Archive for May 13th, 2011

यूवासंघद्वारा दवाव अभियान घोषणा

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, सत्तारुढ नेकपा एमालेको यूवा भातृ संगठन यूवा संघ नेपालले शान्ति र संविधानको सुनिश्चितताकोलागी संविधानसभा विरुद्ध दवाव अभियानको घोषणा गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर संघले संविधानसभा घेर्ने, सभासदहरुको कर्तुतको भण्डाफोर गर्नेलगायतका दवाव मुलुक कार्यक्रमको घोषणा गरेको हो।

घोषित कार्यक्रम अनुसार संघले जेठ ५ गते संविधानसभा भवन अगाडि सभासदहरुले संविधान सभाको निर्वाचनपछि गरेको गलत र गैर जिम्मेवारीपूर्ण कार्यको भण्डाफोर गर्ने, जेठ १२ गते काठमाडौसहित डेढ दर्जन प्रमुख शहरहरुमा आमसभा गर्ने, सभासदहरुलाई कुर्चि उपहार दिने र जेठ १४ गते संविधानसभा भवनलाई ५० हजार यूवाबाट घेराउ गर्ने लगायतका रहेका छन्।

त्यसैगरी, संघले आफ्नो २१ औ स्थापना दिवसको अवसर पारेर जेठ २ गते प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड, नेपाली काग्रेसका सभापति सुशिल कोइराला र एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई सँगै राखेर नाचघरमा जेठ १४, शान्ति, संविधान र राष्ट्रिय सहमति विषयमा अर्न्तक्रिया गर्ने कार्यक्रम पनि राखेको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष महेश बस्नेतले आफूहरुलाई संविधान लेख्ने बेलामा राजनीतिक दल र सभासदहरुको ध्यान अर्कैतर्फ रहेकोमा चिन्ता ब्यक्त गर्दै यथास्थितिमा संविधानसभाको म्याद थप्न नहुने पक्षमा रहेको स्पष्ट पारेका छन्।

बस्नेतले संविधानसभाको म्याद थप्नको लागि प्रयाप्त आधार प्रस्तुत गर्नु पर्ने भन्दै यसप्रतिको हरेक आन्दोलनमा आफूहरुको समर्थन रहेको बताए।

Recent Videos:

Popularity: 8%

Add comment May 13th, 2011

बेहुली लिन आएको जन्ती लाश लिएर फर्कियो

एचकेनेपाल डट कम संवाददाता-
पर्साको भौराटारमा गएराति जन्तीसँग झडप हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय प्रेम साहको घरमा जिल्लाकै मधुवनमथौलबाट आएका जन्तीसँग बेहुली पक्षको झडप भएको थियो।

स्थानीयवासीका अनुसार आकेष्टा हेर्ने क्रममा बन्दुक खोसाखोस हुँदा सो पड्किएर मघुवनमथौल २ का ३५ बर्षीय हरेन्द्र साहको मृत्युभएको हो।

सो क्रममा स्थानीय रामहित यादव गम्भीर घाइते भएका छन्।

उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सो घटनामा संलग्न स्थानीय पारश साह र बागट साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक भीम किरण बोगटीले जानकारी दिनुभएको छ।

Recent Videos:

Popularity: 8%

Add comment May 13th, 2011

नाबालिका बेच्नेलाई २० वर्षको कैद

एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर जिल्ला अदालतले हेटौँडा नगरपालिका–७ निवासी ५७ वर्षीय विजय केसीलाई एक नाबालिकालाई भारतको एक सर्कसमा पुर्‍याई बेचेको अभियोगमा २० वर्ष कैद र दुई लाख रूपैया दण्ड गर्ने फैसला गरेको छ।

जिल्ला अदालतका न्यायाधीश पद्मराज भट्टको एकल इजलासले यस्तो फैसला गरेको हो।

साथै सोही इजलासले पीडित युवतीलाई एक लाख ५० हजार रूपैया क्षतिपूर्ति दिन पनि अभियुक्त केसीलाई आदेश दिएको छ। उनी अहिले २२ वर्ष पुगेको बताइएको छ।

अभियुक्त केसीले २०५३ साल मङ्सिरमा हेटौँडा नगरपालिका–४ कालडाँडा निवासी नाबालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभनमा भारत लगी बेचेको रहस्य खुलेको थियो।

भारतको न्यू डाइमन सर्कसबाट यातना भोग्दै उनी २०६७ साल कात्तिक १६ गते भागेर स्वदेश आएकी थिइन्।

गत कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनले लिखित उजुरी दर्ता गराएपछि केसीलाई पक्राउ गरिएको थियो।

Recent Videos:

Popularity: 8%

Add comment May 13th, 2011

सिलिन्डर बम बेच्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

एचकेनेपाल डट कम-
खाना पकाउने ग्यास सिलिन्डरको अवैध कारोबार गरेको आरोपमा सुनसरीको खनारस्थित नेपाः पेट्रोलियम ट्रेड लिङ्कमा सिलबन्दी गरी कारबाही प्रक्रिया थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

अन्य कम्पनीका ग्यास सिलिन्डरको भुइँमा अड्याउने पिँध (फुटरिङ) र घाँटीको भाग ( नेकरिङ) काटेर सुगम ग्यासको लेभल लगाउँदै गरेको अवस्थामा १५ हजार ३३४ सिलिन्डर भेटिएको छ।
धादिङमा रहेको सुगम ग्यासको पूर्वी नेपालमा भण्डारण गरी खनारबाट सिलिन्डर भर्ने काम गर्दै आएको सो कम्पनीले कहिलेदेखि यस्तो काम थाल्यो र कति यस्ता सिलिण्डर बजारमा पुगे भन्ने तथ्य भने फेला पार्न कठिन भएको ग्यास क्षेत्रका व्यवसायीले जनाएका छन्।

सिलिन्डरको पिँध र घाँटी काट्दा, ग्यास भर्ने तथा ओसारपसारका क्रममा सिलिन्डर पड्किने खतरा हुने भएकाले यस्लाई सिलिन्डरबमको सज्ञा दिन मिल्ने गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शशीभुषण यादवले बताउनुभयो। उपभोक्तामाथि खेलवाड गर्ने कम्पनी सञ्चालकलाई कडा कारबाही गरिने प्रमुख यादवले बताउनुभयो।

ठूलो बजार हिस्सा ओगटिरहेका कोसी, सुविधाजस्ता कम्पनीका खाली सिलिन्डर बजारबाट उपभोक्ता तथा खुद्रा व्यापारीले फर्काउन छाडेपछि सुगम ग्यासको सो कम्पनीलाई निगरानीमा राखेर अन्य कम्पनीले प्रशासनमा उजुरी गरेका थिए।

कोसी ग्यासको पूर्वाञ्चलमा बजार हेरिरहेका सञ्चित उपाध्याय ग्यास बिक्रेताहरू र सुगम ग्यासका सञ्चालकको मिलोमतोमा अन्य ग्यास प्रयोग गर्ने उपभोक्तालाई जबर्जस्ती ‘सुगम लैजानूस अरू ग्यास छैन’ भन्ने गरेको बताउनुहुन्छ।

नेपाल गुणस्तर ऐन, २०५३ तथा उपभोक्ता संरक्षण ऐन, २०५४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो।

Popularity: 7%

Add comment May 13th, 2011

संविधानसभाको म्याद एक वर्ष थप्न विधेयक दर्ता

एचकेनेपाल डट कम-
सरकारले संविधानसभाको म्याद एक वर्ष थप्न संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो।

सरकारले संविधान निर्माणमा उठेका विवादित धेरै विषयको समाधान भई संविधान निर्माण गर्ने कार्य उल्लेखनीय उपलब्धि भइसकेको भए पनि अझै काम बाँकी रहेको तर संविधानसभाको कार्यकाल समाप्त हुन लागेको भन्दै म्याद थप्ने निर्णय गरेको हो।

कानुन तथा न्यायमन्त्री प्रभु साहले संसद सचिवालयमा पुगेर संविधान संशोधन विधेयक दर्ता गर्नुभएको थियो। मन्त्री साहका साथ शिक्षामन्त्री गङ्गालाल तुलाधार र स्वास्थ्यमन्त्री शक्ति बस्नेत पनि हुनुहुन्थ्यो।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम संविधानसभाको कार्यकाल पहिलो बैठक बसेको मितिले दुई वर्षको हुने व्यवस्था गरेको छ।

सो अवधिमा पनि नयाँ संविधान जारी हुन नसकेकाले संविधानको आठौँ संशोधनद्वारा संविधानसभाको कार्यकाल एक वर्ष थप गरिएको थियो।

अन्तरिम संविधान २०६३ को धारा ८२ ले संविधानसभाले नयाँ संविधान पारित गरी त्यस्तो संविधान प्रारम्भ भएको दिनदेखि मात्र संविधानसभाको कार्य समाप्त हुने संवैधानिक व्यवस्था छ।

त्यसैले संविधान निर्माणको कार्य यही संविधानसभाले नै सम्पन्न गर्नुपर्ने भएको हुँदा धारा ६४ बमोजिमको कार्यकालभित्र बाँकी रहेका सबै कार्य सम्पन्न हुन नसक्ने भएकाले संविधानसभाको कार्यकाल बढाउने प्रयोजनको लागि संविधानको संशोधनको विधेयक पेस गरिएको सरकारको भनाइ छ।

संशोधनमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ मा रहेका ‘तीन वर्षको’ भन्ने शब्दहरूको सट्टा ‘चार वर्षको’ भन्ने प्रस्ताव गरिएको छ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत मधेसवादी र अन्य दलसँग सहमति जुटाएर संशोधन विधेयक पास हुने शिक्षामन्त्री तुलाधरले पत्रकारहरूलाई बताउनुभयो।

Popularity: 7%

1 comment May 13th, 2011

चुरोट उत्पादन बन्द हुने अवस्थामा

एचकेनेपाल डट कम-
जनकपुर चुरोट कारखाना एक सातापछि एक बाकस चुरोट पनि उत्पादन हुन नसकिने अवस्थामा आइपुगेको छ। जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद महतोले पछिल्लो साता राजिनामा दिएपछि अवस्था झन् प्रतिकूल भएको हो।

कारखाना सञ्चालन तथा व्यवस्थापनका लागि उद्योग मन्त्रालयका सचिवले सञ्चालन समितिलाई यथाशीघ्र समितिको बैठक बसी उचित निर्णय लिन निर्देशन दिएको अवस्थामा समितिको बैठक नबस्दै अध्यक्षले राजिनामा दिएका थिए। मन्त्रालयले वैशाख ९ गतेदेखि समितिलाई पत्राचार गरी वैशाख १३ गतेभित्र बैठक बसेर निकास दिन कडा निर्देशन दिएको थियो।

कारखानाका मजदुरका अनुसार हाल कारखाना सञ्चालनमा रहे पनि दैनिक चार बाकस चुरोटमात्र उत्पादन भइरहेको छ।

कारखाना पूर्ण सञ्चालनमा रहेको अवस्थामा दैनिक कम्तीमा चार दर्जन बाकस चुरोट उत्पादन हुने गरेको थियो।

कारखानामा हाल कच्चा पदार्थको अभावका कारण चुरोट उत्पादन गर्ने एउटा यन्त्र प्रयोग भइरहेको छ भने प्याकिङका लागि पनि एउटा यन्त्रमात्रै प्रयोग भइरहेको बुझिएको छ।

Popularity: 7%

1 comment May 13th, 2011

राजतन्त्र स्थापना गर्न नक्कली बम आतंक

एचकेनेपाल डट कम-
बुटवल–११ कालिकापथस्थित ग्लोरियस कलेज अगाडि खतरा लेखिएको वस्तुले आज बिहानभर त्यस क्षेत्रको जनजीवन त्रसित भएको छ। रातो कपडाले बेरेर खतरा लेखिएको उक्त वस्तु बम हुनसक्ने भन्दै कालिकानगरका स्थानीय बासिन्दा बिहानभर त्रसित भएका हुन्।

बुटवल– ११ स्थित ग्लोरियस कलेज अगाडि बिहान ६३० बजे खतरा लेखिएको वस्तु देखिएपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको थियो।

बिहान करिव ७३० बजे बुटवल रामनगरस्थित नेपाली सेनाको कालीभन्जन गणको बम डिस्पोजल टोलीले परीक्षण गरेर डेटोनेरका माध्यमबाट उक्त वस्तुलाई निस्त्रि्कय बनाई हेर्दा बम नभई टुकीलाई रातो कपडाले बेरेर मात्र राखिएको पाइएको प्रहरीले जनाएको छ।

रातो कपडाभित्र “राजतन्त्र स्थापना गर,टप टाइगर समूह” लेखिएको कागज समेत फेला परेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक माधव बुढाथोकीले स्थानीयवासीलाई त्रसित पार्नका लागि उक्त वस्तु राखिएको हुनसक्ने बताउनुभयो।

Popularity: 7%

Add comment May 13th, 2011

आदीवासी बन्दले जनजीवन ठप्प

एचकेनेपाल डट कम सम्वाददाता-
आदीवासी जनजाती आन्दोलन राष्ट्रिय मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव बिहानदेखि परेको छ।

राजधानीको बिभिन्न ठाउंमा बिहानदेखि प्रदर्शनकारीहरु भेला भएका छन्।

त्यसैगरी, विहान ७ बजे चावहिल चोकबाट ११ जना, कलंकीबाट ११ जना र पुतली सडकबाट १८ जना प्रर्दशनकारीहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमध्ये आदीवासी महासंघका कोषाध्यक्ष डुन्डु डोक्प्य( शेर्पा) समेत रहेका छन्। उनी चाबहिलबाट पक्राउ परेका हुन्।

Popularity: 7%

Add comment May 13th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....