Archive for May 14th, 2011

एकताका लागि तमु हृयुला छोंज धिं र तमु धिं नेपाल तयार

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, एकताका लागि तमुहरुको केन्द्रिय सामाजिक संस्थाहरु तमु धिं नेपाल तमु हृयुला धिं गुरुङ राष्ट्रिय परिषद तयार रहेको बताएको छ।

संयुक्त तमु युवा एकता समिती पोखराले आज पोखरामा आयोजना गरेको तमु एकता, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा तमु हृयुला छोंज धि गुरुङ राष्ट्रिय परिषदका महासचिव रेशम तमु र तमु धिं नेपालका महासचिव देविराज तमुले संस्थाको संस्थागत कार्यक्रम पत्र प्रस्तुत गर्नुहुदै तमु एकताका लागि आफूहरु तयार रहेको बताएका हुन्।

कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय महासचिव तेजबहादुर च्हाक्ली तमु र बौद्ध अर्र्घौ सदनका सहसचिव मोतीप्रसाद तमुले कार्यपत्र प्रस्तुत गर्दै तमुहरुको सामाजिक संस्थाको एकतालाई अपरिहार्य रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै तमु हृयुला छोंज धिंका महासविच रेशम तमुले एकताका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको घोषणा गदै युवाहरुलाई एकताको आधार तयार गर्न आग्रह गरे।

तमु धिं नेपालका महसचिव देविराज तमुले आफूहरु सम्मानित एकताको पक्षमा रहेको कार्यपत्र प्रस्तुत गरेका थिए। तमुले एकताबद्ध संस्थाको नाम, प्रतिनिधीत्व र भावी योजनाका बारेमा स्पष्टता आवाश्यकता रहेको बताए।

कार्यक्रमका प्रमुख टिप्पणीकार पूर्व क्याम्पस प्रमुख, तमु अग्रज गणेशबहादुर तमुले एकता विना कुनै तमुले अधिकार प्राप्त गर्न नसक्ने भएकाले दुइ केन्द्रिय संस्थाको एकता आवाश्यक रहेको बताए। एकताका लागि संस्थाहरुले संकुचित हुन नहुनेमा जोड दिए।

प्रस्तुत कार्यपत्रहरुमा अधिवक्ता कृष्णबहादुर तमु, अधिवक्ता जुनाकुमारी तमु, सञ्चारकर्मी भिम तमु र सञ्चारकर्मी रीता तमुले टिप्पणी गरेका थिए। कार्यक्रममा सहभागीहरु समुहगतबाट युवन तमु, सुवेदार इमानबहादुर तमु, सुवेदार चन्द्रमणी तमु, चिजकाजी तमु, इन्द्र तमु, खुशीमान तमु र जंगबहादुर तमुलगायतले कार्यपत्रमाथि टिप्पणी गर्दै तमु एकता विना तमु जातिको अधिकार प्राप्त नहुनेमा जोड दिएका थिए।

संयुक्त तमु युवा एकता समितिका संयोजक हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु एकता अभियानमा आर्थिक सहयोग गरेका महानुभावहरुलाई सम्मान गरिएको थियो भने सहसंयोजक मनोज तमु, सचिव कृष्णकुमार तमुलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यपत्र प्रस्तोताहरु तमु हृयुला छोंज धिंका महासचिव र तमु धिं नेपालका महासचिव देविराज तमुले एकताको हात मिलाएपछि सहभागी सबैले हाते साङ्लो गरेरै कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा सहभागीहरुले तमु एकता जिन्दावाद लगायतका नारा लगाएका थिए।

Recent Videos:

Popularity: 8%

1 comment May 14th, 2011

कर्नवालमा पर्यटन प्रबर्द्वन कार्यक्रम

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
कर्नवाल, लण्डन, पर्यटन बर्ष२०११ सफल पार्न बेलायतको कर्नवालमा पर्यटन प्रबर्द्वन कार्यक्रम सम्पन्न भएको छ।

नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यका सम्पन्न सो कार्यक्रममा कर्नवाल क्षेत्रस्थित चार शहरका मेयरहरु उपस्थित भएका थिए। कार्यक्रमको उद्घाटन गर्दै राजदुत चालीसेले नेपाल बेलायत सम्बन्धको चर्चा गरे। गोर्खाजहरुका बलिदानी पूर्ण इतिहासले नेपाल बेलायत सम्बन्ध अझ प्रगाढ रहेको राजदूतले बताए। नेपाल प्राकृतिक रुपमै अत्यन्त सुन्दर रहेको जानकारी गराउंदै राजदूत चालीसेले नेपाल भ्रमणका लागि बेलायतीहरुलाई आग्रह समेत गरे।

सो अवसरमा फलमाउथका मेयर जेफरी इभान्सले नेपाल र बेलायतबीच मित्रबत सम्बन्ध रहेको बताए। त्यस्तै, मेयर रोन कुकले नेपालीहरुको सदासयताको स्मरण गर्दै सम्भव भएसम्म नेपाल भ्रमण गर्ने जानकारी दिए। उनले नेपाल भ्रमणका लागि अरुलाई प्रोत्साहन गर्ने पनि बताए । कार्यक्रममा सेन्ट अस्टेलकी मेयर जिल ट्रेवेल्लाले नेपाली राजदूतलाई स्वागत गर्न पाउंदा खुशी लागेको बताइन्। उनले नेपाल र बेलायतबीच सुमधुर सम्बन्ध रहेको समेत स्मरण गरिन्। पेन्रीनकी मेयर मेरी मे ले यस्ता उच्चस्तरीय भ्रमणले नेपाल बेलायत सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन्।

नेपाल तथा बेलायतको राष्ट्रिय गितबाट औपचारकिता पाएको सो कार्यक्रममा पूर्व मेयर माइक भार्ने, १२ पटक सम्म नेपाल भ्रमण गरेका टोनीलगायतले नेपालको अनुभव सुनाएका थिए।

फलमाउथबाट शिवजी श्रेष्ठले जानकारी दिए अनुसार कार्यक्रममा फलमाउथ चेम्बर्स अफ कमर्शका पियरे कुगियल, एन आर एन युकेका सल्लाहकार शिवजी श्रेष्ठ, माउन्ट कैलाश स्कुल च्यारीटेवल ट्रष्टका भिम कुटन, नेपाली दूतावासका सहचारी गणेश अधिकारी, शिव बिमली, स्थानीय व्यवसायी इश्वर श्रेष्ठ, राजु आचार्य, चन्द्र अर्याललगायत बेलायती नागरिकहरुको उपस्थिति रहेको थियो।

स्थानीय व्यवसायी हेमकान्त सेंढाईको प्रयोजनमा भएको सो कार्यक्रममा राजदूत डा. चालीसेको भव्य स्वागत गरिएको थियो । राजदूत चालीसेलाई होटलदेखि कार्यक्रम स्थलसम्म लिमो कारमा पुर्‍याइएको थियो। डा. चालीसेलाई उपस्थित स्थानीय मेययरहरुले फुलमालाबाट स्वागत गरेपछि नेपालीहरुको तर्फबाट राजदुतले मेयरहरुलाई सम्मान गरेका थिए। कार्यक्रममा प्रोजेक्टरमार्फत नेपालको सुन्दरता देखाईएको थियो।

कार्यक्रममा सांस्कृतिक टोलीले सुमधुर संगीत पस्केको थियो। मनिष श्रेष्ठको संयोजनमा स्थानीय कलाकारहरु सुनील न्यौपाने, गंगा थापा, सुरेश श्रेष्ठ, प्रकाश श्रेष्ठ, रेनु अधिकारीलगायत उपस्थित थिए।

Recent Videos:

Popularity: 8%

Add comment May 14th, 2011

लोक गायक तथा नेता परियारको हिन्दू परम्परा अनुसार दाहसँस्कार

ओम हमाल / एचकेनेपाल डट कम-
पोखरा, मातृका यादव नेतृत्वको नेकपा माओवादी जिल्ला समिति कास्कीका सहसेक्रेटरी एवं लोकगायक नरबहादुर परियारको शनिवार बिहान ८.३० बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मधुमेहरोगबाट पीडित परियार पोखरा उपमहानगरपालिका वडा नं. १२ चापापानीमा वसोवास गर्दै आउनुभएको थियो।

परियारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिको लागि पोखरा उपहानगर पालिका वडा नं १२ चापापानीस्थित घरमा राखिएको थियो। त्यस अवसरमा उहाँको पार्थिव शरीरमा नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय रीता मानुषी र सन्तबहादुर घिसिङले पार्टीको हँसिया हथौडा अंकित झण्डा एवं लोकदोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठानको व्यानर ओढाएर सम्मान गर्नुभएको थियो।

उहाँको हिन्दू परम्परा अनुसार आज नै पोखरा रामघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ। उहाँलाई जेठा छोरा कविराज परियारले दागबत्ति दिनुभएको थियो।

मातृका यादव नेतृत्वको नेकपा माओवादी कास्कीद्वारा पोखराको रामघाटस्थित बौद्ध अर्र्घौसदनमा आयोजित श्रद्धाञ्जलिसभामा लोकदोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम न्यौपानेले स्वर्गीय परियारबाट लोकदोहोरी क्षेत्रमा पुर्‍याउनुभएको योगदान तथा लेखनाथ साहित्य प्रतिष्ठतनका अध्यक्ष पदमराज ढकालले नेपाली साहित्यमा परियारको भूमिका एवं नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तबहादुर घिसिङले उहाँको राजनीतिक यात्राका बारेमा र नेकपा माओवादीकी केन्द्रीय सदस्य रीता मानुषीले उहाँको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो।

गायनको साथसाथै राजनीतिक जीवनलाई समेत अगाडि बढाउनुभएका परियार २०५८ सालमा जनमोर्चा नेपालको सम्पर्कमा पुग्नुभएकोमा २०६४ सालमा सो पार्टीको पोखरा उपमहानगरपालिका वडा नं. १२ को इकाई अध्यक्षा बन्नुभएको थियो भने भरत दाहालको नेतृत्वमा पुनर्गठन भएको जनमोर्चा नेपालको कास्की जिल्ला समितिको अध्यक्ष बन्नुभएको थियो। भरत दाहालको नेतृत्वको जनमोर्चा नेपाल र मातृक यादव नेतृत्वको नेकपा माओवादीबीच पार्टीबीच एकीकरण भएपछि गठन भएको नेकपा माओवादी जिल्ला समिति कास्कीको सहसेक्रेटरीका रुपमा काम गर्दै आउनुभएको थियो।

चर्चित लोक गीत “ऐना हेरर’ लगायतका गीतको संकलन तथा गायक परियारको ‘काठमाडौको इन्द्रचोकमै, कानमा सुन लाएको’ दुइ एल्वम प्रकाशित छन्।

यस्तै परियारका कान्छीलाई जिन्सको पाईन्ट, काँचो कटर, भैलो गीत, तीज गीत, असारे गीत, फूल्यो कपास लगायत करीब दुइदर्जन लोकप्रिय गीतहरु रेकर्ड भएका छन्।

स्वर्गिय परियारले २०४० सालमा विराटनगरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा कास्कीबाट प्रतिनिधित्व गर्दै गायनमा प्रथम स्थान हाँसिल गर्नुभएको थियो भने हेटौडामा पनि लोक गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएको थियो। उहाँले २०५५ सालमा रेडियो नेपालले लिएको स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । स्वर्गिय परियार राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूव केन्द्रीय सदस्य हुनुहुन्थ्यो। उहाँलाई विश्व संगीत दिवशको अवसरमा २०६७ सालमा सम्मान गरिएको थियो। विसं २००८ साल चैत्र ९ गते कास्कीको थुमाकोडाँमा जन्मनु भएका गायक तथा राजनीतिक व्यक्तित्व परियारका दुइ श्रीमती विष्णुदेवी परियार र गोमा परियार तथा सात सन्तान रहेका छन्।

यसैबीच मातृका यादव नेतृत्वको नेकपा माओवादी जिल्ला समिति कास्कीका सेक्रेटरी रमनसिंहले एक प्रेस विज्ञप्ति प्रकाशित गरी पार्टी जिल्ला समिति कास्कीका सहसेक्रेटरी रहनुभएका स्वर्गीय परियारको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउँदै सर्वहारावर्गको मुक्तिका लागि लागिपर्ने उहाँको सपना साकार पार्न पार्टी प्रतिवद्ध रहने वचनवद्धता व्यक्त गर्नुभएको छ। साथै विज्ञप्तिमा मृतात्माप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै धैर्यधराण गर्नसक्ने क्षमता मिलोस् भनी कामना पनि गर्नुभएको छ।

त्यस्तै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान तथा पोखरा लोक सांगीतिक समूहको आज बसेको वैठकले पोखरामा रहेका सम्पूर्ण दोहोरी साँझमा आज साँगीतिक कार्यक्रम नगर्ने निर्णय गरिएको न्यौपाने जानकारी दिनुभयो।

Recent Videos:

Popularity: 8%

Add comment May 14th, 2011

धीरज सम्मानित

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
गायक धीरज राईले नेपाली पप गीत संगीतको साथै चाम्लिङ राई भाषाको क्षेत्रमा उल्लेखनीय योगदान पु-याए वापत उनलाई सम्मानित गरिएको छ।

किराँत राइ यायोक्खा केन्द्रिय कार्यालयको “सुम्निमा हल”मा धीरजलाई “चाम्लिङ खाम्बातिम्” का अध्यक्ष जगतबहादुर राईले फेटा गुथिरहँदा सम्पूर्ण सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए।

प्राय कालो हृयाटमा देखा पर्ने गरेका धीरजले सो दिन फेटा लगाउँदा गर्वले छाती उच्च भएको बताए। पप संगीतमा “राई” संस्कृतिलाई मिसाएर उनले गाएको गीत “दे ङल्मा…दे ङल्मा” बाट उनले धेरै स्रोताहरु कमाएको बताए। सो गीतको शब्दको अर्थ के हो भनेर सयौंले उनलाई सोधेका थिए। चाम्लिङ भाषामा “दे ङल्मा” को अर्थ “अब के गर्ने?” हो।

वास्तवमा “सोई ढाले सोई” गीतमा सम्पूर्ण राई जातिको संस्कृतिलाई समावेश गर्न कोशिस गरेको उनले बताए। नेपाल बहुजातीय, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भएकोले नेपाली पप संगीतमा यसलाई समावेश गर्न सकिएमा यसको दायरा अझ फराकिलो हुने कुरा कार्यक्रममा एक सहभागीले जनाए। पप संगीतमा हाम्रो संस्कृतिलाई “फ्युजन” गर्न सकिएमा यसलाई अर्न्तराष्ट्रिय बजारमा समेत लान सकिने धीरजको भनाइ थियो।

केही “कलेक्सन एल्बम” हरुमा “राई” भाषाको गीत गाईसकेका धीरजले अब छिट्टै नै “चाम्लिङ भाषा” को एल्बम रेकर्ड गर्न लागेको बताए।

Recent Videos:

Popularity: 9%

3 comments May 14th, 2011

तनकी सुन्दरी, मनकी सुन्दरी देवकुमारी

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो। एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन्। त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट संरक्षण प्राप्त भएको थियो।

थापा बाल्यकालमा नै मातापिताविहीन भइन् । वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन् किनभने उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो। साथै थापा दस वर्षा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भइन्।

थापाले त्यस युगमा आफ्नो पाइला राखिन् जुन बेला नेपाली साहित्यमा नारीकथाकार शून्य नै थिए । कुमारी तुषार मल्लिकाले खनेको गोरेटोमा हिँडेर नै उनले आधुनिक कथाविधामा आफ्नो नाउँ स्थापित गरिन्।

थापा तरुनी भएपछि उनको यौवनावस्थाको वर्णन नगर्ने कोही थिएनन् किनभने उनी सुन्दरी थिइन् । त्यस बेला दार्जिलिङमा उनीभन्दा राम्रा केटी थिएनन् रे ! उनको शरीरको सुन्दरतामा महाकवि देवकोटा पनि मोहित थिए, सिद्धिचरण पनि भुलेका थिए र भवानी भिक्षु पनि हुरुक्कै भएका थिए । भिक्षुले त देवकुमारीसँग दाम्पत्य जीवन कस्न नै कम्मर कसेका थिए । तर भिक्षुसँग बिहे गर्ने देवकुमारीको इच्छा नै थिएन । त्यति हुँदाहुँदै पनि भिक्षुले देवकुमारीलाई आफ्नो ढोक्सामा हाल्न भगीरथ प्रयत्न गरे । देवकुमारीले यस बेहोराको उजुर बालकृष्ण समसमक्ष गरेकी थिइन् । समले भिक्षुलाई गाली गरेर देवकुमारीसँगको भिक्षुको प्रयत्न छुटाएका थिए । वास्तवमा त्यस बेला उनी रूपकी जादू थिइन्; जसले देख्यो त्यो मोहित हुन्थ्यो । त्यति बेला उनीसँग जोजति मर्न खोजे तापनि यिनका नजिकमा पुग्नेमध्ये चाहिँ लक्ष्मीप्रसाद देवकोटा र लैनसिंह बाङ्देल नै प्रमुख थिए ।
थापा पच्चीस वर्षी हुँदा नेपालबाट दार्जिलिङ पुगेका त्रिमूर्तिमध्ये महाकवि देवकोटाले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समलाई पनि थापाको व्यक्तित्वप्रति आकषिर्त गरेका थिए । साथै देवकोटाले उनका डायरीमा लेखेका थिए “तनकी सुन्दरी, मनकी सुन्दरी, देवकुमारी ।” वास्तवमा थापासँग भिज्नेहरू मक्ख पर्ने गर्छन् । यसै प्रसङ्गमा गणेश गुरु अर्थात् गणेशप्रसाद शर्मा नेपाल भन्थे “थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन्।”

थापाले स्कुल पढेदेखि नै साहित्यमा आफ्ना हस्ताक्षर चढाएकी थिइन् । उनले किशोरावस्थामा प्रेमका कविता लेखिन्, त्यसैताका उनले प्रेममा आकषिर्त भएर मुक्तक पनि लेखिन् । उनले स्कुल पढेताका निबन्ध लेखेर नाउँ कमाएकी थिइन् । साथै उनी पत्रिकाको सम्पादकमा पनि आफ्नो नाउँ राख्न सफल भइन् । उनले दार्जिलिङबाट प्रकाशित नेपाली भाषाको प्रथम बालपत्रिका ‘किशोर हिमाल’मा पनि आफ्नो गच्छे अर्पण गरेकी थिइन् । त्यसपछि उनी नेपाली साहित्य सम्मेलन दार्जिलिङबाटै प्रकाशित अर्को पत्रिका ‘दियालो’ मा पनि सम्पादकमण्डलमा रहिन् । कोलकाता बोर्डबाट प्रवेशिका गर्दानगर्दै उनी दार्जिलिङकी साहित्यकारमा अभिलिखित भइसकेकी थिइन्।

थापाले तीन वर्षलगाएर स्वास्थ्यपरिचारिकाको डिप्लोमा गरिन् र त्यस कालमा पनि उनले साहित्यसृजनालाई सँगसँगै लिएर हिँडेकी थिइन् । उनी विद्यार्थी भएताका नै उनले ‘भविष्य निर्माण’ शीर्षकको कथा लेखिन् । त्यो कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एसएलसीको पाठ्यक्रममा पनि समावेश भयो । अन्ततः जीवनभर त्यही कथाका माध्यमबाट उनी देवकुमारी थापाका रूपमा परिचित भइरहिन्।

थापा दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइन् । उनले केही वर्षरोगीको सेवा गरिन् । साहित्यरचना र रोगीको स्याहारको तादात्म्यले उनी झनै राम्राराम्रा लेख लेख्ने कोटिमा पुगिन् । २०१७ सालमा उनी वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन्।

मेजर बबरसिंह थापासँग दाम्पत्य जीवन जोडेपछि थापा साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन्।

२००३ सालमा थापाको पहिलो कथा ‘गोर्खा’ मा छापिएको थियो । कथासङ्ग्रहका हकमा उनका सातवटा किताव देखापरे।

थापाका कथाको सङ्क्षिप्त विशेषता सामाजिक जागरण नै हो । यिनका कथा मनोवैज्ञानिक, नारीप्रधान एवम् प्रकृति र पुरुषको सङ्गमले बेरिएका हुन्छन् । यिनले कथा लेख्ने क्रममा केही बालकथा पनि लेखिन् । त्यस मार्गमा पनि यिनले आफ्नो नाउँलाई शिखर आरोहण गराइन् । यिनले बालकथाका पनि छवटा सङ्ग्रह नेपाली साहित्यको मन्दिरमा समर्पण गरिन् । थापाका सङ्ग्रहका रूपमा आएका तीनवटा निबन्धहरू र एउटा जीवनी कृति शारदादेवीको जीवनी रहेके छ।

बालमनोविज्ञान बुझने थापा एक कुशल अभिभावक पनि थिइँन् । थापा जसरी पितृविहीन भइन् र बाल्यकालको शिखर आरोहण गर्दागर्दै मातृविहीन भइन्; ती विषय र सर्न्दर्भहरू पनि उनका कथाका खेतबारी बने । त्यतिमात्र होइन; उनीद्वारा सन्तानको जन्म नभएको प्राकृतिक बेहोरा पनि यिनका कथाका मर्म बन्न पुगे । यिनी स्वयं भौतिक रूपबाट आमा हुन नसके तापनि मातृत्वको मनोविज्ञान यिनका कथामा चरितार्थ भए।

वैवाहिक जीवनअघि देवकुमारीले थुप्रै प्रेमपरक कथा लेखिन् र बिहेपछि सामाजिक कथालेखनमा आफ्नो यात्रा मोडिन् । बिहेअघि लेखिएका उनका कथाहरूमा नारीपनका चञ्चलता गाँसिएका छन् भने त्यसपछिका कथाहरूमा एउटा सचेत नागरिकका जिम्मेवारीका बेहोरा पनि समेटिएका छन्।

थापा नारीहृदयकी चमत्कारी व्यक्तित्व थिइँन् किनभने उनले समाजका महिलाहरूको विडम्बनालाई च्यातचुत पारेकी छिन् । कुनै पनि स्वास्नीमान्छेलाई पनि पुरुषलाई झैँ शरीरको भोक लाग्छ र त्यसलाई पुरुषको खाँचो पर्छ । नारी र पुरुषको बराबरी सहभागितामा जीवनका हरेक मोड परिचालित हुनर्ुपर्छ भन्ने विषयवस्तु पनि यिनका कथाका विशेषता हुन्।

कथालेखनका फाँटमा थापाको पाइला भित्रिएपछि मात्र अरू नारीकथाकारहरू त्यस गोरेटामा हिँड्न थाले । यस पृष्ठभूमिमा पछिपछि नेपालीमा नारीकथालेखनको एउटा राजमार्ग नै स्थापित भयो । यी सबै बेहोराको श्रेय पनि थापा नै भइन्।

सामाजिक सेवा र साहित्यसृजना गरेबापत थापाले प्रबल गोरखादक्षिणबाहु, महेन्द्ररत्नभूषण, उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्ण पदक, नूरगङ्गा पुरस्कार प्राप्त गरिन् ।
थापा बोल्दा शिष्ट, व्यवहार गर्दा कठोर र कार्यमा व्यावहारिक नाउँ हो । उनी आधुनिक सम्पन्नता मन पराउने उदाहरणीय व्यक्तित्व थिइन्।

थापाले दार्जिलिङमा रहँदा जसरी कथामा आफ्नो हस्ताक्षर छरिन्; त्यस कालका उनका कथाले किशोरकिशोरीहरूलाई मात लगाएका हुन्थे । खास गरी २००३ देखि २०२२ सालसम्मका कथाहरूमा उनी युवाभावनाकी ठेकेदारझैँ देखा परिन् । त्यसपछि जब उनको विराटनगरमा बसाइसराइ भयो अनि प्रायः यिनका कथाहरू सामाजिक जागरणमा आबद्ध हुन पुगे । त्यतिमात्र होइन; बौद्धिक चेतनाका साथै वैज्ञानिक अभिमुखीकरणतर्फजागृत रहेर कथासृजना गर्नु पनि थापाको विशेषता मानिन्छ।

थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प्राण त्याग गरिन । २०६८ साल वैशाख २२ गते उनी विराटनगरमा स्वर्गीय भइन्।
naiprasai@gmail.com

Popularity: 8%

Add comment May 14th, 2011

मलेसियामा किरात याक्थुङ चुम्लुङको साँस्कृतिक साँझ

रुसाहाङ चेम्जोङ / एचकेनेपाल डट कम-
क्वालाम्पुर, लिम्बूहरुको छाता संगठन किरात याक्थुङ चुम्लङ मलेसियाले शुक्रबार साँझ क्वालालम्पुरस्थित होटल फाइभ द इलिमेन्टमा (किरात याक्थुङ चुम्लुङ साँस्कृतिक साँझ) भव्यरूपले सम्पन्न गरेको छ।

नयाँ बर्ष साँस्कृतिक कार्यक्रमको सिलसिलामा मलेसिया आईपुगेका नेपाली तारा दिपक लिम्बू, नायिका युना उप्रेती, चर्चित गायिका जशोधा लिम्बू र जनवादी गायक माइलाको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सफल बनाउन मलेसियास्थित नेपाली व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए भने प्रमुख प्रयोजन विजयहिल एक्सपोर्ट इम्पोर्ट, लालीगुराँस रेष्टुरेण्ट, इन्द्रेणी रेष्टुरेण्ट, मितेरी रेष्टुरेण्ट, द गोर्खाज रेष्टुरेण्ट, द खुकुरी रेष्टुरेण्ट, सगरमाथा रेष्टुरेण्ट, साइनो रेष्टुरेण्ट, निरमाया रेष्टुरेण्ट, निङवासो मोबाइल पसल, नमस्ते नेपाल मोबाइल पसल र लालीगुराँस मोबाइल सेन्टरले प्रायोजन गरेका थिए।

कर्याक्रमको अन्त्यमा कलाकारहरुको पारिश्रमिकसहित किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष कृष्ण बहादुर आङदेम्बेले स्पेसल उपहार हस्तान्तरण गरेका थिए भने कोषाध्यक्ष इन्द्र लिम्बूले मलेसियाको चिनो हस्तान्तरण गरेका थिए। वरिष्ठ सदस्य कृष्ण कुरुम्बाङले खादा ओढाएर सम्मान गरेका थिए। त्यस्तै यहाँस्थित स्थापित ताप्लेजुङ प्रवास समितिको तर्फबाट अध्यक्ष पञ्च थलुङ, कोषाध्यक्ष बाल मेन्याङबो र सदस्य चन्द्र चोङबाङले सम्मान-पत्र र खादा ओढाएर कलाकारहरुलाई सम्मान गरेका थिए।

कार्यक्रम किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्ण बहादुर आङदेम्बेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघ मलेसियाका अध्यक्ष रमेशप्रसाद तिवारी नेपाल व्यापारी समाज मलेसियाका सचिव खुम राना मगर लगायत अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन किरात याक्थुङ चुम्लुङका सचिव रुसाहाङ चेम्जोङ र आमन्त्रित कलाकार माइला लामाले गरेका थिए।

Popularity: 8%

Add comment May 14th, 2011

जेठ १४ मा संविधान जारी नगरे सभासद्लाई जिल्ला प्रवेशमा रोक

एचकेनेपाल डट कम संवाददाता-
जेठ १४ भित्र संविधान जारी नभए उदयपुरका गैरसरकारी सङ्घसंस्थाहरूले संविधानसभाका सभासद्हरूलाई जिल्ला प्रवेशमा रोक लगाउने भएका छन्।

गैरसरकारी संस्था महासङ्घमा शुक्रबार भएको गैरसरकारी सङ्घसंस्थाको बैठकले यस्तो निर्णय गर्दै समयमा नै संविधान जारी गर्नसमेत राजनीतिक दल, सरकार, संविधानसभासमक्ष आग्रह गरेका छन्।

दबाबस्वरुप सङ्घसंस्थाले संविधानसभाका सभासद्हरूलाई जिल्ला प्रवेशमा रोक लगाएको ब्यानर कार्यालयको बोर्डसँगै राखेका छन्।

थपिएको एक वर्षभित्र समेत संविधान जारी गर्न नसक्ने निकम्मा विधायक र जम्बु संविधानसभाले राज्यको ढुुकुटी रित्तो पारेको महासङ्घका अध्यक्ष हिमाल खड्काले बताउनुभयो।

लोकतन्त्र स्थापनाका लागि सबैको भूमिका रहेको स्मरण गराउँदै उनीहरूले जेठ १४ भित्र संविधान जारी गर्न नसके तीन वर्षको सम्पूर्ण बैठक भत्ता फिर्ता गर्दै जनतासमक्ष क्षमा माग्नुपर्ने जनाएका छन्।

Popularity: 8%

Add comment May 14th, 2011

म्याद थपमा एकीकृतको विरोध

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एकीकृत) ले संविधानसभाको कार्यकाल एक वर्ष थप्नका लागि सरकारले बिहीबार संसद् सचिवालयमा दर्ता गरेको प्रस्तावको घटना विरोध गरेको छ।

सो पार्टीका महासचिव रामसिंह श्रीसले प्रेस विज्ञप्ति जारी गरी यस्तो विरोध जनाउनुभएको हो।

निर्धारित समयमा सार्थक संविधान निर्माणको निम्ति ठोस पहल गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ–’संविधान निर्माण र शान्ति–प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने ठोस योजना र आधार बनाई जनताको अभिमतलाई सम्मान गर्ने वातावरण सिर्जना नगरी हठात पुनः एक वर्षको लागि संविधानसभाको कार्यकाल थप्ने सरकारको कार्यलाई हाम्रो पार्टी विरोध गर्दछ।’

Popularity: 8%

Add comment May 14th, 2011

अपहरणमा संलग्न पाँच लिम्बुवान पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
स्थानीय सिंचाइमा प्रयोग हुने पैनीको बिवादमा एकीकृत माओवादी कार्यकर्ता अपरण गर्ने समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरी कार्वाही थालेको छ।

मोरङ वयरवनका माओवादी कार्यर्ता राजेन्द्र दाहाललाई बुधवार राति अपहरण गर्ने पाँचजना लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

दाहाललाई अपहरण गर्ने लिम्बुवान कार्यकर्ताहरूमा बयरबनका सन्तोष लिम्बु, गणेश लिम्बु, विक्रम लिम्बु, बलबहादुर लिम्बु र उदेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सहकुल थापाले बताउनुभयो।

पाँचैजनालाई प्रहरीले अमरदहमा एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको बताइएको छ।

प्रहरी नायब उपरीक्षक थापाले माओवादी कार्यकर्ता दाहाल अपहरणमा पछि प्रहरीले गरेको खोजतलासका क्रममा लिम्बुवान कार्यकर्ताहरू पक्राउ बताउनुभयो।

सिँचाइका लागि पैनीको पुनःनिर्माणका लागि आएको बजेटको १५ प्रतिशत रकम दिनुपर्ने माग राख्दै आएका लिम्बुवान कार्यर्तासँग सहमति हुन नसक्दा अपहरण गरेको स्थानीयले बताएका छन्।

अपहरित दाहाल पैनी निर्माण समितिको सचिव हुन्। लिम्बुवान कार्यकर्ताले नेपाली काँग्रेसका योगेन्द्र ढकाललाई पनि कुटपिट गरेका थिए। पैनी निर्माण समितिका अध्यक्षसमेत रहेका ढकालको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

Popularity: 7%

Add comment May 14th, 2011

विज्ञापनका लागि आचारसंहिता हुनुपर्नेमा जोड

एचकेनेपाल डट कम संवाददाता-
विज्ञापनसम्बन्धी विद्यमान कानुन पर्याप्त नभएकाले यथासक्य छिटो विज्ञापन आचारसंहिता निमार्ण गर्नुपर्नेमा सरोकारबालाले जोड दिएका छन्।

प्रेस काउन्सिल नेपालद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा उहाँहरूले नेपालमा अझै विज्ञापनसम्बन्धी नीति नियमहरू स्पष्टरुपमा उल्लेख नभएकाले विज्ञापनमा आचारसंहिताको पालना नभएको गुनासो गरेका छन्।

विज्ञापन विषेषज्ञ डा.भोजराज अर्यालले विज्ञापन प्रबर्द्धनको नाममा समाजिक मूल्य, मान्यता, संस्कृति, सुरक्षा र बालबालिका तथा उपभोक्ताको हितविपरीत विज्ञापन गर्न नपाइने बताउनुभयो।

उहाँले अहिले विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित विज्ञापनहरू सार्वजनिक हितविपरीत भएको उदाहरण दिँदै त्यस्ता विज्ञापनलाई आचारसंहिता बनाएर कडाइ गर्नुपर्ने धारणा राख्नुभयो।

आचारसंहिता कसैमाथि लाद्ने नभएर संहिताको पालना गर्नुभनेको आफ्नो लागि आफैलाई सच्याउनु हो उहाँको भनाई थियो।

हरेक सञ्चार माध्यममले आफ्ना लागि आफैले विज्ञापनको आचारसंहिता बनाउनुपर्नेमा जोड दिँदै प्रेस काउन्सिल नेपालका सदस्य सचिव बसन्त चित्रकारले विज्ञापनबाट नै आम नागरिक सुसूचित हुने भएकाले विज्ञापनप्रति विज्ञापनदाता र सञ्चारमाध्यम संवेदनशील हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका सचिव जगन्नाथ मिश्रले विज्ञापन प्रकाशित र प्रसारित गर्नुअघि सत्यतथ्यमा आधारित हो होइन भनेर सञ्चारमाध्यमले विचार गर्नुपर्ने बताउनुभयो।

बालबालिकाहरू विज्ञापनप्रति छिट्टै आकर्षित हुने हुँदा विज्ञापनलाई संवेदनशीलरुपमा सञ्चारमाध्यमले लिनुपर्ने बताउनुभयो।

Popularity: 7%

Add comment May 14th, 2011

प्रम प्रचण्डबीच सहमति खोज्ने सहमति

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शान्ति प्रक्रिया र संविधान लेखनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहकार्यका लागि अन्य राजनीतिक दलसँग छलफल गर्ने सहमति भएको छ।

प्रचण्ड निवास नयाँबजारमा भएको भेटवार्तामा केही दिनभित्रै शान्ति र संविधानका लागि सहमति जुटाउन सेना समायोजन र हतियार व्यवस्थापनको खाका तयार गर्नेबारे छलफल भएको एमाओवादी स्रोतले जनाएको छ।

यसैबीच, उहाँहरूबीच संविधानसभाको कार्यकाल एक वर्ष थप्न बिहीबार दर्ता गरिएको प्रस्तावमा सहमति जुटाउन पनि अरू दलहरूसँग संवाद थाल्ने निर्णय भएको बुझिएको छ।

Popularity: 7%

1 comment May 14th, 2011

बन्दकर्तालाई वार्तामा आउन सरकारको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
सरकारले आदिवासी जनजाति महासङ्घलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम छाडी वार्तामा आउन आव्हान गरेको छ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले महासङ्घलाई बन्द, हड्तालजस्ता कार्यक्रम रोकी संवादबाट सहमति खोज्न आग्रह गरेको हो।

यसका लागि सरकारले विना विभागीयमन्त्री घनश्याम भुसाल, शान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह र कृषि तथा सहकारीमन्त्री हरिनारायण यादव सम्मिलित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

बैठकले नेपाल आयल निगमको कार्यसञ्चालन र सुधारका उपाय खोज्नका लागि नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय समितिको प्रतिवेदन स्वीकृत गरेको छ।

Popularity: 7%

Add comment May 14th, 2011

सरकारको सय दिन पूरा

एचकेनेपाल डट कम संवाददाता-
वर्तमान सरकारले मधुमास (हनिमुन अविधि) रूपमा लिइने सय दिन आज पार गरेको छ।

व्यवस्थापिका–संसदको सबैभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) को समर्थनमा नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल गत माघ २० गते प्रधानमन्त्री हुनुभएको थियो।

यसैगरी मधेसी जनअधिकार फोरम नेपालसहित अन्य केही साना राजनीतिक दलकोसमेत समर्थन प्राप्त गरेको वर्तमान सरकारले शान्ति र संविधान लेखन प्रक्रियालाई उच्च प्राथमिकता दिँदै आएको छ।

वर्तमान सरकार गठन हुनुअघि देशमा लामो समयसम्म काम चलाउ सरकार रहेको, सबैजसो राजनीतिक दलमा उत्पन्न आन्तरिक कलह देखिएको र मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन नसकेको अवस्थामा पनि वर्तमान सरकारले शान्ति र संविधान लेखनलाई आफ्नो प्रमुख कार्यभार ठान्दैआएको देखिन्छ।

यसैबीचमा अति कम विकसित राष्ट्रको अध्यक्षका हैसियतले टर्कीको इस्तानबुलमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वको ध्यान आकृष्ट गर्न प्रधानमन्त्री खनाल सफल हुनुभएको, राजनीतिक तहमा समस्या समाधान गर्ने उद्देश्यले शीर्ष तथा प्रभावशाली नेताबीचको छलफललाई तीव्रता दिएको, संवैधानिक रिक्तता अन्त्य गर्ने उद्देश्यका साथ संविधानसभाको म्याद बढाउन प्रस्ताव गरेको छ।

करिब दुई तिहाइको सङ्ख्याको समर्थनमा गठन भएको सरकारले उर्जा सङ्कट घोषणा गरी आगामी तीन वर्षभित्र दुई हजार ५०० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाएको, लोर्डसेडिङबाट आजिद भएका जनतालाई केही समय भएपनि कम गरी राहत दिएको र शान्ति सुरक्षा, अमनचयन कायम गर्न लागिपरेको देखिन्छ।

तथापि, अपेक्षा गरेअनुरुप आफै सम्मिलित सरकारले गति लिन नसकेको भनी स्वयम् सत्तारुढ दलका नेता तथा मन्त्रीहरूले नै स्वीकारिरहेको अवस्थासमेत छ।

Popularity: 7%

Add comment May 14th, 2011

राप्रपा नेपाल नयाँ निर्वाचनको पक्षमा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको म्याद एक वर्ष थप गर्न अन्तरिम संविधानमा संशोधन गर्ने गरी सरकार र सत्तारुढ दलहरूले हालै गरेको निर्णय दुर्भाग्यपूर्ण रहेको जनाएको छ।

सो पार्टीले एक विज्ञप्ति प्रकाशित गरी देशलाई विद्यमान सङ्कटबाट मुक्त तुल्याउने उपयुक्त विकल्प नयाँ चुनाव मात्रै हो भन्ने राप्रपा नेपालको दृढ विश्वास रहेको जनाएको छ।

Popularity: 7%

Add comment May 14th, 2011

राई इज किङद्वारा आर्थिक सहयोग

रत्नप्रसाद आचार्य / एचकेनेपाल डट कम-
काठमाठौं, नेपालका बहुचर्चित एंव व्यस्त गायक राजेशपायल राईले आफनो गृह जिल्ला खोटाङको विकास निर्माणको लागि ७५ हजार नगद आर्थिक सहयोग गरेका छन्।

हालै भाइ राई नविनको गीति एल्बम ‘मार्ग विमोचन कार्यक्रममा गायक राजेशले उक्त रकम खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईलाई हस्तान्तरण गरेका हुन्।

खोटाङको खाल्ले गाविसस्थित निर्माणाधिन मनमाया राई खानिडाडा विमानस्थललाई लक्ष्मी बैकमार्फत ५० हजार र बुइपा गाविसस्थित निर्माणधिन रंगशालालाई २५ हजार नगदको चेक हस्तान्तरण गरेका हुन्।

राजेशले पछिल्लो समयमा उत्कृष्ट ठहरिएको राई इज किङ एल्वमवाट विक्री भएको प्रतिवाट ५ रुपैयाँका दरले रकम संकलन गरेर उक्त रकम जिल्लाको विकास निर्माणमा थप टेवा पुग्ने उद्धेश्यले हस्तान्तरण गरेको बताए। राइ खोटाङकै बुइपा गाविसमा जन्मिएका हुन्।

कार्यक्रममा राजेशका कान्छा भाइ राई नविनको गीति एल्बम मार्गको विमोचन गरिएको छ। एल्बमको विमोचन बाबु रत्न, आमा सञ्चलक्ष्छी दाइहरु राकेश र राजेशले संयुक्त रुपमा विमोचन गरे। गीति एल्बममा राई नविनको एकल संगीत रहेको छ भने उनका काइला दाजु राजेशपायल राई र साइला दाजु रविन राईको साथै दिप श्रेष्ठ, उदय सोताङ अञ्जु पन्त, स्वरुपराज आचार्य र पार्वती राईको स्वर रहेको छ। उक्त गिति एल्बम कार्यक्रममा पत्रकार, कलाकार, संगीतकार, गीतकारलगायत विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

राजेशको विवाह गर्न भनेर लण्डनवाट आएका राजेश पायलका बाबुआमा राजेशले विवाह गर्न नमानेपछि कान्छा छोराको मार्ग विमोचन मै चित्त बुझाएर लण्डन फर्किसकेका छन्।

Popularity: 7%

Add comment May 14th, 2011

बेल्जियमको ब्रुज नेपालमय बन्दै

रमेश कँडेल/ एचकेनेपाल डट कम-
बेल्जियम, यही आउँदो मे १५ का दिन ब्रुज प्रशासन (स्टाड हाउस) को सहयोगमा बेल्जियमबासी नेपालीहरुले नेपाल फेस्टिवल २०११ को आयोजना गर्ने भएका छन्।

ब्रुज शहरको मार्केटमा हुने कार्यक्रमको लागि बिश्वप्रसिद्ध बेलफोर्ट टावरको आँगनमा दुइ दिन अगाडिदेखि नै स्थानीय प्रसाशनले तयारी शुरु गरिसकेको छ।

स्थानीय मिडिया रेडियोहरुमा पनि नेपाल फेस्टिबल २०११ को बिज्ञापनहरु प्रसारण हुन थालेका छन्।

ब्रुजको मार्केटमा कार्यक्रमका लागि स्टेज पनि तयार गरिएको छ। ठाउँ-ठाउँ मा ठूला पोस्टरहरु लगाइएका छन् भने ब्रुजबासी नेपालीहरुले आ आफ्ना झ्याल ढोकामा नेपाल फेस्टिवल लेखिएको पोस्टरहरु टाँस्न थालेका छन्।

ब्रुजबासी नेपालीहरुले घर घरमा पोस्टर तथा पम्प्लेट बाँड्ने काम गर्दैछन्। ब्रुजका नेपालीहरुका ज्वाई भनेर चिनिने मिस्टर पोलले स्थानीय निकायहरुमा प्रचार प्रसार गरेका छन्। फेसबुकका भित्ताहरुमा पनि यस कार्यक्रमका बारेमा चर्चा हुन थालेका छन्। कोही एसएमएसमार्फत साथीहरुलाई खबर बाँड्दै छन् त कोही फेसबुकमा ट्याग गर्दै निम्तो दिदैछन्। नेपाल एम्बेसी ब्रसेल्सले पनि आफूसँग सम्पर्कमा रहेका स्थानीय ब्यक्तिहरुलाई पत्राचार गरी जानकारी गराइसकेको थाहा हुन आएको छ।

नेपाल फेस्टिबल २०११ कार्यक्रमका आर्थिक प्रमुख भिम जोशीका अनुसार बेल्जियममा रहेका करीब १८ नेपाली संघसंस्था, नेपाल एम्बेसी तथा केही ब्यक्तिहरुले यस कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोगसमेत गरेका छन्। जोशीका अनुसार हालसम्म करीब अठार सय युरो सहयोग स्वरूप प्राप्त भइसकेकोछ। करीब बीस स्टलहरु बुक भइसकेकाछन्।

एनआरएनका पदाधिकारीहरु एक दिन अगाडिदेखि नै ब्रुजमा भेला हुन थालि सकेकाछन्। नेपाली खानाका जिम्मा लिनेहरुको किनमेल शुरु भइसकेको छ। सांस्कृतिक कार्यक्रममा संलग्न हुनेहरु तयारीमा ब्यस्त छन्। बिदा मिल्न नसकेकाहरु बिदा मिलाउन अनेक किसिमका बहाना गरिरहेको पनि सुनिदैछ। सबैमा यस कार्यक्रमको लागि निकै उत्साह छाएकोछ। समग्रमा भन्नुपर्दा ब्रुज अहिले नेपालमय भएको छ।

Popularity: 7%

Add comment May 14th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....