Archive for May 30th, 2011

तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाइयो

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, पाँच जातिय संगठनहरुले संविधानसभाको म्याद तीन महिना थप्ने गरी जेठ १४ गते मध्यराति तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाएका छन्।

संविधान बनाउन नसक्ने असफल संविधानसभा विघठन गरी सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गर्दै आएका जातीय संगठनहरुले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमै जलाएका हुन्।

थरुहट स्वायत्त राज्य परिषद, संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी आदीबासी जनजाती अधिकार मन्च र तामाङसालिङ स्वायत्त राज्य परिषदले पत्रकार सम्मेलनको आयोजना गरेर पाँच बुँदे सम्झौतामा मधेसीका माग मात्र उल्लेख गरेर, आदीवासी, जनजाती, मुस्लिम, थारु र दलित लगायतका विभिन्न समूहसँग गरेको सहमतिको बेवास्ता गरेको भन्दै आपत्ति प्रकट गरे।

समयमा संविधान निर्माण गर्ने दायित्व बोकेको संविधानसभाले संविधान बनाउन नसकेर आफूलाई असफल प्रमाणित गरिसकेकोले यसको म्याद जति थपे पनि संविधान नबन्ने उनीहरुको ठोकुवा थियो।

उसले मुलुकले सही कार्यदिशा पकडन नसके मुलुक झनै ठूलो द्धन्द्धमा जाने भन्दै तत्काल सर्वजातीय संयूक्त राष्ट्रिय सरकार गठन गरी संविधानसभाको नयाँ निर्वाचन गर्न माग गरेको हो। ती जातीय संगठनहरुले अहिलेको निकासको विकल्प पनि यही भएको दावी गरेको छ।

उनीहरुले आफ्नो घोषित आन्दोलनको कार्यक्रममा मार्फत सोमबार प्रचारात्मक कार्यक्रम अर्न्तगत पत्रकार सम्मेलन गरेका हुन्। उनीहरुले नेपाल सरकार संयूक्त राष्ट्र संघ र सार्क सचिवालयमा ज्ञापनपत्र बुझाउने, संविधानसभाको औचित्य समाप्तिको घोषणा गर्ने, संघीय विधायिकाको रुपमा द लिग अफ फर्स्ट नेसन्स गठन गर्ने, सर्वजातीय सम्मेलन आयोजना गरी सर्वजातीय सरकार घोषणा गर्ने, राज्य तथा क्षेत्रको कर र प्राकृतिक साधनमाथि कब्जा जमाउने लगायतका आन्दोलनका कार्यक्रमहरु गर्ने समेत जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा बोलदै थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले आफै म्याद थपिएको संविधानसभाले संविधान बनाउन नसक्ने दावी गर्दै अब आफै जनताको बलमा संविधान, सरकार घोषणा गरेर आफै राज्य चलाउने चेतावनी दिए। उनले भने- हामीलाई राज्यले बेवास्ता गर्यो अब हामी आफै सबै चलाउँछौ।

संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष सन्जुहाङ पालुङवाले ठूला दलले जनताको भावनालाई बेवास्ता गर्दै हिडेको भन्दै त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए । उनले आफूहरुलाई अब संविधानको आशा नभएकोले आफ्नै सरकार , संविधान र राजस्व चलाउने घोषणा गरे।

पत्रकार सम्मेलनमा आदीवासी जनजाती अधिकार मञ्चका अध्यक्ष मणी लामा, तामसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष बुद्धछिरिङ मोक्तान र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी उपाध्यक्ष नविन किरातीले पनि पाँच बुँदे सहमति जनताको भावना विपरितको भएको भन्दै त्यसको आलोचना गरेका थिए।

Recent Videos:

Popularity: 9%

Add comment May 30th, 2011

पाँच बुदे सहमतिप्रति माओवादी र काग्रेसमा असन्तुष्टि

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, संविधानसभाको म्याद तीन महिना थप्ने विषयलाई लिएर जेठ १४ गते भएको तीन दलवीचको पाँच बुँदे सहमति र प्रधानमन्त्रीको राजिनामाको विषयमा हस्ताक्षर गर्ने दलहरु आन्तरिक रुपमै विभाजित बनेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले पाँच बुँदे सम्झौतापछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताए। उनले मुलुकमा आराजकता बढेको बेलामा प्रधानमन्त्रीलाई राजिनामा गर्न लगाएर अझै अराजकतामा फसाउन नहुने भन्दै पहिला दलहरुवीच भावी प्रधानमन्त्री को भन्ने कुरामा सहमति नभई प्रधानमन्त्री झलनाथ खनालको राजिनामा आउन नहुने तर्क गरे। उनले भने- सात महिनासम्म मुलुकले प्रधानमन्त्री पाउन नसकेको यथार्थ हाम्रो सामू छ। अब पनि भावी प्रधानमन्त्री को भनेर सहमति नगरी प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा अराजकतामात्रै हुन्छ । त्यसैले पहिला राजिनामा दे भन्नु भन्दा पहिला सहमति गर्नु पर्छ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले सहमति गर्ने तीन दल आफै प्रधानमन्त्रीको राजिनामाको विषयमा अन्यौलमा रहेको उल्लेख गर्दै पाँच बुँदे सम्झौता पनि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेकोले अब शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन तर्फलाग्नु पर्ने तर्क गरे।

कोइरालाले अब सत्ता भन्दा पनि देशको पक्षमा लाग्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकमा बढेको हस्तक्षेपले नेपाललाई अफगानिस्तान बन्ने दावी गरे । उनले आफू प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारेका थिए।

पाँच बुँदे सम्झौता गरेर काग्रेस चुकेको दावी गर्दै कोइरालाले माओवादीसँग सहमति भएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने र हतियार कन्टेनरमा राख्ने कुरालाई पनि सम्झौतामा लेख्न नसक्नु काग्रेसको कमजोरी भएको तर्क गरे । उनले भने-माओवादी तयार भएको विषयलाई पनि सम्झौतामा समेटन सकेनौ। शान्ति प्रक्रिया निर्श्कर्षमा पुगेपछि सहमतिको सरकार बन्छ भन्ने कुरा सम्झौतामा लेखिरहनु पर्दैनथ्यो।

माओवादी लडाकुको शिविर खाली गरिए प्रचण्डकै नेतृत्व पनि काग्रेसको लागि स्वीकार्य भएको स्पष्ट पार्दै कोइरालाले हतियार कायम रहेर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । नेपाली काग्रेसभित्र पनि प्रधानमन्त्री बन्न योग्य नेताहरुको कमि नरहेको भन्दै पहिला प्रधानमन्त्री र उपप्रधानमन्त्री बनेका बाहेक पनि योग्य नेताहरु रहेको तर्क उनको थियो।

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले आफ्नो पार्टी प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको भन्दै प्रधानमन्त्रीको राजिनामाले मुलुक झनै संकटमा फस्ने चेतावनी दिनुभयो।

उनले राष्ट्रियता र राष्ट्रिय अस्मिताको रक्षाको लागि अहिले प्रधानमन्त्रीको राजिनामा भन्दा पनि यसको निरन्तरता हुनु पर्ने भन्दै राजिनामाले मुलुकलाई राष्ट्रिय आत्मर्समपणबाद तिर लैजाने दावी गरे।

प्रधानमन्त्रीको राजिनामाको विषयमा पार्टीभित्र अहिलेसम्म छलफल नै नभएको जानकारी दिदै गुरुङले पार्टीमा छलफल नै नभई अध्यक्ष प्रचण्डले गरेको सम्झौता कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । उनले भने-पार्टीभित्र छलफल नभएको विषयमा अध्यक्षले गरेको सम्झौता कसरी कार्यान्वयन हुन सक्छ ?

अहिलेको समस्या पाँच बुँदे सम्झौताले समाधान गर्न नसक्ने ठोकुवा गर्दै यथास्थितिमा सम्झौता कार्यान्वयन हुन नसक्ने दावी गरे । उनले भने-पाँच बुँदे सम्झौता राष्ट्रबादलाई कमजोर बनाउने र मुलुकमा विध्वंश मच्चाउने दिशामा अग्रसर छ । यसलाई यथास्थितिबाट अग्रगमनतिर लैजान फेरि छलफल गर्नुपर्छ।

गुरुङले तीन महिनाभित्र संविधानको एकीकृत मस्यौदा ल्याउने र लडाकुलाई निसस्त्रिकरण गर्ने कुरा अब्यवहारिक भएको भन्दै तीन महिनामा कुनै पनि हालतमा हतियार बुझाउन नसक्ने स्पष्ट पारे। उनले भने-नेपाली सेना र लडाकु कसैले हारेको अवस्था छैन। दुबै विन विनको अवस्था छ । यस्तो अवस्थामा हतियार बुझाएर आत्मर्समपण गर्ने कुरा हुँदैन।
संविधान निर्माणको प्रक्रिया संविधानसभाबाटै अगाडि बढनु पर्नेमा जोड दिदै गुरुङले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिको गठन र र्सवदलिय छलफलमा भईरहेको छलफल प्रति तिब्र असन्तुष्टि प्रकट गरे। उनल भने-सहमति नभएको विषयलाई संविधानसभामा लगेर छलफल गर्नु पर्छ। उपसमिति र सर्वदलिय बैठकमा लगेर थन्काउनु हुँदैन । यसरी संविधान बन्दैन। उनले संविधानसभाको प्रक्रियामा सहमति नभएपछि मात्रै राजनीतिक सहमति खोजिनु पर्ने तर्क गरे।

नेकपा एमालेका नेता एवम पूर्व गृहमन्त्री भीम रावलले दलहरुवीच एक सातामा सहमति कायम गरेर प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने विषयमा सहमति भएको खुलासा गरेका छन्। उनले भने- शान्ति प्रक्रियामा सामान्य सहमति भएपछि प्रधानमन्त्रीको राजिनामा आउने सहमति भएको हो। सबै राजनीतिक दलहरुले इमान्दारिता देखाउँदै यस विषयमा एक साताभित्र सहमति गर्छन् भन्ने मलाई विश्वास छ।

पछिल्लो समयमा बार्ता टोलीमा रहेका रावलले दलहरुवीच शान्ति प्रक्रियामा सहमति भएपछि पहिलो चरणमा संविधान जारी गर्न माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने र त्यसपछि संसदीय निर्वाचन र स्थानीय निकायको निर्वाचनसम्म काग्रेसको नेतृत्वमा सरकार बन्ने मोटामाटी सहमति भएको समेत खुलासा गरे।

पाँच बुँदे सहमति संसदको अंग बनिसकेकोले त्यो जनताको सम्पत्ति भईसकेकोले त्यो कार्यान्वयन नभए नेपाली जनताप्रति धोका र अपमान हुने दावी उनको थियो।
दलहरुवीच चरण चरणमा भएको छलफलको क्रममा माओवादी नेताहरुले लिदै आएको दोहोरो सुरक्षा अन्त्य गरेर कन्टेनरमा हतियार राख्ने, द्धन्द्धकालमा कब्जा गरिएका सम्पत्ति तत्काल फिर्ता गर्ने र फिर्ता नभए सुरक्षा निकायले कारवाही गर्ने, बाईसिएलको अर्ध सैनिक संरचना अन्त्य गर्ने र उनीहरुले कब्जामा गरेको सम्पत्ति फिर्ता नभए सुरक्षा निकायले कारवाही अगाडि बढाउने, नियमित नभएका माओवादीका गाडि प्रसासनले जफत गर्ने, गठन हुन नसकेका सबै आयोग गठन गर्ने विषयमा सहमति बनिसकेको उनको दावी थियो।
त्यसैगरी हतियार विशेष समितिको मातहतमा ल्याउने विषयमा माओवादी सहमत भए पनि कहिले बुझाउने भन्ने विषयमा भने केही समान्य मतभेद भएको रहेको उनले जानकारी दिए।

पुनः स्थापना प्याकेजमा माओवादी अन्य दलको धारणा अलग रहे पनि सम्मानजनक प्याकेज दिनेमा सहमति रहेको उल्लेख गर्दै रावलले नेपाली सेनाको मातहतमा महानिर्देशनालाय गठन गरेर समायोजन गरी बन, उद्योग र राहत उद्दारमा परिचालन गर्ने, लडाकुलाई तालिम दिने, बृजकोर्स गराउनेमा समेत सहमति रहेको समेत खुलास गरे। उनका अनुसार पुनर्स्थापना प्याकेजमा काग्रेस एमालेले अढाई लाख देखि चार लाख र माओवादीले कमाण्डरलाई १० अरुलाई सात लाखको प्रस्ताव गरेको थियो।
त्यसैगरी संविधान र शान्ति प्रक्रियालाई कार्यतालिका बनाएर अगाडि बढाउने र संख्या तय गर्नेमा पनि धेरै ठूलो विवाद नरहे पनि अन्तिम आएर यसलाई सहमतिमा उल्लेख गर्न माओवादी नमान्नुले भने आशंका उब्जिएको तर्क गरे।

Recent Videos:

Popularity: 9%

Add comment May 30th, 2011

बिशेष तामझामका साथ गोर्खाकप सम्पन्न

जे देखियो गोर्खाकपमा
धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, बेलायतमा भएको गोर्खा कप फुटबल प्रतियोगितामा १० क्यु ओ जी एल आर टिम विजयी भएको छ। गोर्खाकप प्रतियोगिता भेट्रान तथा नन भेट्रान गरी २ चरणमा विभाजिन गरिएको थियो।

अल्डरसोटस्थित खेल मैदानमा आइतबार खेलाईएको नकलिक खेलमा प्लमस्टिड एफ सीलाई एक गोलले पराजित गर्दै १० क्यु ओ जी एल आरले उपाधि चुमेको हो। उसले एक हजार पाउण्ड नगदका साथै ट्रफी हात पार्‍यो। नन भेटा्रन तर्फ बेलायत भरी छरीएर रहेका १६ बर्षभन्दा माथि उमेर समूहका ४० नेपाली टिमहरुले भाग लिएका थिए । नन भेट्र तर्फ १० टिमले भाग लिएको खेलमा इन्टेक ८७ को विरुद्धमा इन्टेक ८६ ले को दुइ गोल गरी विजयी भएको हो । इन्टेक ८६ का गुन गुरुङले दुवै गोल गरेका थिए । ब्रिटिश सेनामा भर्ति भएको सालको आधारमा इन्टेक नामाकरण गरिएको थियो।

खेलमा विजयी हुने टिमलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले पुरस्कार हस्तान्तरण गरेका थिए। उनले गोर्खाकपको माध्यमबाट नेपाली र ब्रिटिश जनताबीच एकता बढेको बताए। तमुधीले गोर्खाकप सफल बनाएकोमा चालिसेले धन्यबाद दिएका थिए।

कार्यक्रममा अल्डरसोट क्षेत्र वरीपरीका स्थानबाट प्रतिनिधित्व गर्ने मेयर तथा मेयरेष्टहरुको बाक्लो उपस्थिति रहेको थियो।

तमुधि बेलायतले प्रत्येक बर्ष गर्दै आएको गोर्खा कप फुटबल प्रतियोगिता बेलायतमा विशेष मेलाको रुपमा विकास हुंदै आएको छ । गोर्खा कपले बेलायत भरी छरिएर रहेका नेपालीहरुको भेटमात्र गराएन युवा जोडीहरुको डेटिङस्पट पनि जुराईदियो । मिस नेपाल युके नविना पनि आफ्नै प्रेमीसंगै थिइन्। खेलाडीहरुका आफन्त र फुटबल प्रेमीहरुले मात्र खेलको मज्जा लिए । ५० बर्षउमेर माथिकाहरु दौंतरीसंग गफीरहेका भेटिन्थे । किशोर किशोरीहरु आफ्नै सुरमा यत्रतत्र डुलिरहेका थिए । करीब ५ हजार भन्दा बढि नेपाली दर्शकहरु उपस्थित भएको खेल मैदान वरीपरी स्थानीय व्यापारीहरुले स्वदिष्ट नेपाली खानाको स्टल राखेका थिए । त्यस्तै मिडियाहरु नेपाली टिभी तथा विएफ विएस गोर्खा रेडियोका विज्ञापनहरु पनि प्रशस्तै भेटिएका थिए। नेपालका विभिन्न जिल्लामा सेवा गर्दै आएका च्यारीटि संस्थाका व्यानर लगायत सहयोग माग्ने संस्थाहरुको ओइरो लागेको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय वाजा पञ्चेबाजा बजाई अतिथिहरुको स्वागत गरीएको थियो।

गोखर्गाकप सम्पन्न गर्नका लागि तमुधिं बेलायतले करीब ५० लाख नेपाली रुपैंया खर्च गरेको थियो । कार्यक्रममा ससहयोग गर्ने स्थानीय व्यवसायीहरु अलाईटट फुडका उमेश रेग्मी, रारा रेष्टुरेन्टका प्रताप रायमाझी, गोर्खा बियरका हरी केसी तथा देउराली ट्राभल्सलाई अध्यक्ष मुच्छेत्र गुरुङले सम्मान गरेका थिए।

नेपालीका बिरोधी मन्त्री जेराल्ड गोर्खाकपमा
नेपालीहरुको विरोध गर्दै प्रधानमन्त्री डेविड क्यारुनलाई पत्र लेखेका अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धि बेलायती उपमन्त्री जेराल्ड हवार्थ कार्यक्रममा सहभागि भएका थिए । उनी नेपालीहरुको अत्यन्त चाप रहको अल्डरसोट क्षेत्रको कन्जरभेटिभ पार्टीका सभासद पनि हुन्। उनले नेपालीहरुका कारण हेल्थ सेवा, यातायत तथा शिक्षा जस्ता आधारभुत कुराहरुमा असर परेको भन्दै प्रधानमन्त्रीसमक्ष नेपालीहरुलाई अल्डरसोटमा रोक लगाउनुपर्ने समेत बताएका थिए। मन्त्री जेराल्ड तथा उनकी श्रीमतीलाई पञ्चेबाजाले स्वागत गर्दै कार्यक्रमस्थल पुर्‍याइएको थियो।

वास्ता छैन पत्रकारको
नेपाली डायस्पोरामा पत्रकारिता सोचे जस्तो छैन । आयोजकहरुले पत्रकारहरुलाई वास्ता गर्दैनन्। नेपालमा कार्यक्रमका आयोजकहरुले पत्रकारलाई विशेष स्थान दिन्छ। पत्रकारहरुलाई बस्ने विशेष प्रबन्ध हुन्छ तर बेलायतमा त्यो मान्यता छैन। आयोजक, अतिथि र आफन्तहरुले खचाखच भरिएपछि पत्रकारहरु पाखा लाग्छन्। आयोजकभन्दा अतिथिहरु प्राय बढी हुने बेलायतमा कार्यक्रम गर्ने नेपालीहरुको चलन जस्तै रहेछ।

आइतबार भएको गोर्खाकपमा पनि यस्तै भयो । करीब एक दर्जन बढि पत्रकारहरु रहेको गोर्खाकपमा पत्रकारहरु यताउता टहल्न बाध्य भए। उनीहरुलाई नत बस्ने व्यवस्था थियो न आयोजकले पत्रकारलाई मध्यनजर गर्दै कार्यक्रमको शुरुवात र अन्त्य गरे। एउटै कार्यक्रममा पत्रकारहरुको आपसी भेट पनि हुन पाएन। फरमल रुपमा आयोजना गरिएको कार्यक्रममा पनि पत्रकारले खोजी पत्रकारीता गर्नुपर्ने बेलायतमा बाध्यता जस्तै छ।

Popularity: 9%

Add comment May 30th, 2011

कोरियामा राईहरुले साकेला उभौलीमा नचाए

मञ्जु थापा / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, विशेष गरेर राईहरु मनाउने महान चाड साकेला उभौली पर्वलाई भब्यताका साथ सफल पार्न टाढा टाढाबाट आएका राइहरुको जमघट बाग्लै देखिन्थ्यो। ओसानको हेप्पी माइग्रेण्ट सेल्टरमा आयोजना गरेको साकेला उभौली कार्यक्रममा नेपालका विभिन्न भागबाट कोरियामा बसोबास गर्दै आएका राईहरुले खुलेर साकेला नाच नाथे र अरुलाई पनि नचाए।

कोरियामा वर्षेनी यो उभौली नाच नाचेर आफ्नो संस्कृतिको जर्गेन गर्ने र नयाँ पुस्तालाई आफ्नो भेषभूषा र संस्कृतिबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष बागधन राईले बताए। कार्यक्रममा एन सिसिका अध्यक्ष डेविट राई, एन आर एन का ध्यान राई, जनजाति महासंघका मुकुन्द्र राई र सस्थाका सल्लाहकार लोचन राईलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि आ आफ्नो मन्तब्य राखेका थिए।

नेपाली परिकार र विभिन्न गीत, संगीत र नाँचहरुले गर्दा कार्यक्रम निकै रमाइलो भएको थियो।

गीत प्रस्तुत गर्नेहरुका मिठो स्वरका धनी असोक थुलुङ्ग, योङ्गस्टारका गान्दिप सुवेदीले गाएका थिए भने स्विटी लामा लगायत अन्य कालाकारहरुले कला प्रस्तुत गरेका थिए। कार्यक्रमको संचालन टिका राई र सृजना नेपालीले गरेका थिए।

Popularity: 9%

Add comment May 30th, 2011

फेसबुक आन्दोलन बेलायतमा पनि

लारा / एचकेनेपाल डट कम-
लण्डन, “लण्डन-संविधान, शान्ति तथा मुलुकका लागि खडा छ” भन्ने नारासहित मुख्य अभियानकर्ता प्रदिपकुमार सिहं, नम्बर वन सोर्सेस ब्लगर लेक्स लिम्बु तथा मिस युके-नेपाल नबिना गुरुङलाई साथ दिन लण्डनदेखि बाहिरबाट पनि आएका सयौंको संख्यामा नेपाली युवाहरु बेलायतस्थित नेपाली दूताबासमा २७ मई, मध्यान्ह १२ बजे निक्कै जोशसहित भेला भएका थिए।

सप्ताहन्त, त्यहिमाथि बेर्फुसदिलो शनिबारको बेलायतमा आफ्नै महत्व छ तैपनि, छोटो समयमा बेलायतको भौगोलिक असमानताको बावजूद पनि फेसबुक सञ्जाल मार्फत गरिएको यो आह्वानमा सोचेभन्दा बढी सहभागीहरु भेला भएको देखेर १८ वर्षीय तन्नेरी संयोजक लेक्स लिम्बू निक्कै दंग र उत्साही देखिन्थे । फेसबुकको प्रभावले यस्तो संभव होला भन्ने लागेको थिएन तर सहृदयी साथीहरुको ऐक्यबद्धताप्रति म दंग तथा आभारी छु-धन्यबाद दिने क्रममा लेक्सले भने।

फेसबुक प्रयोगकर्ताहरुको समूह ‘नेपाल युनाईटस्’ मार्फत नेपालमा करीब महिनादिन अघि शुरु भएको आन्दोलनलाई ऐक्यबद्धता जनाउन उक्त भेला आयोजना गरिएको थियो।

अभियानकर्ताहरुले नेपालका लागि बेलायतको राजदूत डा. सुरेशचन्द्र चालिसेलाई भेटेर भलाकुसारी गर्दै, “यो कुनै राजनीतिक अभियान होईन, विदे्शमा बसेता पनि आफ्नो मुलुक नेपालप्रति हामी पनि उतिकै चिन्तित छौं अतः खबरदारी तथा दबाब दिन आ-आफ्नो ठाउँ, तह र तप्काबाट हाम्रो पनि उतिकै जिम्मेवारी हो भन्दै यो स्वस्फूर्त ऐक्यबद्धता जनाईएको हो” भन्दै संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए।

संविधान निमार्णमा भएको ढिलाईप्रति हाम्रो घोर निन्दा छ। संविधान, शान्ति तथा मुलुकका लागि बेलायती हामी सबै युवा एकभएर खडा छौं । संविधान निमार्णका लागि आजको युवाहरुको चाहना र मागसहित लेखिएका केही बुँदाहरु यस आन्दोलनका मुख्य अभियानकर्ता प्रदिप कुमार सिहंले पढेर सुनाएका थिए। मिस युके-नेपाल नबिना गुरुङले भविष्यमा बन्ने नेपालको संविधानले “बृहतरुपमा सबै जात-जातिय समुदाय तथा संस्कृतिहरुलाई महत्वका साथ समान स्थान दिईएको हुनुपर्छ” भन्दै भेलालाई सम्बोधन गरेकी थिईन्।

आन्दोलनलाई सार्थक तुल्याउन स्वस्फूर्त भेला भएका सहभागीहरुले संविधान निर्माण गरिएको ढिलाईप्रति “ज्याला पूरा लियौ, अब संविधान देउ” भन्ने नाराका साथमा सहभागी भेलाले कविता, गीत तथा बुलन्द भाषणकासाथ अब समय थप भएमा साँच्चै नै सभासदहरुले ज्यालारहित काम गर्नुपर्छ भन्ने जोड दिएका थिए।

फेसबुक सञ्जालमा रमाउने आजका तन्नेरी पुस्ताहरुले विद्युतिय यो सञ्जाललाई केवल साधनको रुपमा मात्रै नअप्नाएर संचारकोरुपमा पनि प्रयोग गर्दै जनाईएको संविधान निर्माणका लागि यो ऐक्यबद्धताले ढिलो, चाँडो परिणाम अवश्य ल्याउने नै छ। ती तन्नेरी अभियन्ताहरुको उत्साहलाई बधाई!

Popularity: 9%

Add comment May 30th, 2011

दलित बालिकालाई बलात्कार गर्ने यादव पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
हतियार देखाएर दलित बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सप्तरीको कमलपुर गाविसस्थित निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश यादव भनिने बेचन यादवलाई पक्राउ गरेको छ।

पीडित बालिकाको उजुरीपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले उनका सहयोगी स्थानीय प्रभु खंगसहित यादवलाई पक्राउ गरेको हो।

पीडित बालिकाको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराएको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका दुवैजनामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक रमेश तामाङले जानकारी दिनुभयो।

घरमा कोही नभएको मौका छोपी एकीकृत नेकपा (माओवादी)का कार्यकर्तासमेत रहेका यादवले जेठ ७ गते राति पेस्तोल देखाएर आफूलाई बलात्कार गरेको भन्दै कमलपुर गाविस–३ निवासी १२ वर्षीया दलित बालिकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा शनिबार उजुरी दर्ता गराएकी थिइन्।

खंग थरकी उक्त बालिकाले दर्ता गराएको उजुरीमा यादवले रु ५०० दिएर प्रलोभन देखाई यौन सम्पर्क गर्न खोज्दा नमानेपछि बन्दुक देखाएर बलात्कार गरेको उल्लेख छ।

Popularity: 9%

1 comment May 30th, 2011

एनआरएन चीनमा थापा

एचकेनेपाल डट कम संवाददाता-
सुन्दर थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको निर्विरोध चयन गर्दै गैरआवासीय नेपालीहरूको सङ्घ एनआरएन राष्ट्रिय समन्वय परिषद् चीनको दोस्रो महाधिवेशन शनिबार सम्पन्न भएको छ।

महाधिवेशनले रञ्जन ढकाललाई एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को चीनको प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ।

आगामी दुई वर्षे कार्यकालका लागि नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजन जमरकट्टेल, उपाध्यक्षद्वयमा नवीन विक र सञ्जकुमार चेतानी, महासचिवमा सुदेशकुमार झा, सचिवमा प्रदीप न्यौपाने, कोषाध्यक्षमा राजु श्रेष्ठ र प्रवक्तामा प्रकाशचन्द्र पोखरेल निर्वाचित हुनुभएको छ।

त्यसैगरी प्रदीप भण्डारी, अमर व्यञ्जनकार, सुशील बेलबासे, दामोदर पराजुली, रामकुमार राई, खामसुंग गुरुङ, राजीव केशरी, राजन घले, रोहित अग्रवाल, लीला उप्रेती, निर्मल चौलागाइं, उत्सव श्रेष्ठ, विजय भण्डारी र मिलन ज्ञवाली कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ।

Popularity: 9%

Add comment May 30th, 2011

म्याद थपको बेलायतद्वारा स्वागत

एचकेनेपाल डट कम संवाददाता-
बेलायत सरकारले नेपालमा संविधानसभाको म्याद तीन महिना थप गरिएकामा स्वागत गरेको छ।

बेलायतको विदेश मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बेलायती विदेशमन्त्री एलेस्टर बर्टले संविधानसभाको बढाइएको निर्धारित समयमा नेपालमा लोकतान्त्रिक, समावेशी संविधान निर्माण गर्न पर्याप्त लचकता अपनाउन सबै राजनीतिक दलसमक्ष आग्रह गर्नुभएको उल्लेख छ।

संविधान निर्माणमा नेपालका सबै जनताको वृहत्तर परामर्श गरिने अपेक्षा पनि गरिएको विज्ञप्तिमा जनाइएको छ।

साथै विज्ञप्तिमा संविधान निर्माणसँगै माओवादीका पूर्वलडाकुको समायोजन र पुनर्स्थापनाका कार्यहरू पनि तीव्ररूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Popularity: 9%

Add comment May 30th, 2011

नेपाली दूतावास कोरियाले चौथो गणतन्त्र दिवस मनायो

अशोक मैनाली / एचकेनेपाल डट कम-
सोल कोरिया, दक्षिण कोरियास्थित नेपाली दूताबासले नेपालीबीच शुभकामना आदनप्रदान गर्दै चौथो गणतन्त्र दिवस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा राजदूत कमलप्रसाद कोईरालाले संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको संस्मरण गर्दै गणतन्त्रको प्राप्ति तथा संस्थागत सुदृढीकरणमा नेपालको राजनीतिक नेतृत्व तथा आम जनताले महत्वपूर्ण योगदान पुर्‍याएको बताए।
उनले नेपालको गणतन्त्रले सवै बर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने हुनाले त्यसका लागि सबै राजनीतिक दल सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दिशातर्फ दलहरुबीच भएको सहमति र संविधान सभाको म्याद थप गर्ने सहमतिलाई स्वागतयोग्य निकास भएको तर कार्यान्वायनको बिषयमा शंका रहेको पटक पटक दोहोराएका थिए।

कार्यक्रममा ब्यापार संघ कोरियाका अध्यक्ष मदन केसीले नेपालको राजनैतिक अबस्था झन् बिग्रदै गएकोमा चिन्ता प्रकट गर्दै नेपाली जनता निराश भएको बताए। नेपालकोरियाटाइम्स डट कम का सम्पादक अशोक मैनालीले नेपालको बर्तमान गणतन्त्र बिहारी शैलीको गणतन्त्र भएको भन्दै यो गणतन्त्रलाई सांचो अर्थमा नेपाली जनताको गणतन्त्र बनाउनु पर्ने कुरामा जोड दिंदै संबिधान सभाको समय थपिदा पनि नेपाली जनतालाई संबिधान बन्ने आशा नहुनु र बने पनि जनताको परिवर्तनको भावनालाई समेट्ने कुरामा आशंका ब्यक्त गरे। कार्यक्रममा पत्र्कार महासंघ कोरियाका अध्यक्ष रघु त्रिपाठीले दलहरुको भूमिका चित्त बुझ्दो नभएको भन्दै नेताहरुलाई कालो मोसो दल्नु पर्ने दिन आउने चेतावनी दिए। त्यस्तै कार्यक्रममा योङ स्टार कोरियाका अध्यक्ष यम श्रेष्ठ ,जगदिश महरा, मनमहेश भुजेलले पनि राजनीतिक दल र तिनका नेताको गतिबिधीले आक्रोशित तुल्याएको भन्दै धैर्यताको बांध टुट्ने चेतावनी दिएका थिए।

Popularity: 9%

Add comment May 30th, 2011

गैरआवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न भएको छ। रमेश गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।

समितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा डिलाराम चापागाईं, उपाध्यक्षमा पेम्बा शेर्पा, कोषाध्यक्षमा सुरेन्द्र अमगाई र सह सचिवमा सोनाम दोर्जे योन्जन लामा चयन हुनु भएको छ।

लेखा समिति संयोजकमा खेम जुग्जाली मगर र सदस्यमा भेषराज आचार्य निर्वाचित हुनुभएको छ भने महिला र युवा प्रतिनिधिमा क्रमश: सीतादेवी बाँस्तोला बराल र गोविन्द दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ।

सदस्यहरुमा सुमन चौलागाई, धर्मलाल कँडेल, दिलिपकुमार सुनार, विष्णुप्रसाद सापकोटा, उमेश गुरुङ, लालबहादुर पुन, धनराज शेर्पा, कञ्चन श्रेष्ठ, पुरुषोतम सुवेदी, गिरीप्रसाद गाहा मगर र जयकला राई निर्वाचित हुनु भएको छ।

सबै पदहरु निर्विरोध भए पनि सचिव पदमा भएको निर्वाचनबाट नवीन गौतम निर्वाचित हुनु भएको छ । गौतमले ६९६ मतमध्ये ५२२ मत ल्याएर भारी मतकासाथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी योगेन्द्रमिलन छन्त्यालले १७४ मत प्राप्त गर्नुभएको थियो।

सहमति भएको भन्दै यहाँ रहेका तीन दलबाट स्थानिय वेबसाइटहरुमा छन्त्यालका विज्ञप्ति र समाचारहरु प्रतिबन्ध गरिएका थिए भने सहयोग गर्ने समर्थक र शुभचिन्तकहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । छन्त्यालको भनाइ छ : ‘वास्तवमा तानाशाहीतन्त्र लादेर दलहरुले ब्यक्तिगत स्वतन्त्रता र मान मर्यादाको हनन गरेका छन्। राजनीतिक बिल्लावालहरुको समूह बनाइएको संस्कारकोबिरुद्धमा मैले उम्मेदवारी दिएको थिएँ । मैले जितेर पनि हारेको छु।’

दलनिकट नेताहरुको भनाइ छ : ‘सहमतिको बाधक बनेको ठहर गर्दै हामीले साम, दाम, दण्ड र भेद सबै उपाय अपनाएका हौ।’

अधिवेशनबाट सह सचिव हेमन्त सेढाइद्वार प्रस्तुत प्रगति प्रतिवेदन र सदस्य भानु सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको छ।

प्रतिवद्धता मन्तव्यमा नव निर्वाचित अध्यक्ष गुरुङले आफूले भाषण गर्न नजान्ने तर काम गरेर देखाउने बताउनुभएको छ । गुरुङको दाबी थियो : ‘मेरो कार्यकालमा जसरी पनि नेपाली दुतावासको स्थापना गराइ छोड्नेछु।’

निर्वाचन समितिका सँयोजक डक्टर महेन्द्र पन्थीले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।

Popularity: 9%

Add comment May 30th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....