एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले हालै एकीकृत नेकपा माओवादीले प्रस्तुत गरेको सेना समयोजन सम्बन्धी प्रस्ताव नेपाली काग्रेसलाई स्वीकार्य नभएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सिटौलाले माओवादीको समायोजन सम्बन्धी प्रस्ताव बिस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, अनमिनको रोहबरमा भएको माओवादी लडाकु र हतियारको ब्यवस्थापन सम्बन्धी सम्झौता र सुरक्षा निकायको ब्यवसायिकता एवम् मूल्य मान्यता विपरित भएकोले त्यो कुनै पनि हालमा मान्य नहुने स्पष्ट पारेका छन्।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने माओवादीले विशेष समितिका साथीहरुलाई दिएको प्रस्ताव पारित हुँदैन। काग्रेस बृहत शान्ति सम्झौता, अन्तरिम संविधान, हतियार तथा सेनाको ब्यवस्थापन सम्बन्धी सम्झौता र सुरक्षा निकायको ब्यवसायिकरण, तटस्थता विपरित कुनै कुरा मान्न तयार छैन। उनीहरुको प्रस्ताव विगतका सम्झौता प्रतिकूल छ। सेना समायोजन विगतकै सम्झौता अनुसार हुनुपर्छ।
माओवादी सेनाको विभिन्न भएकै सुरक्षा निकायमा समायोजन हुने विगतको सहमति भएको दावी गर्दै महामन्त्री सिटौलाले छुट्टै फोर्स बनाउने वा छुट्टै मिश्रित फोर्स बनाउने कुरा काग्रेसको लागि स्वीकार्य नहुने समेत स्पष्ट पारे। उनले माओवादी लडाकुलाई सुरक्षा निकायको मापदण्ड अनुसार नै समायोजन गर्नु पर्ने समेत स्पष्ट पारे। उहाँले भने-हामी विगतमा गरेका सम्झौतामा अडिग छौ। त्यसमा तलमाथि हुनु हुँदैन।
विगतमा माओवादीले गरेको सहमति कार्यान्वयन नगर्दा नै अहिलेको समस्या उब्जिएको दावी गर्दै उनले माओवादी इमान्दार नभएसम्म शान्ति र संविधान निश्कर्षमा पुग्न नसक्ने बताए।
उमाकान्त पाण्डे “गाउंले” / एचकेनेपाल डट कम -
दुबइ-अवीर, रोजगारीको शिलशिलामा संयुक्त अरब एमिरेट्स(यूएई)आएका एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन।
३७ महिना अघिदेखि दुबइस्थित ग्रिन ओयासिस एक्सिस कम्पनीमा वाचमेनको रुपमा कार्यरत खोटाङग ९ ऐसेलु खर्कका टेकराज वनले गत मे ९ तारिख सोमबार आफू कार्यरत स्थलमै झुन्डिएर आत्महात्या गरेका हुन्।
ग्रिन ओयासिस एक्सिस कम्पनी मार्फत दुबईको अल अविर नादलसिवामा भवन सुरक्षाका लागि(नाथुर)को रुपमा खटिएका वनले ड्युटी समयमै आत्महत्या गरेको उनका जेठान उही कम्पनीमै कार्यरत हरी चन्द्र गिरीले जानकारी दिए।
बुवाको निधन भईसकेको तथा घरको आर्थिक स्थिति नाजुक भएकोले वनले आत्महत्या गरेको घटनाले नेपालमा रहेका वनका परिवारजनहरु शोकमा डुबेका छन्।
झुन्डिएर आत्महत्या गरेका वनले के कति कारणले त्यसो गरेका हुन् अहिलेसम्म खुल्न सकेको छैन। आत्महत्या गरेका वनको शब पोस्टमार्टमका लागि दुबइ पुलिसले लगेको र अहिले पोस्टमार्टमपछि दुबइस्थित अल रशिद अस्पातलमा राखेको थाहा हुन आएको छ।
कम्पनीमै कार्यरत रहेकै स्थितिमा उनले आत्महत्या गरेको भएपनि अस्पतालको रिपोर्ट तथा पुलिस रिपोर्टबाट प्राप्त नतिजाबाट आत्महत्या भएको प्रमाणित भएकोले कम्पनीले इन्सुरेन्समार्फतको रकम वा अन्य कुनै पनि आर्थिक सहयोग नगर्ने भएपछि अब वनको शबलाई के कसरी नेपाल पठाउने भन्ने बिषयमा समेत त्यस कम्पनीमा कार्यरत नेपालीहरु अन्योलमा परेका छन्।
मृतक वनका जेठान गिरीका अनुसार कम्पनीमा ४० नेपाली कार्यरत रहेकोले सबै जना मिलेर रकम सकंलन गरी शवलाई नेपालसम्म पुराउने ब्यबस्था गर्न सोही कम्पनीमा कार्यरत नेपालीहरु लागिपरेको जनाइएको छ। मृतक वनको शवलाई नेपालसम्म पठाउन सक्दो सहयोग गर्न यूएईमा रहेका बिभिन्न संघसस्थालाई यसै समाचारमार्फत अनुरोध समेत गरिएको छ। सहयोग गर्न चाहनेको लागि सम्पर्क नम्बर ०५५३६७९८३० रहेको छ।
अनेसास -
आगामी जुलाईको १३ मा अमेरिकाको राजधानी वासिंगटन डिसी मेट्रो क्षेत्रमा हुन लागि रहेको एशोशिएशन अफ नेपलिज इन अमेरिकाको बृहत सम्मेलनको अबसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११ मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कवि साहित्यकारहरुलाई आफ्नो कविता पठाउन हुन हार्दिक अनुरोध गर्दछौं।
पुरस्कार
१. प्रथम - ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय - ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय - ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद
नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको
नेपाली रुपान्तर पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद विनाको कविता स्वीकृत हुने छैन ।
२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवर्ढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सर्म्पर्क शुत्र स्पष्टसंग लेखिएको हुनु पर्नेछ ।
४. कविता टाईप गरिएको हुनु पर्नेछ र इमेल मार्फ पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित
रुपमा आएका कविताहरुलाई प्रतियोगितामा सामेल गरिने छैन ।
५.महोत्सवमा कविले आफूले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता जुन १५, २०११ भित्र देहायकोर् इमेल मार्फ आई पुग्नु पर्नेछ । त्यस पछि
आएका कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।
इमेलमार्फत कविता पठाउने ठेगानाः
kabitapratiyogita2011@gmail.com
gosirawat@gmail.com
bishowbimohan@hotmail.com
संयोजक
गोविन्दसिंह रावत
अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नकेपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल चीनमा प्रधान कार्यालय रहेको एसिया प्यासेफिक कोअपरेसनको बैठकमा भाग लिन हिजो अपरान्ह एक्कासी बैंककतर्फ प्रस्थान गर्नुभएको छ।
अध्यक्ष दाहालका स्वकीय सचिव समिर दाहालका अनुसार कोअपरेसनको बैठकका साथै गैरआवासीय नेपालीले आयोजना गर्ने कार्यक्रममा पनि अध्यक्ष दाहाल सहभागी हुनुहुनेछ।
उक्त संस्थाले राजनीतिक, आर्थिक र कूटनीतिक विषयमा बहस चलाउँदै आएको छ। अध्यक्ष दाहाल यसअघि पनि उक्त संस्थाले मलेसियामा आयोजना गरेको बैठकमा सहभागी हुनुभएको थियो।
अध्यक्ष दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।
एचकेनेपाल डट कम संवाददाता-
निलम्बित सभासद्द्वय गायत्री साह र बिपी यादवलाई आज विशेष अदालत काठमाडौँले जनही रु १५ लाख धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ।
थुनामा या तारेखमा राखी मुद्दा अगाडि बढाउने भन्नेबारे चलेको बहसपछि विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले सो आदेश गरेको हो।
आदेशमा भनिएको छ — निजहरुबाट जनही रु १५ लाख नगद वा सो बराबरको जेथा वा बैंक ब्यालेन्स ग्यारेन्टी लिई तारेखमा छाडिदिनू। सो रकम बुझाउन इन्कार गरे थुनामा राखी मुद्दा चलाउनू।
साथै अध्यागमन विभागका शाखा अधिकृत भूमिनन्द भण्डारीका हकमा भने रु १० लाख नगद वा सो बराबरको जेथा वा बैंक ब्यालेन्स ग्यारेन्टी लिई छाड्न र सो बुझाउन इन्कार गरे थुनामा राखी कार्बाही गर्न आदेश भएको छ।
पासपोर्ट दुरुपयोग गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले १०/१० हजार रूपैयाँ धरौटी लिई रिहा गरेकै दिन गत वैशाख २३ गते शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजहरुलाई नियन्त्रणमा लिएको थियो।
रातो पासपोर्ट दुरूपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न भन्दै गत वैशाख २५ गते निजहरुलाई विशेष अदालतबाट १४ दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान गरिरहेको थियो।
अन्य फरार अभियुक्तको सवालमा भने कानुन बमोजिम म्याद जारी गर्न आदेश गरिएको छ। सभासद्द्वय साह र यादवलाई गत वैशाख ६ गते रातो पासपोर्ट दुरूपयोग गरेको आरोपमा संसद भवन बाहिरबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।
एचकेनेपाल डट कम संवाददाता-
संविधान सभाको म्याद थप्न १३ दिनमात्र बाँकी रहेर निर्धारित समयमा संविधान बन्न असंभव भइसकेको अवस्थामा विभिन्न सङ्घसंस्थाका महिलाले निर्धारित समयमा संविधान बनाउनुपर्ने माग गर्दै थालेको धर्ना कार्यक्रम दैनिक ११ घण्टा बनाएका छन्।
नयाँवानेश्वरस्थित संविधानसभा भवन अगाडि गत वैशाख १ गतेदेखि निरन्तररुपमा तीन घण्टा धर्ना दिँदै आएका उनीहरुले संविधान लेखनको समयावधि १३ दिन बाँकी रहँदासम्म पनि कुनै पहल नभएकाले प्रत्येक दिन बिहान १० देखि बेलुकी ८ बजेसम्म धर्ना दिने जनाएका छन्।
धर्ना कार्यक्रममा राष्ट्रिय महिला सञ्जालका संयोजक डा रेणु राजभण्डारीले शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने, महिला, अपाङ्ग र सुकुम्बासी महिलाको अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित धर्ना आयोजना गरिएको जानकारी दिनुभयो।
धर्नामा नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेले महिलाहरुले हिंसाबाट मुक्ति पाउन र आफ्ना अधिकार सुनिश्चित गराउन सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो।
धर्ना कार्यक्रममा शान्ति र संविधानसम्बन्धी विभिन्न गीत तथा सङ्गीत प्रस्तुत गरिएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पूर्वसांसद मञ्च नेपालले सञ्चालन गरेको रिले अनशनप्रति ऐक्यबद्धता जनाउनुभएको छ।
संविधान लेखन र शान्तिप्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्याउन दबाब दिने उद्देश्यले मञ्चले वैशाख २५ गतेदेखि संविधान भवनअगाडि रिले अनशन गरिरहेको छ।
‘पूरा गर इमान जमान, समयभित्रै शान्ति र संविधान’ मूल नारा दिई सुरु गरिएको सो अनशनप्रति ऐक्यबद्धता प्रकट गर्न नेता पौडेल र केही सभासद् आज अपराह्न अनशनस्थल नयाँबानेश्वर पुग्नुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले शान्ति र संविधानका लागि संयुक्त राष्ट्रिय सरकार अपरिहार्य छ भन्नुभएको छ।
विराटनगर विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले सो कुरा बताउनुभएको हो।
उपाध्यक्ष डा भट्टराईले वर्तमान सरकारलाई पनि राष्ट्रिय सरकारको रुप दिन सकिन्छ, यदि यस्तो गर्न नसकिए सरकार परिवर्तन गरेर भए पनि राष्ट्रिय सरकार बन्नुपर्ने कुरामा जोड दिनुभयो।
उहाँले संविधानसभाको विश्व परिवेशको उदाहरण प्रस्तुत गर्दै सहमतिबाट म्याद थप्न सकिन्छ, राष्ट्रिय सरकारका लागि सबै दलको सहभागिता आवश्यक छ भन्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
निजी विद्यालयहरुमा मनोमानी ढङ्गले शुल्क लिने तथा विद्यालयभित्र पाठ्यपुस्तक बिक्री हुने गरेको भए पनि पीडित अभिभावकले खुलेर विरोध गर्न सकेका छैनन्।
अभिभावकबाट यस विषयमा गुनासो नआएका कारण निजी विद्यालयका यस्ता काम बाहिर आउन नसकेको ललितपुरका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराई बताउनुहुन्छ।
निजी विद्यालयमा व्यापक शुल्क लिने र तोकिएभन्दा बढी रकममा विद्यालयभित्र नै पाठ्यपुस्तक खरिद गर्नुपर्ने जनगुनासो आउन थालेपछि जिल्ला शिक्षा कार्यालयले विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको गठन गरी अनुगमन अगाडि बढाएको थियो।
तर त्यस्ता विद्यालयको कार्यप्रति अभिभावक खुलेर आउन नसक्दा विद्यालय अनुगमनबाट परिणाम राम्रो आउन नसकेको जिल्ला शिक्षा अधिकारी भट्टराईको भनाइ छ।
नियमित अनुगमनमा रहेको समितिले पहिले त्यसरी विद्यालयले विद्यालय हाताभित्रै पाठ्यपुस्तक बिक्री गर्ने गरिएको भए पनि हाल त्यस किसिमको कार्य रोकिएको र कारबाही गर्नुपर्ने किसिमको अवस्था नभएको रिपोर्ट दिएको थियो।
उक्त समितिमा अभिभावक, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र प्याब्सनका प्रतिनिधि रहेका छन्।
एचकेनेपाल डट कम संवाददाता-
वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको स्मृतिमा बनाउन लागिएको ‘नमूना आध्यात्मिक केन्द्र’ निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा रू चार करोड २० लाख बराबरको रकम सङ्कलन भएको छ।
गत बैशाख २३ गतेदेखि सुरु भई एक हप्तासम्म चलेको महायज्ञमा जिन्सी र नगद गरी सो रकम सङ्कलन भएको वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठानका महासचिव विष्णु खनालले जानकारी दिनुभयो।
सो महायज्ञमा नाम गोप्य राखिएका एक दानवीरले सबैभन्दा बढी रु ३१ लाख र सहदेव कक्षपतिले रु ३० लाख दान गर्नुभएको बताइएको छ।
महायज्ञको समापनका दिन आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले राजनीतिक दलका नेताहरूले समेत यस्तो पुण्यकार्यमा सहयोग गर्नुपर्ने विचार राख्नुभयो।
वाचनप्रवीण दीनबन्धु पोखरेलले दानीहरूलाई धन्यवाद दिँदै यस कार्यबाट पिताको स्मृतिमा आध्यात्मिक केन्द्र खोल्ने सपना साकार हुन लागेको बताउनुभयो।
प्रतिष्ठानले छिट्टै काठमाडौं जिल्लाको रामकोट गाविस–१ मा नेपालकै नमूना आध्यात्मिक प्रतिष्ठान बनाउने बताएको छ।
एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसदको हिजोको बैठकमा कानुन तथा न्यायमन्त्री प्रभु साहले विभिन्न चार प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
बैठकमा अपराध संहिता २०६७, फौजदारी कार्यविधि संहिता २०६७, फौजदारी कसुर (सजायँ निर्धारण तथा कार्यान्वयन) विधेयक २०६७ र केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०६७ प्रस्तुत गरिएको हो।
अघिल्ला बैठकमा जस्तै पाँच सभासद्को रोस्ट्रम घेराउ, नाराबाजी र होहल्लाका बीच मन्त्री साहले ती प्रस्ताव प्रस्तुत गर्नुभएको हो।
सभामुख सुवास नेम्वाङले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, सद्रुलमियाँ हक, बुद्धरत्न मानन्धर र राजकुमार लिम्बु (नाल्बो) ले नाराबाजी सुरु गर्नुभएको थियो।
सभामुख नेम्बाङले धेरै सभासद्ले बोल्नका लागि समय माग गर्नुभएकाले उहाँहरूलाई आफ्नो भनाइ राख्ने अवसर दिन आआफ्नो स्थानमा बसी बैठक चल्न दिन नाराबाजी गर्ने सभासद्लाई पटकपटक आग्रह गर्नुभयो।
विशेष र शून्य समयको कार्यक्रम हटाइएको बताउँदै सभामुख नेम्बाङले व्यवस्थापिका–संसदको अर्को बैठक यही जेठ ८ गते आइतबार अपराह्न ३ बजे बस्ने जानकारी दिनुभयो।