चिरन शर्मा / एचकेनेपाल डट कम-
लण्डन, गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन नेपालको प्रबर्द्धन भन्ने नारासहित गैरअवासीय नेपाली सघं अन्त्राष्ट्रिय परिषद (एनआरएनए) को छौटो क्षेत्रीय सम्मेलन आगामी जुलाई २३ देखि २५ तारिखसम्म रुसको राजधानी मस्कोमा हुनेभएको छ।
गैरअवासीय नेपाली सञ्जालको सम्बर्द्धन र नेपालको प्रवर्द्धनका बिषयवस्तुमा सम्मेलन केन्द्रित रहने सम्मेलन आयोजक समितिका संयोजक जीवा लामिछानेले जानाकारी दिए। ‘सम्मेलनमा सञ्जालले ब्यापक र सृदृढीकरणका सम्भाबनाहरुमाथि छलफल गर्ने र नेपालको विकासका लागि गैरअवासीय नेपालीलाई कसरी परिचालन गर्ने भन्ने विषयमा बहस हुनेछ लामिछानेले भने। ‘सामुहिक लगानी, बैदेशिक रोजगारिका समस्या र परोपकार तथा सामाजिक कार्यका सम्भावनाका पनि सम्मेलनमा छलफल गरिनेछ।’ लामिछानेका अनुसार विश्वका करिब ४० देशका करिब चार सय गैरआवासीय नेपालीहरुले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ। साथै नेपाल सरकारको तर्फबाट उच्च प्रतिनिधि तथा ब्यवसायीलगायत नेपाली सञ्चारका प्रतिनिधिले भाग लिने छन्।
यसै गरी, गैरअवासीय नेपाली संघ यूरोपका संयोजक क्याप्टेन हितमान गुरुङले सम्मेलनमा पुनः दोहोरो नागरिकताको मुद्दामा पनि छलफल गरिने बताए । देशको राजनीतिक अवस्था परिवर्तन भएको अवस्थामा एक पटकको नेपाली संधैको नेपाली हुन पाउने अधिकार सुनिश्चत हुनु पर्ने कुरामा जोड दिइने गुरुङले बताए। गुरुङले भने सम्मेलनमा चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा निर्वाचित कार्यसमितिको समीक्षा र आगामी अक्टोबरमा हुने पाचौ अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा समेत छलफल गरिने छ।
सम्मेलन तयारिका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो संयोजक रहेको ३४ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ भने एनआरएनए बर्तमान उपाध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा ४९ जना रहेको सम्मेलन आयोजक समिति बनाइएको छ।
सम्मेलनको आर्थिक ब्यवस्था मिलाउन एनआरएनएका कोषाध्यक्ष रामेश्वर शाहको संयोजकत्वमा १९ सदस्य आर्थिक संकलन समिति गठन गरिएको छ। क्याप्टेन हितमान गुरुगको संयोजक अन्तर्राष्ट्रिय संयोज समिति गठन गरिएको छ उक्त समितिमा १० सदस्य छन्। यसैगरी, आमन्त्रण, भिषा र आवासको प्रबन्ध मिलाउन डा. बद्री केसीको संयोकत्वमा ४ सदस्य रहेको समिति गठन गरिएको छ।
डा. जुगल भुर्तेलको संयोजकत्वमा चार सदस्यीय प्रकाशन समिति गठन गरिएको छ। सम्मेलनलाई सफल पार्न होमराज आचार्य, गोबिन्द गौतम, डा. कुमार बस्नेत, डा. मधु कृष्ण श्रेष्ठ, डा. सचिन शाक्य, डा.बिमला बस्याल भण्डारी, डा. कुमार कार्की, टेकराज निरौला, डा. समता प्रसाद, डा. मणिराज पोख्रेल, रंगनाथ पौडेल, डा.एक नारायण चापागाई, रबिन्द्र भट्टराई, सपीला राजभण्डारी, संयोजक रहेको स्वागत तथा सत्कार, यातायत, हल ब्यवस्थापन, आवास, प्रबिधि, स्वयम सेवकलगायतका उपसमितिहरु समेत बनाइएको छ।
यसअघि दोहा (कतार) सन् २००५, बोन (जर्मनी) सन् २००६, बैकक (थाइल्याण्ड) सन् २००८, टेक्सास (युएसए) सन् २०१०, र दुवाइ (यूएइ) स्न २०११ मा क्षेत्रीय सम्मेलनहरु आयोजना भइसकेका छन्।
घाइते मन्त्रीद्वारा सपथ ग्रहण
एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहको आक्रमणबाट घाइते भएका उर्जामन्त्री गोकर्ण विष्टले विहीवार पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री झलनाथ खनालले विष्टलाई सपथ खुवाएका हुन्।
गत चैत्र २८ गते साँझ अज्ञात समूहले विष्टलाई गोंगबु टाउनप्लानिङस्थित घरनजिकै खुकुरी हानेका थिए। उनको टाउको र हातमा गम्भीर चोट लागेको थियो।
स्वास्थ्य लाभपछि उनी मनमोहन अस्पतालबाट हिजोमात्र घर फर्केका थिए।
________________________________________________
घाइते मन्त्री घर फिर्ता
एचकेनेपाल डट कम संवाददाता-
अज्ञात समूहको आक्रमणबाट घाइते भएका ऊर्जा मन्त्रीमा नियुक्त नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकर्ण विष्ट स्वास्थ्य लाभ गरी हिजो घर फर्किनुभएको छ।
गत चैत २८ गते साँझ अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भई अस्पताल भर्ना हुनुभएका नेता विष्टको ठमेलस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइआएको थियो।
विष्टको टाउको र हातमा चोट लागेको थियो।
मन्त्री विष्टले आजै पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ।
त्रिशूलीमा वेपत्ता कारसहिद २ शव फेला
एचकेनेपाल डट कम संवाददाता, अप्रिल २१-
त्रिशूली नदीमा बेपता भएको एक कारसहित दुई जना पुरूषको शव विहीबार दिउंसो फेला परेको छ।
कारबाट निकालिएको दुई शवहरूमा एक काठमाण्डौ गोकर्णका गिरबहादुर शाह र ठेगाना नखुलेको मणिराज पौडेलको रहेको प्रहरी कार्यालय गजुरीले जनाएको छ।
काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको उक्त कार मंगलवार दिउंसो त्रिशूली नदीमा बेपत्ता भएपछि स्थानीय र प्रहरी टोलीले खोजी जारी गरेको थियो।
क्रेनबाट निकालिएको बा ६ च ५६३३ नं. को रातो कारमा कति सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।
______________________________________________ कार त्रिशूलीमा खस्दा चारजना बेपत्ता
एचकेनेपाल डट कम संवाददाता, अप्रिल २०-
काठमाडौंबाट चितवनको मुग्लिङतर्फ जाँदै गरेको एउटा कार त्रिशूली नदीमा खसेर हराइरहेको छ।
धादिङको जोगिमारा गाविस–९ ज्यामिरेघाट नजिक राजमार्ग छेउबाट रातो रङको निजी कार त्रिशूली नदीमा खसेको स्थानीयवासीले बताएका छन्।
कारमा कतिजना सवार थिए भन्ने यकिन नभए पनि चालकसहित चारजना यात्रु रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
कार खसेको स्थानमा नदी किनारमा एउटा झोला मात्र फेला परेको जिल्ला प्रकरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताउनुभयो।
कारको खोजी कार्य जारी रहेको भएपनि केही जानकारी नआएकोले चारजना नदीमा परेर बेपत्ता भएको प्रहरीको भनाइ छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, विवादित अर्थराज्यमन्त्री ल्हारक्याल लामाले विहीवार राजीनामा दिएका छन्।
उनले राजधानीमा एक पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै आफूमाथि लगाइएका आरोपमाथि छानबिन गर्न सहयोग होस् भनेर राजीनामा दिएको लामाले बताए। उनले आफूमाथि लागेका आरोप कपोलकल्पित तथा चरित्र हत्या गर्ने खालको रहेको बताए।
यसअघि, राजीनामा नदिने मनस्थितिमा रहेका लामाले राजीनामा नदिए बर्खास्त हुने सम्भावना बढ्दै गएपछि राजीनामा दिएका हुन्। पत्रकार सम्मेलनपछि प्रधानमन्त्री कार्यालय पुगेर उनले राजीनामा पत्र बुझाएका छन्।
लामाका विषयमा धेरै विवास्पद कुराहरू सार्वजनिक भएपछि एमालेका नेताहरूले उनलाई राजीनामा दिन दबाव दिदै आएका थिए।
लामाको विभिन्न संधिग्ध गतिविधिमा संलग्नता देखिएपछि संसदको राज्यव्यवस्था समितिले समेत प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको थियो।
एमालेका समानुपातिक तर्फका सभासद लामा चैत्र २८ गते अर्थराज्यमन्त्रीमा नियुक्त भएका थिए।
एचकेनेपाल डट कम संवाददाता-
निजी स्कुलहरूविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। निजी विद्यालयहरूले शिक्षा ऐन, नियमावली र प्रचलित कानुन विपरित मनपरी ढ‹ले शैक्षिक शुल्क निर्धारण गर्ने र विद्यालयबाटै पुस्तकहरू विक्री वितरण गर्ने गरेको भन्दै सो कार्य तत्काल रोक्न आदेशको माग गरी रिट दायर भएको हो।
अधिवक्ताहरू श्रीकृष्ण सुवेदी, कपिलचन्द्र पोखरेल र रविन सुवेदीले दायर गर्नुभएको सो रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्याब्सन र एनप्याब्सनलाई विपक्षी बनाइएको छ
नेपालको शिक्षा ऐन २०२८ को दफा ४ र ८ मा विद्यालय सञ्चालन नेपाल सरकारले तोकिएवमोजिम हुने र विद्यालयको पाठ्यक्रम सरकारबाट स्वीकृत प्राप्त हुने उल्लेख गरिएपनि निजी विद्यालयहरूले आ–आफ्नो ढङ्गले पाठ्यपुस्तक बिक्री वितरण र पठनपाठन गराएको रिटमा उल्लेख गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
मकवानपुरको पदमपोखरी गाविस–६ बस्ने ८५ वर्षीय भक्तबहादुर मगरको आफ्नै घरमा पकाएको चिया पिउँदा निधन भएको छ भने श्रीमती सुनुमाया मगर सिकिस्त बनेकी छिन्।
चियापत्ती ठानी मुसा मार्ने विष चियामा हाल्दा सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिकिस्त सुनुमायाँलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा गैरकानुनी तरिकाले चुनाव भएको जनाउँदै सो शाखाको समस्या नसुल्झिसम्म नेपाल पत्रकार महासङ्घको चुनाव रोक्न परेको रिट खारेज गरिएको छ।
न्यायाधीश मोहनप्रकाश सिटौलाको एकल इजलासले सो रिट खारेज गरेको हो।
पत्रकार राकेश र पूर्ण कार्कीले दायर गर्नुभएको सो रिटमा नेपाल सरकार गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखा, नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयसमेतलाई विपक्षी बनाइएको थियो।
रिटमा पत्रकार महासङ्घ काठमाडौँ शाखाको चुनाव हुँदा नेपालमै नभएका पत्रकारहरूलाई मनोनयन पत्रमा प्रस्तावक र समर्थक बनाई मनोनयनपत्र दाखिल गरिएको र सोहीअनुरुप चुनाव भएको, एकएक जना प्रस्तावक र समर्थक हुनुपर्नेमा नियमविपरीत तीनतीन जना प्रस्तावक र समर्थक राखिएको भन्दै उक्त चुनाव पत्रकार महासङ्घको विधानविपरीत भएको आरोप लगाइएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी)को पोलिटब्यूरो बैठकले वर्तमान राजनीतिक परिवेशमा पार्टीको भावी रणनीति तय गर्न यही बैशाख ९ गते शुक्रवार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा हिजो झण्डै चारघण्टा चलेको बैठकले मुलुकको वर्तमान सङ्क्रमणकालीन राजनीतिक अवस्थालाई सम्बोधन गर्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत लिखित राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नुपर्ने ठहर गर्दै बैठक बोलाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पार्नुभएको लिखित राजनीतिक प्रतिवेदनमा थप छलफल गर्नुपर्ने आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जानकारी दिनुभयो।
पार्टी अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीका पदाधिकारीहरूले धारणा राखेपछि थप छलफल गर्नुपर्ने निचोडमा बैठक पुगेको उहाँले बताउनुभयो।
संविधानसभाको म्याद सकिनुअगावै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने र नयाँ संविधान जारी गर्नु पर्ने वर्तमान सङ्क्रमणलीन अवस्थामा पार्टीले कस्तो नीति अख्तियार गर्ने र जेठ १४ पछि पार्टीको भूमिका के रहने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल गर्ने गरी आजको बैठक टुङ्ग्याइएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा एमालेका पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवालीले संविधान बनाउन थप भएको एकवर्षको समय शान्ति र संविधानका लागि केन्द्रित हुनुपर्नेमा सत्ताको कुर्सीलाई केन्द्रविन्दु बनाएकोले त्यो समय व्यर्थमा गएको बताउनुभएको छ।
उहाँले अव कुर्सीको मोहलाई त्यागेर ४० दिन शान्ति स्थापना र संविधान लेखनमा केन्द्रित हुनुपर्ने बताउनुभयो।
दलहरूबीचको दूरी बढ्दै गएको र एकले अर्को दललाई निषेधको राजनीति गरेकोले त्यसलाई त्याग्नु पर्नेमा उहाँले जोड दिनुभयो।
दलहरू एकले अर्कालाई सिध्याउने खेलमा लागेकाले संविधान बनाउने समय व्यर्थमा गएको बताउँदै नेता ज्ञवालीले अब दलहरूले एकले अर्कोलाई सिध्याउने खेल बन्द गरी शान्ति र संविधानलाई मूल मुद्दा बनाउनुपर्ने बताउनुभयो।
उहाँले जेठ १४ भित्र संविधान नबने जेठ १५ गतेको अवस्था के हुन्छभन्ने अन्यौल छाइरहेकोले अबको ४० दिनभित्र जनतालाई संविधान दिन नसके पनि शान्ति र संविधानको खाका प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता, अप्रिल २१-
म्याग्दी, भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको ८९ वर्षको उमेरमा निधन भएको छ।
पुनको आफ्नै जन्मथलो म्याग्दीको बेगखोला गाविस-९ तिप्ल्याङस्थित घरमा बुधवार राति करीव ११ बजे निधन भएको हो।
अब सम्झना मात्र। भिसी पुन हलिउडकी अभिनेत्री जोना लुम्लेको साथ। तस्वीर सौजन्यः मिरर युके
बेलायतको चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन गत महिना कुल पूजाका लागि जन्मथलो म्याग्दी फर्केका थिए।
कुल पूजा लगाउने धोकोले उनलाई जन्मथलोसम्म तानेको थियो। गाउंले, इष्ट मित्रसंग राम्ररी कुरा गरेका पुनको राति एक्कासि श्वासप्रश्वासमा समस्या देखा परेपछि निधन भएको उनका जेठा छोरा अर्जुन पुनले जानकारी दिएका छन्।
सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुन विश्वविख्यात भिक्टोरिया क्रस विजेता हुन्।
दोस्रो विश्वयुद्ध (२३ जुन १९४४) मा बर्माको लडाइँमा देखाएको अद्वितीय युद्धकला प्रदर्शन गरेवापत उनलाई बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्रदान गरिएको थियो। त्यस बेला उनी बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत थिए।
बेलायतका लागि लडेका पुनलाई स्वास्थ्य उपचारको लागि बेलायतमै प्रवेश अनुमति नदिएपछि बेलायत सरकारको चौतर्फी आलोचना भएको थियो। गोरखा भूपू सैनिक संघ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताको अथक दवाबपछि मात्र पुनले बेलायतमा जान पाएका थिए। सन् १९५३ मा भिसी पुन। यो तस्वीर भिसी पाएको ९ वर्षपछि खिचिएको हो। तस्वीर सौजन्यः डेली मेल युके
बेलायतीसरह गोर्खाली सेनाले पनि समान पेन्सनलगायतका सुविधा प्राप्तिका लागि न्यायिक आन्दोलनमा सक्रिय रहेका उनी अग्रपङ्तिमा रहने गर्थे।
पुनका श्रीमती ३ छोरा र ८ छोरी छन्।
पारिवरिक स्रोतका अनुसार बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि कालिगण्डकी नदी किनारामा हिन्दू धार्मिक विधी अनुसार सद्गत गरिने छ।
भिसी पाउने जीवित दुई गोरखामध्ये उनी एक थिए। गत डिसेम्बर भिसी लक्षिमन गुरूङको निधन भैसकेको छ भने अब बोनियोको लडाइँमा भिसी पाएका रामबहादुर लिम्बु मात्र जीवित छन्।
आर.सि.एन / एचकेनेपाल डट कम-
बीरगञ्ज, नव बर्ष २०६८ बैशाख महिनामा चान्द्र बैशाख मासमा ५ वटा मंगलबार परेकोले देशमा बिस्फोटन, आन्दोलन र हलचलले सत्ता परिबर्तन हुन सक्ने कुरा ज्योतिष डा. लोकराज पौडेलले प्रकाशन गरेको लिखत पात्रोमा उल्लेख गर्नु भएको छ।
नेपाल ज्योतिष परिषद्का केन्द्रिय अध्यक्ष ज्योतिष डा. लोकराज पौडेल तथा यहि २०६८ मा प्रकाशन गर्नु भएको आकाश दर्शन पञ्चाङ्ग सजिलो पात्रोको प्रकाशक / सम्पादक तथा गणक समेत आफै गर्नु भएका पात्रोको पेज नं. १३ मा रहेको मासफल चान्द्र बैशाखमासमा ५ वटा मगंलबार परेकोले बिस्फोटन, आन्दोलन र हलचलले सत्ता परिबर्तन हुनुको साथै बैशाखमा कृष्ण औशी मंगलबार परेकोले नै अग्निकाण्ड, दुभिक्षा, प्राकृतिक बिपति हुनुको साथै यान बाहन दुर्घटनामा बृद्धि हुने उल्लेख गरिएको छ।
त्यसै गरी, बैशाख महिनामा चारग्रहको योगबाट हावाहुरीले धनजनको क्षति हुनुको साथै सामान्य बर्षायोग ७,९,१०,१४,१५,२०,२७ र २८ गते हुने र बैशाख शुक्ल पक्षमा मध्य पश्चिमी भागमा गर्मी बढ्ने योग समेत रहेको पात्रोमा उल्लेख छ।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
ककनी, “यो बर्षभरि तपाईं यात्रामा रहनु हुने छ।” देब्रे खुट्टामा रहेको कालो कोठी देखेपछि ज्योतिषले उनलाई भनेका थिए । साँच्चैनै यो बर्ष धीरज राईको लागि सांगीतिक यात्रामा भ्याई नभ्याई भयो।
भोजपुरदेखि पोखरासम्म, इजरायलदेखि ब्रुनाईसम्म र यू. के. देखि मलेसियासम्म उनले आफ्नो सफल एकल कार्यक्रम दिइसकेका छन्। तस्वीरहरूः अनुशील / एचकेनेपाल डट कम
उनको नयाँ एल्बम २० बर्षको सफलतासँगै यो बर्षको “कोइलीदेवी पुरस्कार” समेत हात पारेपछि उनको व्यस्तता हृवात्तै बढेको छ।
काठमाण्डौको धुलो मैलो र भीडभाडबाट अलि टाढा शान्त अनि रमणीय ठाउँ ककनीमा धीरजले नयाँ बर्षको पहिलो दिन आफ्नो दमदार एकल कार्यक्रम प्रस्तुत गरे। “धीरज राई लाईभ २०६८” नाम दिइएको सो कार्यक्रममा उनले आफ्नो १८ वटा उत्कृट गीतहरु गाए।
कालो रङ्गको “हृयाट” लगाएर “कोरियन लुक्स”मा देखा परेका धीरजले आफ्ना गीतहरुमा डान्स पनि प्रस्तुत गरे। “माया छ है” बोलको गीतबाट शुरु गरेका धीरजले त्यसपछि क्रमशः “तिमी रुँदा एक्लै हुँदा”, “तिम्रा नयन”, “कि बाँच्न देऊ” लगायतका “सेन्टिमेन्टल” गीतहरु लाईभ ब्याण्डमा प्रस्तुत गरेका थिए। उनलाई “हार्मोनी” ब्याण्डले साथ दिएको थियो। “यो मेरो काठमाण्डौमा पाँचौ एकल कार्यक्रम हो भने उपत्यका बाहिरको पच्चिसौं……….” ककनीको “ट्राउट फल्स” रिसोर्टमा उनको कार्यक्रम भइरहँदा सडकमा ट्राफिक जाम हुन पुग्यो।
ककनी हुँदै काठमाण्डौ जाने बसहरुबाट यात्रीहरु निस्केर धीरजको कार्यक्रम हेर्ने क्रममा अत्याधिक भिड हुन पुगेको थियो। त्यस माथि नयाँ बर्ष मनाउन हिंडेका थुप्रै जोडीहरु पनि उनको कार्यक्रम हेर्न सडकमा झुम्मिए । सडक जाम हुने स्थिति आएपछि धीरजले सबैलाई रिसोर्ट भित्र आउने निम्तो दिए। “अब सबैलाई खाना पु-याउन पो टेन्सन हुने भो त!” रिसोर्टका प्रोप्राइटर असिम र्राराई एक्कासी सोच्दै नसोचेको भीड देखेर भन्दै थिए। दर्शकहरु डाँडै भरि छरिएर बसे। “नेपाली ज्याक्सन” उपनामले चिनिएका धीरजले दर्शकहरुलाई सोधि हाले - “धीरज राईलाई के चाहिन्छ -” - “हल्ला चाहिन्छ !” । कार्यक्रमको दोस्रो चरणमा “मिस्टीरियस गर्ल”, “गर्ल फ्रेण्ड”, “सोई ढोले सोई”, “सेक इट बेबी” लगायतका गीतहरुमा उनलाई डान्सरहरुले साथ दिएका थिए।
“कार्यक्रम यति धेरै सफल होला भनेर सोचेकै थिएनौं” रिसोर्टका डाइरेक्टर असिम राईले भने। “यो बर्ष त निकै पैसा कमाउनु भयो होला नि त?” उनले भने - “त्यस्तै ५० लाख जति कमाए होला। तर, त्यो भन्दा कयौं बढी स्रोताहरुको माया कमाएं।”
भिम गुरुङ / एचकेनेपाल डट कम-
देवदह, रुपन्देही । नेपालमै पहिलो पटक तमु खेमा लिपि सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आगामी जेष्ठ ७ देखि ९ गतेसम्म रुपन्देहीको भैरहवामा हुने भएको छ।
नेपालसहित विश्वभर छरिएर रहेका तमुहरुको लिपिको संरक्षण तथा विकास गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो।
तमु (गुरुङ्ग) खेमा लिपि तथा विकास केन्द्रिय समितिको आयोजनामा हुने सम्मेलनमा सिक्किम, भुटान, दार्जलिङ, देहरादुनसहित नेपालका विभिन्न जिल्लाहरुबाट भाषा लिपि विज्ञहरु तथा भाषा लिपिसँग सरोकार राख्ने बुद्धिजीविहरुको सहभागिता रहने महासचिव भिम गुरुङले जानकारी गराउनु भयो।
तमु (गुरुङ्ग) खेमा लिपि तथा विकास समितिको बुटवलमा बसेको बैठकले सम्मेलन सम्पन्न गर्नको मुल आयोजक तथा विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ।
अध्यक्ष केवि गुरुङको संयोजकत्वमा मुल आयोजक समति गठन गरिएको हो। त्यस्तै प्रचार प्रसार समितिको संयोजकमा भिम गुरुङ, आर्थिक संकलनमा प्रेम घले गुरुङ, स्वयमसेवक परिचालनमा कृष्णबहादुर गुरुङ, हल ब्यवस्थापनमा गुमबहादुर गुरुङ, स्वागत सत्कारमा ऐनर्सज गुरुङ रहनुभएको छ। साथै जलपान तथा खाना ब्यवस्थापनमा मोहनलाल गुरुङ,यातायात तथा आवासमा गुमबहादुर गुरुङ, साँस्कृतिकमा धनु गुरुङ अन्तर्राष्ट्रिय समन्वयमा मोहनलाल गुरुङ , कार्यपत्र तयारीमा बालनरसिंह गुरुङलाई संयोजक तोकिएको छ।
भैरहवाको अञ्चलपुरमा तमु समाज भवनमा आयोजना गरिने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव पाँच सय प्रतिनिधि पर्यवेक्षक तथा शुभचिन्तकको सहभागिता हुने समितिका केन्द्रिय सदस्य सपना तमुले जानकारी दिनुभयो।
तमु छोज धिंको प्रथम राष्ट्रिय महाधिवेशन २०५२ बाट पारित खेमा लिपि आहिले स्वदेश तथा विदेशका विभिन्न तमु भाषा संस्थाहरुमा पठन पाठन भैरहेको समितीले जनाएको छ।