Archive for July 23rd, 2011

पोखराको चाउँथेमा गोली प्रहार गरी लुटपाट

शौभाग्य आचार्य / एचकेनेपाल डट कम -
पोखरा, पोखरा उपमहानगरपालिका वडा नं. १४ स्थित चाउथे स्वागत नगरमा लुटेराको एक समूहले गोली प्रहार गरी लुटपाट गरेको छ।
चाउँथे स्वागतचोकमा रहेको रत्नबहादुर बिकको घरमा शुक्रवार राति ७ /८ जनाको समूहले घर मुली बिकलाई गोली प्रहार गरी लुटपाट गरेको स्थानीय प्रसाद थापाले जानकारी दिएका छन्।

लुटेराको समूहले चलाएको गोली बिकको देब्रे खुट्टामा लागेको छ। मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएका बिकको त्यहाँ उपचार हुन नसकेपछि राजधानी लगिएको स्थानीय प्रसाद थापाले बताए। बिक भने खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ।

लुटेराको समूहले बिकको घरमा भाडामा बस्दै आएका ५ जनामाथि आक्रमण गरेका छन्। लुटेराको आक्रमणबाट भाडामा बस्दै आएका मञ्जु राना, अञ्जु थापा, अनिता थापालगायत ५ जना सामान्य घाईते भएका छन्।

एक्कासी कोठामा आई पेस्तोल देखाए मञ्जु थापाले भनिन -बोलिस् भने मारिदिन्छु भन्दै उनीहरु घरभेटी बसेको माथि गए र लुटपाट गरे। आफनै सुरक्षा पनि गर्न गार्‍हो हुने भो-”रातिको घटना सम्झदै मञ्जुले भनिन्- यस्तो त कसैलाई नहोस्।

सबै लुटेराहरुले कालो माक्स र रेनकोट लगाएको रत्नबहादुरको घरको माथिल्लो तल्लामा बस्दै आएका कृष्ण बिकले जानकारी दिए। राति अचानक ढोका फोडियो सपना जस्तै लागेको थियो कृष्णले भने - एक्कासी रडले हिर्काए । अझै पनि आफूलाई सबै सपना जस्तै लागेको उनको भनाई छ। कृष्णकी बहिनी सृजना बिकले घटनाले अझै मनमा डर पैदा गरेको बताईन्। कोठाभित्र छिरेर एकै चोटी मेरो मुखमा समाते उनले भनिन्- बोले मारिदिने धम्की दिए।

राति करिव २ बजेर २५ मिनेट जाँदा लुटेराको समूह बिकको घरमा प्रवेश गरेको स्थानीयले बताएका छन्। घटना भएको करिब एक घण्टापछि प्रहरी पुगेको बताईएको छ। बारम्बार लुटपाट र आक्रमणका घटना दोहिरिदा पनि स्थानीय प्रशासनले सुरक्षामा गम्भीरता नदेखाएको भन्दै स्थानीय आक्रोसित भएका छन्।

पछाडिबाट भर्‍याङ्ग हाली चढेको देखियो-स्थानीय प्रसाद शर्माले भने-”त्यसपछि किचनको झ्यालको ग्रिल निकाली भित्र पसि एक्कासी पेस्तोल देखाई लुटपाट गरे। पहिले भाडामा बस्दै आएकालाई नियन्त्ररणमा लिई बिकको घरका लुटपाट भएको हो- उनले भने “लुटपाटकै क्रममा प्रतिकार गर्दा बिकमाथि गोली प्रहार भयो। घटना घटेको एक घण्टापछि प्रहरी आएको भन्दै उनले गोली चलेको केही समयपछि लुटेरा राजमार्ग हुँदै भागेको बताए। बिक दम्पतीसंग रहेको केही गरगहना र नगद गरी २ लाख बराबरको लुटपाट भएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, घटनाको बारेमा बुझ्न चाउथे स्वागत नगरचोक पुगेका डीआईजी उपेन्द्रकान्त अर्यालले लुटेराको खोजिका लागि विशेष टोलीसहित सर्च अभियान सुरु गरिने बताए। घटनालाई गम्भीर रुपमा लिईएको भन्दै उनले आजैबाट सर्च अभियान सुरु भएको जानकारी दिए।

पछिल्ला २ महिनामा चाउथेमा यो संगै ५ वटा यस्तै प्रकृतिका घटना भैसकेका छन्। सबै डकैती मध्य रातको १२ वजे देखि ३ वजेको समयमा हुने गरेको स्थानीय बताउँछन्। एउटै वस्तीमा एकै समयमा बारम्बार डकैती र लुटपाट जारी रहँदा पनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।

स्थानीय प्रशासनले सुरक्षामा ध्यान नदिएको भन्दै स्थानीयवासीले अव लुटेरा समूहको प्रतिकार आफैले गर्ने चेतावनी दिएका छन्। स्थानीय स्तरमै छलफल गरी सुरक्षाको रणनीति बनाउन अहिले स्थानीवासी एक जुट भएका छन। स्थानीय भिमसेन केसीले प्रशासनले सुरक्षा व्यवस्थामा खेलबाड गरेको भन्दै अव जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिए।

यसअघि, विहिवार राति मात्रै युवा संचार उद्यमी एवं विग एफ एमका अध्यक्ष महेश भण्डारीको घरमा लुटपाट र आक्रमणको प्रयास भएको थियो। हतियारधारी समूहले केही महिना अगाडि कुँडहरमा रहेको डा. गोपी तुलाचनको घरवाट ४ लाख नगद र १२ तोला सुन चोरी गरेको थियो। डा. तुलाचनको घरसहित सो क्षेत्रमा ध्रुव सुवेदीलगायत आधा दर्जनको घरमा चोरी तथा डकैतीका घटना भएका छन्।

पोखरामा पछिल्लो क्रममा श्रंखलावद्ध रुपमा चोरी डकैतीका घटनाहरु वढ्न थालेका छन्। श्रृंखलावद्ध रुपमा भएका चोरी र डकैतीका घटनाले प्रहरीको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएको छ।

Recent Videos:

Popularity: 5%

Add comment July 23rd, 2011

नेपालमा जनवादी क्रान्ति पुष्पलालले ल्याएका हुन् -ज्ञवाली

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) का अध्यक्ष माधव ज्ञवालीले नेपालमा जनवादी क्रान्तिको लाईन नै पुष्पलालको लाईन भएको बताएका छन्।

उनले नेपालमा संयुक्त जनआन्दोलनको लाईन विना पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्य हुन सक्तैन भन्ने कुरा पनि पुष्पलालको अवधारणा रहेको ठोकुवा गरे।

शनिबार रिपोर्टर्स क्लव नेपालमा पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा (मार्क्सवादी) ले राखेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष ज्ञवालीले अहिलेका कम्युनिष्टहरु नामका मात्र भएको भन्दै पुष्पलाल जस्तो देशभक्ति नेता अहिले नभएको बताए। उनले माओवादी पार्टी, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको उन्मुक्तिको लागि स्थापना भएको भनिए पनि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भारतसँग भएको मेघा प्रोजेक्टमा हस्ताक्षर गरेर नेपालीलाई उर्जाविहीन बनाई अध्याँरोमा धकेल्ने काम गरे भने एमालेले टनकपुर सन्धीमा हस्ताक्षर गरेर त्यो भन्दा ठूलो अपराध गरेको आरोप लगाए।

Recent Videos:

Popularity: 5%

Add comment July 23rd, 2011

शान्तिप्रक्रिया र संविधानमा काम नहुनुमा माओवादी दोषी - प्रधानमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, प्रधामन्त्री झलनाथ खनालले शान्तिप्रक्रिया र संविधान निर्माणको कामले गति लिन नसक्नुमा माओवादी दोषी रहेको बताएका छन्।

३३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा र्कीतिपुरको चम्पादेवीमा शनिवार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री खनालले माओवादी भित्रको आन्तरिक कलहका कारण शान्तिप्रक्रिया र संविधान निर्माण कार्य ओझेलमा परेको दाबी गरे। प्रधानमन्त्री खनालले पार्टी भित्रको कलह छिट्टै समाप्त पार्न माओवादी नेताहरुलाई सुझाव दिए।

ठूलो दलको हिसाबले शान्ति र संविधानका लागि माओवादी जिम्मेवार हुनुपर्ने भन्दै उनले संक्रमणकालको व्यवस्थापनका लागि जिम्मेवार हुन सबै राजनीतिक दललाई आग्रह गरे। संक्रमणकालको उचित व्यवस्थापन हुन नसके जनताको बलिदानबाट प्राप्त उवलब्धि नै समाप्त हुने प्रधानमन्त्रीको भनाई थियो।

मुलुकका अगाडि उपस्थित जटिलताहरुको समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको दोहोर्‍याउंदै प्रधानमन्त्री खनालले सहमति भए आफू जुनसुकै बेला पद त्याग्न तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट र कांग्रेस नमिलेसम्म राष्ट्रले गति लिन नसक्ने बताए। मुलुकमा उग्रवामपन्थी तत्व हावी भएकाले राजनीतिले दिशाहीन भएको नेपालको भनाई थियो।

पुष्पलाल स्मृति पार्कमा भएको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष खनालसहित एमाले शीर्ष नेताहरुको उपस्थिति थियो। नेताहरुले पार्क परिसरमा बृक्षारोपणसमेत गरेका थिए।

Popularity: 5%

Add comment July 23rd, 2011

मेलमिलाप नचाहने नेताहरु राजा झैं फालिने राष्ट्रपतिको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, राष्ट्रपति डाक्टर रामवरण यादवले मेलमिलाप गर्न नचाहने नेताहरु राजा झैं फालिने चेतावनी दिएका छन्।

काठमाडौको सुन्दरीजलस्थित बीपी संग्रहालयको निरीक्षणमा पुगेका राष्ट्रपतिले यादवले अहिलेको मुख्य आवश्यकता मेलमिलाप भएको भन्दै मेलमिलाप गर्न नचाहने दलहरु राजा झैं फालिने चेतावनी दिए। नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति अहिले अति सार्न्दभिक भएको उनले बताए।

राष्ट्रपति यादवले सत्ताका लागि नभई राष्ट्र र जनतालाई केन्द्रबिन्दूमा राखेर मेलमिलाप नीति अनुसार अगाडि बढन दलहरुलाई सुझाव पनि दिए।

बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्बन्धी नीतिले नेपालीलाई एकसुत्रमा बांध्न सक्ने राष्ट्रपतिले बताए। राष्ट्रलाई समृद्ध बनाउन सबै मिलेर जनताको शान्तिको चाहना पूरा गर्नुपर्ने भन्दै उनले हतियारविहीन राजनीति अहिलेको आवश्यकता रहेको दोहोए।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले सत्ता हातमा लिएका कारण नेपाल ५० बर्षपछाडि परेको राष्ट्रपतिको दाबी थियो।

Popularity: 5%

Add comment July 23rd, 2011

नर्वेमा नरसंहार कम्तीमा ९२ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
नर्वेको राजधानी ओस्लोमा लगातार बिस्फोट र गोली हानाहान हुंदा कम्तीमा ९२ जनाको मृत्यु भएको छ।

राजधानी ओस्लोको पश्चिमोत्तरस्थित उटोइया द्वीपमा प्रहरी पोशाकमा एक जनाले अन्धाधुन्ध गोली चलाउंदा कम्तीमा ८५ जनाको मृत्यु भएको हो।

लेबर पार्टीको युथ क्याम्पमा भाग लिइरहेका युवाहरुमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउंदा उनीहरुको मृत्यु भएको हो। आन्द्रे बेहरिंग ब्रिविक नाम गरेको आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ। यसअघि, नर्वेको राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयअगाडि भएको विष्फोटमा कम्तीमा ७ जनाको ज्यान गएको थियो। घटनामा कयौं घाइते भएका छन्।

नर्वेका प्रधानमन्त्री येंस स्टाँल्टनबर्गले विष्फोट वरपरको अवस्था गम्भीर रहेको बताएका छन्। पत्रकार सम्मेलनको आयोजना गरेर उनले आक्रमणलाई कायरतापूर्ण कारवाही बताउंदै घटनालाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिएका छन्।

विष्फोटनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ। नर्वेमा भएको आक्रमणको अन्तर्राष्ट्रियस्तरमा आलोचना भएको छ। अमेरिकाका राष्ट्रपति बाराक ओवामा, फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी र ब्रिटेनका विदेशमन्त्री विलियम हेगले आक्रमणको निन्दा गरेका छन्।

Popularity: 5%

Add comment July 23rd, 2011

विषालु च्याउ खाँदा तीनको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
दैलेख, जंगलबाट ल्याएको विषालु च्याउ खांदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

दैलेखको बिशाल गाविस-३ मा जङगलबाट ल्याएको विषालु च्याउको खाँदा एकै परिवारका तीन बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा स्थानीय नरबहादुर शाहीका छोरीहरु पवित्रा, निता र निर्मला रहेको प्रहरीले जनाएको छ।

हिजोराति जङगलबाट ल्याएको च्याउको तरकारी खाएर बिरामी परेका उनीहरुको उपचार अभावमा आज बिहान मृत्यु भएको हो।

च्याउ खाएलगत्तै उनीहरुमा झाडापखाला लाग्ने, टाउको दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिएको छिमेकीले बताएका छन्।

Popularity: 5%

Add comment July 23rd, 2011

आफूलाई भौतिक रुपमै सिध्याउने षडयन्त्र भइरहेको प्रचण्डको दाबी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भौतिक रुपमै सिध्याउने र पार्टीबाटै नंग्याउने षड्यन्त्र भएको दाबी गरेका छन्।

निकै भावुक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूलाई भौतिक रुपमै सिध्याउने र पार्टीबाटै नंग्याउने षड्यन्त्र हुने भनेर पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएको सुझावको स्मरण गर्दै अहिले त्यही नियति आएको बताए।

एबीसी टेलिभिजन र सर्वहारा कोषले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको परिवर्तन प्रक्रियामा हजारौं शहीद र जनताको रगतबाट लतपतिएर आएकाले माओवादी फुट्ने सम्भावना नरहेको बताए। बरु रुपान्तरण भएर एकताबद्ध रुपमा अघि बढ्ने उनले बताए।

माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्रका सबै नेताहरुलाई साथमा लिएर अगाडि बढ्ने अठोट व्यक्त गरे। सिंगो पार्टी एकताबद्ध भएर शान्ति र संविधान निर्माणमा जुट्ने उनले बताए।

अध्यक्ष प्रचण्डले पहिलेदेखि नै दक्षिणपन्थी गद्दार भन्ने प्रचलन आफू नेतृत्वमा आएदेखि नै चलेको बताउदै यसलाई अन्यथा रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे। त्यसलाई नयाँ विचार र बहसको प्रयोग भन्दै उनले गल्ती भएका विषयमा समीक्षा हुनुपर्ने र महाधिवेशनमा गएर विवाद मिलाउने बताए।

ठूलो अराजकता र अव्यवस्थाभित्रैबाट मात्र समाधान पैदा हुन्छ भन्दै प्रचण्डले माओवादीले जनयुद्ध शुरु गर्दाका आदर्शहरु र अहिलेको आदर्श पनि त्यही रहेको बताए। माओवादी भित्रका बहस र संर्घष आम नेपाली जनताको बहसका रुपमा रुपान्तरित भएको भन्दै यो विश्वकै बहसको केन्द्र भएको बताए।

प्रचण्डले संसारभरका प्रतिक्रियावादीहरु नेपाललाई बदनाम गर्न लागेको आरोप लगाउदै माओवादी भित्रको विवादलाई लिएर एकता, संघर्ष र रुपान्तरणका आधारमा पार्टी चलाउने बताए।

Popularity: 5%

Add comment July 23rd, 2011

ओलम्पिक कमिटीको गतिविधि रोक्ने खेलकुद मन्त्रीको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, यूवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले विवादित दुइ ओलम्पिक कमिटी मिलेर नआए गतिविधिमै रोक लगाईदिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले भने-विवादित दुइ ओलम्पिक कमिटीलाई मिलेर सहमतिको प्रस्ताव ल्याउन निर्देशन दिएको छु, निर्देशनको अबहेलना गरे। ओलम्पिक कमिटीको गतिविधिमै रोक लगाउने गरी मन्त्री परिषदमा प्रस्ताव लगेर निर्णय गराउंछु।

साक्षात्कारमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले पनि विवादित दुइ ओलम्पिक कमिटीलाई विवाद समाधान गर्ने संयुक्त उपाय ल्याउन सुझाव दिईसकेको भन्दै विवाद नमिलाए हस्तक्षेप गरेर खेलकुद ऐन अनुसार कारवाही गर्ने चेतावनी दिए। ओलम्पिक कमिटीको विवादले नेपालको अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको भन्दै आफ्नो भूमिका राम्ररी निर्वाह नगरे नछाड्ने स्पष्टपारे।

उनले खेलकुद परिषदको अहिलेको मुख्य लक्ष्य भनेको आउँदो साग खेलकुदको लागि क्लोज क्याम्पको तयारी र राष्ट्रिय खेलकुदको आयोजना भएको भन्दै सुदूर पश्चिम क्षेत्रमा गर्ने भनिएको राष्ट्रिय खेलकुद भौतिक पूर्वाधारको अभावको कारण हुन नसकेको बताए।

उनले १५ दिनभित्रमै एक प्राविधिक टोली गएर सुदूर पश्चिमको पूर्वाधार अवलोकन गरेर सो विषयमा निर्णय लिने बताए। उनले भौतिक पूर्वाधार प्रयाप्त नभेटिए राष्ट्रिय खेलकुदको सार्ने तर्फपनि संकेत गरे।

खेलकुद परिषदबाट तीन सय भन्दा बढीको संख्यामा निकालिएका कर्मचारीको ठाँउमा माओवादी कार्यकर्ता भर्ति गर्ने कुनै उद्देश्य नभएको स्पष्टीकरण दिदै प्रक्रिया पुर्र्याएर तीनैबाट दरवन्दीमा क्षमताको आधारमा नियुक्त गर्ने जानकारी दिए।

Popularity: 5%

Add comment July 23rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....