Archive for July 15th, 2011

३ खर्ब ८४ अर्ब ९० करोडको बजेट सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रवार आर्थिक वर्ष २०६८/६९ को लागि कुल ३ खर्ब ८४ अर्ब ९० करोड रूपैयाँको बजेट संसदमा पेश गरेका छन्।

अर्थमन्त्री अधिकारीले चालुतर्फ ६६ अर्ब ६१ करोडसहित कुल ३ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँको आय-व्यय विवरण प्रस्तुत गरेका छन्। आर्थिक वृद्धिदर ५ प्रतिशत हासिल गर्ने लक्ष्यका साथ सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेट प्रस्तुत गरेको हो।

विनियोजित बजेटमा चालु खर्च रु. २ खर्ब ६६ अर्ब ६१ करोड अर्थात ६९.२७ प्रतिशत र पूँजीगत खर्च रु. ७२ अर्ब ६१ करोड अर्थात १८.८६ प्रतिशत छ। कूल विनियोजन गरिएको बजेटमध्ये विकास कार्यक्रमका लागि रु. २ खर्ब ०२ अर्ब ५६ करोड अर्थात ५२.६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु. १ खर्ब ८२ अर्ब ३४ करोड अर्थात ४७.३८ प्रतिशत प्रस्ताव गरिएको छ।

शिक्षाका लागि ६३ अर्ब ९१ करोड, यातायातका लागि रु. ३७ अर्ब १६ करोड, कृषिका लागि २९ अर्ब ७३ करोड, स्वास्थ्यका लागि २७ अर्ब १२ करोड रुपैयाँ, इन्धन तथा ऊर्जाका लागि २३ अर्ब ९९ करोड र सञ्चार क्षेत्रका लागि २ अर्ब ७० करोड विनियोजन गरेको छ। त्यसैगरी, कर्मचारीको तलवमा ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशतसम्म बृद्धि गरेको छ।


बजेट बक्तब्यको पूर्ण विवरण

Recent Videos:

Popularity: 5%

Add comment July 15th, 2011

बम विष्फोटबाट बालकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
धनगढी, अछामको विन्धवासिनी गाविस-७ मुग्रामा शुक्रबार दिउंसो बम विष्फोट हुंदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छिन्।
विष्फोटबाट मृत्यु हुनेमा १२ वर्षीय विक्रम साउद रहेका छन् भने गम्भीर घाइते हुनेमा ५ वर्षीया कविता साउद रहेकी छिन्। घाइते कविताको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ।

खोलाले बगाएको सकेट बम खेलाउंदा उक्त दुर्घटना भएको अछामका प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठोरले बताए। राठोरका अनुसार द्वन्द्वकालका बेला फालिएको सकेट बम खोलाले बगाएर ल्याएको हो।

Recent Videos:

Popularity: 5%

Add comment July 15th, 2011

न्युज अपडेटः पहिरोले मृत्यु हुनेको संख्या १३ पुग्यो

एचकेनेपाल डट कम संवाददाता-
रुकुममा शुक्रवार विहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ। पहिरोमा पुरिएर मृत्यु हुनेमा पुर्तिमकाँडाका उदिराम बुढाको परिवारको १० जना परेका छन्।
पुर्तिमकाँडा वडा नं. ३ गिठाकोटस्थित उदिराम बुढाको घरमा गएको पहिरोले पुरिएर ५३ वर्षीय उदिराम वुढा, ४८ वर्षीया पत्‍नी काली बुढा, नातिहरु ५ वर्षीय रोशन बुढा र २ वर्षीय एकराज बुढा, ३० वर्षीय जेठा छोरा खडकवहादुर बुढा, २३ वर्षीया कान्छी बुहारी कवली बुढा, माइतीमा आएकी २५ वर्षीया जेठी छोरी गीता बुढाथोकी, छोरी पट्टीका नाती ४ वर्षीय नवराज बुढाथोकी, २ वर्षीय जीवन बुढाथोकी, ५ वर्षीय नाती रोशन बुढा रहेका छन्। घटनामा पछि मात्र उदिरामका छोरी ज्वाई रुद्रबहादुर बुढाथोकीको शव फेला परेको प्रहरीले जनाएको छ।

राति गएको पहिरोले सम्पूर्ण घरलाई पुरेको र अब कोही पनि जीवित हुन नसक्ने अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख राजबहादुर बिष्टले आशङ्का व्यक्त गरेका थिए।

त्यसै गरी, पूर्तिमकाँडा गाविस १ बसनडाँडाका धनसिंह घर्तिका ४ वर्षीय छोरा रमेश घर्ति, १८ वर्षीया जेठी छोरी अमृता घर्ति ९ वर्षीया सविना घर्तिको पनि पहिरोमा परेर मृत्यु भएको छ।

जिल्ला सदरमुकामबाट नेपाली सेनाको दि फेमश महेन्द्र दल गणबाट ४० जना र नेपाल प्रहरीको २० जनाको टोली उद्धार कार्यमा जुटेका थिए। उद्धार कार्यमा कठिनाई भएपछि स्काईकेटरबाट पहिरो पन्छाउने काम भएको थियो।

सदरमुकाम खलङ्गादेखि करीब ६ घण्टाको पैदल दूरीमा सो गाउँ पर्दछ।

Popularity: 5%

Add comment July 15th, 2011

लौरो प्रहारबाट वृद्धको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
बारा जिल्ला कर्च्चोवा गाविस–९ बस्ने ६५ वर्षीय इसराइल मियाको लौरो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ।

शिवरतन सहनी मलाहा र इसराइल मियाबीच पुरानो रिसइवी रहेको र बिहीबार बेलुकी करिब ६ बजे दुईबीच वादविवाद हुँदा शिवरतनको लौरो प्रहारबाट इसराइलको घटनास्थलमै मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय सिम्रोनगढले अभियुक्त शिवरतन मलाहालाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा ल्याइएको छ।

Popularity: 5%

Add comment July 15th, 2011

शौचालय गएकी युवतीको खोलाले बगाएर मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
पर्वतको माझाफाँट गाविसमा आज बिहान खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ। माझफाँट गाविस वडा नं. १ स्थित कमल जिसीकी १८ वर्षीया छोरी रूपा जिसीको खोलाले बगाएर ज्यान गएको हो।

बिहान ५ बजे शौचालय जान निस्किएकी रूपाको शव धाइरिङ गाविस– ५ स्थित लुम्दी खोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको थियो।

शौचालय गएकी छोरी नफर्किएपछि परिवारले खोजी गर्दा जिसी मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक ज्ञानबहादुर शेटीले जानकारी दिनुभएको छ।

Popularity: 5%

1 comment July 15th, 2011

एकै परिवारका तीन जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
गएराति खहरे खोलामा आएको बाढीले घर बगाउँदा थानसिङ–७ बेलास्पुरमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ।

मृत्यु हुनेमा २१ वर्षीया साने मिजार, उनकी श्रीमती १९ वर्षीया निर्माला मिजार र एक वर्षीया भतिजी सुष्मा मिजार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ।

घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौँ र त्रिशूली लगिदैछ। राति सुतिरहेको समयमा खोलामा आएको बाढी घरमा पसेको थियो। प्रहरीका अनुसार घर पूर्णरूपमा ध्वस्त भएको छ।

यसैबीच, राति परेको पानीका कारण पासाङ्ल्हामु राजमार्गको ककनी–ओखरपौवामा सडकखण्डमा भएको पहिरोका कारण आज बिहानैदेखि सवारी साधन सञ्चालन ठप्प भएको छ।

प्रहरीका अनुसार उक्त क्षेत्रमा सात ठाउँमा साना ठूला पहिरो गएका छन्। सडक सूचारु हुनका लागि आज दिनभर लाग्ने बताइएको छ। पहिरोका कारण नुवाकोट, रसुवा र काठमाडौँ आवातजावात गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

Popularity: 5%

Add comment July 15th, 2011

खाग तस्करलाई कडा कारवाहीको माग गर्दै २१ संस्थाको ज्ञापन

एचकेनेपाल डट कम संवाददाता-
गैंडाको खाग तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई कडा कारवाहीको माग गर्दै चितवनको विभिन्न २१ वटा सङ्घसंस्थाले चितवन राष्ट्रिय निकुञ्जमा ज्ञापनपत्र बुझाएका छन्।

एक साताअघि राजधानी काठमाडाँैबाट खागसहित पक्राउ परेका ८ जनालाई छाड्न राजनीतिक दबाब आइरहेको भन्दै उनीहरूले दबाबस्वरूप निकुञ्जको मुख्य कार्यालय कसरामा ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउँदै वर्ल्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष वासु विडारीले दोषीलाई कडा कारवाही गर्न माग गर्नुभयो। सो क्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश पन्तले उनीहरूको विषयमा कुनै राजनीतिक दबाब नआएको भन्दै दोषी प्रमाणित भए कडा सजाय हुने बताउनुभयो।

चितवनमा वातावरण संरक्षणसँग सम्बन्धित सङ्घसंस्था र पर्यटन व्यवसायी गरी २१ वटा संस्थाले यसप्रति ऐक्यबद्धता जनाएका छन्।

गत साता पक्राउ परेकामा धादिङका चरी भनिने दिनेश अधिकारी, माओवादी तेस्रो डिभिजन चितवनका लडाकू सेक्सन सह कमान्डर दीपकबहादुर हमाल, धादिङका भीमबहादुर विक, दिलबहादुर विक, रमेश हमाल, नारायण श्रेष्ठ र लोकबहादुर गुरुङ तथा काभ्रेपलाञ्चोक घर भई काठमाडाँै बस्ने पञ्चकुमार लामा रहेका छन्।

उनीहरूलाई अहिले निकुञ्जमा राखेर थप अनुसन्धान अघि बढाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत जगन्नाथ सिंहले जानकारी दिनुभयो।

प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरूलाई खागसहित गत शुक्रबार राजधानीको माछा पोखरीबाट पक्राउ गरेको थियो।

दोषी प्रमाणित भए उनीहरूलाई पाँच वर्षदेखि १५ वर्षसम्मको कैद र रु ५० हजार देखि एक लाखसम्म जरिवाना हुनसक्छ।

Popularity: 5%

Add comment July 15th, 2011

बालविवाहमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा

एचकेनेपाल डट कम संवाददाता-
गरिबी, अशिक्षा र परम्परागत सामाजिक मूल्य र मान्यताका कारण पर्सा जिल्लामा बालविवाह दर उच्च रहेको छ।

बालविवाह हुने दक्षिण एसियाली मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालस्थित राष्ट्रसङ्घीय जनसङ्ख्या कोषद्वारा सन् २००३ मा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा ६० प्रतिशत किशोरीले १८ वर्ष नपुग्दै विवाह गरेका हुन्छन् भने सरकारले सन् २००६ मा गरेको एक अध्ययन अनुसार १५ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीहरूमध्ये एक तिहाईले विवाह गरिसकेका हुन्छन्।

बालविवाह नियन्त्रणका क्षेत्रमा कार्यरत दिव्य र अरुणोदय युवा क्लबले पर्साका १६ वटा गाविसमा गरेको एक अध्ययन अनुसार सन् २००९ मा ४६ वटा बालविवाहको घटना भएका छन्। उक्त अवधिमा बालविवाह हुने जानकारी पाएपछि संस्थाको पहल र सक्रियतामा १९ वटा बालविवाहलाई रोक्न सफल भएको छ।

Popularity: 5%

Add comment July 15th, 2011

स्कटल्याण्डमा भानु जयन्ती, आठ मुलुकबाट सहभागिता

भाष्कर अर्याल/एचकेनेपाल डट कम -
एबरडिन, स्कटल्याण्ड, १९८ औं भानु जयन्तीको अवसरमा स्कटल्याण्डमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। स्कटल्याण्डस्थित अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयरले आयोजना गरेको सो कार्यक्रममा विश्वका आठ मुलुकबाट कवि कवयित्रीहरुका कविता वाचन गरिएको थियो। कार्यक्रममा राष्ट्र गानका रचयिता कवि ब्याकुल माइलाले नेपालबाट प्रत्यक्ष कविता वाचन गरेका थिए। आधुनिक प्रविधिमार्फत विश्वका विभिन्न मुलुकमा रहेका साहित्यप्रेमीहरुलाई प्रत्यक्ष कविता सुनाउन पाउँदा निकै खुसी लागेको उनले बताए।

नेपाली साहित्यमा अभिरुचि राख्ने सुप्रसिद्ध आईरिस कवि कायल ओ सर्काइलले भूपि शेरचनको कवितालाई नेपाली, अंग्रेजी र आईरिस गरी तीनवटा भाषामा सुनाएका थिए। आईरिस कवि कायलले भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजातका कृतिहरुलाई अन्तर्राष्ट्रियस्तरमा पनि प्रवर्द्धन गरिनुपर्ने बताए।

नेपालमा शैक्षिक तथा राजनीतिक ब्यक्तित्वको रुपमा परिचित घनश्याम शर्मा पौडेलले प्रमुख अतिथिको आसनबाट छन्दमा दुईवटा कविता सुनाए। कार्यक्रममा स्काईपको माध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुले कविता पाठ गरेका थिए। कार्यक्रममा बेलायतबाट डा. कविताराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, दुर्गा पोख्रेल, अमेरिकाबाट शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, गीता खत्री, पुरानाघरे, रुसबाट डा. मधु मार्धुय, इटालीबाट जगत नवोदित, डेनमार्कबाट वृजेश गौतम र ब्रुनाइबाट विश्वासदिप तिगेला सहभागी थिए। यसैगरी, एबरडिनका गणेश चापागाईंले भानुभक्तका केही कविताहरु वाचन गरेका थिए भने नवीन क्षेत्री, आनन्द अर्याल, सन्तोष गैरेलगायतले पनि मर्मस्पर्शी रचना सुनाएका थिए।

करीब तीन घण्टासम्म चलेको सो कार्यक्रमलाई कार्यक्रमस्थलमा भने प्रोजेक्टरको माध्यमबाट ठूलो पर्दामा देखाइएको थियो।

कार्यक्रमका सहभागी विजय सिग्देलले धेरैपछि स्तरीय कविताहरु सुन्न पाएको प्रतिक्रिया दिए। त्यस्तै, अर्का सहभागी कवि नवीन क्षेत्रीले सूचना प्रविधिको प्रयोगले यस्ता कार्यक्रमहरु अझ प्रभावकारी हुनसक्छ भनी आफूलाई प्रेरणा मिलेको अनुभव ब्यक्त गरे। आनन्द अर्यालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था अर्गनाइजेशन फर नेप्लिजन कल्चर एण्ड वेलफेयर का अध्यक्ष दिपेश रेग्मीले संस्था आगामी दिनहरुमा पनि नेपाली कला, साहित्य, संस्कृतिको क्षेत्रमा क्रियाशील रहिरहने प्रतिबद्धता व्यक्त गरे।

Popularity: 5%

Add comment July 15th, 2011

अनेसास सर्वोत्कृष्ट पुस्तक र डायस्पोरा पुरस्कार घोषणा

एचकेनेपाल डट कम संवाददाता-
अनेसास पुरस्कार चयन समिति २०११ ले प्रत्येक २–२ वर्षमा प्रदान गरिंदै आएको विभिन्न पुरस्कारको घोषणा गरेको छ। पुरस्कार चयन समितिका अध्यक्ष सुमन तिमसिनाद्धारा जारी प्रेश बक्तब्यमा जनाइए अनुसार यसपटकको प्रतियोगितामा विभिन्न विधाका जम्मा ७२ पुस्तकहरूले प्रवेश पाएकोमा अनेसास उत्कृष्ट पुस्तक पुरस्कारमा डायस्पोराबाट ४ जना र नेपालबाट १२ जनाले जितेका छन्।

समकालीन नेपाली कविताका प्रवृत्ति समालोचना संग्रहका लागि डा. लक्ष्मण गौतमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर १५००.०० नगद, १००।०० बराबरको आजीवन सदस्यता र सम्मान–पत्र प्रदान गरिएको छ।

स्मृतिमा भीमू (सस्मरण) भारती गौतमले सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार युएस् डलर ४००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

प्रेमदान उपन्यासका लेखक बुद्धिप्रसाद सुवेदी सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार (युएस् डलर ३१०.०० नगदसहित सम्मान–पत्र) बाट पुरस्कृत हुनु भएको छ।

रातो घाम गीत संग्रहका नर बहादुर बि.सी. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

नानीपानी (बालसाहित्यका) देवीप्रसाद वनवासी सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

हजार वर्षको निद्रा कविता संग्रहका भूपिन व्याकुल सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हनु भएको छ।

अर्जुन दृष्टि लघुकथा संग्रहका डा. रविन्द्र समीर सर्वोत्कृष्ट लुम्विनी अञ्चलका पुस्तकका लागि अनेसास शेषराज शर्मा लुम्विनी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

खोपदेश उपन्यासका भरत जङ्गम सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

शब्द मृत्यु र सपनाको हत्या कविता संग्रहका ज्ञानु अधिकारी र सिन्धु गौतम सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी “प्रेरणा” सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

एथेन्सको झरी नियात्रा संग्रहका केदार सुनुवार ‘संकेत’ सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

जीवन काँढा की फूल (आत्मकथा) झमक घिमिरे सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत हुनु भएको छ।

तप्किएर अन्जुलीमा गजल संग्रहकी उमा सुवेदी सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

झस्किएको सिन्दुर (कविता) रामबाबु सुवेदी सर्वोत्कृष्ट छन्दोवद्ध काव्य साहित्यका लागि अनेसास डिल्लीरमण शर्मा अर्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

गोपीचन लोकनाटकका (मगर) कुसुमाकर न्यौपाने सर्वोत्कृष्ट नेपाली जनजातीय भाषा साहित्यका लागि अनेसास रतन झा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

विक्रीमा यो जिन्दगी (गजल संग्रह) गोवद्र्धन पूजा सर्वोत्कृष्ट नेपाली गजलका लागि अनेसास गीता खत्री गजल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

त्यसै गरी अनेसासले प्रदान गर्ने डायस्पोरा पुरस्कारहरु मध्येबाट नेपाली डायास्पोराका नेपाली भाषाका साहित्यकार र उनका कृतिमा गरिएको अनुसन्धानात्मक कृति ‘नेपाली डायस्पोरा र अन्य समालोचना’ पुस्तकका लागि नेत्र ‘एटम’ डायस्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत हुनु भएको छ।

नेपाली डायस्पोरामा गरेको साहित्य सिर्जनाको सर्वोत्तम योगदानको लागि कृष्ण बजगाईं अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।

डायास्पोरामा महत्वपूर्ण योगदान गर्ने नेपाली भाषाका साहित्यकार र उनका कृतिबारेमा अनुसन्धान गराउनको लागि नेपाली केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालयलाई अनेसास एन्आर्एन् – डायास्पोरा फूलकुमारी महतो स्मृति पुरस्कार—२०११, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत गरिएको छ।

Popularity: 5%

Add comment July 15th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....