Archive for May 27th, 2011

३७ एजेन्सीलाई कारवाही सिफारिस

दीपक पौडेल / एचकेनेपाल डट कम-
दोहा, बैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पार्ने ३ दर्जन म्यानपावर एजेन्सीलाई नेपाली दूतावासले कारवाही सिफारिस गरेको छ।

गत बर्ष२९ अगष्टदेखि हालसम्म नेपाली दूतावासले ३७ वटा म्यानपावर एजेन्सीलाई कारवाही गरेको जनाएको छ।

नेपाली कामदारहरुलाई एउटा कम्पनीको भिषा लगाएर अर्को कम्पनीको काममा पठाउने, तोकिएको तलव सुविधा नदिने, समयमा तलव नदिने कतारस्थित यस्ता स्थानीय कम्पनीहरुमा नेपाली कामदारहरुलाई पठाएर ठगि गर्ने, अलपत्रमा पार्ने नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीहरुलाई नेपाली राजदूतावासले विभिन्न समयमा नेपाल सरकारका विभिन्न निकायमा कारवाहीको लागि सिफारिश गर्दै आएको छ।

२९ अगष्ट २०१० मा एसओएस म्यानपावर सर्भिस प्राईभेट लिमिटेड र कारावान इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरी २ वटा, ६ सेप्टेम्वर २०१० मा रिभाइभ नेपाल प्राइभेट लिमिटेड, सिद्धार्थ वुद्ध ओभरसिज प्राइभेट लिमिटेड, यति ओभरसिज प्राइभेट लिमिटेड, डायना ओभरसिज प्राइभेट लिमिटेड, बज्र हुम्यान रिसोर्स प्राइभेट लिमिटेड, फ्युचर इम्प्ल्योइमेन्ट सर्भिस प्राइभेट लिमिटेड, क्लासिक ओभरसिज सर्भिस प्राइभेट लिमिटेड, टिम फोर्स प्राइभेट लिमिटेड र पायोनियर ओभरसिज प्राइभेट लिमिटेड गरी ९ वटा, २० फेव्रुवरी २०११ मा गल्फ मनेजमेन्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, आयुष इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड, अल जफर इन्टरनेशनल प्राइभेट लिमिटेड, अल दाहावीय ओभरसिज प्राइभेट लिमिटेड, अल अरव ओभरसिज प्राइभेट लिमिटेड र क्षितिज इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड गरी ६ वटा, ७ मार्च २०११ मा एएनएस एशोसियट्स प्राइभेट लिमिटेड, जव प्लेसमेन्ट सर्भिस प्राइभेट लिमिटेड, रेड रोज इन्टरनेशनल प्राइभेट लिमिटेड र डि्रम्स अनलिमिटेड एण्ड कम्पनी प्राइभेट लिमिटेड गरी ४ वटा, १३ मार्च २०११ मा साउण्डलाइन्स रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, इन्टरनेशनल ट्रेड लिंक नेपाल प्राइभेट लिमिटेड, रेम्वो ओभरसिज प्राइभेट लिमिटेड गरी ३ वटा, ९ मे २०११ मा क्रियटिभ प्लेसमेन्ट सर्भिस, आर.पी इन्टरनेशनल कन्सल्टेन्सी सर्भिस, कन्टिनेन्टल हृयुमान रिर्सोस, जव स्पट प्राइभेट लिमिटेड, विराड एशोसिटेस प्राइभेट लिमिटेड, पानडोरा इनकर्पोरेशन प्राइभेट लिमिटेड र मुनड्रप्स ओभरसिज प्राइभेट लिमिटेड गरी ७ वटा, १६ मे मा फोकस नेपाल ओभरसिज सर्भिसेज, अनमोल ओभरसिज, जव लिंक इन्टरनेशनल, जव र्सच प्राली र वर्क फोर्स सर्भिस प्राइभेट तथा १९, मेमा सप्तकोशी हयूमान रिर्र्सोस प्राइभेट लिमिटेडलाई कारवाही गरेको दुतावासको तथ्यांकमा जनाइएको छ।

Recent Videos:

Popularity: 9%

Add comment May 27th, 2011

२१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति

२१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, तमु सांस्कृतिक प्रतिष्ठानद्वारा यही जेष्ठ १४ गते पोखराको शक्तिघाटमा रहेको तमु प्हे ल्हू सघंको सभाकक्षामा एक औपचारिक समारोहको आयोजना गरी वाषिर्क रुपमा प्रदान गदै आएको कूल १० वटा शिर्षहरुमा स्थापना गरिएको छात्रवृत्ति मेरीट लिष्टको आधारमा छनौट गरिएका विभिन्न जिल्लाहरुमा रहेका सार्वजनिक विद्यालयमा अध्यनरत कक्षा ८,९ र १० का २१ जना जेहेन्दार तमु विद्यार्थीहरुलाई प्रदान गर्ने भएको छ।

प्रतिमहिना जनही रु ६६६ को दरले एक वर्षको एक मूष्ट रु ८००० प्रति विद्यार्थी दिइने छ। तमु धीँ युके छात्रवृत्ति, स्व.हर्कमान स्मृति छात्रवृत्ति, मकर तमु छात्रवृत्ति, कमल तथा पुनम छात्रवृत्ति, खुशीमान तथा मिना तमु छात्रवृत्ति, स्व.लालकाजी स्मृति छात्रवृत्ति, स्व.मन प्रसाद स्मृति छात्रवृत्ति, हिमाल तथा हेमा तमु छात्रवृत्ति, दिलिप तथा हेमा तमु छात्रवृत्ति र तमु धीँ नागोमा जापान छात्रवृत्ति शिर्षमा स्थापित अक्षयकोषको व्याज रकमबाट प्रतिष्ठानले छात्रवृति प्रदान गर्दै आएको छ।

यस पटकको छात्रवृत्ति पर्वत, स्याङ्गजा, कास्की, तनहूँ, लमजुङ्ग, गोर्खा र ओखलढुङ्गा जिल्लाका विद्यार्थीहरुले प्राप्त गर्ने भएका छन्।

“उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने नारासहित तमुका बालबालिकाहरुलाई शिक्षातर्फ आकर्षण गर्नको लागि यस प्रतिष्ठानले विभिन्न प्रोत्साहन मूलक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ। वि.सं. २०६६ सालदेखि वितरण गर्दै आइरहेको यस छात्रवृत्ति लाई गत वर्षसम्म सम्वन्धित विद्यालयहरुमानै गएर वितरण गर्ने गरिन्थ्यो भने यस वर्षदेखि पोखरामा नै औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गर्ने भएको छ।

छात्रवृत्तिको लागि प्राज्ञिकहरुको एउटा निष्पक्ष छनौट कमिटि गठन गरि प्रत्येक वर्ष पौष महिनामा सार्वजनिक विद्यालयमा अध्ययनरत कक्षा ७ का विद्यार्थीहरुविच स्वस्थ प्रतिस्पर्धा गराइन्छ र छनौट भएमा विद्यार्थीहरुलाई कक्षा ८, ९, र १० सम्म सो छात्रवृत्ति प्रदान गर्ने गरीन्छ । गत वर्षपौष ३ गते प्रा. डा. विरेन्द्र सिहं गुरुङ्गको संयोजकत्वमा गठित ५ सदस्यीय छनौट कमिटिले छनौट परीक्षा सम्पन्न गरेको थियो।

कास्की जिल्लास्तरिय प्रथम राजु थापा सितोरियो कराँते प्रतियोगिता हुने
हुम तमु पोखरा, जेठ २७ र २८ गते लेकसाइडमा कास्की जिल्ला स्तरिय प्रथम राजु थापा सितोरियो कराँते प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता गर्न तीन वर्षको लागि गैरआवासीय नेपाली संघ जर्जिया अमेरिकाका अध्यक्ष राजु थापाले प्रायोजन गर्नुहुने सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङले जानकारी दिनुभयो।

गैरआवासीय नेपाली संघ जर्जियाका अध्यक्ष राजु थापा र सितोरियो कराँते संघ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङ, लेकसाइड डोजोका प्रशिक्षक राजेश तामाङ विच उक्त प्रतियोगितामा प्रायोजन गर्ने सहमति भएको हो । सहमतिका लागि भएको छलफलमा बाराही क्लवका अध्यक्ष धर्म लामिछाने र भलिवल संघ कास्कीका उपाध्यक्ष भिम पराजुलीको उपस्थिती रहेको बताइएको छ।

जेठ २७ र २८ हुने प्रतियोगितामा सोह्र इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा बीस केजी भन्दामाथिका पुरुषको आठ र महिलाको आठ इभेन्ट हुने संघका कास्की अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

राष्ट्रिय सहमति विना शान्ति र संविधान टुंगोमा नपुग्ने
हुम तमु पोखरा, जेठ १३। राष्ट्रिय सहमति विना शान्ति र संविधान टुंगोमा नपुग्ने आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएकाछन।

मानव अधिकार संरक्षण मञ्च कास्की र मानव विकास तथा शान्ति अभियान कास्कीको आयोजनामा पोखरामा आयोजित शान्ति र संविधान सही निकाश विषयक अन्तरसम्बाद कार्यक्रमका सहभागीहरुले विगतका सहमतिहरु कार्यन्वयन गर्दै विधानसभाले गरेका कामको सार्वजनिक र अव थपिने समयमा संविधान निर्माण गर्ने कार्ययोजना सहितको राष्ट्रिय सहमति आवाश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक आचार्यले राजनितिक दलहरु विच सहमति भए दश दिनभित्रै संविधान निर्माण हुने बताउनुभयो । शान्ति र संविधान निर्माणको सुनिश्चितताका लागि नेपाली सेनाको प्रस्ताव अनुसार सेना समायोजन गरी उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताउनु भयो । शान्ति र संविधानको अवरोध हतियार भएकाले हतियारको चावी प्रधानमन्त्रीलाई हस्तान्तरण वर्तमानको सही निकास हो भन्नुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै मासम कास्की उपाध्यक्ष श्रीकात खतिवडाले शान्ति र संविधानका लागि कार्यतालिका सहित न्युनतम समय थप गर्नुपर्ने, थपिने समयमा कार्यसम्पादन पुरा गर्ने प्रतिवद्धता, राजनैतिक पार्टी जनतामा आधारित नागरिक पार्टीमा रुपान्तरण, संघीय लोकतान्त्रिक नया नेपालको पुन संरचना गर्ने गरी संविधान निर्माणमा प्रतिवद्ध भए सही निकास निस्कने बताउनु भयो।

नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले राजनितिक दलहरु एक ठाँउमा नउभिए आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने आशंका व्यक्त गर्नुहुदै पुष्प कमल दाहाल, शुशील कोइराला र झलनाथ खनाललाई राष्ट्रिय सहमतिमा पुर्याउन दवाव आवाश्यक रहेको बताउनुभयो । उहाँले शान्ति र संविधानका लागि केही समय थप गरी त्यस समयावधिमा संविधान ल्याउनै पर्नेमा जोड दिनुभयो।

मासम कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिकारकर्मी टेकनाथ बराल, पूर्व न्यायधीशहरु करुणनिधी शर्मा, ओम सुवेदी, प्रेस स्वतन्त्रताका सेनानी माधव शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रिविनोद प्रतिक, राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका यज्ञप्रसाद अधिकारी, विष्णु वराल, हुमबहादुर तमु, ज्ञानेश्वर पराजुली, दुर्गा न्यौपाने, कमलप्रसाद अर्याल, सविता ढुंगाना, गीता विष्ट लगायतले राजनितिक दल, नेता र सभासदले आजसम्म संविधानसभाको कामको श्वेतपत्र जारी गरी ६ महिनासम्म म्याद थप गर्न सुझाव दिएका थिए।

Recent Videos:

Popularity: 9%

Add comment May 27th, 2011

बाग्लुङस्थित विद्यालयलाई बेलायतबाट सहयोग

नबिन पोखरेल / एचकेनेपाल डट कम-
लन्डन, बेलायतवासी नेपालीले बाग्लुङ कांडेवास गाविसस्थित शिव उच्च माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग गरेका छन्।
विद्यालायलाई बेलायतमा विभिन्न व्यवसायमा संलग्न कंडेल ग्रुपका तर्फाबाट सांढे तीन लाख रुपैंया उपलब्ध भएको छ। यसबाहेक सो ग्रुपले विद्यालयमा आइटी ल्याव निर्माण र एक शिक्षक उपलब्ध गराउनुका साथै हरेक वर्ष सोही विद्यालयबाट एकजना उत्कृष्ट विद्यार्थीलाई बेलायतस्थित कलेज पढ्न छात्रवृत्ति समेत उपलब्ध गराउने भएको छ।

रकम हस्तान्तरण गर्दै कंडेल (बायां) र प्रधानाध्यापक केसी।

कंडेल ग्रुपका तर्फबाट महेन्द्र कंडेलले विकट गाउंबाट पढ्न आउने दलित विद्यार्थीहरुले भोग्नु परिरहेको समस्यालाई लक्षित गर्दै सहयोग गरिएको जनाए। ‘हामीहरु भविष्यमा पनि सो विद्यालयका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं’-कंडेलले भने।

त्यसैगरी, हाम्रो नेपाली समाज उल्भरह्याम्टनले एक लाख, स्कटल्याण्ड एडिनवराका कदम केसीले एघार सय पाउण्ड, शशी चालिसेले एकहजार एक पाउण्ड, एडिनवराकै प्रवेश केसीले एक हजार पाउण्ड, गोविन्द/नवीन कंडेलले ८ सय ५१ पाउण्ड, धन केसीले ८ सय ५० पाउण्ड र विमल बस्नेतले ८ सय ३० पाउण्ड प्रदान गरे। विष्णु चालिसे र गोविन्द खरेलले ५०१/५०१ पाउण्ड, इन्दिरा/अरुण न्यौपाने, दिलराम गौतम र चेतन सापकोटाले ५/५ सय पाउण्ड दिएका छन्।

त्यसैगरि, गंगा सापकोटाले तीनसय ५० पाउण्ड, शिव खरेलले दुइ सय पाउण्ड, नारायण खरेल र देवेन्द्र कंडेलले ५०/५० हजार रुपैयां लगायत अन्य नेपालीले पनि धेरथोर आर्थिक सहयोग प्रदान गरेका छन्।

वि.स. २०४० सालमा स्थापित सो विद्यालयबाट तीन गाविसका वालवालिकाले शिक्षा आर्जन गरिरहेका छन्। दलित विद्यार्थीहरु पढ्नकै लागि दिनहुं झण्डै ६ घण्टा आवतजावत गर्नुपर्ने वाध्यता हटाउन अहिले सो विद्यालय होस्टेल निर्माण गर्न जुटिरहेको जनाउंदै प्रधानाध्यापक टेकबहादुर केसीले त्यसैको सहयोगका लागि हात फैलाउने बेलायतवासी नेपालीमा आभार व्यक्त गरेका छन्। हाल त्यहां करिव ५ सय विद्यार्थी अध्ययनरत छन्।

Popularity: 10%

Add comment May 27th, 2011

तमु खेमा लिपिको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

एचकेनेपाल डट कम संवाददाता -
बुटवल, तमु भाषा तथा खेमा लिपिको अन्तर्राष्ट्रिय सम्मेलन आठ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै सकिएको छ।

सम्मेलनले तमू जातिको प्रस्तावित लिपिको रुपमा रहेको खेमा लिपिलाई तत्काल तमूहरुको लिपिको रुपमा मान्यता दिनु पर्ने सहित नौ बुदे मागलाई आगडि सारिएको छ।

नयाँ सविधानमा पहिचानको सहितको तमूवानका लागि पनि पहिचानको रुपमा रहेको खेमा लिपिलाई तमू लिपिको रुपमा मान्यता पाउनुपर्ने माग गरिएको छ। त्यस्तै विभिन्न विज्ञ सहितको तमू भाषा लिपिका लागि संस्था निर्माण गर्न र बहुभाषिक शिक्षा नितिमा तमू भाषा तथा खेमा लिपि समावेश गरि तत्काल लागु गर्न राज्यसग माग गरिएको छ।

मातृभाषा सम्वन्धी हरेक आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्दै सम्मेलनले बहुभाषिक शिक्षा नितिका लागि राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरि भाषा लिपिलाई नयाँ संविधानको राज्य पुनर्सरचनाको खाकाको आधार बनाउन सकिने प्रस्ताव पनि गरिएको छ। नेपाल सहित भारत, भुटान र सिक्कमको तमू खेमा लिपिको विज्ञहरु सहित २५० प्रतिनिधि सहितको भेलाले यस्तो निर्णय गरेको हो।

सम्मेलनको तमू छोंज धीको संस्थापक अध्यक्ष प्राध्यापक गणेश बहादुर तमूले उदघाटन गरेका थिए। उदघाटन समारोहमा बोल्दै उनले आफ्नो तमूहरुको लिपिको रुपमा खेमा लिपिले मान्यता पाउनेमा शंका नरहेको बताए। उनले पहिचानका लागि खेमा लिपिले तमूवानको पहिचान दिनका लागि उलेख्य हुने दावी पनि गरे। पहिचानका लागि लिपिको कुरा उठिरहेको समयमा तमु संस्थाहरु र राज्यले तमूका लिपिको रुपमा खेमा लिपिलाई मान्यता दिन हिकिच्याउन नहुने उनले बताए।

अखिल सिक्किम तमू वौद्ध संघ सिक्किमका महासचिव देव तमूले प्रवासी सिक्किममा खेमा लिपिलाई राज्यले मान्यता दिइसकेको अवस्थामा नेपालमा मान्यता पाउन नसक्नु दुःखद भएको बताए। तमू छोज धी भुटानका महासचिव कर्म तमूले अन्तर्राष्ट्रिय रुपमा फैलिएको खेमा लिपिलाई नेपालमा नै हेपाहा प्रवृतिले हेरिनु गुरुङहरुमाथि कै अपमान भएको भन्दै यसका लागि राज्यलाई दवाव दिनुपर्नु बताए। तमू सेवा समिति दिल्लीका अध्यक्ष आर वि तमूले खेमा लिपिलाई नेपालमा भन्दा भारतमा मान्यता दिइनु राज्यका लागि लाजमर्दो कुरा भएको बताए।

कार्यक्रममा तमू खेमा लिपिका प्रवर्तक बालनरसिह तमू, तमू भाषा विद रत्न बहादुर तमू, तमू पे ल्हु संघका केन्द्रिय अध्यक्ष भुवन सिंह तमु, नेपाल तमू विद्यार्थी छोज धी केन्द्रिय अध्यक्ष जि एस तमू लगायतले वोल्दै राज्यले तमूको लिपिको रुपमा मान्यता दिन माग गरे।

कार्यक्रम तमू भाषा तथा खेमा लिपि विकास केन्द्रिय अध्यक्ष केवी तमूको अध्यक्षता, महासचिव भिम तमूको सञ्चालन तथा उपाध्यक्ष मोहन तमूको स्वागतमा भएको थियो।

अन्तर्राष्ट्रिय समिति गठन
तमु भाषा तथा खेमा विकास केन्द्रिय समितिको आयोजनामा भैरहवामा भएको अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्नका लागि भन्दै अन्तर्राष्ट्रिय समन्वय समिति बनाएको छ। अन्तर्राष्ट्रिय तमु (गुरुङ­) खेमा लिपि समन्वय समित नाम दिइएको समितिको अध्यक्ष खेमा लिपिका प्रवर्तक बालनरसिह तमु रहेका छन्। त्यस्तै उपाध्यक्ष तमु सेवा समिति दिल्लीका अध्यक्ष रन बहादुर तमू, महासचिवमा तमु भाषा तथा खेमा लिपि विकात समितिका महासचिव भिम प्रसाद तमु, सचिवमा सिक्किमका मेघराज तमू, कोषाध्यक्षमा मोहन लाल तमु, सदस्यहरुमा तमु छोज धी भुटानका महासचिव कर्म तमु, सिक्किमका रुपराज तमु रहेका छ। यो समितिले तमू खेमा लिपिलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रचार गरि विकास र सवर्द्धनमा गर्नेछ।

Popularity: 10%

Add comment May 27th, 2011

काग्रेसले भने जस्तो माओवादीले हतियार बुझाउँदैनः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले काग्रेसले भने जस्तो कुनै पनि हालतमा समायोजनको मोडालिटिमा सहमति नबनुन्जेलसम्म सरकारलाई हतियार नबुझाउने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले हतियार सेना समायोजनको प्रकृयासँग जोडिएको विषय भएकोले समायोजन प्रक्रिया अगाडि बढ्नु भन्दा पहिला कुनै पनि हालतमा हतियार नबुझाउने बताउनुभयो।

उनले भने- जसको सरकार भए पनि प्रकृया नपुर्र्याई कुनै पनि हालतमा हतियार बुझाउँदैनौ। हतियार सरकारलाई बुझाए कोही पनि सेना रहँदैन। अनि समायोजन कोसँग नागरिकसँग यो हुन सक्दैन। समायोजन प्रक्रियामा गएपछि लडाकुको हतियार सरकारले लिने र आवश्यकता अनुसार हतियार दिने काम हुनु पर्छ । तत्काल हतियार बुझाउ भन्ने कुरा स्विकार्य छैन।

बृहत शान्ति सम्झौता अनुसार पनि अगाडि नै हतियार बुझाउने कुरा नमिल्ने भन्दै त्यसो गर्नु सम्झौता विपरित उनको दावी थियो।

हतियार बुझाउन सर्तमा संविधानसभाको म्याद थप्न पक्षमा आफूहरु नरहेको भन्दै उनले संविधानसभाको म्याद नथपिए आउने दुर्घटनाको सामना गर्न माओवादी तयार रहेको बताए। हामी जटिल समस्याको सामना गर्दै आएका हौ अब पनि सामना गर्न तयार छौ, उनले भने। आफूहरु संविधानसभा भन्दा उपयूक्त विकल्प अहिले नरहेको निश्कर्षमा रहेको भन्दै मतदानमा म्याद थपकै पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन्।

Popularity: 10%

Add comment May 27th, 2011

कुमारी आमाबाट जन्मिएकी सविनाले नागरिकता पाइन्

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले कुमारी आमाबाट जन्मिएका सन्तानले पनि नेपाली नागरिकता पाउने फैसला गरेपछि कुमारी आमाबाट जन्मिएकी दोलखाकी एक युवतीले नागरिकता लिएकी छिन्।
दोलखाको लामीडाँडा गाविस–२ निवासी गङ्गामाया दमाईको कोखबाट जन्मिएकी १८ वर्षिया सविना दमाईले जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिएकी
हुन्।

गत शुक्रबार सर्वोच्च अदालतले देशका ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाबुको नाम सोधखोज नगरी नागरिकता दिन निर्देशन दिएको बताइएको
छ।

दोलखाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले सविनालाई आमाको नामबाट नागरिकता दिलाउनुभएको हो। सर्वोच्चले आफूले हालेको मुद्दाको पक्षमा फैसला गरेपछि सविना र उनकी आमा गङ्गामाया गृहजिल्ला फर्किएका थिए।

गङ्गामायाले २०६७ माघ महिनाको १० गते आफूले जन्माएकी छोरीलाई बाबुको पहिचानबिनै नागरिकता दिलाउन सर्वोच्चमा रिट दायर गरेकी थिइन्। नेपालको संविधानले उमेर पुगेका प्रत्येक नागरिकले नागरिकता पाउने अधिकारलाई सुरक्षित गरेता पनि दोलखाका तत्कालीन प्रजिअ श्रीकृष्ण श्रेष्ठले बाबुको नाम नखुलेको भन्दै नागरिकता नदिने अडान लिएपछि गङ्गामायाका आमाछोरी सर्वोच्च गएका थिए।

राजधानीस्थित निम्स कलेजमा कक्षा १२ मा अध्ययनरत सविनाले न्यायको खोजी गर्न थालेपछि उनलाई सर्वत्र सहयोग मिल्दै गएको थियो। अन्ततः बाबुको पहिचानबिनै नागरिकता लिएर सविनाले कुमारी आमाबाट जन्मिएका सबै सन्तानले पनि नागरिकता लिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएकी छिन्।

Popularity: 10%

3 comments May 27th, 2011

संविधान सभा म्याद थप तयारीबारे अर्को मुद्दा सर्वोच्चमा

एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको म्याद सम्बन्धमा अन्तरिम संविधानको धारा ६४ संशोधन गर्न तयारी भइरहेको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

संविधान निर्माण गर्न समयावधि नपुगेको भन्दै एक वर्षअघि समय थप गरिएको विरुद्ध परेको रिटमा बुधबार संविधानसभाको थप समयावधि त्रुटिपूर्ण भएको र संविधान निर्माण गर्न सङ्कटकालीन अवस्थामा मात्र छ महिना थप गर्न सकिने भनी सर्वोच्च अदालतले फैसला गरेको थियो।

अदालतले एक वर्षअघि संविधानसभाको समयावधि एक वर्ष बढाइएको काम गलत भएको व्याख्या गरेर अन्योलको अवस्थामा रहेकै बेला आज यस्तो रिट परेको हो।

रिटमा अदालतले संविधानसभाको समयावधि बढाउनु गलत भएको भनिसकेको अवस्थामा फेरि अदालतको समेत अवहेलना गर्दै अन्तरिम संविधानको धारा ६४ लाई संशोधन
गर्न खोजेको भन्दै सो रोक्न परमादेशको माग गरिएको छ।

रिट काठमाडौँ महानगरपालिका वडा नं ३४ निवासी ६४ वर्षीय अधिवक्ता भरतमणि जङ्गमले दायर गर्नुभएको हो।

रिटमा नेपाल सरकार तथा मन्त्रिपरिषद्, प्रधानमन्त्री, संविधानसभा सचिवालय, व्यवस्थापिका–संसद सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ।

रिटमा यसअघि नै अदालतले संविधानसभाको समयावधि बढाउने कार्य त्रुटिपूर्ण भनिसकेको अवस्थामा पनि संविधानसभाको म्याद थप्न गरिएको क्रियाकलाप
संविधान विपरीत भएको उल्लेख छ।

Popularity: 9%

Add comment May 27th, 2011

तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको कुभिन्डे–५ मा सात रोपनी सात आना र कुभिन्डे–७ मा एक रोपनी आठ आना जग्गा पैत्रिक सम्पत्तिका रूपमा रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको उहाँको सम्पत्ति विवरणमा कृष्णप्रसाद सापकोटाको नाममा रहेको सो जग्गामध्ये एक रोपनी जग्गामा दुईतले जस्ताको छाना भएको घर छ।

सोही जिल्लाको फुल्पिङकोट–४ मा तारादेवी सापकोटाको नाममा छ। कित्ताको छ रोपनी १२ आना जग्गा पैत्रिक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

यसैगरी, स्थानीय विकासमन्त्री उर्मिला अर्यालले भक्तपुरको बालकोटमा तीन तल्ले घर र पर्साको वीरगन्ज–१७ मा एक तले पाँचकोठे घर रहेको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाउनुभएको छ।

मन्त्री अर्यालको नाममा वीरगन्ज–१७ मा तीन आना १४ पैसाको पैत्रिक सम्पत्तिबाट प्राप्त भएको जग्गा रहेको र श्रीमान्को कमाइबाट पर्साको जितपुरमा छ आना जग्गा रहेको जनाइएको छ।

पैत्रिक सम्पत्तिबापत प्युठानको धर्मावतीमा १३ रोपनी पाखो बारी र बागदुलामा चार रोपनी खेत रहेको विवरण उहाँले पेस गर्नुभएको छ। यी जग्गा थमबहादुर थापाको नाममा रहेका छन्।

उहाँसँग २० तोला सुन, दुई तोला हवाइ गोल्ड, दुई थान मोतीको गहना, सात थान हीरा, मोती, निलमलगायतका गहना छन्। यी सम्पत्ति पुर्ख्यौली
सम्पत्तिवापत प्राप्त भएको विवरणमा उल्लेख छ।

उहाँकै नाममा एभरेस्ट बैंक लिमिटेड बानेश्वरमा रु. एक लाख, सावेल सहकारी संस्थामा रु. ६० हजार, दर्पण सहकारी संस्था र महिला बचत अभियानमा रु.२५/२५ हजार छ। त्यस्तै, थमबहादुर थापाको नाममा मेघा बैंक बचत खातामा रु. पाँच लाख ५० हजार छ। यी सबै बचत रकम श्रीमान्को कन्सल्टेन्सी र घरभाडाबापत प्राप्त भएको जानकारी मन्त्री अर्यालले गराउनुभएको छ।

त्यस्तै, वातावरणमन्त्री सुनिलकुमार मानन्धरले आफ्नो नाममा पैत्रिक सम्पत्तिबापत काठमाडाँै महानगरपालिका–२२ मा दुई पैसा दुई दामको जग्गा रहेको सम्पत्ति विवरण पेस गर्नुभएको छ।

पेस गरिएको विवरणमा उहाँको नाममा रौतहट गौरमा विभिन्न सात कित्ताका एक बिघा चार का छ धुर पैत्रिक सम्पत्तिबापत प्राप्त जग्गा रहेको छ।

ललितपुरको झरुवारासीमा श्रीमती राधादेवी भट्टराई मानन्धरको नाममा चार आना एक पैसा दुई दाम जग्गा रहेको विवरणमा उल्लेख छ।

विवाहमा प्राप्त दुई तोला सुनको सिक्री र औंँठी तथा राधादेवीकै नाममा स्टेन्डर्ड फाइनान्स लिमिटेडमा रु.एक लाख ४५ हजार र नेपाल बैंक लिमिटेडमा पाँच हजार रहेको पनि विवरणमा उल्लेख छ।

Popularity: 9%

Add comment May 27th, 2011

पत्रकारलाई पारिश्रमिक नदिइएको भन्दै तालाबन्दी

नवीन सिग्देल / एचकेनेपाल डट कम-
पोखरा, नेपाल पत्रकार महासङ्घ संर्घष समिति कास्कीले न्युज टवान्टी फोर टेलिभिजनले त्यस संस्थामा कार्यरत पत्रकारलाई पारिश्रमिक नदिएपछि पीडितले मागको सुनुवाईका लागि कार्यालयमा ताला लगाउनु परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

संघर्ष समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलद्वारा शुक्रवार जारी गरिएको विज्ञप्तिमा पत्रकारलाई पारिश्रमिक नदिनु उसको श्रमको शोषण र श्रमजिवी पत्रकार ऐनको समेत उपहास भएको उल्लेख छ।

विज्ञप्तिमा त्यसप्रकारको निन्दनीय कार्यको भत्र्सनागर्दै पीडित पत्रकार ओम हमाललाई यथासिघ्र पारिश्रमिक उपलब्ध गराउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ।

नेपाल पत्रकार महासङ्घ कास्कीको अधिवेशनको मागगर्दै गठन भएको संघर्ष समितिको उद्धेश्य निर्वाचन कार्यक्रम सहितको अधिवेशन गराउनु मात्र नभएर श्रमजिवी पत्रकार ऐनलाई पूर्ण रुपमा लागु गर्न दवाव दिनु पनि रहेकाले सम्पूर्ण श्रमजिवी पत्रकारहरुलाई समितिमा गोलवद्व हुन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

न्यूज टवान्टीफोर टेलिभिजनमा पश्चिमाञ्चल ब्यूरो प्रमुख भएर कामगर्दै आउनु भएका पत्रकार हमालले पटक-पटक पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै पोखरा पृथ्वीचोकस्थित कार्यालयमा बिहीबार तालाबन्दी गर्नुभएको थियो।

Popularity: 9%

Add comment May 27th, 2011

काग्रेसको सर्तको कारण वार्ता परिणाममुखी हुन सकेनः भट्टराई

एचकेनेपाल डट कम संवादादाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काग्रेसको सर्तको कारण सहमतिको लागि भईरहेको वार्ता परिणाममुखी नभएको बताएका छन्।
क्रान्तिकारी पत्रकार संघले कृष्णसेन इच्छुक पत्रकाररिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै भट्टराईले संविधानसभाको म्याद थपेर थपिएको समयमा संविधान जारी गर्नु पर्ने भन्दै उनले त्यसलाई विभिन्न सर्त तेर्साएर अवरुद्ध पार्न नहुने तर्क बताए।

संविधानसभाको म्याद कुनै पनि हालतमा थप्नु पर्ने भन्दै अदालतले गरेको फैसला अनुसार ६ महिना म्याद थपेर संविधान निर्माण गर्नु पर्ने उनले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति शिव गाउँलेले कृष्णसेन इच्छुकको स्वतन्त्रप्रेस र स्वतन्त्र विचारका पक्षपाती भएको भन्दै उनको विचारलाई पछ्याउनु पर्ने बताए।

Popularity: 9%

Add comment May 27th, 2011

एनआरएन यूएईका उपाध्यक्ष ठूलो रकम ठगी गरी फरार

उमाकान्त पाण्डे गाउले र मान बहादुर थापा / एचकेनेपाल डट कम-
यूएईमा कार्यरत एक नेपालीले ठूलो रकम ठगेर फरार भएको बताइएको छ।

यहाँस्थित बिभिन्न संघसस्थामा समेत आबद्द रहेका भनिएका तथा यूएईका लागि नेपाली राजदूतावास तथा बिशेष गरी महामहिम राजदूत अर्जुनबहादुर थापाका बिशेष विश्वास पात्र समेत मानिएका एनआरएन एनसीसी यूएईका उपाध्यक्ष शेश नारायण झा करीब २ लाख यूएई धिराम्श ठगी गरी फरार भएको खुलासा भएको हो।

रकम ठगी गरी फरार भएको दुई हप्ता पुग्नै लाग्दा घटनाका प्रमाणहरु जुट्दै जान लागेपछि समाचार प्रकाशन गरिएको हो।

यूएईको दुबइस्थित माउन्ट रोयल होटलमा नाइट क्लब म्यानेजरको रुपमा कार्यरत बसतपुर रौतहट स्थाई घर भएका नेपाली नागरिक झा, रकम चोरी गरी फरार भएको र कारबाहीका लागि नेपाली दूतावासमा निवेदन दिएको पुष्टि भएको छ।

गैरआवसीय नेपाली संघ यूएई,नेपाल पत्रकार महासंघ यूएई शाखा र अनेसास यूएई च्याप्टरका उपाध्यक्ष रहेका झा त्यस होटलमा कार्यरत नेपाली महिला,होटल मालिक तथा क्लब क्लाइन्टसंग पेस्की बापत लिएको रकम एकमुस्ट लिएर फरार भएका हुन्।

रकम ठगी गरी फरार भएका झा बिरुद्द नेपाली राजदूतावास आबुधाबीमा कारबाहीको माग गर्दै निवेदन समेत गरेको होटल प्रतिनिधि तारिकले जानकारी दिए।

यसअघि नेपाली समुदायका प्राय दुबइमा हुने कार्यक्रमहरुमा आफ्नै निजी कम्पनी रहेको भन्दै ब्यबासायिक कार्ड समेत बाढ्दै हिंड्ने झा यूएई देखी फरार भएको घटना लाई कतिपयले अपत्यारिलो घटनाको रुपमा लिएका छन भने कतिपयले उनको आन्तरिक व्यबहारप्रति इङ्गित गर्दै झा संघसस्थाको नाम बेची गुजारा चलाऊने प्रकृतिका ब्यक्ति भएकोले त्यसो नगरे होलान भन्न नसक्ने बताउछन्।

नाम नखुलाउने सर्तमा एक जना समाजसेवीले भने यदी त्यसो गरेका हुन् भने उनीबिरुद्द सिङगो समाज मिलेर लड्ने र उनको खोजी गरी पक्राउ गरी आबश्यक कारबाही गर्ने प्रतिकृया दिए।

झाले यति ठूलो रकम कसरी चोरे त भन्ने जिज्ञासामा होटल संचालक बताउने तारिकले “नाइट क्लबको म्यानेजर भएकोले बिश्वास गरी धेर थोर रकमको हामी ख्याल गर्दैनथ्यो, तर उसले त्यहा कार्यरत तीन नेपाली महिलाको सबै तलब समेत नदिएको रहेछ, बिभिन्न बहानामा एकमुस्ट रकम बनाइ फरार भएको प्रतिकृया दिए। “जबकी प्राय:नाइट क्लबमा अर्कोदिनको ‘शो’को लागि अघिल्लो दिननै एडभान्स बुझाउनु पर्ने हुन्छ सो बापत क्लाइण्टमार्फत लिएको रकम समेत लगेछ’, उनले थपे।

फरार अभियुक्त झा कार्यरत सोही होटलमा कार्यरत पूर्वकी सानुमाया, पश्चिम कास्की पोखराकी मोनिला, तथा पश्चिम नवलपरासीकी सकुन्तला(परीवर्तित नाम-पीडितको आग्रह अनुसार)को मासिक तलब बापतको सबै रकम झाले नै बुझेको चेक देखाउदा ति नेपाली महिला आफुहरु ठगिएको थाहा पाएको बताउछन्। उनीहरु भन्छन” आफूहरु कार्यरत होटलमा नेपाली दाई हुनुहुन्छ भनेर खुशी भएका थियौ, सबै जिम्मा उहाँले नै लिनु भएको छ भनेर हामी ढुक्क थियौ तर अन्त्यमा यति धेरै ठगी गरी गएछन। आफ्नो तलब आउँला र घर गुजारा चलाऊन थोरै भए पनि पैसा नेपाल पठाउला भनेर सोचेका ति महिलाहरुको नत नेपाली दाजु फर्किएर आए न त रकम नै पाए, पैसा बुझिसकेको भन्ने चेकको रशिद पत्र पायौ उनीहरुले थपे।

नेपाल पत्रकार महासघं यूएई शाखाका उपाध्यक्ष रहेका उनी यसअघिसमेत राजदूत द्वारा दिएको अख्तियारी पत्रको दुरुपयोग गरेको ब्यक्तिको रुपमा बिवादित बनेका थिए। आफू विवादित बनेको समाचार यिनै पंत्तिकारले प्रकाशन गर्दा दुबइ अदालतमा मुद्दा हालेको तथा आफूनै पत्रकार भएर समेत अन्य कलमकर्मीलाई धम्काउने गरेको समेत खुलासा भएको थियो। जब कि झाले आफूलाई रासस प्रतिनिधि रहेको समेत बताउने गर्दथे। झाबिरुद्ध नेपाली महिला यहाँस्थित डान्स बार रेस्टुरेन्टहरुमा ल्याउने र उनीहरुमार्फत मोटो रकम लिएर ठग्ने गरेको आरोप पटक पटक लगाईदै तथा बिभिन्न बहानामा धेरै पटक प्रहरीको हिरासतमा परेको भन्ने समाचार सार्वजनिक भएको थियो। अहिलेको यस् घटनाले ति आरोपहरुको पुष्टि गर्नका लागि थप बल पुगेको महसुश गरिएको छ।

नेपाल पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष समेत रहेका झाको सम्बन्धमा यहाँस्थित संघसस्थाका ब्यक्ति ब्यक्तिबिच चलेका कुरा अहिले एक कान दुई कान मैदान हुँदै प्रमाण पुष्टि गर्न समेत जुटेको छ। झाले यदी त्यसो गरेका हुन् र सबै प्रमाण भेटिएमा आबश्यक कारबाही गर्न महासंघ तयार रहेको महासंघ यूएई शाखाका अध्यक्ष शकंर ज्ञवालीले बताए। हल्ला मैले पनि सुनेको छु ‘प्रमाण जुट्यो र नेपाली ठग्ने वा नेपालीको इज्जत/प्रतिष्ठामाथि आँच पुग्ने खालका ब्यक्तिलाई कानुनी उपचारको दाँयाराभित्र ल्याउन आफूहरु लागि पर्ने ज्ञवालीले बताए।

पत्रकार लाई धम्की दिने तथा समाजलाई अपच हुने खालका ब्यबहार गर्दै आएका भनिएका झा सम्बन्धमा एनआरएन एनसीसी यूएईले आफ्नो आकसमिक बैठक आउदो शुक्रबार बस्ने र बैठकले कारबाही गरेको घोषणा गर्ने एनआरएन यूएईका अधय्क्ष चुणामणी ढकालले प्रतिकृया दिए। यस् सम्बन्धमा दुतावासमा बुझ्न खोज्दा संपर्क हुन सकेन।

यहाँस्थित संघसस्थामा महत्वपूर्ण पदमा रहेका ब्यक्तिले गरेको यस्तो घटना र ति ब्यक्तिद्वारा यसअघि देखाइएका व्यबहारले कुनै शक्तिको आडमा निजले त्यसो गरेका हुन् वा होटल संचालकको मिलिमतोमा यो वा त्यो बहानामा झा फरार भएको भनिएको हल्ला फिजाइएको हो त्यो भने खुल्न सकेको छैन। झा समाजमा महिला ओसारपोसार तथा गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा पटक पटक प्रहरीको हिरासतमा परेको ब्यक्ति मानिने भएकोले उनलाई त्यस कार्यमा सहयोग पुराउने अन्य कुनै समूह वा संस्था छ कि भन्ने बिषयमा सुक्ष्म अध्ययन गरिन लागेको थाहा भएको छ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना समाजसेवीले बताए अनुसार झा ‘यूएईका राजदुत अर्जुन बहादुर थापाका विश्वाश पात्रको रुपमा लिईने भएकोले कतै यस घटनालाई बाहिर नल्याएर दुतावास घटना ढाकछोपमा त लागेको छैन, उनले जिज्ञासा गरे।

यूएईमा कार्यरत करीब २ लाख तीस हजार नेपालीको प्रतिष्ठामा समेत चोट पर्ने खालको यो घटनाले यहाँस्थित नेपालीहरु चिन्तित बनेका छन्।आखिर जे भए पनि जे सुनिदै छ त्यो आखिर नेपालीकै बैईजती हुने घटना भएकोले फेरी यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले यो घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्नु पर्ने बताए।

Popularity: 9%

1 comment May 27th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....