Archive for May, 2011

संविधान निर्माण हुन नसकेकोमा एनआरएनद्वारा खेद प्रकट

एचकेनेपाल डट कम संवाददाता -
२०६८ जेठ १४ का दिन दोस्रो पटक पनि देशको संविधान निर्माण हुन नसकेकोमा गैरआवासीय नेपाली संघले खेद प्रकट गरेका छ।

संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ - ‘यसले आन्तिरिक एवं वाह्य रुपमा समेत राष्ट्रको छविमाथि नै नराम्रो संदेश जाने हुनाले अविलम्व समयमा नै संविधान लेख्ने काम होस भनेर गैरआवासीय नेपाली संघ नेपाल सरकारसंग आग्रह गर्दछ।’

विगतमा भएको दोश्रो जनआन्दोलन मार्फत मुलुकले कम समयमा ठूलो उपलव्धी हासिल गरि विश्वमा राम्रो संदेश दिन सफल भएको थियो एनआरएनले भनेको छ।

तर, दुर्भाग्यवस फेरी पनि संविधान निर्माण हुन सकेन र फेरी म्याद थपियो । तसर्थ, अब हाम्रा राजनैतिक दलका नेताहरुले यो अन्तिम अवसर हो भन्ने यथार्थ आत्मसात गरे मात्र संविधानसभालाई सार्थक बनाउन सक्नेछन्, संघले भनेको छ।

राजनैतिक दलहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राष्ट्र संकटमा होम्मिदै गएको संघले जनाएको छ। अब पनि राजनैतिक दलहरु जिम्मेवार नहुने, खाली म्याद थपि रहने हो भने राष्ट्र पनि ठूलो दुर्घटनामा पर्ने संभावनालाई नकार्न सकिन्न, संघले भनेको छ।

अब दलगत स्वार्थलाई त्यागेर राष्ट्र हितलाई सर्वोच्च मानि सबै मिलेर चाडै नै राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति प्रकृयालाई तार्किक निश्कर्ष पुर्‍याउन र समयमा नै संविधान निर्माण गर्न सबै राजनैतिक दलहरुसंघ संघले हार्दिक अपिल गरेको छ।

Recent Videos:

Popularity: 9%

Add comment May 31st, 2011

प्रचण्डको निर्णयाविरुद्ध पार्टीमा गम्भीर छलफल हुन्छः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले झलनाथ खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने पार्टीकको निर्णयाविपरित राजिनामा गराउने भनी अध्यक्ष प्रचण्डले गरेको सहमतिको विषयमा पार्टीमा गम्भीर छलफल हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले पार्टले राष्ट्रिय सहमतिको सरकारको लागि प्रधानमन्त्रीको राजिनामा गराउने विषयमा म्याण्डेड नदिएकोले त्यस्तो सहमति कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे। उनले पार्टीको निर्णयविपरित कसरी यस्तो भयो भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल हुने स्पष्ट पारे।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने-हामीले आफै बनाएको सरकारको राजिनामा माग्दैनौ। पार्टीको निर्णयविपरित प्रधानमन्त्रीको राजिनामामा हस्ताक्षर भएको छ।

गजुरेलले राष्ट्रिय सहमति कायम नभई प्रधानमन्त्रीको राजिनामा नआउने स्पष्ट पार्दै अहिले प्रधानमन्त्रीलाई राजिनामा दिन लगाएर मुलुकको अवस्था झनै कष्टकर बनाउन नहुने तर्क गरे। उनले यहि सरकारमा अरु दल आएर राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने भन्दै अन्य पार्टी आए सोही अनुरुप सरकारको नेतृत्वमा आलोपालो हुने समेत स्पष्ट पारे।
संविधानसभाको म्याद थप्नुअघि तीन प्रमुख दलहरुवीच भएको पाँच बुँदे सहमति कार्यान्वयन सहज ढंगले हुनै नसक्ने दावी गर्दै गजुरेलले संविधानसभाको म्याद थप सम्बन्धमा माओवादीलाई चेपुवामा पारिएको र पार्टीको निर्णयविपरित प्रधानमन्त्रीको राजिनामाको विषय उल्लेख भएकोले पनि कार्यान्वयन सहज नभएको दावी गरे।

माओवादीले तत्काल हतियार सरकारलाई नबुझाउने स्पष्ट पार्दै गजुरेलले समायोजन र हतियार बुझाउने काम सँगसँगै हुनु पर्ने बताए । उनले भने-हतियार खोसिएका नागरिकलाई के मा समायोजन गर्ने? हतियार नभएको पनि सेना हुन्छ। त्यसैले समायोजन र हतियार बुझाउने काम सँगै बढ्छ। पहिला हतियार बुझाउने काम मान्य हुदैन।

छ महिनाभित्र सेना समायोजन सक्ने भनी पार्टीको तर्फबाट भएको सम्झौता ऐतिहासिक भूल भएको भन्दै उनले शान्ति प्रक्रिया टुङग्याएर संविधानपछि बनाउने कुरा मान्य नहुने बताए।

Recent Videos:

Popularity: 9%

Add comment May 31st, 2011

तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाइयो

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, पाँच जातिय संगठनहरुले संविधानसभाको म्याद तीन महिना थप्ने गरी जेठ १४ गते मध्यराति तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाएका छन्।

संविधान बनाउन नसक्ने असफल संविधानसभा विघठन गरी सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गर्दै आएका जातीय संगठनहरुले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमै जलाएका हुन्।

थरुहट स्वायत्त राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी आदीबासी जनजाती अधिकार मन्च र तामाङसालिङ स्वायत्त राज्य परिषदले पत्रकार सम्मेलनको आयोजना गरेर पाँच बुँदे सम्झौतामा मधेसीका माग मात्र उल्लेख गरेर, आदीवासी, जनजाती, मुस्लिम, थारु र दलित लगायतका विभिन्न समूहसँग गरेको सहमतिको बेवास्ता गरेको भन्दै आपत्ति प्रकट गरे।

समयमा संविधान निर्माण गर्ने दायित्व बोकेको संविधानसभाले संविधान बनाउन नसकेर आफूलाई असफल प्रमाणित गरिसकेकोले यसको म्याद जति थपे पनि संविधान नबन्ने उनीहरुको ठोकुवा थियो।

उसले मुलुकले सही कार्यदिशा पकडन नसके मुलुक झनै ठूलो द्धन्द्धमा जाने भन्दै तत्काल सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गरेको हो। ती जातीय संगठनहरुले अहिलेको निकासको विकल्प पनि यही भएको दावी गरेको छ।

उनीहरुले आफ्नो घोषित आन्दोलनको कार्यक्रममा मार्फत सोमबार प्रचारात्मक कार्यक्रम अर्न्तगत पत्रकार सम्मेलन गरेका हुन्। उनीहरुले नेपाल सरकार संयूक्त राष्ट्र संघ र सार्क सचिवालयमा ज्ञापनपत्र बुझाउने, संविधानसभाको औचित्य समाप्तिको घोषणा गर्ने, संघीय विधायिकाको रुपमा द लिग अफ फर्स्ट नेसन्स गठन गर्ने, सर्वजातीय सम्मेलन आयोजना गरी सर्वजातीय सरकार घोषणा गर्ने, राज्य तथा क्षेत्रको कर र प्राकृतिक साधनमाथि कब्जा जमाउने लगायतका आन्दोलनका कार्यक्रमहरु गर्ने समेत जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा बोलदै थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले आफै म्याद थपिएको संविधानसभाले संविधान बनाउन नसक्ने दावी गर्दै अब आफै जनताको बलमा संविधान, सरकार घोषणा गरेर आफै राज्य चलाउने चेतावनी दिए। उनले भने- हामीलाई राज्यले बेवास्ता गर्यो अब हामी आफै सबै चलाउँछौ।

संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष सन्जुहाङ पालुङवाले ठूला दलले जनताको भावनालाई बेवास्ता गर्दै हिडेको भन्दै त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए । उनले आफूहरुलाई अब संविधानको आशा नभएकोले आफ्नै सरकार , संविधान र राजस्व चलाउने घोषणा गरे।

पत्रकार सम्मेलनमा आदीवासी जनजाती अधिकार मञ्चका अध्यक्ष मणी लामा, तामसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष बुद्धछिरिङ मोक्तान र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी उपाध्यक्ष नविन किरातीले पनि पाँच बुँदे सहमति जनताको भावना विपरितको भएको भन्दै त्यसको आलोचना गरेका थिए।

Popularity: 9%

Add comment May 30th, 2011

पाँच बुदे सहमतिप्रति माओवादी र काग्रेसमा असन्तुष्टि

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, संविधानसभाको म्याद तीन महिना थप्ने विषयलाई लिएर जेठ १४ गते भएको तीन दलवीचको पाँच बुँदे सहमति र प्रधानमन्त्रीको राजिनामाको विषयमा हस्ताक्षर गर्ने दलहरु आन्तरिक रुपमै विभाजित बनेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले पाँच बुँदे सम्झौतापछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताए। उनले मुलुकमा आराजकता बढेको बेलामा प्रधानमन्त्रीलाई राजिनामा गर्न लगाएर अझै अराजकतामा फसाउन नहुने भन्दै पहिला दलहरुवीच भावी प्रधानमन्त्री को भन्ने कुरामा सहमति नभई प्रधानमन्त्री झलनाथ खनालको राजिनामा आउन नहुने तर्क गरे। उनले भने- सात महिनासम्म मुलुकले प्रधानमन्त्री पाउन नसकेको यथार्थ हाम्रो सामू छ। अब पनि भावी प्रधानमन्त्री को भनेर सहमति नगरी प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा अराजकतामात्रै हुन्छ । त्यसैले पहिला राजिनामा दे भन्नु भन्दा पहिला सहमति गर्नु पर्छ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले सहमति गर्ने तीन दल आफै प्रधानमन्त्रीको राजिनामाको विषयमा अन्यौलमा रहेको उल्लेख गर्दै पाँच बुँदे सम्झौता पनि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेकोले अब शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन तर्फलाग्नु पर्ने तर्क गरे।

कोइरालाले अब सत्ता भन्दा पनि देशको पक्षमा लाग्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकमा बढेको हस्तक्षेपले नेपाललाई अफगानिस्तान बन्ने दावी गरे । उनले आफू प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारेका थिए।

पाँच बुँदे सम्झौता गरेर काग्रेस चुकेको दावी गर्दै कोइरालाले माओवादीसँग सहमति भएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने र हतियार कन्टेनरमा राख्ने कुरालाई पनि सम्झौतामा लेख्न नसक्नु काग्रेसको कमजोरी भएको तर्क गरे । उनले भने-माओवादी तयार भएको विषयलाई पनि सम्झौतामा समेटन सकेनौ। शान्ति प्रक्रिया निर्श्कर्षमा पुगेपछि सहमतिको सरकार बन्छ भन्ने कुरा सम्झौतामा लेखिरहनु पर्दैनथ्यो।

माओवादी लडाकुको शिविर खाली गरिए प्रचण्डकै नेतृत्व पनि काग्रेसको लागि स्वीकार्य भएको स्पष्ट पार्दै कोइरालाले हतियार कायम रहेर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । नेपाली काग्रेसभित्र पनि प्रधानमन्त्री बन्न योग्य नेताहरुको कमि नरहेको भन्दै पहिला प्रधानमन्त्री र उपप्रधानमन्त्री बनेका बाहेक पनि योग्य नेताहरु रहेको तर्क उनको थियो।

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले आफ्नो पार्टी प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीको राजिनामाले मुलुक झनै संकटमा फस्ने चेतावनी दिनुभयो।

उनले राष्ट्रियता र राष्ट्रिय अस्मिताको रक्षाको लागि अहिले प्रधानमन्त्रीको राजिनामा भन्दा पनि यसको निरन्तरता हुनु पर्ने भन्दै राजिनामाले मुलुकलाई राष्ट्रिय आत्मर्समपणबाद तिर लैजाने दावी गरे।

प्रधानमन्त्रीको राजिनामाको विषयमा पार्टीभित्र अहिलेसम्म छलफल नै नभएको जानकारी दिदै गुरुङले पार्टीमा छलफल नै नभई अध्यक्ष प्रचण्डले गरेको सम्झौता कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । उनले भने-पार्टीभित्र छलफल नभएको विषयमा अध्यक्षले गरेको सम्झौता कसरी कार्यान्वयन हुन सक्छ ?

अहिलेको समस्या पाँच बुँदे सम्झौताले समाधान गर्न नसक्ने ठोकुवा गर्दै यथास्थितिमा सम्झौता कार्यान्वयन हुन नसक्ने दावी गरे । उनले भने-पाँच बुँदे सम्झौता राष्ट्रबादलाई कमजोर बनाउने र मुलुकमा विध्वंश मच्चाउने दिशामा अग्रसर छ । यसलाई यथास्थितिबाट अग्रगमनतिर लैजान फेरि छलफल गर्नुपर्छ।

गुरुङले तीन महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउने र लडाकुलाई निसस्त्रिकरण गर्ने कुरा अब्यवहारिक भएको भन्दै तीन महिनामा कुनै पनि हालतमा हतियार बुझाउन नसक्ने स्पष्ट पारे। उनले भने-नेपाली सेना र लडाकु कसैले हारेको अवस्था छैन। दुबै विन विनको अवस्था छ । यस्तो अवस्थामा हतियार बुझाएर आत्मर्समपण गर्ने कुरा हुँदैन।
संविधान निर्माणको प्रक्रिया संविधानसभाबाटै अगाडि बढनु पर्नेमा जोड दिदै गुरुङले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिको गठन र र्सवदलिय छलफलमा भईरहेको छलफल प्रति तिब्र असन्तुष्टि प्रकट गरे। उनल भने-सहमति नभएको विषयलाई संविधानसभामा लगेर छलफल गर्नु पर्छ। उपसमिति र सर्वदलिय बैठकमा लगेर थन्काउनु हुँदैन । यसरी संविधान बन्दैन। उनले संविधानसभाको प्रक्रियामा सहमति नभएपछि मात्रै राजनीतिक सहमति खोजिनु पर्ने तर्क गरे।

नेकपा एमालेका नेता एवम पूर्व गृहमन्त्री भीम रावलले दलहरुवीच एक सातामा सहमति कायम गरेर प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने विषयमा सहमति भएको खुलासा गरेका छन्। उनले भने- शान्ति प्रक्रियामा सामान्य सहमति भएपछि प्रधानमन्त्रीको राजिनामा आउने सहमति भएको हो। सबै राजनीतिक दलहरुले इमान्दारिता देखाउँदै यस विषयमा एक साताभित्र सहमति गर्छन् भन्ने मलाई विश्वास छ।

पछिल्लो समयमा बार्ता टोलीमा रहेका रावलले दलहरुवीच शान्ति प्रक्रियामा सहमति भएपछि पहिलो चरणमा संविधान जारी गर्न माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने र त्यसपछि संसदीय निर्वाचन र स्थानीय निकायको निर्वाचनसम्म काग्रेसको नेतृत्वमा सरकार बन्ने मोटामाटी सहमति भएको समेत खुलासा गरे।

पाँच बुँदे सहमति संसदको अंग बनिसकेकोले त्यो जनताको सम्पत्ति भईसकेकोले त्यो कार्यान्वयन नभए नेपाली जनताप्रति धोका र अपमान हुने दावी उनको थियो।
दलहरुवीच चरण चरणमा भएको छलफलको क्रममा माओवादी नेताहरुले लिदै आएको दोहोरो सुरक्षा अन्त्य गरेर कन्टेनरमा हतियार राख्ने, द्धन्द्धकालमा कब्जा गरिएका सम्पत्ति तत्काल फिर्ता गर्ने र फिर्ता नभए सुरक्षा निकायले कारवाही गर्ने, बाईसिएलको अर्ध सैनिक संरचना अन्त्य गर्ने र उनीहरुले कब्जामा गरेको सम्पत्ति फिर्ता नभए सुरक्षा निकायले कारवाही अगाडि बढाउने, नियमित नभएका माओवादीका गाडि प्रसासनले जफत गर्ने, गठन हुन नसकेका सबै आयोग गठन गर्ने विषयमा सहमति बनिसकेको उनको दावी थियो।
त्यसैगरी हतियार विशेष समितिको मातहतमा ल्याउने विषयमा माओवादी सहमत भए पनि कहिले बुझाउने भन्ने विषयमा भने केही समान्य मतभेद भएको रहेको उनले जानकारी दिए।

पुनः स्थापना प्याकेजमा माओवादी अन्य दलको धारणा अलग रहे पनि सम्मानजनक प्याकेज दिनेमा सहमति रहेको उल्लेख गर्दै रावलले नेपाली सेनाको मातहतमा महानिर्देशनालाय गठन गरेर समायोजन गरी बन, उद्योग र राहत उद्दारमा परिचालन गर्ने, लडाकुलाई तालिम दिने, बृजकोर्स गराउनेमा समेत सहमति रहेको समेत खुलास गरे। उनका अनुसार पुनर्स्थापना प्याकेजमा काग्रेस एमालेले अढाई लाख देखि चार लाख र माओवादीले कमाण्डरलाई १० अरुलाई सात लाखको प्रस्ताव गरेको थियो।
त्यसैगरी संविधान र शान्ति प्रक्रियालाई कार्यतालिका बनाएर अगाडि बढाउने र संख्या तय गर्नेमा पनि धेरै ठूलो विवाद नरहे पनि अन्तिम आएर यसलाई सहमतिमा उल्लेख गर्न माओवादी नमान्नुले भने आशंका उब्जिएको तर्क गरे।

Popularity: 9%

Add comment May 30th, 2011

बिशेष तामझामका साथ गोर्खाकप सम्पन्न

जे देखियो गोर्खाकपमा
धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, बेलायतमा भएको गोर्खा कप फुटबल प्रतियोगितामा १० क्यु ओ जी एल आर टिम विजयी भएको छ। गोर्खाकप प्रतियोगिता भेट्रान तथा नन भेट्रान गरी २ चरणमा विभाजिन गरिएको थियो।

अल्डरसोटस्थित खेल मैदानमा आइतबार खेलाईएको नकलिक खेलमा प्लमस्टिड एफ सीलाई एक गोलले पराजित गर्दै १० क्यु ओ जी एल आरले उपाधि चुमेको हो। उसले एक हजार पाउण्ड नगदका साथै ट्रफी हात पार्‍यो। नन भेटा्रन तर्फ बेलायत भरी छरीएर रहेका १६ बर्षभन्दा माथि उमेर समूहका ४० नेपाली टिमहरुले भाग लिएका थिए । नन भेट्र तर्फ १० टिमले भाग लिएको खेलमा इन्टेक ८७ को विरुद्धमा इन्टेक ८६ ले को दुइ गोल गरी विजयी भएको हो । इन्टेक ८६ का गुन गुरुङले दुवै गोल गरेका थिए । ब्रिटिश सेनामा भर्ति भएको सालको आधारमा इन्टेक नामाकरण गरिएको थियो।

खेलमा विजयी हुने टिमलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले पुरस्कार हस्तान्तरण गरेका थिए। उनले गोर्खाकपको माध्यमबाट नेपाली र ब्रिटिश जनताबीच एकता बढेको बताए। तमुधीले गोर्खाकप सफल बनाएकोमा चालिसेले धन्यबाद दिएका थिए।

कार्यक्रममा अल्डरसोट क्षेत्र वरीपरीका स्थानबाट प्रतिनिधित्व गर्ने मेयर तथा मेयरेष्टहरुको बाक्लो उपस्थिति रहेको थियो।

तमुधि बेलायतले प्रत्येक बर्ष गर्दै आएको गोर्खा कप फुटबल प्रतियोगिता बेलायतमा विशेष मेलाको रुपमा विकास हुंदै आएको छ । गोर्खा कपले बेलायत भरी छरिएर रहेका नेपालीहरुको भेटमात्र गराएन युवा जोडीहरुको डेटिङस्पट पनि जुराईदियो । मिस नेपाल युके नविना पनि आफ्नै प्रेमीसंगै थिइन्। खेलाडीहरुका आफन्त र फुटबल प्रेमीहरुले मात्र खेलको मज्जा लिए । ५० बर्षउमेर माथिकाहरु दौंतरीसंग गफीरहेका भेटिन्थे । किशोर किशोरीहरु आफ्नै सुरमा यत्रतत्र डुलिरहेका थिए । करीब ५ हजार भन्दा बढि नेपाली दर्शकहरु उपस्थित भएको खेल मैदान वरीपरी स्थानीय व्यापारीहरुले स्वदिष्ट नेपाली खानाको स्टल राखेका थिए । त्यस्तै मिडियाहरु नेपाली टिभी तथा विएफ विएस गोर्खा रेडियोका विज्ञापनहरु पनि प्रशस्तै भेटिएका थिए। नेपालका विभिन्न जिल्लामा सेवा गर्दै आएका च्यारीटि संस्थाका व्यानर लगायत सहयोग माग्ने संस्थाहरुको ओइरो लागेको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय वाजा पञ्चेबाजा बजाई अतिथिहरुको स्वागत गरीएको थियो।

गोखर्गाकप सम्पन्न गर्नका लागि तमुधिं बेलायतले करीब ५० लाख नेपाली रुपैंया खर्च गरेको थियो । कार्यक्रममा ससहयोग गर्ने स्थानीय व्यवसायीहरु अलाईटट फुडका उमेश रेग्मी, रारा रेष्टुरेन्टका प्रताप रायमाझी, गोर्खा बियरका हरी केसी तथा देउराली ट्राभल्सलाई अध्यक्ष मुच्छेत्र गुरुङले सम्मान गरेका थिए।

नेपालीका बिरोधी मन्त्री जेराल्ड गोर्खाकपमा
नेपालीहरुको विरोध गर्दै प्रधानमन्त्री डेविड क्यारुनलाई पत्र लेखेका अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धि बेलायती उपमन्त्री जेराल्ड हवार्थ कार्यक्रममा सहभागि भएका थिए । उनी नेपालीहरुको अत्यन्त चाप रहको अल्डरसोट क्षेत्रको कन्जरभेटिभ पार्टीका सभासद पनि हुन्। उनले नेपालीहरुका कारण हेल्थ सेवा, यातायत तथा शिक्षा जस्ता आधारभुत कुराहरुमा असर परेको भन्दै प्रधानमन्त्रीसमक्ष नेपालीहरुलाई अल्डरसोटमा रोक लगाउनुपर्ने समेत बताएका थिए। मन्त्री जेराल्ड तथा उनकी श्रीमतीलाई पञ्चेबाजाले स्वागत गर्दै कार्यक्रमस्थल पुर्‍याइएको थियो।

वास्ता छैन पत्रकारको
नेपाली डायस्पोरामा पत्रकारिता सोचे जस्तो छैन । आयोजकहरुले पत्रकारहरुलाई वास्ता गर्दैनन्। नेपालमा कार्यक्रमका आयोजकहरुले पत्रकारलाई विशेष स्थान दिन्छ। पत्रकारहरुलाई बस्ने विशेष प्रबन्ध हुन्छ तर बेलायतमा त्यो मान्यता छैन। आयोजक, अतिथि र आफन्तहरुले खचाखच भरिएपछि पत्रकारहरु पाखा लाग्छन्। आयोजकभन्दा अतिथिहरु प्राय बढी हुने बेलायतमा कार्यक्रम गर्ने नेपालीहरुको चलन जस्तै रहेछ।

आइतबार भएको गोर्खाकपमा पनि यस्तै भयो । करीब एक दर्जन बढि पत्रकारहरु रहेको गोर्खाकपमा पत्रकारहरु यताउता टहल्न बाध्य भए। उनीहरुलाई नत बस्ने व्यवस्था थियो न आयोजकले पत्रकारलाई मध्यनजर गर्दै कार्यक्रमको शुरुवात र अन्त्य गरे। एउटै कार्यक्रममा पत्रकारहरुको आपसी भेट पनि हुन पाएन। फरमल रुपमा आयोजना गरिएको कार्यक्रममा पनि पत्रकारले खोजी पत्रकारीता गर्नुपर्ने बेलायतमा बाध्यता जस्तै छ।

Popularity: 9%

Add comment May 30th, 2011

कोरियामा राईहरुले साकेला उभौलीमा नचाए

मञ्जु थापा / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, विशेष गरेर राईहरु मनाउने महान चाड साकेला उभौली पर्वलाई भब्यताका साथ सफल पार्न टाढा टाढाबाट आएका राइहरुको जमघट बाग्लै देखिन्थ्यो। ओसानको हेप्पी माइग्रेण्ट सेल्टरमा आयोजना गरेको साकेला उभौली कार्यक्रममा नेपालका विभिन्न भागबाट कोरियामा बसोबास गर्दै आएका राईहरुले खुलेर साकेला नाच नाथे र अरुलाई पनि नचाए।

कोरियामा वर्षेनी यो उभौली नाच नाचेर आफ्नो संस्कृतिको जर्गेन गर्ने र नयाँ पुस्तालाई आफ्नो भेषभूषा र संस्कृतिबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष बागधन राईले बताए। कार्यक्रममा एन सिसिका अध्यक्ष डेविट राई, एन आर एन का ध्यान राई, जनजाति महासंघका मुकुन्द्र राई र सस्थाका सल्लाहकार लोचन राईलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि आ आफ्नो मन्तब्य राखेका थिए।

नेपाली परिकार र विभिन्न गीत, संगीत र नाँचहरुले गर्दा कार्यक्रम निकै रमाइलो भएको थियो।

गीत प्रस्तुत गर्नेहरुका मिठो स्वरका धनी असोक थुलुङ्ग, योङ्गस्टारका गान्दिप सुवेदीले गाएका थिए भने स्विटी लामा लगायत अन्य कालाकारहरुले कला प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन टिका राई र सृजना नेपालीले गरेका थिए।

Popularity: 9%

Add comment May 30th, 2011

फेसबुक आन्दोलन बेलायतमा पनि

लारा / एचकेनेपाल डट कम-
लण्डन, “लण्डन-संविधान, शान्ति तथा मुलुकका लागि खडा छ” भन्ने नारासहित मुख्य अभियानकर्ता प्रदिपकुमार सिहं, नम्बर वन सोर्सेस ब्लगर लेक्स लिम्बु तथा मिस युके-नेपाल नबिना गुरुङलाई साथ दिन लण्डनदेखि बाहिरबाट पनि आएका सयौंको संख्यामा नेपाली युवाहरु बेलायतस्थित नेपाली दूताबासमा २७ मई, मध्यान्ह १२ बजे निक्कै जोशसहित भेला भएका थिए।

सप्ताहन्त, त्यहिमाथि बेर्फुसदिलो शनिबारको बेलायतमा आफ्नै महत्व छ तैपनि, छोटो समयमा बेलायतको भौगोलिक असमानताको बावजूद पनि फेसबुक सञ्जाल मार्फत गरिएको यो आह्वानमा सोचेभन्दा बढी सहभागीहरु भेला भएको देखेर १८ वर्षीय तन्नेरी संयोजक लेक्स लिम्बू निक्कै दंग र उत्साही देखिन्थे । फेसबुकको प्रभावले यस्तो संभव होला भन्ने लागेको थिएन तर सहृदयी साथीहरुको ऐक्यबद्धताप्रति म दंग तथा आभारी छु-धन्यबाद दिने क्रममा लेक्सले भने।

फेसबुक प्रयोगकर्ताहरुको समूह ‘नेपाल युनाईटस्’ मार्फत नेपालमा करीब महिनादिन अघि शुरु भएको आन्दोलनलाई ऐक्यबद्धता जनाउन उक्त भेला आयोजना गरिएको थियो।

अभियानकर्ताहरुले नेपालका लागि बेलायतको राजदूत डा. सुरेशचन्द्र चालिसेलाई भेटेर भलाकुसारी गर्दै, “यो कुनै राजनीतिक अभियान होईन, विदे्शमा बसेता पनि आफ्नो मुलुक नेपालप्रति हामी पनि उतिकै चिन्तित छौं अतः खबरदारी तथा दबाब दिन आ-आफ्नो ठाउँ, तह र तप्काबाट हाम्रो पनि उतिकै जिम्मेवारी हो भन्दै यो स्वस्फूर्त ऐक्यबद्धता जनाईएको हो” भन्दै संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए।

संविधान निमार्णमा भएको ढिलाईप्रति हाम्रो घोर निन्दा छ। संविधान, शान्ति तथा मुलुकका लागि बेलायती हामी सबै युवा एकभएर खडा छौं । संविधान निमार्णका लागि आजको युवाहरुको चाहना र मागसहित लेखिएका केही बुँदाहरु यस आन्दोलनका मुख्य अभियानकर्ता प्रदिप कुमार सिहंले पढेर सुनाएका थिए। मिस युके-नेपाल नबिना गुरुङले भविष्यमा बन्ने नेपालको संविधानले “बृहतरुपमा सबै जात-जातिय समुदाय तथा संस्कृतिहरुलाई महत्वका साथ समान स्थान दिईएको हुनुपर्छ” भन्दै भेलालाई सम्बोधन गरेकी थिईन्।

आन्दोलनलाई सार्थक तुल्याउन स्वस्फूर्त भेला भएका सहभागीहरुले संविधान निर्माण गरिएको ढिलाईप्रति “ज्याला पूरा लियौ, अब संविधान देउ” भन्ने नाराका साथमा सहभागी भेलाले कविता, गीत तथा बुलन्द भाषणकासाथ अब समय थप भएमा साँच्चै नै सभासदहरुले ज्यालारहित काम गर्नुपर्छ भन्ने जोड दिएका थिए।

फेसबुक सञ्जालमा रमाउने आजका तन्नेरी पुस्ताहरुले विद्युतिय यो सञ्जाललाई केवल साधनको रुपमा मात्रै नअप्नाएर संचारकोरुपमा पनि प्रयोग गर्दै जनाईएको संविधान निर्माणका लागि यो ऐक्यबद्धताले ढिलो, चाँडो परिणाम अवश्य ल्याउने नै छ। ती तन्नेरी अभियन्ताहरुको उत्साहलाई बधाई!

Popularity: 9%

Add comment May 30th, 2011

दलित बालिकालाई बलात्कार गर्ने यादव पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
हतियार देखाएर दलित बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सप्तरीको कमलपुर गाविसस्थित निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश यादव भनिने बेचन यादवलाई पक्राउ गरेको छ।

पीडित बालिकाको उजुरीपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले उनका सहयोगी स्थानीय प्रभु खंगसहित यादवलाई पक्राउ गरेको हो।

पीडित बालिकाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका दुवैजनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक रमेश तामाङले जानकारी दिनुभयो।

घरमा कोही नभएको मौका छोपी एकीकृत नेकपा (माओवादी)का कार्यकर्तासमेत रहेका यादवले जेठ ७ गते राति पेस्तोल देखाएर आफूलाई बलात्कार गरेको भन्दै कमलपुर गाविस–३ निवासी १२ वर्षीया दलित बालिकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा शनिबार उजुरी दर्ता गराएकी थिइन्।

खंग थरकी उक्त बालिकाले दर्ता गराएको उजुरीमा यादवले रु ५०० दिएर प्रलोभन देखाई यौन सम्पर्क गर्न खोज्दा नमानेपछि बन्दुक देखाएर बलात्कार गरेको उल्लेख छ।

Popularity: 10%

1 comment May 30th, 2011

एनआरएन चीनमा थापा

एचकेनेपाल डट कम संवाददाता-
सुन्दर थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गर्दै गैरआवासीय नेपालीहरूको सङ्घ एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो महाधिवेशन शनिबार सम्पन्न भएको छ।

महाधिवेशनले रञ्जन ढकाललाई एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को चीनको प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ।

आगामी दुई वर्षे कार्यकालका लागि नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन जमरकट्टेल, उपाध्यक्षद्वयमा नवीन विक र सञ्जकुमार चेतानी, महासचिवमा सुदेशकुमार झा, सचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा राजु श्रेष्ठ र प्रवक्तामा प्रकाशचन्द्र पोखरेल निर्वाचित हुनुभएको छ।

त्यसैगरी प्रदीप भण्डारी, अमर व्यञ्जनकार, सुशील बेलबासे, दामोदर पराजुली, रामकुमार राई, खामसुंग गुरुङ, राजीव केशरी, राजन घले, रोहित अग्रवाल, लीला उप्रेती, निर्मल चौलागाइं, उत्सव श्रेष्ठ, विजय भण्डारी र मिलन ज्ञवाली कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ।

Popularity: 9%

Add comment May 30th, 2011

म्याद थपको बेलायतद्वारा स्वागत

एचकेनेपाल डट कम संवाददाता-
बेलायत सरकारले नेपालमा संविधानसभाको म्याद तीन महिना थप गरिएकामा स्वागत गरेको छ।

बेलायतको विदेश मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बेलायती विदेशमन्त्री एलेस्टर बर्टले संविधानसभाको बढाइएको निर्धारित समयमा नेपालमा लोकतान्त्रिक, समावेशी संविधान निर्माण गर्न पर्याप्त लचकता अपनाउन सबै राजनीतिक दलसमक्ष आग्रह गर्नुभएको उल्लेख छ।

संविधान निर्माणमा नेपालका सबै जनताको वृहत्तर परामर्श गरिने अपेक्षा पनि गरिएको विज्ञप्तिमा जनाइएको छ।

साथै विज्ञप्तिमा संविधान निर्माणसँगै माओवादीका पूर्वलडाकुको समायोजन र पुनर्स्थापनाका कार्यहरू पनि तीव्ररूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Popularity: 9%

Add comment May 30th, 2011

नेपाली दूतावास कोरियाले चौथो गणतन्त्र दिवस मनायो

अशोक मैनाली / एचकेनेपाल डट कम-
सोल कोरिया, दक्षिण कोरियास्थित नेपाली दूताबासले नेपालीबीच शुभकामना आदनप्रदान गर्दै चौथो गणतन्त्र दिवस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा राजदूत कमलप्रसाद कोईरालाले संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको संस्मरण गर्दै गणतन्त्रको प्राप्ति तथा संस्थागत सुदृढीकरणमा नेपालको राजनीतिक नेतृत्व तथा आम जनताले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।
उनले नेपालको गणतन्त्रले सवै बर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने हुनाले त्यसका लागि सबै राजनीतिक दल सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दिशातर्फ दलहरुबीच भएको सहमति र संविधान सभाको म्याद थप गर्ने सहमतिलाई स्वागतयोग्य निकास भएको तर कार्यान्वायनको बिषयमा शंका रहेको पटक पटक दोहोराएका थिए।

कार्यक्रममा ब्यापार संघ कोरियाका अध्यक्ष मदन केसीले नेपालको राजनैतिक अबस्था झन् बिग्रदै गएकोमा चिन्ता प्रकट गर्दै नेपाली जनता निराश भएको बताए। नेपालकोरियाटाइम्स डट कम का सम्पादक अशोक मैनालीले नेपालको बर्तमान गणतन्त्र बिहारी शैलीको गणतन्त्र भएको भन्दै यो गणतन्त्रलाई सांचो अर्थमा नेपाली जनताको गणतन्त्र बनाउनु पर्ने कुरामा जोड दिंदै संबिधान सभाको समय थपिदा पनि नेपाली जनतालाई संबिधान बन्ने आशा नहुनु र बने पनि जनताको परिवर्तनको भावनालाई समेट्ने कुरामा आशंका ब्यक्त गरे। कार्यक्रममा पत्र्कार महासंघ कोरियाका अध्यक्ष रघु त्रिपाठीले दलहरुको भूमिका चित्त बुझ्दो नभएको भन्दै नेताहरुलाई कालो मोसो दल्नु पर्ने दिन आउने चेतावनी दिए। त्यस्तै कार्यक्रममा योङ स्टार कोरियाका अध्यक्ष यम श्रेष्ठ ,जगदिश महरा, मनमहेश भुजेलले पनि राजनीतिक दल र तिनका नेताको गतिबिधीले आक्रोशित तुल्याएको भन्दै धैर्यताको बांध टुट्ने चेतावनी दिएका थिए।

Popularity: 9%

Add comment May 30th, 2011

गैरआवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न भएको छ। रमेश गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।

समितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा डिलाराम चापागाईं, उपाध्यक्षमा पेम्बा शेर्पा, कोषाध्यक्षमा सुरेन्द्र अमगाई र सह सचिवमा सोनाम दोर्जे योन्जन लामा चयन हुनु भएको छ।

लेखा समिति संयोजकमा खेम जुग्जाली मगर र सदस्यमा भेषराज आचार्य निर्वाचित हुनुभएको छ भने महिला र युवा प्रतिनिधिमा क्रमश: सीतादेवी बाँस्तोला बराल र गोविन्द दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ।

सदस्यहरुमा सुमन चौलागाई, धर्मलाल कँडेल, दिलिपकुमार सुनार, विष्णुप्रसाद सापकोटा, उमेश गुरुङ, लालबहादुर पुन, धनराज शेर्पा, कञ्चन श्रेष्ठ, पुरुषोतम सुवेदी, गिरीप्रसाद गाहा मगर र जयकला राई निर्वाचित हुनु भएको छ।

सबै पदहरु निर्विरोध भए पनि सचिव पदमा भएको निर्वाचनबाट नवीन गौतम निर्वाचित हुनु भएको छ । गौतमले ६९६ मतमध्ये ५२२ मत ल्याएर भारी मतकासाथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी योगेन्द्रमिलन छन्त्यालले १७४ मत प्राप्त गर्नुभएको थियो।

सहमति भएको भन्दै यहाँ रहेका तीन दलबाट स्थानिय वेबसाइटहरुमा छन्त्यालका विज्ञप्ति र समाचारहरु प्रतिबन्ध गरिएका थिए भने सहयोग गर्ने समर्थक र शुभचिन्तकहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । छन्त्यालको भनाइ छ : ‘वास्तवमा तानाशाहीतन्त्र लादेर दलहरुले ब्यक्तिगत स्वतन्त्रता र मान मर्यादाको हनन गरेका छन्। राजनीतिक बिल्लावालहरुको समूह बनाइएको संस्कारकोबिरुद्धमा मैले उम्मेदवारी दिएको थिएँ । मैले जितेर पनि हारेको छु।’

दलनिकट नेताहरुको भनाइ छ : ‘सहमतिको बाधक बनेको ठहर गर्दै हामीले साम, दाम, दण्ड र भेद सबै उपाय अपनाएका हौ।’

अधिवेशनबाट सह सचिव हेमन्त सेढाइद्वार प्रस्तुत प्रगति प्रतिवेदन र सदस्य भानु सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको छ।

प्रतिवद्धता मन्तव्यमा नव निर्वाचित अध्यक्ष गुरुङले आफूले भाषण गर्न नजान्ने तर काम गरेर देखाउने बताउनुभएको छ । गुरुङको दाबी थियो : ‘मेरो कार्यकालमा जसरी पनि नेपाली दुतावासको स्थापना गराइ छोड्नेछु।’

निर्वाचन समितिका सँयोजक डक्टर महेन्द्र पन्थीले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।

Popularity: 9%

Add comment May 30th, 2011

लण्डन दूतावासले गणतन्त्र दिवस मनायो

धर्मराज अधिकारी /एचकेनेपाल डट कम -
बेलायत, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले ६-८ महिना देश विकासका लागि धेरै लामो सयम नभएको बताएका छन्।

बेलायतस्थित नेपाली राजदूतावासले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा राजदूत चालिसेले यस्तो बताएका हुन्। उनले जनताको उत्कट चाहना रहेको संविधान निर्माणका लागि व्यवस्थापिका संसदको म्याद थपिनु सकारात्मक भएको टिप्पणी समेत गरे।

नेपालका राजनीतिक दलबाट आशा गर्ने प्रसस्त ठाउं रहेको उनले जनाए। जनताको हितमा काम गर्न नै जनप्रतिनिधहरु रहेको स्मरण गराउंदै चालिसेले जनतालाई संविधान दिन दलहरु लागिपरेको बताए । संविधान बन्दैन भनेर निराशा गर्नुपर्ने आधार नभएको उनको भनाई थियो।

नेपालमा प्रजातन्त्र पुनस्थापनासंगै संविधानसभाको निर्वाचन मार्फत संविधान निर्माण गर्ने चर्चा भएपनि त्यो अहिले पूरा भएको राजदूतले बताए । जनप्रतिनिधिहरुले सदैंब जनताको हितका लागि काम गरिरहेको उनले बताए । २०४६ को आन्दोलनपछि मात्र तेश्रो मुलुकमा नेपालीहरुको आगमन बढेको जनाउंदै राजदूतले रेमिट्यान्सले मुलुक धानिएको बताए।

कार्यक्रममा दूतावासका उप नियोग प्रमुख झपेन्द्र अर्यालले स्वागत मन्तव्य राखेका थिए। नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमको सञ्चालन एटेची गणेश अधिकारीले गरेका थिए । सो अवसरमा विभिन्न आन्दोलनमा बलिदानी दिएका अमर शहीदप्रति एक मिनेट मौन धारण गरिएको थियो । सो अवसरमा समाजका गन्यमान्य व्यक्तित्व, व्यवसायी, विद्यार्थी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

Popularity: 10%

Add comment May 29th, 2011

राष्ट्रिय सरकारको विकल्प तयार भएपछि राजीनामा दिन्छु

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सरकारको विकल्प तयार भएकै क्षण आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिने बताउनुभएको छ।

संविधानसभाको म्याद तीन महिना थप्ने संविधानको नवौँ संशोधनपछि आज बिहान संविधानसभा भवनबाहिर पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री खनालले सो कुरा बताउनुभएको हो।

प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीबीच शान्ति र संविधानको मूलभूत काम सम्पन्न गर्ने गरी संविधानसभाको म्याद तीन महिना थप्ने गरी गएराति पाँच बुँदे सहमति भएको थियो।

“राष्ट्रिय सरकारको विकल्प जतिबेला तयार हुन्छ, म त्यति बेला राजिनामा दिन्छु र राष्ट्रिय संयुक्त सरकार बन्छ,” प्रधानमन्त्री खनालले भन्नुभयो।

उहाँले नेपाली जनताले सङ्घर्ष गरेर प्राप्त गरेको संविधानसभाले संविधान नबनाई यो तलमाथि नहुने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया पनि तोकिएकै समयमा (तीन महिनाभित्र) टुङ्गोमा पुग्ने धारणा व्यक्त गर्नुभयो।

प्रमुख प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले सहमतिअनुसार नै प्रधानमन्त्रीले राजीनामा दिने बताउनुभयो।

उहाँले तीन महिनाभित्र माओवादी लडाकूको हतियार राखिएको कन्टेनरका चाबी मात्र हैन हतियार नै बुझाउने सहमति भएको बताउँदै पाँचदेखि छ हजारको हाराहारीमा माओवादी लडाकू समायोजन हुने सहमति भएको बताउनुभयो।

यसैगरी, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकल्प तयार भएपछि प्रधानमन्त्रीले राजिनामा दिने बताउँदै पार्टीहरुबीच शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि वार्ता हुने जानकारी दिनुभयो।

Popularity: 10%

Add comment May 29th, 2011

राष्ट्रपतिद्वारा संविधान सभाको म्याद थप विधेयक प्रमाणीकरण

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान (नवौं संशोधन), २०६८ व्यवस्थापिका–संसद्ले दुई तिहाइ बहुमतले पारित गरेको प्रमाणित गर्नुभएको छ।

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानको नवौं संशोधन पारित गरिएको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्नुभएको थियो।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २० गते शुक्रबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ।

Popularity: 8%

Add comment May 29th, 2011

राष्ट्रिय भावना जगाउन झण्डा वितरण

एचकेनेपाल डट कम संवाददाता-
नेपाली जनतामा राष्ट्रिय भावना हराउँदै गएको भन्दै मोरङको टंकिसिनुवारी जेसिजले शनिबार स्थानीयवासीका घर–घरमा पुगेर राष्ट्रिय झण्डा वितरण गरेको छ।

मुलुकमा शान्ति स्थापना गरी राष्ट्रियताले ओतप्रोत नयाँ संविधान घोषणा गर्न दबाब दिने र सबै नेपालीमा राष्ट्रिय भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय झण्डा वितरण गरिएको जेसिजकी अध्यक्ष रिता न्यौपानेले जानकारी दिनुभयो।

जेसिजले अहिले तत्काल एक हजार झण्डा वितरण गर्ने र त्यसलाई निरन्तरता दिई टंकिसिनुवारी गाविसका सबै घरमा वितरण गर्ने लक्ष्य राखेको छ। जेसिज भवनबाट निस्किएका पदाधिकारी र स्थानीय युवकहरुको समूहले टंकिसिनुवारी चौकका स्थानीयवासीका घर र उद्योगहरुमा राष्ट्रिय झण्डा वितरण गरेको थियो।

वितरण गरिएको राष्ट्रिय झण्डा टंकिसिनुवारी गाविसका उद्योग कलकारखानादेखि सबै स्थानीयवासीका घरहरुमा राख्न लगाइने जेसिजले बताएको छ।

Popularity: 8%

Add comment May 29th, 2011

संविधान संशोधनको प्रस्ताव दुई तिहाइ बहुमतले पारित

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको म्याद तीन महिना थप गर्ने अन्तरिम संविधान संशोधनको प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ। व्यवस्थापिका–संसद्को आजको बैठकले …नेपालको अन्तरिम संविधान (नवौ संशोधन) २०६८’ लाई दुई तिहाइ बहुमतले पारित गरेको हो।

कानुन तथा न्यायमन्त्री प्रभु साहले प्रस्तुत गर्नुभएको उक्त संशोधनको पक्षमा पाँचसय चार र विपक्षमा चार मत परेको थियो।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आवद्ध विभिन्न मधेसवादी दलका ७१ जना सांसद्ले भने तीन ठूला राजनीतिक दलको व्यवहार विभेदपूर्ण भएको तथा मधेसप्रति उपेक्षा गरेको भन्दै मतदान नगरी तटस्थ बस्नुभयो।

त्यसअघि नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेलेे संविधानसभाको कार्यावधि तीन महिना थप गर्न भएको राष्ट्रिय सहमतिले शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पुर्‍याउन नेपाली जनता सक्षम छन् भन्ने सन्देश प्रवाह भएको उल्लेख गर्नुभयो।

उहाँले संविधानसभाको म्याद थप्ने सम्बन्धमा दलहरूबीच भएको पाँच बुँदे सहमति बैठकमा आद्योपान्त वाचन गरेर जानकारी दिँदै उक्त सहमतिपत्रलाई व्यवस्थापिका–संसदको सम्पत्तिका रुपमा सँगालेर राख्न सभामुखसमक्ष प्रस्तुत गर्नुभएको थियो।

सचेतक घिमिरेले संविधानसभाको आयु लम्ब्याउन दलीय सहमति भइसकेकाले नेपालको अन्तरिम संविधान २०६८ का विभिन्न धारा तथा उपधारालाई निलम्बन गर्न आग्रह गर्नुभयो।

मतदान प्रारम्भ हुनुअघि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले मधेसी समुदायलाई नेपाली सेनामा समावेश गर्ने, शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्री झलनाथ खनालले मार्ग प्रशस्त गर्नेलगायत लिखित प्रतिबद्धता सदनसमक्ष प्रस्तुत भइ संविधानसभाको कार्यादेश थप भएकोमा त्यसको स्वागत गर्नुभयो

Popularity: 8%

Add comment May 29th, 2011

संविधानसभाको म्याद तीन महिना थप

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, दुई तिहाई बहुमतबाट संविधानसभाको म्याद तीन महिना थप गरिने भएको छ।

संविधान संशोधन गरी संविधानसभाको म्याद थप गर्न आइतवार विहान भएको मतदानमा ५०८ मध्ये ५०४ मत पक्षमा र ४ मत विपक्षमा परेको थियो। मधेशी मोर्चाले मतदान प्रक्रियामा सहभागिता जनाएन।

सभामुख सुवास नेम्वाङले विहान साढे ५ बजे दुई तिहाई बहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए।

राष्ट्रपति रामवरण यादवले संसदले पास गरेको संविधान संशोधन विधेयक आजै बिहान प्रमाणिकरण गरेका छन्।

कान्तिपुर समाचार हेर्नुहोस्

Popularity: 8%

Add comment May 29th, 2011

मकवानपुरमा बाल क्लब संजाल

सुरजकुमार भुजेल /एचकेनेपाल डट कम -
मकवानपुर, मकवानपुरमा पहिलो पटक जिल्ला स्तरीय बालक्लब संजाल गठन भएको छ।

मकवानपुरको हेटौंडामा भएको जिल्लाका विभिन्न गाविसका बालक्लब तथा हेटौंडा नगरपालिकाका बालक्लबका प्रतिनिधिहरुको भेलाले मकवानपुर जिल्ला स्तरीय बालक्लब गठन गरिएको हो।

प्लान नेपाल मकवानपुरको सहयोग र होस्टे हैसे समूह हेटौंडाका आयोजनामा भएको भेलामा मकवानपुरका ४३ गाविसका ४३ जना र नगरका बालक्लब प्रतिनिधिको सहभागिता रहेको थियो।

भेलाले असिजता थिङ (चुरियामाइ)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ।

जिल्ला समितिको उपाध्यक्षमा किताबसिं नेगी (नामटार), सचिव दिनेश परियार (हेटौंडा), कोषाध्यक्ष किशोर नेपाल (पदमपोखरी) रहेका छन्। त्यसैगरी, संजालका विभागिय प्रमुख तथा सदस्यहरुमा तालिम संयोजक सोमलाल घलान (पदमपोखरी), शिक्षा संयोजक दिलबहादुर विक (खैराङ), खेलकुद संयोजक डारमणी ढकाल (मकवानपुरगढी), साँस्कृतिक कार्यक्रम संयोजक सुस्मिता घलान (हाँडिखोला) स्वास्थ्य सरसफाई संयोजक खुस्बु खातुन (हेटौंडा) अनुशासन संयोजक रोजिना विष्ट (दामन), स्रोत पहचिन संयोजक सरोज घिमिरे (आमभन्ज्याङ), बालअधिकार अनुगमन संयोजक निशा साप्कोटा (हेटौंडा) र सम विकास संयोजक सञ्जय लोप्चन (हेटौंडा) रहेका छन्।

जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेलको प्रमुख आतिथ्यमा भएको संजाल गठन कार्यक्रममा होस्टे हैसे समूहका निवर्तमान अध्यक्ष मधु आचार्य, प्रशिक्षक दयाराम कँडेल, दामन गाविस स्तरीय संजालकी अध्यक्ष रोजिना विष्ट, माधव न्यौपाने लगायतकाले बोलेका थिए।

Popularity: 9%

Add comment May 28th, 2011

३७ एजेन्सीलाई कारवाही सिफारिस

दीपक पौडेल / एचकेनेपाल डट कम-
दोहा, बैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पार्ने ३ दर्जन म्यानपावर एजेन्सीलाई नेपाली दूतावासले कारवाही सिफारिस गरेको छ।

गत बर्ष२९ अगष्टदेखि हालसम्म नेपाली दूतावासले ३७ वटा म्यानपावर एजेन्सीलाई कारवाही गरेको जनाएको छ।

नेपाली कामदारहरुलाई एउटा कम्पनीको भिषा लगाएर अर्को कम्पनीको काममा पठाउने, तोकिएको तलव सुविधा नदिने, समयमा तलव नदिने कतारस्थित यस्ता स्थानीय कम्पनीहरुमा नेपाली कामदारहरुलाई पठाएर ठगि गर्ने, अलपत्रमा पार्ने नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीहरुलाई नेपाली राजदूतावासले विभिन्न समयमा नेपाल सरकारका विभिन्न निकायमा कारवाहीको लागि सिफारिश गर्दै आएको छ।

२९ अगष्ट २०१० मा एसओएस म्यानपावर सर्भिस प्राईभेट लिमिटेड र कारावान इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरी २ वटा, ६ सेप्टेम्वर २०१० मा रिभाइभ नेपाल प्राइभेट लिमिटेड, सिद्धार्थ वुद्ध ओभरसिज प्राइभेट लिमिटेड, यति ओभरसिज प्राइभेट लिमिटेड, डायना ओभरसिज प्राइभेट लिमिटेड, बज्र हुम्यान रिसोर्स प्राइभेट लिमिटेड, फ्युचर इम्प्ल्योइमेन्ट सर्भिस प्राइभेट लिमिटेड, क्लासिक ओभरसिज सर्भिस प्राइभेट लिमिटेड, टिम फोर्स प्राइभेट लिमिटेड र पायोनियर ओभरसिज प्राइभेट लिमिटेड गरी ९ वटा, २० फेव्रुवरी २०११ मा गल्फ मनेजमेन्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, आयुष इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड, अल जफर इन्टरनेशनल प्राइभेट लिमिटेड, अल दाहावीय ओभरसिज प्राइभेट लिमिटेड, अल अरव ओभरसिज प्राइभेट लिमिटेड र क्षितिज इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड गरी ६ वटा, ७ मार्च २०११ मा एएनएस एशोसियट्स प्राइभेट लिमिटेड, जव प्लेसमेन्ट सर्भिस प्राइभेट लिमिटेड, रेड रोज इन्टरनेशनल प्राइभेट लिमिटेड र डि्रम्स अनलिमिटेड एण्ड कम्पनी प्राइभेट लिमिटेड गरी ४ वटा, १३ मार्च २०११ मा साउण्डलाइन्स रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, इन्टरनेशनल ट्रेड लिंक नेपाल प्राइभेट लिमिटेड, रेम्वो ओभरसिज प्राइभेट लिमिटेड गरी ३ वटा, ९ मे २०११ मा क्रियटिभ प्लेसमेन्ट सर्भिस, आर.पी इन्टरनेशनल कन्सल्टेन्सी सर्भिस, कन्टिनेन्टल हृयुमान रिर्सोस, जव स्पट प्राइभेट लिमिटेड, विराड एशोसिटेस प्राइभेट लिमिटेड, पानडोरा इनकर्पोरेशन प्राइभेट लिमिटेड र मुनड्रप्स ओभरसिज प्राइभेट लिमिटेड गरी ७ वटा, १६ मे मा फोकस नेपाल ओभरसिज सर्भिसेज, अनमोल ओभरसिज, जव लिंक इन्टरनेशनल, जव र्सच प्राली र वर्क फोर्स सर्भिस प्राइभेट तथा १९, मेमा सप्तकोशी हयूमान रिर्र्सोस प्राइभेट लिमिटेडलाई कारवाही गरेको दुतावासको तथ्यांकमा जनाइएको छ।

Popularity: 9%

Add comment May 27th, 2011

२१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति

२१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, तमु सांस्कृतिक प्रतिष्ठानद्वारा यही जेष्ठ १४ गते पोखराको शक्तिघाटमा रहेको तमु प्हे ल्हू सघंको सभाकक्षामा एक औपचारिक समारोहको आयोजना गरी वाषिर्क रुपमा प्रदान गदै आएको कूल १० वटा शिर्षहरुमा स्थापना गरिएको छात्रवृत्ति मेरीट लिष्टको आधारमा छनौट गरिएका विभिन्न जिल्लाहरुमा रहेका सार्वजनिक विद्यालयमा अध्यनरत कक्षा ८,९ र १० का २१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई प्रदान गर्ने भएको छ।

प्रतिमहिना जनही रु ६६६ को दरले एक वर्षको एक मूष्ट रु ८००० प्रति विद्यार्थी दिइने छ। तमु धीँ युके छात्रवृत्ति, स्व.हर्कमान स्मृति छात्रवृत्ति, मकर तमु छात्रवृत्ति, कमल तथा पुनम छात्रवृत्ति, खुशीमान तथा मिना तमु छात्रवृत्ति, स्व.लालकाजी स्मृति छात्रवृत्ति, स्व.मन प्रसाद स्मृति छात्रवृत्ति, हिमाल तथा हेमा तमु छात्रवृत्ति, दिलिप तथा हेमा तमु छात्रवृत्ति र तमु धीँ नागोमा जापान छात्रवृत्ति शिर्षमा स्थापित अक्षयकोषको व्याज रकमबाट प्रतिष्ठानले छात्रवृति प्रदान गर्दै आएको छ।

यस पटकको छात्रवृत्ति पर्वत, स्याङ्गजा, कास्की, तनहूँ, लमजुङ्ग, गोर्खा र ओखलढुङ्गा जिल्लाका विद्यार्थीहरुले प्राप्त गर्ने भएका छन्।

“उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने नारासहित तमुका बालबालिकाहरुलाई शिक्षातर्फ आकर्षण गर्नको लागि यस प्रतिष्ठानले विभिन्न प्रोत्साहन मूलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ। वि.सं. २०६६ सालदेखि वितरण गर्दै आइरहेको यस छात्रवृत्ति लाई गत वर्षसम्म सम्वन्धित विद्यालयहरुमानै गएर वितरण गर्ने गरिन्थ्यो भने यस वर्षदेखि पोखरामा नै औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गर्ने भएको छ।

छात्रवृत्तिको लागि प्राज्ञिकहरुको एउटा निष्पक्ष छनौट कमिटि गठन गरि प्रत्येक वर्ष पौष महिनामा सार्वजनिक विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरुविच स्वस्थ प्रतिस्पर्धा गराइन्छ र छनौट भएमा विद्यार्थीहरुलाई कक्षा ८, ९, र १० सम्म सो छात्रवृत्ति प्रदान गर्ने गरीन्छ । गत वर्षपौष ३ गते प्रा. डा. विरेन्द्र सिहं गुरुङ्गको संयोजकत्वमा गठित ५ सदस्यीय छनौट कमिटिले छनौट परीक्षा सम्पन्न गरेको थियो।

कास्की जिल्लास्तरिय प्रथम राजु थापा सितोरियो कराँते प्रतियोगिता हुने
हुम तमु पोखरा, जेठ २७ र २८ गते लेकसाइडमा कास्की जिल्ला स्तरिय प्रथम राजु थापा सितोरियो कराँते प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता गर्न तीन वर्षको लागि गैरआवासीय नेपाली संघ जर्जिया अमेरिकाका अध्यक्ष राजु थापाले प्रायोजन गर्नुहुने सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङले जानकारी दिनुभयो।

गैरआवासीय नेपाली संघ जर्जियाका अध्यक्ष राजु थापा र सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ, लेकसाइड डोजोका प्रशिक्षक राजेश तामाङ विच उक्त प्रतियोगितामा प्रायोजन गर्ने सहमति भएको हो । सहमतिका लागि भएको छलफलमा बाराही क्लवका अध्यक्ष धर्म लामिछाने र भलिवल संघ कास्कीका उपाध्यक्ष भिम पराजुलीको उपस्थिती रहेको बताइएको छ।

जेठ २७ र २८ हुने प्रतियोगितामा सोह्र इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा बीस केजी भन्दामाथिका पुरुषको आठ र महिलाको आठ इभेन्ट हुने संघका कास्की अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

राष्ट्रिय सहमति विना शान्ति र संविधान टुंगोमा नपुग्ने
हुम तमु पोखरा, जेठ १३। राष्ट्रिय सहमति विना शान्ति र संविधान टुंगोमा नपुग्ने आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएकाछन।

मानव अधिकार संरक्षण मञ्च कास्की र मानव विकास तथा शान्ति अभियान कास्कीको आयोजनामा पोखरामा आयोजित शान्ति र संविधान सही निकाश विषयक अन्तरसम्बाद कार्यक्रमका सहभागीहरुले विगतका सहमतिहरु कार्यन्वयन गर्दै विधानसभाले गरेका कामको सार्वजनिक र अव थपिने समयमा संविधान निर्माण गर्ने कार्ययोजना सहितको राष्ट्रिय सहमति आवाश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक आचार्यले राजनितिक दलहरु विच सहमति भए दश दिनभित्रै संविधान निर्माण हुने बताउनुभयो । शान्ति र संविधान निर्माणको सुनिश्चितताका लागि नेपाली सेनाको प्रस्ताव अनुसार सेना समायोजन गरी उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताउनु भयो । शान्ति र संविधानको अवरोध हतियार भएकाले हतियारको चावी प्रधानमन्त्रीलाई हस्तान्तरण वर्तमानको सही निकास हो भन्नुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै मासम कास्की उपाध्यक्ष श्रीकात खतिवडाले शान्ति र संविधानका लागि कार्यतालिका सहित न्युनतम समय थप गर्नुपर्ने, थपिने समयमा कार्यसम्पादन पुरा गर्ने प्रतिवद्धता, राजनैतिक पार्टी जनतामा आधारित नागरिक पार्टीमा रुपान्तरण, संघीय लोकतान्त्रिक नया नेपालको पुन संरचना गर्ने गरी संविधान निर्माणमा प्रतिवद्ध भए सही निकास निस्कने बताउनु भयो।

नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले राजनितिक दलहरु एक ठाँउमा नउभिए आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने आशंका व्यक्त गर्नुहुदै पुष्प कमल दाहाल, शुशील कोइराला र झलनाथ खनाललाई राष्ट्रिय सहमतिमा पुर्याउन दवाव आवाश्यक रहेको बताउनुभयो । उहाँले शान्ति र संविधानका लागि केही समय थप गरी त्यस समयावधिमा संविधान ल्याउनै पर्नेमा जोड दिनुभयो।

मासम कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिकारकर्मी टेकनाथ बराल, पूर्व न्यायधीशहरु करुणनिधी शर्मा, ओम सुवेदी, प्रेस स्वतन्त्रताका सेनानी माधव शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रिविनोद प्रतिक, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका यज्ञप्रसाद अधिकारी, विष्णु वराल, हुमबहादुर तमु, ज्ञानेश्वर पराजुली, दुर्गा न्यौपाने, कमलप्रसाद अर्याल, सविता ढुंगाना, गीता विष्ट लगायतले राजनितिक दल, नेता र सभासदले आजसम्म संविधानसभाको कामको श्वेतपत्र जारी गरी ६ महिनासम्म म्याद थप गर्न सुझाव दिएका थिए।

Popularity: 10%

Add comment May 27th, 2011

बाग्लुङस्थित विद्यालयलाई बेलायतबाट सहयोग

नबिन पोखरेल / एचकेनेपाल डट कम-
लन्डन, बेलायतवासी नेपालीले बाग्लुङ कांडेवास गाविसस्थित शिव उच्च माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालायलाई बेलायतमा विभिन्न व्यवसायमा संलग्न कंडेल ग्रुपका तर्फाबाट सांढे तीन लाख रुपैंया उपलब्ध भएको छ। यसबाहेक सो ग्रुपले विद्यालयमा आइटी ल्याव निर्माण र एक शिक्षक उपलब्ध गराउनुका साथै हरेक वर्ष सोही विद्यालयबाट एकजना उत्कृष्ट विद्यार्थीलाई बेलायतस्थित कलेज पढ्न छात्रवृत्ति समेत उपलब्ध गराउने भएको छ।

रकम हस्तान्तरण गर्दै कंडेल (बायां) र प्रधानाध्यापक केसी।

कंडेल ग्रुपका तर्फबाट महेन्द्र कंडेलले विकट गाउंबाट पढ्न आउने दलित विद्यार्थीहरुले भोग्नु परिरहेको समस्यालाई लक्षित गर्दै सहयोग गरिएको जनाए। ‘हामीहरु भविष्यमा पनि सो विद्यालयका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं’-कंडेलले भने।

त्यसैगरी, हाम्रो नेपाली समाज उल्भरह्याम्टनले एक लाख, स्कटल्याण्ड एडिनवराका कदम केसीले एघार सय पाउण्ड, शशी चालिसेले एकहजार एक पाउण्ड, एडिनवराकै प्रवेश केसीले एक हजार पाउण्ड, गोविन्द/नवीन कंडेलले ८ सय ५१ पाउण्ड, धन केसीले ८ सय ५० पाउण्ड र विमल बस्नेतले ८ सय ३० पाउण्ड प्रदान गरे। विष्णु चालिसे र गोविन्द खरेलले ५०१/५०१ पाउण्ड, इन्दिरा/अरुण न्यौपाने, दिलराम गौतम र चेतन सापकोटाले ५/५ सय पाउण्ड दिएका छन्।

त्यसैगरि, गंगा सापकोटाले तीनसय ५० पाउण्ड, शिव खरेलले दुइ सय पाउण्ड, नारायण खरेल र देवेन्द्र कंडेलले ५०/५० हजार रुपैयां लगायत अन्य नेपालीले पनि धेरथोर आर्थिक सहयोग प्रदान गरेका छन्।

वि.स. २०४० सालमा स्थापित सो विद्यालयबाट तीन गाविसका वालवालिकाले शिक्षा आर्जन गरिरहेका छन्। दलित विद्यार्थीहरु पढ्नकै लागि दिनहुं झण्डै ६ घण्टा आवतजावत गर्नुपर्ने वाध्यता हटाउन अहिले सो विद्यालय होस्टेल निर्माण गर्न जुटिरहेको जनाउंदै प्रधानाध्यापक टेकबहादुर केसीले त्यसैको सहयोगका लागि हात फैलाउने बेलायतवासी नेपालीमा आभार व्यक्त गरेका छन्। हाल त्यहां करिव ५ सय विद्यार्थी अध्ययनरत छन्।

Popularity: 10%

Add comment May 27th, 2011

तमु खेमा लिपिको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

एचकेनेपाल डट कम संवाददाता -
बुटवल, तमु भाषा तथा खेमा लिपिको अन्तर्राष्ट्रिय सम्मेलन आठ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै सकिएको छ।

सम्मेलनले तमू जातिको प्रस्तावित लिपिको रुपमा रहेको खेमा लिपिलाई तत्काल तमूहरुको लिपिको रुपमा मान्यता दिनु पर्ने सहित नौ बुदे मागलाई आगडि सारिएको छ।

नयाँ सविधानमा पहिचानको सहितको तमूवानका लागि पनि पहिचानको रुपमा रहेको खेमा लिपिलाई तमू लिपिको रुपमा मान्यता पाउनुपर्ने माग गरिएको छ। त्यस्तै विभिन्न विज्ञ सहितको तमू भाषा लिपिका लागि संस्था निर्माण गर्न र बहुभाषिक शिक्षा नितिमा तमू भाषा तथा खेमा लिपि समावेश गरि तत्काल लागु गर्न राज्यसग माग गरिएको छ।

मातृभाषा सम्वन्धी हरेक आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्दै सम्मेलनले बहुभाषिक शिक्षा नितिका लागि राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरि भाषा लिपिलाई नयाँ संविधानको राज्य पुनर्सरचनाको खाकाको आधार बनाउन सकिने प्रस्ताव पनि गरिएको छ। नेपाल सहित भारत, भुटान र सिक्कमको तमू खेमा लिपिको विज्ञहरु सहित २५० प्रतिनिधि सहितको भेलाले यस्तो निर्णय गरेको हो।

सम्मेलनको तमू छोंज धीको संस्थापक अध्यक्ष प्राध्यापक गणेश बहादुर तमूले उदघाटन गरेका थिए। उदघाटन समारोहमा बोल्दै उनले आफ्नो तमूहरुको लिपिको रुपमा खेमा लिपिले मान्यता पाउनेमा शंका नरहेको बताए। उनले पहिचानका लागि खेमा लिपिले तमूवानको पहिचान दिनका लागि उलेख्य हुने दावी पनि गरे। पहिचानका लागि लिपिको कुरा उठिरहेको समयमा तमु संस्थाहरु र राज्यले तमूका लिपिको रुपमा खेमा लिपिलाई मान्यता दिन हिकिच्याउन नहुने उनले बताए।

अखिल सिक्किम तमू वौद्ध संघ सिक्किमका महासचिव देव तमूले प्रवासी सिक्किममा खेमा लिपिलाई राज्यले मान्यता दिइसकेको अवस्थामा नेपालमा मान्यता पाउन नसक्नु दुःखद भएको बताए। तमू छोज धी भुटानका महासचिव कर्म तमूले अन्तर्राष्ट्रिय रुपमा फैलिएको खेमा लिपिलाई नेपालमा नै हेपाहा प्रवृतिले हेरिनु गुरुङहरुमाथि कै अपमान भएको भन्दै यसका लागि राज्यलाई दवाव दिनुपर्नु बताए। तमू सेवा समिति दिल्लीका अध्यक्ष आर वि तमूले खेमा लिपिलाई नेपालमा भन्दा भारतमा मान्यता दिइनु राज्यका लागि लाजमर्दो कुरा भएको बताए।

कार्यक्रममा तमू खेमा लिपिका प्रवर्तक बालनरसिह तमू, तमू भाषा विद रत्न बहादुर तमू, तमू पे ल्हु संघका केन्द्रिय अध्यक्ष भुवन सिंह तमु, नेपाल तमू विद्यार्थी छोज धी केन्द्रिय अध्यक्ष जि एस तमू लगायतले वोल्दै राज्यले तमूको लिपिको रुपमा मान्यता दिन माग गरे।

कार्यक्रम तमू भाषा तथा खेमा लिपि विकास केन्द्रिय अध्यक्ष केवी तमूको अध्यक्षता, महासचिव भिम तमूको सञ्चालन तथा उपाध्यक्ष मोहन तमूको स्वागतमा भएको थियो।

अन्तर्राष्ट्रिय समिति गठन
तमु भाषा तथा खेमा विकास केन्द्रिय समितिको आयोजनामा भैरहवामा भएको अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्नका लागि भन्दै अन्तर्राष्ट्रिय समन्वय समिति बनाएको छ। अन्तर्राष्ट्रिय तमु (गुरुङ­) खेमा लिपि समन्वय समित नाम दिइएको समितिको अध्यक्ष खेमा लिपिका प्रवर्तक बालनरसिह तमु रहेका छन्। त्यस्तै उपाध्यक्ष तमु सेवा समिति दिल्लीका अध्यक्ष रन बहादुर तमू, महासचिवमा तमु भाषा तथा खेमा लिपि विकात समितिका महासचिव भिम प्रसाद तमु, सचिवमा सिक्किमका मेघराज तमू, कोषाध्यक्षमा मोहन लाल तमु, सदस्यहरुमा तमु छोज धी भुटानका महासचिव कर्म तमु, सिक्किमका रुपराज तमु रहेका छ। यो समितिले तमू खेमा लिपिलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रचार गरि विकास र सवर्द्धनमा गर्नेछ।

Popularity: 10%

Add comment May 27th, 2011

काग्रेसले भने जस्तो माओवादीले हतियार बुझाउँदैनः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले काग्रेसले भने जस्तो कुनै पनि हालतमा समायोजनको मोडालिटिमा सहमति नबनुन्जेलसम्म सरकारलाई हतियार नबुझाउने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले हतियार सेना समायोजनको प्रकृयासँग जोडिएको विषय भएकोले समायोजन प्रक्रिया अगाडि बढ्नु भन्दा पहिला कुनै पनि हालतमा हतियार नबुझाउने बताउनुभयो।

उनले भने- जसको सरकार भए पनि प्रकृया नपुर्र्याई कुनै पनि हालतमा हतियार बुझाउँदैनौ। हतियार सरकारलाई बुझाए कोही पनि सेना रहँदैन। अनि समायोजन कोसँग नागरिकसँग यो हुन सक्दैन। समायोजन प्रक्रियामा गएपछि लडाकुको हतियार सरकारले लिने र आवश्यकता अनुसार हतियार दिने काम हुनु पर्छ । तत्काल हतियार बुझाउ भन्ने कुरा स्विकार्य छैन।

बृहत शान्ति सम्झौता अनुसार पनि अगाडि नै हतियार बुझाउने कुरा नमिल्ने भन्दै त्यसो गर्नु सम्झौता विपरित उनको दावी थियो।

हतियार बुझाउन सर्तमा संविधानसभाको म्याद थप्न पक्षमा आफूहरु नरहेको भन्दै उनले संविधानसभाको म्याद नथपिए आउने दुर्घटनाको सामना गर्न माओवादी तयार रहेको बताए। हामी जटिल समस्याको सामना गर्दै आएका हौ अब पनि सामना गर्न तयार छौ, उनले भने। आफूहरु संविधानसभा भन्दा उपयूक्त विकल्प अहिले नरहेको निश्कर्षमा रहेको भन्दै मतदानमा म्याद थपकै पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।

Popularity: 10%

Add comment May 27th, 2011

कुमारी आमाबाट जन्मिएकी सविनाले नागरिकता पाइन्

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले कुमारी आमाबाट जन्मिएका सन्तानले पनि नेपाली नागरिकता पाउने फैसला गरेपछि कुमारी आमाबाट जन्मिएकी दोलखाकी एक युवतीले नागरिकता लिएकी छिन्।
दोलखाको लामीडाँडा गाविस–२ निवासी गङ्गामाया दमाईको कोखबाट जन्मिएकी १८ वर्षिया सविना दमाईले जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिएकी
हुन्।

गत शुक्रबार सर्वोच्च अदालतले देशका ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाबुको नाम सोधखोज नगरी नागरिकता दिन निर्देशन दिएको बताइएको
छ।

दोलखाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले सविनालाई आमाको नामबाट नागरिकता दिलाउनुभएको हो। सर्वोच्चले आफूले हालेको मुद्दाको पक्षमा फैसला गरेपछि सविना र उनकी आमा गङ्गामाया गृहजिल्ला फर्किएका थिए।

गङ्गामायाले २०६७ माघ महिनाको १० गते आफूले जन्माएकी छोरीलाई बाबुको पहिचानबिनै नागरिकता दिलाउन सर्वोच्चमा रिट दायर गरेकी थिइन्। नेपालको संविधानले उमेर पुगेका प्रत्येक नागरिकले नागरिकता पाउने अधिकारलाई सुरक्षित गरेता पनि दोलखाका तत्कालीन प्रजिअ श्रीकृष्ण श्रेष्ठले बाबुको नाम नखुलेको भन्दै नागरिकता नदिने अडान लिएपछि गङ्गामायाका आमाछोरी सर्वोच्च गएका थिए।

राजधानीस्थित निम्स कलेजमा कक्षा १२ मा अध्ययनरत सविनाले न्यायको खोजी गर्न थालेपछि उनलाई सर्वत्र सहयोग मिल्दै गएको थियो। अन्ततः बाबुको पहिचानबिनै नागरिकता लिएर सविनाले कुमारी आमाबाट जन्मिएका सबै सन्तानले पनि नागरिकता लिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएकी छिन्।

Popularity: 10%

3 comments May 27th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....