Archive for July 9th, 2011

पोखरामा पहिलो अनलाइन सपिङ सेवा सुरू

हिमदूत डेली / एचकेनेपाल डट कम-
पोखरा, अब पोखरामा पनि घरमै बसीबसी वा विदेशबाट समेत सामान किनमेल गर्न सकिने अनलाईन सेवाको शुभारम्भ भएको छ।
देशभित्र र विदेशबाट पोखरामा ख्याती प्राप्त डिपार्टमेन्टल स्टोरबाट सामानहरु किनमेल गर्न सकिने गरी अनलाईन सपिङ साईट सुरु गरिएको छ । ‘पोखरा बजार डट कम’ नाम दिइएको सो वेवसाइटबाट घरमै बसेर बजारकै मुल्यमा उपभोग्य सामानहरु किनमेल गर्न सकिने छ।

मानिसहरुमा बढ्दो व्यस्तता र कम समयको सदुपयोग हुने गरी इ-कर्मर्सको अवधारणा अनुरुप सो सेवा सुरु गरिएको वेवसाइटका संचालक तथा प्रवन्धक नरेश श्रेष्ठले जानकारी दिए। शुलभ मूल्यमा घरसम्मै पुगी सेवा दिने अभिप्रायले वेवसाइट सञ्चालनमा ल्याइएको उनले बताए।

यो वेवसाइटमा गएर दैनिक जीवनमा आवश्यक, घरघरायसी सामानहरुदेखि लिएर कम्प्युटर, टिभी, मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरुका साथै
सेक्सटोयहरु समेत किन्न सकिन्छ। सामान किन्न इच्छुक ग्राहकले यो साईटमा गएर एकपटक दर्ता भएर आफ्नो विवरण भर्नुपर्छ। सामान छानेर अर्डर गरेपछि क्रेताकै घरसम्मै सामान पुर्‍याउने व्यवस्था मिलाइएको श्रेष्ठले बताए। आफूलाई आवश्यक सामान छानिसकेपछि पे-पेल र इ-सेवा मार्फत क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने छ साथै छिट्टै नै रिचार्ज कार्डबाट पनि सामान किन्न सकिने गरी सेवा थप गरिने उनले बताए।

विदेशमा रहेका नेपालीहरुले पोखरामा र अन्य शहरमा रहेका आफ्ना परिवार वा आफन्तलाई सामान किनिदिन समेत सक्दछन् विषेश पर्वहरुमा आफ्ना आफन्तहरुलाई गिफ्ट पठाउन समेत सकिने उनले जानाकरी दिए। अर्डर गरिएको सामान पोखराभित्र १२ घण्टा र पोखरा भन्दा बाहिर २४ घण्टाभित्र व्यक्तिको घरमा पुगिसक्ने र पोखराका डिमार्टमेन्टल स्टोर्सहरुले जुन मूल्यमा उपलब्ध गराउछन् त्यसमा अन्य थप सेवा शुल्क नलिई सेवा प्रदान गरिने उनले बताए।

दश हजार रुपैया भन्दा बढी मूल्यको किनमेल गर्दा थप शुल्क नलिई सम्बन्धित व्यक्तिलाई सेवा दिइने र दश हजार भन्दा कम मूल्यको सामान किन्दा भने डेलिभरी चार्ज स्वरुप पोखरा बजारभित्र एकसय रुपैया र पोखरा भन्दा बाहिरका शहरमा पाँचसय रुपैयाँ लाग्ने बताइएको छ।

दिती नेर्टवर्क पोखराको प्राविधिक सहयोगमा निर्माण गरिएको वेवसाइट तीन महिनादेखि परीक्षणका रुपमा सञ्चालन भईरहेको थियो। यसले व्यस्त व्यक्तिहरुलाई सपिङ जानुपर्ने समय वचत गर्नुका साथै गुणस्तरिय सामान आफ्नै घरमै बसीबसी किन्न चाहने पोखरेलीहरुको इच्छालाई अवश्य पुरा गर्नेछ।

Recent Videos:

Popularity: 5%

1 comment July 9th, 2011

बीस वर्षपछि तीन हत्यारा पक्राउ

एचकेनेपाल डट कम संवाददाता -
बर्दिवास (महोत्तरी), अषाढ २५ - महोत्तरी जिल्लामा प्रहरीले २० वर्षदेखि फरार रहँदै आएका हत्या घटनाका तीन आरोपीलाई पक्राउ गरेको छ।
जिल्लाको गौशाला-२ निवासी पाशुपत सादाको २०४८ साल साउन १० गते भएको हत्याका आरोपीहरू जिल्लाकै बिजलपुरा-१ का ताहिर नट अन्सारी, रामवृक्ष मण्डल र मिठु बरही मिस्त्रीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तीनैजनालाई विशेष सुराकीका आधारमा घरबाटै पक्राउ गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

प्रहरीले शुक्रबार नै जिल्लाको धिरापुर–५ का नाजिम राइनलाई बहुविवाह गरेको अभियोगमा पक्राउ गरेको छ।

राइनले घरमा रहेका चार छोराछोरीको आमा आफ्नी पत्नी जरिसा खातुनलाई एकतर्फी तलाक दिएर गाउँकै दारुदा खातुनसँग बिहे गरेको बताइएको छ। (रासस)

Recent Videos:

Popularity: 5%

Add comment July 9th, 2011

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा सर्वसम्मत निर्णय गर्ने

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, भौतिक योजना तथा निर्माण मन्त्री एवम माओवादी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादीको जारी स्थायी कमिति र आगामी केन्द्रीय कमिटिको बैठकले उपाध्यक्ष डा बाबुराम भट्टराईलाई सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा सिफारिस गर्ने दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले अध्यक्ष प्रचण्डले नै भट्टराईको नाम प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने दावी गर्दै त्यसमा कसैको पनि विरोध नरहेको स्पष्ट पारे। उनले भने- हाम्रो पार्टीमा कसको नेतृत्व भन्नेमा द्विविधा छैन। अध्यक्षले बाबुरामजीको नाम प्रस्ताव गर्नु हुन्छ र सर्वसम्मतीले पारित हुन्छ।

यद्यपि, उनले माओवादी सहमतिको सरकारको नेतृत्वको विषयमा अधिक लचक रहेको दावी गरे। माओवादी ठूलो पार्टी भएकोले नेतृत्वको दावी माओवादीकै हुने र त्यसो भए सहमति पनि बन्ने दावी गर्दै उनले सहमतिमा भाँजो हाल्न गरी माओवादीले जिद्धि र अडान नलिने स्पष्ट पारे। उनले भने-जिद्धि र अडानले सहमति बन्न सक्दैन। त्यसैले माओवादी नेतृत्वको विषयमा एकदमै लचक छ । जसको नाममा सहमति बन्छ त्यसलाई स्वीकार्न तयार छ।

माओवादीभित्र प्रचण्ड र बाबुराम बन्ने भनी अरु पार्टीले भन्नु पार्टीभित्र खेल्ने योजनामात्रै भएको भन्दै मन्त्री रायमाझीले अरुले आदेश दिएको भरमा माओवादीले कुनै निर्णय नगर्ने स्पष्ट पारे। मुलुकलाई जारी संक्रमणबाट मुक्त पार्न राष्ट्रिय सहमतिको विकल्प नरहेको भन्दै उनले तत्काल पाँच बुँदे सहमतिको पूर्ण कार्यान्वयन हुनु पर्नेमा जोड दिए।

उनले सहमति गर्ने दलहरुले नै पाँच बुँदे सहमति कार्यान्वयन गराउन चासो नदेखाएर संविधानसभा विघठन र प्रतिक्रान्तिको मतियार बर्तमान सरकारलाई बनाउने योजना बनाएको आशंका गर्दै मुलुकलाई दुर्घटनाबाट बचाउन तत्काल पाँच बुँदे सहमतिको कार्यान्वयन हुनु पर्ने बताए। माओवादीले दोहोरो सुरक्षा हटाएको दावी गर्दै यसमा विवाद गरे शान्ति र संविधानलाई राम्रो नगर्ने तर्फसचेत गराए।

माओवादीभित्रको अर्न्तसंघर्ष शान्ति, संविधान र सहमति कसरी पूरा गर्ने भन्नेमा रहेको उल्लेख गर्दै यस्तो बहस सबै पार्टी र जनतावीच रहेकोले यसलाई अस्वभाविक रुपमा लिन नहुने तर्क गरे। उनले भने-यस्तो बहस स्वभाविक हो, यो माओवादीमा पनि छ । मन्त्री रायमाझीले सहमति बन्न नसके मुलुक भिषण साम्प्रदायिक द्वन्द्धमा जाने र यसले कसैको पनि हित नगर्ने भएकोले दलहरुलाई गंभीर बन्न आग्रह गरे।

मन्त्री रायमाझीले शान्ति र संविधान कुन पहिला भन्नेमा दलहरुका आ आफ्नै आशंका रहेकालाई सबैको आशंका अन्त्य गर्ने गरी तिव्रताका साथ दुबै प्रक्रियालाई सँगसँगै अगाडि बढाउनु पर्ने भन्दै हतियार र सेना पनि सँगसँगै समायोजनमा जानु पर्ने धारणा राखे।

साक्षात्कारमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आफू ब्यक्तिगत रुपमा डा बाबुराम भट्टराईको फ्यान भएको उल्लेख गर्दै उहाँ सहमतिको प्रधानमन्त्री बने एमालेलाई कुनै आपत्ति नहुने बताईन्। उनले भनिन- नेतृत्व ठूलो कुरा होईन, जसको नेतृत्व भए पनि एमालेलाई फरक पर्दैन।

यद्यपि, उपाध्यक्ष भण्डारीले त्यसको लागि माओवादी शान्ति प्रक्रिया पुरा गर्न प्रतिबद्ध हुनु पर्ने जिकिर गरिन्। उनले माओवादीले द्धन्द्ध र शान्तिको दुइवटा नाउमा खुट्टा राखेकोले समस्या उत्पन्न भएको दावी गर्दै सहमति गरिसकेपछि नयाँ नयाँ सर्त थप्ने माओवादी ब्यवहारले शान्ति, संविधान र सहमतिमा अवरोध उत्पन्न भएको आरोप लगाईन्।

अहिलेको अवस्थाले तोकिएको समयमा शान्ति र संविधानको काम पुरा हुन नसक्ने ठोकुवा गर्दै शान्ति प्रक्रियालाई शान्ति सम्झौता अनुसार नै अगाडि बढाउनु पर्ने सुझाव दिईन्। एमाले कुनै पार्टीभित्र यसको वा उसको नेतृत्व स्वीकार भनी अर्न्तद्वन्द्ध चर्काउने र खेल्ने पक्षमा नरहेको भन्दै नेतृत्वको लागि माओवादीलाई शान्ति प्रक्रियामा प्रतिबद्ध हुन आब्हान गरिन्।

Popularity: 6%

Add comment July 9th, 2011

विश्वप्रसिद्ध पुस्तक सुप्रिम गडको नेपालमा विमोचन

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, असार विश्वभरीमा सर्वाधिक विक्री भएको पुस्तकको सूचिमा सूचिकृत पुस्तक सुप्रिम गडको शनिवारमा नेपालमा विमोचन भएको छ।
अमेरिकामा प्राध्यापक पेशामा संलग्न नेपाली नागरिक जितेन्द्र ध्वज खाँडद्वारा लिखित पुस्तक सुप्रिम गडको विमोचन शनिवार रिपोर्टर्स क्लब नेपालमा पूर्व प्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले गरेका हुन्।

अमेरिकाको रोजडग बुक्स, पेन्सिलभेनिया, पिर्टसबर्गले प्रकाशित गरेको पुस्तक सुप्रिम गडमा लेखक खाँडले पूर्वीय सनातन धर्म, पूर्वीय धर्म दर्शन र पश्चिमा धार्मिक दर्शनलाई फ्यूजन गरेर भगवान, इश्वर र परमेश्वरको रुपमा भगवानलाई विभाजन गरेका छन्।

उनले ब्यक्ति र राष्ट्र जस्तै परमेश्वरको पनि शरिर, इच्छा, विद्धता र काम हुने ब्याख्या पुस्तकमा गरेका छन् । उनले संसार परमेश्वरको शरिर भएको दावी पुस्तकमा गरेका छन्।

शक्ति, धर्म र परमेश्वरको पुण्यभूमि नेपाल भएको प्रष्ट्याउँदै उनले आफ्नो प्रसिद्ध पुस्तकमा बेद र दुर्गा कवचलाई सबै धर्म साहित्यको पुर्खा पनि भनेका छन्। उनले आफ्नो पुस्तकमा राजनीति, अर्थनीति, धर्म समाज सबैका दर्शन र आर्दशलाई समेटेको भन्दै संसारमा परमेश्वरदेखि ब्यक्तिको नौ वटा इन्ट्रेष्ट हुने तथ्य आफ्नो पुस्तकले प्रमाणिक रुपमा प्रस्तुत गरेको दावी गरे। उनले एउटा मान्छेले हजारौ पुस्तक पढेर पाउने ज्ञानलाई समयको बचत गराउने उद्धेश्यले एकै पुस्तकमा समेटेको भन्दै यो सबैको लागि उपयोगी हुने विश्वास ब्यक्त गरे।

विमोचन समारोहमा सुप्रिम गडका लेखकको बारेमा रिपोर्टर्स क्लबमा अध्यक्ष ऋषि धमलाले प्रष्ट्याएका थिए। उनले आफ्नो जीवनमा विविध खाले काम गरेर अनुभव हासिल गरेका खाँडले नेपाली सेनालाई सैन्य तालिम दिनेदेखि ब्यापारी जीवन पनि बिताएको जानकारी दिए। उनका अनुसार २० वर्षसम्म निरन्तर धर्म ग्रन्थको अध्ययन र विश्लेषण गरेर १० बर्ष लगाएर पुस्तकको प्रकाशन गरेको जानकारी दिए। खाँडले यो पुस्तक लेख्ने क्रममा दिनको १७ घण्टासम्म एकान्तको खोजीमा बाथरुममा बसेर अध्ययन गरेका थिए। धमलाले खाँडबाट देशले धेरै कुरा पाउन सक्ने भएकोले उनको सम्मान गर्नु पर्ने तर्क गरेका थिए।

विमोचन समारोहमा खाँडको बहुचर्चित पुस्तक सुप्रिम गडको विषयमा नेपाली काग्रेस राष्ट्रबादीका रामबाबु प्रसाईले जीवनभरीको अध्ययनबाट आफूले अहिलेसम्म बुझ्न नसकेको कुरा खाँडले सहजै ब्याख्या गरेको भन्दै त्यसबाट संसारले धेरै कुरा पाउन सक्ने बताए।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पूर्वीय र पश्चिम दर्शनको फ्यूजनको रुपमा खाँडको पुस्तक आएको भन्दै यस्ता पुस्तकले धार्मिक सहिष्णुता कायम गर्दै संसारमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। उनले पुस्तकले पूर्वीय दर्शन र सनातन धर्मको उदगम नेपाललाई प्रमाणिक रुपमा प्रस्तुत गरेर नेपाललाई संसारमा चिनाउने काम गरेको धारणा राखे।

Popularity: 5%

Add comment July 9th, 2011

भूमिगत संयूक्त जातीय मुक्ती मोर्चाको बार्ता टोली सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, विगत पाँच देखि भूमिगत संर्घष गरिरहेको संयूक्त जातीय मुक्ति मोर्चाले सरकारसँग बार्ताको लागि शनिवार १५ सदस्यीय बार्ता टोली सार्वजनिक गरेको छ।
मोर्चाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देबराज लामा विश्वक्रान्तिको संयोजकत्वमा १५ सदस्यीय बार्ता टोली र्सार्वजनिक गरेको हो।

संयोजक विश्वक्रान्ति राप्रपा नेपालको केन्द्रीय कार्यालयमा बम राखेको आरोपमा पक्राउ परी हाल धादिङ जेलमा रहेकोले पत्रकार सम्मेलनमा सहसंयोजक दलमर्दन कामी प्रभास सहितका १४ जना सदस्यहरु सार्वजनिक भएका थिए।

विश्वक्रान्ति संयोजकत्वको बार्ता टोलीमा कामी सहसंयोजक, जनलाल थापा मगर, अबिरल, संघर्ष तामाङ, सोभित रन्जित शाश, प्रेम चौधरी, भवी विश्वकर्मा, लिला लामा, गौरब महरा, सीतादेवी यादव, जागेश्वर महरा, टासी, पासाङ, सोनाम सदस्यमा रहेका छन्।

मोर्चाले सरकारले आफूहरुको मागमा सकारात्मक हुँदै बार्तामा आउन आब्हान गरेकोले बार्तामा आउने निर्णय बमोजिम बार्ताटोली गठन गरेको भन्दै आफ्नो मोर्चासँग सहकार्य गरिरहेको किरात जनवादी वर्कस पार्टीलाई पनि बार्ताको लागि बोलाउन माग गरेको छ। मोर्चालाई गत असार १९ गते सरकारले पत्र पठाई बार्ताको लागि आब्हान गरेको छ।

पत्रकार सम्मेलनमा मोर्चाले झुठा आरोपमा थुनामा राखेकोले तत्काल रिहागरी इमान्दार बार्ताको बातावरण बनाउन माग गरेको थियो। मोर्चाले जनआन्दोलन, जनयूद्धलगायत विबिध आन्दोलनहरु भए पनि शोषित पिडीत, उत्पिडीत, आदीवासी जनजाती, दलितले अधिकार पाउन नसकेको भन्दै उनीहरुलाई राज्यको मुल प्रभावमा समाहित गराउन र अधिकार सुनिश्चित गर्न बाध्यताबस आन्दोलनमा जानु परेको बताएको छ।

Popularity: 5%

Add comment July 9th, 2011

माओवादीको नेतृत्वमा सरकार बन्दैनः डा महत

एचकेनेपाल डट कम संवादाता -
काठमाडौ, नेपाली काग्रेसका नेता डा रामशरण महतले माओवादीको नेतृत्वमा सरकार बन्न नसकने स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा डा महतले सेना समायोजन, पुनर्स्थापना, कब्जा सम्पत्ति फिर्ता जस्ता विषयमा ठोस काम नभएको अवस्थामा अहिले माओवादीको नेतृत्वमा सरकार बन्नै नसक्ने ठोकुवा गरे। उनले भने- नयाँ बन्ने सरकारमा माओवादीको नेतृत्व स्विकार गर्ने अवस्था छैन। अहिलेकै अवस्थामा काग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार बन्ने सम्भावना छैन।

काग्रेसको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बन्ने कुरा आश्चर्यजनक भएको भन्दै यस्तो समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले माओवादी अध्यक्षको नेतृत्वका काग्रेस सरकारमा जाने भन्ने समाचारको खण्डन गर्दे अरुको पार्टीभित्र कसले नेतृत्व गर्छ भन्ने चासो काग्रेसको नभएको र त्यस्तो कार्य काग्रेसले गर्दै नगर्ने समेत बताए।

डा महतले भने-शान्ति प्रक्रिया यथास्थितिमा छ, कार्यतालिकामा कुनै प्रगति भएको छैन। भदौ १४ गते अघिनै हतियार राज्यलाई बुझाउने कुरामा माओवादी तयार छैन। यस्तो अवस्थामा काग्रेसलाई माओवादीको नेतृत्व स्वीकार हुने कुरै आउँदैन। यद्यपि, उनले माओवादी हतियार छाडेर शान्ति पूर्ण राजनीतिमा आए माओवादीको नेतृत्वमा काग्रेसलाई कुनै आपत्ति नहुने बताए।

शान्ति प्रक्रियाको विषयमा विगत तीन हप्तामा विशेष समितिमा कुनै प्रगति हुन नसकेको भन्दै माओवादी र अरु दलवीच ठूलो ग्याप रहेको बताए। उनले विगतका सहमतिलाई आत्मसाथ गर्दै माओवादी लचिलो भएर प्रस्तुत नभएसम्म शान्ति प्रक्रियामा कुनै प्रगति नहुने समेत दावी गरे।

Popularity: 5%

Add comment July 9th, 2011

अनिज कास्कीको त्रिदिवसीय पत्रकारिता तालिम सुरु

रञ्जन अधिकारी एचकेनेपाल डट कम-
पोखरा, पोखरा उपमहानगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्कीले पोखरामा शनिबारदेखि त्रिदिवसीय पत्रकारिता तालिम सञ्चालन गरेको छ।
तालिमको शुभारम्भ गर्नुहुँदै प्रमुख अतिथि सञ्चार केन्द्र, पोखराका प्रमुख हरिप्रसाद गौतमले पत्रकारिता क्षेत्र निकै जोखिमपूर्ण भएकाले पत्रकारहरुले संयमताका साथ पत्रकारिता गर्न आग्रह गर्नुभयो। विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको प्रसंग कोट्याउँदै उहाँले मुलुकमा पत्रकारमाथि समाचार लेखेकै भरमा कुटपिट, हत्या हुने दर्दनाक अवस्था रहेको स्मरण गर्नुभयो। सञ्चार क्षेत्र शहरमुखी भएको भन्दै उहाँले पत्रकारहरु ग्रामीण क्षेत्रमा पुगी सूचना संकलन गर्नुपर्नेमा जोड दिनुभयो। गौतमले प्राप्त अवसरलाई भरपूर उपयोग गर्दै तीन दिनमा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो।

अनिज कास्कीका अध्यक्ष हुम तमुको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन सचिव रुद्र श्रीष मगरले गर्नुभएको थियो भने उपाध्यक्ष विवि आलेमगरले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो। अनिज कास्कीले गत वर्ष आधारभूत पत्रकारिता तालिम संचालन गरिसकेकोले यस पटक क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यले खोज पत्रकारिता, आलेख लेखन जस्ता विषयमा अभिमूखीकरण गर्ने कार्यक्रम राखिएको अध्यक्ष हुम तमुले जानकारी दिनुभयो। उपाध्यक्ष विवि आलेमगरले सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

करीब पच्चिस पत्रकार सहभागी तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य पुण्य पौडेल, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका पश्चिमाञ्चल प्रमुख भरत कोईराला, हाम्रो कलम राष्ट्रिय दैनिकका सम्पादक दीपक श्रेष्ठले सहजीकरण गर्नुहुनेछ। पोखरामा कार्यरत आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ आयोजित तालिममा खोज पत्रकारिता, आलेख लेखन, समचार सम्पादन लगायतका विषयमा अभिमुखरण गराईने अनिज, कास्कीले जनाएको छ।

तालिमको पहिलो दिन प्रशिक्षक पुण्य पौडेलले खोज पत्रकारिताका बारेमा सहभागीलाई सहजीकरण गराउनुभयो । खोज पत्रकारितामा लुकाईएका विषय खोजी गरी बाहिर ल्याउँदा विषयको गाम्भिर्यतालाई बुझ्न आवश्यक रहेकोमा सहभागीलाई यस विषयमा जानकारी गराउनुभएको थियो । आम पत्रकारिता भन्दा खोज पत्रकारिता बढि जोखिम हुने हुँदा अपराध, भ्रष्टाचार, सामाजिक रुढिवादी लगायतका विषयमा समाचार लेख्दा बढि सजग अपनाउनुपर्नेमा उहाँको जोड थियो। सभ्य समाजको निर्माण, सामाजिक कुरीतिको हटाउन खोज पत्रकारिताले सहयोग गर्ने तर यसको चुनौति वहन पनि स्वयं पत्रकारले नै गर्नुपर्ने भएकाले पत्रकारिता क्षेत्रमा खोज पत्रकारिताको निकै महत्व रहेको उल्लेख गर्नुभयो। तालिमको दोस्रो दिन आईतबार पत्रकार भरत कोईरालाले आलेख लेखनका विषयमा सहजीकरण गराउनुहुने अनिज कास्कीले जनाएको छ।

Popularity: 5%

Add comment July 9th, 2011

कोरियाको इपिएस भिषा र थ्रि डि काम

मञ्जु थापा / एचकेनेपाल डट कम -
सउल, दक्षिण कोरिया नेपाली युवापुस्ताहरुको गन्तव्य बन्दैछ। कोरिया, बहु-साँस्कृतिक र बहु-आयामिक परिचय यो देशसँग जोडिएको छ। उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि, समता र प्रजातन्त्रको लागि निरन्तर संर्घषशील सउल ठूला ठूला गगनचुम्बी भव्य भवनहरु देखेर, नेपालमा बिक्री हुने कोरियन फिल्म र ड्रामाहरु हेरेर देखिने बाहिरी रुपमा सुन्दर शहर आज हाम्रो युवा पुस्ताको लागि पसिना बेच्ने शहर बनेको छ।
नेपालमा जस्तो जहिले पनि लोडसेडिग र अन्धाकारमा बस्नु पर्ने बाध्यता नभएकोले पनि होला कोरियाको “मिराकल इकोनमी” अर्थात अच्चमै लाग्दो आर्थिक प्रगतिले धरैलाई आकर्षित गरिरहेको छ। इपिएस भिषामा नाम निकाल्नेहरु भाग्यशाली चिठ्ठा परेकोमा दंग छन होला। तर कमैलाई थाहा होला- “मिराकल इकोनमी” को पछाडि लुकेको यो देश कहाली लाग्दोगरी “किङ्गडम अफ इण्डष्ट्रियल एक्सिडेण्ट” अर्थात “औद्योगिक दुर्घटनाको राजधानी” भनेर चिनिन्छ। कोरियामा गर्ने काम भनेको थ्रि डि (डेन्जर, डटि एण्ड डिफिकल्ट) अर्थात खतरानाक, फोहोर र कठिन हुन्छ। काम गर्दा औला काटिनु, हात काटिनु अनि सुतेकै अवस्थामा मृत्यु हुनु त यहाँको दैनिकी जस्तो भइसक्यो।

नेपालको आंकडा हेर्ने हो भने दिनहु वैदेशिक रोजगारीका लागि जाने युवापुस्ताहरुको संख्या डरलाग्दो गरी वृद्धि हुदैछ । यस्तै हो भने नेपालमा युवा जनशक्तिको खडेरी नपर्ला भन्न सकिदैन। हाम्रा शिक्षित, अर्धशिक्षित र अशिक्षित युवा- युवतीहरु पनि रोजीरोटीका लागि यतैतिर तानिदै छन्- बेखवर, निर्धक्क † मानौ सबै कुराको सुनिश्चित छ कोरियामा । भएका हाँडा-भाँडा धरौटी राखी-राखी काढिएको ऋण दलालको पोल्टामा खुत्रक्कै खसाली दिएर, कोरियाली नागरिकसंग नक्कली विवाह गरेर होस् वा इपिएस प्रणालीबाट कामदारको भिषामा अरु देशका दुःखी प्रवासी झैं उनीहरु पनि, कारखानारुपी धरापमा आफूलाई होम्दैछन्।

सन् १९९४ को जनवरीमा कोरियाको राजधानी सउलमा गैरकानूनि रुपमा काम गदै आएका प्रवासी श्रमिकहरुको आन्दोलनले तहल्का मच्चायो। श्रमिक हक अधिकारको नारा लगाइ महिनौ दिनसम्म सडकमा नै विताए। नेपाल, बंगलादेश, बर्मा लगायत विभिन्न्न देशका १४ जना औद्योगिक दुर्घटनामा परी घाइते हुनेहरुले लामो समयसम्म सडकमा संघर्ष गरिरहे । कोरियालीहरुलाई हामी प्रवासी मजदुर हौ हामीलाई हाम्रो तलब देऊ, अंगभंग भएका हामीलाई उपचार खर्च र औद्योगिक क्षतिपूर्ति देऊ, मानवविय व्यवहार गर भनी परिचय दिए । कोरियन जनसमुदाय र विभिन्न गैरसरकारी संस्थाहरु सबैले जिज्ञासा राखे के हो त यो प्रवासी श्रमिक भनेको? यसरी ३ महिनासम्म विभिन्न चरणका संघर्षहरु र आन्दोलन गर्दै उनीहरुले कोरियाली सरकारलाई झुक्न बाध्य बनाए।

“प्रवासी श्रमिक भनेको कोरियाको अर्थतन्त्रको मेरुदण्ड हो। यदि कोरियाली सरकार कुनै पनि प्रवासी श्रमिकहरुको विषयमा गंभिर हुदैन भने कोरियाको विकास जुन द्रुत गतिमा अगाडी बढिरहेको छ त्यो रोक्न सक्छौ” भन्ने घोषणा गरेका थिए। यस संर्घषमा सबैले साथ दिए र तत्काल श्रम ऐनमा प्रवासी श्रमिकहरुले पनि कोरियाली सरह समान कामको समान ज्याला र क्षतिपूर्ति पाउने श्रम ऐन बन्यो । प्रवासी श्रमिकहरुले पनि आफ्नो हक केही हदसम्म भए पनि प्राप्त गरे। यो नै कोरियामा प्रवासी श्रमिकहरु भनेर चिनाउने पहिलो र ऐतिहासिक आन्दोलन थियो।

तर दिनहूँ अंगभंग हुनेहरुको संख्या बढ्दो नै छ। हाल सम्ममा प्रवासी कामदारहरु पाँचसय जना भन्दा बढीले आफ्नो अंगभंगको क्षतिपूर्तिका लागि माइग्रेण्ट ट्रेड यूनियन मार्फत श्रम विभागमा मुद्दा दर्ता गराएका छन। इपिएस प्रणालीबाट कोरिया आएको दश दिनमै दुर्घटना व्यहोरेका मनोज थापा आफ्नो भाँचिएको हात र माथि पाखुरासम्म लागेको चोट देखाउदै भन्छन् “प्लाष्टिकको ड्रम बनाउने कारखानामा काम गर्दागर्दै थाहै भएन। ड्रमले च्याप्दै, धकेल्दै लग्यो अनि यो दुर्घटना भयो।” इपिएस प्रणालीबाट आउदा जोखिपूर्ण कामको बारेमा केही जानकारी समेत नदिएको उनले बताए । अहिले उनी आन्याङ्गको एक अस्पतालमा उपचार गराइरहेका छन्। काठमाडौबाट हवाइजहाज चढेर सउल पुग्ने र त्यो डलर फल्ने रुखबाट चाहिंदो डलर पटापट टिप्ने सपना उनमा पनि नभएको होइन। तर दुर्भाग्य भनौ औद्योगिक दुर्घटनामा परी एउटा डलर पनि गन्न नपाउदै उनले ३ महिना अस्पतालमा नै बिताउनु पर्यो । “अब झन के होला र ?” उनी प्रश्न गर्छन्।

त्यसो त फलामको कारखानामा काम गर्दा नाडीमा गहिरो चोट लागेको र सधैको लागि गह्रगो र कठिन काम गर्न नसकेर कारखानामा दुर्घटनामा परेका सोनाम शेर्पालाइ अस्ति मात्र कारखानाबाट साहुले निकाली दिएका छन्। उनले जवानीको जोस र जागर सबै कारखानामा काम गर्दै बिताएका थिए । तर पाखुरा नचल्दा काम छिटो गर्न नसकेका कारण कारखानाबाट निकालिए। मालिकले कुनै मानविय व्यवहार नगर्दा उनी डिप्रेशनमा आएका थिए। यो नियती मनोज या सोनामको मात्र होइन कुनै दिन तपाई हाम्रो पनि हुनसक्छ।

लामो समयसम्म कोरियाको श्रम अदालतमा मुद्दा खेपेका धरानका कुश राई आधा खुट्टा काटेर नेपाल फर्के। राइ प्लाष्टिकको कारखानामा काम गर्दा प्लाष्टिकको दानासंगै उनको खुट्टा पनि पेलिएको थियो। जानेबेलामा उनले “जिन्दगीभर निको नहुने घाउ लिएर जादैछु” भनेर दुखेसो पोखे।

सन् १९९९ बाट कोरियामा काम गर्दै आएका धरानका इश्वर मास्केले पनि ५ दिन अगाडि औद्योगिक दुर्घटनामा परी देब्रेहातका चार ओटा औलाहरु गुमाएका छन्। “सपना जस्तै लाग्छ बेला बेलामा” भन्दै उनी हातका औलाहरु नियाल्छन्। जम्मा जम्मि एउटा बुढि औलामात्र सद्धे छ। सिमेण्टका टुक्राहरु बनाउने क्रममा उनको हात प्रेस जस्तै कटिङ्ग गर्ने मेशिनमा परेको थियो। उनी उपचारको लागि अस्पतालमा नै छन्। थोरै जना कामदार भएको कारखानामा धेरै तिर काम हेर्नु पर्ने र सधै कोरियन मानसिकता लिएर पाली पाली (छिटो छिटो) काम गर्नु पर्ने भएकोले पनि औद्योगिक दुर्घटना हुन गएको मास्के बताउछन्।

यहाँका कारखानाका कुनै पनि मेशिनमा सुरक्षाका विधिहरु अपनाएको पाइदैन । काम गर्ने दौरानमा औद्योगिक दुर्घटनामा परी ज्यान समेत गुमाउनेहरुको सख्या दिन प्रति दिन बढ्दै छ। किनभने यहाको कोरियालीहरुले यस्ता थ्रि डि (खतरानाक, फोहोरी र कठिन, अंग्रेजीमा डेन्जरस, डर्टी डिफिकल्ट) काम गर्दैनन्। त्यो काम भनेको तेस्रो मुलकबाट सस्तो ज्यालामा इपिएस प्रणालीबाट भित्र्याइएका श्रमिकहरुलाई दिइन्छ । त्यसैले कोरियाली कामदारहरुको तुलनामा औद्योगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकहरुको संख्या धेरै गुणा बढिरहेको छ।

कोरिया पठाउन ठेक्का लिएका नेपाल सरकारका मानिसहरु, “इपिएस प्रणालीबाट कोरियामा लाखौ कमाइन्छ र यो वर्षसात हजार मजदुर कोरियामा खपत गरियो” भनेर धक्कु लगाउछन् तर यी निकायलाई इपिएस प्रणालीबाट आएका कति जना कोरियामा काम गर्दा अंग भंग भए भनेर कहिल्यै चासो लिदैनन्। उनीहरुलाइ एक जना कोरिया गए बापत “यति लाख आम्दानी भयो” भन्दै टाउको गन्दैमा फुर्सद छैन। जो प्रवासी श्रमिकहरुले कमाएको रेमिटेन्सबाट देश चलिरहेको सधैं धाक लगाउंछन् उनीहरुकै रगत र पसिना शोषण गर्छन् तर विदेशी भूमिमा मेशिनको घिर्नीमा चेपिएका र काम गर्दा गर्दै अकल्पनिय मृत्यु अंगालेका आफ्ना- दाजुभाइ, दिदीबहिनीको लास आउदा टुलुटुलु हेरिरहन्छन् र क्षतिपूर्तिको लागि समेत पहल गर्दैनन्। नेपालीले के पाए त कोरिया आएर ? कति लाख नै कमाए त ? कतिजना जिन्दगीभर अंपाग भएर फर्के भने कतिको विजोग कोरियाका चर्चहरुमा खुल्ला संग्राहलय जस्तै देख्न सकिन्छ । काम गरेर नेपाल फर्के पनि दिर्घ रोगबाट ग्रस्त छन् धन कमाउन कोरिया गएकाहरु।
(स्रोतः “रोजीरोटीका लागि प्रवासी श्रमिक विदेशी भूमिमा” बाट)

Popularity: 6%

Add comment July 9th, 2011

जहाज दुर्घटनाका मृतकलाई क्षतिपूर्ति दिन फैसला

दीपक पौडेल/एचकेनेपाल डट कम- दोहा, सन् २००९ को ३० जुनमा कतारको समुन्द्रमा भएको एक पानी जहाज दुर्घटनामा मृत्यु भएका १२ मध्ये ८ नेपालीका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि यहाँको पुनरावेदन अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएको छ।
एकै प्रकृतिको भएपछि छुट्टाछुट्टै रुपमा मुद्दा चलान हुने हुँदा हाल ८ जनाको मुद्दाको फैसला भएको हो भने बाँकी ४ जनाको मुद्दाको फैसला इद अल फित्रको विदापछि हुने अपेक्षा लिइएको छ। सो दुखद दुर्घटनामा परेका नेपाली युवाहरूमा छिस्ती-१ वाग्लुङ्गका लिलाराम पौडेल, फेटा-८ वाराका मेहदी हुसेन मिया, कटकुइया -१ बानियाँगाउँ, बाँकेका अब्बास अहमद सइ, दिभर्ना- ५ अर्घाखाँचीका मानसिंह खत्री, बगडा-६ महोत्तरीका शेषनाथ यादव, जौलीपोखरी- ८ रोल्पाका जय वहादुर पुन मगर, हापुर- २ दाङका शंकर विष्ट र हुप्सेकोट -८ नवलपरासीका घनश्याम सार्कीको क्षतिपूर्ति मुद्दामा फैसला भएको छ भने गुम्दी- ५ धादिङ्गका गंगा बहादुर गुरुङ, गौराकोट-१ पाल्पाका तिलक बहादुर खम्चा, कुर्घा- ३ पर्वतका ऋषि प्रसाद शर्मा पौडेल र सुगाभवानीपट्टी- ५ महोत्तरीका राजीव कुमार दत्तको फैसला हुन बाँकी छ।

यसअघि नागरिक अदालतले सम्बन्धित कम्पनीलाई आदेश दिएकोमा सो कम्पनीले पुनरावेदनमा अपिल गरेको थियो। फैसलाविरुद्व सर्वोच्च अदालतमा अपिल गर्न एच.बि.के. पावर क्लिनिङ कम्पनीलाई अदालतले ६० दिनको म्याद तोकेको छ । अपिलका लागि जनही २५ हजारका दरले कम्पनीले सर्वोच्चमा धरौटी राख्नुपर्ने हुन्छ। फेरि यदि सो मुद्दा हारेको खण्डमा सम्बन्धित कम्पनीले सो २५ हजार धरौटी गुमाउनुका साथै क्षतिपूर्ति रकम पनि बुझाउनुपर्ने हुन्छ । सो म्यादपश्चात् कतारको ‘क्यारिइङ कोर्ट’ले सो फैसला कार्यान्वयन गराउने छ।

यसअघि पनि धेरै नेपालीले क्षतिपूर्ति पाएको स्मरण गर्दै राजदूत डा. सुर्यनाथ मिश्रले न्यायीक प्रणालीमाथि पूर्ण विश्वासका साथ फैसलाप्रति खुसी ब्यक्त गरेका छन् । ‘८ जनाको जित्यौं, बाँकी ४ जनाको इद पछि फैसला हुने अनुमान छ’ राजदूतले भने- ‘सवैको मुद्दा एउटै प्रकृतिको भएकोले बाँकी मुद्दा पनि जित्ने विश्वास छ।’ सो फैसला अनुसार मृतकका परिवारजनले सम्बन्धित कम्पनीबाट २ लाख कतारी रियालका दरले क्षतिपुर्ति पाउनेछन् । सो रकमको २० प्रतिशत हिस्सा कानुनी प्रकृयामा लाग्ने शुल्कस्वरुप वकिललाई बुझाउनुपर्ने हुन्छ । क्षतिपुर्तिसम्बन्धि सो मामिलामा कतारी अधिवक्ता मोना अब्देल रहिमले वहस पैरवी गर्दै आएकी थिइन्।

एच.बि.के. पावर क्लिनिङ कम्पनीले १२ नेपालीका परिवारजनलाई क्षतिपूर्ति दिनुपर्ने फैसला कतारको नागरिक अदालत (सिभिल कोर्ट)ले गत २६ जनवरीमा सुनाएको थियो । क्षतिपुर्ति रकमको लागि दोहास्थित नेपाली दूतावासले सम्बन्धित स्थानीय कम्पनीविरुद्व कानुनी उपचारका लागि गत बर्षअदालतमा मुद्दा दायर गरेको थियो। एच.बि.के. पावर क्लिनिङ कम्पनी र विमा कम्पनीविच आपसी विवादका कारण कानुनी झमेला उत्पन्न भएपछि क्षतिपुर्तिसम्बन्धि कानुनी प्रकृया लम्बिएको थियो।

दोहादेखि १० नौटिकल दूरीमा ३० जुन, २००९ को सवेरै जहाज दोहा केनलमा प्रवेश गर्दै गर्दा भएको दुघटनामा १२ नेपालीसहित ३० जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा १६ भारतीय, १ बंगलादेशी र १ इन्डोनेशियनको पनि मृत्यु भएको थियो । संयुक्त अरव इमिरेट्स (युएइ) अवस्थित एक ब्यापारिक समूहको सो सप्लाई पानी जहाज दुर्घटना हुँदा त्यसमा चालकदलसहित ३५ जना सवार थिए । जहाजमा रहेका ३५ जनामध्ये २४ जना दोहास्थित एच.बि.के. पावर क्लिनिङ कम्पनीका कामदार थिए । जहाजमा सवार अन्य ब्यक्तिहरूमा ९ जना चालकदलका सदस्य र २ जना एक क्याटरिङ कम्पनीका कामदार थिए । सुतिरहेको अवस्थामा सो दुर्घटना भएकोले उनीहरू ज्यान जोगाउन असफल भएका थिए।

कार्यस्थल दुर्घटना वा काममा रहँदा भएको दुर्घटनामा मृत्यु भएका कामदारका परिवारलाई सम्बन्धित कम्पनीले ‘ब्लड मनि’ स्वरुप २ लाख रियाल क्षतिपूर्ति दिनुपर्ने कानूनी ब्यवस्था रहेको छ। कम्पनीका अधिकारीहरूलाई धेरैपटक बोलाउँदा पनि अटेरी गरेको कारण नेपाली दूतावासले सो मुद्दालाई अदालतमा लगेको थियो । सो दुर्घटनाको एकमात्रै कारण ‘सिपिङ कम्पनी’ र ‘क्याप्टेन’ रहेको भन्ने एक स्थानीय अदालतको ठहरपछि विमा कम्पनीले उदासिनता देखाएकोले क्षतिपुर्तिवारे अनिश्चितता छाएको थियो । जहाजका इन्डोनेशियन क्याप्टेनलाई ५ लाख रियाल जरिवाना र ६ बर्षको जेल सजाय दिइएको छ। दुवईको देमास मेराइनको सो मालवाहक पानीजहाज ‘देमास भिक्टोरी’लाई एचविके कम्पनीले पेट्रोलियम उद्योगमा ‘सहयोगी सेवा’ उपलब्ध गराउन प्रयोग गर्दै आएको थियो।

Popularity: 5%

Add comment July 9th, 2011

५ जना कामदार पठाउन ७ जना एजेन्ट

दीपक पौडेल/एचकेनेपाल डट कम- दोहा, कतारको एक सप्लाई कम्पनीमा ५ नेपाली कामदार पठाउन ७ जना एजेन्टको संलग्नता रहेको खुलासा भएको छ। कतारस्थित नेपाली नियोगको मापदण्ड अनुसारको कानूनी प्रक्रिया पूरा गरी पठाइएको भिसामा मात्र कामदार आउन पाउने भनिएता पनि नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी जारी गरेको नयाँ नीतिलाई अवज्ञा गर्दै एजेन्टहरुले कतार पठाएको खुल्न आएको छ।

चितवनका अरुण कार्की, तारा बहादुर घिमिरे, झापा दमकका डम्बर बहादुर कार्की, झापा दमककै मोहन मिश्र, सम्पत पौडेल र खिलराज गौतमलाई नेपालका ७ जना एजेन्टको मिलिभगतमा कतार पठाईएको थियो । एजेन्टहरुले उनीहरुलाई अफिस व्वाय, रुमव्वाय, स्टोर किपर जस्ता काम भनेर १ हजार रियाल तलव भनेर पठाएपनि कम्पनीले उनीहरुलाई निर्माण मजदुरको काममा ८ सय रियाल मासिक तलव भएको सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएपछि उनीहरुले नेपाल फर्कने निर्णय गरेका थिए।

भारतीय मूलका नागरिकको कम्पनीमा आएका उनीहरुले आफू नेपाल फर्कने भनेर कानूनी सहयोगको याचना गरेका थिए। यी युवाहरूका लागि युवा समाजसेवी लक्ष्मण खतिवडाले ४ सय २६ रियाल सहयोग प्रदान गरेका थिए। पिडित ५ जनालाई एजेन्टहरुसंग सम्पर्क गरी दवाव दिएर नेपाल कतार अनलाईनको विशेष पहलमा नेपाल फिर्ता पठाइसकिएको छ।

Popularity: 5%

Add comment July 9th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....