Archive for April 20th, 2011

बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि सभासद्हरुले पहल गर्ने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, बेलायतस्थित विभिन्न पार्टीका सभासदहरुले प्रधानमन्त्री डेभिड क्यमरुनलाई नेपाल भ्रमणका लागि आग्रह गर्ने बताएका छन्।

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण अहिलेसम्म नभएको जनाउंदै कन्जरभेटिभ तथा लिबरल डेमोक्रेटीकहरुको संयुक्त प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न सक्ने बताएका हुन्।

क्यमरुनको नेपाल भ्रमणले नेपाललाई प्रत्यक्ष फाइदा नभएपनि केहि उपलब्धि भने अवश्य हुने उनीहरुले जिकीर गरेका छन्।

नेपलिज क्यार्र्टर्स एशोसियसनले सोमबार स्लाउस्थित एसिया रेष्टुरेन्टमा आयोजना गरेको साधारणसभामा कन्जरभेटिभ पार्टीका सभासद बब ब्ल्याकमेनले अहिलेसम्म बेलायतका प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको जनाउंदै प्रधानमन्त्रीलाई भ्रमण गर्नका लागि हौसला दिने बताए। उनले बेलायत गोर्खाहरुकै कारण यस अवस्थामा रहेको बताउंदै गोर्खाहरुको सममानका लागि पनि प्रधानमन्त्री नेपाल जानुपर्ने धारणा राखे। गोर्खाहरुका लागि हामी लड्नुपर्छ उनले भने ‘गोर्खाहरुले बेलायत बचाउन ज्यान बलिदानी गरेका छन्।’

नेपलिज क्यार्र्टर्स एशासियसनका अध्यक्ष ध्रुब केसीको अध्यक्षतामा भएको साधारण सभामा नेपालका लागि बेलायती राजदूत डा सुरेश चन्द्र चालीसेले नेपाल युरोप तथा अमेरीकी पर्यटकहरुका लागि अत्यान्त आकर्षक गन्तव्य भएको बताए । उनले नेपाल सस्तो पर्यटन, रोड तथा हवाई मार्गबाट सबैतिर जान सकिने, साहसीक पर्यटनका लागि उपयुक्त तथा सांस्कृतिक र धार्मिक रुपमा सम्पन्न भएको बताए।

बेलायती लेभर पार्टीका सभासद् विरेन्द्र मिश्रले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि फोकस गर्न सक्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको नेपाल भ्रमणले अर्थतन्त्रमा सहयोग नगरेपनि बेलायती जनतामा राम्रो छाप पर्ने बताए । उनले नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले बेलायतको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको जनाउंदै उनीहरुलाइ हौसला दिन आफू उपस्थित भएको जनाकारी दिए।

सो अवसरमा बेलायती लेभर पार्टरीका सभासद् फियोना म्याक्टागार्ड तथा स्लाउस्थित मेयर जगजीतसिंह ग्रेवाल, एन आर एनका अध्यक्ष सूर्य गुरुङलगायतले रेष्टुरेन्ट व्यवसायीहरुलाई शुभकामना दिएका थिए।

यसअघि, नेपलिज क्यार्टस एशोसियसनको साधारणसभाले व्यवसायी विजय थापालाई सर्वसम्मत अध्यक्ष चुनेको छ। स्थापनाकालदेखि सक्रिय थापा यसअघि महासचिव थिए। उनी तीन बर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष भएका हुन्। उनीसंगै उपाध्यक्षद्धयमा आरती श्रेष्ठ तथा सुरेन्द्र श्रेष्ठ, महासचिव किशोर सापकोटा, सहसचिव ओजेस डंगोल, कोषाध्यक्ष दौलत राई सर्वसम्मत चुनिएका छन्। कार्यसमितिका सदस्यहरुमा प्रेम लामा, ज्ञान केसी, डम्मर श्रेष्ठ र अशोक माली रहेका छन । त्यसैगरी संस्थाका सल्लाहकारहरुमा एन आर एन अध्यक्ष तथा व्यवसायी सूर्य गुरुङ, पूर्व अध्यक्ष तथा व्यवसायी मेजर डम्मर घले, एन आर एन उपाध्यक्ष एवं व्यवसायी कुल आचार्य, एन एन आर एन उपाध्यक्ष तथा व्यवसायी नरेन्द्र कंडेल, आर एन आइसीसी सदस्य एवं व्यवसायी पशुपति भण्डारी, व्यवसायी कमल गुरुङ रहेका छन्। निवर्तमान अध्यक्ष ध्रुब केसी विधानत सल्लाहकार रहने व्यवस्था छ।

साधारणसभामा उत्कृष्ठ व्यवसायीहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । बेलायतमा धनी नेपालीहरुको संस्था क्यार्टस एशोसिएसन २००२ सालमै स्थापित भएपनि खासै सफल हुन सकेको थिएन। बेलायतमा करीब २५० भन्दा बढि रेष्टुरेन्टहरु रहेको तथा त्यसमा १५०० भन्दा बढि नेपालीहरुले काम पाएको व्यवसायीहरुको तथ्यांक छ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत डा चालीसेले क्यार्टस एशोसियसनले प्रकाशनमा ल्याएको स्मारिका अगेना सार्वजनिक गरेका थिए।

Recent Videos:

Popularity: 7%

Add comment April 20th, 2011

आनेसास अष्ट्रेलियाको नयाँ कार्यसमिति गठन

भुवनेश्वर शर्मा / एचकेनेपाल डट कम-
अष्ट्रेलिया, स्थापनाको झण्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाको पुनर्गठन गरिएको छ।

पुनर्गठित नयाँ समितिको अध्यक्षमा भुवनेश्वर शर्मा, उपाध्यक्षमा कमल कुमारी तिमील्सिना भणडारी, सचिवमा सन्तोष कोइराला, कोषाध्यक्षमा रीना राई र सदस्यमा नवराज दाहाल रहनु भएको छ।

निवर्तमान तथा सस्थापक अध्यक्ष दीषक विष्टलाई अष्ट्रलियाको केन्दीय समितिको सल्लाहकार र संरक्षकमा सर्वसम्मतिले चयन गरेको छ। नयाँ कार्य समितिमा भुटानमा जन्मेका केही इच्छुक साहित्यिक सर्जकहरुलाई पनि समाबेश गरिएको छ।

नवप्रवेशी कार्यकारी सदस्यहरुमा राधा मल्ल, प्रकाश धमला, डोम काफ्लेर आर्टिष्ट मुना राई रहनु भएको छ। अष्ट्रलियाका अन्य शहरमा च्याप्टरहरु स्थापनाको संयोजनकालागि दीपक विष्ट र भुवनेश्वर शर्माले जिम्मेवारी लिनुभएको छ।

नयाँ कार्य समितिले सवै महादेशमा उपाध्यक्षको व्यवस्था गर्ने क्रममा अष्ट्रेलिया र अफ्रिकालाई एउटै समूहमा नराखियोस भनि अध्यक्ष ज्ञानेन्द्र गदाललाई एक प्रस्ताव पठाएको छ। अष्ट्रेलिया अफ्रिकावाट टाढा रहेको र अष्ट्रेलियामा झण्डै ६० हजार नेपाली रहेको पृष्ठभूमिमा अष्ट्रेलिया र न्युजिल्याण्डका लागि भिन्दै उपाध्यक्षको ब्यवस्था गरियोस् भन्ने अनुरोध सो प्रस्तावमा गरिएको छ।

समितीले विदेशमा वसेर नेपाली वागंमयको प्रवर्द्धनको लागि एक पुरस्कारको गठन गर्ने विषयमा गृहकार्य सुरु गरेको छ।

नया कार्यसमितिका पदाधिकारीहरुको संक्षिप्त परिचय:
भुवनेश्वर शर्मा… अध्यक्ष
स्वतन्त्र पत्रकार, दक्षिण अस्ट्रेलियामा पहिलो नेपाली सामुदायिक रेडियोको स्थापना, संयोजक र प्रस्तोता, साहित्य र पत्रकारितामा त्रिभुवन विश्व विद्यालयवाट स्नातक/ स्नाकोत्तर, नेपालमा राइजिग नेपाल र कान्तिपुर टेलिभिजनमा झण्डै ६ वर्ष कार्यरत, साहित्यमा विशेष गरी आधुनिक काब्यमा रुची। जन्म गुल्मीको ग्वाघा।
दीपक विष्ट …. सल्लाहकार तथा संरक्षक
समाज शाष्त्रमा फिलिन्डर्स विश्व विद्यालयवाट स्नाकोत्तर, समाजसेवामा संलग्न, विदेशमा नेपाली साहित्यको प्रबर्धनमा विशेष रुची, हालै प्राइड अफ अष्ट्रलिया पदकवाट सम्मानित, जन्म प्युठान
कमल कुमारी तिमिल्सीना.. उपाध्यक्ष
अष्ट्रेलिया आउनुअघि अग्रेजी साहित्यको प्राध्यापन, कविता तथा समालोचना विधामा विशेष रुची, मधुपर्क र साझाका प्रकाशनहरुमा दर्जनौ साहित्यिक रचनाहरु प्रकाशित, जन्म चितवन
रीना राई .. कोषाध्यक्ष
समाज शाष्त्रमा फिलिन्डर्स विश्वविद्यालयवाट स्नाकोत्तर, सोसल वर्करको रुपमा कार्यरत, साहित्य र विशेष गरी गितिकथा लेखनमा रुची, जन्म ओखलढुगा
मुना राई .. सदस्य
रेडियो प्रस्तोता, आर्टिष्ट, कम्युनिटी वर्करको रुपमा कार्यरत, जन्म ओखलढुगा
राधा मल्ल.. सदस्य
अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयवाट स्नाकोत्तर, सामाज साश्त्रमा फिलिन्डर्स विश्व विद्यालयवाट स्नाकोत्तर, साहित्यमा रुची, कविता लेखन, जन्म कास्की
नवराज दाहाल.. सदस्य
पेशाले इन्जिनियर, युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाबाट विद्यावारिधी गर्दै । साहित्य विशेष गरी गध विधामा विशेष रुची, जन्म दोलखा
सन्तोष कोइराला … सचिव
पेशाले इन्जिनियर, साहित्यमा विशेष रुची, लेखहरुको प्रकासन, जन्म कास्की
प्रकाश धमला
रेडियोमा साहित्य कार्यक्रमको संचालन, रेडियो प्रस्तोता, गजलकार, जन्म भुटान
डोम काफ्ले
रेडियो प्रस्तोता, नेपाली साहित्यमा रुची, गजलकार, जन्म भुटान

Recent Videos:

Popularity: 7%

Add comment April 20th, 2011

पत्रकार महासंघ कास्कीमा तालाबन्दी

धाँधलीपूर्ण चुनाब पद्धतिको पत्रकारद्वारा विरोध
पत्रकार नविन सिग्देलद्धारा आमरण अनसनको घोषणा

कृपा भण्डारी / एचकेनेपाल डट कम-
पोखरा, पत्रकार महासंघ कास्की शाखाले चुनाव नै नगरी आगामी वर्षको लागि आफू आफूमा पदको बाँडफाँड गरी नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेकोमा पोखरामा क्रियाशिल पत्रकारहरुको एक समूहले उक्त विधिको घोर विरोध गरेको छ।

उनीहरुले पत्रकार जस्तो साझा संस्थामा पनि राजनैतिक चलखेल भएको भन्दै न्यायसंगत र विधिसंगत चुनाव हुनुपर्ने माग स्वरुप विरोध जनाएका हुन्।

विरोध स्वरुप पत्रकारको टोलीले पत्रकार महासंघ कास्कीमा तालाबन्दी गरेको छ। पत्रकार मेघराज आचार्यले पत्रकार महासंघ कास्की शाखामा ताला लगाएका हुन्। पत्रकार आचार्यले लोकतन्त्रमा कुनै पनि संस्था चुनावी प्रक्रियामा जानुपर्ने भन्दै कोठामा बसेर गरिएको निर्णय आफूहरुलाई मान्य नहुने बताए।

करीव ४० जना पत्रकारको टोली सम्मिलित सो समूहले केही समय पत्रकार महासंघ कास्की शाखामा नारावाजी पनि गरेको थियो।

अवको नेतृत्व श्रमजीवि पत्रकारको पक्षमा वकालत गर्नसक्ने हुनुपर्ने भन्दै सो टोलीले अव युवा नेतृत्व आवाश्यक रहेको बताए। त्यसको लागि निष्पक्ष चुनाव जरुरी रहेको बताएको छ। पत्रकारहरुको विरोधप्रति पोखराका इन्सेक लगायतका संस्थाहरुले पनि समर्थन जनाएका छन्।

यसैविच, पत्रकार महासंघ कास्कीको चुनाव न्यायसंगत तरिकाले छिटो भन्दा छिटो हुनुपर्ने माग राख्दै पत्रकार नविन सिग्देलले आमरण अनसनको घोषणा गरेका छन्। आदर्शसमाज पत्रिकामा कार्यरत पत्रकार सिग्देलले दिउँसो २ वजेबाट पत्रकार महासंघ कास्कीमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्।

Recent Videos:

Popularity: 7%

Add comment April 20th, 2011

महाभूकम्प र सुनामीबाट मृत्यु र बेपत्ता हुने २८ हजार हाराहारी

सोनाम शेर्पा / एचकेनेपाल डट कम-
टोकियो, बैशाख ७ - गत मार्च ११ तारिख शुक्रवार दिउंसो २ बजेर ४६ मिनट जाँदा उत्तर-पूर्वी जापानमा जापानको इतिहासमै पहिलो चोटि आएको ९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछि आएको सुनामीमा परेर अहिलेसम्म १३ हजार ८ सय ५८ जनाको मृत्यु र १४ हजार ३० जना बेपत्ता भएका छन्।


हालै प्रहरी प्रधान कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रहरीले जाँचबुझ गरेका १३ हजार १ सय ३५ लास मध्ये (९२.५ प्रतिशत) १२ हजार भन्दा बढीको मृत्यु पानीमा डुब्नका कारण र (४.४ प्रतिशत) ५७८ जनाको मृत्यु आगोले जलेर भएको थियो।

प्रहरी प्रवक्ताले मंगलवार दिएको जानकारी गराए अनुसार महाभूकम्प र सुनामीमा परेर अहिलेसम्म मृत्यु हुनेहरुमा मियागिका ८ हजार ४ सय १२ जना, ईवातेका ३ हजार ९ सय ९६ जना, फुकुसिमाका १ हजार ३ सय ८७ जना, होक्काईडोका १ आओमोरीका ३, यामागाताका १, टोकियोका ७ ईबाराकिका २२, तोचिगिका ४ गुन्माका १ चिबाका १७ र कानागावाका ४ जना छन्।

त्यस्तै अहिलेसम्म बेपत्ता हुनेहरुमा मियागीका ७ हजार ७ सय ५७ जना, ईवातेका ४ हजार ५ जना र फुकुशीमाका २ हजार २ सय ६४ जना छन्। प्रहरी प्रवक्ताका अनुसार बेपत्ता हुनेहरुलाई भेट्टाउने सम्भावना अति न्यून छ। उनीहरुलाई अहिलेसम्म या त माछाले खाएको हुन सक्छ या त समुद्रले बगाएर कतै अन्तै पुर्याएको हुन सक्छ भन्ने विश्वाश लिईएको छ।

अहिलेसम्म पहिचान भएको लास मध्य १० बर्ष भन्दा मुनिका बालबालिका ३९१ जना (३.५ प्रतिशत) १० देखि १९ बर्षका ३३६ जना (३ प्रतिशत) २० देखि २९ बर्षका ३९९ जना (३.६ प्रतिशत) ३० देखि ३९ बर्षका ६३४ जना (५.७ प्रतिशत) ४० देखि ४९ बर्षका ७८७ जना (७.१ प्रतिशत) ५० देखि ५९ बर्ष १३२० जना (११.९ प्रतिशत) ६० देखि ६९ बर्षका २१२४ जना (१९.१ प्रतिशत) ७० देखि ७९ बर्षका २६६३ जना (२४ प्रतिशत) र ८० बर्ष भन्दा माथिका २४५४ जन (२२.१ प्रतिशत) छन्।

जस अनुसार मृत्‍यु हुने ३ जना मध्ये २ जना (६५.२ प्रतिशत) ६० बर्ष भन्दा माथिका छन्। दिउँसोको समय भएकोले बालबालिकाहरु स्कुल गएको र २० बर्षदेखि ३५ बर्षसम्मका अधिकांश युवाहरु त्यस क्षेत्रभन्दा बाहिर रहेकोले नयाँ पिढींले क्षति भोग्न नपरेको हो।

जापानका स्कुल भवनहरू अति सुरक्षित ठाउँ मानिन्छ र बिपतको बेला आपतकालिन शिबिरको रुपमा प्रयोग गरिन्छ भने रोजगारीको सिलसिलामा आओमोरी, यामागाता आकिता ईवाते, मियागी र फुकुशिमालगायतका प्रान्तहरुको युवा युवतीहरु योकोहामा, कावासाकी र टोकियो जाने गर्दछन्।

अहिले भूकम्प र सुनामी ग्रषित क्षेत्रको पुन: निर्माणको कार्य युद्धस्तरमा भैरहेको छ। राजमार्ग, प्रान्त र क्षेत्रमार्ग र पुल निर्माणको कार्य ९९ प्रतिशत सकिएको छ भने बजार र गल्लीका बाटोहरु खुलाउने कार्य जारी छ। ८७ प्रतिशत घरहरुलाई बत्ती, पानी ग्यास र टेलिफोन बितरण सुरु गरेका छन् भने भूकम्प र सुनामीबाट बचेको पसल, कल कारखानहरु पुन:संचालनमा ल्याईएको छ। अहिल जापान भरका हाईस्कुल र विश्वाबिद्यालयका विद्यार्थीहरु हजारौको संख्यामा पालैपालो स्थानीयवासीको घर सफा र मर्मतमा खटेका छन्।

त्यस्तै अन्य क्षेत्रबाट पनि हाजारौ हजारको संख्या जापानीलगायत जापानमा बसोबास गर्ने बिदेशीहरुले श्रमदान दिने कार्य जारी छ। प्राप्त समाचार अनुसार जापानमा कृयाशिल नेपाल जनसम्पर्क समिति जापानले महा-भूकम्प, सुनामी तथा विकिरणबाट अति प्रभावित मिनामी सोमा सहरमा अप्रिल २४ तारिख आइतबारको दिन मर्मत, सम्भार, संरक्षण, सरसामानहरुको सरसफाई गर्न श्रम सहयोग गर्ने भएको छ।

यता जापानवासी नेपाली लगायत बिदेशीहरु बिच भूकम्प र सुनामीद्वारा बिस्थापित हुनेहारुलाई तातो खाना खुवाउने होडबाजी नै चलेको छ। प्राप्त जानकारी अनुसार शेर्पा संघ जापानले पनि आउने आईतावार त्यस क्षेत्रको ४०० जनालाई नेपाली खाना खुवाउदै छ। सहयोग गर्नु राम्रो हो र गर्नु पनि पर्छ तर दिनेश बस्नेतजीको लेख “सुनामीमा डुबेका नेपालीको हातमा हजारको नोट”मा भने झै “परेका बेला गरेको सहयोगले मात्र सहयोग लिने व्यक्तिका लागि अर्थ राख्छ”, अहिले शिबिरहरुमा गएर खाना खुवाउनुको कुनै अर्थ राख्दैन किन कि ति शिबिरहरुमा त भूकम्प गएको १ हप्ता पछिबाट नै तीन छाक तातो खनाको ब्यबस्था गरिदै आएको थियो। अलि अलि भात्किएको हजारौको संख्यामा त्यस क्षेत्रका मान्छेहरु आफ्नै घरमा बस्दै आएका छन् र अझै पनि ब्यक्तिगत र संस्थागत बाहेक सरकारी राहत उनीहरु माँझ पुग्न सकिरहेका छैनन्।

अहिले जापानवासी नेपालीहरु माँझ जापानमा आएको भूकम्प कसैलाई पैसा कमाउने थलो त कसैलाई राजनीति गर्ने थालो बनेको छ भन्नेहरु पनि प्रशस्त मात्रमा देखिन थालेका छन्। तसर्थ सकिन्छ भने सहयोग गर्न जुटेका हातहरु सरकारी राहत सामाग्री पुग्न नसकेका ति क्षेत्रसम्म लम्काउन सकियो भने सहि अर्थमा सहयोग हुने थियो कि? त्यस क्षेत्रसम्म पुग्न भौगोलिक हिसाबले अलि कठिन छ तर त्यस क्षेत्रसम्म जानु अति जरुरी छ।

जापान रेडक्रसले जानकारी गराए आउनुसार १८ तारिख सोमबारसम्म संसारका १९ लाख ५ हजार ८ सय २ ब्यक्ति र संस्थाले १ खर्ब ३९ अर्ब ४४ करोड १० लाख एस् हजार ५ सय १३ जापानी यान (लगभग १ अर्ब ६८ करोड २० लाख अमेरिकन डलर) आर्थिक सहयोग गरिसकेका छन्।

Recent Videos:

Popularity: 7%

Add comment April 20th, 2011

भारतीय विदेशमन्त्री नेपालमा

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकारको निमन्त्रणमा भारतका विदेशमन्त्री एसएम कृष्णा आजदेखि नेपालको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्छ।

मंगलबार दिउँसो नेपाल आउनु भएका विदेशमन्त्री कृष्णाले राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री झलनाथ खनालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतीय विदेशमन्त्रालयले विदेशमन्त्री कृष्णाको यो भ्रमणबाट दुई देशबीचको उच्चस्तरीय अन्तरक्रियाले निरन्तरता पाएको छ।

नेपालका अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री कृष्णाले वीरगञ्जको भ्रमण गरी त्यहाँ निर्माण गरिने तराइ सडक परियोजना र एकीकृत जाँचचौकीको शिलान्यास गर्नुहुने भारतीय विदेश मन्त्रालयले भ्रमणको पूर्वसन्ध्यामा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कृष्णा विदेशमन्त्रीमा नियुक्त भएपछि उहाँको यो दोस्रो नेपाल भ्रमण हो।

Popularity: 7%

Add comment April 20th, 2011

रातो पासपोर्ट दुरुपयोग गर्ने सभासद् साह र यादव पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
दुई सभासद् कूटनीतिक राहदानी ‘रातो पासपोर्ट’ दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनता दलकातर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादव छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ती दुवै सभासद्लाई संविधानसभा भवन नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै सभासद्लाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ।

प्रहरीले कूटनीतिक राहदानी दुरुपयोग गरेको निष्कर्षसहित थप अनुसन्धानका लागि सभासद्द्वयलाई पक्राउ गरेको जनाएको छ।

सभासद्द्वयको नाउँमा जारी गरिएको कूटनीतिक राहदानीमा आफ्नो फोटो टाँसगरी अबुधावी हुँदै अष्ट्रेलिया जान लागेका दुईजना व्यक्ति गत जनवरी १६ मा अबुधावीमा पक्राउ परेका थिए।

सो घटनापछि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्द्वयबाट कूटनीतिक राहदानी दुरुपयोग भए नभएको विषयमा छानविन सुरु भएको छ।

सभासद् यादवको राहदानीमा आफ्नो फोटो टाँसेर प्रयोग गर्ने पृथ्वी छन्त्याल भएको तथा सभासद् साहको राहदानी प्रयोग गर्ने महिलाको भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

Popularity: 6%

1 comment April 20th, 2011

कंसाकारलाई विशेष अदालतको सफाइ

एचकेनेपाल डट कम संवाददाता-
जहाज खरिद प्रकरणमा अनियमितता भएको आरोपमा मुद्दा खेपिरहेका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कङ्शाकारलाई विशेष अदालतले सफाई दिएको छ।

कङ्शाकारले गत २०६६ सालमा निगमको दुईवटा नयाँ जहाज खरिदका लागि भन्दै छ लाख पचास हजार डलर एयर बस कम्पनीलाई बैनास्वरुप पठाएका थिए।

जहाज खरिदको विषयलाई लिएर पटकपटक बैठक बसेको सार्वजनिक लेखा समितिको बैठकले जहाज खरिद प्रकरणमा अनियमितता भएको भन्दै तत्काल खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको थियो।

समितिको निर्देशनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतबर्ष पुस ९ गते कङशाकारसहित अन्य छजना कर्मचारीविरुद्ध अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

दायर मुद्दामा भएको अन्तिम फैसलामा प्रतिवादी कङ्शाकारले सार्वजनिक संस्थाको रकम हिनामिना गरेको, घुस लिएको, घुस खाएको वा लिनु खानु गरी व्यक्तिगत लाभ लिएको नदेखिएकाले भ्रष्टाचारको दाबीमा सफाई पाउने ठहर गरिएको उल्लेख छ।

विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले बैनास्वरुप पठाएको रकम पनि आइसकेको भन्ने वायु सेवा निगमको पत्रमा उल्लेख भइसकेकाले उनले जहाज खरिद प्रक्रियामा कुनै अनियमितता नगरेको स्पष्ट प्रमाणका आधारमा सफाई दिएको बताउनुभयो।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरूद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयूक्त इजलाशले आज सो फैसला गरेको हो।

फैसलामा अन्य ६ जना प्रतिवादीको हकमा भने फैसलामा प्रमुख प्रतिवादीले नै सफाई पाएको सन्दर्भमा अन्य मतियार मात्र भएकोले स्वतः सफाइ पाउने ठहर छ भनिएको छ।

Popularity: 6%

Add comment April 20th, 2011

चार सभासदको अवरोधले संसद स्थगित

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका—संसदको हिजोको बैठक चार जना सभासद्को अवरोधका कारण निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी, दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सभासद् सद्रुल मिया हकले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरेको भन्दै रोष्ट्रमअगाडि १० मिनेट नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

सभामुख सुवास नेम्वाङले नाराबाजीका बीच संसदमा उठाइएका मागप्रति सरकारको ध्यानाकर्षण भइसकेको र महत्वपूर्ण विषयहरूमा छलफल गर्नुपर्ने भएकाले आ–आफ्नो स्थानमा बसी सहयोग पुर्‍याउन पटकपटक आग्रह गर्नुभएको थियो।

बैठकको प्रारम्भमा चार असन्तुष्ट सभासद्का तर्फबाट सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीले समय माग गर्दै आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायको माग सुनुवाइ नभएको भनी सरकारको आलोचना गर्नुभयो।

उहाँले आफूहरूले उठाएका माग पूरा नभएसम्म संसदको कारबाही अघि बढ्न नदिने बताउनुभयो।

Popularity: 6%

Add comment April 20th, 2011

१० करोडले फोहोरमैलाको समाधान हुन्छ- इ. राई

१० करोडले फोहोरमैलाको समाधान हुन्छ- इ. राई
लामो समयदेखि काठमाडौं महानगरपालिकामा वरिष्ठ इन्जिनियरको रुपमा कार्यरत रवीन्द्रकुमार राई अमेरिकाको फिलाडेल्फियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी गोष्ठीमा सहभागी हुन आउनुभएको समयमा विजय पौडेलले न्युयोर्कमा गरेको कुराकानीको सारः

काठमाडौं महानगरपालिकाअर्न्तर्गत कुन शाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ?
म लामो समयदेखि फोहोरमैला व्यवस्थापन शाखाको इन्जिनियरको रुपमा कार्यरत छु।

अमेरिकामा अहिले कुन कामका लागि आउनुभएको हो - व्यक्तिगत कि महानगरपालिकाकै कार्यक्रमअर्न्तर्गत?
केही समयअगाडि मैले प्रिजेन्ट गरेको प्रोजेक्ट फिलाडेल्फियाको वाइडिनर युनिभर्सिटीको एउटा गोष्ठीका लागि छनोट भयो। जुन गोष्ठी काठमाडौंको अहिलेको जल्दोबल्दो समस्या फोहोरमैलासम्बन्धी थियो, त्यसैका लागि भाग लिन अमेरिका आएको हुँ।

यो कार्यक्रममा कति जना सहभागी थिए?
४० राष्ट्रका झण्डै १ सय १० जना सहभागी थिए।

फोहोरमैलासम्बन्धी कार्यक्रममा नै भाग लिन भनेर आजसम्म कति वटा देशको भ्रमण गर्नुभयो -
यसअगाडि जापान, कोरिया, मलेसियामा आयोजित कार्यक्रमहरुमा भाग लिएको छु।

हाल महानगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि कति जना कर्मचारी कार्यरत छन्?
हाल काठमाडौं महानगरपालिकामा १००० जना वातावरणसँग सम्बन्धित कर्मचारी कार्यरत छन्।

एक हजार कर्मचारी छन्, उपल्लो दर्जाका सबै अधिकारी पटकपटक सभा, सम्मेलन, गोष्ठी, तालिममा विकसित देशहरुमा सहभागी भएकै छन्, दातृ निकायले स्रोतसाधन उपलब्ध गराएकै छन् र पनि किन काठमाडौं नगरपालिकामा फोहोरमैलाको समस्या समाधान नभएको हो?
नेपालमा मात्र होइन, विकसित मुलुक मलेसियामा समेत फोहोरमैला व्यवस्थापनको त्यत्तिकै समस्या छ । फिलिपिन्समा पनि यस्तै समस्या छ । हामीसँग पुरानो पद्धति ल्याण्डफिल्ड पद्धति मात्र छ, एक्काइसौं शताब्दीमा ल्याण्डफिल्ड पद्धति सफल हुँदैन अन्य पद्धतिका लागि हामी आर्थिक रुपमा सम्पन्न छैनौं।

अमेरिकामा जस्तै रिसाइकल प्लान्ट नेपालमा स्थापना गरेर काठमाडौंको फोहोरलाई दर्ीघकालीन रुपमा समाधान गर्न कत्तिको सम्भव छ त?
सम्भव छ । किन नहुनु?

अनि केले अड्कायो त त्यस्तै प्रकृतिको रिसाइकल प्लान्टको लागि?
१० करोड मूल्य पर्ने प्लान्ट र ४० रोपनी जग्गा भएको खण्डमा सिंगो काठमाडौंको फोहोरको हामी दीर्घकालीन समस्या हल गर्न सक्छौं।

काठमाडौं महानगरपालिका १० करोड लगाउन सक्ने अवस्थामा छैन? त्यसमाथि ४० रोपनी जग्गाको कुरा गर्नुभो, अहिले नै ओखरपौवामा झण्डै दुइ सय रोपनीभन्दा बढी जग्गा फोहोरका लागि प्रयोग हुंदै आएको छ ?
१० करोड रुपैयाँ पनि जुट्न सक्छ । रिसाइकल प्लान्टको स्थापना गर्दै फोहोर व्यवस्थापनको ठेक्का देऊ भन्दै सयौं प्रस्ताव पनि आएका छन् तर फिजिबिलिटी अध्ययन गरेपछि पछाडि हट्ने गर्छन्, त्यसमा पनि सबैभन्दा मुख्य कारक तत्व देशको अस्थिर राजनीति नै हो। अस्थिर राजनीतिले धेरै काम हुन पाएको छैन।

अस्थिर राजनीतिलाई दोष दिने हाम्रो परम्परा नै बनिसकेको छ, त्यो भन्दा पनि महानगरपालिका नै यो समस्याको समाधान चाहंदैन, यसै विषयको राजनीति गराएर नगरपालिकाले मागिखाने भाँडो बनाएको छ भनिन्छ नि?
हामीले त समस्याको समाधान चाहेकै छौं । राजनीति पनि एउटा कारक तत्व हो र तपाईंले भन्नुभएको कुरा शतप्रतिशत गलत पनि होइन।

काठमाडौंको बाहिरी चक्रपथको कुरा कहाँ पुग्यो?
बाहिरी चक्रपथको प्रसंग हाललाई रोकिएको छ बरु यसको सट्टामा हालको रिंगरोडलाई नै आठ लेनको बनाउने तयारी हुँदैछ।

Popularity: 6%

Add comment April 20th, 2011

इटालीको मिलान शहरमा नयाँ बर्ष भव्यताका साथ सम्पन्न

किरण काफ्ले / एचकेनेपाल डट कम-
इटाली अप्रिल १७, इटालीको शहर मिलानमा बसोबास गरिरहेका नेपाली दाजुभाइ- दिदीबहिनीहरुले शुभकामना आदान-प्रदान, जलपान तथा संस्कृतिक कार्यक्रम गरि हर्षोल्लासका साथ नेपालीहरुको नयाँ बर्ष २०६८ मनाएका छन।

नेपाल मितेरी मञ्च, मिलानको आयोजनामा सम्पन्न कार्यक्रममा लोम्बर्दियाबासीको उत्साहजनक सहभागितासंगै इटालीका बिभिन्न शहरमा बसोबास गरिरहेका नेपालीहरुसंगै बिदेशी पहुनाहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रम नेपाल मितेरी मञ्चका सदस्य मुकुन्द पौड्यालले आसन -ग्रहणबाट सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमका सभापति, एनआरएन युवा प्रतीनिधि, नेपाल मितेरी मञ्च मिलानका अध्यक्ष संगमकुमार राना, प्रमुख अथिति नेपाल मितेरी मञ्चका सल्लाहकार तथा गैर आवासीय नेपाली संघ एडोक कमिटी इटालीका अध्यक्ष डा. भिम ब. बाम, बिशेष अतिथि श्रीमती जानकी देवी राणा, अतिथि मञ्चका सल्लाहकार र एआरएन इटालीका सह-सचिव बिशाल तामांग, नेपाली समाज रोमबाट भिम सुनुवार, बोलोनिया बाट देव कुमार गजमेर तथा नेपाली समाज भारेजेको तर्फवाट चन्द्र रानाले आसन ग्रहण गर्नु भाको थियो। दीप प्रज्वलन गरि श्रीमती जानकी देवी राणाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

शुभकामना मन्तव्यम़ा डा. बाम, जानकी देवी राणा, देव कुमार गजमेर, भिम सुनुवार, चन्द्र रानाले नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो भने औपचारिक कार्यक्रम संगम कुमार रानाले धन्यबाद मंतव्य संगै नया बर्षको शुभकामनासंगै समापन गर्नुभएको थियो।

त्यसपछि, नेपाली साथीभाई, बिदेशी पाहुनाहरुले नेपाली खाना र आचारको परिकारको स्वाद लिएपछि संस्कृतिक कार्यक्रमको सञ्चालन मुकुन्द पौड्यालले गर्नु भाको थियो। नेपाली गीत-संगीतले सभाहल गुन्जायमन भयको थियो। सांस्कृतिक कार्यक्रमको सुरूवात भिम सुनुवारको राष्ट्रभक्ति गीतबाट भएको थियो भने रोजन राना, आकाश श्रेष्ठ, देव कुमार गजमेर ले आ-आफ्नो स्वरमा रमाइलो र सुमधुर गीत प्रस्तुत गरेका थिए।

नृत्य मा एलिशा महर्जन, निशा शेरचन, अन्जु राना ,बिजय राना, मनोज श्रेष्ठ, लक्षुमनले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए। मनोज श्रेष्ठको क्यारिकेचर, भिम सुनुवारको मुक्तक र बिजय रानाको हास्य नृत्यले सबै दर्शकहरु लट्ठ परेका थिए। कार्यक्रममा श्री गोपाल गुरुङ तथा थाक्पू नोर्बु शेर्पाले बिशेष आर्थिक सहयोग गर्नु भएको थियो। साथै कार्यक्रम सफल पार्नको लागि रोजन राना, किरण काफ्ले, अशोक उप्रेती, बिजय भुषाल, मुकुन्द पौड्याल, आकाश श्रेष्ठ, पुरु लामिछाने,भानु भट्टराई, दिलिप गौडेल, प्रविण धिताल, प्रवेश सुबेदी, योगेश रिजाल, रबिन बानियाको बिशेष भूमिका रहेको थियो।

Popularity: 6%

Add comment April 20th, 2011

देश चलाउन नसक्ने सरकारले संविधान वनाउन सक्दैन -गुरुङ

भानु पराजुली / एचकेनेपाल डट कम-
पोखरा, नेपाली कांग्रेसका यूवा नेता एवं पूर्वराज्यमन्त्री महादेव गुरुङले देश चलाउन नसक्ने सरकारले नयाँ संविधान वनाउन नसक्ने बताउनुभएको छ।

प्रधानमन्त्री चयन भएको लामो समय हुँदा सरकारले पूर्णता पाउन नसक्नु दुर्भाग्य भएको नेता गुरुङको भनाई छ। नेपाल विद्यार्थी संघ वनविज्ञान अध्ययन संस्थान पोखराले नव आगन्तुक विद्यार्थीको लागि गरेको स्वागत एवं नेपाल विद्यार्थी संघको ४२ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा वोल्दै, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री गुरुङ्गले शान्ति र संविधानको विकल्प नरहेको बताउनुभयो।

अहिलेको माओवादी एमाले गठवन्धन सरकार नै नयाँ संविधानको वाधक भएको कारण सवै दलको सहमतिय सरकार वन्नुवपर्ने नेता गुरुङ्गले बताउनुभयो। माओवादीले विगतमा गरेको सहमतिलाई इमान्दारीताका साथ पालना गरे मात्रै पनि नयाँ सहमतिको वातावरण वन्नसक्ने नेपाली कांग्रेसका यूवा नेता गुरुङले बताउनुभयो। कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डिन डाक्टर केशवदत्त अवस्थी, क्याम्पस प्रमुख हरिप्रसाद त्रिपाठी, नेपाली कांग्रेस कास्की जिल्ला सदस्य देवेन्द्र शेरचन, नेपाल तरुण दलका केन्द्रिय सदस्य वृन्दा रानामगर, नेवि संघका केन्द्रिय सदस्य पवन नेपाल, आनन्द त्रिपाठी, नेवि संघ कास्कीका सल्लाहकार सरोज केसी, नेवि संघ कास्कीका अध्यक्ष लक्ष्मी पौडेल, उपाध्यक्ष मदनराज पौडेल, स्ववियू कार्यवाहक सभापति रामअवतार चौद्यरी, इकाई सचिव निरजवावु भट्ट लगायतले वोल्नुभएको थियो।

नेवि संघ वन विज्ञान अध्ययन संस्थानले ४२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको नेविसंघ इकाई सभापति जितेन्द्रसिँह खड्काले जानकारी दिनुभयो। सप्ताहव्यापी कार्यक्रम अर्न्तगत फुटवल, भलिवल, वाँसकेटवल, वतृत्वकला लगायतका प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पूर्वराज्यमन्त्री गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो।

Popularity: 6%

Add comment April 20th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....