Archive for April 16th, 2011

युवकको गोली हानी हत्या

एचकेनेपाल डट कम संवाददाता-
सुर्खेत, भारतमा काम गरेर फर्केका एक नेपाली युवकको सुर्खेतमा गएराति गोली हानी हत्या भएको छ।

अज्ञात समूहको गोली प्रहारबाट साटाखानी -७ का ३० वर्षीय डम्बर थालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति करीव ११ बजे सुर्खेतको धुलियाविटमा उनको हत्या भएको हो।

भारतमा भ्याक्कु चालकका रूपमा कार्यरत मगरको घर फर्कदै गर्दा गोली हानी हत्या भएको हो। उनको शरीरमा तीन वटा गोली लागेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी राजु मानन्धरका अनुसार अहिले उनको शव पोष्टमार्टमको लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ राखिएको छ।

Recent Videos:

Popularity: 7%

5 comments April 16th, 2011

संविधान नबने माओवादी जिम्मेवार : ओली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का वरिष्ठ नेता केपी शर्मा ओलीले जेठ १४ गते संविधान निर्माण नहुने ठोकुवा गर्नुभएको छ।

आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहूँको चुँदीरम्घामा प्रथम भानु महोत्सवको समापन गर्दै नेता ओलीले निर्धारित समयमा संविधान नबने त्यसको जिम्मेवार माओवादी हुने बताउनुभयो।

नेताहरूले आफ्ना कुरालाई माथि पार्न खोज्दा समयको बर्बादी भइरहेको भन्दै उहाँले नेताहरूलाई कुराभन्दा शान्ति र संविधानको कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो।

नेता ओलीले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।

गत सोमबार राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नुभएको महोत्सवको समापनका अवसरमा सभासद् पासाङ शेर्पा, पूर्वसांसद टुकराज सिग्देल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीलगायतले चुँदीरम्घालाई नेपालकै पहिलो साहित्यिक पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

Recent Videos:

Popularity: 7%

1 comment April 16th, 2011

संविधान नबने दोष खनाल र प्रचण्डको : पौडेल

एचकेनेपाल डट कम संवाददाता-
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जेठ १४ गतेभित्र नयाँ संविधान बनेन भने यसको सम्पूर्ण दोष सत्ता घटकका दुई प्रमुख प्रधानमन्त्री झलनाथ खनाल र माओवादीका अध्यक्ष प्रचण्डले लिनुपर्ने बताउनुभएको छ।

नेता पौडेलले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यो असफलताको जिम्मा वर्तमान सत्ता गठबन्धनका दुई हस्ती उहाँहरू दुबैले लिनुपर्दछ भन्नुभयो।

लुकिछिपी गरिएको सातबुँदे सम्झौताका आधारमा यो सरकार बनेकोले यसले स्वरूप लिन पनि सकेको छैन, सर्वत्र असफता देखापरेको छ भन्दै उहाँले माओवादीलाई सरकारमा सामेल नभएसम्म शान्ति प्रक्रिया र संविधान निर्माणको काम अघि बढ्न सक्दैन भन्ने कुरा झुटो साबित भएको बताउनुभयो।

नेता पौडेलले माओवादीलाई सरकारमा सामेल गरेपछि पनि न त मुलुकमा शान्ति प्रक्रिया एक कदम अघि बढ्न सकेको छ, न त संविधान निर्माणमा कुनै प्रगति भएको छ भन्नुभयो।

Recent Videos:

Popularity: 7%

Add comment April 16th, 2011

बोक्सीको आरोपमा सिन्धुलीका दुई महिलालाई मलमूत्र खुवाइयो

एचकेनेपाल डट कम संवाददाता-
स्थानीय रानीचुरी गाविस– ४ किर्नेखोला निवासी दुई महिलालाई बोक्सीको आरोपमा जबरजस्ती सिस्नोपानी लगाउँदै मलमूत्र खुवाइएको छ।

जबरजस्ती बोक्सीको आरोपमा सिस्नो पानी लगाउँदै स्थानीय ३५ वर्षिया सोममाया घिसिङ र २७ वर्षिया मधुकुमारी घिसिङलाई जबरजस्ती मलमूत्र खुवाएको छ।

स्थानीय बासिन्दाको सहयोगमा सेतीमाया स्याङ्गतानको १० वर्षिया नातिनीलाई बोक्सी लगाई कपाल झारिदिएको आरोपमा जबरजस्ती मलमूत्र खुवाएर सिस्नो लगाएपछि आफूहरू न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयमा आएको पीडित सोममाया घिसिङ्गले बताउनुभयो।

बालिकाको कपाल झर्न थालेपछि उपचारका लागि बोलाएको धामीले जोखाना हेर्दा ती दुई महिलाको नाम लिएको आधारमा उनीहरूलाई चैत ३० गते सिस्नोपानी लगाउँदै मलमूत्र खुवाएको बताइएको छ।

स्थानीय हस्तबहादुर स्याङ्तान र डिलबहादुर थिङले बैठक छ भनेर बोलाई धामी चनकबहादुर थिङको आदेशमा सेतिमायाको घरको कोठामा थुनेर आफूहरूलाई मलमूत्र खुवाएको पीडित सोममाया घिसिङ्गले बताउनुभयो।

Recent Videos:

Popularity: 7%

1 comment April 16th, 2011

दरबार हत्याकाण्डका कारण राजसंस्था अन्त्य

एचकेनेपाल डट कम संवाददाता-
पूर्वमन्त्री अच्यूतराज रेग्मीले दरबार हत्याकाण्डका कारण ज्ञानेन्द्रको नेतृत्वको राजसंस्था अन्त्य भएको बताउनुभएको छ।

राष्ट्रिय धर्मसभा नेपालले राजधानीमा आयोजना गरेको नव वर्ष २०६८ सम्बन्धी विचार गोष्ठी र ‘ज्योतिष विज्ञान’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै रेग्मीले सो कुरा बताउनुभएको हो।

ज्ञानेन्द्रले हिन्दु सम्राट घोषणा गराउनेलगायतका अतिवादी क्रियाकलाप सञ्चालन गरेकाले पनि नेपाललाई धर्म निरपेक्ष घोषणा गर्ने वातावरण बनेको उहाँको तर्क थियो।

‘हिन्दु राष्ट्र कायम गर्न अब सबै सडकमा उत्रनुपरेको छ’– उहाँले भन्नुभयो।

कार्यक्रममा संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले २०६८ सालमा क्रोधी नामक सम्वत्सर परेकाले यसले नेपाल र विश्वलाई नकारात्मक फल दिने विचार व्यक्त गर्नुभयो।

Popularity: 7%

Add comment April 16th, 2011

आख्यानकार डा.गौतमका सम्पूर्ण कृति अब साझाले मात्र पाउने

एचकेनेपाल डट कम संवाददाता-
आख्यानकार डा.ध्रुवचन्द्र गौतमका सम्पूर्ण कृतिहरूको प्रकाशनको अधिकार साझा प्रकाशनले पाएको छ।

उक्त सम्बन्धी अधिकारका विषयमा साझा प्रकाशनका तर्फबाट उक्त प्रकाशनका अध्यक्ष एवम् महाप्रवन्धक ममता झा र आख्यानका डा.गौतमबीच सम्झौता भएको छ।

उक्त सम्झौतापछि अब डा.गौतमका अहिलेसम्मका प्रकाशित कृति र पछि प्रकाशन हुने कृतिको पाण्डुलिपी समेतको अधिकार साझा प्रकाशनले पाउने छ।

अहिलेसम्म समस्त प्रकाशनाधिकार दिइएको यस किसिमको सम्झौतालाई पहिलो मानिएको छ।

डा.गौतमका प्रकाशित अत्यधिक कृतिहरू साझा प्रकाशनले नै प्रकाशित गरेका छन्।

साझा लगायत अन्य प्रकाशकद्वारा प्रकाशित कृतिसमेत गरी डा. गौतमका अहिलेसम्म उपन्यास, कथा सङ्ग्रह, नाटक सङ्ग्रह, नियात्रालगायत तीन दर्जन कृति प्रकाशित भइसकेका छन्।

सम्झौतापछि आफ्ना अगाडि प्रकाशित भएका कृति साझा प्रकाशन बाहेकका प्रकाशकलाई पुन प्रकाशित नगरिदिनका लागि डा.गौतमले अनुरोध गर्नुभएको छ।

Popularity: 7%

Add comment April 16th, 2011

वरिष्ठ उपाध्यक्षमा राजकर्णिकार

एचकेनेपाल डट कम संवाददाता-
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार निर्वाचित हुनुभएको छ।

उद्योग वाणिज्य महासङ्घको कार्यसमितिका सदस्यहरूले गरेको मतदानमा राजराजकर्णिकार ३७ मत ल्याएर विजयी हुनुभएको हो।

उहाँका प्रतिद्वन्द्वी कुमोदकुमार दुगडले २४ मत ल्याउनुभएको थियो। ६२ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार अनुपस्थित भएपछि ६१ सदस्यले मतदान गरेका थिए।

यसैबीच आजै महासङ्घमा गत चैत २९ गते भएको चुनावबाट निर्वाचित कार्यसमितिले शपथ ग्रहण गरी कार्यभार सम्हालेको छ।

Popularity: 7%

Add comment April 16th, 2011

आगलागीमा तीन बालबालिकाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
उदयपुरको भुट्टार गाविस–६ मा हिजो दिउँसो भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दिनेश श्रेष्ठका दुई वर्षीय छोरा सुजन श्रेष्ठ तथा पहलमान श्रेष्ठका दुई वर्षीय छोरा सुवास श्रेष्ठ र पाँच वर्षीया छोरी पर्मिला श्रेष्ठ रहेका स्थानीय शिक्षक गोविन्द राउतले बताउनुभयो।

दिउँसो १२३० बजे भएको आगलागीमा दुई माउ भौंसी, दुई बाख्रासमेत जलेर खरानी भएको जनाइएको छ।

पहलमान श्रेष्ठका छ वर्षीय छोराले सलाई खेलाउने क्रममा परालको माचमा लागेको आगो घरमा सल्किएर दुवै घर जल्दा उनीहरूको मृत्यु भएको बताइएको छ।

घटनामा पहलमान श्रेष्ठ र दिनेश श्रेष्ठको दुवै घर जलेर नस्ट भएको छ।

जिल्ला सदरमुकामदेखि करिब ६० किलोमिटर पश्चिममा पर्ने घटनास्थलमा प्रहरी खटाइए पनि घटनास्थल पुग्न बाँकी रहेको जनाइएको छ।

Popularity: 7%

Add comment April 16th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....