Archive for June 9th, 2011

‘अँगालो यो मायाको’ प्रदर्शनका लागि तयार

‘अँगालो यो मायाको’ प्रदर्शनका लागि तयार
राजधानीमा पत्रकार सम्मेलन

एचकेनेपाल डट कम अफिसियल मिडिया पार्टनर-
इन्डियन आइडल गायक तथा नायक प्रशान्त तामाङको दोस्रो नेपाली फिल्म ‘अँगालो यो मायाको’ प्रदर्शनका लागि तयार भएको छ। जेष्ठ २६ गते विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा असार १० गतेबाट नेपालका हलहरुमा यो चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ। सम्मेलनमा निर्माता किशोर दुङमाली राईले समाजलाई जागृत गर्ने र जनचेतना समेत छर्ने उद्धेश्यले चलचित्र बनाएको बताउँदै भन्नुभयो “चेतनामूलक विषयवस्तुमा बनेको फिल्म भएकाले यो फिल्म समाजका लागि राम्रो उपहार हुने ठानेको छु।” यस फिल्मको प्रदर्शनले नेपाली चलचित्र उद्योगमा सिक्कीमेली निर्माताहरुका लागी ढोका खुल्ला गरेको उहाँले बताउनुभयो।

पहिलो फिल्मको सफलताबाट हौसिएका नायक तथा गायक दोस्रो फिल्म ‘अँगालो यो मायाको’ ले पनि सफलताको शिखर चुम्नेमा विश्वस्त छन्। पहिलोमा लाहुरे बनेको र यस चलचित्रमा शहरीया आधुनिक युवाको फरक भूमिका गर्न पाएको बताउँदै प्रशान्त भन्छन् “पहिलो फिल्म गर्दा अभिनयको पनि धेरै ज्ञान थिएन तर अँगालो यो मायाको’ मा मेरो अभिनय अझ खारिएको पाउनुहुनेछ।”

सिनाइ कमर्सियल प्रा.लि.को ब्यानरमा बनेको नेपाली सामाजिक चलचित्र ‘अँगालो यो मायाको’ ले बाबुआमाले समय दिन नसक्दा कुलतमा फँसेका छोराछोरी, समाजमा विद्यमान छोरा र छोरीबीचको विभदेसँगै आजका तन्नेरी पुस्ताको भावना आदानप्रदानलाई समेटेको छ। राधा थापाको प्रस्तुति रहेको फिल्मको निर्देशन विनोद सेरेङले गरेका हुन्। फिल्ममा प्रशान्तसँगै मुख्य भूमिकामा नयाँ नायिका हर्षिका श्रेष्ठले अभिनय गरेकी छिन्। राजधानीका धेरै र्‍याम्प मोडलिङ र म्युजिक भिडियोहरूमा देखापरिसकेकी हर्षिकाको यो पहिलो फिल्म हो।

फिल्मबाटै सिक्किमका कलाकार विजेता बराइली र महेन्द्र गुरुङले सहनायिका तथा सहनायकका रूपमा ‘डेब्यु’ गर्दैछन् । अन्य कलाकारहरूमा प्रेम सुब्बा, महेन्द्र बागदाश, महेन्द्र बजगाईं, चुनीलाल घिमिरे, हेमन्त गिरी, सन्ध्या सुन्दाश, पन्नु गजमेर, अमर बानियाँ आदि रहेका छन् । फिल्ममा प्रशान्त लागूऔषधका दुर्व्यसनी र असल प्रेमी गरी दुइ फरक भूमिकामा देखा परेका छन् भने नायिका हर्षिकाले एक मध्यमवर्गीय परिवारकी छोरी र सामाजिक रूपमा सचेत युवतीको भूमिकामा अभिनय गरेकी छिन्।

निर्देशक विनोद सेरेङकै पटकथा, स्वर्गीय देवीमाया राईको कथा, इनोस गुरुङको संवाद, युवराज राईको छायाङ्कन, इजाक क्षेत्रीको सङ्गीत, गोविन्द राईको नृत्य, विपिन मल्लको सम्पादन, रत्न देवलाको द्वन्द्व, मेनुका दुङमाली राईको प्रोडक्सन डिजाइनर, विक्की राईको भेषशभूषा रहेको छ।

नेपाली नयाँ वर्षको सुरुवात वैशाखको पहिलो सातामा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको विशेष उपस्थितिमा गान्तोकको बज्र हलमा प्रिमियर शो भएको थियो। तेस्रो इन्डियन आइडलमा प्रशान्तका प्रतिस्पर्धी तथा बलिउडका कलाकार मियाङ चाङको समेत उपस्थितिमा सम्पन्न पहिलो प्रदर्शनपछि सिक्किम र दार्जीलिङमा सफलताका साथ प्रदर्शन भएको ‘अँगालो यो मायाको’ लाई दर्शकले औधि मन पराएका छन्।

निर्माता किशोर दुङमालीका अनुसार दार्जीलिङमा लगातार ६ हप्तादेखि फिल्म प्रदर्शन भइरहेको छ । नेपालमा भने यही असार १० गतेबाट देशभरका हलहरूमा प्रदर्शन हुने तय भएको छ। अहिले डिजिटल सिनेमा नेपाल (डीसीएन) स्याटालाइट सिस्टमबाट अधिराज्यका ३ दर्जनभन्दा बढी हलहरूमा प्रदर्शनको तयारीमा निर्माण पक्ष जुटेको छ।

प्रशान्त तामाङको पहिलो नेपाली फिल्म ‘गोर्खा पल्टन’ ले पाएको जस्तै सफलता ‘अँगालो यो मायाको’ ले पनि पाउने कुरामा निर्माता किशोर दुङ्गमाली र निर्देशक विनोद सेरेङ ढुक्क छन्। सिलिगुडी, सिक्किम र दार्जीलिङमा भएको सफल प्रदर्शनका साथ राम्रो व्यापार गरेकाले पनि निर्देशक विनोद सेरेङ फिल्मबाट निक्कै आशावादी रहेको बताउँछन्।

भिडियोः

Recent Videos:

Popularity: 9%

1 comment June 9th, 2011

पत्रकारहरुको अवस्था युद्धमा भन्दा पनि खतरनाकः सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, सूचना तथा सञ्चारमन्त्री अग्नी सापकोटाले नेपालमा श्रमजीवि पत्रकारहरुको अवस्था युद्धकालमा भन्दा पनि खतरनाक रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीवार आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले अहिले जस्तो पत्रकार माथिको ऋंखलाबद्ध आक्रमण यूद्धकालमा पनि नभएको दावी गरे।

पत्रकारहरु आर्थिक र भैतिक दुबै हिसावमा दयनीय अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री सापकोटाले पत्रकारमाथि आक्रमण गर्ने जुन सुकै पार्टी वा संगठनको भए पनि उन्मुक्ति नपाउने चेतावनी दिए। उनले भने-जुन पार्टीको भए पनि कारवाही हुन्छ । कसैले उन्मुक्ति पाउँदैन।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सापकोटाले आफूले पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्नेलाई पक्राउ गरी कारवाही गराउने विषयमा गृहमन्त्रीसँग बारम्बार छलफल गरिरहेको जानकारी दिदै आवश्यक परे प्रधानमन्त्रीसँग पनि छलफल गर्ने प्रतिबद्धता ब्यक्त गरे।

विराटनगरमा यूथफोर्सका कार्यकर्ताद्धारा मरणासन्न हुने गरी कुटिएका नागरिक दैनिकका संबाददाता खिलानाथ ढकाललाई भेट्ने जानकारी दिदै आफ्नो प्रेस सल्लाहकारलाई पनि यो विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिईसकेको बताए।

सञ्चारमन्त्री सापकोटाले किन पत्रकारमाथि बारम्बार आक्रमण हुन्छ भन्ने विषयमा बृहत छानविन गरेर त्यसको न्यूनीकरणको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पत्रकार आक्रमणमा संलग्नलाई कुनै पनि हालतमा नछाडिने बताए।

Recent Videos:

Popularity: 9%

Add comment June 9th, 2011

पत्रिकाको कार्यालयमा तोडफोड

एचकेनेपाल डट कम संवाददाता-
आफ्नो समाचार नछापिएको भन्दै पत्रपत्रिकाको कार्यालय तोडफोड र धम्की दिनेजस्ता कार्यमा संलग्न किराँत याक्ख्या छुम्माका धरान नगर अध्यक्ष भुवन याक्ख्यालाई प्रहरीले पक्राउ गरेको छ।

छुम्माका नगर अध्यक्ष भुवनले नेपाली समाचारपत्र र ब्लाष्ट टाइम्सलगायतका पत्रिकामा आफूहरूले गरेका कार्यक्रमका समाचार नछापिएको भन्दै कार्यालयमा नै गएर धम्क्याएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यसैबीच याक्ख्या छुम्माको गरिमामा आँच आउने कार्य गरेको भन्दै याक्ख्या छुम्माले भुवनलाई नगर अध्यक्षबाट निष्काशन गरेको छुम्माका नेता गोपाल देवानले जानकारी दिनुभयो।

केही समयदेखि भुवनले छुम्माकै बदनाम हुने कार्य गर्दै आएको र पछिल्लो समयमा सञ्चारमाध्यममाथि धावा बोल्न थालेकाले निष्काशन गर्नुपरेको बताइएको छ।

Recent Videos:

Popularity: 9%

Add comment June 9th, 2011

टुहुरी आफन्तलाई ठगी गर्नेहरुलाई कैद र जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
जिल्ला अदालत सप्तरीले टुहुरी आफन्तलाई ठगी गर्ने आरोपीलाई कैद र जरिवाना गरेको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलाशले मुख्य अभियुक्त विषहरिया–१ का रामकुमार यादवलाई तीन वर्ष कैद र रु चार लाख ९९ हजार जरिवाना गरेको हो।

ठगीमा संलग्न अन्य आठ जनालाई कैद सजाय र जरिवाना तोकेको सप्तरी जिल्ला अदालतले जानकारी दिएको छ।

फैसलामा बलराम यादवलाई एक वर्ष कैद, मनिताकुमारी यादवलाई एक महिना कैद, कपुरदेवी र चन्द्रिकादेवीलाई सात/सात दिन कैद सजाय सुनाइएको छ।

ठगीमा सहयोग गर्ने सूर्यनारायण यादव, लक्ष्मण यादव र मुगालाल यादवलाई पाँच/पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ।

Popularity: 9%

Add comment June 9th, 2011

दुई सभासद भएको दल दुई टुक्रा

एचकेनेपाल डट कम संवाददाता-
दुईजना सभासद् रहेको नेपाली जनता दल पनि विभाजित भएको छ। पार्टीकी सभासद् गायत्री साह रातो पासपोर्ट बिक्रीलगायत भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको भन्दै सोही पार्टीका संविधानसभा सदस्य विश्वनाथ अग्रवालले जनता दल युनाइटेड गठन गरेका हुन्।

दल विभाजनसम्बन्धी जानकारी सभामुख समक्ष प्रस्तुत गरेको अग्रवालले बताउनुभयो।

जनता दलको यो विभाजनसँगै व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० पुगेको छ।

Popularity: 9%

Add comment June 9th, 2011

प्रमाण पाए नेतालाई पनि मुद्दा हालिनेः अख्तियार

एचकेनेपाल डट कम संवाददाता-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि भ्रष्टाचारको विषयमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएको भन्ने आरोपको खण्डन गरेको छ।

आयोगले पत्रकार सम्मेलन गरेर राजनीतिक दलका नेताले भ्रष्टाचार गरेको प्रमाण भेटिएमा उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइने स्पष्ट गरेको हो।

सुडान घोटाला प्रकरणमा आवश्यक परे फेरि पनि अनुसन्धान हुनसक्ने जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेले भन्नुभयो– ‘हामीले सबै फाइल झिकाएर अध्ययन गर्दा राजनीतिक नेतृत्वको कतै संलग्नता देखिएन, त्यसैले मुद्दा दायर गरेनौँ।’

सुडान घोटाला प्रकरणमा नेपाल प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरीहरूमाथि मात्र विशेष अदालतमा मुद्दा दायर भएपछि चौतर्फी आलोचना खेपेको आयोगले सो आरोपको खण्डन गरेको हो।

मुद्दा अदालतमा जानुपर्छ तर हाम्रो मान्छे पर्न हुँदैन भन्नेसम्मको दबाब आएको बताउँदै सचिव काफ्लेले आफूहरू राजनीतिक नेतृत्वको दवाबबिना यो घोटाला हुन नसक्ने अवस्थाको अनुमान गर्दागर्दै पनि प्रमाण नपाउँदासम्म मुद्दा दायर गर्न सक्ने अवस्था नरहेको बताउनुभयो। ।

प्रमाण फेला परे कुनै पनि समय मुद्दा दायर गर्न सकिने व्यवस्था विशेष अदालत ऐनमा रहेको बताउँदै सचिव काफ्लेले भन्नुभयो– भोलि कसैले पोल गरे त्यसको आधारमा पनि फेरि अनुसन्धान हुनसक्छ।

आयोगका अनुसन्धान अधिकृत डिल्लीरमण आचार्यले हस्ताक्षर मात्र भएका आधारमा १३ जनालाई साक्षीका रुपमा मुद्दा दायर गरिएको बताउनुभयो।

प्रहरीका उच्च ओहोदाका पदाधिकारीसँगै ३६ जना विरुद्ध भ्रष्टाचारको आरोपमा आयोगले हिजो मात्र विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

संसदको राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दबाबबिना भ्रष्टाचार हुन नसक्ने तर अख्तियारले तिनीहरूलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

Popularity: 9%

Add comment June 9th, 2011

राजनीतिक नेतृत्वमै सुडान काण्डः उपप्रधानमन्त्री यादव

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, उपप्रधानएवम परराष्ट्रमन्त्री उपेन्द्र यादवले राजनीतिक नेतृत्वको संरक्षणमै सुडान घोटाला काण्ड भएको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल मोरङ्ग शाखालले विहीबार विराटनगरमा गरेको साक्षात्कारमा बोल्दै यादवले कर्मचारीलाई मात्रै कारवाही गरेर राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने कामप्रति असन्तुष्टि प्रकट गरे।

साक्षात्कारमा उनले सरकारले यो विषयमा फेरि छानविन गरेर राजनीतिक संरक्षण दिनेलाई पनि कारवाहीको भागीदारी बनाउने जानकारी दिए।

उनले भने-कर्मचारीलाई मात्रै कारवाही गरेर राजनीतिक नेतृतवलाई उन्मुक्ती दिने काम ठीक होईन। राजनीतिक नेतृत्वकै प्रत्यक्ष संलग्नतामा सुडान घोटाला भएको हो भन्ने कुरा स्पष्ट छ।

प्रधानमन्त्री झलनाथ खनालले कसैले माग्दैमा राजिनामा नदिने दावी गर्दै यादवले शान्ति र संविधान सुनिश्चित हुने अवस्थामा राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीको नाममा सहमति बनेपछि मात्रै प्रधानमन्त्रीले राजिनामा दिने दावी गरे। उनले सहमति विना प्रधानमन्त्रीले राजिनामा दिंदा विगत जस्तै मुलुकमा फेरि एक पटक अस्थिरता आउने भन्दै कुनै पनि हालतमा अहिले राजिनामा दिएर मुलुकमा अस्थिरता आउन नदिने दृढता ब्यक्त गरे।

Popularity: 9%

Add comment June 9th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2011
M T W T F S S
« May   Jul »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....