Archive for May 22nd, 2011

राष्ट्रिय सहमति नभए देश गृह युद्धको भुमरीमा फस्न सक्छ

आर.सि.एन/ एचकेनेपाल डट कम-
बीरगञ्ज, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र राय यादबले राष्ट्रिय सहमतिबिना संविधानसभाको म्याद थपेमा देश गृह युद्धमा फस्ने सक्ने चेतावनी दिएका छन्।

रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रममा केन्द्रिय अध्यक्ष यादबले जेष्ठ १४ गते संबिधान सभाको म्याद थप गर्नु अगावै सम्पूर्ण राजनीतिक दलको सहभागितामा राष्ट्रिय सहमतिले संबिधान सभाको म्याद थप गरिएन भने देशमा बिषम परिस्थिती उत्पन्न भई गृह युद्धको भुमरीमा देश फस्न सक्ने बताएका हुन्।

मधेशी तीन पार्टी मिलेर बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश र मधेशी जनताको हक हित र अधिकारको जति कुरा गरे पनि मोर्चाले दिलाउन नसक्ने भएको हुनाले अर्को मधेशी मोर्चाको छिट्टै गठन गर्नेसमेत बताए।

मधेशको आन्दोलनबाट मधेशलाई संघियता घोषणा गराउने कुरा भएता पनि केही मधेश बिरोधी ठूला राजनितीक दल र साना दलहरुले संघियता बिरोधी काम गरिरहेकोप्रति यादबले कार्यक्रममा उक्त राजनितीक दलका नेताहरुमाथि आक्रोश ब्यक्त गरेका थिए।

Recent Videos:

Popularity: 8%

2 comments May 22nd, 2011

तमुधि क्षेत्रिय इकाई प्लमस्टिडले बुद्ध पूर्णिमा मनायो

धर्मराज अधिकारी/ एचकेनेपाल डट कम-
बेलायत, तमुधि क्षेत्रिय इकाई प्लमस्टिडले २५५५ औं बुद्ध जयन्ती भव्य पुजाआजामा साथ मनाएको छ।

तमुधि क्षेत्रिय इकाई अन्तर्गत हाउजीङ्ग कमिटिको संयोजनमा मनाइएको बुद्ध पूर्णिमा पुजामा ३ जना लामा गुरुहरुले प्रवचन दिएका थिए।

शनिबार भएको पुजामा लामा गुरुहरु बिर्खबहादुर गुरुङ, बद्रि लामा र दिल बहादुर गुरुङले विधि पूर्वक पुजाआजा गरेका थिए। पुजा समाप्त भएपछि धर्म गुरुहरुलाई अध्यक्ष रि. क्या. नारायण गुरुङले सम्मानसाथ बिदाई गरे।

सामुदायिक भवन तथा बौद्ध गुम्बा निर्माणमा जुटिरहेको प्लमस्टिड क्षेत्रिय इकाईले भवन निर्माणको सहयोगार्थ कार्यक्रमको वयवस्थापन गरेको हो। सो कार्यक्रममा ग्रिनविचका काउन्सिलर सजिद जभाइद, प्रोफेशर डा. बाल गोपाल श्रेष्ठ, नेपाली टिभिका प्रमु कार्यकारी निर्देशक एवं सल्लाहकार मोहन गुरुङ, व्यवसायी, उमेश रेग्मी, स्थानीय समाजसेवी श्याम शेरचन, सुमल कुमार गुरुङ लगायतको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै प्रमुख सल्लाहकार मोहन गुरुङले हाउजिङ कमिटिले हामी सबैसंग सहयोगको अपिल गरेको बताए। उनले २०१२ भित्रमा आफ्नै भवन र बुद्ध स्तुपा निर्माण गर्ने अठोटलाई पूरा गराउनु सबैको दायित्व भएकोले सहयोगी हात अघि बढाउन आग्रह गरे। कार्यक्रममा आमा समूहले गरेको सहयोगको उनले खुलेर प्रशंसा गरेका थिए।

तमुधि क्षेत्रिय इकाई प्लमस्टिडका अध्यक्ष रि. क्या. नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हाउजिङ कमिटिका संयोजक श्रीचन्द्र गुरुङले प्राप्त सहयोग बारे जानकारी दिएका थिए। उनले २०१२ भित्रमा योजना पूरा गर्ने अठोटका साथ अघि बढेको बताए। त्यस अवसरमा ५०० पाउण्डभन्दा बढि सहयोग गर्ने करीब २० जना चन्दा दाताहरुलाई काउन्सिलर जवाइदले सम्मान गरेका थिए।

पूजामा उपस्थित भक्तजनहरुलाई कार्यक्रमको अन्त्यमा सास्कृतिक मनोरञ्जन गराइएको थियो। सांस्कृतिक कार्यक्रममा स्थानीय किशोर किशोरीहरुले आकर्षक नृत्य प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन सूर्य गुरुङले गरेका थिए।

कार्यक्रममा स्थानीय बुढि आमा समूहले आफ्नै सक्रियतामा पाहुनाहरुलाई खान पानको व्यवस्था गरेको थियो। पूजामा करीब २०० को हाराहारीमा भक्तजनहरुको सहभागिता रहेको थियो।

Recent Videos:

Popularity: 8%

Add comment May 22nd, 2011

भागीरथा प्रसाईको सौता प्रसङ्ग

भागीरथा प्रसाईको ९३औं शुभजन्मोत्सवको सन्दर्भ
मेरी सासू भागीरथा प्रसाईको सौताप्रसङ्ग
इन्दिरा प्रसाई / एचकेनेपाल डट कम-“आमा ! ससुराबाजेको त्यत्रो बयान गर्नुहुन्छ, अनि हजुर हुँदाहुँदै मेरा ससुराले किन अर्की बिहे गर्नुभएको त ?” उहाँको पति सम्मोहन तोड्न चाहन्छु म । मैले सोचेकी थिएँ, अब मेरी सासूको अनुहारमा खिन्नताका रङहरू छाउनेछन् र उहाँले आफ्ना पतिका विरोधमा केही शब्दहरू ओकल्नुहुनेछ । “काँ उहाँले आफै बिहे गर्नुभएको हो र ? त्यसको पनि कथा छ ।” उहाँले त मुसुमुसु हाँस्दै जवाफ दिएर ममा उहाँको सौताकथा सुन्ने उत्सुकतासमेत जगाउनुभयो।

“बुझयौ मेरी सासू शिवमायाका माइती शिवाकोटीहरू र मेरा माइती उप्रेतीहरूबीच एउटा कुरामा टसल परेछ । कुरा के भने शिवाकोटी परिवारमा विवाह भएकी एउटी उप्रेतीकी छोरी विधवा भइछन् । उप्रेतीकी विधवा भएकी छोरीलाई शिवाकोटीहरूले खान नदिएको झोँकमा उप्रेतीहरूले धावा बोलेछन् । उनीहरूले शिवाकोटीहरूका धन्सारबाटै धान झकिर आफ्नी चेलीको खानपानको व्यवस्था गरेर अबला चेलीलाई न्याय दिलाएछन् । यस घटनाले त्यस बखत शिवाकोटी परिवारमा उप्रेती परिवारप्रति वैमनस्य भएछ । त्यसैले यस घटनाबाट इखिएकी मेरी सासूले पनि म उप्रेतीकी चेली भएकीले मलाई सौता हालिदिएर उप्रेतीहरूको सेखी झार्न खोज्नुभएको रहेछ । तर मेरोचाहिँ सेखी झरेन ।” त्यस्तो कथामा आधारित मेरी सासूको सौताप्रसङ्ग मेरै सासूद्वारा प्रस्तुत भएको थियो।

त्यस बखत मैले सोचे विपरीत मेरी सासूका अनुहारमा सौताप्रसङ्गमा पनि गर्वको भाव देखा पर्दा म अचम्मित भएकी थिएँ । मेरी सासू सौताजस्तो कुरामा पनि नपिरिनुभएको देख्दा ममा हुनसम्मको कौतुहल जागेको थियो।

“मलाई दुःख दिन भनेर मेरी सासूले सौता त ल्याइदिनुभयो, “त्यो केटी मैले बिहे गरेकी होइन, आमाले बिहे गर्नुभएको हो, अब उहाँले नै यसलाई जे गर्नुपर्छ गर्नुहोस् । मलाई मतलब छैन” भनेर सौता भित्र्याएपछि मेरा पतिले भन्नुभयो । मेरी सौताका बारेमा मेरा पतिका यस्ता कुरा सुनेर मलाई पो पीर पर्यो । अब उहाँले बिहे गरेर ल्याइसकेपछि त्यसबाट जायजन्म भएनन् भने मेरो लोग्नेलाई नै पाप लाग्छ भनेर मैले नै उहाँलाई सम्झाएँ, बुझाएँ । मैले निकै सम्झाएपछि उहाँले मेरा लागि मेरी सौतालाई वरण गर्ने हुनुभयो । तर उहाँले मेरी सौतालाई स्वीकार गर्नुअघि त्यसलाई मेरा पाउमा झुकाएर भन्नुभयो, “हेर् ! म यसको लोग्ने हुँ, तेरो लोग्ने चाहिँ यो हो । तैँले लोग्नेप्रति गर्ने सम्पूर्ण आदर सम्मानको व्यवहार यसलाई गर्नू ।” लोग्नेको यस्तो आदेशको पालना पनि मेरी सौताले मेरो लोग्ने र ऊ स्वयम्को जीवनकालभरि पनि गरिरही । जसले गर्दा मैले मेरी सौताप्रति सधैँ आश्रतिलाई जस्तै संरक्षकको व्यवहार गरेँ ।” सौताकथा पनि बढो दम्भ र पुरुषार्थका हिसाबले सुनाएर मेरी सासू चुप लाग्नुभएको थियो।

त्यसो त ताप्लेजुङस्थित आठराई हाङपाङ निवासी दधिराम चुडालकी छोरी दिव्यरूपा अर्थात् मेरी सौतेनी सासू असल पनि हुनुहुन्थ्यो भन्ने कुरा मैले मेरी सासूबाट सुनेकी थिए । अनि मेरी सासूले पनि आफ्नी सौतालाई माया गर्नुहुन्थ्यो भन्ने पनि मैले थाहा पाइसकेकै कुरा थियो।

हुन त त्यस बेला मेरी सासूको सौता सन्दर्भको पूर्णकथा सुनेर भने मलाई बडो सकस भयो । म त त्यसरी पनि आफ्नो लोग्ने बाँड्न सक्तिनँ । कुनै पनि हिसाबले लोग्ने बाँड्ने कुरालाई म सहन सक्तिनँ । लोग्ने बाँड्नुपर्ने परिस्थितिमा बरु त्याग्नु मेरा लागि सुखद हुनसक्छ र मेरो जीवनमा त्यो घटना घटेको पनि छ । मेरो मनोवृत्तिभन्दा ज्यादै फरक मनस्थितिकी मेरी सासूको सौताकथाले मेरो मानस किल्लामा नै आक्रमण गर्न खोजेको थियो । पितृसत्तात्मक उपज मेरी सासूजन्य महिलाहरूका कथाले मलाई निकै पिरोल्ने पनि गर्छ । “अनि सौतेनी आमाबाट पनि जायजन्म भयो हैन आमा ।” मैले यसै प्रसङ्गमा अझै उहाँका भावना उधिन्न खोजेँ । “मैले नै मेरो लोग्नेलाई बिहे गरिसकेकी स्वास्नीबाट जायजन्म नगराइएमा लोग्ने मानिसले भोग्नुपर्ने पाप देखाएर मेरी सौताबाट पनि जायजन्म गराएकी हुँ । उहाँ त त्यस आइमाईको छायाँ पनि मनपराउनुहुन्न थियो ।” यसो भनिरहँदा पनि उहाँको गर्व नचोटिएको देख्दा मलाई थप आर्श्चर्य लागेको थियो । परम्पराप्रति मेरी सासूको के विधि आस्था ! लोग्नेप्रतिको कत्रो निष्ठा र कस्तो प्रेम ! अनि लोग्ने पनि कति कुटनीतिज्ञ ! हिजोआजका लोग्ने मानिसले एउटी स्वास्नीलाई पनि रिझाउन सक्तैनन्, त्यस बखत मेरा ससुराले दुईदुईवटी स्वास्नीलाई पनि आफ्नो भक्त बनाएर राख्न सक्नुभएको घटना पितृसत्ताका रक्षकहरूका लागि उदाहरणीय र अनुकरणीय पनि भएको छ भन्ने मलाई लाग्यो।

मेरी सासूले हाम्री सौतेनी सासूलाई कहिल्यै हेला गर्नुभएन । त्यही कारण मेरा देवर जेठाजुहरूका मनमा पनि कहिल्यै सौतेनी भावनाले जरा समातेन । नरेन्द्रले पनि आफ्नी कान्छी आमापटि्टबाट जन्मेका दिदीबहिनी र दाजुलाई पनि सधैँ आदर गरिरहनुभयो । नरेन्द्रले नै कान्छी आमापटि्टबाट जन्मेका छोरा लक्ष्मी जेठाजुलाई पनि काठमाडौँ ल्याउनुभएको रहेछ । वास्तवमा नरेन्द्रको चाहिँ सबै दाजुभाइ र दिदीबहिनीहरूसँग बराबरी नै हुरुक्कै हुने प्रवृत्ति मैले सधैँ देख्तै आएकी छु । नरेन्द्र आफ्नी कान्छी आमासँग पनि समर्पित हुनुहुन्थ्यो । उहाँ आफ्नी कान्छी आमा हाम्रा घरमा आँउदा काशी (तीर्थ) नै घरमा आए जस्तो ठान्नुहुन्थ्यो । वास्तवमा कान्छी आमाप्रति नरेन्द्रको भावना साह्रै उच्च भएको मैले प्रत्यक्ष देखेकी छु । चन्द्रावती दिदी र गौरी बहिनीप्रति पनि नरेन्द्रको त्यतिकै लगाव छ । त्यति मात्र होइन झन्नै तीन दशकपूर्व स्वर्गीय भएकी रामकुमारी बहिनीको पनि नरेन्द्रले प्रायः कुरा झिकिरहनुहुन्छ । उहाँका लागि कान्छी आमाका छोराछोरी पनि आफ्नै आमाले नै जन्माए जस्ता मानिन्छन्।

मेरी सासूले आफ्ना पतिको देहवसानपछि पनि आफ्नी सौताको कदर गरिरहनु भयो। आफ्नी सौतालाई भौतिक सहयोग गर्न पनि उहाँ कहिल्यै पछि पर्नुभएन । यसै परिवेशमा मेरी सासूले मलाई भन्नुभयो “म झापा झर्दा मेरो सम्पूर्ण घर, जग्गालगायत घरबारका सबै सामग्रीहरू पनि दिव्यरूपालाई नै दिएर आएकी थिएँ । धेरै वर्ष ऊ हाङपाङ मै बसी । पछि ऊ पनि काठमाडौँमै आएर डेढदुई वर्षजति कालेसँग बसेकी थिई । स्वर्गे हुनुभन्दा अघि पनि ऊ मलाई भेट्न हाम्रो घर आइरहन्थी । ऊ मलाई ‘मेरी दिदी’ भन्थी । उसले हरेक भेटमा मेरा खुट्टा ढोग्थी । उसको प्राण जानुअगाडि पनि उसले मलाई भेट्न खोजेकी थिई रे । तर मेरो छोरो दीर्घराजले हामीमाझ अपराध गरिदियो । उसले मेरी कान्छीसँगको भेटघाटमा बार लगाइदियो । दीर्घराजको मुखै कालो, पेटै कालो भएको छ । उसले कालेकी आमाको सास जाने बेलामा उसँग मलाई भेट्नै दिएन । मेरी कान्छीसँगको मेरो अन्तिम भेट्ने इच्छा अधुरो भयो । कठैबरी ! कालेकी आमा स्वर्ग जाओस्।”

Popularity: 9%

1 comment May 22nd, 2011

कोरियामा नेपाली डाक्टर सम्मानित

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
सउल, दक्षिण कोरिया। कोरियामा एक जना नेपाली डाक्टर राजेशचन्द्र जोशी सम्मानित भएका छन्।

केबिए अन्तर्गतको कोरियन प्रसारण संस्था केबिएसले जोशीलाई “सफलता र एकताभावको नमूना” भन्दै सम्मानित गरेको हो।

सन् २०११ को लागि उनी “कोरियाको आशावादी प्रेरणा” शीर्षकमा सो संस्थाबाट पुरस्कृत भएका हुन्।

नगद पचास लाख कोरियन वनको उक्त पुरस्कार कार्यकारी प्रमुख, प्राध्यापक, कर्मचारी तथा अन्य पेसामा दक्ष काम गरी कोरियाली बहुसांस्कृतिक समाजमा सफलताको नमूना र प्रेरणा बनेका व्यक्तिहरुलाई प्रदान गरिन्छ।

सन् १९७१ मा काठमाडौमा जन्मेका जोशी सन १९९२ मा चिकित्साशास्त्र पढ्न कोरिया आएपछि कोरियाकै योंगनाम यूनिभर्सिटी मेडिकल कलेजबाट स्नातककोत्तर तह पूरा गरी गेम्युङ्ग विश्वविद्यालयबाट विद्यावारिधिसम्म अध्ययन गरेका थिए।

अध्ययनपछि कोरियामा एक नामी छाला रोग विशेषज्ञका रूपमा परिचित जोशी र हाल फेमिली मेडिसिनमा आवाशीय डाक्टरको रूपमा कार्यरत छन्।

Popularity: 8%

Add comment May 22nd, 2011

गतिरोधको निकासको सुत्र काग्रेस माओवादी विचको सहमतिः भट्टराई

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोधको अन्त्यको लागि माओवादी र नेपाली काग्रेसवीच नै सहमति बन्नु पर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले दुइ विचारको नेतृत्व गरेका माओवादी र काग्रेसवीच नै मुख्य रुपमा सहमति गर्नु पर्ने र अन्य दलहरुले त्यसमा साथ दिनु पर्ने बताए। विचारको नेतृत्व र संगठनिक क्षमताको हिसावमा पनि दुइ दलवीच सहमति हुनु पर्ने भट्टराईको भनाई थियो।

शान्ति र संविधानको सुनिश्चितताको लागि राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको आवश्यकता पुष्टि भईसकेको उल्लेख गर्दै भट्टराईले अहिले माओवादी, काग्रेस एमाले र मधेसवादी शक्ति सहित शान्ति, संविधान, संविधानसभाको म्याद थप र राष्ट्रिय संयूक्त सरकार गठनको विषयमा प्याकेजमै सहमति गर्नु पर्ने बताए।

प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनु पर्ने पक्षमा आफू रहे पनि सहमतिको सरकारको लागि कोही पनि बाधन बन्न नहुने धारणा राख्दै ठूलो पार्टी भएको नाताले सहमतिको सरकारको नेतृत्व माओवादीले नै गर्न पाउनु उनको दावी थियो।

Popularity: 8%

Add comment May 22nd, 2011

दोस्रो मिस पूर्वाञ्चलको आवेदन खुल्ला

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
आफ्नो प्रतिभा, सौन्दर्यता, वौद्धिकता र क्षमतालाई बाहिर ल्याउन उद्धेश्यका साथ धरानमा हुन लागेका ‘दोस्रो मिस पूर्वाञ्चल’ को तायारी अन्तिम चरणमा पुगेको छ।

पूर्वाञ्चलका १६ देखि २३ वर्षसम्मका युवतीहरुबीच प्रतिस्पर्धा गराइने प्रतियोगिताको अडिसन अगामी जेष्ठ १८ गते धरानमा हुने भएका छ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अगामी असार १८ गते धरानमा हुनेछ।

फाइल तस्वीर

पूर्वाञ्चलमा स्थायी वसोवास भएका न्युनतम एसएलसी उत्तीर्ण युवतीहरुले भाग लिन पाउने दोस्रो मिस पूर्वाञ्चलको आवेदन फारम वितरण भइरहेको आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष विरेन्द्र लिम्बूले बताए।

अडिसन मार्फत छनौट गरिएपछि प्रतियोगीहरुलाई र्‍याम्प मोडलिङ, व्यक्तित्व विकास, ग्रुमिङ, फेशन, पर्यटन, ट्राफिक सचेतना, सामाजिक सचेतना, संस्कृति, इतिहास, व्यूटी टिप्स लगायतका विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट १५ प्रशिक्षण तथा अध्ययन गराइने व्यवस्था मिलाइएको अध्यक्ष लिम्बूले बताए।

फाइनल प्रतिस्पर्धाबाट निष्पक्ष रुपमा निर्णायक मण्डलीहरुको निर्णयनुसार तथा प्रतियोगीहरुको आफ्नो प्रतिभा र क्षमता अनुरुप तथा एसएमएस भोटिङको आधारमा टप टेन प्रतियोगीलगायत प्रथम हुनेलाई ‘मिस पूर्वाञ्चल’ घोषणा गरिनुका साथै ताजसहित स्कुटी मोटरसाइकल प्रदान गरिने तथा दोस्रो र तेस्रो हुनेलाई ताजसहित ल्यापटप र प्रदान गरिने लिम्बूले बताए।

प्रतियोगितामा मिस क्याटवक, मिस टयालेण्ट, मिस फ्रेण्डसिप, मिस वेष्ट फिगर, मिस कल्चर, मिस टुरिजम, मिस डिसिप्लन, मिस भ्यूअर्स च्वाइस, मिस व्यूटीफुल हेयर, मिस वेष्ट स्माइल, मिस फोटोजेनिकलगायतका विभिन्न विधाको विजेताहरु समेत घोषणा गरी पुरस्कारहरु प्रदान गरिने छ।

उनका अनुसार प्रतियोगितालाई पूर्वाञ्चलव्यापी बनाउन धरान बाहिर इटहरी, विराटनगर, विर्तामोड, उर्लाबारी लगायतका स्थानहरुमा मिस पूर्वाञ्चलको फाइनल प्रतिस्पर्धा अघि गरिने विभिन्न कार्यक्रमहरुमा समेत सहभागी गराइने छ।

मिस पूर्वाञ्चलको प्रतिस्पर्धामा उत्कृष्ट योग्यता पुगेका तीन युवतीहरुलाई मिस नेपालको फाइनल प्रतिस्पर्धामा समेत भाग लिन पाउने छन। गत वर्ष मिस पूर्वाञ्चलमा दोस्रो हुने धरानकी प्रिया लामाले सो अवसर पाएकी थिइन्। उनले मिस नेपालको फाइनल प्रतिस्पर्धामा मिस वेष्ट कम्पिलिक्समेन्टको एवार्ड हात पारेकी थिइन्।

Popularity: 8%

Add comment May 22nd, 2011

पूर्वमा हात लाग्यो शून्य

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, राजेश हमालको फिल्मी करियरमा नै फरक गेटअपमा उतारिएको चलचित्र हात लाग्यो शून्यको निर्माण टोलीले पूर्वी नेपालमा चलचित्रको प्रचार प्रसार गरेको छ।

प्रमोशनका लागि चलचित्र निर्देशक विजय विक्रम वस्नेत, निर्माता विश्व नेपाल कलाकार शिव आचार्यलगायतका टोली आएको हो।

दमक, धरान, इटहरी,विराटचौक,विर्तामोड लगायतका पूर्वी नेपालका क्षेत्रमा चलचित्रको यूनिट पूगेर प्रमोशन गरेको थियो। चलचित्रको यूनिटले स्थानीय एफएम, टिभि र पत्रिकाका सञ्चारकर्मीसंग भेटेर चलचित्रको बारे जानकारी दिएका थिए।

भ्रमणको क्रममा पूर्वका विभिन्न रेडियोमा अन्तरवार्ता दिनुका साथै चलचित्रका गीतहरु प्रिमियर समेत गरेका छन्।

पूर्वी नेपालको दूइ दिने भ्रमण चलचित्रको लागि उपलब्धिमूलूक रहेकोले चलचित्र सफल हुने निर्देशक बस्नेतले बताए। उता प्रमोशन कै क्रममा पूर्व प्रथम पटक आएका निर्माता विश्व नेपाल पनि चलचित्रले प्रदर्शन पूर्व चर्चा बटुलेकोले सफलताप्रति विश्वस्त छन्। बि एन्ड बि इन्टरटियन्मेटको ब्यानरमा निर्मित चलचित्रमा राजेश हमालको अलावा कल्पना शाही, नव प्रस्तूतीमा शिव आचार्य किरण केसी, गोपाल ढकाल लगायतको अभिनय छ। कमेडी धारमा बनेको चलचित्र राजेश हमाल धनाड्य तर कन्जूस मधेशी पात्रको भूमिकामा प्रस्तूत छन्। बाक्लो जूगासहिते धोती कूर्ता जूवारी कोट काँधमा गलबन्दी र झोला हातमा छाता, खूट्टामा चप्पल र पान चपाउदै हमालले चलचित्रमा हसाउने छन्।

विकास चौधरीको स.गीत रहेको चलचित्र जेठ अन्तिम नभए असारको पहिलो साता देशव्यापी रुपमा प्रदर्शनमा आउने छ।

Popularity: 8%

Add comment May 22nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....