Archive for May 8th, 2011

तत्काल अधिवेशनको मिति तोक्न संघर्ष समितिको माग

प्रदीप पौडेल / एचकेनेपाल डट कम-
पोखरा, नेपाल पत्रकार महासंघ संघर्ष समिति कास्कीले तत्काल जिल्ला अधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिसँग माग गरेको छ।

समितिको आइतवार सम्पन्न वैठकले सो माग गरेको हो। गत वैशाख १९ गते संर्घष समिति र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष झर्मेन्द्र झावीच जेठ १५ गतेभित्र अधिवेशन गर्ने भनि गरिएको सम्झौता अनुसार तत्काल अधिवेशनको मिति तोक्न माग गरिएको हो।

अधिवेशनको मागगर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाण्डौमा सुरु गरिएको आमरण अनसन अधिवेशन गर्ने सम्झौता भएपछि तत्काललाई रोकिएको थियो।

बैठकले अधिवेशन नै नगरी बद्रि विनोद प्रतिकको नेतृत्वमा गठित जिल्ला कार्य समितिलाई केन्द्रीय समितिले अवैधानिक ठहर गरेकाले सो समितिका पदाधिकारी एवं पार्षदहरुलाई कुनै पनि सार्वजनिक कार्यक्रममा संस्थागत रुपमा सहभागी नगराउन सवै संघ संस्थालाई अनुरोध गरेको छ।

वैठकले अधिवेशनको माग गर्दै संर्घष समितिले घोषणा गरेको रिले अनशनदेखि आमरण अनसनसम्मका कार्यक्रममा संक्रिय सहभागिता जनाउनु भएका पत्रकार एवं राजनीतिक संगठनमा नलागी स्वतन्त्र रहने घोषणा गर्नुभएका पत्रकारहरुलाई पनि छिट्टै सम्मान गर्ने निर्णय गरेको छ।

बैठकले १३ दिनसम्म संचालित आन्दोलनका क्रममा भएका गतिविधिहरुलाई समेटेर स्मारिक प्रकाशन र फोटो प्रदर्शनी गर्ने निर्णय गरेको छ भने संर्घष समितिका कार्यक्रममा सहयोग पुर्‍याउने सवैप्रति हार्दिक आभार व्यक्त गरेको छ । वैठक संघर्षा समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको थियो।

गत वैशाख ६ गते प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका केही व्यत्तिहरुले अधिवेशन नै नगरी दलिय भागवण्डाबाट पार्षद र कार्य समिति चयन गरेपछि सो कदमविरुद्व पोखराका अधिकांश पत्रकारहरु संगठित भएका छन्। अवैधानिक कदमका विरुद्व गरिएको रिले अनसनमा ५९ जनाले अनसनमा सहभागिता जनाउनु भएको थियो।

अवैधानिक कदमका विरुद्वका वैशाख ७ गते नै पोखराका क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ कास्कीमा गरेको तालावन्दी जारी नै रहेको छ। त्यसैगरी, अवैधानिक तवरबाट गठन गरिएको जिल्ला कार्य समिति र पार्षहरुको खारेजी तथा अधिवेशनको मागगर्दै पुनरावेदन अदालत पोखरामा दिइएको रिट निवेदन उपर बैशाख १६ गते अदालतले १५ दिनभित्र विपक्षी नेपाल पत्रकार महासंघ कास्की र अवैधानिक अध्यक्ष बद्रिविनोद प्रतिकका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ।

Recent Videos:

Popularity: 8%

Add comment May 8th, 2011

गृहमन्त्री दिनु प्रधानमन्त्रीको गल्ती हैनः सिचाईमन्त्री

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, नवनियूक्त सिचाई मन्त्री रघुवीर महासेठले माओवादीलाई गृहमन्त्रालय दिएर प्रधानमन्त्रीले कुनै गल्ती नगरेको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा सिचाईमन्त्री महासेठले भने-पार्टीको काम पार्टीले गर्छ। सरकारमा के गर्ने भन्ने निर्णय प्रधानमन्त्रीले लिन्छन्।

सोही विषयलाई लिएर प्रधानमन्त्रीलाई पार्टीले कारवाही गर्ने भन्ने विषय हल्ला मात्रै भएको भन्दै उनले प्रधानमन्त्रीलाई कुनै पनि कारवाही नहुने दावी गरे। महासेठले पार्टीको केन्द्रीय कमिटिबाट पहिला जस्तै यस पटक पनि पार्टी अध्यक्षको प्रतिवेदन पारित हुने ठोकुवा गरे।

महासेठले भने-पार्टीको शक्तिशाली अगं भनेको केन्द्रीय कमिटिको बैठक हो। यसले स्थायी कमिटि र पोलिटब्यूरोको बैठकलाई पनि उल्टाउन सक्छ । त्यहाँबाट अध्यक्षको प्रतिवेदन पारित हुन्छ पहिला जस्तै।

पार्टीभित्र बाहिर आए जस्तो विवाद नभएको भन्दै उनले पार्टीका प्रभावशाली नेताहरुले पनि सामान्य असन्तुष्टि मात्रै प्रकट गरेको दावी गरे। उनले भने- काम गर्ने क्रममा केही गल्ती हुन्छन नै। तर बाहिर आए जस्तो केही छैन। त्यसमा पार्टी एक हुन्छ।

सरकार निर्माणताका एमाले र माओवादीवीच आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने सहमति भए पनि मन्त्री महासेठले जेठ १४ गते पछि पनि झलनाथ खनालकै नेतृत्वको सरकार कायम रहने बताए। जेठ १४ गतेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको छैन। समय आएपछि सहमतिमा यो सबै विषयमा निर्णय हुनेछ।

Recent Videos:

Popularity: 8%

Add comment May 8th, 2011

मधेशीले छिट्टै निर्णायक आन्दोलन गर्ने

अम्बादत्त तिवारी / एचकेनेपाल डट कम-
कञ्चनपुर, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले मधेशीलाई अधिकार दिलाउन चाँडै निर्णायक आन्दोलन गर्ने तयारी भईरहेको खुलासा गरेका छन्।

मधेशीहरु अहिलेसम्म पनि शोषित हुँदै आएको भन्दै उनीहरुले आफ्नो अधिकारका लागि मधेशी समुदायले आन्दोलन गर्ने दावी गरे।

मधेशी मोर्चाले तराईका ६ ठाउँमा गर्न लागेको आमसभामध्ये पहिलो आमसभा गर्न कञ्चनपुर पुगेका मोर्चाका नेताहरुले आईतबार भीमदत्तनगरमा रिपोर्टस् क्लब नेपाल क्षेत्रीय कार्यालय महेन्द्रनगर कञ्चनपुरद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मधेशीले अधिकार लिएरै छाड्ने ठोकुवा गरे।

सरकारले आफूहरुसंग गरेको सम्झौता कार्यान्वयन नगरेर राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै संयुक्त मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनमार्फ अधिकार प्राप्त गर्न पूरै देश ठप्प पार्ने चेतावनी दिए।

पहाडी समुदायले हालसम्म थारु समुदायलाई लुटेको जिकिर गर्दै महतोले पहाडियाहरुले नै थारुलाई कमैया, हलिया, भुमिहीन र सुकुम्वासी बनाएको दावी गरे। शासक वर्गले २ सय ४० वर्षसम्म मधेशीहरुलाई फुटाएर शासन गरिरहेको दावी गर्दै उनले अब सबै एकवद्ध भएर आन्दोलन गर्ने बताए।

मुख्य तीन दल सत्तालिप्सा र भागबन्डामा अल्झेका कारण हालसम्म संविधान बन्न नसकेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले आरोप लगाए। जेठ १४ भित्र माओवादी लडाकु समायोजन गरेर शान्ति प्रक्रियालाई टुंग्याउनुका साथै संघियता लगायतका संविधानका विवादित विषयमा समझदारी कायम गरिए संविधानसभाको म्याद थप्न सकिने भए पनि मोर्चाले हालसम्म संविधानसभाको म्याद थप्नेबारे ठोस निर्णय नगरिसकेको अध्यक्ष गच्छेदारको भनाई थियो। मधेशीका अधिकारलाई पन्छाएर दुइतिहाई अर्थात् गणितीय आधारमा घोषणा गरिएको संविधान आफूहरुलाई मान्य नहुने उनले बताए।

सुदूरपश्चिम कञ्चनपुरको बेलौरीबाट शनिबार सुरु भएको आमसभा जेठ ७ गते पूर्वाञ्चलको विराटनगरमा पुगेर समापन गरिने मोर्चाले जनाएको छ। मोर्चाका अनुसार यसपछि रुपन्देही, विरगञ्ज र जनकपुरमा आमसभा गरिने छन्।

संविधान निर्माणका लागि दबाब दिन, मधेशीका माग सम्बोधन गराउन र निर्णायक आन्दोलनको तयारीका लागि सभा आयोजना गरिएको जनाइएको छ।

रिपोर्टस् क्लबका क्षेत्रीय अध्यक्ष दिवान आग्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमलाई क्लबका सचिव अम्बादत्त तिवारीले सञ्चालन गरेका थिए। कार्यक्रममा मधेशी मोर्चाका नेता तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका सह-अध्यक्ष तथा सभासद् लक्ष्मणलाल कर्ण सहभागी थिए।

Recent Videos:

Popularity: 8%

Add comment May 8th, 2011

संविधानको मस्यौदा सार्वजनिक गराउन बैशाख ३० मा नेपाल बन्द

हुम तमु/ एचकेनेपाल डट कम-
पोखरा, संविधानको मस्यौदा र्सार्वजनिक गर्नुपर्ने लगायतका छ बुँदे माग राख्दै आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चाले बैशाख ३० गते नेपाल बन्द गर्ने भएको छ।

बन्दलाई सफल बनाउन आदिवासी जनजाति आन्दोलन राष्ट्रिय मोर्चा कास्कीले २९ गते बेलुका आदिवासी जनजाति महासंघ कास्कीको कार्यालय सिर्जनाचोकबाट टर्चलाइट, सिठी जुलुस गर्ने र ३० गते चोक चोकमा साँस्कृतिक झाँकीसहित बन्दमा सहभागी हुने मोर्चाका कास्की संयोजक तथा तमु धिं नेपालका महासचिव देविराज तमुले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

मोर्चाले आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा तालिका तत्काल जारी गर्नुपर्ने, संविधान निर्माणका सन्दर्भमा आदिवासी जनजाति प्रतिनिधी मण्डलसाग तत्काल वार्ता गर्नुपर्ने, राज्य पुनर्संरचना आयोग गठनको षडयन्त्रको अन्त र राज्य पुनर्संरचना समितिको प्रतिवेदन संविधाको प्रारम्भिक मस्यौदामा समावेश गरिनुपर्ने, नेपाल सरकारले नेपाल आदिवासी जनजाति महासंघसँग विगतमा गरेको बीस वुँदे सहमति लगायत थारु कल्याणकारीणी सभा, लिम्बुवान, ताम्सालिङ तथा संयुक्त मुस्लिम संर्घष समितिसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने र स्थानिय निकायहरुमा आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, अपांग लगायतका समुदायहरुका लागि जाने बजेट समुदायका प्रतिनिधीमूलक संस्थामार्फत मात्रै वितरण गर्ने निर्देशिका जारी गर्नुपर्ने र जनगणना २०६८ को निष्पक्षता र आदिवासी जनजातिको सहभागिताको माग कुनै सुनुवाई नभएपछि बाध्यतावस वैशाख ३० गते नेपाल बन्द गर्नुपरेको मोर्चाका संयोजक तमुले जानकारी दिए।

आदिवासी जनजातिका संघ संस्था र राजनितिक दलमा आवद्ध जातिय संगठनहरुबाट गठित संयुक्त मोर्चाको शान्तिपूर्ण आन्दोलनमा प्रसासनिक हस्तक्षेप भए आन्दोलन शसक्त हुने आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले चेतावनी दिएका छन्।

बन्दमा प्रेस, एम्वुलेन्स, दमकल, खानेपानीका सवारी साधनलाई कुनै अवरोध नहुने मोर्चाका कास्की सचिव पुर्ण लामा हृयोल्मोले पत्रकार सम्मेलनमा बताए।

Recent Videos:

Popularity: 8%

Add comment May 8th, 2011

पोखरा एकेडेमीमा जुनियर रेडक्रस पुनर्गठन

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, बाटुलेचौरस्थित पोखरा एकेडेमीमा रहेको जुनियर रेडक्रस सोसाइटी आइतवार एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ।

सुरज शर्माको अध्यक्षतामा गठित सत्र सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भूमिका थापा, सचिवमा पवन खड्का, सहसचिवमा सृष्टि सापकोटा र कोषाध्यक्षमा सिर्जना गुरुङ रहेका छन्।

शिक्षक नायक देवराज अधिकारीको अध्यक्षतामा भएको भेलाले सोसाइटीको संरक्षकमा विद्यालयका प्राचार्य महेन्द्र गुरुङ र सल्लाहकारहरुमा दुर्गा केसी, हरिकृष्ण वाग्ले, दिपक आचार्य र हर्कबहादुर जिसीलाई चयन गरेको छ।

Popularity: 8%

Add comment May 8th, 2011

८० प्रतिशत संविधान बनिसक्योः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ भित्र शान्ति प्रक्रिया र सेना समायोजनको मोडालिटी प्रस्तुत गरिने बताउँदै संविधानको ८० प्रतिशत मस्यौदा तयार भइसकेको बताउनुभयो।

एमाओवादीकै कारण संविधान बन्न लागेको हँुदा अन्य दलको भन्दा एमाओवादीको बढी जिम्मेवारी रहेको बताउनु भएको छ।

चितवनको रामनगरमा रहेको रामनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – यसअघि बनेका संविधानभन्दा अब बन्ने संविधान फरक हुनेछ। संविधानमा माओवादीको छाप देखिनेछ।

अन्य कुनै एक दलकोे सहभागिता नभए पनि संविधान बन्ने तर माओवादी बिना संविधान बन्न नसक्ने उहाँको भनाइ थियो।

संविधानसभाको निर्वाचनवाट जनताले माओवादी बिना संविधान बन्न नसक्ने भनी दिएको फैसलालाई सहज रुपमा स्वीकार्न सके संविधान बन्नेमा आशङ्का नभएको भन्दै जनताको फैसलाको सम्मान गर्न अन्य दललाई अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो।

जेठ १४ भित्र संविधान बन्न नसक्ने भन्दै उहाँले एकीकृत मस्यौदा भने निर्धारित समयमा नै बनाउनुपर्ने बताउनुभयो। एकीकृत मस्यौदा बनेमा जनताको मत लिएर पूर्ण संविधानका लागि केही समय थप गर्न कठिनाइ नपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।

उहाँले १२ बुँदे समझदारीमा नै संविधान कस्तो बन्ने भन्ने स्पष्ट गरिएकाले त्यसको मर्मअनुरुप हिँड्न सके संविधान बन्ने निश्चित छ भन्नुभयो। यसका लागि नेकपा एमाले र नेपाली काँग्रेस तयार हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।

Popularity: 8%

Add comment May 8th, 2011

पाठ्यपुस्तक अभावबारे छानबिन समिति गठन

एचकेनेपाल डट कम संवाददाता-
शिक्षा मन्त्रालयले विद्यालयको पाठ्यपुस्तक अभावबारे अध्ययन गरी तत्कालीन र दीर्घकालीन समाधानका उपाय अपनाउन पूर्वसचिव जयराम गिरीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ।

शिक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी समितिले पाठ्यपुस्तक अभाव हुनुमा कसैको गल्ती भएको देखिए कारवाहीका लागि सिफारिशसमेत गर्ने जानकारी दिएको छ। समितिमा विभिन्न सरोकारवाला र विज्ञ रहने भनिएपनि विस्तृत नामावली सार्वजनिक गरिएको छैन।

पत्रकार सम्मेलनमा शिक्षामन्त्री गङ्गालाल तुलाधरले जनक शिक्षा सामग्री केन्द्रको व्यवस्थापनले आफूले कामको व्यवस्थापन गर्न नसकेको तर मन्त्रालयलाई दोष देखाउन खोजेको दाबी गर्दै बजारमा कृत्रिमरुपमा पाठ्यपुस्तकको अभाव सिर्जना गरिएको आरोप लगाउनुभयो।

उहाँले जनक शिक्षाको व्यवस्थापन र कर्मचारीबीचको द्वन्द्व अन्त्यका लागि आफूले प्रबन्धसञ्चालक रामचन्द्र सिलवाललाई मन्त्रालयमा झिकाएकामा सर्वाेच्च अदालतले पुनर्बहाली गरेका कारण आफ्नो सोच असफल भएको दुःखेसो गर्नुभयो।

समितिले यस्ता सबै विषयको अध्ययन गरी दोषीमाथि कारवाहीको सिफारिश गरेमा तत्काल कारवाही गर्न आफू तयार रहेको मन्त्री तुलाधरको भनाइ थियो।

Popularity: 7%

Add comment May 8th, 2011

तीन दलका नेता संविधानभन्दा सत्तामा केन्द्रित –ज्ञवाली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रमुख तीन दलका नेताहरू संविधान निर्माणमाभन्दा सरकारको नेतृत्व गर्ने प्रतिस्पर्धामा लागेकाले संविधान निर्माणको कामले गति लिन नसकेको बताउनु भएको छ।

संविधानसभामा विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका नेताहरूमा गम्भीरता नदेखिएको बताउँदै उहाँले गम्भीरतापूर्वक छलफल गरे सहमति जुटाउन कठिन नभएकोे टिप्पणी गर्नुभयो।

बुद्धिजीवी परिषद् चितवनले चितवनको रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेठ १४ गते संविधान निर्माण नहुनेे स्पष्ट भइसकेको बताउनुभयो।

नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने व्यवस्था स्वीकार गर्न सकिए पनि एक मधेस एक प्रदेशको माग स्वीकार गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो।

यसअघि, सञ्चारकर्मीहरूसँग आज बिहान बोल्दै पार्टीका प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता ज्ञवालीले प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णयविपरीत एमाओवादीलाई गृह मन्त्रालय दिएको बताउनु भएको थियो।

शान्ति प्रक्रिया पूरा हुनुअघि एमाओवादीलाई गृह नदिने पार्टी नीति विपरीत प्रधानमन्त्री खनालले उसलाई गृह मन्त्रालय दिएको बताउँदै उहाँले केन्द्रीय कमिटीले सबै कुराको टुङ्गो लगाउने जानकारी दिनुभयो।

Popularity: 7%

Add comment May 8th, 2011

आत्मालोचना गरेर भए पनि संविधान बनाउनुपर्ने–सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले जनताका अगाडि आत्मालोचना गरेर भए पनि शान्ति–प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ।

सत्विचार साप्ताहिकको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘मुलुकको वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका’ विषयक विचार गोष्ठीमा मन्त्री सापकोटाले भन्नुभयो–’सबै पार्टीले विगतका गल्ती, कमी–कमजोरीको समीक्षा गर्दै पुनः जनतामा गएर शान्ति स्थापना र संविधान लेखनको कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाउनुपर्छ।’

संविधानसभा विघटन गर्ने कसरत भइरहेको प्रसङ्ग कोट्याउँदै मन्त्री सापकोटाले थप्नुभयो–’संविधान नबनाई संविधानसभा विघटन गर्नुहुन्न, थोरै समय थपेर भए पनि संविधान बनाउनैपर्छ।’

दलहरूबीच असहमतिका विषयमा सहमति कायम हुँदैआएकाले सबै समस्या छलफल र सम्वादका आधारमा हल गरिनुपर्ने उहाँको भनाइ थियो।

एक अर्को प्रसङ्गमा मन्त्री सापकोटाले शोषण, उत्पीडन र सबैखाले भेद्भावको अन्त्य हुनेगरी राज्य पुनर्संरचना हुनुपर्छ भन्नुभयो।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र जनमुक्ति सेनालाई मिलाएर मिश्रित सुरक्षाफौज बनाउन सकिने भनी नेपाली सेनाबाट आएको प्रस्तावले सेना समायोजनलाई सकारात्मक मोडतिर लैजाने उहाँको विश्वास थियो।

Popularity: 7%

Add comment May 8th, 2011

नेपाली चेली दूतावासको शरणमा

प्रेम लामा/ एचकेनेपाल डट कम-
दोहा, वैदेशिक रोजगारीको लागि दोहा आईपुगेकी एक नेपाली चेली कम्पनी म्यानेजरले हातपात गरेपछि ज्यान बचाउँदै नियोगको शरणमा आइपुगेकी छिन्।

दोहास्थित एक क्लिनिङ्ग कम्पनीमा कार्यरत वारा, हुमरदाना ४ की सविना तामाङ्ग यस्तो समस्यामा परेर दूतावास आएकी हुन्।

उनी नेपालमा एजेन्टलाई ४२ हजार तिरेर एक वर्षअघि मात्र दोहा आएकी थिइन्। कतारी रियाल ६ सय तलव, खाने वस्ने सुविधामा काम गर्दै आएकी उनीलाई सानै कारणमा इजिप्सीयन म्यानेजरले हातपात गरेको दुःखेसो पोखिन्।

आजसम्म कसैको पनि कुटाई खान नपरेकोले यहाँ आएर यसरी काम गर्न मन नलागेको गुनासो उनले श्रम सहचारी धु्व कोइराला समक्ष सुनाइन्। छोराको भविष्यको लागि केहि गर्न सक्छु कि भनेर आएको जानकारी गराउँदै पीडित तामाङ्गले आँसु झार्दे दिक्दारी पोखिन्- ‘यता आएपनि दुखीलाई आखिर केहि नहुने रहेछ।’ पीडितको ९ वर्षीय छोरा हिड्न र वोल्न नसक्ने अवस्थाका छन्।

आफ्नो सबै सामानहरु कम्पनीमै छाडेर आएकी उनले दुइ महिनाको तलब पाएकी छैनन् । सो रकम र टिकटका सम्बन्धमा पहल भइरहेको श्रम सहचारी ध्रुव कोइरालाले जानकारी दिएका छन्।

Popularity: 7%

Add comment May 8th, 2011

महायज्ञमा एकैदिन ६८ लाख सङ्कलन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँको रामकोटमा नेपालकै नमूना आध्यामिक केन्द्र बनाउने उद्देश्यले सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आजसम्म करिब रु ६८ लाख सङ्कलन भएको छ।

टुँडिखेलस्थित खुलामञ्चमा यही वैशाख ३१ गतेसम्म सञ्चालन हुने महायज्ञमा पहिलो दिनमै रु ६७ लाख ६६ हजार ८१६ नगद सङ्कलन भएको वाचन प्रवीण पण्डित दीनवन्धु पोखरेलले जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन समारोहमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसका नेता डा रामशरण महत, एकीकृत नेकपा (माओवादी)की नेत्री हिसिला यमीलगायतले समाजमा शान्ति, समृद्धि र सहिष्णुताको लागि अध्यात्मले ठूलो सहयोग पुर्‍याउने विचार व्यक्तगर्नुभएको थियो।

केन्द्रलाई नेपालकै पहिलो बद्रिनारायण मन्दिर, सत्सङ्ग केन्द्र, ध्यान केन्द्र, धार्मिक पुस्तकालय, हवनशाला, भ्यूटावर, वृद्धाश्रम, अतिथिगृह, प्राकृतिक चिकित्सालय तथा गोष्ठीस्थल एवम् धार्मिक अध्ययन अनुसन्धान स्थलकारुपमा विकास गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

वाचन शिरोमणि पण्डित नारायण पोखरेल स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको सो महायज्ञमा हरेक दिन बिहान ९ देखि साँझ ६ बजेसम्म कथावाचन हुने भएको छ।

Popularity: 6%

Add comment May 8th, 2011

अवैधानिक केन्द्रीय प्रतिनिधिलाई सार्वजिनक कार्यक्रममा सहभागी नगर

एकराज गिरी/ एचकेनेपाल डट कम-
पोखरा, विधिवत अधिवेशनको माग गदै गठन गरिएको संर्घष समिति नेपाल पत्रकार महासंघ कास्कीको आज सम्पन्न बैठकले तत्काल निवाचन कार्यक्रम सहितको अधिवेशनको माग गदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई पत्र पठाउने निर्णय गरेको छ।

संघर्ष समितिका संयोजक कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा आज सम्पन्न बैठकले बैशाख १९ गते समिति र महासंघका अध्यक्ष धमेन्द्र झा विच भएको सम्झौता अनुसार महासंघ कास्कीको निवाचन तत्काल गराउन आग्रह गदै पत्रपठाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले अधिवेशन नै नगरी बैशाख ६ गते राती तिन पार्टी निकटका प्रेस चाैतारी, प्रेस यूनियन र क्रान्तिकारीले गरेको भागबण्डाबाट अवैधानिक रुपमा गठन गरिएको कार्यसमिति र केन्द्रीय प्रतिनिधिलाई नेपाल पत्रकार महासंघ कास्कीका पदाधिकारीका रुपमा उपस्थित नगराउन कास्कीमा रहेका सम्पूर्ण संघसस्थालाई आग्रह समेत गरिएको छ।

अधिवेशन नै नगरि मध्यरातमा होटलबाट केही ब्यक्तिले टिका लगाएका ब्यक्तिहरुलाई पत्रकार महासंघ केन्द्रले पनि अवैधानिक ठहर गदै निवाचन गर्ने सहमती गरिसकेकाले महासंघ कास्कीको आधिकारी पदाधिकारीका रुपमा सार्वजनीक कार्यक्रममा सहभागी नगराउन समितिले सवैसंग आग्रह गरेको छ।

बैठकले बैशाख सात गतेदेखि संचालन गरेको रिले अनसन, आमरण अनसन र कुनैपनि दल निकटमा नरहि पत्रकारीता गर्ने सार्वजनिक प्रतिबद्धता गरेका पत्रकारहरुलाई सम्मान गर्ने निर्णय गरेको छ भने आन्दोलनका क्रममा भएका सम्पूर्ण गतिविधिलाई समावेश गरि स्मारिका प्रकाशन गर्ने र आन्दोलनका क्रममा खिचिएका तस्वीरहरुको प्रदशन गर्ने निर्णय गर्नुका साथै आन्दोलनमा सहयोग गर्ने सम्पूर्ण ब्यक्ति, संघसस्था सवैलाइ धन्यवबाद समेत ज्ञापन गरेको छ।

Popularity: 6%

Add comment May 8th, 2011

पर्वत मिलन समाजले पर्वतेली रत्नहरुलाई सम्मान गर्ने

हुम तमु/ एचकेनेपाल डट कम-
पोखरा, पर्वत मिलन समाज पोखराले यस वर्ष पर्वतेली रत्नहरुलाई सम्मान गर्ने भएको छ।

पर्वत मिलन समाज पोखराको शनिवार पोखरामा सम्पन्न सातौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो।

समाजले यसवर्ष पर्वतबाट पोखरा आई वसोवास गर्ने पर्वतेलीको टेलिफोन डाइरेक्ट्री र स्मारिका प्रकाशन, पर्वतको तीन ठाँउमा स्वास्थ्य शिविर गर्ने, पर्वतका पर्यकीय, ऐतिहासिक, साँस्कृतिक सम्पदाको प्रचार प्रचारमा जोड दिने र पोखरामा समाज भवन निर्माणका लागि पहल गर्ने लगायतको निर्णय गरेको छ।

समाजका अध्यक्ष अधिवक्ता अनिता गुरुङको अध्यक्षता र न्यायधीस निलकण्ठ उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका सचिव छवि सुवेदीले वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष इञ्जिनियर सुरेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा समाजलाई विष्णु घिमिरेले पाँच हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो भने सचिव छवि सुवेदीले दैनिक दुइ मुठ्ठी चामल संकलनबाट प्राप्त हुने पाँचहजार रुपैया पर्वत मिलन समाज स्मारिका प्रकाशनका लागि सहयोग गर्ने घोषणा गर्नुभयो।

कार्यक्रममा समाजका सल्लाहकार डाक्टर यादव गौडेल, अन्तर समाज राष्ट्रिय महासंघका अध्यक्ष रुद्र खनाल, समाजका पूर्व अध्यक्ष महेन्द्र रिमाल, श्याम कुमार शर्मा, गैरसरकारी महासंघ पश्चिमाञ्चल संयोजक रामप्रसाद सुवेदी, सल्लाहकार लेप्टिनेण्ट थमनसिंह गुरुङ, गुल्मेली समाजका अध्यक्ष बाबुराम बराल, समाजका उपाध्यक्ष शिवलाल उपाध्याय, नरबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Popularity: 6%

Add comment May 8th, 2011

यूरो नेपाल बेल्जियमको दोश्रो नृत्य प्रतियोगिता अगस्त १४ मा

दीपक पौडेल/ एचकेनेपाल डट कम-
बेल्जियम, प्रवासमा नेपाली कला संस्कृतिको संरक्षण, संवर्द्वन र प्रचार,प्रसार गर्ने उद्धेश्यले नेपाली कलाकारिताका विविध क्षेत्रका कलाकारहरुको संगठित समूह यूरो नेपाल कलाकार संघ बेल्जियमले दोश्रो पटक एकल खुला नृत्य प्रतियोगिताको आयोजना गर्दैछ।

प्रतियोगिता बेल्जियमको केसेलो लुभेनमा आँउदो अगस्त १४ तारिख आईतवारका दिन सम्पन्न हुदैछ। प्रतियोगीले प्रतियोगितामा नेपाली लोक र आधुनिक गरि दुई गीतमा नृत्य गर्नुपर्ने, खुला प्रतियोगिता भएकोले जो कोहिले पनि भाग लिन पाउने जानकारी संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक वलराम पुनले जानकारी गराएका छन्।

कार्यक्रमको बारेमा विस्तृत जानकारी संघको सम्पर्क ईमेल enaa_belgium@hotmail.com मार्फत लिन सकिनुको साथै केहि समय पछि पुन:सूचना जारी गरिने समेत जानकारी गराएका छन्।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमश: ७००, ५०० र ३०० यूरो नगद पुरस्कार रहेको छ। गत अगस्त २०१० मा यूरोप स्तरिय खुला एकल नृत्य प्रतियोगिता सम्पन्न गरिसकेको उक्त संस्थाले बेल्जियममा नृत्य कक्षासमेत संचालन गरिरहेको छ।

Popularity: 6%

Add comment May 8th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....