प्रस्तुत गरेका थिए।
करीब ६ सयभन्दा बढि गोर्खा तथा तिनका परिवार जम्मा भएको सो कार्यक्रमको व्यवस्थापन संस्थाका महासचिव दलप्रसाद थापाले गरेका थिए। सांस्कृतिक कार्यक्रमको सञ्चालन विसन थापा तथा मिसेस घना थापाले गरेका थिए।
धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, नयां बर्षको अवसर पारेर बेलायतस्थित ग्रिनविच बरोका गोर्खाहरुले आइतबार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरे।
ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघले प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै राजदूत डा. चालीसेले गोर्खाहरुसंग बेलायतको इतिहास पुरानो रहेको बताए। उनले नेपाल र बेलाययतबिचको सम्बन्ध गोर्खाहरुकै कारण अझ बलियो भएको समेत जिकीर गरे। बेलायतीहरुले नेपालीहरुको बहादुरी र इमान्दारीताको कदर गरेको अनुभव सुनाउंदै राजदूत डा. चालिसेले बेलायती जनता गोर्खाहरुप्रति आभारी रहेको बताए।
ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष रिटायर्ड मेजर मनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उनले नयां बर्षको शुभकामना दिए। नयां बर्षमा नेपाल र नेपालीका लागि महत्वपूर्ण बर्ष सावित हुने राजदूतले बताए। शान्ति स्थापना र संविधान निर्माणका सवालमा यस बर्षे महत्वपूर्ण ठाउं लिने उनको भनाई थियो।
ग्रिनविच बरोकी मेयर बारबर बारविकले नेपाली नयां बर्षमा आफूलाई बोलाएकोमा आभार प्रकट गरिन्। उनले गोर्खापरिवार र बेलायती जनताबिच गहिरो सम्बन्ध रहेको बताईन्। गोर्खापरिवारको समस्याका बारेमा आफूपनि गम्भीर भएको उनको भनाई थियो। सो अवसरमा मेयर बारबर बारविकले विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेकी थिईन्। यसरी सम्मानित हुनेहरुमा समाजसेवी एवं नेपाली टिभिका प्रमुख मोहन गुरुङ, लण्डस्थित एल सि इ एम कलेज, सेसी, तथा विभिन्न व्यवसायीक संस्थाहरु छन्।