Archive for May 18th, 2011

बाबुराम भट्टराईको हत्या योजनाको भर्त्सना

अशोक मैनाली/ एचकेनेपाल डट कम-
सोल, दक्षिण कोरिया। पार्टी मुख्यालयमै माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईको हत्या योजना बनाइएको घटनाप्रति पार्टीसम्बद्ध प्रवासको संगठन जनअधिकार मञ्च कोरियाले भर्त्सना र निन्दा गरेको छ।

जनाधिकार मञ्च कोरियाका कार्यवाहक अध्यक्ष बिष्णु क्षेत्री र महासचिब हरेराम ढकालद्वारा संयुक्त हस्ताक्षरसहित बुधबार जारी विज्ञप्तिमा सो योजनाबाट मुलुकमा पुनः अशान्ति र अराजकता मच्चाउन खोजिएको प्रष्ट भएको जनाइएको छ। पार्टीका उच्च नेतृत्वमाथि ज्यान मार्ने धम्की दिने व्यक्तिलाई तत्काल कारबाही गर्न पार्टी र सरकारसमक्ष माग गरिएको छ।

पार्टीभित्र घुसपैठ भएका अराजक, अराजनैतिक, वैचारिक दरित्रताको पराकाष्ठामा पुगेका कुतत्वहरुले यस्तो योजना गरेको भन्दै विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्ताहरुको सुरक्षा तथा दोषीमाथि कारबाही माग गरिएको छ। साथै विज्ञप्तिमा यस्ता अराजक तत्वको घुसपैठले पार्टीको छबि जनमानसमा धुमिल हुन सक्ने भन्दै त्यस्ता अपराधिक मानसिकता भएका जो कोहीलाई भएपनि कानुनी कारबाहीको कठघरामा ल्याउन पार्टी नेतृत्वलाई अनुरोध पनि गरेको छ।

Recent Videos:

Popularity: 9%

2 comments May 18th, 2011

काग्रेसको प्रस्ताव अब्यवहारिक र असान्दर्भिकः उपाध्यक्ष श्रेष्ठ

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नेपाली काग्रेसको प्रस्ताव अब्यवहारिक र असान्दर्भिक रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रकाशले नेपाली काग्रेसले प्रस्तुत गरेको सेना समायोजनको प्रस्तावमा सहमति असम्भव भनि टिप्पणी गरेका छन्।

प्रकाशले काग्रेसलाई आफ्नो प्रस्तावमा पुनर्विचार गर्न आग्रह गर्दै निहुँ खोजेर मात्र समस्याको समाधान हुनै नसक्ने बताए।

काग्रेसले माओवादी लडाकुको भएका सुरक्षा निकायमा ब्यक्तिगत रुपमा मापदण्ड पूरा गरेपछि समायोजन गर्ने, समायोजनमा जाने लडाकुको संख्या तोक्ने, समायोजनको मोडलिटि तयार पारेर जेठ १० गतेभित्रमा कम्तीमा लडाकुको रिगु्रपिङ गर्ने सम्मको कार्य गरेमात्रै संविधानसभाको म्याद थप्ने विषयमा सहमत हुने प्रस्ताव अगाडि सारेको थियो। प्रकासले काग्रेसले भने जस्तो जेठ १० गतेभित्रमा ती काम कुनै पनि हालतमा सम्भाव नरहेको ठोकुवा गरे।

संविधानसभाको म्याद थपको विकल्प नरहेको दावी गर्दै प्रकासले दलहरुले नेपाली जनतासमक्ष गल्ती गरेकोमा माफी माग्दै शान्ति र संविधान निर्माणको सुनिश्चित आधारसँगै थपिएको समयमा जिम्मेवारी पुरा गर्ने ठोस प्रतिबद्धता ब्यक्त गरेर म्याद थप्नु पर्ने बताए।

Recent Videos:

Popularity: 9%

Add comment May 18th, 2011

दुई तिहाई बहुमत पुर्याएर संविधानसभाको म्याद थपिन्छः सिचाईमन्त्री

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, सिचाईमन्त्री रघुवीर महासेठले सहमतिले संविधानसभाको म्याद थपिने बातावरण नबने सरकारले दुई तिहाई बहुमत पुर्याएर संविधानसभाको म्याद थप्ने बताएका छन्।

सत्तारुढ एमाले निकट लोकतान्त्रिक मधेसी संगठनले रिपोर्टर्स क्लब नेपालमा अयोजना गरेको पत्रकार सम्मेलनमा सिचाईमन्त्री महासेठले सरकारले अन्तिम समयसम्म सर्वसम्मतिबाटै म्याद थपको लागि पहल गर्ने बताउँदै त्यो सम्भव हुन नसके संबैधानिक प्रक्रियाबाट दुई तिहाई पुर्याएर म्याद थपिने बताए। उनले भने-संबैधानिक प्रक्रियाको विरोध गर्नु हुँदैन । संविधानमा दुई तिहाई बहुमतबाट गर्ने ब्यवस्था छ।

संविधान निर्माण नगरी संविधानसभा विघठन गरिए सरकार निरकुंश भएर जाने भन्दै उनले सरकारलाई निशकुंश हुन नदिन पनि संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको दावी गरे।

संविधानसभा भंग गरिए यो सरकारलाई कसैले हटाउन सक्दैन। अनन्तकाल सम्म यहि सरकार क्रियाशिल रहन्छ, उनले भने।

मन्त्री महासेठले संविधानसभा भंग भए संविधानसभाबाटै बनेको सरकार र राष्ट्रपतिमाथि पनि प्रश्न खडा हुने बताएका छन्।

लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष समेत रहेका सिचाईमन्त्री महासेठले आफू र आफ्नो संगठन संविधानसभा विघटनको पक्षमा नरहेको स्पष्ट पार्दै संविधानसभाबाटै संविधान बन्नु पर्ने धारणा राखे।

Popularity: 9%

Add comment May 18th, 2011

सत्ताको पुनरावृतिकै लागि संविधानसभाको म्याद थप्दैनौँ–मधेसी मोर्चा

एचकेनेपाल डट कम संवाददाता-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले सत्ताको पुनरावृत्तिकै लागि संविधानसभाको म्याद थप्न नहुने बताउनुभएको छ।

मोर्चाद्वारा आयोजित आमसभामा मोर्चाका प्रमुख घटक मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई–मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) र सद्भावना पार्टीका नेताले शान्ति प्र्रक्रियाको सम्बन्धमा ठोस प्रगति, सङ्घीय लोकतान्त्रिक संविधानको निर्माण, राज्यको पुनःसंरचना, शासकीयस्वरुप तथा निर्वाचन प्रणालीबारे मोर्चाले उठाएको माग पुरा भएमात्र संविधानसभाको म्याद थप्न सकिने स्पष्ट पार्नुभयो।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संविधानसभाको म्याद थप्न शान्ति प्रक्रिया तार्किक निष्कर्ष पुग्ने र सङ्घीयताका सम्बन्धमा मोर्चाले उठाएका माग सम्बोधन हुने विश्वास दिलाउनुपर्ने बताउँदै राष्ट्रिय सहमतिको राजनीतिक सुरु गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो।

फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले शान्ति प्रक्रिया टुङ्गो लगाएर जनतामा विश्वास नदिलाएसम्म म्याद थप्न नदिइने बताउँदै एकीकृत नेकपा (माओवादी)ले इमान्दारी नदेखाएका कारण शान्ति प्रक्रिया र संविधान बन्न नसकेको आरोप लगाउनुभयो।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सङ्घीयताले मात्र नेपालको राष्ट्रियता र अखण्डता बलियो बनाउने बताउनुभयो।

Popularity: 9%

Add comment May 18th, 2011

वाम नेताहरू एक ठाउँमा

एचकेनेपाल डट कम संवाददाता-
वामपन्थी पार्टी एवम् स्वतन्त्र वाम बुद्धिजीवीहरूको बैठकमा संविधानसभाको म्याद बढाउन वातावरण बनाउने बारेमा छलफल भएको छ।

पूर्वमन्त्री एवम् स्वतन्त्र वाम बुद्धिजीवी पद्मरत्न तुलाधरको निवासमा भएको छलफलमा जेठ १४ अघि नै संविधानसभाको म्याद थप्न सहमति जुटाउने वातावरण बताउने र एकताबद्ध भएर अघि बढ्न सहमति भएको नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पत्रकारहरूलाई बताउनुभयो।

“संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ, संविधानसभाको म्याद थप्नुपर्छ,” नेता गौतमले भन्नुभयो।

सो छलफलमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वाला र नेकपा (माले)का महासचिव सिपी मैनाली सहभागी हुनुहुन्थ्यो।

त्यस्तै वाम बुद्धिजीवी श्याम श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली र ऋषि कट्टेललगायतको सहभागिता थियो।

Popularity: 9%

Add comment May 18th, 2011

संविधान बनाउन ४६ हप्ता लाग्ने

एचकेनेपाल डट कम संवाददाता-
एमाले नेता सुरेन्द्र पाण्डेले अनौपचारिकरूपमा सभामुख, कानुन व्यवसायीसँग परामर्श गर्दा संविधान निर्माणको प्रक्रिया अप्ठ्यारो र जटिल भएकाले करिब ४६ हप्ता लाग्ने देखिएको बताउनुभयो।

“तर प्रारम्भिक मस्यौदा बनेपछि त्यसबारे सबै तह र क्षेत्रमा छलफल गर्न सजिलो हुन्छ,” नेता पाण्डेले भन्नुभयो।

उहाँले जुनसुकै ठाउँमा जे जस्ता कुरा भए पनि यो सरकार बदलिने सम्भावनालाई भने अस्वीकार गर्नुभयो।

“यो सरकार फेरिने कुनै सम्भावना छैन, जुनसुकै ठाउँमा जे जस्ता कुरा भए पनि यही सरकारलाई राष्ट्रिय स्वरूप दिन सकिन्छ,” नेता पाण्डेको भनाई थियो।

Popularity: 9%

Add comment May 18th, 2011

केटी जिस्काएको निहुँमा माओवादी लडाकु र स्थानीय झडप

एचकेनेपाल डट कम संवाददाता-
शिविरमा रहेका एकीकृत नेकपा (माओवादी) का लडाकूले अपहरण गरेका पाँच जनालाई हिजो दिउँसो पहिलो डिभिजनबाट छाडिएको छ।

गत वैशाख ३१ गते आयोजित एक विवाहमा एकजना लडाकूले युवती जिस्क्याएको निहुँमा लडाकू र स्थानीयबासीबीच अस्ति राति झडप भएको थियो।

घटनामा घाइते भएकालाई उपचारपछि आफन्तको जिम्मा लगाएको डिभिजनले जनाएको छ।

कुटपिटबाट घाइते भएका मिन्सु फागो, छविलाल फागो, चन्द्र नुगो, मानबहादुर फागो र गुबल तुम्बाफोलाई छाडिएको डिभिजन कमाण्डर प्रतिक्षाले जानकारी

स्थिति थप उत्तेजित हुन नदिन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

Popularity: 8%

Add comment May 18th, 2011

नेपाली जनता निराश हुनु मुलुकका लागि घातक— ओली

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले संविधानसभाको म्याद थप्नुअघि राष्ट्रिय सहमति निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ।

प्रेस चौतारी, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले भन्नुभयो— ‘राष्ट्रिय सहमति निर्माणका लागि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा र शान्तिप्रक्रिया कार्यान्वयनका विषयमा एकीकृत नेकपा (माओवादी) को लिखित प्रतिवद्वता आउनै पर्छ।’

नेता ओलीले दुईतिहाई पनि राष्ट्रिय सहमति हो भन्नु बेमौसमी बाजा भएको टिप्पणी गर्दै संविधानसभाको म्याद थप्न दुईतिहाइको बाटोमा जान खोजियो भने त्यसले संविधानसभालाई समाप्त पार्ने तथा मुलुकलाई मुठभेड र द्वन्द्वतर्फ निम्त्याउँछ भन्नुभयो।

उहाँले आगामी जेठ १४ गते संविधान जारी नहुने पक्का भएको स्पष्ट पार्दै संविधानसभाको अस्तित्वलाई सत्ताप्राप्तिको अभिष्टसँग जोडिएकाले नै तोकिएको समयमा संविधान जारी भएन र शान्तिप्रक्रिया पनि निष्कर्षमा पुग्न सकेन भन्नुभयो।

नेपाली जनता निराश हुनु मुलुकका लागि घातक हुने चेतावनी दिंदै नेता ओलीले भन्नुभयो— ‘जनताको निराशाको फाइदा अवाञ्छित शक्तिले लिन सक्नेतर्फ दलहरू गम्भीर भएनन् भने त्यो अवस्था नआउला भन्न सकिन्न।’

‘अहिले क्रान्तिको होइन शान्तिको बाटो रोज्नु आवश्यक छ,’ उहाँको थप भनाइ थियो—’अर्जुनदृष्टि सत्तामा जसरी पनि टिकिरहनका होइन राष्ट्रिय सहमतितर्फ केन्द्रित हुनुपर्छ।’

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्रीतर्फ इङ्गित गर्दै नेता ओलीले अरुको पार्टीको नीति स्वीकार गर्ने र आफ्नो पार्टीको निर्णय र नीतिलाई लत्याउनु घोर अराजकता हो भन्नुभयो।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले एकीकृत माओवादीले नेपाली काँग्रेसलाई सैद्धान्तिक र एमालेलाई व्यवहारिक शत्रु ठानेकाले नै राष्ट्रिय सहमति निर्माण हुन नसकेको बताउनुभयो।

नेता ओलीले वामपन्थीको होइन, ‘वामपन्थीे नामको एकता’ को षड्यन्त्र गर्न खोज्नेहरू नै राष्ट्रिय सहमतिको बाधक भएका छन् भन्नुभयो।

Popularity: 8%

1 comment May 18th, 2011

राजनीतिक गतिरोधले कानुन निर्माणमा ढिलाई : नेम्बाङ

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले राजनीतिक गतिरोधका कारण कानुन निर्माणमा ढिलाई भइरहेको बताउनुभएको छ।

कानुन तथा न्याय मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसनले संयुक्तरुपमा आयोजना गरेको नेपालको फौजदारी कानुनको सुधार विषयक अन्तरक्रियामा उहाँले राजनीतिक गतिरोधका कारण संसदमा पेस भएका कतिपय विधेयक ऐनको रुपमा परिणत हुन नसक्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताउनुभयो।

सभाध्यक्ष नेम्बाङले परिवर्तित समयअनुरुप अहिलेको फौजदारीसम्बन्धी कानुनका कतिपय संवेदनशील कुरा छलफल र बहसका साथ परिवर्तन गरी ऐनको रुपमा लागु गरिनुपर्छ भन्नुभयो।

शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याएर संविधानसभामार्फत संविधान जारी गर्नुको विकल्प नरहेको भन्दै उहाँले यसका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

कानुन तथा न्यायमन्त्री प्रभु साहले परिवर्तित समयअनुरुप कानुन समय सापेक्ष हुनु जरुरी भएको उल्लेख गर्दै विगतका कानुनका सकारात्मक कुरालाई प्रयोग गर्दै आधुनिक कानुन बनाइनुपर्ने बताउनुभयो।

Popularity: 8%

1 comment May 18th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....