Archive for July 21st, 2011

स्व. अरूण स्मृति कविता प्रतियोगितामा गंगा थापामगर प्रथम

रूद्र श्रीसमगर/एचकेनेपाल डट कम-
पोखरा, नेपाली सुगम संगीतका अमर नक्षत्र गायक स्व. अरूण थापामगरको १३ औं स्मृति दिवसका अवसरमा पोखरामा विहीवार आयोजित कविता प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसकी गंगा थापामगर प्रथम भइन्।

त्यसैगरी, राष्ट्रिय उच्च माविका दीपक पुनमगर द्वितीय भए भने पृथ्वीनारायण क्याम्पसकै कृष्ण थापामगर तृतीय र कालिका पब्लिक कलेजकी हेमा रोकामगर सान्त्वना भइन्।

प्रतियोगिताका बिजेता कविहरूलाई प्रमुख अतिथि एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ तीर्थ श्रेष्ठले प्रमाणपत्र र मायाको चिनो प्रदान गरी पुरस्कृत गरे।

कार्यक्रमका प्रमुख अतिथि तीर्थ श्रेष्ठले गायक अरूण थापामगरको जन्म जहाँ भएको भएपनि उनी सबैको साझा गायक भएको बताए। देशले सम्झनुपर्ने गायक भएपनि देशले नसम्झिँदा दुःख लागेको भन्दै उनले मगर विद्यार्थी संघले सम्झेकोमा खुशी व्यक्त गरे।

पोखराबाटै सांगीतिक जीवन सुरुआत गरेका अरूणको सम्झनामा सबै मिलेर पोखरामा अरूण स्मृति संगीत कोष स्थापना गर्न प्रस्ताव समेत उनले राखे। कोषमार्फत वर्षेनी संगीत क्षेत्रका हस्ती र साधकहरूलाई पुरस्कृत गर्नु राम्रो हुने भन्दै श्रेष्ठले अरूणको सम्झनालाई कालजयी बनाउन उनी सम्बन्धी लेख, रचनाहरू समेटेर स्मृति ग्रन्थ प्रकाशन गर्दा अझ राम्रो हुने विचार व्यक्त गरे।

नेपाल मगर विद्यार्थी संघ कास्कीले आयोजना गरेको स्व. अरूण स्मृति कविता प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका वक्ताहरूले राष्ट्रले कलाकारको सधैं बेवास्ता गरेको भन्दै स्रष्टा एवं कलाकारलाई राष्ट्रको निधि भन्ने गरिएपनि स्रष्टाको वास्तविक सम्मान हुन नसकेको बताए।

कवि एवं गीतकार विनोद गौचनले स्व. गायक अरूण थापामगर नेपाली संगीतका शिखर पुरुष भएको बताए। गीत सबैले गाउँछन् भन्दै उनले तर, सबै अरूण थापामगर जस्तो हुन नसक्ने बताए। पोखरेली युवा सांस्कृतिक परिवार संगीत विभागका सल्लाहकार सुमन श्रापितले स्व. गायक अरूण थापामगर पोखरेली युवा सांस्कृतिक परिवारको संस्थापक सदस्य भएको भन्दै सबैले अरूणको सांगीतिक योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका सचिव पूर्ण हृयोल्मो, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज अनिता थापामगर, केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख विमला पुलामीमगर, केन्द्रीय सदस्य एवं भाषा तथा संस्कृति विभाग प्रमुख रूद्र श्रीसमगर, केन्द्रीय सदस्य दिनेश रानामगर, गण्डकी अञ्चल सदस्य दिलबहादुर आलेमगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष फरेन्द्र थापामगर, प्रथम मिस मगर अन्नु थापामगर, नेपाल मगर संघ दीप बगर इकाई समितिका अध्यक्ष धनबहादुर रानामगर, नेपाल मगर स्वशासित संघ (एकीकृत)का केन्द्रीय कोषाध्यक्ष भीमबहादुर श्रीसमगर, नौमाया थापामगरलगायतले गायक अरूण थापामगरको सांगीतिक योगदानका बारेमा बोलेका थिए।

संघका अध्यक्ष विनोद रखालीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गम्भीरराज रानामगर तथा सदस्य जेनिशा पुनमगरले गरेका थिए।

त्यसैगरी, कार्यक्रममा दोहोरी गायिका विरमा रोकामगर, गायक विनित जोजिजू, भ्वाइस अफ पोखराका प्रतियोगीद्वय तारा श्रीसमगर र रोशन थापामगरले अरूण थापामगरका गीत एवं आ-आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए। मगर विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पस समिति, कालिका बहुमुखी क्याम्पस समिति, कालिका पब्लिक कलेज समिति, राष्ट्रिय उच्च मावि समितिका तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment July 21st, 2011

द्वन्दपीडित सेना-प्रहरीको मागमा माओवादी सकारात्मक

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, पुनर्वहालीमा छानविन गर्नु पर्ने माग राख्दै एकीकृत नेकपा माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा विगत ७२ घण्टादेखि आमरण अनसन बसिरहेका द्वन्दपीडित सेना-प्रहरीको माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ।
आमरण अनसन बसिरहेका द्वन्दपीडित सेना प्रहरीका अनसनकारीहरुसँग भेटेर माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले द्वन्दपीडित सेना प्रहरीको माग जायज भएको भन्दै सरकारले माग पूरा गर्नुपर्ने बताए। उनले पार्टीको तर्फबाट आफूहरुले माग पुरा गराउन लिखित पत्र दिने जानकारी दिदै सरकारलाई पनि माग पूरा गराउन दवाव दिने प्रतिबद्धता ब्यक्त गरे। उनले सरकारलाई गंभीर हुन आग्रह गर्दै अनसनकारीहरुलाई सिँहदरवार भित्रको गृहमन्त्रालय अघि अनसन बस्न सुझाव दिएका छन्।

तस्वीरः माउण्टेन आई

सो क्रममा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले द्वन्दपीडित सेना प्रहरीको माग पुराउन आफूले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्दै आउँदो मन्त्री परिषदको बैठकमा आफूले एजेण्डा लैजाने बताए।

स्वास्थ्यमन्त्री शक्ति बस्नेत र स्थायी कमिटि सदस्य बर्षामान पुन अनन्तले पनि अनसनकारीहरुलाई भेटेर माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

द्वन्दपीडित सेना प्रहरी संयूक्त संर्घष समितिका तर्फबाट सन्तप्रसाद संग्रौला, सोमराज गौतम, विकाउ साह, देबप्रसाद डोटेल, राजकुमार कामती र बाबुराम परियार आमरण अनसनमा बसेका छन्।

Recent Videos:

Popularity: 5%

Add comment July 21st, 2011

हत्याका आरोपी सभासद र अंगरक्षकलाई कडा कारवाहीको माग

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, नेकपा एमालेका पूर्व सांसद जगदिशप्रसाद साहका अंगरक्षक प्रहरी जवान प्रवेश मेहताले गोली हानी स्थानीय रामबहादुर चौधरी थारुको हत्या गरिएको विषयलाई लिएर राष्ट्रिय आदिवासी जनजाति मानवअधिकार एलायन्सले हत्यारालाई कारवाहीको माग गरेको छ।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै एलायन्सले गत ३२ असार ९ बजे राति सप्तरी जिल्ला शम्भूनाथ गाविस ७ सखुवा टोल निवासी ५२ वर्षीय रामबहादुर चौधरी थारुको पूर्व सभासद जागदिशप्रसाद साहको आदेशमा अंगरक्षक प्रवेश मेहताले गोली चलाई हत्या गरेको दावी गरेको छ।

एलायन्सले पूर्व सभासद् र घटना घटाउने उनका अंगरक्षक प्रहरी जवानले मानवअधिकारको घोर उल्लंघन गरेको भन्दै सभासद् जगदिश प्रसाद साहलाई कारवाही र हत्यारालाई सर्वस्वसहित जन्म कैदको माग गरेको छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय आदिवासी जनजाती मानवअधिकार एलायन्सकी कार्यवाहक अध्यक्ष रामकुमारी तामाङले पूर्व सभासद र उनका अंगरक्षक प्रवेश मेहतालाई कारवाहीको माग गर्दै पीडितका तर्फबाट किटानी जाहेरी दिन जाँदा पनि स्थानीय प्रशासनले आलटाल गरी अझैसम्म पनि जाहेरी दर्ता हुन नसक्नुले पनि आरोपितप्रति आशंका बढेको दावी गरिन्।

तामाङले ७ दिनभित्र रामबहादुर चौधरी थारु हत्या प्रकरणको सरकारले छानविन समिति गठन गरी अनुसन्धान अगाडि नबढाईए सप्तरी ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी दिईन्।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति गैरसरकारी महासंघका उपाध्यक्ष भवानी लोहरुन, मृतकका भतिजा युवराज चौरी र अर्जुन लामालगायतले दोषीलाई कडा कारवाहीको माग गरेका छन्।

Popularity: 5%

Add comment July 21st, 2011

बजेटलाई लिएर ट्याक्सी ब्यवसायी आन्दोलित

एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, सरकारले बजेटमार्फत बादी समूदायलाई स्वरोजगार बनाउने गरी गरेको ब्यवस्थालाई लिएर ट्याक्सी ब्यवसायीहरु आन्दोलित बनेका छन्।

उनीहरुले बादी समूदायलाई स्वरोजगार बनाउने नाममा अहिले रहेका स्वरोजगार ट्याक्सी ब्यवसायीहरुलाई विस्थापित गर्न खोजेको भन्दै आपत्तिसहित आन्दोलित बनेका हुन्।

नेपाल मिटर ट्याक्सी ब्यवसायी संघ, नेपाल राष्ट्रिय ट्याक्सी ब्यवसायी संघ, काठमाडौ स्वरोजगार ट्याक्सी समिति, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल ट्याक्सी बर्कस यूनियन र नेपाल यातायात स्वतन्त्र मजदुर संघठन बाग्मती अञ्चल संयुक्त रुपमा बजेटको सो ब्यवस्थाप्रति आपत्ति प्रकट गर्दै आन्दोलित बनेका हुन्।

ती संगठनहरुले विहीबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरेर सरकारले बजेटमार्फत काठमाडौ उपत्यका र शहरी क्षेत्रमा यातायात मजदुरकै संलग्नतामा यातायात सहकारी स्थापना गरी परियोजनाको औचित्य अनुसार ट्याक्सी आयातमा भन्सार छुट दिने र बादी समूदायका यूवाहरुको समूहलाई औचित्यका आधारमा ट्याक्सी खरिदमा भन्सार छुट दिने नीतिले एकै किसिमका ब्यवसायीहरुवीच विभेद गरेको भन्दै आपत्ति प्रकट गरे।

तत्कालै यस्तो विभेदकारी ब्यवस्था खारेज गरी सबैलाई समान ढंगको ब्यवहार गर्नु भन्दै अन्यथा कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

Popularity: 5%

Add comment July 21st, 2011

संविधान जारी नगरी देशलाई अस्थिरतामा फसाउने षड्यन्त्रः महत

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशशरण महतले संविधान जारी नगरेर देशलाई यस्तै अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

भदौ १४ गते पछि नेपालमा शून्यताको अवस्था नआओस् भनेर नेपाली काँग्रेस लागिपरेको बताउँदै नेता महतले बताए।

लोकतन्त्र खतरामा परेकाले पार्टीले कार्यकर्ता प्रशिक्षण सुरु गरेको बताउँदै महतले पार्टीको योजनाअनुसार दृढ भएर लाग्नसमेत कार्यकर्तालाई निर्देशन दिए।

Popularity: 5%

Add comment July 21st, 2011

गुप्तालाई वैधानिकता दिने आयोगको निर्णय सरिता गिरीले नमान्ने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को विवादका सम्बन्धमा निर्णय गर्दै निर्वाचन आयोगले गुप्ता समूहलाई वैधानिकता दिए पनि सरिता गिरी पक्षले त्यसलाई अस्वीकार गरी सर्वोच्चमा जाने भएको छ।

गिरी पक्षको पार्टीद्वारा प्रकाशित प्रेस–विज्ञप्ति
नेपाल सद्भावना पार्टी (आनन्दी देवी) को कथित विवाद को विषयमा निर्वाचन आयोग को मिति २०६७।१।२७ को निर्णय लाई सम्मानित सर्वोच्च अदालत द्वारा मिति २०६७।१०। २८ को उत्प्रेषणयुक्त परमादेश द्वारा खारिज गरी पार्टी विधान अनुसार गरिए को वैधानिक महाधिवेशन बारे निर्णय गर्न आदेश दिइएकोमा निर्वाचन आयोग द्वारा मिति २०६८।२।८ मा महाधिवेशन को बारे मा भनाई र प्रमाण पेश गर्ने भनी पत्राचार गरे पश्चात् निर्वाचन आयोग को आदेशानुसार २०६५।७।१,२,३ र४ गते सिरहा, लहान मा भएको महाधिवेशन बारे मा भनाई र प्रमाण का साथ इजलासमा भए को बहस पश्चात बहस नोट समेत पेश गरेकोमा महाधिवेशनको विषय वस्तु मा प्रवेशनै न गरी सम्मानित सर्वोच्च अदालत द्वारा बदर गरिऐको निर्वाचन आयोग को मिति २०६७।१।२७ को निर्णय लाई आयोग द्व।रा मिति २०६८।४। ३ को निर्णय द्वारा पुनः यथावत कायम राख्ने निर्णय गरेकोमा पार्टी आयोग को उक्त निर्णय लाई संविधान र कानून को घोर उल्लंघन र सम्मानित सर्वोच्च अदालतको आदेश को ठाडÞो अवहेलना भए को ठहर गरी उक्त निर्णय लाई अस्वीकार गरेको धोषणा गर्दछ। अदालतको आदेशानुसार महाधिवेशनको आधारमा निर्णय न गरी आयोग ले पार्टीको सार्वभौम अधिकार माथि प्रहार गरी पार्टी को स्वयतत्ता लाई इंकार गरी पार्टी लाई आफ्नो बंदी बनाउन खोजेको छ। उक्त निर्णय निर्वाचन आयोगको आयुक्तहरु को घोर निरंकुश, स्वेच्छाचारी र भ्रष्ट चरित्र लाई पुनः उदांगो पारेको छ।

यस मुलुकमा संधीय आंदोलनको प्रणेता स्वर्गीय आदरणीय गजेन्द्र बाबू द्वारा वर्ष २०४७मा स्थापित भए को मधेश आंदोलन र जनआंदोलन को धरोहर र उपलब्धि बोके को यस एकमात्र ऐतिहासिक मधेशवादी पार्टी लाई क्षत विक्षत गर्ने र यस दलको नेता र कार्यकत्ताहरु को मनोबल समाप्त गर्ने कुत्सित मनशायका साथ गरिए को निर्वाचन आयोग को उक्त निर्णय लोकतांत्रिक चरित्र र अपील भएको मधेशवादी दल ह्रु को विरुद्धमा हाल राष्ट्रीय राजनीति मा हाल चली रहे को वृहत् षडयंत्र को एउटा भाग मात्र हो भन्ने पार्टी को ठहर छ र मधेशी जनता यसलाई स्पष्ट रुपले बुझी पनि रहेका छन। पार्टी लाई निर्वाचन आयोग ले अवैधानिक तवरमा फुटाउने गहिरो षडयंत्र का विरुद्ध मैले ३ वर्ष देखि दृढता का साथ गर्दै आए को कानूनी र राजनीतिक संघर्ष र संविधान सभा बाट संविधान बन्नु पर्ने र शांति प्रकिैया टुंगिनु पर्ने मेरो अडÞान र भुमिका बाट आंतकित भयी आयोग को अहिलेकोे निर्णय पर्दा का पछाडी रहेको महिला विरोधी विभिन्न पात्र हरु को इशारा र दुष्प्रभाव मा मलाई टुटाउने वा मेरो राजनीति समाप्त गर्ने बदनियत का साथ गरिएको अहिले को आयोग को कायरता पूर्ण निर्णय को विरुद्ध पार्टी पुनः सर्वाच्च अदालत मा जाने निर्णयबारे जानकारी गराउंदैछ।

Popularity: 5%

Add comment July 21st, 2011

दोस्रो मिस पूर्वाञ्चलको मैझारो

दोस्रो मिस पूर्वाञ्चलको मैझारो
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
धरान, गत असार ३२ गते सम्पन्न दोस्रो मिस पूर्वाञ्चलको विजेता तथा प्रतिस्पर्धी सुन्दरीहरुसहित आयोजक प्रायोजक तथा धरानका सञ्चारकर्मीहरु सम्मिलित मैझारो कार्यक्रम मंगलवार भेडेटारमा गएर समाप्त भएको छ।

धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विजयी सुन्दरीहरुसहित कार्यक्रम सफल वनाउन सहयोग पुर्र्याउने ब्यक्ति, संघ सस्था, तथा सञ्चारकर्मीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा आयोजना गरिएको पिकनिकसहित उपस्थित सुन्दरीहरुसंग धरानका सञ्चारकर्मीहरु पनि कम्मर मर्काइ मर्काइ नाचेका थिए। बुढासुब्बा ट्रेर्निङ सेन्टरका अध्यक्ष विरेन्द्र लिम्बु, एम्बासडर होटलका प्रोपाइटर धनिराम राइ र बुद्ध एयरका स्टेसन म्यानेजर गिरीराज बस्नेतको नृत्य उत्कृष्ट थियो। नागरिक दैनिकका सम्बाददाता रोहितकुमार राई पनि सुन्दरीहरुसंग कम्मर मर्काइ मर्काइ नाचिरहेका देखिन्थे।

तस्वीर सौजन्यः सोहन श्रेष्ठ /औजार डेली न्युज पेपर

‘मिस पूर्वाञ्चल २०११’को उपाधि प्रतिभालाई
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम, जुलाई १७ -
धरान, पूर्वका २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै धरानकी प्रतिभा श्रेष्ठ ‘मिस पूर्वाञ्चल २०११’ को ताज पहिरिन सफल भएकी छन्।

मिस पूर्वाञ्चल प्रतिभा श्रेष्ठ (बीचमा) फस्ट रनरअप लक्ष्मी सुब्बा (वायाँ) र सेकेण्ड रनरअप अनिता विश्वकर्मा। तस्वीरः उपेन्द्र चाम्लिङ/ एचकेनेपाल डट कम

शनिबार धरान सभागृहमा भएको फाइनलका प्रमुख निर्णायक गोपाललाल कक्षपतिले सोधेको ‘युवाहरुको संसारमा वृद्धहरुको कुनै स्थान हुँदैन। यो विचारमा तपाईं सहमत वा असहमत के हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनको उत्कृष्ट जवाफबाट नै मिस पूर्वाञ्चलको ताज सुनिश्चित भएको थियो। ‘पुर्खाहरु नै हाम्रा प्रेरणाका स्रोत हुन्। उनीहरुबाटै युवा पुस्ताले हरेक कुरा सिकिरहेका हुन्छन्। आधुनिक संसारको सुरुआत पनि पुर्खाहरुकै आशीर्वाद हो’ भन्ने उनको जवाफले उपाधि सुनिश्चित गरेको हो। उनले मिस पूर्वाञ्चलको ताजसँगै ‘मिस क्याटवाक’ को उपाधि पनि हात पारिन्। ‘उपाधि जित्ने आत्मविश्वास थियो,’ उनले भनिन्, ‘खुशी लागेको छ।’

तस्वीरः उपेन्द्र चाम्लिङ/ एचकेनेपाल डट कम Click here to view more at Facebook.

प्रतियोगिताको ‘फर्स्ट रनर अप’ धरानकै लक्ष्मी सुब्वा भइन्। उनले ‘बेष्ट पर्स्नालिटी’ को उपाधिसमेत हात पारिन्। ‘सेकेण्ड रनर अप’ पनि धरानकै अनिता विश्वकर्मा भइन्। विश्वकर्मा ‘मिस ब्युटीफुल’ को उपाधि पनि जित्न सफल भइन्।

यसैगरी ‘मिस फ्रेण्डसीप’ धरान-१ की प्रियङ्का श्रेष्ठ, ‘मिस भ्युअर्स च्वाइस’ दमककी रोजी बराइली, ‘मिस ब्युटीफुल’ धरानकी ज्योती श्रेष्ठ, ‘मिस ब्युटीफुल हेयर’ धरानकी अमिना पाख्रिन, ‘मिस फोटोजेनिक’ बिर्तामोडकी अस्मिता गजमेर, ‘मिस ट्यालेन्ट’ धरानकी नीशा राई घोषित भए।

‘मिस पूर्वाञ्चल’ बन्न सफल प्रतिभाले ताजसँगै महिन्द्रा कम्पनीको डुरो स्कुटीसमेत हात पारिन्। दोस्रो र तेस्रो हुने सुब्बा र विश्वकर्माले हयासी कम्पनीको ल्यापटप जितेका छन्। यस्तै, अन्य उपाधि पाउने प्रतियोगीहरुले एक/एकवटा ‘कलर मोबाइल’ पाएका छन्।

बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा ‘मिस पूर्वाञ्चल’ तथा ‘फर्स्ट रनर अप’ र ‘सेकेण्ड रनर अप’ लाई २०१० की मिस पूर्वाञ्चल प्रियारानी लामाले ताज पहिर्‍याइदिएकी थिइन्। विजेता तीनजनाले काठमाडौंमा हुने ‘मिस नेपाल’ मा सहभागी हुन पाउने प्रतियोगिताका संयोजक सौरभ श्रेष्ठले जनाए।

नेपाल पर्यटन बोर्डका सुबास निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका निर्णायकमा कक्षपति, मिस नेपाल सुदीक्षा श्रेष्ठ, मुना श्रेष्ठ, शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपाल, हेयर डिजाइनर नील डेभिड कट्वाल, गायक निर्णय श्रेष्ठ र तारा चाम्लिङ थिए।

पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेको कार्यक्रममा गायक राजेश पायल राईले गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा चर्चित फेसन डिजाइनर उत्तम बनेपालीलाई आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र लिम्बूले सम्मान गरेका थिए।

ट्राफिक नियम पालना गर्न आग्रह गर्दै मिस पूर्वाञ्चलका सुन्दरीहरु
सन्ताष काफ्ले / एचकेनेपाल डट कम, जुलाई १३ -
धरान, पछिल्लो समयमा पूर्वी नेपालमा ट्राफिक नियमका उल्लघनका घटनमा बृद्धि हुदै गएको छ। जसका कारण दुर्घटनामा बृद्धि हुनुका साथै दुर्घटनामा मृत्यु हुने सम्भावना समेत बढेको छ। बिशेष गरि साना सवारी साधन त्यसमा पनि मोटरसाईकल चालकहरुले बढी मात्रामा ट्राफिक नियम उलङ्घन गरको पाइन्छ। नियम पालना गर्न ट्राफिक प्रहरीहरु पनि उत्तिकै रुपमा लागि परिरहेका छन्। प्रहरी नियम विपरित सवारी चलाउनेबाट राम्रै राजश्व असुली गरिरहेको भए पनि कमी नआएपछि अहिले कारबाहीसंगै सचेतनात्मक कार्यलाई समेत प्राथमिकता दिन थालेको छ।

यो ट्राफिक नियम पालना गर्न आग्रह गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले बुधबार धरानमा निकालेको र्र्याली हो। हातमा सचेतनामूलक नारा लेखिएको यो र्र्यालीले धरान नगरको परिक्रममा समेत गरेको थियो। अन्य र्र्याली भन्दा यो र्र्याली अलिक फरक थियो , यसमा प्रहरीसंगै २२ जना सुन्दरीहरु पनि सहभागी थिए। आफ्नो सुन्दरता , बौद्धिकता तथा प्रतिभा प्रस्तुत गरी मिस पूर्वाञ्चलको ताज पहिरिने लक्ष्यका साथ मिस पूर्वाञ्चलमामा सहभागी यी युवतीहरु पहिलो पटक यसरी सचेतनात्मक नारा लेखिएका प्ले कार्डसहित सडकमा निस्केका हुन्।

उनीहरु र्र्यालीमा मात्र सहभागी भएनन् धरानका चौक चौकमा पुगेर सवारी चालकलाई सचेतसमेत गराए । ट्राफिक नियम पालना नगरेकै कारण दुर्घटनामा बृद्धि भएको तथा सबैले नियम पालना गरेमा दुर्घटना भइहाले पनि मानवीय क्षती कम हुने धरानको जिरो पोइन्टमा सवारी चालकलाई सचेत गराउदै गरेको अवस्थामा भेटिएकी मिस पूर्वाञ्चलमा सहभागी लक्ष्मी सुब्बाको भनाई छ।

भिडियो हेर्नुहोस्

उनीजस्तै धरानको लक्ष्मी चौकमा भेटिएकी मिस पूर्वाञ्चलमा सहभागी सोनिया काफ्लेलाई पनि त्यस्तै लागेको रहेछ। धरानमा युवा वर्गले ट्राफिक नियमको पालना नगरेको तथा बिशेष गरी मोटरसाइकल चालकहरुले भने नियमको पालना नगर्ने गरेको उनको भनाई।

छाता चौकमा वसेर ट्राफिकको काम गरिरहेकी मिस पूर्वाञ्चलमा सहभागी सरस्वती बुढाथोकी भने मोटरसाईकल चालकले लापरवाही तरिकाले मोस चलाउने गरेको र हेलमेटको प्रयोग नगरेका कारण दुर्घटनमामा मानवीय क्षति बढी हुने गरेकाले आफूले मोटरसाईकल चालकलाई सचेत गराएको वताइन्।

उनीहरु जस्तै २२ जना सुन्दरीहरुले धरानका जिरो पोइन्ट छाता चौक लक्ष्मी चौक , भानु चौक , बुद्ध चोक , भोटेपुल , बरगाछी , कलेज रोडमा वसेर ४ घण्टा सवारी चालकहरुलाई सचेत गराई रहेका थिए। उनीहरुको आग्रहलाई सवारी चालकहरुले पनि सहजै स्वीकार गरिरहेका पाइन्थ्यो, कतिपयको हेल्मेटको वेल्ट उनीहरु आफैले बाँधि दिएका थिए।

कारबाहीले मात्र ट्राफिक नियम पालना गराउन समस्या भएकोले सचेतामूलक कार्यक्रम सुरु गरेको जिल्ला ट्रफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक रोशन आचार्यले वताए । जनचेतानमूलक अभियान अन्तगर्त बुधवार मिस पूर्वाञ्चलमा सहभागीहरुलाई १ दिन प्रशिक्षण दिएर सडकमा ल्याएको जानकारी आचार्यले दिए। साथै उनले यो कार्यलाई निरन्तरता दिने समेत वताए।

सचेतना विना नै गरिएको कुनै पनि कार्यले सफलता पाउदैनन्। प्रहरीले नियम पालना नगर्नेलाई कारबाही गर्दा राजश्व त असुली होला तर त्यो प्रभावकारी भने हुदैन।

सुन्दरीहरुको रक्तदान र आँखा दान
सौरभ श्रेष्ठ/एचकेनेपाल डट कम, जुलाई १२ -
धरान, आफ्नो ट्यालन्ट, सुन्दरता तथा बोद्धिकता देखाएर मिस पूर्वाञ्चलको ताज पहिरन पूर्वाञ्चलभरिबाट धरानमा आएको सुन्दरीहरुको भिड मंगलबार धरानको घण्टा घर परिसरमा देखियो। उनीहरुको को अगाडि भन्दै होडवाजी गरिरहेका थिए त्यो पनि अन्य कामको लागि होइन मृत्युपछि आँखा दान गर्न।

एक महिनादेखि मिस पूर्वाञ्चलको उपाधिको लागि प्रशिक्षणमा रहेका २२ सुन्दरीहरुले आँखा दान मात्र गरेनन् रक्तदान समेत गरे। प्रशिक्षण अन्तर्गत नै आयोजित सो कार्यक्रममा उनीहरु आफूले मात्र रत्तदान गरेनन् सडकमा हिडिरहेका पैदल यात्रीहरुलाई समेत समाज सेवा र रत्तदानको बारेमा सचेत गराउदै रत्तदानमा सरिक गराए। कार्यक्रममा उनीहरुसहित ३५ जनले आँखा दानको घोषणा गरे भने ५५ जनाले रत्तदान गरे। उनीहरुको आँखा दानसगै रक्तदाता खोज्नमा समेत उत्तिकै प्रतिष्पर्धामा देखिए।

कार्यक्रममा सबै भन्दा वढी धरानकी अमिना पाख्रिनले सबै भन्दा बढि १० जना रक्तदाता खोज्न भ्याइन्। त्यतो अरु पनि चुप भने बसेनन् उनीहरुले रक्तदात र आँखा दाता खोजेका थिए। उनीहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक बुढासुब्बा ट्रनिङ सेन्टरका अध्यक्ष बीरेन्द्र सुव्वाले वताए । साथै उनीहरुलाई मगलवारै ट्राफिक नियम सम्कन्धि जानकारी गराइएको थियो। ट्राफिक नियमको वारेमा जिल्ला ट्राफिक कार्यालय सुनसरी धरानका प्रहरी निरीक्षक रोशन आचार्यले प्रशिक्षण दिएका थिए।

सुन्दरीहरुको ट्यालेन्ट
सौरभ श्रेष्ठ/एचकेनेपाल डट कम, जुलाई ११-
धरान, मिस पूर्वाञ्चलको उपाधिको लागि एक महिनादेखि प्रशिक्षणमा रहेका २२ सुन्दरीहरुले सोमबार धरानस्थित सभागृहमा आ-आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन्।

सहभागीले प्रायः नृत्य प्रस्तुत गरेका थिए भने केहीले गायनसँगै अभिनय कलासमेत देखाएका थिए। प्रशिक्षणबाट निखार प्राप्त गरेका उनीहरुले निर्धक्कसँग आ-आफ्नो ट्यालेण्ट प्रस्तुत गरे । नृत्यमा खासै रुचि नराख्ने झापाकी सोनिया काफ्ले पनि अञ्जु पन्तको ‘नबिर्से तिमीलाई’ बोलको गीतमा नृत्यसँगै अभिनयसमेत गरेर सबैको ध्यान तान्न सफल भएकी थिइन् । धरानकी इन्दिरा राईले भने फरक प्रस्तुति राखिन् । उनले देशको समसामयिक अवस्थाप्रति व्यङ्ग्य प्रस्तुत गरिन्। उनले लोडसेडिङलाई विषय बनाएर आफ्नो प्रस्तुति राखेकी थिइन्।

इटहरीकी सरस्वती बुढाथोकी र झापाकी रोजी बराइलीले रिमिक्स गीतमा आकर्षक नृत्य प्रस्तुत गरे भने धरानकी ज्योती श्रेष्ठले ‘फूलको आँखामा’ बोलको गीत प्रस्तुत गरिन् । उनीहरुसँगै सबैका प्रस्तुति निर्णायक तथा दर्शकको मन जित्न सफल भएका थिए तर उत्कृष्ट प्रस्तुति भने कसको रह्यो र कसले ‘मिस ट्यालेण्ट’ को अपाधि हात पार्लान् भन्ने थाहा पाउन आगामी शनिबारसम्म कुर्नु पर्नेछ। निर्णायकहरुलाई भने निकै समस्या भएको छ। सबैको प्रस्तुति उत्कृष्ट भएकाले पनि सबै निणार्यकले बराबरी नै नम्बर दिएको अनुमान लगाउन गाह्रो पर्दैन।

आगामी शनिबार फाइनल हुने प्रतियोगिताको ट्यालेण्ट सोमा निर्णायकका रुपमा रंगकर्मी तथा सञ्चारकर्मी गोपाल देवान, साहित्यकार तथा सञ्चारकर्मी राजेश विद्रोही, कलाकार प्रेम सुब्बा, चलचित्र निर्मातृ भिष्मा चेम्जोङ, ट्राफिक इन्स्पेक्टर रोशन आचार्य र ब्युटिसियन भारती सुब्बा थिए।

कार्यक्रमका प्रमुख अतिथि रहेका चर्चित हेयर स्टाइलिष्ट नील डेबिड कटुवालले मिस पूर्वाञ्चलका २२ प्रतियोगीलाई प्रमाणपत्र वितरण गरेका थिए। कटुवालले प्रतियोगीहरुलाई व्यक्तित्व विकास, प्रस्तुति तथा ब्युटी टिप्स्सम्बन्धी प्रशिक्षणसमेत दिएका थिए।

मिस पूर्वाञ्चलमा २५ जना
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम, जुन १५-
आगामी साउन ७ गते धरानस्थित धरान सभागृहमा आयोजना हुने ‘दोस्रो मिस पूर्वाञ्चल’ को फाइनल राउण्डमा सहभागी गराउन २५ जना युवतीहरुलाई छानिएको छ।
योग्यता, रुचि र प्रतिभाको आधारमा शनिबार र मङ्गलबार गरी दुइ चरणमा गरिएको अडिसनबाट छानिएका २५ युवतीहरु धरान, बयरवन, डाँगीहाट, बिर्तामोडबाट सहभागी छन्।

प्रतिभा श्रेष्ठ, अनिता विक, लक्ष्मी लिम्बू, पूजा लामा, रोजी बराइली, सरस्वती बुढाथोकी, अस्मिता गजमेर, तारा खतिवडा, सपना श्रेष्ठ, युवककुमारी परियार, परिना चेम्जोङ, निशा राई, समीक्षा नेपाली, इन्दिरा राई, जानुका लिम्बू, लिजा बज्राचार्य, अमिना पाख्रिन, सियासी लिम्बू, ज्योती श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, विपना श्रेष्ठ, शर्मिला मगर, यामकुमारी लिम्बू र अल्कादेवी श्रेष्ठलगायतका २५ युवतीलाई आगामी शुक्रबारबाट एक महिने, र्‍याम्प मोडलिङ, फेसन, व्यक्तित्व विकास, सँस्कृति, ब्युटी टिप्स, स्वास्थ्य, पर्यटन, अनुशासनलगायतका विभिन्न विषयमा प्रशिक्षण दिइनेछ।

यसपटकको मिस पूर्वाञ्चलमा गत वर्षको मिस पूर्वाञ्चलका फर्स्ट रनर अप तथा मिस नेपालमा बेष्ट कम्प्लेक्समेन्टको एवार्ड विजयी धरानकी प्रियारानी लामाले कोरियोग्राफरको भूमिका निर्वाह गर्नेछिन्।

फाइनल इभेन्टमा प्रथम हुनेलाई मिस पूर्वाञ्चलको उपाधि र ताजसँगै ‘महिन्द्रा’ डुरी स्कुटी प्रदान गरिनेछ भने दोस्रो र तेस्रोलाई ताजसहित ल्यापटप प्रदान गरिनेछ । त्यस्तै, अन्य दस विधामा समेत आकर्षक गिफ्ट ह्याम्परसहित विजेता घोषणा गरिनेछ।

पहिलो, दोस्रो र तेस्रोलाई ललितपुरको एसियन कलेज अफ म्यानेजमेन्टमा प्लस टु अथवा ब्याचलर लेभलको निःशुल्क छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजक बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र लिम्बूले बताए।

पाँच वर्षको मोडलिङ तथा मिस पूर्वाञ्चल र मिस नेपालको अनुभव हासिल गरिसकेकी प्रियाले यसअघि थुप्रै फेसन सोमा कोरियोग्राफी गरिसकेकी छन्। ब्युटी प्याजेन्टमा भने यो उनको पहिलो कोरियोग्राफी हो।

Popularity: 12%

2 comments July 21st, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....