Archive for July, 2011

मिशन ‘मिस नेपाल’ (+Photo)

सौरभ श्रेष्ठ /एचकेनेपाल डट कम-
धरान, आगामी भदौ १३ गते मिस नेपाल सदीक्षा श्रेष्ठले यस वर्षकी मिस नेपाललाई क्राउन लगाइदिनेछिन् र विधिवतरूपमा ‘मिस नेपाल २०११’ को घोषणा हुनेछ।

मिस नेपाल सदीक्षा श्रेष्ठको हातबाट मिस नेपालको क्राउन लगाउने सपनालाई विपना बनाउन यस वर्षकी मिस पूर्वाञ्चल प्रतिभा श्रेष्ठ आफूलाई भित्रैदेखि तयार गरिरहेकी छन्। धरान-११ की स्थायी बासिन्दा प्रतिभा समग्र पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै मिस पूर्वाञ्चलबाट मिस नेपाल हुने दृढ आकांक्षा राख्छिन्। भन्छिन्, ‘म ओभर कन्फिडेन्ट त छैन तर पनि मेरो आत्मविश्वास, योग्यता, परिश्रम र दृढ आकांक्षा नै मिस नेपालको लागि आफू पर्फेक्ट छु भन्ने आधारहरु हुन्।’

गृहिणी आमा सुमित्रा श्रेष्ठ र ब्रिटिश गोरखा धरानका जागिरे बाबु कृष्ण श्रेष्ठकी एक मात्र छोरी र दुइ दाजुकी कान्छी बहिनी प्रतिभा बीबीए पढ्दैछिन्। पढाइलाई निक्कै महत्वपूर्ण ठान्ने प्रतिभा भविष्यमा बिजनेश अधिकृत बन्ने चाहना राख्छिन्। साथै फेसन तथा मोडलिङप्रति पनि उत्ति नै आकषिर्त छिन्। यही आकर्षणले नै उनी मिस पूर्वाञ्चलमा भाग लिन पुगिन् र जितिन् पनि।

परिवारको सद्भाव र सहयोग पनि आफ्नो सफलताको अर्को मुख्य सूत्र रहेको बताउने प्रतिभा राजनीतिक खिचातानीमा पनि उत्तिकै चाख राख्छिन्। दैनिकजसो पत्रपत्रिका पढ्ने उनी राजनीतिक अर्न्तसंघर्ष तुरुन्त बन्द भएर छिट्टै नयाँ संविधान बनेर शान्ति छाओस् भन्ने कामना गर्छिन्। जीवनलाई एक सुन्दर सपना मान्ने प्रतिभा जिन्दगीका उतारचढावमा आफ्नो भूमिकालाई सधैँ मेन्टेन गर्नसक्ने क्षमता राख्नुपर्ने बताउँछिन्।

सौन्दर्य प्रतियोगिताले नारीहरुको चीरहरण गर्ने नभई उनीहरुलाई आत्मविश्वासी र स्वाबलम्बी बनाउने भर्‍याङको काम गर्ने उनको ठम्याइ छ। मिस पूर्वाञ्चलमा सहभागी भएर आफ्नो व्यक्तित्व र आत्मविश्वासमा निखार आएको र आफूमा थुप्रै सकारात्मक परिवर्तन आएको भन्न उनी छुटाउँदिनन्।

भर्खरै १९ वर्ष लागेकी ५ फिट ५ इञ्च अग्ली प्रतिभा मिस नेपालको तयारीका लागि काठमाडौं गएकीछिन्। मिस पूर्वाञ्चलको क्राउन थापेकी प्रतिभा अडिसनविना सिधै मिस नेपालको फाइनलमा भाग लिँदैछिन्।

अहिले भने उनी मिस नेपालको लागि गर्नुपर्ने अन्य तयारीका लागि पत्रपत्रिका, किताबहरुको अध्ययन तथा विज्ञहरुसँग भलाकुसारीमा व्यस्त छिन्। साउन २० गते सुरु हुने मिस नेपालको ‘क्लोज क्याम्प’ हुँदै भदौ १३ गते हुने फाइनल प्रतियोगिताबाट मिस नेपालको रुपमा पूर्वकी सुन्दरी प्रतिभा छानिउन् भन्ने हाम्रो पनि कामना छ।

मिस नेपालमा हालसम्म पूर्वको धरानबाट समर ९७ की विजेता योगिता प्रधान, मिस कोशीकी विजेता कृति श्रेष्ठ र मिस पूर्वाञ्चल २०१० की फर्स्ट रनर अप प्रियारानी लामा तथा विराटनगरबाट मिस पूर्वाञ्चल २००२ की विजेता सगुन शर्मा र सलकपुरबाट मिस कोशीकी सेकेण्ड रनर अप रेखा थापाले भाग लिइसकेका छन्। यीमध्ये योगिताले मिस क्याट वाक र प्रियारानीले मिस ब्युटीफुल कम्प्लेक्समेन्टको एवार्ड हात पारे भने कृति टप फाइभसम्म पुग्न सफल भएकी थिइन्।

तस्वीरहरूः नमितचन्द ठकुरी र मिङ्मा चुक्टे शेर्पा/ एचकेनेपाल डट कम


Recent Videos:

Popularity: 5%

Add comment July 31st, 2011

एक समाचारले तीन सय बालबालिकाको अध्ययन प्रभावित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, बन्दी सहायता नेपाल नामक संस्थामा संरक्षित बालिका र किसोरीहरुमाथि यौन दुर्ब्यवहार हुने गरेको समाचार सार्वजनिक भएपछि त्यहाँ संरक्षित झण्डै तीन सय बालिका र किशोरीहरुको अध्ययनसँगै सामाजिक जीवन समेत प्रभावित बन्न पुगेको छ।

हालै सञ्चारमाध्यमले सो संस्थाको संरक्षण छाडेर गएकी एक किशोरीलाई उदृत गर्दै सो संस्थामा सामूदायिक कार्यकर्ता पदमा कार्यरत सागर थापाले आफूलाई नियमित यौन शोषण गर्ने गरेको र अन्य बालिका र किशोरीको अवस्था पनि त्यस्तै भएको भनि समाचार आएपछि त्यहाँ आश्रय लिईरहेका तीन सय बालिका र किशोरीहरुलाई अहिले विद्यालय र बजार जाँदा पनि यूवाहरुले राति आउँछौ तयार बस्नु जस्ता अश्लिल शब्द बोलेर यौन दुर्ब्यवहार गर्ने गरेकोले विद्यालय जान पनि नसक्ने अवस्थामा पुगेका छन्।

सो संस्थाले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चालकदेखि संस्थामा आश्रय लिईरहेका किशोरीहरुले समेत संस्थामा यौनर्दुब्यवहार हुने गरेको आरोप निराधार, कपोकल्पित भएको र यसले आफूहरुका जीवनमा नकारात्मक असर पारेको गुनासो गरे।

पत्रकार सम्मेलनमा सोही संस्थाको आश्रयमा बसिरहेकी आफूमाथि यौन शोषण भएको भनि आरोप लगाउने यूवतीकी बहिनी विमला केसीले आफ्नो दिदीको चरित्र नै ठीक नभएको भन्दै आरोपको खण्डन गरिन्। उनले गाँउकै एक जनासँग हिडेकी दिदी होष्टल फर्केर आएपछि यौनजन्य कुरा गर्न थालेको र त्यसपछि घरबाट दाजुहरु आएर फिर्ता लगेपछि नभएको यौन दुर्ब्यवहारको आरोप लगाईन्।

कक्षा दशमा अध्ययनरत उनले दिदीकै कारण अहिले विद्यालयमा आफूलाई सहपाठी नै कहिले आउ राति आउछु है जस्ता कुरा गरेर यौन दुर्ब्यवहार गर्ने गरेको विद्यालय पनि जान नसक्ने अवस्था आएको गुनासो गरिन्। उनले अहिले विद्यालय र स्थानीय बजारमा समेत जान नसक्ने अवस्था पैदा भएको बताईन्।

आरोप लगाउने ती यूवतीसँग एउटै कोठमा बस्दै आएकी मुना कार्कीले आफूहरु बस्ने स्थानमा यौन दुर्ब्यवहारको कुनै सम्भावना नभएको विहानदेखि नसुत्दासम्म सँगै बस्नेलाई थाहा नभई कसरी यौन दुर्ब्यवहार भयो भनि प्रश्न गरिन्।

सो संस्थाको आश्रयमा आएकी पहिली बच्चा स्नाहारिका बस्नेतले यौन दुर्ब्यवहार हुने कुनै सम्भावना नरहेको भन्दै सञ्चारमाध्यमले नबुझी समाचार दिदा आफूहरुको जीवन कष्टकर बनेको आरोप लगाईन्।

स्थानीय भाग्योदय उच्च माविका ब्यवस्थापन समिति सभापतिले संस्थामा यौन दुर्ब्यवहार हुन सक्ने बातावरण र आधार नै नभएको भन्दै यस घटनाले विद्यार्थी मनोबैज्ञानिक रुपमै प्रताडित बनेको दावी गरे। उनले सो संस्थाका सबै विद्यार्थीहरु एसएलसीमा प्रथम डिभिजनमा उर्तीण भएको भन्दै यस्ता समाचारले विद्यार्थीको भविष्य विगार्ने दावी गरे।

संस्थाकि कार्यकारी निर्देशका इन्दिरा रानाले विना अनुसन्धान आफूहरुसँग कुरै नगरी छापिएको समाचार संस्थाको बदनाम गर्नुका साथै तीन सय बालबालिकाको जीवनसँग खेलवाड गरेको भन्दै आरोप लागेपछि आरोपित थापालाई प्रहरीको जिम्मा लगाईएको र उनलाई निलम्बन समेत गरेको जानकारी दिईन्। उनले आफ्नो प्रयासमा यस्ता समाचार गम्भीर असर पारेको भन्दै कुनै पनि कुरा प्रकाशन गर्नुअघि सत्य तथ्य बुझ्न र आफूसँग प्रतिक्रिया लिन आग्रह गरिन्।

Recent Videos:

Popularity: 5%

Add comment July 31st, 2011

किरण साहको आत्महत्या होइन, हत्या नै हो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, गत साउन १ गते रौतहटकी किरण साहको शंकास्पद मृत्युको अनुगमन गरेको ओरेक नेपालका केन्द्रीय क्षेत्रीय, जिल्लाका प्रतिनिधिहरु र संकल्प नेपालका प्रतिनिधिहरुले १९ वर्षीया साहको आत्महत्या नभई हत्या गरिएको दावी गरेका छन्।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै ओरेक नेपालले रौतहट जिल्ला चन्द्रनिगाहपुर गाविस-५ घटेको किरण साहको मृत्यु प्रकरणको अनुगमनको वास्तविकता घटना प्रस्तुत गर्दै उनीहरुले हत्या नै भएको दावी गरेका हुन्।

ओरेक नेपाल र संकल्प नेपालका प्रतिनिधिहरुले मृतकका पति वर्ष २२ का गुड्डु साह, सासु वर्ष ४० की उर्मिलादेवी साह, माईती बस्दै आएकी नन्द वेवीदेवी साहको मिलेमतोमा किरणको हत्या भएको ठोकुवा गरे।

उनीहरुले किरण साह र गुड्डु साहबीच २०६८ जेठ १५ गते सामाजिक प्रचलन अनुसार विवाह भएको र विवाह भएकै दिनदेखि प्रशस्त दाईजो नल्याएको भन्दै कुटपीट र गाली गलौज गर्ने गरेको प्रमाणहरु फेला परेको बताउँदै विवाह गर्दा २ लाख १० हजार बराबरको दाईजो दिँदा पनि थप ५० हजार पाउनुपर्ने भन्दै पति र सासुले दवाव दिएको वितरित प्रतिवेदनमा उल्लेख गरेका छन्।

प्रतिवेदनमा कोठामा खाट राखिएको, खाटको तल लासलाई सुताई राखेको, पंखामा सलको एक टुक्रा पंखाको पातामा झुण्डिएको, लास उत्तानो परेको, खुट्टा सिधा अवस्थामा रहेको सलको सानो टुक्रा गाँठो परेको, मुखमा पिँज वा रगत कतै नदेखिएको र कोठाको प्रकृति हेर्दा किरण झुण्डिन नसक्ने अवस्था भएबाट किरणको हत्या नै भएको दावी गरेका हुन्।

उनीहरुले मानवअधिकारकर्मी, प्रहरी प्रशासनले पनि घटनाको प्रकृतिले किरणको हत्या भएको देखिए पनि पोष्टमार्टमको आधारमा कारवाही अगाडि बढाउन भनिनु, पोष्टमार्टम आउनु अगाडि नै डाक्टरले आत्महत्या नै हो भनिएबाट पीडकहरु सम्पन्न र पहुँचवाला भएको कारण हत्यालाई आत्महत्यामा बदल्न सक्ने सम्भावना भएको भन्दै पीडितहरुलाई सजग रहन सुझावसमेत दिएको जानकारी गराए।

पत्रकार सम्मेलनमा बोल्दै ओरेक नेपालकी कला राईले भनिन्- दाईजोको कारण बर्षेनी यस्ता किरण साहहरुले शारिरिक, मानशिक हिंसाका साथ ज्यानसम्म गुमाउनु परेको उदाहरण रौतहट जिल्लामा नै १५ महिनामा १२ जना महिलाको कारण हत्या हुनु नै किरण साहको पनि दाईजोको कारण नै हत्या भएको हो।

अनुगमन टोलीकी श्यामकुमारी शाहले दाईजोको कारण बढ्दै गएको जघन्य अपराधलाई निरुत्साहित गर्न उचित कानुन बनाई दोषीमाथि कारवाहीको माग गरिन्। पत्रकार सम्मेलनमा अनुगमनको क्रममा धम्की आएको बताउँदै महिला मानवअधिकारकर्मीहरुको सुरक्षाको पहल गर्दिनुपर्ने माग राखिन्। विजया केसी, लक्ष्मी बराल र विनिता बखरेलले पनि किरण साहको हत्याको विषयलाई राज्यले प्राथमिकताका साथ अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनु पर्ने माग गरे।

Popularity: 5%

Add comment July 31st, 2011

प्रहरीको गोलीबाट काँग्रेस कार्यकर्ताको मृत्यु, सुनसरी बन्द

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसले सुनसरी जिल्लाको देवागन्ज गाविसमा शुक्रबार स्थानीय बासिन्दा र प्रहरीबीच भएको सामान्य झडपमा प्रहरीले गोली चलाउँदा आफ्नो पार्टीका सक्रिय सदस्य सानु यादवको मृत्यु भएको जनाएको छ।

मृत्यु भएपछि पार्टीले आज सुनसरी जिल्ला बन्द घोषणा गरेको छ।

सो पार्टीद्वारा जारी विज्ञप्तिमा सामान्य विषयमा पनि प्रहरीले गोली चलाएकोप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।

सो झडपमा ३६ जनाभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन्।

Popularity: 5%

Add comment July 31st, 2011

अस्थायी शिक्षकले भोलिदेखि कामरोक धर्ना गर्ने

एचकेनेपाल डट कम संवाददाता-
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले आफूहरूको माग पुरा नभएको भन्दै यही साउन १६ गतेदेखि शिक्षा मन्त्रालयमा कामरोक धर्नाको कार्यक्रम घोषणा गरेको छ।

सेवा अवधि गणना गरेर प्रक्रिया पुरा गरी स्थायी गरिनुपर्ने माग राख्दै आएको समितिले यही साउन २० गतेसम्म दुईदेखि पाँच घन्टासम्म काम रोक धर्ना दिने भएको छ।

समितिका अध्यक्ष निरेन्द्र कुँवरले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षामन्त्रीले गरेका प्रतिबद्धता पुरा नभएकाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको उल्लेख गर्नुभएको छ।

शिक्षामन्त्रीले यही साउन १२ गते धर्नास्थलमा आएर अस्थायी शिक्षकलाई स्थायी गर्न आफूले मन्त्रिपरिषद्मा शिक्षा ऐन संशोधन विधेयक प्रस्तुत गर्न खोजेकाले आन्दोलन स्थगन गर्न आग्रह गर्नुभएको थियो।

हाल सामुदायिक विद्यालयमा करिब २३ हजार अस्थायी शिक्षक कार्यरत छन्।

Popularity: 5%

Add comment July 31st, 2011

प्रधानमन्त्रीको राजीनामाको विकल्प छैन: नेपाल

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पाँचबुँदे सहमतिअनुरुप प्रधानमन्त्री झलनाथ खनाललाई राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ।

नेकपा एमाले रौतहट–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले एकीकृत नेकपा (माओवादी) ले निर्णय गरेर मन्त्रीका लागि पठाइएका व्यक्तिलाई सपथग्रहण गराइए पनि नगराइए पनि खनालले राजिनामा दिनाको विकल्प नभएको विचार राख्नुभयो।

‘राष्ट्रिय सहमतिको सरकार, शान्ति प्रक्रिया र संविधान लेखनका लागि सरकारले राजिनामा दिनाको विकल्प छैन’– उहाँले भन्नुभयो।

सरकार पुनःगठनको प्रस्ताव घातक भएको दाबी गर्दै उहाँले एमाओवादीको हतियार मोह अन्त्य नभएसम्म शान्ति प्रक्रिया अघि नबढ्ने ठोकुवा गर्नुभयो।

एमाले अब कसैको भरिया नबन्ने बताउँदै उहाँले पार्टी अध्यक्ष खनाललाई एमाओवादीले प्रयोग गरेर शान्ति प्रक्रिया र संविधान लेखनको वातावरण बिथोलेको आरोप लगाउनुभयो।

Popularity: 5%

Add comment July 31st, 2011

हजार रुपैयाँमा विवाद हुँदा मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
बारा जिल्ला कवही जब्दी गाविसमा गए राति माझी–माझी जातिबीच एक हजार २०० रुपैयाँ लेनदेन विषयमा कुटाकुट हुँदा एक वृद्धको मृत्यु भएको छ।

सत्तरी वर्षीय जगरनाथ माझीले सोही ठाउँ बस्ने महेश माझीसँग एक हजार २०० रुपैयाँ सापटी लिएकाले सो सापटी फिर्ता माग गर्ने विषयमा गए राति वादविवाद भई कुटाकुट हुँदा जगरनाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेका महेश र भोज माझीलाई पक्राउ गरेको छ भने अभलख माझी र सन्दीप माझी फरार रहेको थाहा भएको छ।

Popularity: 5%

Add comment July 31st, 2011

प्रधानमन्त्रीले आज राजीनामा देलान् ?

एचकेनेपाल डट कम संवाददाता-
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका तर्फबाट फिर्ता बोलाइएका केही मन्त्री र राज्यमन्त्रीको राजिनामा हिजो बुझाएपछि नैतिक संकटमा परेका प्रधानमन्त्री झलनाथ खनालले आज राजीनामा दिने संभावना छ।

एमाओवादीले मन्त्रिमण्डलमा नयाँ टोली पठाउनेसम्बन्धी निर्णय कार्यान्वयन नभएपछि दाहालले हिजो फिर्ता बोलाइएका मन्त्रीहरूको राजिनामा हस्तान्तरण गर्नुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले आइतबारसम्म पनि आफ्ना नयाँ मन्त्रीलाई नियुक्त गरी सपथ नदिलाए पार्टीले सरकारलाई समर्थन फिर्ता लिन सक्ने चेतावनी पनि दिनुभएको बुझिएको छ।

हिजै दिउँसो बसेको एमाओवादीको स्थायी समितिको बैठकले फिर्ता बोलाउने मन्त्रीहरूको राजिनामा दिने निर्णय गरेको थियो।

पार्टीको निर्णयपछि एमाओवादीका केही मन्त्रीले मन्त्रालयबाट बिदाइ लिइसक्नुभएको थियो।

सो पार्टीले वर्तमान सरकारमा सहभागी उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित अधिकांश मन्त्री फिर्ता बोलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाउने निर्णय गरिसकेको छ।

प्रधानमन्त्रीले आजै कांग्रेस सभापति सुशील कोइरालालाई उनकै निवास महाराजगन्जमा भेटेका छन्। कांग्रेसले उनलाई राजीनामा दिइहाल्न सुझाव दिइसकेको छ।

Popularity: 5%

Add comment July 31st, 2011

आज खीर खाने दिन

एचकेनेपाल डट कम संवाददाता-
नेपाली संस्कृतिका विभिन्न चाडपर्वमध्ये आज साउन १५ गते खीर खाएर मनाइँदैछ। नेपाली संस्कृतिमा’असारको १५ दहीचिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ छ।

नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा विष्णु दाहालको कथन छ।

त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख डा मिलन शाक्यले साउन १५ मा खीर खाने परम्परा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि मध्यकालदेखि सुरुआत भएको हुनसक्ने बताउनुहुन्छ।

Popularity: 5%

Add comment July 31st, 2011

पोखरामा थुनुवाहरुको स्वास्थ्य परीक्षण

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, विभिन्न मुद्धाहरुको अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका थुनुवाहरुको शनिवार स्वास्थ्य परीक्षण गरिएको छ।

स्वास्थ्य शिविरमा ८८ जना थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

स्वास्थ्य शिविरमा पद्य नर्सिङ्ग होमवाट डा.अनिल श्रेष्ठ, डा.सुदर्शन सुवेदीले थुनुवाहरुको स्वास्थ्य परीक्षण गरेका थिए। त्यसैगरी, मेडिकल प्रतिनिधि भवानी अर्यालको नेतृत्वमा टाईम फर्मास्युटिकल्स प्रा.लि.ले २० हजार रुपैयाँ वरावरको औषधी नि.शुल्क उपलव्ध गरेको थियो।

शिविरमा लाइन्स क्लव पोखरा, लियो क्लव पोखरा अन्नपूर्ण र जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष सक्रियता र पद्य नर्सिह होमको विशेष सहयोगमा संचालन भएको थियो।

Popularity: 5%

Add comment July 30th, 2011

विपद व्यवस्थापनका लागि अभिमूखीकरण तालिम

मदन कोईराला/ एचकेनेपाल डट कम-
पोखरा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीले शनिवार रेडक्रस कार्यटोलीका लागि विपद व्यवस्थापन अभिमूखीकरण तालिमको आयोजना गरेको छ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीको सभाहलमा भएको कार्यक्रममा विपद अघि, विपदको वेलामा र विपदपछि अपनाउनु पर्ने गतिविधिका वारेमा तालिम सञ्चालन भएको हो।

कार्यक्रममा रेडक्रस अभियानको वारेमा, विपद परिभाषा प्रकार र प्रभावका वारेमा नेपालमा बढी घट्ने प्रकोपका वारेमा नेपाल रेडक्रस र विपद पूर्व तयारी कार्यक्रमहरु साथै विपद व्यवस्थापनका वारेमा उक्त तालिम सञ्चालन भएको रेडक्रस कार्य टोलीका प्रचारप्रसार समितिका सयोजक मदन कोईरालाले जानकारी दिए।

तालिममा जिल्ला शाखाका सदस्य दण्डराज शर्मा, वरिष्ठ अधिकृत खेमराज सापकोटा, कार्य समिती सदस्य धर्मराज अधिकारी तथा गणेश कोईरालाले प्रशिक्षण दिएका थिए। रेडक्रस कार्य टोलीका तोली नेता विवेक घिमिरे सभापति रहेको कार्यक्रममा जिल्ला शाखा कास्कीका सभापति रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो।

Popularity: 5%

Add comment July 30th, 2011

सपथ गराए प्रधानमन्त्रीलाई कारवाही गरिन्छः रावल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नेकपा एमालेका नेता भीम रावलले पार्टीको निर्णयविपरित प्रधानमन्त्री झलनाथ खनालले माओवादी मन्त्रीहरुको सपथ गराए कारवाही हुने चेतावनी दिए।

शनिवार राजधानीमा आयोजितक एक कार्यक्रममा बोल्दै उनले मुलुकको अप्ठ्यारो अवस्थामा रहेको र सहमति कायम गरेर अगाडि बढ्नु पर्ने बेलामा मन्त्रीपरिषद पुनर्गठनले सहमतिलाई बाधा गर्ने भन्दै कुनै पनि हालतमा सपथ नहुने बरु प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिकोलागी मार्ग प्रसस्त गर्ने स्पष्ट पारे।

उनले अहिले मन्त्री परिषदको पुनर्गठनभन्दा पनि शान्ति र संविधान निर्माणको कार्य अगाडि बढाएर माओवादीले सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिदै शान्ति प्रक्रिया अगाडि नबढेसम्म माओवादीले कुनै पनि हालतमा सरकारको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे। उनले शान्ति प्रक्रिया अगाडि बढ्ने भरपर्दो आधार नभई मन्त्री परिषद हेर फेर हुनै नसक्ने बताए। पाँच बुँदे सहमति कार्यान्वयनको मुद्दा अहिले मुलुकको लागी आवश्यक भएको भन्दै सरकार विस्तारको कुरा अनावश्यक विषय भएको दावी गरे।

Popularity: 5%

Add comment July 30th, 2011

अबको प्रधानमन्त्री बाबुराम भट्टराईः मन्त्री रायमाझी

एचकेनेपाल डट कम संवाददाता-
भैतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले बाँकी एक महिनाभित्र शान्ति र संविधानसँगै राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गर्दै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने ठोकुवा गरे। त्यस्तो भए शान्ति र संविधान निर्माणको कार्य पनि सहज बन्ने दावी गरे।

शनिवार राजधानीमा आयोजितक एक कार्यक्रममा बोल्दै सहमति गर्ने तीन दल माओवादी, काग्रेस र एमालेले नै पाँच बुँदे सहमति कार्यान्वयनमा उदासिनता देखाएको भन्दै पाँच बुँदे सहमति कार्यान्वयन गरेर निकास निकाल्नु पर्नेमा जोड दिए। उनले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै सहमतिको लागि प्रधानमन्त्रीले पहिलानै राजिनामा दिएर मार्ग प्रसस्त गर्दा पनि हुने दावी गरे। उनले भने-सहमति हुन्छ भने पहिला वा पछि जहिले पनि प्रधानमन्त्रीले राजिनामा दिए हुन्छ । त्यसले केही फरक पार्दैन।

पछिल्लो समयमा माओवादीले पठाएका मन्त्रीको सपथ गराएर सहमतिमा असर नपर्ने भन्दै सपथ नगराउनु संसदीय मान्यता विपरित भएको जिकिर गरे।

Popularity: 5%

Add comment July 30th, 2011

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भईरहेको परराष्ट्रमन्त्रीको खुलासा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री झलनाथ खनालको पहिलो भारत भ्रमणको लागि तयारी भईरहेको जानकारी दिएका छन्।

शनिवार राजधानीमा आयोजित साक्षात्कारमा उनले भारत र नेपालले आन्तरिक रुपमा भ्रमणको तयारी गरिरहेको तर समय निश्चित भईनसकेको जानकारी दिदै छिट्टै प्रधानमन्त्री खनालले भारत भ्रमण गर्ने दृढता ब्यक्त गरे।

सरकारले आवश्यकता पर्दा निश्चित मिसनको लागि राजदूत बोलाउन र फिर्ता बोलाउन सक्ने भन्दै आठ जना राजदूतहरुको समयावधि सकिन लागेकोले नयाँ राजदूत नियूक्तीका लागि छलफल सुरु भईसकेको जानकारी दिए। उनले कुनै राजदूतको समय सकिन लाग्दै नयाँ नियूक्तिको प्रक्रिया सुरु भए त्यसले कुटनीतिक रिक्तताको अवस्थालाई अन्त्य गर्ने भएकोले पनि आफू त्यसतर्फ लागेको बताए।

मन्त्री यादवले पाँच बुँदे सहमति गर्दा आफूहरुसँग सल्लाह नगरिएकोले त्यसको कार्यान्वयन गर्ने वा नगर्ने भन्ने जिम्मा तीन दलकै भएको भन्दै अप्ठ्यारो पर्दा सहमति गर्ने अनि भोलि पल्टै उल्लंघन गर्ने प्रबृति नेपाली राजनीतिको संस्कार भईसकेको आरोप लगाए। उनले प्रधानमन्त्रीको राजिनामाको विषयमा पनि तीन दलकै विषय भएको भन्दै टिप्पणी गर्न चाहेनन।

Popularity: 5%

Add comment July 30th, 2011

नेपाल भारत मैत्री सन्धी संशोधन हुन सक्तैनः परराष्ट्र मन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल र भारतको सम्बन्धको आधार बनेको सन् १९५० को नेपाल भारत मैत्री सन्धी संशोधन र परिमार्जन हुन नसक्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भने-१९५० को सन्धी संशोधन र परिमार्जन गर्ने आधार नै छैन। नेपाल र भारतमध्ये कुनै एक मुलुकले एक वर्षअघि सूचना दिए खारेज मात्र हुन सक्छ।

उनले नेपालका राजनीतिक दलहरुले लोकप्रियातको लागि सडकमा मात्र सन्धी खारेजीको नारा लगाउने गरेको आरोप लगाउँदै प्रत्यक्ष भेटवार्तामा भारतसँग सो विषयमा कुनै पनि सरकार र दलहरुले कुरा उठाउने हिम्मत गर्न नसकेको दावी गरे। उनले भने-सन्धी खारेजी पपुलर हुन सडकका नारा लगाउने विषयमात्रै बनेको छ। भारतसँगको कुराकानीमा कसैले खारेज गर्नु पर्ने भनाई राख्ने हिम्मत गर्न सकेका छैनन्। सडकमा कडा नारा लगाउने गर्ने बेलामा लुत्रुक्क पर्ने काम मात्रै भएको छ।

उनले दुइ देशवीचको सम्बन्ध सडकको नाराको विषयमा बन्न नहुने भन्दै मन्त्री यादवले सडकबाट सम्बन्ध खोज्ने परम्परा हितकर नहुने दावी गरे।

१९५० को सन्धीको विषयमा भारत सरकार खुला रहेको उल्लेख गर्दै उनले भने-भारतले नेपाल कस्तो सम्बन्ध र सन्धी चाहन्छ त्यसका लागि हामी तयार छौ सन्धीको ड्राफ्ट बनाएर नेपालले देओस भनेको छ। तर हामीले नै दिन सकेका छैनौ।

उनले आफूले नेपालको विदेश नीति अनुसार कस्तो सन्धी गर्ने भन्ने विषयमा दलहरुवीच सहमति गरौ भनेर आफूले प्रयास गरे पनि कुनै पनि दलले कस्तो सन्धी बनाउने भन्ने विषयमा सुझाव नदिएको आरोप लगाउँदै ठाँउमा नगर्ने अनि सडकमा नारा लगाउने काम दुर्भाग्यपूर्ण भएको बताए।

खुल्ला सिमानका कारण नेपाल र भारतवीचको सम्बन्धमा जटिलता र अविश्वास देखा परे पनि त्यसको समाधान कुटनीतिक माध्यमबाट खोज्नु पर्ने उल्लेख गर्दै यादवले सम्बन्धलाई सडकको नारा बनाउने कार्य उचित नभएको बताए। उनले भने नेपाल र भारतवीचको सम्बन्ध सडकमा होईन समानता र सम्मानको आधारमा अगाडि बढाउनु पर्छ।

कम्यूनिष्टहरुको हठ र अब्यवहारिक कार्यका कारण नेपाल बर्बाद भएको आरोप लगाउँदै उनले नेपाललाई कस्तो बनाउने भन्ने विषयमा पनि दुइ प्रमुख कम्यूनिष्ट दल माओवादी र एमालेकै हातमा रहेको भनि ब्यङग्य गरे। उनले ब्यङग्य गर्दै भने-जुन देशलाई बर्बाद गर्नु पर्ने हो त्यहाँ कम्यूनिष्ट बढाई दिए पुग्छ। लेनिनकै देशमा जनताले कम्यूनिष्ट चाहदैनन अफगानिस्तान, कम्बोडिया, जर्मनीमा गएर कम्यूनिष्ट भन्यो भने खाना पनि खान नदिने अवस्था छ।

साक्षात्कारमा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले सन् १९५० को नेपाल भारत मैत्रि सन्धी सहितका केही सन्धीहरु समयानुकूल नभएको भन्दै त्यसलाई समयानुकूल गर्नु बनाउने पर्ने बताए । उनले कतिपय असमान सन्धीहरु खारेजी समेत गर्नु पर्ने आवश्यकता औल्याए । उनले असमान सन्धीसहित विदेश नीतिमा समेत परिवर्तनको आवश्यकता औल्याए।

पूर्व गृहमन्त्री एवं एमाले नेता भीम रावलले राणा शासन जोगाउन गरेको नेपाल भारत मैत्रि सन्धी अहिलेको अवस्थामा उपयूक्त नभएको भन्दै समानता र पारस्परिक हितको आधारमा सन्धीलाई पुनरावलोकन गर्नु पर्ने बताए । उनले भने-यो सन्धीले बदलिदा परिस्थितिमा दुइ मुलुकको सम्बन्धलाई अगाडि बढाउन सक्दैन। दुबै मुलुकलाई लाभ हुने गरी स्वाभिमान र सार्वभौमिकता बचाउने गरी पुनरावलोकन गर्नु पर्छ। उनले मुलुकको राजनीति नै अस्पष्ट भएको बेला परराष्ट्रनीति र नयाँ सन्धीको कुरा गर्नु उपयूक्त नहुने दावी समेत गरे।

Popularity: 5%

Add comment July 30th, 2011

प्रतिष्ठानको अनुगमन गर्न नागरिक समिति

महेश श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त विकृति विसंगतिले सीमा नाघेपछि प्रतिष्ठानलाई सुधार्न नागरिक स्तरबाटै एक सर्वपक्षीय अनुगमन समिति गठन गरिएको छ।

त्यसैगरी, समितिले प्रतिष्ठानलाई राम्रो प्रतिष्ठान, हाम्रो प्रतिष्ठानका रुपमा स्थापित गर्न जस्तो सुकै संघर्ष गर्न पनि पछि नपर्ने निर्णय गरेको छ।

धरान नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित सर्वपक्षीय भेलाले पूर्व नगरप्रमुख तथा नागरिक समाज धरानका अध्यक्ष मनोजकुमार मेन्याङ्गवोको अध्यक्षतामा नागरिक स्तरीय सर्वपक्षीय अनुगमन समिति गठन भएको हो। सर्वपक्षीय भेलाले प्रतिष्ठानको प्रतिष्ठालाई उचो पार्न, उद्देश्यगत कार्यलाई दूरुस्त पारेर सेवामूलक बनाउन र सरोकारवालाहरुको निरन्तर अनुगमन गर्नु पर्नेमा जोडदिनुका साथै त्यहाँभित्रको गैरपेशागत र गैरकानुनी क्रियाकलापको अन्त्य गरेर प्रतिष्ठानलाई जनसेवामा समर्पित र विशुद्ध स्वास्थ्यसेवा उपलब्ध हुने प्रतिष्ठानका रुपमा स्थापना गराउनका लागि नागरिक तहबाटै हस्तक्षेप गर्नुपर्ने निर्णय गरेको छ।

भेलाबाट धरानस्थित राजनैतिकदल, सामाजिक संघसंस्था, नागरिकसमाज, लब्धप्रतिष्ठत व्यतित्व लगायतको सहभागिता रहेको एक मूल समिति गठन गर्नुका साथै राजनैतिकदल समावेश गरिएको २५ सदस्यीय कार्यसमिति गठन गरेको छ। त्यसैगरी समितिको कार्यलाई चुस्तदुरुस्त बनाउन ११ सदस्यीय सचिवालय पनि गठन गरेको छ।

पूर्व नगर प्रमुख मेन्याङ्गवोको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा नागरिक अनुगमन समितिका अध्यक्ष तिलक राई, महासचिवमा नागरिक समाजका सचिव राजेन्द्र शर्मा र सचिवमा निगरानी, अनुगमन तथा समन्वय समिति वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक महेश श्रेष्ठ रहेका छन्।

कार्य समितिको सदस्यहरुमा भने वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक सविता राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, व्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) नेपाल च्याप्टरका अध्यक्ष गजेन्द्र इस्वो, नेवाः देय दबु सुनसरीका अध्यक्ष सरला कायस्थ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका सचिव लक्ष्मी बानिया, शेर्पा समाजका ङावालप्टु लामा शेर्पा र युवा सचेतना केन्द्रकी उपाध्यक्ष तारा शाक्य रहेका छन्। त्यसैगरी, कार्यसमितिको पार्टीका सदस्यका रुपमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी जनाधिकार फोरम, नेपाल सद्भावना पार्टी राष्ट्रिय जनशक्ति प्रजातन्त्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद, संघीय लोकतान्त्रीय राष्ट्रिय पार्टी, दलित जनजाति पार्टी नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत, नेपाल मजदुर किसान पार्टीलगायत धरानस्थित १४ वटा राजनैतिक दलहरु रहेका छन्।

समितिले यस अघिको भेलाले गरेको पाँच बुँदे निर्णयलाई सशक्त रुपमा कार्यान्वय गर्ने संयोजक मेन्याङ्गवोले जानकारी दिनु भएको छ। यसअघिको भेलाले नेपालकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नेतृत्वतहमा रहेका पदाधिकारीहरु निकम्मा भएको र उनीहरुलाई हटाई सक्षम नेतृत्व नियुक्त गर्न सरकारसंग माग गर्ने। प्रतिष्ठानको अस्पतालसेवा र शैक्षिकक्षेत्रमा अनियमितता र भ्रष्टचार भई रहदासमेत प्रतिष्ठानको गतिविधिलाई नै अपारदर्शी तुल्याएकाले प्रतिष्ठानको सामाजिक लेखापरीक्षण गरिनुपर्ने, प्रतिष्ठानले वृद्धि गरेको स्वास्थ्य उपचार सेवा शुल्क पुनर्वालोकन गरिनुपर्ने, डाक्टर सञ्जिव शर्माको अध्ययन विदाको प्रकरणलाई लिएर शर्मासंग सम्बन्धित जनसरोकार परियोजना एवं कार्यक्रमलाई परिवर्तन र स्थगित गर्ने गरिएका निर्णयहरु तत्काल खारेज गर्न र यथावत् परिचालन गर्न प्रतिष्ठानलाई आग्रह गर्ने र विडिएस दोश्रो वर्षका छात्र श्रीकान्त डंगोलको आत्महत्याको घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कार्वाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरिनुपर्ने प्रतिष्ठान समक्ष माग गर्ने निर्णय गरेको थियो।

Popularity: 5%

Add comment July 29th, 2011

भारतीसँग १५ करोड धरौटी माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, विशेष अदालतले सुडान प्रकरणका आरोपी स्थानीय ठेकेदार शम्भु भारतीसँग शुक्रवार १५ करोड रूपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्की र सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले भारतीसँग १५ करोड धरौटी मागेको हो।

यसअघि, विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणासँग १५ करोड धरौटी मागेको थियो। माग गरिएको धरौटी बुझाउन नसकेपछि उनी हाल जेलमा छन्। विशेष अदालतले मागेको धरौटी बुझाउन नसकेमा भारतीलाई पनि जेल चालन गरिने छ।

नेपाल प्रहरीका लागि आवश्यक बन्दोवस्तीका सामान पठाउँदा अनियमितता गरेको आरोपमा विशेष अदालतले भारतीसंग बयान लिइरहेको छ। बयान नसकिएका कारण उनी ४ दिनदेखि न्यायिक हिरासतमा छन्।

Popularity: 5%

Add comment July 29th, 2011

ब्ल्याकमेलिङको अभियोगमा टिभी पत्रकार पक्राउ

एचकेनेपाल डट कम संवाददाता-
भद्रपुर, राजस्व गस्ती टोलीमा खटिएका जनपद र सशस्त्र प्रहरी टोलीका प्रहरीले सामान जाँचका क्रममा घुस लिँदै गरेको भिडियो रेकर्ड खिचेर प्रहरीबाट ५० हजार रुपियाँ माग गरेको अभियोगमा झापाका एक टेलिभिजन पत्रकार पक्राउमा परेका छन्। सगरमाथा टेलिभिजनका झापा प्रतिनिधि पुजन घिमिरेलाई विर्तामोडबाट पक्राउ गरिएको हो।

प्रजिअ गेहनाथ भण्डारीको निर्देशनमा सहायक प्रजिअ योगेन्द्र दुलाल, इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी निरीक्षक चन्द्र राजवंशी र सशस्त्र प्रहरीका एक उपरीक्षकसहितको टोलीले उनलाई पक्राउ गरेको हो।

उक्त भिडियो खिचेर सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विकास अर्यालसित लेनदेनका लागि बार्गेनिङ गरिरहेकाले घिमिरे कारबाहीमा परेका झापाका प्रहरी उपरीक्षक तारिणिप्रसाद लम्सालले जानकारी गराए। यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

नेपाल पत्रकार महासङ्घ, झापाका अध्यक्ष गणेश पोखरेलले प्रहरीसित पैसा मागिरहेको अवस्थामा पत्रकार घिमिरेको भिडियो खिचेको प्रहरीले आफूलाई जानकारी गराएको बताए।

सर्वसाधारणसित पैसा माग गरेर प्रहरीले अपराध गरेको छ भने भिडियो खिचेर समाचार सम्प्रेषण नगरी पैसा मागेर पत्रकार घिमिरेले ठूलो अपराध गरेको देखिन्छ- अध्यक्ष पोखरेलले भने।

काठमाडौँका केही ठूला सञ्चार गृहले पत्रकारिताको मर्म नबुझेका व्यक्तिलाई आफ्ना प्रतिनिधि बनाउने र ‘तलब नदिइ खोजेर खानू’ भनेर पठाउने गरेका कारण यस्ता प्रवृत्ति देखिएको उनको ठम्म्याई छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाको इँटाभट्टामा भारतबाट साइकल र मोटरसाइकलमा सामान ल्याउने सर्वसाधारणसित प्रहरीले पैसा लिइरहेको भिडियो घिमिरेले खिचेका थिए। (रासस)

Popularity: 5%

Add comment July 29th, 2011

ट्रक र एम्बुलेन्स त्रिशुलीमा खस्यो/ एक वेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
चितवन, मुग्लिङ-नारायणगढ सडकखण्डको दारेचोक-२ चुम्लिङटारमा शुक्रवार विहान ट्रक र एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ।

एक आपसमा ठोक्किदा मालवाहक ट्रक र एम्बुलेन्स त्रिशुली नदीमा खसेको हो। दुर्घटनमा ६ जना घाइते भएका छन् भने एक जना वेपत्ता भएका छन्।

घाइते हुनेहरूमा मनहरी मकवानपुरका हरिकृष्ण घिमिरे, सिरहा रामपुर विर्ताका उमेश शाह, मकवानपुर मनहरी ३ का ईश्वर सिग्देल र सोही ठाउँका शिबहरि राउत र सिराहा मिर्चैयाका एम्बुलेन्स चालक राजकुमार शाह छन्। दुर्घटनापछि ट्रक चालक मनहरी-३ बिजौनाका उत्तम घिमिरे फरार छन्। दुर्घटनामा वेपत्ता एक जना यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट काठमाडौंका लागि छुटेको ना ३ ख ६६०५ नंको मालबाहक ट्रक र काठमाडौंबाट नारायणगढका लागि छुटेको स १ च ६८२ नम्बरको एम्बुलेन्स सडकबाट झण्डै दुई सय फिट तल त्रिशुली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Popularity: 5%

Add comment July 29th, 2011

महिलाको विकास विना देशको विकास सम्भव छैन-गुरुङ

रेडियो गोर्खाली/ एचकेनेपाल डट कम-
पोखरा, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालका अध्यक्ष मिना गुरुङले महिलाको विकास विना देशको विकास सम्भव नभएको बताउनु भएको छ। “महिलाको विकास विना राज्यको विकास असम्भव छ।” उहाँले भन्नुभयो।

राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजना तथा पर्पल विजनेश इन्टरनेशनल प्रालिको भारतको सहकार्यमा आज पोखरामा आयोजित ब्यूटी हेल्प सेमिनारको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले महिलाहरु पछाडि परेका कारण देशमा विकास हुन नसकेको बताउदै अव महिलाहरु नेतृत्व लिन घरभित्रको कामबाट सामाजिक कार्यमा क्रियासिल हुनुपर्नेमा जोड दिनुभयो।

ब्यूटिसियन पेशा अँगाल्दा समाजले विगतमा नकरात्मक दृष्टिकोणबाट हेर्ने गरेको भएपनि अहिले मर्यादित पेशा भएको बताउदै सौन्दर्यकर्मीहरुले ब्यक्तिहरुलाई मात्रै नभएर समाज र राष्ट्र सिगांर्न पनि भूमिका खेल्नुपर्ने बताउनु भयो।

उहाँले सरकारसंग यूनियनले राखेका माग मध्य एउटा माग सरकारले हालै सार्वजनीक गरेको नीति तथा कार्यक्रमबाट विना धितो ऋण दिन समावेश गरेको र अन्य मागका लागि सम्पूर्ण सौर्न्दयकर्मीहरु यहि मर्यादालाई टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

उहाँले नजिकीन लागेको नेपाली महिलाहरुको महान चाड हरितालिका तिज पर्वलाई भड्किलो रुपमा नमनाई सरल र सहज रुपमा मनाउन पनि आग्रह गर्नुभयो। तिजलाई अव हामीले गरगहना र महङगा साडिहरुको प्रदशन गर्न चाड भन्दा पनि सवैलाई पाच्य हुने गरि सामान्य रुपमा चाडका रुपमा बताउनुपर्ने बताउनु भयो।

कार्यक्रममा सौन्दयकर्मी यूनियन नेपालका उपाध्यक्ष आरती गुरुङले सौन्दय पेशालाई मर्यादीत रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो। महासचिव पम्फा पहारीले सरकारले विना धितो दुइ लाख ऋण दिने ब्यवस्था गरेकोमा स्वागत गदै सौन्दर्यकर्मीहरु एक जुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पत्रकार दुगा भण्डारी, सौन्दर्यकर्मी यूनियन कास्कीका उपाध्यक्ष राधा आचार्य,लगायतले बोल्नु भएको कार्यक्रम कास्की अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। भारतबाट आउनु भएका डाक्टर मनोजदास गुप्ताले सेमिनारमा स्कीन सम्वन्धी, ल्यान्डसेड माइक्रो सर्जरी टिटमेन्ट, ब्यूटि स्कीन केयर, हेयर कटिङ, पिम्पल्स र मिलिल्ना टिटमेन्ट ब्यूटिसियनहरुका लागि आवश्यक विभिन्न टिप्सहरुका बारेमा जानकारी दिनु भएको थियो।

Popularity: 5%

1 comment July 28th, 2011

नेपाल र जोर्डन बीचको खेल बराबरीमा टुङ्गियोः नेपाल १-१ जोर्डन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नेपाल र जोर्डनबीच विहीवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको पक्षमा १ र जोर्डनको पक्षमा १ गोल भएको छ।

सन्तोष साउखलले दिएको पासमा भरत खवासले जोर्डनविरूद्ध ८० औं मिनेटमा १ गोल गरेका हुन्। उनी दोस्रो हाफमा विराज महर्जनको स्थानमा मैदान प्रवेश गरेका थिए।

यसअघि, जोर्डनका खेलाडी जर्सी नं. ६ हसन अल्मु रजनले ६२ औं मिनेटमा गोल गरे।

खेल सकिनै लाग्दा नेपालले पाएको कर्नर र फ्रि किकको सदुपयोग हुन सकेन।

भारी वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेलाडीहरूलाई खेल्न अप्ठ्यारो परेको थियो। खेलमा जोर्डनका खेलाडीहरू बढी आक्रमक देखिएका थिए। यस खेलमा नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्टले नेपालका पाँचै जना स्ट्राइकरलाई मैदानमा उतारेका थिए।

पाँच दिनअघि जोर्डनको अम्मान रंगशालामा भएको खेलमा जोर्डनले नेपाललाई ०-९ गोलले पराजित गरेको थियो।

विश्वकप-२०१४ को छनोटको दोस्रो लेगमा नेपालले जित्न १० गोल अनिवार्य थियो।

यस जीतसंगै विश्वकप छनौटमा जोर्डन १०-१ समग्र अग्रताका साथ समूह चरणमा प्रवेश गरेको छ भने नेपालको विश्व कप खेल्ने सपना समाप्त भएको छ।

Popularity: 5%

Add comment July 28th, 2011

सपथ नगराए त्यसको गम्भीर मूल्य चुकाउनुपर्छः देव गुरूङ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देब गुरुङले सरकारलाई समावेशी बनाउन माओवादीले पठाएका मन्त्रीहरुलाई सपथ नगराए त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

राजधानीमा विहीवार आयोजित साक्षात्कारमा एमालेले आफ्नो पार्टीमा समावेशिता, समानुपातिक प्रतिनिधित्वको विरोधी भएको घोषणा गरेको अवस्थामा मात्रै सरकारमा सहभागिताका लागि पठाएका नाम फिर्ता लिने घोषणा गरे।

माओवादीका तर्फबाट सरकारमा मन्त्री थप्ने भन्दा पनि समानुपातिक सहभागिताको मुद्दा भएको भन्दै प्रधानमन्त्रीले सपथ नगराए एमालेभित्रकै महिला, जनजाती, मधेसीले विद्रोह गर्ने चेतावनी दिए। उनले भने-हामीलाई विश्वास छ प्रधानमन्त्री ७० प्रतिशत महिला, जनजाति र दलितको विपक्षमा जानु हुन्न।

उनले १० वर्षको जनयूद्धबाट स्थापित समानुपतिकताको माओवादी नीति भएकोले यो विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्दै एक दिनको लागि भए पनि सपथ ग्रहण हुनै पर्ने जिकिर गरे।

उनले संयुक्त सरकारमा कसलाई पठाउने र कसलाई फिर्ता बोलाउने भन्ने विषयमा माओवादीको अधिकार भएको भन्दै प्रधानमन्त्रीले काग्रेससहित विभिन्न दलहरुसँग गरिरहेको छलफल संयुक्त सरकारको मान्यता विपरित भएको आरोप लगाए। उनले भने-प्रधानमन्त्रीले जे गरिरहनु भएको छ त्यसको हामी विरोध गर्र्छौ। सरकारमा कसलाई पठाउने र फिर्ता बोलाउने भन्ने कुरा अरु कसैले निर्धारण गर्ने कुरा होईन।

राष्ट्रिय सहमतिको लागि आफूहरु तयार रहेको बेला यसको विरुद्धमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेकोप्रति लक्षित गर्दै गुरुङले पाँच बुँदे र शान्ति सम्झौताको नाममा समानुपातिकतालाई ओझेलमा पार्ने काम गरेको आरोप लगाए।

Popularity: 5%

1 comment July 28th, 2011

माओवादी मन्त्रीको सपथ हुने एमाले मन्त्रीको खुलासा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, सरकारमा एमालेका तर्फबाट सहभागी सिंचाई मन्त्री रघुवीर महासेठले माओवादीले सिफारिस गरेका नेताहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सपथ गराउने खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने-सरकारमा पार्टीको तर्फबाट सहभागी कसलाई फिर्ता बोलाउने कसलाई पठाउने भन्ने कुरा माओवादीको अधिकारको कुरा हो। यसलाई मान्दिन भन्नु गैर जिम्मेवार कुरा हो। सरकारबाट फिर्ता बोलाउने र पठाउने अधिकार माओवादीको अधिकारमा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै प्रधानमन्त्रीले पनि आफ्नो विशेष अधिकारको प्रयोग गरी सपथ गराउनु पर्ने धारणा उनले राखे। एमालेले पनि सपथको विपक्षमा नरहेको स्पष्ट पार्दै केवल प्रतिपक्षीको सर्मथनमात्र लिन खोजेको दावी गरे।

काग्रेस र माओवादीवीच सहमतिको सरकारको साझा उमेदवार तय नभएसम्म प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा राजिनामा नदिने दावी गर्दै प्रधानमन्त्रीले राजिनामा दिए शान्ति र संविधान निर्माणको कार्य प्रभावित हुने चेतावनी दिए।

काग्रेसले पाँच बुँदे सहमतिको गलत ब्याख्या गरेको आरोप लगाउँदै पाँच बुँदेभित्र सहमतिको विकल्पपछि प्रधानमन्त्रीले राजिनामा दिने कुरा भएकोमा काग्रेसले त्यसलाई विर्सको दावी गरे।

Popularity: 5%

Add comment July 28th, 2011

नेविसंघद्वारा सीटीइभीटीमा आन्दोलनको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ बुँदे माग अगाडि सार्दै नेपाल विद्यार्थी संघले सीटीइभीटीमा आन्दोलनको घोषणा गरेको छ।

संघले विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भोलि अर्थात साउन १३ गतेबाट अनिश्चितकालिन तालाबन्दी सहितको आन्दोलनको घोषणा गरेको हो।

नेविसंघद्वारा घोषित आन्दोलनको कार्यक्रममा साउन १३ र १४ गते प्रत्येक परीक्षा केन्द्रमा मागपत्र सहितका पर्चा बाँडने र विद्यार्थीहरुलाई आन्दोलन बारेमा जानकारी दिने, साउन १५ गते सीटीइभीटीमा अनिश्चितकालिन तालाबन्दी गरी कोण सभा गर्ने, १६ गते प्रत्येक संस्थाको प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गर्ने र आफूहरुको मागलाई अझै ब्यवस्था गरिए थप आन्दोलनको घोषणा गर्ने लगायतका रहेका छन्।

संघले प्राविधिक शिक्षा वोर्ड र ब्यवसायीक तालिम परिषदलाई अलग अलग सञ्चालन गर्नु पर्ने, प्रत्येक अञ्चलमा सीटीइभीटीको आंगिक क्याम्पस सञ्चालन गर्नु पर्ने, अन्धाधुन्द अनियन्त्रित रुपमा कलेज सम्बन्धन दिने क्रम रोक्नु पर्ने र शुल्क निर्धारणमा विद्यार्थी सहितको संलग्नतामा शुल्क निर्धारण समिति गठन गर्नु पर्ने माग राखेको छ।

त्यसैगरी, विभिन्न संकायको परीक्षा सञ्चालन र अनुगमन गर्ने छुट्टै निकायको ब्यवस्था, पूर्ण छात्रबृत्तिमा पढेका विद्यार्थीले १ वर्ष सीटीइभीटीले खटाएको ठाँउमा काम गर्नु पर्ने, उत्तरपुस्तिका पुनर्परिक्षण, शैक्षिक क्यालेण्डरको ब्यवस्था, भौतिक पूर्वाधार नभएका र मापदण्ड नपुगेका कलेजको सम्बन्धन खारेज गर्नु पर्ने र यसअघि भएका सम्झौता कार्यान्वयन गर्नु पर्ने लगायतका माग पनि नेवि संघले अगाडि सारेको छ।

Popularity: 5%

Add comment July 28th, 2011

निल डेबिडका प्रशिक्षार्थीहरु अब मद्रासमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
चर्चित हेयरस्टाइलिष्ट निल डेविड कटुवाल आफूलाई भारत हुँदै अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रयासरत् छन्। भारतको सिलगुडीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा खोलेका निलले आगामी नोभेम्बरमा सिक्किमको गान्तोकमा र फरवरीमा अर्को अन्तर्राष्ट्रिय शाखा भारतको दिल्लीमा खाल्दैछन्। त्यसलगत्तै उनी मायानगरी बलिउडमा समेत पहिचान बनाउने कसरतमा छन्।

नेपालको काठमाडौं, धरान र भर्खरै आफ्नो गृहनगर बिर्तामोडमा हेयर सैलुन तथा एकेडेमी खोलेका निलले गत साता मात्र मद्रासको ‘ग्रिनट्रेन्डस’ नामक चर्चित हेयर सैलुन कम्पनीसँग एउटा सम्झौता गरेका छन्। मद्रासमा दुइ सयभन्दा बढी हेयर सैलुन रहेको ग्रिनट्रेन्डसँगको सम्झौताअनुरुप हरेक महिना ‘निल डेविड हेयर सैलुन एण्ड एकेडेमी’ को नेपाल र भारतका शाखामा अध्ययन गरिरहेका एक सय प्रशिक्षार्थीहरुलाई ४५००० रुपैयाँ बराबरको निःशुल्क छात्रवृत्ति तालिम दिनुको साथै चेन्नई र बैङ्गलोर उच्चस्तरको रोजगारको ग्यारेण्टीसमेत दिइनेछ।

निल डेविडद्वारा प्रशिक्षित सयौं प्रशिक्षार्थी अहिले नेपाल, भारतलगायत लण्डन, दुबई, अमेरिका र अष्ट्रेलियामा हेयर सैलुन खोलेर आयआर्जन गरिरहेका छन्। केश काट्ने व्यवसायलाई नेपालमा सम्मानित र व्यवसायिकरुपमा चिनाउन सफल निलका प्रशिक्षार्थीहरु मद्रासको मल्टिनेसनल कम्पनी ‘ग्रिनहेण्डस’ मार्फत् पनि आफूलाई अझ उँचाइमा लैजान सक्छन्।

निलले धरान र बिर्तामोड शाखाबाट हरेक महिना चारजनालाई निःशुल्क तालिम दिएर चेन्नईमा थप निःशुल्क प्रशिक्षणको लागि पठाउने भएका छन्। त्यसको लागि प्रशिक्षार्थीहरु मध्येका उत्कृष्ट र असहाय, गरिबहरुको लागि छात्रवृत्ति दिइने निलले बताए।

दिल्ली तथा गान्तोकमा खोलिने हेयर स्टुडियो तथा एकेडेमीका लागि व्यस्त रहेका निल अहिले सिक्किम पुगेका छन्। उनी आगामी शुक्रबार बिर्तामोडको नयाँ हेयर सैलुनमा यस वर्षको मिस पूर्वाञ्चल प्रतिभा श्रेष्ठको हेयर स्टाइल तथा मेकओभरका लागि आउँदैछन्।

आउँदो भदौमा हुने मिस नेपालमा प्रतिस्पर्धामा पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै जान लागेकी प्रतिभालाई हेयर स्टाइल र ग्रुमिङका केही टिप्सहरु दिने निलले बताए।

Popularity: 5%

Add comment July 28th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....