Archive for May 26th, 2011

विदेशिने नेपाली विद्यार्थी बढे

एचकेनेपाल डट कम संवाददाता-
गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिने नेपाली विद्यार्थीको सङ्ख्यामा कमी आउन सकेको छैन।

शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माकाअनुसार आर्थिक वर्ष २०६६–०६७ मा मन्त्रालयबाट स्विकृतपत्र लिएर २७ हजार विद्यार्थी गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिएका छन्।

उहाँले आर्थिक वर्ष २०६५–६६ मा भने २५ हजार नेपाली विद्यार्थी पढ्नका लागि विदेशिएको तथ्याङ्क मन्त्रालयसँग रहेको जानकारी गराउनुभयो।

स्वीकृतपत्र लिएर विदशिने विद्यार्थीको सङ्ख्या माथि उल्लेखित भएपनि गैरकानुनीरुपमा विदेशीनेको सङ्ख्या धेरै रहन सक्ने मन्त्रालयले जनाएको छ।

छिमेकी मुलुक भारतमा जाने नेपाली विद्यार्थीको सङ्ख्या धेरै भएपनि त्यसको जानकारी मन्त्रालयलाई नगराएका कारण मन्त्रालयमा कुनै तथ्याङ्क
नभएको सहसचिव शर्माले जानकारी गराउनुभयो।

एउटा नेपाली विद्यार्थी बाहिरिदा वार्षिक न्यूनतम रु.१० लाख बाहिरिने अनुमान मन्त्रालयको छ।

सहसचिव शर्मा भन्नुहुन्छ– “नेपालबाट करिब रु.२७ अरब रकम पढ्नका लागि विदेशिने गरेको छ। जुन मुलुकका लागि राम्रो सङ्केत होइन्।”

नेपालको शिक्षा प्रणाली आधुनिकरण, समयसापेक्ष र नियमित नभइरहेको गुनासो गर्दै नेपाली विदेशिने गरेका छन्।

अमेरिकामा पीएचडी गर्न जान थालेका प्युठानका माधव शर्माले भन्नुभयो–“नेपालको शिक्षा प्रणाली गुणस्तरीय छैन्, त्यसैले गुणस्तरिय
शिक्षाका लागि विदेशिन थालेको हुन्।”

कतिपय विद्यार्थीले नेपालको शिक्षा प्रणाली अव्यवस्थित र गुणस्तरहीन भएको आरोप लगाएपनि समाजमा आफ्नो छुट्टै स्तर कायम राख्न प्रतिस्पर्धात्मकरुपमा आफ्ना छोराछोरीलाई विदेश पठाउने प्रवृति बढेको सहसचिव शर्मा बताउनुहुन्छ।

Recent Videos:

Popularity: 10%

1 comment May 26th, 2011

स्याल मार्न प्रशासनसँग गुहार

एचकेनेपाल डट कम संवाददाता-
बैतडी सदरमुकाममै स्यालहरूले मान्छे र चौपायालाई टोक्न थालेपछि स्याल मार्न स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्।

केही हप्ता अगाडिदेखि स्यालहरूले एक्लो भेटेको मान्छे र घरपालुवा चौपायालाई टोक्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा सदरमुकामबासीले लिखित निवेदन दिएका छन्।

स्याललाई रेबिज लागेको हुनसक्ने भएकाले कुकुर, बाख्रा, गाइबस्तु र मान्छेलाई लखेटेरै टोक्ने गरेकाले स्याल मार्ने अनुमति लिन जिल्ला प्रशासनमा निवेदन दिएको दशरथचन्द नपा–१ का सन्तोष रानाले बताउनुभयो।

प्रशासनले गोली हान्ने आदेश दिन नमिल्ने भएकोले स्याल नियन्त्रणका लागि घरेलु उपाय अपनाउन स्थानीय बासिन्दालाई सुझाव दिएको प्रमुख जिल्ला
अधिकारी मुरारीप्रसाद शर्माले बताउनुभयो।

स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ भने एक बृद्ध उपचारको क्रममा रहेको स्थानीय सुरेश शाहले बताउनुभयो। उहाँले हालसम्म दर्जनौ चौपायालाई स्यालले टोकेको स्थानीयले बताएका छन्।

Recent Videos:

Popularity: 10%

1 comment May 26th, 2011

मह खाएर चार बिरामी

एचकेनेपाल डट कम संवाददाता-
भीरमौरीको मह खाएर इलाम सोयाङका चारजना बिरामी परेपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ।

सोमबार एकै परिवारका चारजनाले ताप्लेजुङबाट ल्याइएको भीरमौरीको मह बढी खाएपछि बिरामी परेका हुन्।

बिरामी पर्नेमा सोयाङ–४ का ४५ वर्षीया मनमाया खत्री, ३० वर्षीया टीका खत्री, १८ वर्र्षीया मीरा खत्री र १२ वर्षिय अनमोल खत्री रहेका छन्।

इलाम नगरपालिका–२ स्थित कुलधारामा बस्दै आएका उनीहरूले स्थानीय उषा योञ्जनको घरमा सोमबार साँझ मह खाँदा बिरामी परेका हुन्। इलाम नगरपालिका–३ का लक्ष्मी दाहालले ताप्लेजुङको लेलेपबाट एक महिनाअघि ल्याएको भीरमौरीको मह खाएका थिए।

Popularity: 9%

Add comment May 26th, 2011

चिनियाँ अधिकारीबाट नेपाल भ्रमण वर्ष सफल पार्न आह्वान

एचकेनेपाल डट कम संवाददाता-
चीनका एक वरिष्ठ सरकारी अधिकारीले आफ्नो मुलुकका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीहरूलाई नेपाल पर्यटन वर्ष २०११ सफल बनाउन आवश्यक सहयोग गर्न आह्वान गरेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको पर्यटन प्रशासन कार्यालयका कार्यकारी उपमहानिर्देशक डा सोङ फिङ वाङले तिब्बतका ट्राभल एजेन्सी तथा टुर अपरेटरका प्रतिनिधिहरूलाई ल्हासाको भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालको भ्रमण गराउन प्राथमिकताका साथ सामूहिक तथा विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभएको हो।

चिनियाँ तथा तेस्रो मुलुकका पर्यटकहरूलाई आकर्षित गर्ने अभिप्रायले तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासद्वारा ल्हासामा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा उपमहानिर्देशक सोङले नेपाल भ्रमण वर्ष २०११ को पूर्ण सफलताको कामना पनि गर्नुभयो।

Popularity: 9%

Add comment May 26th, 2011

म्याद थप्न चौध विद्यार्थी सङ्गठनको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
विभिन्न राजनीतिक दलसम्बद्ध १४ विद्यार्थी सङ्गठनले थपिएको समयमा संविधान लेख्न नसकेकामा आलोचना गर्दै आफ्ना मातृपार्टीहरूलाई संविधानसभा बचाउन आग्रह गरेका छन्।

मधेसी विद्यार्थी फोरम, नेपाल (लोकतान्त्रिक)को नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आज बसेको बैठकले संविधानसभाको गरिमा बचाउँदै आगामी दिनमा यसलाई सार्थक बनाउन माग गरेको हो।

बैठकले दलहरूलाई जनतासामु आत्मालोचना गरी राष्ट्रिय सहमतिको सरकार निर्माणको ठोस मार्गचित्र तयार गर्न तथा आजसम्म शान्ति र संविधान लेखनमा भएका कामहरूको समीक्षा, आवश्यकता र प्रतिबद्धताका विषयमा श्वेतपत्र जारी गर्न समेत आह्वान गरेको छ।

यस्तै दलहरूलाई विभिन्न सहमतिहरूको कार्यान्वयनको ठोस कार्यतालिका र प्रतिवद्धता जारी गर्न तथा संविधान लेखनमा बाँकी रहेका विवादित विषयवस्तुका सन्दर्भमा आवधिक कार्यतालिकासहित संविधानसभाबाट नै नयाँ संविधान लेखनको मूर्त खाका तयार गर्न जोड दिइएको बैठकपछि प्रेषित संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी सङघ, अनेरास्ववियू, अनेरास्ववियू (पाँचौ), अनेरास्ववियू (छैठौं), अनेरास्ववियू (एकीकृत), नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, तराई मधेस विद्यार्थी फ्रन्ट लगायतका विद्यार्थी सङ्गठनले यस्तो माग राखेका हुन्।

Popularity: 9%

Add comment May 26th, 2011

सभासद्लाई स्थायी नियुक्ति

एचकेनेपाल डट कम संवाददाता-
संविधान बनाउन निर्वाचित गरी पठाएका सभासदलाई शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) धादिङद्वारा सभासद् पदको स्थायी नियुक्ति प्रदान गरिएको छ।

सञ्जालमा आवद्ध संस्थाका प्रमुख तथा सदस्यद्वारा विरोध र्‍यालीपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर संविधानसभा सचिवालयमार्फत सबै सभासद्ले पाउने गरी व्यङ्ग्यात्मक शैलीमा तयार पारिएको स्थायी नियुक्तिपत्र प्रजिअ भरत पौडेललाई हस्तान्तरण गरिएको थियो।

सञ्जालका अध्यक्ष ध्रुवप्रसाद रिजालद्वारा जारी नियुक्तिपत्रमा संविधानसभाको निर्वाचनमा कबुल गरेका प्रतिबद्धता पूरा गर्न नसकेको उल्लेख छ।

Popularity: 9%

Add comment May 26th, 2011

मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो

एचकेनेपाल डट कम संवाददाता-
सरकारले माथिल्लो कर्णाली जनविद्युत् परियोजनाको आवश्यक सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले अज्ञात समूहले तोडफोड र आगजनी गरेपछि परियोजनाको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको हो।

यसैगरी, विद्यालयको पठनपाठनलाई सहज र व्यवस्थित तुल्याउन विभिन्न राहतमूलक कार्यक्रमसहित विद्यालयलाई शान्ति क्षेत्र घोषित गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री गङ्गालाल तुलाधरले जानकारी दिनुभयो।

बैठकले विद्यार्थी ओसारपसार गर्ने यातायातको रङ्ग एउटै बनाइ तिनलाई एम्बुलेन्स सरहको व्यवहार गर्ने, सार्वजनिक यातायातका साधनमा छात्राहरूका लागि सिट आरक्षण गर्ने, हरेक विद्यालयमा छात्राका लागि छुट्टै शौचालय अनिवार्य व्यवस्था गर्ने र सडकमा जेब्राक्रसिङ गर्दा विद्यार्थीलाई प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकले टेकुमाथि संयुक्त राष्ट्रसङ्घीय पार्कमा निर्माण गर्न लागेको गणतन्त्र स्मारक पार्कको आर्किटेक्चरल डिजाइन स्वीकृत गरेको छ।

द्वन्द्वका क्रममा बाबुआमा दुवै गुमाएका टुहुरा बालबालिकाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि संरक्षित निर्देशिका तयार पर्ने प्रक्रिया अघि बढेको, कपिलवस्तु जिल्लाका विभिन्न गाविसका दुई हजार २२५ द्वन्द्वपीडित व्यक्तिलाई क्षतिपूर्तिलगायतका आधारमा रु ३५ हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो।

बैठकले नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा बलराम तिमिल्सेनालाई दुई वर्षका लागि नियुक्त गरेको छ।

यसैगरी नेपाल कानुन आयोगका सदस्यमा अधिवक्ताहरू विष्णुकुमार साह, विश्वप्रकाश भण्डारी र सुजन तामाङ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको कार्यकारी निर्देशकमा रामलाल तुलाधर, ग्रामीण आवास कम्पनी लिमिटेडको महाप्रबन्धमा नरेश चौधरी, चलचित्र विकास बोर्डको अध्यक्षमा गणेश भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो।

Popularity: 9%

Add comment May 26th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....