Archive for June, 2011

श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी महिलाको हत्या

एचकेनेपाल डट कम संवाददाता-
नुवाकोट जिल्लाको रातमाटे गाविस–२ की ४० वर्षीया जानुका लामिछानेको धारिलो हतियार प्रयोग गरी घरमै हत्या भएको छ।

श्रीमानसंग छुट्टिएर एक्लै बस्दै आएकी जानुकाको हत्या भएको प्रहरीले जनाएको छ।

हत्या भएको स्थानमा चुलेसी र ढोकाको आग्लो फेला परेको छ। घरको मझेरीमा टाउको र शरीर छुट्टिन लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। हत्याको कारण खुल्न सकेको छैन।

बिहीबार रातिको घटना भए पनि गाउँलेहरूले शुक्रबार दिउँसोमात्र प्रहरीलाई खबर गरेका थिए। हत्याको आशङ्कामा प्रहरीले केही स्थानीयवासीलाई अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानमा पर्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।

मृतक जानुकाका श्रीमानले दोस्रो विवाह गरी विराटनगरमा गाडी चलाउँदै आएका छन्।

Recent Videos:

Popularity: 8%

Add comment June 19th, 2011

बजेट असार २८ मा आउने सम्भावना–अर्थमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
उप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/०६९ को बजेट आगामी असार २८ गते आउने सम्भावना रहेको बताएका छन्।

नेकपा (एमाले) मोरङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरको रक्तदान कार्यक्रममा उनले असार २८ गते बजेट ल्याउने विषयमा राजनीतिक दलहरूबीच छलफल भइरहेको बताए।

बजेटले सबै क्षेत्रलाई समेट्ने उल्लेख गर्दै उनले समयमै बजेट ल्याउनका लागि राजनीतिक दलहरूसमेत गम्भीर हुनुपर्ने विचार व्यक्त गरे।

Recent Videos:

Popularity: 8%

Add comment June 19th, 2011

पत्रकारको दोस्रो चरणको आन्दोलनको घोषणा आज

एचकेनेपाल डट कम संवाददाता-
नेपाल पत्रकार महासङ्घको आह्वानमा पूर्ण प्रेस स्वतन्त्रता तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा आज हुँदैछ।

नागरिक दैनिक पत्रिकाका मोरङ संवाददाता खिलानाथ ढकालमाथि युवा सङ्घका कार्यकर्ताले मरणासन्न हुनेगरी गरेको आक्रमणको विरोधमा आन्दोलनमा उत्रेको महासङ्घले पहिलोचरणको आन्दोलनको अन्तिम कार्यक्रमस्वरूप हिजो र्‍याली निस्कियो।

थुप्रै पत्रकारको उपस्थितिमा संविधानसभा हल नयाँबानेश्वर अगाडिबाट निस्केको सो र्‍याली माइतीघर मण्डलमा आएर कोणसभामा परिणत भएको थियो।

सो सभामा महासङ्घका अध्यक्ष शिव गाउँलेले प्रेस स्वतन्त्रता तथा पत्रकारको भौतिक एवम् पेशागत सुरक्षा सबैको सरोकारको विषय भएकाले सबैपक्ष यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

यसैबीच महासङ्घले आइतबार केन्द्रीय समिति बैठक बसी दोस्रोचरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने केन्द्रीय सदस्य दीपक पाण्डेले जानकारी दिए। महासङ्घले आक्रमणकारीलाई कारवाही नभएसम्म र आम पत्रकारको सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

Recent Videos:

Popularity: 8%

Add comment June 19th, 2011

कार्यकर्ताबीचको छलफल गुटबन्दी होइन–भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको केन्द्रीय महाधिवेशनका लागि जिल्लामा कार्यकर्ताबीच भइरहेको छलफललाई गुटबन्दीका रूपमा लिन नहुने बताएका छन्।

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले पोखरा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. भट्टराईले फरक मत राख्दैमा कोही डराउनु पर्दैन, झन् यसले पार्टीलाई मजबुत बनाएर लैजाने बताए।

पाँचबुँदे सहमतिअनुसार प्याकेजमा सबै कार्यान्वयन भएपछि प्रधानमन्त्रीको राजिनामा, नयाँ प्रधानमन्त्रीको नियुक्ति र बजेट आउने विचार उनले व्यक्त गरे।

नेपाली सेनाको कमान्डमा सैनिक महानिर्देशनालय बनाउने र त्यसअन्तर्गत नेपाली सेना, जनमुक्ति सेना र प्रहरी रहने मोटामोटी सहमति भइसकेको दाबी गर्दै उनले एमाओवादीका सैनिकले अन्तर्राष्ट्रियस्तरमै मापदण्ड तयार बनाइसकेकाले उनीहरूको समायोजनका बारेमा कुनै विवाद गर्नु जरुरी नभएको उनको टिप्पणी थियो।

Popularity: 8%

Add comment June 19th, 2011

असोजमा इमेज अवार्ड

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, नेपाली सांगीतिक आकाशको महोत्सव इमेज अवार्डको १३ औं संस्करण असोज महिनामा आयोजना हुने भएको छ।

१३ औं इमेज अवाडमा यस वर्ष चार समूह अन्तर्गत २१ विधाहरु छन्। पहिलो, सामान्य समूह अन्तर्गत सर्वोत्कृष्ट गायन (पुरुष), सर्वोत्कृष्ट गायन (महिला), सर्वोत्कृष्ट एल्बम, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गीत रचना र सर्वोत्कृष्ट संगीत रहेका छन्।

दोस्रो, विशेष समूह अन्तर्गत सर्वोत्कृष्ट गायन पप (पुरुष), सर्वोत्कृष्ट गायन पप (महिला), सर्वोत्कृष्ट समूह गायन, सर्वोत्कृष्ट लोकगीत, सर्वोत्कृष्ट दोहोरी गीत, सर्वोत्कृष्ट चलचित्र गीत, सर्वोत्कृष्ट संगीत संयोजन, सर्वोत्कृष्ट गीत मुद्रण, सर्वोत्कृष्ट नवकलाकार र सर्वोत्कृष्ट राष्ट्रिय भावनाले अभिप्रेरित गीत रहेका छन्।

तेस्रो, म्यूजिक भिडियो समूह अन्तर्गत सर्वोत्कृष्ट म्यूजिक भिडियो, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार, सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक रहेका छन्।

उल्लेखित तीन समूह अन्तर्गतका २० विधामा निर्णायक मण्डलबाट प्राप्त मत र एसएम एसबाट प्राप्त मतको आधारमा विजयी घोषणा गरिनेछ।

चौथो, गत वर्षदेखि शुभारम्भ गरिएको टुवोर्ग इमेज पब्लिक च्वाइस एवार्डलाई यस बर्षपनि निरंतरता दिईएको छ । यस विधामा सर्वोत्कृष्ट गायन (पुरुष), सर्वोत्कृष्ट गायन (महिला), सर्वोत्कृष्ट गायन पप (पुरुष) र सर्वोत्कृष्ट गायन पप (महिला) विधामा मनोनयनमा परेका २० मनोनित मध्येबाट सबैभन्दा बढी एसएमएस मत प्राप्त गर्ने एकलाई यो अवार्ड प्रदान गरिनेछ।

प्रतिस्पर्धामा २०६७ असार १ गते देखि २०६८ जेष्ठ ७ मसान्तभित्र सार्वजनिक भएका गीत,एल्बम र म्युजिक भिडियोलाई मात्र सहभागी गराइने इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले बताए।

तेह्रो इमेज एवार्डको प्रतिस्पर्धामा सहभागिताको लागि फर्म २०६८ असार १ गतेबाट खुला गरिएको छ र फर्म बुझाउने अन्तिम मिति २०६८ श्रावण १ गते तोकिएको छ।

Popularity: 8%

Add comment June 18th, 2011

पारिजात जस्ती नारी हर युगमा जन्मँदैनन्- विन्द्या सुब्बा

पारिजात जस्ती नारी हर युगमा जन्मँदैनन्- विन्द्या सुब्बा
(समालोचनात्मक निबन्ध)

प्रिय नरेन्द्रजी !
अहिले मेरो हातमा २०६३ साल अर्थात् सन् २००६ मा प्रकाशित तपाईंको कृति ‘पारिजातको जीवनकथा’को दोस्रो संस्करण छ । सादर, सस्नेह यो प्रति तपाईंले मलाई उपहारस्वरूप पठाइदिनुभएको हो । यसमा २५-१२-२००६ मिति लेखिएको छ । तर यसभन्दा अघि नै २०५७ सालमा प्रकाशित ‘पारिजातको जीवनकथा’को प्रथम संस्करण काठमाडौंबाट झिकाएर मैले पढिसकेकी थिएँ । त्यतिखेर नै पारिजातबारे एउटा ठोस र महत्त्वपूर्ण कृतिका रूपमा यस पुस्तकको मूल्याङ्कन हुनेछ भन्ने मैले ठानेकी थिएँ र त्यस्तै भयो पनि!

नरेन्द्रजी ! पारिजात एउटी चर्चित लेखक भनेर मात्र होइन, स्वास्नीमान्छेका रूपमा असाध्य साहसी, पुरुषप्रधान समाजका रूढिवादी परम्पराविरुद्ध आन्दोलनकी अग्रदूत तथा एक अत्यन्त सक्रिय महिला हस्तीका रूपमा पनि उनलाई औधी श्रद्धा गर्दछु । यसर्थ म पारिजातकी प्रशंसक हुनुका साथै कृतिगत, व्यक्तिगत र मनोगत सबै पक्षहरूबाट उनको पाठक पनि हुँ । भारतीय सशक्त महिला लेखक, शताब्दी नारी अमृता प्रीतमकी पनि उत्तिकै प्रशंसक हुँ म, तर उनीसँग मेरो त्यस्तो खास सम्बन्ध थिएन । उनको जीवन, लेखकीय ऐश्वर्य र दुख्दो अन्तरकुन्तर पुस्तकहरूमा पढेर महसुस गरेँ मैले, तर उनलाई हातले सुमसुम्याउन पाइनँ । जीवनको अन्तिम समयमा दिल्लीमा उनैको निवासमा दर्शन गर्ने सौभाग्य पाएँ, तर एक प्रकारले मृत्युशâयामा थिइन् उनी त्यस बेला । त्यो हेरी उस्तै उचाइकी पारिजातलाई मैले धेरै पक्षहरूबाट नगिच पाएकी थिएँ । उनी मेरी साहित्यिक आदर्श, अनुकरणीय अग्रज मात्र नभएर साथी पनि भइदिइन्, जसको छातीमा शिर राखेर मैले उनको हृदयको अन्तरतम कुरा सुनेँ; उनको सपनाको इन्द्रेनीलाई हत्केलामा राखेर सुमसुम्याएँ । यतिसम्म कि हामीले आफ्ना दृष्टिहरूसमेत एकअर्कासँग साटयौ।

नरेन्द्रजी ! ‘पारिजातको जीवनकथा’को दोस्रो संस्करण अरू परिष्कृत, अरू पूर्णतासाथ प्रकाशित भएको छ । पारिजातका समस्त गुण, महत्ता, प्रतिभा तथा सम्पूर्ण दुर्वलता, पीडा र भोगाइहरूलाई समेटेर हामीसमक्ष र्झझराउँदी पारिजातलाई उभ्याइदिनुभएको छ तपाईंले । पारिजातका पाठकहरू, शोधकर्ता र विद्यार्थीहरूलाई यस पुस्तकले ठूलो सहायता पुर्याउँछ भन्ने मेरो विश्वास छ।

त्यसो त तपाईंले अरू पनि हाम्रा धेरै गौरवमय व्यक्तित्वहरूको जीवनी र जीवनकथा लेखेर नेपाली वाङ्मयलाई महत्त्वपूर्ण योगदान दिनुभयो । नेपाली नारी साहित्यकारहरूको इतिहास र परम्परामा ‘प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी’ को जीवनी मलाई हुनसम्मको उपयोगी कृति लाग्छ । तपाईंद्वारा लिखित यस जीवनी कृतिले नारी हस्ताक्षरहरूको पूर्वपरम्पराबारे कति ठूलो उज्यालो पारिदियो ! साथै तपाईंले ‘देवकोटाको जीवनशैली’ लेखेर आफ्नो गम्भीर अध्ययन, स्रष्टाप्रतिको भक्तिभाव र अनुसन्धानात्मक दक्षताको परिचय दिनुभयो । ‘नारीचुली’ जस्तो अभूतपूर्व एवं साधनासाध्य ग्रन्थ प्रकाशित गरेर नेपाली जीवनी साहित्यमा आफै चुलिनुभयो । ‘पारिजातको जीवनकथा’ मार्फत तपाईंसँग स्रष्टालाई हेर्ने सूक्ष्म दृष्टिकोण, अनुभूत गर्ने संवेदनशील मन र विश्लेषण गर्ने बौद्धिक उचाइ छ भन्ने प्र्रमाण दिनुभयो । तसर्थ कति दिनदेखि तपाईंप्रति मेरो मनमा साँचेर राखेको सम्मानभाव आज मात्र नरेन्द्रजी ! यसरी पत्रमा पोखिरहिछु म । तपाईं मेरो हार्दिक सराहना र अनन्त शुभकामना ग्रहण गर्नुहोस्।

‘पारिजातको जीवनकथा’मा तपाईंले जम्मा २२ वटा परिच्छेदहरूमा उनलाई प्रस्तुत गर्नुभएको छ । उनको जीवनका एकएकवटा पक्षहरूलाई तपाईंले राम्ररी केलाउनुभएको छ । पारिजातको आर्थिक स्थिति, उनको जीवनमा सुकन्या, प्रेम र यौनका प्रसङ्गहरू, उनलाई मन पर्ने र नपर्ने स्रष्टाहरू, पारिजातको आलोचना र सम्मान… आदिआदि पुस्तकका र्सवाधिक संवेदनशील पक्षहरू हुन् भन्ने लागेको छ मलाई । ती परिच्छेदहरूमा अरू धेरै धेरैहरूमाझ म पनि छु कतैकतै । पारिजातको प्रसङ्गमा यसरी आफू पनि कतै जोडिनु कत्रो सौभाग्यको कुरो हो मेरा निम्ति पनि!

‘पारिजातको जीवनकथा’ले पारिजातको जीवनका बाहृय र आन्तरिक पक्षको सौन्दर्य बोधलाई जति मुखरित गरिदिएको छ, त्यतिको सायद अन्य कुनै कृतिले गरेको छैन । पारिजातका गोपनीय कतिपय सन्दर्भलाई सार्वजनिक गरिदिनुमा पनि सायद यही कुरा लागु हुन्छ । यसको प्रथम संस्करण पढेर नै एकएक परिच्छेदबारे आफ्ना टिप्पणी लेखिदिनुभएको छ वरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीजीले । साथै ‘पहेंलो गुलाफ’की चर्चित स्रष्टा प्रेमा शाहको यस कृतिमा प्रकाशित पत्र साह्रै मीठो छ, झन्डै उनीद्वारा लेखिने एउटा छोटो कथाजस्तो नै । यस कृतिको दोस्रो संस्करणको एउटा थप आकर्षण प्रेमाको यो पत्र पनि भएको मैले महसुस गरेकी छु।

नरेन्द्रजी ! जीवनमा धेरै स्थितिहरू आउँछन्, धोकाहरू हुन्छन् कति हो कति । स्टेसनको प्लेटफार्ममा आइपुगिसकेर हेर्दाहेर्दै रेलगाडी छुटिदिन्छ । छुनछुनै लागेको थोक एकै क्षणमा आँखाअघिबाट हराइदिन्छ । पारिजात पनि सत्तरीको दशकमा दुईतीनचोटि दार्जिलिङ आइन्, उनीसँग मेरो भेट हुनु जुरेन । सन् १९७८ तिर त उनी मेरो माइती गाउँ तीनधारे पनि गइन्, बास बसिन् तर म दार्जीलिङमा थिएँ । सन् १९८३ सालको दशकछेक काठमाडौं घुम्न गएँ म, तर प्रबल इच्छा हुँदाहुँदै पनि भयवश, सञ्कोचवश या समयको अभाववश पारिजातकहाँ नगई दार्जीलिङ फर्कें । यतिका प्रतिकूलताका विपरीत मेरा निम्ति पारिजात हातबाट फुस्कन लागेको स्थितिमा पनि स्पर्श गर्न पाएकी, अँगालो हाल्न सकेकी एउटा बत्ती थिइन् । म काठमाडौं गए लगत्तै चार महिनापछि पारिजात दार्जीलिङ आइन् । तर विधाताले यसचोटि भेट निश्चित गरिदिएको थियो । हरिजी (डा. हरिप्रसाद श्रेष्ठ) र पारिजात मिलेर बनाएको जुक्तिअनुसार मलाई आफ्नो नाम नबताईकन होटलमा बोलाई पठाइन् र त्यस समय अचानक मेरो सपनाकी रानी पारिजात मेरै आँखाअघि थिइन् । उनी मसँग हाँसेर कुरा गर्दै थिइन् । त्यस बेला पारिजातसँग मेरो भेटघाट र कुराकानी मात्र होइन, एउटा गहिरो मित्रता पनि भयो।

सन् १९८४ को त्यो भ्रमण पारिजातको जीवनको अन्तिम दार्जिलिङ भ्रमण पनि थियो । त्यसपछि बाँचेको नौ वर्षको लामो अन्तरालमा पलपल दार्जिलिङलाई याद गर्दै बाँचिन् उनी । त्यस बेला भेट नभएको भए सायदै जीवनमा मैले पारिजातलाई भेट्न पाउने थिएँ । मेरो जानकारीमा भएअनुसार उनी दुईचार वर्षको अन्तरालमा विभिन्न उद्देश्य लिएर दार्जिलिङ आउँथिन् । सत्तरीकै दशकतिर नै राल्फाली समूहसँग ‘सिम्मा’ नाटक लिएर पनि उनी आइन् । तर जुनै उद्देश्य लिएर पनि दार्जिलिङ आए पनि, आफू बसेको होटलको एउटा कोठामा आँखा बिछयाएर गुराँसको बोट (यो कोड भाषा पारिजात र मबीच) को बाटो हेरेर उनी बस्थिन् । सन् १९८४ मा आउँदा हप्ता दिन जति नै बसिन् उनी; म प्रत्येक दिन होटलमा गएर उनीसँग समय बिताउँथेँ । गम्भीर साहित्यिक चर्चादेखि लिएर गफ, ख्यालठट्टा, पीडा र सपनाका कुरा, गीत गायन आदि अनेक रमाइलाहरू हामीले गर्र्यौ । त्यस अवधिमा सायद पारिजातको आगमनको खबर गुराँसको बोटसम्म पुगेन । यत्तिकैमा पारिजातको फर्कने समय भइसकेथ्यो, त्यसैले खबर भनिदिन म उनको गाउँसम्म गएँ, तर भेट भएन । त्यसै गाउँमा आदरणीय उपन्यासकार प्रकाश ‘कोविद’ दाइलाई खबर छोडेर आएकी थिएँ, भोलिपल्ट नै आएछन् क्यार ! काठमाडौं पुगेर पारिजातले पत्रमा लेखेकी थिइन् मलाई- “आउने बेलामा एकै क्षण मात्र गुराँसको बोटलाई हेर्न पाएँ । मेरो तकियामुनि अझै पनि छुर्पीका दुईवटा टुक्रा छन्, फोरेर खान आँट आउँदैन ।” वास्तवमा पारिजात गुराँसकै बोटको निम्ति पनि दार्जिलिङ आउँथिन् । दुईचार दिन बसेपछि मनप्राण दार्जिलिङमा नै छोडेर काठमाडौं फर्कन्थिन् । त्यस्ती साहसी, मेधावी र प्रचण्ड व्यक्तित्वशाली नारी पारिजातलाई झुकाइदिने, भिजाइदिने र गलाइदिने उनी भित्रको त्यो अनुराग । प्रतिभाकी खानी पारिजातको यो अधुरो प्रेम साँच्चिकै अनौठो छ!

नरेन्द्रजी ! पारिजातबारे चर्चा गरेर कहिले नसकिने कुराहरू छन् । गुराँसको बोटसँग मेरो प्रसङ्ग मात्र त्यति नै । सन् १९९३ मा पारिजात बितेपछि अब गुराँसको बोटसँग कुनै दिन भेट होला भन्ने सम्भावना वा भेट्नुपर्ने कारण नै पनि निःशेष भएर गयो । एक दिन म नभएका बेला मेरो थलोमा आएर मलाई सोध्दै थिए अरे ! खबर छोड्नुहोस् भन्दा पनि “होइन भेट्नु छ” भने अरे ! सुनेर त्यो साँझ थाहा छैन कस्तो प्रकारको भावावेशमा आएँ म - सोचेँ- “उनी किन भेट्न चाहन्छन् मलाई - पारिजातले सायद उनीसँग कुरा गरेकी यो विन्द्या सुब्बालाई एकचोटि हेर्ने इच्छा उनले राखेका थिए कि - अथवा के मसम्मुख पारिजातको याद रुन चाहन्छन् उनी ? के जीवनका धोकाहरू, अफसोसहरू के शेयर गर्न चाहन्छन् उनी ? त्यसै पनि पारिजातले भनेकी छन्- “यो दुख एकतर्फी छैन, उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ।”

फेरि पनि हराए उनी, पर्खें कुनै दिन आउलान् कि ? तर एकैचोटि मैले उनको मृत्युको खबर सुनेँ । उनी मलाई खोज्दै आउनु र यो अवसानबीच धेरै समयको फरक छैन । तर गुराँसको बोटसँग मेरो भेट हुनु जुरेकै थिएन, भएन । चाहेको भए हात लम्क्याउँदा पनि भेट्न सकिने दूरीमा रह्यौ हामी, तर साँच्चै भेट भएन । यस प्रसङ्गलाई मैले आफ्नो एउटा लेख- “मेरो आँखामा पारिजातको दृष्टि छ गुराँसको बोट हेर्नलाई” मा अलिकति उल्लेख गरेकी छु।

नरेन्द्रजी ! धेरै गफ गरेँ तपाईंसँग । आज वसन्त पञ्चमीको पावन दिन पनि हो । कहिले महिनौं कलम समाउन नपाउँला जस्तो पनि हुन्छ । तर एउटा चेष्टा सदैव रहन्छ, यस दिनमा म कागतमा केही न केही भए पनि अक्षरहरू पोख्ने गर्दछु यसचोटि २०६७ सालको वसन्त पञ्चमी काठमाडौंका एक उद्यमी साहित्यकर्मी, आफ्ना अग्रज विभूतिहरूप्रति औधी श्रद्धावान्, मेरा समवयसी साहित्यकार नरेन्द्रराज प्रसाईलाई पत्र लेखेर मनाइरहेकी छु म। म सम्झन्छु एउटा सही दिनमा, सही ठाउँमा, सही कुरा पोखिरहेछु आज । त्यसैले मेरो एकान्त वसन्त उत्सव सार्थक छ यस वर्ष।

चिन्तन गर्दा आत्मविस्मित पनि हुन्छु म । समयसमयमा निकै विवादमा फसेकी, तपाईंले लेख्नुभएझै पारिजातका कतिकति निष्ठावान्, शुभचिन्तक बन्धुहरू, उनलाई पीठ्यूमा बोकेर हिँड्ने समूहका प्यारा साथीहरू, फेरि अवसरवादी, कामुक केही कवि साहित्यकारहरूका प्रसङ्गहरू तथा अर्कातिर शङ्कर लामिछानेसँग त्यतिका स्नेह, सान्निध्य र प्रेमकै पराकाष्ठाको सम्बन्ध मानिए पनि नारी पारिजातको मन, कुमारी पारिजातको सपना र अन्तरान्तरको अनुरागलाई उनले दार्जिलिङमा गुराँसको बोटको निम्ति सदैव जोगाएर राखेकी थिइन् । बाँकी सबै सम्बन्धहरू स्थूल मात्र भए पनि एकअर्काप्रतिका क्षणिक आकर्षण मात्र, हल्लाहरू फगत् माथिमाथि सबै । पारिजात एउटा भीषण चाहनासाथ, कोमलतासाथ, मनका सारा श्रद्धासाथ कसैलाई प्रेम गर्थिन् भने त्यो पात्र गुराँसको बोट नै थियो र पारिजातको आत्मस्वीकृतिको अडान पनि यहीँनेर स्थिर छ । पारिजातका मङ्गोलियन आकारका दुई मेधावी आँखाहरूमा मैले त्यो चाहनाको रङ्ग स्पष्टसँग देखेकी छु । जब पनि म उनलाई याद गर्दछु यो रङ्ग दुख्छ मभित्र, पारिजातको दृष्टि छ मसँग । यस दृष्टिबाट जब पनि म दार्जिलिङलाई हेर्छु केही देख्तिनँ, मात्र एउटा भयावह शून्यता । जसलाई हेरुँला भनेर मैले दृष्टि दिइनँ त्यो बोट पनि चाँडै ढल्यो।

नरेन्द्रजी ! प्रिय नरेन्द्रमा इन्दिराले ‘पारिजातको जीवनकथा’ बारे लेखेको एउटा प्रसङ्ग पनि यहाँ सम्मिलित गरौं जस्तो लाग्यो मलाई । इन्दिराले पारिजातका यौन प्रसङ्गलाई लिएर जुन विचार र प्रतिक्रिया व्यक्त गरेकी छन्, त्यो नितान्त सही हो । तर सबैको सन्दर्भमा त्यही नै ठीक नहोला । एउटा समर्पित दम्पतिको, विवाहित सहज जोडीको यस प्रकारको अनुभूति सही हो । तर स्वाभाविकतादेखि पर पनि धेरै कुरा हुन्छन्।

पारिजात त्रास र आत्मग्लानिमा मुछिएकी हुन्थिन् र ती पुरुष जो कुनै पनि होऊन् उनको चाहनाका पुरुष थिएनन् । पारिजातजस्ती आत्मसम्मानपूर्ण नारीका निम्ति यस्तो अनुभूति अस्वाभाविक होइन । उनले यसो पनि त भनेकी छन्- “मेरो प्रथम प्रेमीसँगको शारीरिक चाहना अझै पनि छ मसँग तर म अमर्यादित हुन चाहन्नँ।”

पारिजात आफैले विभिन्न साहसपूर्ण अभिव्यक्ति दिए पनि उनीजस्ती स्वाभिमानी र आत्मसचेत नारीका निम्ति कुनै अन्य पुरुषअघि शरीर र मन दुवै पक्षबाट पूर्ण समर्पणको स्थिति आउनु त्यति सहज कुरो होइन र यसबाट सुखानुभूतिको प्रश्न पनि त्यस्तै धमिलो भइदिन्छ । म एउटी यस्ती प्रसिद्ध भारतीय महिला साहित्यकारलाई चिन्दछु जसको पतिसँग लामो वैवाहिक जीवन बित्यो, बितिरहेछ । छोराछोरी छन् तर उनको कुराअनुसार उनी यौनलाई प्रायः असुन्दर नै मान्छिन्। भारतीय साहित्यिक समारोहहरूमा दुईतीनचोटि उनीसँग मेरो भेट भयो, आत्मीयता बढ्यो । दुईजना बसेर कुराकानी गर्दा भनेकी थिइन्, “आइ कन्सिभ्ड माई एभरी चाइल्ड आउट अफ पेन।”

यौनलाई लिएर म योभन्दा धेरै कुरा गर्न सक्दिनँ । अहिले यहाँ मैले भन्न चाहेको कुरा सायद ठीकसँग व्यक्त गर्न पनि सकेकी छैन । लेखनमा मैले कहिल्यै छुने साहस नगरेको, चर्चा गर्न नसकेको विषय पनि हो यो । नरेन्द्रजी ! यसलाई छोडेर बरु म अझै एउटा सद्गुण बताउँछु पारिजातको । उनी कर्मले मात्र होइन वस्तुतः हृदयले नै साहित्यिक थिइन्, असल स्रष्टा थिइन् । आफूभन्दा साना लेखकहरूलाई प्रोत्साहन दिन्थिन्, रचनाहरू पढेर प्रतिक्रियासमेत लेखिदिन्थिन्, मार्गदर्शन गर्थिन् । सन् १९८४मा जति दिन पनि उनी दार्जिलिङमा बसिन् युवा जमात होटलमा आइरहे, कसैलाई पनि राम्रो नबोलेर, चित्तबुझदो किसिमले बातचीत नगरेर उनले फर्काइनन् । बरु उनी साथीजस्तै भइदिएर, हाँसेर कुरा गरिदिने गर्थिन् । मलाई त उनले औधी माया गरिन्, गाली गरिन्, उत्साह दिइन् र सक्दो प्रशंसा पनि गरिन् । एउटी अन्तर्मुखी, सङ्कोची, आत्मविश्वासहीन यो विन्द्या सुब्बालाई उभयमुखी, आत्मविश्वासी र सक्रिय बनाइदिनमा पारिजातको केही प्रतिशत योगदान छ । पारिजातजस्ती उचाइकी एक प्रतिष्ठित साहित्यकारमा यस प्रकारको उदाहरण, साहित्यप्रति अटल निष्ठा र नयाँ पिँढीप्रति अभिरुचि मैले यस उचाइका अरू थोरै मात्र साहित्यकारहरूमा देखेकी छु।

मान्छेको स्वलाई, सत्तालाई औधी श्रद्धा गर्ने, विश्वास गर्ने भएरै पारिजात स्वयं पनि त्यति आत्मप्रतिष्ठित र सम्मानित थिइन् । मानवतावाद उनको जीवनको मूल मन्त्र थियो। उनको साङ्गठनिक जीवनको प्रसङ्गमा ‘बन्दी सहायता नियोग’ मानवतावादको ठूलो उदाहरण हो र उनको सपनाचाहिँ ‘बचेरा वास’ थियो । त्यसैले मान्छेको रूपमा औधी सुन्दर थिइन् पारिजात।

नरेन्द्रजी ! पारिजातको जीवनकथाभित्र उनलाई मन नपर्ने लेखकहरूमध्ये इन्द्रबहादुर राईको पनि नाउँ छ। आयामेली साहित्य र चिन्तनलाई पाठकहरूमा भ्रम सृष्टि गरिदिने र प्रतिभाहरू बिथोल्ने लेखन भन्ने आरोप थियो पारिजातको। यो कुरो अरू पनि धेरै ठाउँमा व्यक्त गरेकी छन् उनले । इन्द्रबहादुर राई र पारिजातबीचको अमेल र अप्रियता साहित्यमा सिद्धान्तहरूबीचको द्वन्द्व हो । अन्यथा राईलाई औधी मान्थिन् पारिजातले । जब उनी दार्जिलिङ आउँथिन्, उनी बसेकी होटलमा आउँथे राई र दुई जनाबीच खुब तर्क चल्थ्यो । झगडा मात्र होइन, आत्मीयतापूर्ण कुराकानी पनि हुन्थ्यो दुवैको । आयामेली साहित्यका निम्ति पारिजात खुब तर्क गर्थिन्, तर राई अझ जिस्क्याउँथे रे उनलाई- “बहिनी, म तपाईंलाई पनि आयामेली नबनाई छोड्दिनँ।”

पारिजातले भनेकी थिइन् मलाई- “विन्द्या, धुरन्धर विद्वान् हुन् आई.बी. राईजी, तर्कमा म उनलाई कहिले पनि जित्न सक्दिनँ, तर अन्तमा लिँडे ढिपी गरेर भए पनि जित्छु।”
नरेन्द्रजी ! ‘पारिजातको जीवनकथा’ अनेकौं सन्दर्भमा त्यही तर्क, सौर्न्दर्यबोध, प्रेम, ज्ञान, साहस, हर्ष दुख, विवाद, पीडा आदि विविध भावहरूले पूर्ण एउटा सिङ्गो कृति हो, जस्तो गरीकन यी सबै विरोधाभासहरूबीच बाँचेकी थिइन् पारिजात। तपाईंले पुस्तकको अन्ततिरको पृष्ठमा ‘आनुष्ठानिक सूची : एक’ भनेर आफ्नो दृष्टिमा परेका प्रकाशनहरूको संक्षेप दिनुभयो जहाँ सकारात्मक र नकारात्मक, सराहना, स्याबासी तथा गालीसमेतका अंशहरूको उदाहरण राख्नुभएको छ, तथापि सम्माननीय साहित्यकारहरूले पुस्तकप्रति बढी सकारात्मक अभिव्यक्तिहरू नै दिएका छन्।

पुस्तकमा लेखकहरूले प्रायः आफूलाई प्रशंसा गरिएका टिप्पणीका अंशहरू मात्र राख्ने गर्दछन् । ईश्वरवल्लभदेखि मदनमणि दीक्षितसम्मका आशीर्वचनीय शब्दहरूसाथ एलिना कुँवर, ईशारा शर्मा, नीता पोखरेलका अंशहरू पनि राख्नुभयो जसले पुस्तकबारे अथवा तपाईंको कार्यप्रति नकारात्मक भाव प्रकट गरिदिएका छन् । यो एउटा राम्रो पक्ष लाग्यो मलाई तपाईंको मानसिकताको । फूल मात्र होइन काँडा पनि स्वीकार गर्ने, त्यसलाई पनि प्रेरणास्वरूप आत्मसात् गर्ने तपाईंको प्रवृत्ति खुब मन पर्यो मलाई । पारिजात पनि त भन्थिन्- “आलोचना ऐना हो, अनुहारमा लागेको दाग पुछ्न सकिन्छ।”

धेरै समय लिएँ तपाईंको; अब दुईतीन लहर मात्र लेखेर म पत्रान्त गर्दछु । नरेन्द्रजी ! जीवनले पारिजातबारे चर्चा गर्ने अवसर फेरि पनि देला हामीलाई। त्यसै पनि तपाईं त यस चिन्तनसागरमा डुबिरहनुभएकै छ । सागरभित्र मोती मात्र हुँदैनन्, केही असुन्दर तत्त्वहरू पनि हुन्छन्, तर पारिजातलाई लिएर सौन्दर्यमयी पक्षहरू नै बढी प्राथमिकतामा देख्न पाउँ भन्ने सदैव लागिरहन्छ । जतैबाट पनि सशक्त अद्वितीय र ऐर्श्र्यमयी देख्न चाहन्छु म उनलाई । वास्तवमा पारिजातका निम्ति यही सही पनि हो । त्यसै पनि सुन्दर असुन्दर, बाहृय अन्तर सबै मिलाएर हेर्दा निष्कर्षमा पारिजात औधी सुन्दर छिन्, गरिमाशाली र अनुकरणीय छिन् । पारिजात जस्तै प्रतिभाशाली नारी हर युगमा जन्मँदैनन्। यो युग धन्य छ, धनी छ । दुर्वलताको पनि आफ्नै सौर्न्दर्य हुन्छ, हर दुर्वलतामा पारिजात औधी सशक्त छिन्, आत्ममर्यादित छिन् । जसको धर्म नै मानवतावाद हुन्छ ऊ असुन्दर कहिल्यै पनि हुँदैन, हृदय र कर्महरूबाट सत्यम् र सुन्दरम् हुन्छ ऊ, एउटा मानवको सन्दर्भमा यही सार्वभौम आशा पनि हो। शाश्वत सत्य पनि हो।
कालेबुङ, दार्जीलिङ
०८-०२-२०११ शुभाकांक्षी
(विन्द्या सुब्बा)

Popularity: 8%

1 comment June 18th, 2011

पशुपतिमा कम्प्युटरबाट सेवा

एचकेनेपाल डट कम संवाददाता-
पशुपति क्षेत्र विकास कोषले सेवाग्राहीलाई सम्पूर्ण सेवा कम्प्युटरबाट प्रदान गर्ने भएको छ। कोषले अहिलेसम्म सेवाग्राहीले लिएका विभिन्न सुविधाका निमित्त हातले लेखेर बिल भुक्तानी गर्दै आएकामा त्यसलाई व्यवस्थित गरी आधुनिक सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सेवा प्रदान गर्न लागेको हो।

बिल तिर्ने प्रणालीलाई कम्प्युटराइज गर्नसकेमा त्यसको अभिलेखीकरण पारदर्शी भई सेवाप्रदायक र सेवाग्राही दुवैलाई व्यवस्थित बनाउन सहयोग पुग्न कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले बताउनुभयो।

विभिन्न समयमा मन्दिरमा भक्तजनबाट गरिने विभिन्न किसिमका पूजा विधिका लागि सेवाग्राहीले कोषलाई बुझाउनपर्ने शुल्क, आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने दाउरालगायत आवश्यक सामग्री खरिदका लागि शुल्क, पाशुपत क्षेत्रभित्र घुम्न आउने पर्यटकका लागि लिइने शुल्कलगायत कम्प्युटराइज गरी कम्प्युटरबाट नै बिल प्रदान गरिनेछ।

कोषाध्यक्ष वैद्यले भक्तजनलाई त्यस क्षेत्रको सूचना सजिलोसँग प्राप्त गर्नका लागि दोस्रो चरणमा सञ्चार केन्द्र स्थापना गरिने जानकारी दिनुभयो।

Popularity: 9%

Add comment June 17th, 2011

युथ फोर्सद्वारा स्कुल बस तोडफोड

एचकेनेपाल डट कम संवाददाता-
युथ फोर्सका अध्यक्ष महेश बस्नेतलाई इटहरीमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको विरोधमा फोर्सका मोरङ कार्यकर्ताले सवारी साधनमाथि तोडफोड गरी क्षति पुर्‍याएका छन्।

युथफोर्सका कार्यकर्ताले विराटनगर भृकुटीचोकमा सगरमाथा बोर्डिङ स्कुलको विद्यार्थी लिएर आइरहेको को १ ख १६५९ नं को बसमा ढुङ्गामुढा प्रहार गरी तोडफोड गरेका छन्।

उक्त ढुङ्गा प्रहारबाट सोही स्कुलमा अध्ययनरत १३ वर्षीय अर्पण पोखरेल टाउकामा चोट लागी गम्भीर घाइते भएको र निजको विराट नर्सिङहोममा उपचार भइरहेको छ।

यस्तै फोर्सका कार्यकर्ताले को १ ख १७१३ नम्बरको विद्यार्थी बोक्ने अर्को बसमा समेत तोडफोड गरेका छन्।

राजवंशी चोकमा को १ च ४८९८ को माइक्रोबस र पिपलचोकमा गुराँस यातायातको को १ ख २२७४ नम्बरको बसमा समेत तोडफोड गरिएको छ।

तोडफोडबाट सो बसमा रहेका सहचालक सरोज राजवंशी घाइते भएका छन् भने निजको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

Add comment June 17th, 2011

प्रधानमन्त्रीले राजिनामा दिनुहुँदैन— मन्त्री महासेठ

एचकेनेपाल डट कम संवाददाता-
सिँचाइमन्त्री रघुवीर महासेठले नयाँ संविधानको मस्यौदा तयार नहुन्जेल प्रधानमन्त्रीले राजिनामा दिन नहुने बताउनुभएको छ।

नेकपा(एमाले) सम्बद्ध लोकतान्त्रिक मधेसी सङ्गठन बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री महासेठले राजिनामा दिएपछि सरकारविहीन अवस्थामा संविधानको मस्यौदा तयार हुननसक्ने भएकाले प्रधानमन्त्रीले राजिनामा दिन नहुने मन्त्री महासेठको भनाइ थियो।

सङ्गठनका केन्द्रीय अध्यक्ष महासेठले सरकार परिवर्तन तथा राजिनामाको कुरा गर्न मुख्य पार्टीका प्रमुख नेताले नचाहे पनि सरकारमा जान हतार भएका केही नेताले मात्र पाँचबुँदाको अपव्याख्या गरी बखेडा खडा गरिरहेको आरोप लगाउनुभयो।

आगामी भदौ १४ अगावै पाँचबुँदाभित्र गरिएका राष्ट्रिय सहमतिको सरकार, सेना समायोजनलगायत कुरा पुरा हुन नसक्ने भन्दै उहाँले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नहँुदै राजिनामाको कुरा अर्थहीन तर्क दिनुभयो।

Popularity: 9%

Add comment June 17th, 2011

बटालाकी श्रीमतीद्वारा सर्वोच्चमा रिट

एचकेनेपाल डट कम संवाददाता-
एउटै कसुरमा एनेकपा (माओवादी)का ब्रिगेड कमान्डर गोविन्दबहादुर बटाला विरुद्ध दुईवटा अभियोग लगाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोगमा चितवन जिल्ला अदालतको फैसला बमोजिम तीन वर्ष १५ दिन सजाय भुक्तान गरिसकेपछि अपहरणको मुद्दामा महानगरीय प्रहरीवृत्त बानेश्वरमा गैरकानुनीरूपले थुनामा राखी कारबाही गरिएको आरोप लगाउँदै निजकी श्रीमती सुनिताकुमारी गौतमले सो रिट दायर गर्नुभएको हो।

एउटा कसुरमा सजाय भुक्तान गरिसकेको व्यक्तिलाई सोही कसुरमा पुनः अपहरणको मुद्दा चलाइएकाले काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रलाई गैरकानुनी घोषित गर्न र आफ्ना पतिलाई तत्काल थुनामुक्त गर्न विपक्षीका नाममा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरिएको छ।

Popularity: 9%

Add comment June 17th, 2011

गाई काट्ने पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
गाईको मासु काट्दै गरेको अवस्थामा बाँके जिल्लाको पुरैनी गाविस–८ किङरियनपुरका बुधई किङ्घरिया थलामै पक्राउ परेका छन्।

पुरैनी–८ नजिक गाईको सुकुटी बनाउँदै गर्दा बुधईलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो।

सो घटनाका विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक पवन भट्टराईले बताउनुभयो।

Popularity: 9%

Add comment June 17th, 2011

मन परेको केटासँग बिहे गर्न नपाउँदा…

एचकेनेपाल डट कम संवाददाता-
आफूले मन पराएको केटासँग विवाह गर्न नपाउँदा आज बिहान १० बजे सप्तरीमा एक युवतीले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छन्।

आत्महत्या गर्न खोज्नेमा सप्तरी लालापट्टी गाविस–५ मा बस्दै आएकी खुसीलाल ठाकुरकी छोरी २१ वर्षीया महालक्ष्मी रहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

2 comments June 17th, 2011

दश वर्षमा दश करोड, चलेनन् गाडी

युवराज विवश / एचकेनेपाल डट कम-
दमक, झापको दमकबाट मेची अञ्चलका पहाडी जिल्लालाई जोड्ने छोटो दूरीको सडक फाल्गुनन्द सवारी साधन सञ्चालन हुन थालेको गएको चैतबाट १० वर्ष लाग्यो।

पूर्वाधार विकासका लागि गरेको खर्च पनि १० करोड रुपैयाँ नाघ्यो। तर अझै नियमित रुपमा सवारी साधन चल्न सकेका छैनन्।

झापाको दमकबाट पाँचथरको रवी जोड्ने फाल्गुननन्द मार्गमा पर्ने रतुवा खोला तर्दै यात्रुबाहक जीप। लगातारको झरीका कारण खोलामा बाढि आउँदा यस मार्गमा सवारी साधन चल्न छोडेका छन् । तस्विरः युवराज विवश / एचकेनेपाल डट कम-

मेची अञ्चलका पहाडी जिल्ला सँग झापाकेा छरितो सडक सम्पर्कका लागि यस मार्गको अवधारणा आएको थियो । तर धेरैजसो बाट रतुवा खोलाका किनार र पहाडी धरातल परेकाले अझै निर्माण कार्य सकिएको छैन। तत्कालिन भौतिक निर्माण मन्त्री नारायणसिँह पुनले २०५९ साल चैत २६ गते यस सडकको उद्याटन गरेका थिए। उद्घाटनका क्रममा केही विशिष्ट ब्यक्तिसहित निर्माण तथा उपभोक्ता समितिका पदाधिकारीहरुले दमक-रविको ४७ किलोमिटर यात्रा गरेका थिए। त्यसै गरी यात्रा गर्ने चाहना थियो, झापा, इलाम तथा पाँचथरका वासिन्दाको । तर त्यो चाहना कहिले पूरा हुने हो , अझै टुङ्गो छैन।

निर्माण तथा उपभोक्ता समितिले भने बृहत योजनामा सरकारबाट पर्याप्त सहयोग नपाउँदा निर्माण कार्यमा ढिलाई भएको जनाएको छ । समितिका अध्यक्ष सुरेश सुव्वाका अनुसार सो मार्गका बिभिन्न खण्डमा यस वर्ष सरकारबाट प्राप्त डेढ करोड रुपैयाँको लागतमा निर्माण कार्य भईरहेको छ । उनले भने-’ दमकको बेलडाँगीदेखि उत्तरमा साढे ५ किलोमिटर ग्राभेल भईरहेको छ, यसै गरि चुलाचुलीको चपेटीमा हृयुम पाईम राख्ने तथा शंकरे खोल्सामा कलभर्ट बनाई रहेका छौं।’ सरकारी बजेट बाहेक उपभोक्ताको लगानीमा समेत किनारामा मर्मत, वृक्षा रोपण लगायतका कार्य भई रहेको उनले जनाए । यसै गरि लाटी चोकको चारपहिरेमा गत आर्थिक वर्षबाट नै पक्कि पुल निर्माण भई रहेको छ। १ करोड ६८ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण भई रहेको सो पुल चालु आर्थिक वर्षमा नै पूरा गर्ने लक्ष्य राखिएको थियो तर ठेक्का सम्झौता पुष मसान्त सम्मको भएकाले तोकिएको समय सम्ममा सकिने उनले बताए। हालसम्म उपभोक्ताबाट ४० लाख रुपैयाँ भन्दा बढि खर्च भएको र सरकारी बजेटको तुलनामा सोबाट बढि काम भएको उनको तर्क छ।

२०६९ सालमा पूरा गर्ने लक्ष्यसहित निर्माण थालिएको सो सडक निर्माण कार्य सशष्त्र द्वन्दको समयमा रोकिदा निर्माणमा ढिलाई भएको हो। सो सडक निर्माणलाई तिब्रता दिन ५ करोड रुपैयाँको लागत स्टिमेट सरकार समक्ष पेश गरिएको अध्यक्ष सुब्बाले बताए । सो रकम प्राप्त भएमा निर्माण लक्ष्य प्राप्तिमा सहज हुने उनको भनाई छ । ४७ किलोमिटर मध्ये १२ किलोमिटरमा रतुवा खोला पर्ने भएकाले समेत सडक निर्माणमा ढिलाई भएको हो । हाल बाँझो गाविसको बाघमारामा ६ मिटर बाटो खोल्न बाँकी रहेकाले सो पनि चाँडै पूरा हुने बताईएको छ।

वर्षा लाग्न साथ सडक हिलाम्ये हुने गरेका कारण असार पहिलो साता बाटनै यात्रुवाहक सवारी साधन सञ्चालनमा कठिन हुने गरेको छ । पानी पर्न थालेपछि अन्दाजका भरमा गाडी चलाउनु पर्ने यातायात व्यवासायी तथा चालकहरु बताउँछन् । यस मार्गमा ट्याक्सी चलाउँदै आएका सन्तोष पाठकले भने-’खोलाका पानी धमिलिन थालेपछि बाटो नै देखिँदैन, जोखिम मोलेर अन्दाजका भरमा गाडी चलाउनु पर्छ ।’ वर्षायाम शुरु भएपछि यात्रुहरु समेत गाडीमा कममात्रै चढ्ने गरेको उनले बताए । वारम्वार हुने दुर्घटनाका कारण समेत यात्रुहरु गाडीमा चढ्नु भन्दा पैदल नै आउने-जाने गरेको उनले बताए।

Popularity: 9%

Add comment June 16th, 2011

पत्रकार आक्रमणका बिरुद्ध संचार सामाग्री प्रदर्शन

गण्डकी खबर/ एचकेनेपाल डट कम-
पोखरा, विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका बिरुद्ध नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीका संचारसामाग्री प्रदर्शन गरेको छ।

पत्रकारमाथि भएको आक्रमणबिरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशन अनुरुप कास्की शाखाले संचारसामाग्री प्रदर्शनसहित धर्ना समेत दिएको छ।

शाखाका अध्यक्ष बद्रीबिनोद प्रतिकको नेतृत्वमा महासंघको कार्यालयदेखि जिल्ला प्रशासनसम्म र्‍याली सहित पुगेको टोलीले धर्नासहित संचार सामाग्री प्रदर्शन गरेको हो।

संचारसामाग्री प्रदर्शनपछि आयोजित कार्यक्रममा शाखाका अध्यक्ष प्रतिकले पत्रकारमाथिको दमनलाई राष्ट्रिय रुपमा बिरोध जारी रहेको जनाउँदै, यस्ता कृयाकलापका बिरुद्धमा महासंघ सँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरुमाथि हुने आक्रमणलाई लोकतन्त्र माथिको दमन भन्नुभयो।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ले पत्रकारमाथि बिभिन्न चरणमा हुने आक्रमणबाट पत्रकारहरु समाज बदल्न चुप लागेर नबस्ने चेतावनी दिँदै उहाँले ढकालमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ।

कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्माले ढकालमाथि जुन सुकै समूह वा दलले गरेको भएपनि तत्काल कारवाही गर्न माग गर्दै यस्ता हर्कत आगामी दिनमा नगर्न सम्वन्धित निकायलाई चेतावनी समेत दिनुभएको छ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पूण्य पौडेल, महासंघ कास्की उपसभापति राजबहादुर गुरुङ, प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल, आदीवासी जनजाति पत्रकार संघका अध्यक्ष हुमबहादुर गुरुङ, साप्मा नेपालका इश्वरी न्यौपाने, प्रेस चौतारीका अध्यक्ष श्रीराम सिग्देल, संचाररिका समूहका शुष्मा पौडेल, क्रियाशिल महिला पत्रकार समूहका रिता गुरुङ, अधिकारकर्मीहरु टेकनाथ बराल, खगराज आचार्य, कार्यवहाक सचिव बिभु भुषाल लगायतले पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेका छन्।

महासंघको केन्द्रीय परिपत्र अनुसार असार २ गते सम्पादकहरुसंग अन्तक्रिया, ३ गते ट्रेड युनियनहरुसंग अन्तक्रिया र ४ गते जिल्ला प्रशासन कार्यालय कास्की घेराउ कार्यक्रम रहेको महासंघ कास्कीले जानकारी दिएको छ।

Popularity: 9%

Add comment June 15th, 2011

पत्रकारमाथिको सांघातिक हमलाको हङकङबाट विरोध

देवराज राई / एचकेनेपाल डट कम -
नागरिक दैनिकका सम्वाददाता खिलनाथ ढकालमाथि भएको सांघातिक हमलाको नेपाल पत्रकार संघ हङकङले विरोध जनाएको छ। (more…)

Popularity: 9%

Add comment June 15th, 2011

प्रधानमन्त्रीले राजिनामा नदिएसम्म संविधानको काम बढ्दैन

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिएसम्म शान्ति र संविधान लेखनको कार्य अगाडि बढ्न नसक्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा सभापति आचार्यले प्रधानमन्त्री खनालले राजिनामा दिएर सहमतिको सरकार नबनेसम्म शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोधहरु आई रहने दावी गरे। उनले दावी गर्दै भने-सत्ता साझेदारमा सहमति भए सबै कुरा मिलेर जान्छ।

कार्यक्रममा शान्ति, संविधान र सहमतिको सरकार एक अर्कासँग अन्तर सम्बन्धित भएकोले पनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने उनको तर्क थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको संविधान संसोधन प्रस्ताव पारित भएकोले पनि काग्रेसले त्यसको नेतृत्व गर्नु पर्ने भन्दै उनले भने-संविधान संसोधन प्रस्ताव प्रमुख प्रतिपक्षीको पारित भयो तर सरकार पुरानै भएकोले अहिले समस्या उत्पन्न भएको हो।

उनको तर्क थियो -राष्ट्रिय सहमतिको सरकार अहिलेको पहिलो आवश्यकता हो तर त्यसमा खासै प्रगति हुन नसकेकोले समस्या उत्पन्न भएको छ । त्यसैले सहमतिको सरकारकोलागी प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्छ।

Popularity: 9%

Add comment June 15th, 2011

नलिना चित्रकारले कोलोराडोबासीहरुलाई नँचाईन्

आचार्य प्रभा/ एचकेनेपाल डट कम-
डेन्भर (कोलोराडो) , गर्मी यामको सुखद मौसममा कोलोराडोमा फेरि एउटा सांगीतिक खुराक पस्केर गायिका नलिना चित्रकारले सबैलाई शितलताको आभास दिलाईन्।
नेपाली तथा इन्डियन खानाको परिकार पाक्ने “बम्बै प्यालेस” रेष्टुरेण्टको मञ्चमा आइतवार साँझ नलिनाले सबै दर्शक वा श्रोताहरुलाई मस्त बनाएर झुलाइदिएकी थिइन्।

उनका सबै गीतहरु पुराना नै भए पनि सदाबहार लाग्ने गीतहरु साँच्चै नै मनोरञ्नात्मक लाग्दछन्। बुढा,पाका,जवान,बच्चा जो कोही होस् सबै लट्ठिएर नाँच्न तयार हुन्छन्। कार्यक्रमको श्री गणेश नेपाली लोकधुनबाट भएको थियो। धुनले सबै श्रोताहरुलाई मौन र लट्ठ बनाएको थियो। पुराना गीतहरुका धुनहरु सुनाउँने क्रममा बाँसुरीमा सुरेश चन्द्र प्रधान,मादलमा सुरेन्द्र महर्जन र इफेक्टमा पूर्ण डङ्गोल थिए।

कार्यक्रमकै बिहान गायिका नलिना र कार्यक्रम ब्यवस्थापक सुरेश चन्द्र प्रधानकी श्रीमती उषा अचानक दुर्घटनामा परेका थिए। यो खबरले सबै श्रोताहरु एकपटक निरश बनेका थिए। तापानि नलिनाको त्यो साहसिक र सहन सक्ने शक्तिले उक्त घटनालाई बिर्सेंर गायिकाले सारा दर्शक श्रोतालाई आशाबादी बनाईन् । नेपाली कला संस्कृतिको खडेरी परिरहेको बिदेशी भूमिमा यसरी समय समयमा नेपालबाट कलाकारहरु आएर यहाँका काकाकुल झैं तृषित नेपाली मनहरुलाई तृष्णा मेटाइदिनुमा पनि कलाकारहरुप्रति यी मनहरु अनुग्रिहित बन्ने गर्दछन्।

कार्यक्रममा अन्य कलाकारहरु नीलम श्रेष्ठ,सरोज दत्त,क्रिष्ण मुरारी ढुङेलले पनि नलिनालाई उत्साह दिन सहयोग गरेका थिए।

Popularity: 9%

Add comment June 15th, 2011

रेडियो अन्नपूर्णबाट मगर भाषामा समाचार

रूद्र श्रीस मगर/ एचकेनेपाल डट कम-
पोखरा, पोखराको लोकप्रिय रेडियोका रूपमा स्थापित रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले पनि मगर भाषामा समाचार प्रसारण सुरू गरेको छ।

बुधवारदेखि मगर भाषामा समाचार प्रसारण सुरू गरेको उक्त रेडियोले यसअघि नेपाली, नेवारी र गुरूङ गरी तीन भाषामा समाचार प्रसारण गर्दै आएको थियो।

पोखरा र पोखरा आसपासका स्याङ्जा, तनहूँलगायतका जिल्लाका मगर मातृभाषी श्रोतालाई लक्षित गरी मगर भाषामा समाचार प्रसारण सुरू गरिएको रेडियोले जनाएको छ।

मगर भाषाको समाचार वाचनका लागि सञ्चारकर्मीद्वय मीना थापा मगर र रूद्र श्रीस मगरले जिम्मेवारी पाएका छन्।

Popularity: 9%

1 comment June 15th, 2011

बैँकबाट पैसा ननिकाल्न राष्ट्र बैंकको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय प्रणालीमा समग्रतामा ठूलो समस्या नरहेको भन्दै बैँकहरुबाट पैसा ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

विगतका महिनाहरुमा धमाधम बैँक तथा वित्तीय संस्थाहरुमा समस्या देख्‍न थालेपछि सर्वसाधारण आतंकित हुन पुगेका छन्।

केही संस्थाहरूमा देखिएको तरलताको अल्पकालीन समस्यालाई राष्ट्र बैंकले पुनर्कर्जा, विशेष पुनर्कर्जा, रिपो तथा अन्तिम ऋणदाता कर्जाअन्तर्गत समाधान गरिहेको हुँदा सबै निक्षेपकर्ताले नियमित रुपमा आ–आफ्नो बैंक वा वित्तीय संस्थासँग यथावत् कारोबार गरिहन सबैलाई आग्रह गरेको छ।

Popularity: 9%

Add comment June 15th, 2011

सडक दुर्घटना कम गर्न प्रजिअद्वारा हवन

एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफू कार्यरत जिल्ला र छिमेकी जिल्लामा शान्तिसुरक्षा र सडक दुर्घटनामा न्यूनीकरण गर्ने उद्देश्यका साथ शान्तिस्वस्ती, हवन र लघु रुद्री सञ्चालन गरी दिनभर हवन गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले बिपी (बनेपा–सिन्धुली–बर्दिबास) राजमार्गमा दुर्घटना नहोस् र जिल्लामा शान्ति सुव्यवस्था कायम होस् भनी त्यस्तो हवन गर्नुभएको हो।

पछिल्लो समयमा सो राजमार्गमा भएको सडक दुर्घटनामा २० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

Popularity: 9%

1 comment June 15th, 2011

संविधान नबने अन्तर्राष्ट्रिय हस्तक्षेप हुने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संविधानसभाको पछिल्लो समय थपिएको म्याद भदौ १४ मा पनि नयाँ नेपालको संविधान आउन नसके देशमा वैदेशिक हस्तक्षेप हुनसक्ने सम्भावना बढेको औँल्याउनुभएको छ।

नेपाल साना व्यवसायी सङ्घ केन्द्रीय समिति सुनसरीको सातौँ अधिवेशनको उद्घाटन गर्न आइपुग्नुभएका सहअध्यक्ष डा लोहनीले ठूला राजनीतिक दलहरूबीचका झैझगडा र आपसी बेमेलका कारण संविधान निर्माण कार्य ओझेलमा परिरहेको बताउनुभयो।

देशलाई नयाँ संविधान दिई राज्यको पुनःसंरचना गर्ने मुल मुद्दा बिर्सिएर सत्ताकेन्द्रित राजनीति हाबी भएको र माओवादी लडाकु समायोजन एवम् पुनर्स्थापना गर्ने कार्यले गति लिन नसक्दा मुल विषय ओझेलमा परिरहेको पनि सहअध्यक्ष डा लोहनीको भनाइ रहेको थियो।

Popularity: 9%

1 comment June 15th, 2011

प्रधानमन्त्रीको राजीनामा आउँदैन–सञ्चारमन्त्री सापकोटा

एचकेनेपाल डट कम संवाददाता-
सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले सरकार गठनको भरपर्दो आधार तयार नहुँदासम्म प्रधानमन्त्रीको राजीनामा सम्भव नहुने बताउनुभएको छ।

मन्त्रालयको आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री सापकोटाले राष्ट्रिय सहमतिका आधारमा नयाँ सरकार बन्ने निश्चित हुनासाथ प्रधानमन्त्रीको राजीनामा आउने स्पष्ट पार्नुभयो।

उहाँले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ भन्नेहरूलाई छिटोभन्दा छिटो सहमतिको आधार तयार पार्न आग्रह गर्नुभयो।

व्यवस्थापिका–संसदको करिब दुई तिहाई सदस्यको समर्थन रहेको वर्तमान सरकारलाई कामचलाउको सङ्ज्ञा दिई सरकारको दैनिक काममा बाधा–व्यवधान खडा गर्ने चेष्टा भइरहेकामा आपत्ति प्रकट गर्दै सञ्चारमन्त्री सापकोटाले अफवाह फैलाएर राज्यलाई अस्तव्यस्त बनाउने षड्यन्त्रप्रति समयमै सचेत हुनुपर्छ भन्नुभयो।

सेना समायोजन र संविधान लेखन कार्य एउटै सिक्काका दुई पाटा भएको बताउँदै उहाँले थप्नुभयो– ‘संविधान लेखन दाहिने खुट्टा हो भने सेना समायोजन देब्रे खुट्टा हो।’

Popularity: 9%

Add comment June 15th, 2011

प्रधानमन्त्री कुरेको कुर्‍यै, माओवादी आएन

एचकेनेपाल डट कम संवाददाता-
एमाओवादी लडाकूको देखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको बैठक एनेकपा (माओवादी)का सदस्यहरूको अनुपस्थितिका कारण स्थगित भएको छ।

नयाँबानेश्वरस्थित समितिको कार्यालयमा अपराह्न ५ बजेका लागि निर्धारित बैठकमा भाग लिन सो समितिका अध्यक्ष प्रधानमन्त्री झलनाथ खनाल एकघण्टाभन्दा बढी समसयसम्म एमाओवादी प्रतिनिधिको प्रतिक्षामा बस्नुभएको थियो।

समितिको अर्को बैठक अगामी असार २ गते बिहीबार बस्नेछ।

Popularity: 9%

Add comment June 15th, 2011

सिन्धुपाल्चोकवासीलाई धीरजले नचाए

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
सिङ्गापुर, ब्रुनाई हुँदै मलेसिया र कुवेत अनि भोजपुर, ककनीदेखि टिस्टुङ्ग हुँदै यसपाली भने सिन्धुपाल्चोकवासीलाई धीरजले नचाएका छन्।

उनको नयाँ एल्बम “ट्वेन्टी इयर्स” को सफलतासँगै शुरुवात भएको उनको साँगीतिक भ्रमणको सिलसिला ‘कोइलीदेवी’ पुरस्कार पाइसकेपछि भने झन् बढ्दो छ।

‘कि बाँच्न देउ’ बोलको गीत गाएर शुरु गरेका उनले हलभरिका सबै दर्शकहरुलाई नाँच्न बाध्य पारे । के बच्चा, के बुढा सबैले एकैचोटी तालमा ताल मिलाउँदा हलको तापक्रम अत्यन्त बढ्न पुग्यो तर नाच थामिएन। “आज फेरि कतिवटा कुर्सी भाँचिने भयो !” राष्ट्रिय सभागृह हलका कर्मचारी भन्दै थिए । ‘नेपाली माइकल ज्याक्सन’ नामले चिनिने गायक धीरजले “सेक इट बेबी”, “तिमी रुँदा एक्लै हुँदा”, “सोइ ढोले सोइ”, “तिम्रा नयन तिम्रा अधर” लगायतका गीतहरु गाएर दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिए।

सिन्धु मिलन केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा गायक/गायिका प्रेमध्वज प्रधान, सुनिता दुलाल, संगीतकार चेतन सापकोटा तथा कलाकारहरु श्रीकृष्ण श्रेष्ठ, जीतु नेपाल, गोपाल नेपाल, देवीराम पराजुली लगायतका व्यक्तित्वहरुलाई कलाक्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान पनि गरियो। सम्मानित कलाकारहरुलाई सिन्धुपाल्चोककै सूचना तथा संचार मन्त्री अग्नी सापकोटाले दोसल्ला ओढाई ताम्रपत्र दिएका थिए।

Popularity: 8%

Add comment June 14th, 2011

माओवादीभित्र विष्फोटको खतरा

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, एकीकृत नेकपा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले पार्टीभित्र लामो समयदेखि पार्टीमा निर्वाचित नेतृत्व नहुनु र पार्टीको आर्थिक कारोवार पारदर्शी नहुनुले पार्टीमा ठूलो विष्फोटको खतरा रहेको बताएका छन्।

पछिल्लो समयमा देखिएको बैचारिक संघर्ष स्वभाविक भए पनि त्यसलाई राम्ररी हेण्डल गर्न नसके पार्टी फुटमा जाने दावी गर्दै २० वर्षदेखि महाधिवेशन नहुँदा र आर्थिक कारोवार पारदर्शी नहुँदा पार्टीभित्र विचलन आएको उनको दावी थियो। उनले भने-अहिलेको विवादको समाधान तत्काल नगर्ने हो भने माओवादी भित्र ठूलो विष्फोट हुन्छ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचित नेतृत्व हुने हो र आर्थिक प्रणाली पारदर्शी हुने हो भने पार्टभित्र देखिएका सबै बैचारिक संघर्षको ब्यवस्थापन हुने उनको तर्क थियो।

उनले भने-२० वर्षदेखि निर्वाचन भएको छैन । कसको हैसियत के भन्ने थाहा छैन। आर्थिक कारोवारहरु सबै अपरादर्शी छ । त्यसैले पार्टीभित्र असन्तुष्टि बढेर गएको हो। कार्कीले तत्काल जिल्ला अधिवेशनहरु सुरु गर्नु पर्ने माग पनि साक्षात्कारमा गरे।

उनको दावी थियो-आर्थिक परादर्शिता भईदिएको र निर्वाचित नेतृत्व भई दिएको भए अहिलेको विवाद कुनै पनि हालतमा उठ्ने वाला थिएन। पार्टीका प्रभावशाली नेताहरुको जीवन शैली शान्ति प्रक्रियामा आइसकेपछि अस्वभाविक रुपमा माथि गएको दावी गर्दै त्यसलाई छिट्टै सुधार गरेर अगाडि बढ्नु पर्ने तर्क गरे। उनले भने-नेताहरुको जीवन शैली सुधार नगर्ने अवस्थामा त पुगेको छैन। तर छिट्टो सुधार गर्नु पर्छ।

Popularity: 7%

Add comment June 14th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2011
M T W T F S S
« May   Jul »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....