Archive for May 7th, 2011

गृहमन्त्रालयको विषयले कि सरकार ढल्छ कि एमाले फुट्छ

रिपोर्टर्स नेपाल / एचकेनेपाल डट कम-
दाङ, नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले शान्ति र संविधानको लागी आवश्यकता अनुसार नेपाली काग्रेस हतियार उठाउन पनि तयार रहेको बताउनुभएको छ।

रिपोर्टर्स क्लब नेपाल दाङ्ग शाखाले शनिवार दाङमा गरेको साक्षात्कारमा बोल्दै खड्काले नेपालमा कसैले पनि काग्रेसलाई एक्लाएर सर्वसत्ताबाद लाद्न खोजे त्यो दिवा सपना मात्र हुने चेतावनी दिनुभयो।

क्लका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा खडकाले माओबादीले चाहे जेठ १४ अघि नै शान्ति प्रक्रिया टुङ्गिने दावी गर्नुभयो। संबिधान निर्माण र शान्ति प्रक्रिया लाई निष्कर्षमा पुर्याउन माओबादीसँग अध्यक्ष प्रचण्ड इमान्दार भए समयमै सम्पन्न गर्न सकिने ठोकुवा गर्नुभयो।

उहाँले यदि जेठ १४ गते सम्म संबिधान निर्माणको निश्चीत खाँका आए केही महिनाको लागि संबिधान सभाको म्याद थप्न सकिने समेत बताउनु भयो।

अर्को एक प्रसङ्गमा पूर्व गृहमन्त्री समेत रहेका खडकाले माओबादीले भने जस्तो प्रहरी प्रशासन उनीहरुको पछि नलाग्ने दावी गर्नुभयो।

आफनै पार्टीको निर्णयविपरित प्रधानमन्त्री झलनाथ खनालले माओवदीलाई गृह मन्त्रालय दिनु गलत भएको बताउदै यसैका कारण जेठ १४ अघि नै यो सरकार ढल्ने सम्भावना रहेको समेत बताउनु भयो। उहाँले भन्नु भयो-गृह मन्त्रालय माओबादीलाई दिएका कारण कि त प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ या एमाले फुटछ।

उहाँले सात बुँदे सहमति षडयन्त्रको शुरुवात भएको बताउदै शान्ति प्रक्रिया र संबिधान निमार्णका लागि कांग्रेसको साथ नलिएर अघि बढन खोजे त्यो सम्भब नहुने बताउनु भयो।

Recent Videos:

Popularity: 6%

1 comment May 7th, 2011

नेपालको राजनीतिमाथि राष्ट्रसंघको हस्तक्षेप भयोः सञ्चारमन्त्री

रिपोर्टर्स नेपाल / एचकेनेपाल डट कम-
काठमाडौ, नवनियूक्त सूचना तथा सन्चार मन्त्री अग्नी सापकोटाले मानवअधिकारको नाममा राष्ट्र संघले नेपालको राजनीतिमाथि हस्तक्षेप गरको आरोप लगाउनुभएको छ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भन्नुभयो-स्वार्थबस गरिएको रिपोर्टिङ्गको आधारमा राष्ट्रसंघ जस्तो गरिमामय संस्थाले विज्ञप्ति निकाल्नु हुँदैन । यसले उसकै गरिमामाथि नकारात्मक असर पर्छ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उहाँले सो घटनालाई उछालेर मानवअधिकारको नाममा नेपालको राजनीतिमा हस्तक्षेप गर्ने प्रयास भएको भन्दै यस्तो कार्य कदापी स्विकार नहुने चेतावनी दिनुभयो । मन्त्री सापकोटाले यो वा त्यो बहानामा मुलुकको राजनीतिमा विदेशी हस्तक्षेप हुन नहुने स्पष्ट पादै भन्नुभयो- नेपालीले उठाएको कुरा भए स्विकार्थे विदेशीले उठाएको कुरा सह्य हुँदैन।

संविधानसभालाई प्रभावित गर्ने उद्देश्यले आफूमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएको दावी गर्दै मन्त्री सापकोटाले राजनीतिक पूर्वाग्रहबाट सो विषय अगाडि ल्याईएको दावी गर्नुभयो।

जनयूद्धकालमा आफूमाथि आरोप लगाईको अर्जुन लामा हत्याकाण्ड घटना भएकै स्पष्ट पार्दै उहाँले त्यसमा आफ्नो निर्णय र संलग्नता नरहेको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो-अर्जुन लामा मारिएको घटनामा मेरो निर्णय र संलग्नता छैन । यो जनयूद्धको क्रममा भएको घटनापूर्ण राजनीतिक हो । यो पार्टीको निर्णय अनुसार भएको घटना हो। यसलाई अतिरन्जित पार्ने प्रयास भएको छ । जनयूद्धसँग जोडिएको विषय ब्यक्तिगत हुनै सक्दैन।

जनयूद्ध कालमा भएको सो घटना मानवअधिकार उल्लघनको विषय नभएको केवल राजनीतिक विषयमात्रै भएको दावी उहाँको थियो।

जेठ १४ गते भित्रमा संविधानको एकीकृत मस्यौदा र माओवादीको रिगु्रपिङ्गको काम सम्पन्न हुने दृढता ब्यक्त गर्दै त्यसपछि चार महिना संविधानसभाको म्याद थपे शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउँदै संविधान जारी गर्न सकिने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो -जेठ १४ गतेभित्रमा नयाँ संविधान जारी हुन्छ भन्नु हास्यास्पद हुन्छ । तर एकीकृत मस्यौदा र रिगु्रपिङ्गको काम गर्न सकिन्छ।

नेपाली सेनाले ल्याएको सेना समायोजन सम्बन्धि प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै मन्त्री सापकोटाले त्यसमा एमाले र काग्रेसपनि सकारात्मक रहेकोले सेना समायोजनको काम छिट्टो अगाडि बढ्ने विश्वास पनि ब्यक्त गर्नुभयो।

नेपाली सेनाको समायोजन प्रस्तावपछि जनमुक्ति सेना र नेपाली सेनाको सम्बन्ध राम्रो बन्ने देखेर केही त्यस्तो नचाहने तत्वहरुले त्यसको विरोध गरिरहेको उहाँको ठहर थियो।
पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद नयाँ विचार निर्माण गर्ने क्रममा उत्पन्न विवाद भएको भन्दै माओवादीभित्र नयाँ विचारको विकास अनिवार्य भईसकेको बताउनुभयो।
सरकारमा महिला सहभागिताको विषयमा विवाद भएको स्पष्ट पार्दै महिला मन्त्रीको संख्या बढाएर विवाद मिल्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो-छिट्टै पार्टीको मन्त्री फेरबदल हुन्छ। महिला मन्त्रीको संख्या बढाउने गरी विवाद मिलाईन्छ। मोहन बैद्य समर्थक मन्त्रीहरुले पनि सपथ खानु हुन्छ कुरा मिलिसकेको छ।

माओवादी पुरानो मुल धारमा नआई नयाँ मुल धार निर्माण गर्न आएको उल्लेख गर्दै सापकोटाले माओवादी सुधारबादी हुनै नसक्ने दावी मसेत गर्नुभयो।

सूचना तथा सञ्चार मन्त्री भएपछि पहिलो पटक साक्षात्कारमा आउनु भएका मन्त्री सापकोटालाई क्लबका अध्यक्ष ऋषि धमलाले बधाई तथा सफलताको सुभकामना सहित अविर र माला लगाएर स्वागत गर्नुभएको थियो। मन्त्रीलाई स्वागत गर्दै धमलाले प्रेसले सधै स्वतन्त्रता खोजेको उल्लेख गर्दै नेपालमा प्रेस स्वतन्त्रता ब्यवहारमा उतार्न पहल कदमी लिनु पर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकार ऐनको पर्ूण्ा कार्यान्वयनकोलागी सुझाव दिनुभयो । प्रतिउत्तरमा मन्त्री सापकोटाले आफू प्रेस स्वतन्त्र भए मात्रै सृजना हुने मान्यताको पक्षपाती रहेकोले आफ्नो कार्यकालमा नेपाली प्रेसको समस्या समाधान गर्न तर्फलाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

Recent Videos:

Popularity: 6%

1 comment May 7th, 2011

सृजनाका अमर ज्योति दम्पति: टीकाराम र चन्द्रकला

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- नेपाली भाषासाहित्यका प्रखर प्रतिभा टीकाराम धनञ्जय भौतिक रुपमा २६ वर्षमात्र बाँचे। उनको भौतिक चोला १९६६ सालमा अर्घाखाँचीको खिदिममा झुल्केको थियो भने १९९३ सालमा त्यही अस्ताएको थियो। पं.एकदेव मरासिनी र नारायणी मरासिनीका छजना छोरा र दुईजना छोरीपछि जन्मेका यी कान्छो सन्तान थिए।

टीकाराम धनञ्जयले आफ्नो मरासिनी थरको सट्टा आफ्नो गोत्र अथवा धनञ्जय लेखे। उनको व्यक्तित्व र कृतित्वको व्याख्या विश्लेषण डा.मोदनाथ प्रश्रतिबाट जति भयो अन्यत्रबाट भएको नै छैन। वास्तवमा त्यस भेगका साहित्यका विभूति नै टीकाराम धनञ्जय थिए । उनको त्याग, आराधना र समर्पण त्यस ठाउँमा विर्सिनसक्नु मानिन्थ्यो । यी समाजका चिन्तक थिए र यिनको चिन्तन विशेष गरेर साहित्य र शिक्षासेवामा टड्कारो देखिन्थ्यो । साथै उनी गुणको कदर गर्ने एउटा जागरुक पनि थिए । दुर्गम गाँउमा जन्मे र त्यही निधन भएका कारण एउटा संस्था सरहका व्यक्तित्वको चर्चाले ठाँउ नपाएको मानिन्छ।

टीकाराम नेपाली र संस्कृतमा बराबरी लेख्थे, बराबरी बोल्थे र बराबरी भाषण गर्थे । उनी अन्वेषक थिए र विज्ञानप्रति पनि गहिरो चासो राख्थे । उनले लिपीको पनि आविष्कार गरेका थिए । अनि धार्मिक भैकन उनी अन्धविश्वासका विरोधी थिए।

टीकारामको विवाह चौध वर्षको उमेरमा हिमलाल पौडेल र कुन्ता पौडेलकी छ वर्षीया छोरी चन्द्रकलादेवीसँग भएको थियो। विवाहपछि चन्द्रकलाले आफ्ना पतिसँग लेखपढ गर्न थालेकी थिइन्। टीकारामले निर्माण गरेको लिपी त्यति बेला उनीहरुको एकअर्कामा चिठी लेखालेख गर्ने माध्यम बनेको थियो । चिठी लेख्तालेख्ते चन्द्रकलाले गीत, कविता र नीतिशास्त्र पनि लेख्न थालिन्। उनले आफ्ना पतिसँगै लहसिएर क्रमशः साहित्य लेखनमा नै पनि आफूलाई उभ्याएकी थिइँन्। लेख्तालेख्तै उनले ‘उपदेश चन्द्रकला’ र ‘शिशुबोध तरङ्गिणी’ नामक कृति पनि लेखिन्। तत्कालीन समाजमा पतिको निधन भएपछि नारी जातिले पढ्नु, लेख्नु, गाँउनु, नाच्नु, भाषणगर्नु, समाजसेवा गर्नु भनेको अनर्थ नै ठानिन्थ्यो। त्यतिमात्र होइन त्यस बेला जागरुक नारीलाई समाजद्वारा लान्छना लगाएर समाजबाटै तिरष्कृत, बहिस्कृत र अपमानित गरिन्थ्यो । त्यसैले पतिको निधनसँगै चन्द्रकलाले भनिन्, ‘यी किताब मैले लेखेका थिएनन्। यी किताव मेरा पतिद्वारा लेखिएका थिए।’

चन्द्रकलाको जन्म १९७२ सालमा अर्घाखाँचीको मन्द्रेमा भएको थियो । उनी बीस बर्षीषा भएपछि उनका पति टीकारामले जिब्रो टोकेका थिए । त्यस पछि चन्द्रकलाले नावालक छोराको मायाको आडमा नेपाली समाजमाझ विविध संर्घषको सामना गरिन् । अनि चौरासी वर्षपुगेपछि उनले पनि आफ्नो चोला फ्याँकिन् । त्यतिञ्जेलसम्म पनि आफूले केही रचना नगरेको बेहोरा उनले समाजसामु बक्त्याई रहिन्। यसै परिवेशमा धनञ्जय दम्पतिका चेला ओवनाथ गौतमले (डा.मोदनाथ प्रश्रित र नरेन्द्रराज प्रसाईलाई) भनेका थिए, ‘’मेरी गुरुमा चन्द्रकला नेपाली र संस्कृत भाषामा लेखपढ गर्थिन् । उनी आँसु कवयित्री थिइँन्। पुराना शास्त्र र कथाहरु प्रायः उनलाई मुखाग्र थियो । उनी मान्छेसँग बोल्दा पनि श्लोकमै जवाफ दिन्थिन् । उनले दुई वटा किताबहरु पनि लेखेकी थिइँन्।'’

चन्द्रकलाले लेखेको ‘उपदेश चन्द्रकला’नामक नीतिकथा १९९१ सालमा प्रकाशित भएपछि चाहिं नेपाली समाजमा उनको धेरै महिमा बढेको थियो । तर किताब छापिएको अर्को वर्षपछि नै उनका पतिको निधन भएपछि हठात रुपमा उनले मेरा नाउँमा छापिएका कुनै पनि कृति मैले लेखेका होइनन् भन्ने समाजसमु जानकारी दिइन्। किनभने त्यस बेलाको समाजले यो पोइ टोकर्ुइले बोक्सी विद्या जानेकी रैछे र पो किताब लेखी भन्छन् भन्ने डरका कारण चन्द्रकलादेवीले आफ्नो प्राज्ञिकयात्रालाई लुकाउनु परेको थियो।

आफ्ना काका पं.दधिराम मरासिनीको गुरुकुलमा टीकारामले शिक्षाको आरम्भ गरेका थिए । बिहे गरेको अर्को वर्ष उनी बाँके बर्दियाका प्रख्यात समाजसेवी हरिहर गौतमको छात्रवृत्ति लिएर बनारस गएका थिए । त्यसैताका उनले त्यहाँ ज्योतिष र आयुर्वेदको अध्ययन गरेका थिए । अनि आईए सरहको परीक्षा दिएर उनी नेपाल फर्के । त्यसपछि उनी पात्रो बनाउने काममा पनि लागे । उनको ज्योतिषी र आयुर्वेदको कलाले उनी अर्घाखाँचीको खिदिममा चर्चित बने। त्यहाँ ‘काले ज्योतिषी’ भनेपछि उनलाई नचिन्ने प्रायः कोही थिएनन् ।

टीकारामले हरिहर संस्कृत पाठशालामा शिक्षकको काम गरे । उनी त्यहाँ नियुक्ति भएपछि गणित र ज्योतिषको समेत पढाई हुन थाल्यो । त्यसपछि त्यस स्कूलको नाउँ पनि चल्न थाल्यो । परिणामस्वरुप अन्यत्र ठाँउबाट पनि त्यस स्कूलमा पढ्न विद्यार्थीहरु आउन थाले । त्यो हल्ला त्यहाँबाट बर्दियासम्म फिंजियो । अनि केही समयपछि बर्दियाका समजसेवी र धनाढ्य हरिहर गौतमले आफ्ना छोरा विष्णुहरि गौतम र भाञ्जा कृष्णप्रसाद ज्ञवालीलाई पढाउनका लागि टीकारामलाई बोलाए।

टीकारामको पढाउने शैली राम्रो भएका कारण उनी बर्दिया गएको अर्को वर्ष जाजरकोटका राजा उपेन्द्रविक्रम शाहले समेत आफ्ना छोरा स्वंयप्रकाशको शिक्षाका लागि उनलाई र छोरी राज्यलक्ष्मीको शिक्षाका लागि उनकी पत्नी चन्द्रकलालाई पत्र लेखी बोलाएका थिए। अनि त्यस पत्रको प्रत्यूत्तरमा टीकारामले लेखेका थिए, ‘’म अल्पायु छु । मेरो चाँडै मृत्युको सम्भावना छ, म बाँचें भने आँउला।'’ वास्तवमा टीकारामको उक्त प्रतिउत्तर पत्र जाजरकोटका राजाका हातमा पर्दानपर्दै टीकारामको भौतिक चोलाको विर्सजन भएको थियो । तर आफ्नै घरमा पाइला टेकेपछि मात्र उनी दिवङ्गत भएका थिए।

टीकारामको देहावसान हुँदा त्यस्तो विकट गाउँमा पनि दुई सयभन्दा बढी मलामीले त्यसबेला रिडीको काली गण्डकी ढाकेको थियो। एउटा प्रतिभाको अन्त्य भएको समाचार विस्तारै नेपाल र भारतका तीर्थाटनहरुमा फैलिएको थियो। खास गरेर एउटा प्रखर प्रतिभाको असामयिक निधनप्रति जान्ने बुझ्ने सबै चुक्चुकाएका थिए।

टीकारामले नेपाली भाषासाहित्यमा एक दर्जन कृतिको निर्माण गरे । उनले कविता, निबन्ध, प्रबन्ध र नाटक लेखे । उनले अनुवाद र भाष्यकारमा पनि नाउँ चलाए । साथै टीकाराम र चन्द्रकलाका अप्रकाशित कृतिहरु अझै खोजीको विषय भएको बेहोरा उनीहरुका छोरा माधव मरासिनीले बताएका छन्।

डा.प्रश्रितका अनुसार टीकारामले जीवनमा जम्मा आठ वर्षमात्र शिक्षा, समाजसेवा र नेपाली वाङ्मयको सेवा गर्ने अवसर पाएका थिए।
naiprasai@gmail.com

Recent Videos:

Popularity: 6%

Add comment May 7th, 2011

भरतमोहन अधिकारी कार्यवाहक प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री झलनाथ खनालले सम्हाली आउनुभएको प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई तोक्नुभएको छ।
प्रधानमन्त्री खनाल हिजो टर्कीतर्फ प्रस्थान गर्नुभएकाले उक्त कार्यभार उहाँको सिफारिसमा तोकिएको राष्ट्रपतिको कार्यालयव्दारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री खनाल टर्कीको राजधानी स्तानबुलमा आयोजना हुने अतिकम विकसित मुलुकहरूको चौथो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिने सिलसिलामा जानुभएको हो।

Recent Videos:

Popularity: 6%

Add comment May 7th, 2011

रातो मछिन्द्रनाथको रथयात्रा आजदेखि

एचकेनेपाल डट कम संवाददाता-
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुने भएको छ।

नेपालको इतिहासमा सबैभन्दा लामो जात्राका रूपमा मानिने मच्छिन्द्रनाथको पाटनका विभिन्न स्थानमा रथयात्रा गरिन्छ।

यसै क्रममा सम्पूर्ण सृष्टिको मङ्गल कामना गर्दै हिजो लामा गुरुले रातो मच्छिन्द्रनाथको स्वस्ति शान्ति पाठ गर्नुभएको छ।

तीन घण्टा लगातार छजना लामा गुरुले करुणामय मच्छिन्द्रनाथको शान्ति पाठ गर्नुभएको थियो।

रथयात्राका क्रममा लगनखेल पुर्‍याएपछि साइत हेरी जावलाखेल लगिन्छ र मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा सम्पन्न हुन्छ।

Popularity: 6%

Add comment May 7th, 2011

पत्रकार महासंघको भवन बनाउन तीन करोड सहयोग

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले नेपाल पत्रकार महासङ्घको प्रस्तावित नयाँ भवन निर्माणका लागि सरकारले आर्थिक सहायता प्रदान गर्ने बताउनुभएको छ।

महासङ्घको नवनिर्वाचित कार्यसमितिको स्वागतमा हिजो आयोजित दिवाभोजका अवसरमा प्रधानमन्त्री खनालले महासङ्घको भवन निर्माणका लागि रु तीन करोड आर्थिक सहयोग निकासा गर्न अर्थमन्त्री भरतमोहन अधिकारीलाई निर्देशन दिनुभएको हो।

पत्रकार महासङ्घले सञ्चारग्रामस्थित आफ्नो पुरानो भवन विस्थापन गरी प्रस्तावित नयाँ भवन निर्माणका लागि प्रस्ताव अघि सार्दै आएको थियो।

Popularity: 6%

Add comment May 7th, 2011

साहित्यकार थापाको दाहसंस्कार

एचकेनेपाल डट कम संवाददाता-
साहित्यकार स्वर्गीय देवकुमारी थापाको आज विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरियो।

स्थानीय व्राम्हणहरूले उहाँको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।

आफ्ना कुनै सन्तान नभएका साहित्यकार थापाको हिजो ८३ वर्षको उमेरमा विराटनगरस्थित आफ्नै निवासमा निधन भएको थियो।

दार्जिलिङको खर्साङमा हस्तबहादुर कटुवाल र रमादेवीको कोखबाट जन्मिएकी स्वर्गीय साहित्यकार थापा २०२२ सालदेखि नेपालमा बस्दै आउनुभएको थियो।

उहाँका २०१० देखि २०५१ सालसम्म करिब १० वटा पुस्तक प्रकाशित भएका थिए।

Popularity: 6%

Add comment May 7th, 2011

जिप दुर्घटनामा एकको मृत्यु, दश घाइते

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसको आमसभामा भाग लिन कार्यकर्ताहरू लिएर बुटवलतर्फ गइरहेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

नवलपरासीको दल्दलेबाट बुटवल जाँदै गरेको रा.१ज ३६९ नं.को जिप पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डको भुताहामा अनियन्त्रित भई सो दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका जिप चालक बुलिङटार–५, नवलपरासीका २७ वर्षीय विवेक रिजालको उपचारको क्रममा मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ।

घाइतेहरूको लुम्बिनी अस्पताल बुटवलमा उपचार भइरहेको छ।

Popularity: 6%

Add comment May 7th, 2011

प्रश्नपत्र बाहिरिएको चर्चापछि उच्चस्तरीय छानबिन समिति गठन

एचकेनेपाल डट कम संवाददाता-
उच्चमाध्यमिक शिक्षा परिषद्ले हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा प्रश्नपत्र बाहिरिएपछि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

गत बुधबार सञ्चालित फिजिक्स विषयको प्रश्नपत्र काठमाडौंको मैतिदेबीस्थित युनिभर्सल केन्द्रबाट बाहिरिएको भन्ने विषयमा शैक्षिक सरोकारवालाले छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएपछि परिषद्ले छानबिन समिति गठन गरेको हो।

परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अनुप श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताउनुभयो।

समितिले १५ दिनभित्र सत्यतथ्य पत्ता लगाई परिषद्लाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो।

Popularity: 6%

Add comment May 7th, 2011

माओवादीलाई गृह दिइएपछि हतारमा फर्किए ओली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केपी ओलीले सरकारलाई टिकाई राख्न प्रधानमन्त्री झलनाथ खनालले एमाओवादीलाई गृह मन्त्रालय दिएको आरोप लगाउनुभएको छ।

मलेसियामा सम्पन्न एसियाली राजनीतिक दलहरूको कार्यक्रम (आइक्याप) मा पुगेर फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अध्यक्ष खनालले एमाओवादीलाई गृह मन्त्रालय दिनु पार्टीको नीति, निर्णय र हितविपरीत काम भएको बताउनुभयो।

नेता ओली यही वैशाख २१ गते एक हप्ताका लागि मलेसिया जानुभएको भएतापनि तीन दिनमा नै फर्कनुभएको हो।

Popularity: 6%

Add comment May 7th, 2011

मुखमा टोपी कोचेर हत्या

एचकेनेपाल डट कम संवाददाता-
गोरखामा ६६ वर्षीय गोपालबहादुर थापाको मुखमा टोपी कोचेर हत्या भएको अवस्थामा शव फेला परेको छ।

गोरखा नगरपालिका कार्यालयनजिक खोलामा उहाँको शव भेटिएको हो।

नगरपालिकास्थित विरेन्चोकमा इष्टमित्रको घरमा पुगेर व्रतबन्धको निम्तो मानेर अर्को बिहेको निम्तो मान्न जाँदै गरेको अवस्थामा सो घटना घटेको हो।

शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

Popularity: 6%

Add comment May 7th, 2011

नेपालका पत्रकार अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनमा

त्रिभुवन पौडेल/एचकेनेपाल डट कम-
वेइजिङ्ग, टेलिभिजनका तथा रेडियोका पत्रकार, प्राविधिक तथा कार्यक्रम उत्पादकहरुको अन्तर्राष्ट्रिय सम्मेलन तथा तालिम चीनको राजधानी बेइजिङ्गमा सुरु भएको छ।

विभिन्न दश देशका ३० जनाको सहभागिता रहेको तालिम ५६ दिनसम्म संचालन हुनेछ। जनवादी गणतन्त्र चीन सरकारको निमन्त्रणामा भएको तालिममा नेपालसहित टर्की, घाना, जोर्डन, अफ्रिका, नाइजेरीयाका प्रतिनिधीहरु सहभागी छन्। चाइना रेडियो एन्ड टिभी कर्पोरेसनले तालिम दिन लागेको हो।

तालिममा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल, काठमाण्डौका रोहित दाहाल र हेटौडाका रामकुमार एलन सहभागी रहेका छन्। पौडेल, दाहाल र एलन क्रमशः नेपाल टेलिभिजन तथा रेडियो अन्नपुर्ण, एभिन्युज टेलिभिजन र न्युज २४ सँग आवद्ध रहेका छन्।

तालिममा विश्व पत्रकारितामा भइरहेको विकास र प्रयोग भएका प्रविधीका साथै टेलिभिजन र रेडियोको डिजिटल प्रविधीका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

टोलीका सदस्यहरुलाई चिनको राष्ट्रिय टेलिभिजन सिसिटीभीको प्रसारण केन्द्रमा भ्रमण गराएर, त्यहाँ प्रयो्ग भएका प्रविधीहरुको जानकारी गराइने भएको छ। वेइजिङ्गमा रहने टोलीले यस क्रममा चिनका पर्यटकिय शहरहरु, ऐतिहासिक स्थलहरु तथा ब्यबसायिक क्षेत्रहरुको समेत अवलोकन गर्नेछ।

Popularity: 5%

Add comment May 7th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....