Archive for April 26th, 2011

नाटकमा गोर्खा परिवारको अवस्था

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, बाबु - बाबा के काम गर्नुहुन्छ…….एम सी । अनि, आमा नी……टिपन टापन गोर्खा परिवारको अवस्था केलाउंदै गरिएको नाटकको एक संवाद हो यो। रिटायर्ड गोर्खाद्वय चक्र राना तथा चुनबहादुर पुनको नाटकिय संवाद जस्तै छ बेलायतमा गोर्खाहरुको अवस्था। बाबा भांडा मस्काउने चम्काउने काम गर्नुहुन्छ, अनि आमा सिमी टिप्नुहुन्छ।

संवादमा छोराले सोधकर्तालाई दिएको जवाफ। नाटकमा गरिएको संवाद जस्तै छ बेलायतमा गोर्खालीहरुको अवस्था। भाषाको कमि तथा ओर्लंदो उमेरका कारण गोर्खा आर्मीका परिवारहरुले राम्रो कामको अवसर पाउंदैनन्। नेपालमा बेलायती आर्मी भनेपछि सुख, सयल र मोजमस्ती जीवनशैलीको रूपमा हेर्ने गरिन्छ तर बेलायतको अवस्था त्यस्तो छैन। उनीहरुले बेलायतमा राम्रो कामको अवसर अत्यन्तै न्यून पाएका छन्।

ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गोर्खालीहरुका छोराछोरीहरुमा देखिएको कुलत र त्यसको जडबारेमा पनि कलाकारहरुले स्पष्ट चित्रण गरेका थिए। सो अवसरमा डांडा गाउंले समाजले लोकप्रिय चुड्का नाच देखाएको थियो। त्यस्तै, नेवार समुदायको भैरवनाच तथा स्थानीय कलाकारहरुले विभिन्न गीतहरुमा नाच प्रस्तुत गरेका थिए।

करीब ६ सयभन्दा बढि गोर्खा तथा तिनका परिवार जम्मा भएको सो कार्यक्रमको व्यवस्थापन संस्थाका महासचिव दलप्रसाद थापाले गरेका थिए। सांस्कृतिक कार्यक्रमको सञ्चालन विसन थापा तथा मिसेस घना थापाले गरेका थिए।

Recent Videos:

Popularity: 7%

4 comments April 26th, 2011

नयां बर्षमा गोर्खाहरुको रौनक

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, नयां बर्षको अवसर पारेर बेलायतस्थित ग्रिनविच बरोका गोर्खाहरुले आइतबार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरे।

ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघले प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन बेलायतस्थित नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै राजदूत डा. चालीसेले गोर्खाहरुसंग बेलायतको इतिहास पुरानो रहेको बताए। उनले नेपाल र बेलाययतबिचको सम्बन्ध गोर्खाहरुकै कारण अझ बलियो भएको समेत जिकीर गरे। बेलायतीहरुले नेपालीहरुको बहादुरी र इमान्दारीताको कदर गरेको अनुभव सुनाउंदै राजदूत डा. चालिसेले बेलायती जनता गोर्खाहरुप्रति आभारी रहेको बताए।

ग्रिनविच गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष रिटायर्ड मेजर मनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उनले नयां बर्षको शुभकामना दिए। नयां बर्षमा नेपाल र नेपालीका लागि महत्वपूर्ण बर्ष सावित हुने राजदूतले बताए। शान्ति स्थापना र संविधान निर्माणका सवालमा यस बर्षे महत्वपूर्ण ठाउं लिने उनको भनाई थियो।

ग्रिनविच बरोकी मेयर बारबर बारविकले नेपाली नयां बर्षमा आफूलाई बोलाएकोमा आभार प्रकट गरिन्। उनले गोर्खापरिवार र बेलायती जनताबिच गहिरो सम्बन्ध रहेको बताईन्। गोर्खापरिवारको समस्याका बारेमा आफूपनि गम्भीर भएको उनको भनाई थियो। सो अवसरमा मेयर बारबर बारविकले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेकी थिईन्। यसरी सम्मानित हुनेहरुमा समाजसेवी एवं नेपाली टिभिका प्रमुख मोहन गुरुङ, लण्डस्थित एल सि इ एम कलेज, सेसी, तथा विभिन्न व्यवसायीक संस्थाहरु छन्।

Recent Videos:

Popularity: 7%

Add comment April 26th, 2011

अधिवेशनको माग राख्दै कस्केली पत्रकारहरूको रिले अनसनमा

रूद्र श्रीस मगर/ एचकेनेपाल डट कम-
पोखरा, नेपाल पत्रकार महासंघ कास्की शाखाको अधिवेशनको माग राख्दै कास्कीका पत्रकारहरूले सुरू गरेको आन्दोलन अझै जारी छ।

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)सम्बद्ध तीन पत्रकार संगठनहरू क्रान्तिकारी पत्रकार संघ नेपाल, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको मिलेमतोमा कोठाभित्र बसी घोषणा गरिएको कार्यसमिति अलोकतान्त्रिक र अवैधानिक तवरबाट चयन गरिएको भन्दै कास्कीका श्रमजीवि पत्रकारहरू आन्दोलित भएका हुन्।

अधिवेशन गराएर निर्वाचनमा उत्रिन डराई टिके कार्यसमितिको घोषणा गरिएको र आफूहरूले जे गरेपनि हुने मान्यताका साथ सो हर्कत गरिएको आन्दोलनरत पत्रकारहरूको आरोप छ।

पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत अधिकांश पत्रकारहरूले ७ गतेबाट सुरू गरेको रिले अनसन पनि जारी राखेका छन्। रिले अनसनमा हालसम्म क्रियाशील युवा पत्रकार संघ नेपालका अध्यक्ष कमल पौडेल अथक, पत्रकारहरू नवीन सिग्देल, राजेन्द्र अधिकारी, अमृत घिमिरे, निरू केसी, मनोज घर्तीमगर, एमबि आस्था मगर, रोहितराज पराजुली, बिबि आलेमगर, वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोला, दुर्गादेवी बाँस्तोला, कृष्ण थापा, छवि मगर, जीवन सुवेदीलगायत बसिसक्नुभएको छ।

महासंघको केन्द्रीय कार्यसमितिमा उजुरी गरेपनि समस्या समाधान गर्न कुनै पहल नभएकोमा समेत पत्रकारहरू असन्तुष्ट भएका छन्। यसैबीच, आन्दोलनलाई हालसम्म क्रियाशील युवा पत्रकार संघ नेपाल, नेपाल आदिवासी/जनजाति पत्रकार संघ (अनिज) कास्की, सञ्चारिका समूह कास्की, मानवअधिकार पत्रकार संघ नेपाल, कास्की, शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीलगायतका संघसंस्थाहरूले ऐक्यबद्धता जनाइसकेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) कास्कीले समेत आजै पत्रकारहरूको जायज आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। सचिव रामजी थापा र नेता भीमबहादुर श्रीसको उपस्थितिमा ऐक्यबद्धता जनाएको हो। त्यस्तै, आजै भएको बैठकलाई सम्बोधन गर्दै प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार केशवराज पराजुली, वरिष्ठ फोटो पत्रकार विश्व शाक्यलगायतले पनि आन्दोलनलाई पूर्ण समर्थन रहेको जनाउनुभएको छ।

यसअघि, नेपाल पत्रकार महासंघका पूर्व सभापति एवम् वरिष्ठ पत्रकार किशोर नेपालले समेत समस्या समाधानका लागि आफूले केन्द्रमा पहल गर्ने अठोट व्यक्त गर्नुभएको थियो। साथै, उक्त बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय समेत गरेको छ।

समस्याको कानूनी उपचार खोजिने समेत संर्घष समितिका संयोजक एवम् वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोलाले बताउनुभयो।

Recent Videos:

Popularity: 6%

Add comment April 26th, 2011

‘संघीयता विदेशबाट आयात गरियो’-सभासद् केसी

रूद्र श्रीस मगर/ एचकेनेपाल डट कम-
पोखरा, अर्धभूमिगत अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् संविधानसभाका सदस्य चित्रबहादुर केसीले नेपालमा लागू गर्न खोजिएको संघीयता विदेशबाट आयात गरिएको जिकिर गर्नुभएको छ।

राष्ट्रिय जनमोर्चाको मंगलबारदेखि पोखरामा सुरू दोश्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभासद् केसीले उक्त कुरा बताउनुभएको हो। जातीय राज्य, आत्मनिर्णय अधिकार, एक मधेश एक प्रदेश, जातीय अग्राधिकारजस्ता मुद्दाको उठान गरेर विदेशीले नेपाललाई टुक्रा टुक्रा पार्न आँटेको उहाँको दाबी थियो।

नेपालका केही जनजातिहरू जातीय मुक्तिका नाममा विदेशी डलरमा बिकेको समेत उहाँको आरोप थियो। एक अर्को प्रसंगमा उहाँले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले अघि सारेको शान्ति र संविधानको नीतिलाई आफ्नो पार्टी दृढतापूर्वक समर्थन गरेको बताउनुभयो।

‘जनविद्रोहको नीति, नीतिगत रूपमा सही भएपनि वस्तुवादी छैन,’ केसीले भन्नुभयो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका कारण नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा रहेको पनि उहाँको भनाइ थियो। अहिलेको राजनीतिक गतिरोधको मुख्य कारक संघीयता र सेना समायोजन रहेको उहाँको दाबी थियो। पोखरा सभागृहमा जारी सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। सम्मेलन बिहीबार सम्पन्न हुनेछ।

Recent Videos:

Popularity: 6%

Add comment April 26th, 2011

भ्रष्ट संयोजक यादबलाई कारबाहीको माग

आर.सि.एन. / एचकेनेपाल डट कम-
बीरगञ्ज, बिन्दाबासिनी कोइलाभार बढनिहार साझेदारी बन ब्यवस्थापन समितीका संयोजक शैलेन्द्र यादबलाई कारवाही गर्न माग गरेको छ।

भ्रष्टाचार गरेको अभियोगमा समितिको बसेको बैठकको पदाधिकारीहरूको बहुमतबाट यादबमाथि कारबाही गर्नुको साथै निलम्बन गरिएको आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कार कार्यक्रममा समितिका कार्यबाहक संयोजक रामबाबु प्रसाद जैसवालले बताउनु भयो।

संयोजक जैसवालले पूर्ब संयोजक यादबको भ्रष्टाचार चरम उत्कर्षमा पुगेपछि बाध्य भई यादबलाई निलम्बन गर्नु पर्ने अवस्था आएको बताउनु भयो। यादबले आफनो १४ महिनाको कार्यकालमा हरियो बन संयोजकको धन भन्ने नारालाई अबलम्बन गरी लाखौ लाखको घोटाला गरेको कुरा साक्षात्कार कार्यक्रममा कार्यबाहक संयोजक जैसवालले खुलासा गर्नु भयो।

समितिका कार्य सञ्चालन एवं प्रशासनिक खर्च बापत समितिको खाताबाट निकाशा गरिएको रु १३ लाख २० हजार ४ सय २ रुपैया मध्ये खर्चै नभएको शिर्षमा पनि बिल फर्र्छोट गरिएको छ। बिभिन्न शिर्षमा प्रचारप्रसारमा रु १ लाख ७५ रुपैया, भ्रमणमा ८४ हजार ४ सय ६० रुपैया, घाटगद्धीमा ४ लाख १७ हजार २ सय ६५ रुपैया, उप समितिको भत्तामा २० हजार र कर्मचारी भत्ता एवं थप सहयोगमा १ लाख ३७ हजार ४ सय २७ रुपैयाको बिल फर्र्छोट गरिएता पनि उक्त सम्बन्धी कुनै कार्य नगरी सो रकम संयोजक यादबले भ्रष्टाचार गरेको कुरा साक्षात्कार कार्यक्रममा सहभागी समितिका पदाधिकारी एवं सदस्यहरुले आरोप समेत लगाए।

Popularity: 6%

Add comment April 26th, 2011

तमु धिं टोक्यो जापानद्वारा माओत्से तमु सम्मानित

कुमार तमु/ एचकेनेपाल डट कम-
टोक्यो-जापान, गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माओत्से तमुलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ।

गुरुङ जातिहरुको भाषा संस्कार संस्कृति र रितिरिवाजलाई बचाई राख्न चलचित्रमार्फत गुरुङ समुदायमा मात्र नभई गैरगुरुङ जातिहरुले पनि सजिलैसंग कथा बस्तुलाई बुझ्न सकिने विभिन्न गुरुङ भाषाका चलचित्र तथा श्रव्य दृश्यहरु निर्माण गर्दै आउनु भएका र हालै तमु धिं जापान निर्माता रहेको गुरुङ भाषाको कथानक चलचित्र नकइ फुं (कुखुरीको अण्डा) का निर्देशन गर्नु भएका माओत्से तमु सोही चलचित्र प्रदर्शनका लागि केहि दिन अघि जापान आइपुग्नु भएको हो।

सम्मान कार्यक्रममा धिंका अध्यक्ष याम तमुले खादा र सल्लाहकार ओम प्रकाश तमुले फूल गुच्छाले सम्मान गर्नु साथै संस्थाका सम्पूर्ण पदाधिकारीहरुले खादा लगाई सम्मान गर्नु भएको थियो।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्नु हुदै माओत्से तमुले तमु धिं जापानले आफूलाई यसरी सम्मान गरेकोमा धिं प्रति कृतज्ञता ब्यक्त गर्नुका साथै तमु धिं जापानले हरेक बर्ष गर्दै आइ रहेको रोंधि साँझ र ल्होसार कार्यक्रममा आगामी दिनमा गुरुङ चलचित्रमा आबद्ध चलचित्रकर्मीहरुलाई तमु धिं जापानको कार्यक्रममा सहभागी भइ आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिलाई दिनको लागि गुरुङ फिल्म एसोसिएसनको तर्फबाट अनुरोध गर्नुका साथै संस्थाको प्रगतिको कामना गर्नु भएको थियो।

धिंका अध्यक्ष याम तमुको सभापतित्वमा भएको सो कार्यक्रममको संचालन महासचिव कुमार तमुले गर्नु भएको थियो।

Popularity: 6%

Add comment April 26th, 2011

रोमानियामा करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग

नवराज पोखरेल / एचकेनेपाल डट कम-
रोमानिया, बुखारेस्ट शहरबाट करीब २०० कि.मी. दक्षिण-पश्चिम स्लाटिना शहरमा रहेको एक गुरईटेक्स नामक गार्मेन्ट कारखानाले करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग गरेको छ।

यो कारखाना कम्युनिस्ट समयदेखि नै गार्मेन्ट उत्पादनमा प्रख्यात छ। यो कारखाना त्यस शहरमा भएका ख्यातिप्राप्त र ठूलै बर्गमा पर्ने कारखानाहरू मध्येको एक हो।

यस क्रममा हाललाई ५० जना कामदारको लागि अहिले काठमाडौँमा छनौट कार्य भई रहेको जानकारी नरापो न्यूज बुखारेस्टले जनाएको छ। नेपाली कामदारहरूले उक्त कारखानामा काम गरे बापत ३०० डलर महिनाबारी तलब पाउने छन्।

यसका साथै हप्ताको एक दिन छुट्टी पाउने ब्यबस्था पनि उल्लेख गरिएको छ । यसै क्रममा हरेक दिन १० घण्टा भन्दा बढी काम गर्न ईच्छा गर्ने कामदारले थप काम गर्न पाउने र सो बापत ३०० डलर देखि सात/आठसय डलर सम्म मासिक कमाउन सक्ने छन्।

कामदारकालागि नि:शुल्क खाना र बस्नको लागि उक्त कारखानामा क्यान्टिन र होस्टलको पनि सुबिधा रहेको छ। दुई बर्षका लागि मागिएका नेपाली कामदारहरूले रोमानियाको श्रम मन्त्रालय अन्तर्गतका नियमानुसार सबै सुविधाहरू प्राप्त गर्ने छन्। यी सुबिधाहरूमा सरकारी बिदाहरू बाहेक एक बर्षमा २१ दिन बिदा पाउने; सबै प्रकारका ईन्सुरेन्स सुविधाहरू प्राप्त हुने; ओभर टाईमको ब्यबस्था हुने; न्यूनतम मासिक तलब ३०० डलर नेट रहने आदि छन्।

यसका साथै राम्रो काम गर्ने कामदारहरूलाई अरू २ बर्षको म्याद थपिईने ब्यबस्था पनि रहेको छ।

सन् २००० सालमा स्थापना भएको यस कारखानाक़ा मालिक चाहि टर्कियन नागरिक हिदिर गुर्गुर छन्। यस कारखानामा हाल रोमानियालीका साथै बंगालादेशी कामदारहरू कार्यरत रहेको कुरा नरापो न्यूजका सम्बादाताले जनाएका छन्। उक्त कारखानाका मालिकले भविष्यमा करिब एक हजार दुई सय नेपाली कामदारहरूको आवश्कता रहेको कुरा पनि बताएका छन्।

कामदारहरूले पाउने सरसुबिधाका बारेमा यस कारखानामा काम गरी रहेका बंगलादेशी नागरिकहरूसंग भेट गरि सोधपुछ गर्दा उनीहरूले हालसम्म पाएका तलब र सुबिधाबाट सन्तुष्ट भएका कुरा बताए। ३०० डलरबाट काम शुरू गरेका कामदारहरूले ४/५ महिना भित्रमा नै ओभर टायम काम गरी ५/६ सय डलर मासिक कमाउन थालेका कुरा समेत उनीहरूले बताएका छन्।

यो गार्मेन्ट कारखानाका विभिन्न कार्यक्षेत्रको निरीक्षण नेपाली राजदूताबास, मस्कोको अनुरोधमा गत नोभेम्वरमा नेपाली राजदूताबासका तर्फबाट तत्कालिन प्रथम सचिब तथा डेपुटी चिफ अफ मिशन अच्यूत भक्त पौडेल र गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट यस संघका अध्यक्ष नवराज पोखरेलले गर्नु भएको थियो। सो अवसरमा नेपालबाट कामदारहरू पठाउने कम्पनीका दुई नेपाली प्रतिनिधिहरू र म्यानपावर सोलुसन्स बुखारेस्टका म्यानेजर कोरिना कन्स्तान्तिनको पनि उपस्थित थियो।

नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो। हालसम्म दुबै मित्ररास्ट्रहरू बिच मैत्री सम्बन्ध कायम भएता पनि राजदूताबास एवं बाणिज्य दूताबास समेतको स्थापना नभएको कारणले मस्कोस्थित नेपाली राजदूताबास मार्फत नेपाल सरकारसंग रोमानियाको मैत्री सम्बन्धलाई अझै दरिलो बनाउने क्रममा सहयोग गर्न यहाँ गत २५ वर्ष देखि बसोबास गर्दै आएको एक नेपाली नागरिकको नाताले आफ्नो कर्तब्य ठानेको कुरा एन आर एन रोमानियाका अध्यक्ष नवराज पोखरेलले बताउनु भएको छ।

बिगत लामो समयदेखि दुई देश बीच घनिष्ट सम्बन्ध रहि आएको भएतापनि हाल लगभग २५० जना नेपालीहरू रोमानियाको विभिन्न क्षेत्रमा कार्यरत छन्। रोमानियाले सन् २००७ सालदेखि युरोपियन कम्युनिटीको सदस्यता पाएको छ भने सन् २०११ को अन्त्य सम्ममा सेन्गेन क्षेत्रको सदस्यता पाउने ठूलो सम्भाबना रहेको छ।

Popularity: 6%

1 comment April 26th, 2011

कोसेली परिवार पच्चिस बर्षमा

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
लण्डन, बेलायतमा रहेको कला र संस्कृतिको जननी संस्था कोसेली नेपाली सांस्कृतिक परिवार पच्चिसौं बर्षमा प्रवेश गरेको छ।

सो अवसरमा संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा तथा पाचौं सम्मेलन गर्‍यो।

वसन्त राई क्षेत्रीको अध्यक्षतमा भएको सम्मेलनले कलाकार मदन लामाको अध्यक्षतामा नयां कार्यसमिति गठन गरेको छ।

विभिन्न सांस्कृतिक कार्यक्रमका साथ गरिएको सो सम्मेलनमा मुख्य अतिथि समाजसेवी डा. राघब धिताल रहनुभएको थियो। त्यस्तै कार्यक्रममा हरी सिंह थापा, ध्रुब केसी, इश्वर प्रसाद मानन्धर, विजय थापा, दौलत राई एवं पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुख्य अतिथि डा. धितालले नयां कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिंदै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

संस्थाका संस्थापक मदन थापा लगायतका कलाकारहरुले सांस्कृतिक कोसेली पस्केका थिए।

Popularity: 6%

Add comment April 26th, 2011

नुवाकोटको सात तले दरबारमा प्रवेश खुला

एचकेनेपाल डट कम संवाददाता-
नुवाकोटको साततले दरबार सङ्ग्रहालय आजदेखि सर्वसाधारणका लागि औपचारिकरुपमा खुला भएको छ।

सङ्ग्रहालयका लागि गत माघमा काठमाडौंबाट पृथ्वीनारायण जीवित हुँदै निर्माण गरिएको भनिएको सालिक ल्याइएको छ।

दुई सय चालिस वर्ष पुरानो मानिएको सालिक नुवाकोटबाट नै काठमाडौँ हनुमानढोका नासलचोकमा लगेर एउटा बन्द कोठा राखिएको थियो।

सङ्ग्रहालयमा पृथ्वीनारायणको सन्दुक, खाट, बिछ्यौना, तस्बिर र विभिन्न कागजपत्र र ताम्रपत्र सङ्कलन गरिएको छ।

Popularity: 7%

Add comment April 26th, 2011

सञ्चयकोषलाई हानी पुर्‍याउने दुई उद्योगीलाई सजाय

एचकेनेपाल डट कम संवाददाता-
कर्मचारी सञ्चय कोषलाई गैरकानुनी हानि पुर्‍याई भ्रष्टाचार गरेका दुईजनालाई विशेष अदालत काठमाडौँले रु १९ करोड ६८ लाख १३ हजार बिगोसहित छ महिना कैदको फैसला सुनाएको छ।

नवलपरासीस्थित गैंडाकोटका सिल्भर फाइवर टेक्सटायल मिल्स प्रालिका सञ्चालक प्रतिवादी ठाकुर प्रताप थापा र जीवन विष्टले कर्मचारी सञ्चय कोषको रकम हिनामिना गरेको ठहर गर्दै विषेश अदालतले सो फैसला दिएको हो।

सञ्चालकद्वयले नवलपरासी जिल्लाको गैंडाकोटस्थित सिल्भर फाइवर टेक्सटाइल मिल्सको आधुनिकीकरण र क्षमता विकास गर्नका लागि नेपाल बङ्गलादेश बैंक र कर्मचारी सञ्चयकोषको सहवित्तीयकरण कर्जाअन्तर्गत कर्मचारी सञ्चयकोषबाट रु १० करोड कर्जा लिएका थिए।

सो कर्जा लिंदा घाटामा गएको मिल्सलाई नाफामा गएको भनी झूटो विवरण पेस गरी कर्जा लिने र दिलाउने कार्य भएको, मिल्सको विकासमा कर्जा प्रयोग नगरिएको, ऋण नतिरी भ्रष्टाचार गरेको भन्ने आरोपसहित मुद्दा दायर भएको थियो।

Popularity: 6%

Add comment April 26th, 2011

पासपोर्ट बेच्ने सभासदलाई सात दिन म्याद थप

एचकेनेपाल डट कम संवाददाता-
कूटनीतिक राहदानी दुरुपयोग गरेर प्रहरीको नियन्त्रणमा रहेका सभासदद्वय गायत्री साह र विश्वनाथप्रसाद यादवलाई अनुसन्धानको लागि भन्दै हिजो फेरि प्रहरीको अनुरोधमा अदालतले सात दिनको म्याद थप गरिएको छ।

अदालतमा प्रहरीले अनुसन्धानको लागि भन्दै थप १५ दिन कैदमा राख्न माग गरेको थियो। तर न्यायाधीश माधवप्रसाद पोखरेलले भने सात दिनकोलागि मात्र म्याद थप गर्न आदेश दिनुभयो।

निजहरूलाई गत ६ गते संसद भवनबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखिँदै आएको छ।

उनीहरूको सो राहदानी प्रयोग गर्ने प्रयोगकर्ताहरू भने अझै फेला नपरिसकेकोले अनुसन्धानमा समय लाग्ने प्रहरीले जनाएको छ।

Popularity: 6%

Add comment April 26th, 2011

संविधान माग्दै १४ गते नेवाः ताम्सालिङ बन्द

एचकेनेपाल डट कम संवाददाता-
नेवाः–ताम्सालीङ संयुक्त संघर्ष समितिले बैशाख १४ गते नेवाः ताम्सालीड बन्द गर्ने भएको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै-

जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको लोकतान्त्रिक प्रयोगको रुपमा जनता आफैले मुलुकको संविधान लेख्न पाउनु पर्दछ भन्ने नेपाली जनताको लामो समयदेखिको आकांक्षा स्वरुप राष्ट्रको इतिहासमै संविधान सभाद्वारा संविधान लेख्ने स्वर्ण अवसर अहिले हामी बीच छ। विगत अढाई सय बर्ष यता आदिवासी जनजातिहरुले विभिन्न रुपमा गरेका आन्दोलन, बाह्र बर्षे जनयुद्ध, ०६२/६३को जनआन्दोलन तथा मधेश आन्दोलनद्वारा अनुमोदित एवं जनताको लामो संघर्ष, त्याग र वलिदानपछि प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षता जस्ता नेपाली जनताका ऐतिहासिक र महान उपलब्धीहरूलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारी छ। तर, सत्ता केन्द्रीत राजनीतिमा मात्र तल्लिन प्रमुख राजनीतिक दलहरुको भूमिका, संविधान निर्माण प्रक्रियामा देखिएका गतिहिनता तथा संविधानमा विवादित महत्वपूर्ण मुद्दाका सम्बन्धमा रहेको अनिर्णयको वर्तमान अवस्थामा २०६८ जेठ १४ गते भित्र नयाँ संविधान जारी हुने कुराको आशा अत्यन्त क्षीण बन्दै गएको छ। यस्तोमा उत्पीडित आदिवासी जनजाति लगायत वर्ग, जाति/समुदाय, महिला, क्षेत्र आदिको हक, अधिकार कुण्ठित गर्न एकात्मकवादी, यथास्थितिवादी, संघीयता विरोधी तत्वहरूले विभिन्न भ्रम छर्ने तथा खुल्लम् खुल्ला संविधान नबनाउने, जनादेश विरुद्ध संविधान सभाको म्याद मात्र थप्ने, संविधान सभाको म्याद समाप्त हुने वेलामा राज्यको पुर्संरचना आयोग बनाउनुपर्ने अड्को थाप्ने र मुलुकलाई संविधानविहीन रुपमा सधै संक्रमणकालीन स्थितिमा राख्ने चलखेल र षडयन्त्र भइरहेकोले त्यस विरुद्ध जनदवाव श्रृजना गर्न निम्न माग तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन ताम्सालीङ संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति सहयोग तथा ऐक्यवद्धताका लागि यहाँ समक्ष अपील गर्दछ।

संघर्षको माध्यमबाट सरोकारवाला पक्षको ध्यानाकृष्ट गराउन खोजेका मुद्दाहरु कुनै एक वर्ग, समुदाय वा क्षेत्रसंग मात्र सम्बन्धित नभइ सिंगो मुलुककै साझा सवाल भएकोले अगाडी ल्याएका कार्यक्रमहरु सफल पार्नु सबैको समान जिम्मेवारी हो भन्ने कुरा वोध गर्दै आ–आफनो मातहतमा रहेका कार्यालय, संस्था, कल कारखना, विद्यालय तथा सवारी साधन बन्द गरी बैशाख १४ गतेको नेवाः–ताम्सालीङ बन्द सफल पार्न सहयोगका लागि जोरदार अपील गर्दछ। आज वसेको संयुक्त संघर्ष समितिको निर्णय अनुसार निम्न सवारी साधनहरुलाई मात्र निर्वाध रुपमा चल्नदिने निर्णय भए बमोजिम सर्वसाधारणको जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ।

१) एम्बुलेन्स
२) प्रेस पत्रकारको सवारी साधन
३) यूएन मानव अधिकार समिति नेपाल
४) राष्ट्रिय मानव अधिकार आयोग
५) मानव अधिकारको व्यानर भएको सवारी साधन
६) रेडक्रस
७) विरामी बोकेको सवारी साधन

राजभाइ जकःमि
अध्यक्ष
नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति

परशुराम तामाङ्ग
अध्यक्ष मण्डलको सदस्य
ताम्सालीड संयुक्त संघर्ष समिति

Popularity: 6%

Add comment April 26th, 2011

नेपालको बजेट साई बाबाको सम्पतिभन्दा कम

एचकेनेपाल डट कम संवाददाता-
राजस्व सचिव कृष्णहरि बास्कोटाले आर्थिक वर्ष २०६८/०६९ को बजेट रु तीन खर्ब ८१ अर्बको आउने बताउनुभएको छ।

यो रकम हालै निधन भएका साई बाबाको कुल सम्पतिभन्दा कम हो। उनको सम्पति चार खर्ब भारु बराबरको रहेको बताइएको छ।

नेपाल व्यवस्थापन सङ्घ (म्यान)द्वारा आयोजित ‘आगामी बजेटको मुद्दा र चुनौती’ विषयक छलफल कार्यक्रममा बाँस्कोटले तीन खर्बभन्दा बढीको बजेट आउने जानकारी दिनुभएको हो।

मूल्यवृद्धि नियन्त्रणसहित आर्थिक वृद्धि र स्थायित्व कायम गर्नु, युवा रोजगारको वातावरण निर्माण गर्न र फजुल खर्च नियन्त्रण गरी सामाजिक सुक्षाको कार्यक्रमलाई प्राथमिकता दिनेतर्फ बजेट केन्द्रित रहने उहाँले बताउनुभयो।

राजस्व सचिव वास्कोटाले सहकारी एवम् वीमा क्षेत्रलाई व्यवस्थापन गर्ने, साधारणभन्दा विकास बजेटलाई प्राथमिकता दिई कार्यान्वयन र नतिजातर्फ ध्यान दिने, आर्थिक स्वावलम्बनको बाटोमा अघि बढ्ने, पूर्वाधार निर्माणतर्फ केन्द्रित रहने र निजी क्षेत्रको सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Popularity: 6%

Add comment April 26th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2011
M T W T F S S
« Mar   May »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....