Archive for July 14th, 2011

भारतका व्यापारीलाई नेपाल बोलाएर अपहरण

एचकेनेपाल डट कम संवाददाता-
महानगरीय प्रहरी परिसरले व्यापार गर्ने बहानामा भारतका व्यापारीलाई नेपालमा बोलाएर अपहरण गरी बन्धक बनाई पैसा असुल्न खोज्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

भारतको नयाँ दिल्लीस्थित चाबेलचोकमा व्यापार गरी बस्ने जोगिन्दार पाल र सलामत अलीलाई नेपालमा व्यापार गर्न बोलाएर अपहरण गरी पोखरा लगी जङ्गलमा बन्धक बनाएर राख्ने चार भारतीयसहित छजनालाई महानगरीय परिसर हनुमानढोकाले पोखराबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत देहरादुन घर भई हाल काठमाडौँमा बसोबास गर्ने मञ्जिल राई, भारत झारखण्ड गोडन्डा जिल्ला घर भई हाल बिहार बस्ने शिवनारायण यादव, सोही स्थानका समेल हेम्ब्रम, पोखरा महेन्द्रपुलका राकेश शाक्य र सन्तोष घिमिरे तथा अछामकी एक महिला रहेको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

सो गिरोहले नेपालमा रुद्राक्ष, स्यालको सिङ र नागमणी पाउने र त्यसको व्यापार गर्नका लागि नेपाल आउन आग्रह गरेपछि यही असार २३ गते पाल र अलि नेपाल एयरलाइन्सबाट काठमाडौँ आएका थिए।

सो अपहरणको मुख्य योजनाकार मन्जिल राईले दिल्लीबाट काठमाडौँ आइपुगेका पाल र अलिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा व्यापारिक कुरा गर्न असजिलो हुने भन्दै पोखरा लगेका थिए।

पोखरा पुग्नुअघि नै ताल्चोकबाट उत्तरतर्फ रहेको कालिका जङ्गल छेउमा पुगेपछि मञ्जिलले पहिलेदेखि नै तयार पारेर राखेका सन्तोष घिमिरे, राकेश शाक्य, सुनिल केसी र सुरज थापाले गाडी अगाडि रोकेर उनीहरूलाई अपहरण गरी बन्धक बनाएर कालिका जङ्गलको बीचमा दुई दिन राखेको प्रहरीले जनाएको छ।

उनीहरूले हातखुट्टा बाँधी कटुवा पेस्तोल कन्चटमा राखेर खुकुरीसमेत देखाई मेरो र अलिको घरको फोन मागी पालैपालो घरमा फोन गरी प्रत्येक व्यक्तिको लागि भारु २५/२५ लाख मागेको अपहरणबाट मुक्त भएका जोगिन्दार पालले बताए।

प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक केदार रिजालका अनुसार अपहरणकारीबीच पैसाको कुरामा विवाद भएका बेलामा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

रिजालले अपहरणमा संलग्न भएका सन्तोष घिमिरेले रु चार लाख दिएमा आफँैले उनीहरूलाई छाडिदिने अलि र पाललाई प्रतिबद्धता समेत जनाएकामा त्यति हुन नपाउँदै प्रहरीले पक्राउ गर्न सफल भएको बताउनुभयो।

यसैगरी अपहरण गरी बन्धक बनाई फिरौती माग गर्ने अर्को पाँचजनाको समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेका विकास तामाङ, रोहित पुराकोटी, रोसनकुमार दाहाल, राजिव महत र सविन महत रहेको प्रहरीले जनाएको छ।

तीनकुनेबाट बा ४ च २३४८ नम्बरको कारमा चढी आएका उनीहरूले काठमाडौँको कोटेश्वर बस्ने २० वर्षीय अवेश आचार्यलाई नसालु पदार्थ सेवन गराई धुलिखेलको एक होटलमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

उनीहरूले आचार्यका बाबुआमालाई आचार्यकै नम्बरबाट फोन गरी तेरो छोरालाई हामीले लागुऔषधसहित पक्राउ गरेका छाँै, दुई लाख रूपैयाँ दिएमा छाडिदिन्छौ, नत्र प्रहरीलाई बुझाइदिनेछौँ भनी धम्की दिएर फिरौती मागेका थिए।

त्यसरी पैसा मागेपछि पीडितको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई पनि शरीर बन्धकसम्बन्धी मुद्दा चलाउनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 14th, 2011

पूर्व एआइजी विष्ट थुनामा

एचकेनेपाल डट कम संवाददाता-
सुडानको डार्फर मिसन भ्रष्टाचार प्रकरणका आरोपी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक दिपेन्द्रबहादुर विष्टले विशेष अदालतद्वारा मागिएको धरौटी बुझाउन नसकेपछि थुनामा राख्न कारागार शाखा डिल्लीबजार पठाइएको छ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले आज विष्टसँग रु एक करोड धरौटी माग गरेको थियो।

डार्फर मिसनका लागि बख्तरबन्द गाडी (एपिसी)लगायत अन्य बन्दोवस्तीका सामान खरीद गर्दा करिब रु २९ करोड भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीनजना पूर्व प्रहरी महानिरीक्षकसहित नेपाल प्रहरीका ३४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 14th, 2011

खेत जोत्ने क्रममा ट्र्याक्टरले च्यापिएर मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीको दिव्यपुरी गाविसमा एक किसानको बुधबार खेत जोत्ने क्रममा ट्र्याक्टरले च्यापिएर मृत्यु भएको छ।

दिव्यपुरी–६ निवासी झपेन्द्र भण्डबारीको खेत जोत्दा ना २ त २२४३ नम्बरको ट्र्याक्टर एक्कासी पल्टिँदा ट्र्याक्टर चालक रजहरका नेत्रबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

खेत जोत्दाजोत्दै ट्र्याक्टर भासिएपछि निकाल्ने क्रममा ट्र्याक्टर पल्टिएर दुर्घटना भएको बताइएको छ।

Popularity: 5%

Add comment July 14th, 2011

नेपाल बर्ड फ्लु मुक्त राष्ट्र

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, नेपाल बर्डफ्लु रोगबाट पूर्ण रुपमा मुक्त भएको एभियन एन्फ्लुएन्जा नियन्त्रण आयोजनाले जनाएको छ।
आयोजनाले बुधवार राजधानीमो आयोजना गरेको मिडिया व्रिफिङ कार्यक्रममा आयोजना कोअर्डिनेटर डा. इन्द्रकान्त झाले जानकारी दिए।

विश्व बैंकको आर्थिक सहयोगमा सुरु भएको आयोजना अगामी जुलाई ३१ मा सकिन लागेको पूर्वसन्ध्यामा आयोजनाले आफ्नो काम र नेपालमा बर्ड फ्लुको जोखिमको बर्तमान अवस्थाको विषयमा पत्रकारमार्फत अवस्था सार्वजनिक गरेको हो। सो अवसरमा डा. झाले आयोजना अवधिभर नेपालमा क्वारेन्र्टाईन चेकपोष्ट, जनशक्ति, आकस्मिक उद्दार टिम, प्रयोगशाला र चेकजाँच संयन्त्रलाई प्रभावशाली बनाएकोले अब सजिलै नेपालमा बर्डफ्लु भित्रिन सक्ने अवस्था नरहेको दावी गरे।

त्यसैगरी यो अवधिमा पंक्षीको बैद्य ओसार प्रसारलाई मात्र प्रवद्धन गर्ने संयन्त्रको विकास भएको भन्दै अर्को मुलुकबाट हुने पन्क्षी आयात गर्दा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट मात्र गर्न पाईने र अन्यत्रबाट गरे त्यो अबैद्य हुने भएकोले आयात प्रतिस्थापनको स्तरमा पुगेको जानकारी दिए। यसले पनि नेपालमा जोखिम कम भएको उनको तर्क थियो।

Popularity: 5%

Add comment July 14th, 2011

सहमति अनुसार विमानस्थल निर्माण नगरिए आन्दोलनको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
ओखलढुगा, रामेछाप र सोलुखुम्बुको विचमा पर्ने खिजी चण्डेश्वरी विमान स्थाल निर्माणमा सरकारले सहमति विपरित बेवास्ता गरेको भन्दै विमानस्थल उपभोक्ता समितिले आन्दोलनको चेतावनी दिएको छ।
समितिले नेपाल सरकार र खिजी चण्डेश्वरी विमानस्थल उपभोक्ता समितिबीच खिजी चण्डेश्वरी विमानस्थल निर्माणका लागि चार वर्षअगाडि गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ।

बुधवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले २०६४ फागुन ९ गते नेपाल नागरिक उड्ययन प्राधिकरणले उपभोक्ता समितिसँग सम्झौता गरी चैत्र १५ भित्र काम सुरु गर्ने गरी सर्वेसम्म भैसकेको खिजी चण्डेश्वरी विमानस्थल निर्माण कार्य तत्काल सुरु नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।

विमानस्थल निर्माणका लागि स्थानीय वासिन्दाहरुले १ सय ८० रोपनी, स्थानीय भेटनरीको ६४ रोपनी तथा सार्वजनिक जग्गा २५ रोपनी गरी जम्मा २ सय ७० रोपनी जग्गा विमानस्थन निर्माणका लागि समितिले व्यवस्था गरेको थियो।

चार वर्षअगाडि नै चार करोड रुपैया पर्ने गरिब निमुखाले जग्गा विमानस्थल बन्ने आशामा समितिमार्फत दिएका थिए । सो समयमा निर्माण लागत १३ करोड २९ लाख २६ हजार पाँचसय ९० रुपैया निर्धाण गरेकोमा हालको अवस्थामा विमानस्थल निर्माण लागत बढाउनु पर्ने अवस्था आएको भन्दै समितिले तत्काल निर्माण कार्य सुरू गर्न सरकारसँग माग गरेका छन्।

विमानस्थल निर्माणका लागि जनश्रमदान तथा सर्वे लगायतका शीर्षमा उपभोक्ता समिति तथा स्थानीय सर्वसाधारणको ठूलो लगानी परिसकेको अवस्थामा तत्काल विमानस्थल निर्माणका लागि माग समेत गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालले ओखलढुंगा जिल्ला हाल वेवारिसे अवस्थामा रहेको र खिजी चण्डेश्वरी विमानस्थल बने पर्यटकीय क्षेत्रको एउटा नमूना जिल्ला हुने दाबी गरे।

Popularity: 5%

Add comment July 14th, 2011

महासंघद्वारा छाया प्रतिवेदन सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, राष्ट्रिय आदीवासी जनजाति महिला महासंघले सरकारले सिड सम्बन्धी चौथौ र पाँचौ आवधिक प्रतिवेदन तयार पार्दा महासंघसँग छलफल नगरी एकलौटी रुपमा तयार पारकोप्रति असन्तुष्टि प्रकट गर्दै छाया प्रतिवेदन सार्वजनिक गरेको छ।
रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले नेपालमा आदीवासी महिलाहरुको अधिकार सम्बन्धी छाया प्रतिवेदन सार्वजनिक गरेको हो। ३३ पृष्ठलामो छाया प्रतिवेदन महासंघ सहित आदीबासी मानवअधिकार सम्बन्धी बकिल समूह र फरेष्ट पिपल्स प्रोग्रामले तयार पारेका हुन्। १४ शीर्षमा रहेको प्रतिवेदनमा, विभेद, अधिकार, सुझाव र निश्कर्ष समेटिएको छ।

पत्रकार सम्मेलनमा महासंघले आगामी जुलाई ११ देखि न्यूयोर्कमा हुने महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धीको ४९ औ सत्रमा नेपालले प्रस्तुत गर्ने सिड प्रतिवेदन तयारीको क्रममा आफूहरुले छलफल नगरेर बेवास्ता गरेको दावी गर्दै छाँया प्रतिवेदनमा उठाएका सवाललाई संबोधन गर्न माग गरेको छ।

Popularity: 5%

Add comment July 14th, 2011

जापान जाने विद्यार्थीलाई विदाई

हुम तमु / एचकेनेपाल डट कम -
पोखरा, पोखराको चिप्लेढुंगास्थित टप एजुकेशन कन्सल्टेन्सीबाट थप अध्ययन गर्न जापानका लागि भिषा प्राप्त चार विद्यार्थीलाई बुधवार एक कार्यक्रमका विच विदाइ गरिएको छ।
२०११ जुलाई सेसनबाट जापान प्रस्थान गर्न लागेका दिपक बुढा, उमेशराज पौडेल, जगबहादुर फगामी, र दीपा पुनलाई कार्यक्रमका प्रमुख अतिथि अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, कन्सल्टेन्सीका प्रिन्सिपल पुर्णबहादुर थापा, मेनेजर उषा मगर लगायतले खादा, फूलमाला, अविर र जापानिज भाषाको शब्दकोष प्रदान गर्दै विदाई गरेका हुन्।

प्रमुख अतिथि हुमबहादुर तमुले जापानमा अध्ययनको अवसर प्राप्त विद्यार्थीहरुलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै जापान बसाइमा सिकेका राम्रा पक्षको नेपालमा लागु गर्नुपर्नेमा जोड दिए।

कन्सल्टेन्सीका प्रिन्सिपल पुर्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उषा मगर, उमेशराज पौडेल, टोपराज चोचाङ्गी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
वर्षा चार सेसनबाट जापान अध्ययनका लागि पठाउने उक्त कन्सल्टेन्सीमा हाल चालिस विद्यार्थी अध्ययनरत हुनुहुन्छ ।

Popularity: 5%

Add comment July 14th, 2011

आदिकविको सम्झनामा खुल्ला कविता गोष्ठी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, आदिकवि भानुभक्त आचार्यको १ सय ९८ औ जन्मजयन्तीको अवसरमा ग्रामिण आर्दश बहुमुखी क्याम्पस नेपालटारले खुल्ला कविता गोष्ठीको आयोजना गरेको छ।
खुल्ला कविता गोष्ठीमा हरी प्रिय निरौला, अनन्त अनिल, सुस्मिता र छम गुरुङ क्रमशः प्रथम, द्धितीय, तृतीय र चौथो भए। विजेताहरुलाई क्याम्पस स्ववियू इकाईले मेडल, प्रमाणपत्र र जिन्सी पुरस्कार प्रदान गरेको थियो।

नेविसंघ क्याम्पस इकाई अध्यक्ष सुशिल भट्टको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, स्ववियू सभापति बलदेब थाप, नेविसंघका निवर्तमान कोषाध्यक्ष कुन्दनराज काफ्ले, सुरेश राज गिरी, उज्जन बुढाथोकी लगायतकाले नेपाली भाषाको विकास र उत्थानमा आदिकवि भानुभक्तको योगदानको चर्चा गर्दै राजनीति क्षेत्र पनि दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको लागि योगदान दिने गरी अगाडि बढे मुलुकको विकास र गतिरोधको निकास हुने बताए।

Popularity: 5%

Add comment July 14th, 2011

जनजाति युवा पत्रकारिता पुरस्कार घोषणा

देवी जंग तमु / एचकेनेपाल डट कम-
पोखरा, आदिवासी जनजाति पत्रकारलाई पत्रकारीताप्रति उत्प्रेरित गर्न तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले बुधवार आफ्नो विवाहको ३२ औँ वर्षगाँठको अवसरमा पश्चिमाञ्चलमै पहिलो पटक आदिवासी जनजाति युवा पत्रकारिता पुरस्कार घोषणा गर्नुभएको छ।
सो अवसरमा तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले आफू र श्रीमान् कर्ण तमुको नाममा वार्षिक १० हजारका दरले कर्म-कर्ण आदिवासी जनजाति युवा पत्रकारिता पुरस्कारको घोषणा गर्नुभएको हो।

वार्षिक कास्कीका १ जना क्रियाशिल आदिवासी जनजाती पत्रकारलाई उक्त पुरस्कारसहित सम्मानपत्रले सम्मान गरिने भएको छ।

अनिज कास्कीको कार्यालयमा आयोजित कार्यक्रममा वोल्दै तमु धि नेपालका अध्यक्ष कर्म तमुले पत्रकारितामार्फत आदिवासी जनजातिका मुद्धाहरुलाई राष्ट्रव्यापी बनाउन आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको घोषणा गरेको वताउनुभयो । आफ्नो जीवन नै आदिवासी जनजातिको लागि समर्पित गरेको वताउदै अध्यक्ष तमुले आदिवासी जनजाति पत्रकारहरुले पनि आफ्नो जातिय पहिचानका लागि निरन्तर कलम चलाइ राख्नुपर्ने वताउनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष हुमवहादुर तमुले सामाजिक कार्यको नेतृत्वसंगै समग्र आदिवासी जनजाति पत्रकारको लागि पुरस्कार घोषणा गरेको भन्दै तमु धिँ नेपालका अध्यक्ष कर्म तमुप्रति आभार प्रकट गर्नुभयो। उहाँले आदिवासी जनजाति पत्रकारले आफ्नो कलम निरन्तर आदिवासीको मुद्धामा चलाइरहने वताउनुभयो।

कार्यक्रममा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले पछिल्लो समय आदिवासी जनजाति पत्रकारहरु क्रियाशिल हुदै आइरहेको अवस्थामा आदिवासी जनजाति पत्रकारिता कर्म कर्ण पुरस्कारले आदिवासी पत्रकारहरु उत्प्रेरित हुने वताउनुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरुले अध्यक्ष कर्म तमुको पुरस्कार घोषणाप्रति उत्साहित भएको र आदिवासीको मुद्धामा कलम चलाइरहने वताएका छन्।

पुरस्कार हरेक वर्ष अनिज कास्कीको सहकार्यमा असार २९ गते तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको विवाह वर्षगाँठको दिन प्रदान गरिनेछ।
अध्यक्ष तमुका श्रीमान्सहित १ छोरा र १ छोरी हुनुहुन्छ ।

Popularity: 5%

Add comment July 14th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....