Archive for July 24th, 2011

सुरक्षा दिन नसकेको भन्दै पोखराबासीद्वारा आक्रोश

विग न्यूज / एचकेनेपाल डट कम-
पोखरामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सुरक्षा संयन्त्रको बैठक कक्षमै बसी पोखरेलीहरुले आक्रोश पोखेका छन्।

पछिल्लो पटक पोखरामा भैरहेका चोरी डकैती घटनालाई नियन्त्रण र समग्र कास्कीको सुरक्षा रणनीति बनाउन आईतबार प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा तीनवटै सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थिती रहेको थियो।

बैठक चलिरहँदा पोखरा १४ चाउथे स्वागत नगरका स्थानीयबासीन्दाले सुरक्षाको प्रत्याभूति नभएको भन्दै संयन्त्रको बैठकमै आक्रोश पोखेका थिए । बारम्बार यस्ता घटना हुँदा पनि प्रशासन मौन रहेको भन्दै स्थानीय प्रसाद थापाले भने, ‘प्रहरीले अहिलेसम्म के हेरेर बसेको छ?’ अहिलेसम्मको प्रहरीको प्रगति विवरण माग्दै उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नेलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताए।

विगत दुइ महिनायता स्वागत नगर चाउथे बि एण्ड बि कोलोनीमा लगातार रुपमा चोरीका घटनाहरु भएका छन्। स्थानीयबासीले बारम्बार सुरक्षाको माग गर्दा पनि पर्याप्त सुरक्षा नपाएको गुनासो गरेका छन्। उनीहरुकै डेलिगेशनपछि प्रमुख जिल्ला अधिकारीले सुरक्षा प्रमुखहरुको भेला आईतबार बोलाएका थिए। उनले कास्कीको सुरक्षा चाँडै चुस्त दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतिबद्धता व्यक्त गर्दै गर्दा स्थानीयबासी झन् आक्रोशित भएका थिए, स्थानियबासी डा. गोमा शेरचनले भने-’प्रतिबद्धता मात्रै व्यक्त गरियो तर कार्यान्वयन गरिएन। सँधै यस्तो हुने हो भने हाम्रो सुरक्षा कसले गर्ने?’

सुरक्षा संयन्त्रमा सहभागी भएका डिएसपी तुलबहादुर कार्कीले आश्वस्त पार्दै भन्दै थिए, ‘परिणाम छिट्टै आउनेछ । अब ढुक्कले सुत्नुहोस्।’ तर स्थानीयबासिन्दाले अहिलेसम्मको प्रगति विवरण मागिरहेका थिए। यता विवश हुँदै कार्कीले भने, ‘हामीले कसैलाई समातेका छैनौँ। जबसम्म प्रहरीले दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्दैन तब सम्म प्रगति देखिँदैन, तर यसको अर्थ यो होईन कि हामीले काम गरेका छैनौँ।’ चाउथे क्षेत्रमा मात्रै विशेष सुरक्षा व्यवस्था मिलाईएको उनले बताए । ‘सबै कुरा भन्न नमिल्ने’ भन्दै उनले स्थानीयबासीलाई आक्रोशमा नआई प्रहरीलाई सहयोग गर्न आग्रह गरे।

‘संयन्त्र बैठकले स्वागत नगरचोकमा अस्थायी रुपमा सिआरभी भ्यान र चेक पोष्ट राख्ने निर्णयसमेत गरेको छ।’ प्रमुख जिल्ला अधिकारी कोईरालाले भने, ‘अन्य क्षेत्रमा समेत यस्ता घटना घट्न सक्ने देखेपछि कास्की जिल्लाभर सुरक्षालाई विशेष ध्यान दिईएको छ।’ अब जिल्लामा सुरक्षास्थिती अझै मजबुत हुने कोईरालाको दावी छ।

Recent Videos:

Popularity: 5%

Add comment July 24th, 2011

गोर्खाहरुको बहादुरी र साहस संसारभर प्रशंसनीय

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले गोर्खाहरुको बहादुरी र साहस संसारभर प्रशंसनीय रहेको बताएका छन्।

पहिलो नेपाली काउन्सिलर धन गुरुङको एजेन्सी ‘गोर्खा सर्भिसेस लिंक’को विहिबार लण्डनमा उद्घाटन गर्दै राजदूत चालिसेले यस्तो बताएका हुन । उनले बेलायती महारानीदेखि जनतासम्म गोर्खाहरुको छाप राम्रो रहेको जिकिर गरे । बेलायती महारानी संगको भेटमा उनले अफगानिस्तान गएका राजकुमार नाति गोर्खाहरुसंग सुरक्षित भएको स्मरण गराएकोले गोर्खाहरुको इमान्दारीता र इज्जत बढेको स्पष्ट पारे।

कार्यक्रममा गोर्खा आन्दोलनकी अगुवा जोअन्ना लुम्लेले बेलायतमा गोर्खाहरुको साहसिक इतिहास रहेको बताइन्। उनले गोर्खाहरुलाई इंगित गर्दै भनिन् ‘तपाईहरु इमान्दार र साहसी हुनुहुन्छ, यस्ता साहसिक व्यक्तित्वलाई बेलायत सरकारले कदर गर्नुपर्छ ।’ नेपालीहरुसंग आफ्नो आत्मिय सम्बन्ध रहेको बताउंदै गोर्खा जस्टिस आन्दोलनकी क्यान्पेनर लुम्लेले गोर्खालीहरुको समस्यामा आफ्नो साथ रहने विश्वास दिइन्।

कार्यक्रममा बेलायती संसदका सांसद डेभिन कोलीन, डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त कर्ण गोर्खा जस्टिसका क्याम्पेनर पिटर क्यारोल, लगायत करीब एकसयको हाराहारीमा नेपाली तथा बेलायती नागरिकहरुको उपस्थिति रहेको थियो । आयोजकले गोर्खा आन्दोलनकी अभियन्ता जोअन्ना लुम्लेलाई विशेष तामझामकासाथ कार्यक्रम स्थल पुर्‍याएका थिए।

यसैबीच, कार्यक्रममा हल उपलब्ध गराएको सेन्ट प्याटि्रक इनटरनेशनल कलेजले गोर्खालीहरुका छोराछोरीलाई विशेष छात्रबृत्ति उपलब्ध गराउने भएको छ। गोर्खालीका बच्चा तथा तिनका परिवारको अध्ययनलाई सहज बनाउन वार्षिक ५० हजार पाउण्ड बराबरको छात्रबृत्ति दिने निर्णय गरिएको कलेजका प्रिन्सिपल गिरीश चन्द्रले बताए।

सहमति पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल गिरीश र गोर्खालीहरुको तर्फबाट रिटायर्ड गोर्खा धन गुरुङले हस्ताक्षर गरेका छन्। यो छात्रबृत्ति रकम गोर्खा सर्भिसेस लिंक मर्फत जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिने छ।

Recent Videos:

Popularity: 5%

Add comment July 24th, 2011

विद्यावारिधी गर्ने पहिलो लाहुरे

विद्यावारिधी गर्ने पहिलो लाहुरे
डा.हर्षहादुर बुढा मगर

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- हर्षहादुर बुढा मगर कट्टर राष्ट्रवादी थिए । उनी आफ्नो हरेक बेहोरामा राष्ट्रियता छाँट्थे । कतिसम्म भने उनी प्रायः जे बोल्दा पनि र जे लेख्ता पनि राष्ट्रियतामा नै लहसिन्थे । उनको हरेक यात्रा राष्ट्रियतामा केन्द्रित हुन्थ्यो । त्यतिमात्र होइन, उनका लागि स्वदेश नै विश्व थियो । उनीसँग आफ्नो गाउँको माटो सधैं हुन्थ्यो । उनी स्वदेशकै माटोको टीका लगाएर मात्र आफ्नो मुलुकको सङ्घार काट्थे । यही रीतले बाँचुञ्जेल उनी राष्ट्रियताको व्याख्या गर्न पनि थाकेनन्।

भक्तबहादुर बुढा मगर र देवीकलाका एक मात्र सुपुत्रका रुपमा १९८४ साल कात्तिक ३ गते वाग्लुङको गलकोटमा हर्षहादुर जन्मेका थिए । यिनका बुवा भारत आसामको डिगबोईमा कार्यरत रहँदा उनी शिशुकालमा नै आफ्नी आमासँग त्यहाँ पुगेका थिए । तर उनी दुई वर्षको भएपछि उनका बुवाको रुखले किचेर त्यतै मृत्यु भएको थियो।

मगरलाई वाल्यकालमा नै भारतबाट नेपाल ल्याइयो । तर त्यस बेलासम्म वाग्लुङमा भएको उनको घरजग्गा अर्कैले आफ्नो बनाइसकेको थियो । त्यसपछि यिनकी आमाले आफ्ना सबै गरगहना बेचेर नयाँ घरजग्गाको निर्माण गरिन् । अनि उनी आफ्नो छोराको उचित शिक्षाका लागि मरिमेट्न थालिन् । उनको छोरो पनि तेजस्वी थिए । त्यसैले उनी पनि राम्ररी पढ्दै गए । तर उनको घरको आर्थिक अवस्था उकास्न पनि त्यस घडी हर्षहादुरले आफ्नो प्रमुख कर्तव्य सम्झे । त्यही परिणतिले पन्ध्र वर्षको उमेरमा उनी सत्र वर्षको भएँ भनेर भारतीय सेनामा भर्ना भएका थिए।

मगरले तेस्रो गोर्खा राइफलको पल्टनमा सिपाहीको पददेखि हवल्दारसम्म पद ग्रहण गरेर दसवर्षविताए । अनि स्पेशल पेन्सन पकाएर उनी आफ्नै गाँउ फिरे । त्यतिन्जेलमा सेनालयमा उनले आफ्नो पुरुषार्थ पनि देखाई सकेका थिए।

मगरको दोस्रो विश्वयुद्धमा सक्रिय सहभागिता थियो । साथै दक्षिण पूर्वी एशियामा शान्ति कायम गर्ने कार्यमा पनि उनी संलग्न थिए । उनले जम्मु काश्मिर युद्धक्षेत्रमा पनि आफ्नो संलग्नता देखाएका थिए । साथै पछि मलायाको इमर्जेन्सीमा पनि उनले भाग लिएका थिए । सेनामा कार्यरत रहँदा उनले जति काम गरे प्रशंसा पनि त्यति नै बटुलेका थिए । बेलायती राजा जर्ज छैटौंदेखि भारतका पिता महात्मा गान्धीसम्मको प्रसंशामा उनले आफुलाई उभ्याएका थिए । त्यही अनुसार उनले तक्माहरु पनि पाएका थिए।

मगरको बिहे वाग्लुङ कै टेकबहादुर आले मगर र देउकी आले मगरकी माइली छोरी पुष्पावतीसँग भएको थियो । त्यतिबेला उनी बाईस वर्ष र उनकी पत्नी सोह्र वर्षकी थिइँन् । यी दम्पतिबाट दुई जना छोरा रत्नबहादुर र देवविक्रम अनि छ जना छोरी उन्नती, प्रभा, लेखा, विनीता, यमुना र धर्म जन्मे । उन्नती बोहरा ‘शीला’ चाहिं लेखन, गायन र समाजसेवामा परिचित नाउँ बन्यो । उनैले आफ्ना बुवा डा.हर्षहादुर बुढा मगरको पनि बिंडो समाएर आफुलाई प्रस्तुत गरिरहेकी छिन्।

मगरले दुक्खसुक्ख गरेर पढे । यिनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र पटना विश्वविद्यालयबाट सोही विषयमा विद्यावारिधि गरे । मगर जातीमा विद्यावारिधि गर्ने उनी प्रथम व्यक्त थिए । साथै विद्यावारिधि गर्ने प्रथम लाहुरे पनि उनै थिए ।
मगरले आफ्नो जीवनको भोगाइलाई समाजसेवामा गाभ्न चाहे । त्यही क्रममा उनी बाग्लुङको भरत चैतन्य हाईस्कूलमा प्रधानाध्यापक भए । त्यसै वीच मलाया पुगेर उनले गोर्खा इन्जिनिर्य तालिम पनि लिए । पछि उनले वृटिश क्याम्पको जनसर्म्पर्क अधिकारी भएर बीस वर्षकाम गरे । अनि उनैको पहलमा वृटिश गोर्खाको सहयोगमा पक्लिहवा हाइस्कूलको स्थापना भएको थियो । उनले त्यहाँ लाटाबहिराको स्कूल पनि खोले । त्यतिमात्र होइन, उनैको बुताबाट भैरहवा बहुमुखी क्याम्पसको स्थापना पनि भयो र उनी त्यस क्याम्पसको प्रिन्सिपल भए । त्यहाँ काम गर्दागर्दै उनले राजा वीरेन्द्रबाट राजदरबारको जाँचबुझ केन्द्रको विशेष अधिकृतको जिम्मा पाए । अनि झनसारो यी चर्चित भए । त्यसपछि उनी नेपाल स्काउटको राष्ट्रिय सचिव पनि भए । उनको स्वच्छ छवीको चर्चा राजनीति र प्रशासनमाझ क्रमशः हुन थाल्यो । परिणामस्वरुप उनी राज्यबाट बन बसोवास अधिकार सम्पन्न आयोगको अध्यक्षमा मनोनीत भए । त्यसपछि उनी नेपाल भूतपूर्व सैनिक संगठनको केन्द्रीय सचिवमा छानिए।

मगरले सामाजिक सेवामा धेरै काम गरे । उनी जहाँ जान्थे राष्ट्रहीतकै काम गर्थे । त्यही हिसावमा विभिन्न शिक्षण संस्था, धर्म र समाजसेवामा उनको सक्रिय सहभागिता भैरहृयो । उनी तीन दर्जन भन्दा बढी शैक्षिक, धार्मिक र सामाजिक संघसंस्थाहरुमा प्रत्यक्ष संलग्न थिए । उनी नेपाल मगर सङ्घ र मगर सेवा समाजको संस्थापक भएर जातीय उत्थानका लागि पनि मरिमेटे । साथै मास्टर मित्रसेन प्रतिष्ठानको संस्थापक भएर पनि उनले महत्वपूर्ण काम गरेका थिए।

मगरले जति काम गरे त्यति नै यिनको मूल्याङ्कन पनि भैरहृयो । जस अनुसार यिनले स्वदेश तथा विदेशबाट एक दर्जन जति विभूषण र अलङ्कार पाए । साथै उनले त्यति नै पुरस्कार र फेरि त्यति नै सम्मानहरु पनि पाए । उनले तीन दर्जन जति तक्मा, पुरस्कार र सम्मान भिरे तापनि उनी कहिले र्सर्केर समाजमा प्रस्तुत भएनन् । बरु सँधै झुकेर नै उनले आफ्नो यात्रा बढाई रहे।

मगर नीतिमा खरो, सिद्धान्तमा स्पष्ट र व्यवहारमा निर्भीक थिए । तर जनमाझ उनी आफूलाई सालिन, सरल र सौम्य रुपमा प्रस्तुत गर्थे । उनले लेखनमा पनि आफ्नो व्यक्तित्वको प्रतिबिम्ब त्यसरी नै दिइरहे । उनी विविध विधामा कलम चलाउने स्रष्टा थिए । यति हुँदाहुँदै पनि उनले कविता लेखेर आफ्नो साहित्यिक यात्राको आरम्भ गरेका थिए । कविता लेखनकै क्रममा उनले २०१४ सालमा खण्डकाव्यमार्फ् डा. केआई सिंहको जीवनी लेखेका थिए।

मगरले नेपाली भाषासाहित्यमा कविता, अन्वेषण, जीवनी, निबन्ध प्रबन्धसमेत गरेर डेड दर्जन जति कृतिको आविष्कार गरे । उनका कृतिमध्ये ‘मगर-नेपाली-लिम्बु-अंग्रेजीकोश’ निक्कै चर्चित पनि भयो । उनैले मगर व्याकरणको प्रारुप पनि लेखे । कृतिगत रुपले उनको जति उचाई नापिए तापनि उनका लेखनको सेरोफेरो प्रायः डा.केआई सिंह नै रहृयो । उनैले डा.केआई सिहं स्मृति प्रतिष्ठानको पनि स्थापना गरेका थिए । साथै उनले यस विश्वको सेरोफेरोमा राजा महेन्द्रको देनको गाथा मात्रै गाइरहे । उनले आफ्नो जीवनको उत्तर्रार्धमा पनि महेन्द्र विषयक एउटा वृहद् ग्रन्थको निर्माण गरेका थिए । उनी महेन्द्रलाई नेपाली राष्ट्रियताका प्राण मान्थे।

नेपाली राष्ट्रियताको गीत गाउँदागाउँदै मगर शारीरिक रुपमा खच्कँदै गए । जीवनभरी आफूले भोगेका अनेक सुक्ख, दुक्खहरुको नालीबेली लेख्तालेख्तै उनी एक्कासी थला परे । अनि त्यसपछि उनी अनेक रोगसँग जुद्धै हिंड्न पनि सकेनन् । साथै त्यसै बेला उनी प्यारालाइसीसबाट पनि आक्रान्त भए । त्यसपछि उनलाई ब्रेनहृयाम्रेज भयो । त्यो विषय नै उनको जीवनमा कालको रुपमा रुपान्तरित भयो । अनि उनी २०६७ साल माघ १४ गते काठमाडौंमा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment July 24th, 2011

कोलोराडोमा खेलकुद तथा कविता प्रतियोगिता

नातिबाबु भट्ट/ एचकेनेपाल डट कम-
अमेरिकाको कोलोराडो रहेका नेपालीहरु बिच भेटघाट एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले आयोजना गरिएको पिकनिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा कोलोराडोस्थित किलीमेन्टपार्कमा सम्पन्न कार्यक्रममा झण्डै तीन सय नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा आयोजक संस्थाको समन्वयमा कबिता प्रतियोगिता, फुटबल, भलिबल, बास्केटबल, गल्फ, टेनिसलगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो।

नेपालीहरुको लगानीमा कोलोराडोमा रहेका ३२ वटा रेष्टुरेण्टहरुले कार्यक्रममा सहभागी सबैलाई बिभिन्न स्वादका खाना निशुल्क उपलब्ध गराएका थिए।

बालबालिका, बृद्ध, युवा युवती सबैको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउने मानिसहरुको उपस्थिति भने न्यून थियो। ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरिलो नेपाली संगीतका साथ रमाई रहेका देखिन्थे।

अमेरिकामा सम्पन्न हुन लागेको सिनेट सदस्यको चुनावमा वाशिंटन स्टेटमा डेमोक्रेट पार्टको तर्फबाट नेपालीमूलका पहिलो उम्मेदवार दर्शन रौनियारको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको पिकनिक कार्यक्रममा खाना उपलब्ध गराई सहयोग पुर्‍याउने सबै रेष्टुरेण्टलाई प्रमुख अतिथिबाट कदरपत्र प्रदान गरिएको थियो।

यसैगरी, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्टको सभापतित्वमा सम्पन्न पुरस्कार बितरण कार्यक्रममा कबिता प्रतियोगितामा प्रथम हुने श्रद्धा पाण्डे, द्वितीय हुने आकृति श्रेष्टलाई क्रमशः एकसय ५० र एकसय डलर नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो। सोही अवसरमा खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई डा. बिजय शर्मा, बिष्णु श्रेष्ठ, रमाकान्त अधिकारी, बिश्व भण्डारीलगायतका माहानुभावहरुले शिल्ड तथा प्रशंसा पत्र प्रदान गरेका थिए।

Popularity: 5%

Add comment July 24th, 2011

स्व. अरुण स्मृति संगीत पुरस्कार दिपक थापामगरलाई

एचकेपाल डट कम संवाददाता -
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले यस वर्षको अरुण स्मृति संगीत पुरस्कार गायक, संगीतकार एवं गीतकार दिपक थापामगरलाई प्रदान गरेको छ।

संगीतकार एवं गीतकार दिपक थापामगर

ऋतुहरुमा तिमी………, करोडौ मुटुहरुको एउटै ढुकढुकी नेपाल……., जति माया लाएपनि…चोट के हो व्यथा के हो मलाई नसोध..’ जस्ता कालजयी गीतका गायक स्व. अरुणथापामरको सम्मान र स्मृतिमा मगर विद्यार्थी संघले हरेक वर्षगीत संगीतको क्षेत्रमा निरन्तररुपमा सक्रिय कलाकारलाई रु ५ हजार नगदसहित सम्मानपत्रद्धारा सम्मानित गर्दै आएको छ।

साउन ५ गते विहीवार सूचना तथा सञ्चारमन्त्री अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष माधबकुमार दर्लामीमगरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गायक भिम बुढाथोकी, राम सुस्लीङमगर, वेदु सारुमगर, संगिता थापामगर लगायतले अरुण थापामगरका ऋतुहरुमा तिमी हरियाली वसन्त हौं.., म रोएपनि तिमी हाँसीदिनु…, जतिमाया लाएपनि.., चोट के हो व्यथा के हो मलाई नसोध………,’ करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल…..’ लगायतका गीतहरु गाएकाथिए भने पुरस्कृत व्यक्तित्व दिपक थापामगरले आफ्नै स्वर, संगीत र शब्दमा रहेको विदेश जाने मायालु तिमीलाई…. गीत गाएका थिए।

लोकप्रिय गायक अरुण थापामगर छोटो समयमा थोरै गीत गाएर पनि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रसिद्धि कमाउने कलाकारमा पर्छन्। २००९ सालमा बुबा गञ्जुप्रसाद र आमा शान्तिथापामगरको कोखबाट जन्मिएका अरुण थापामगरले २०३२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए।

पहिलो पटक उनले विक्रम गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा कतै टाढा पुगेँ भने सम्झेर नरुनु… बोलको गीत गाएका थिए। २०३४ सालमा ऋतुहरुमा तिमी हरियाली बसन्त हौं.., २०३६ मा जति माया लाएपनि…’गाएपछि उनको लोकप्रियता राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा बढ्दै उनी श्रोताको ढुकढुकी बन्न पुगे।

विविसी विश्व सेवाले गरेको विश्वव्यापी गीत सर्वेक्षणमा अरुण थापामगरले गाएको मर्मस्पर्शी गीत ऋतुहरुमा तिमी हरियाली वसन्त हौं…, विश्वको सातौ लोकप्रिय स्थानमा पर्न सफल भएको थियो। उनै मर्मस्पर्शी गायक अरुण थापामगरको सम्झनामा नेपाल मगर विद्यार्थी संघले वर्षेनी कार्यक्रम गर्दै आएको छ।

उनकै नाममा अरुण स्मृति संगीत पुरस्कार स्थापना गरेको मगर विद्यार्थी संघका अध्यक्ष माधब कुमार दर्लामीमगरले राज्यले गायक अरुण थापामगरले नेपाली सुगम संगीतमा पुर्‍याएको योगदानको सम्मान नगरेकोमा चिन्ता व्यक्त गर्दै आफूहरुले देशभरी तथा विदेशमा समेत विभिन्न कार्यक्रमगरि अरुण थापामगरको सम्झना गरिँदै आएको बताए।

यसपटक संघले अरुण स्मृति संगीत पुरस्कारबाट संगीतकार, गीतकार एवं गायक दिपक थापामगरलाई सम्मान गर्‍यो। सूचना तथा सञ्चारमन्त्री अग्नीप्रसाद सापकोटाले पुरस्कृत व्यक्तित्वलाई रु. ५ हजार नगदसहित सम्मानपत्रद्धारा सम्मान गरे। सोही कार्यक्रममा मगर विद्यार्थी संघले मगर विद्यार्थी संघको झण्डालई विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याएका सगरमाथा आरोही कुलबहादुर थापामगर, नवनियुक्त एआईजी कुवेरसिंह रानामगर र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झक बहादुर थापामगरलाई सम्मान गरेको थियो।

२०३८ सालमा रेडियो नेपालबाट स्वरपरीक्षा उत्तीर्ण गरी नेपाली गीत संगीतमा प्रवेश गरेका सम्मानित कलाकार दिपक थापामगरले तीन दशकअघि हङकङमा नयन’ नामक सांगीतक व्यान्ड बनाएकाथिए। सुक्मीत गुरुङको ओ मेरो प्रीयतम…. गीतबाट संगीत दिन शुरुवात गरेका दिपकले जगदिश समालको तपोवन , मध्यान्ह ब्यान्डको जिन्दगीको के भरोसा.., जुना प्रसाईको नदेखेको भए हुन्थ्यो.. लगायत दर्जनौं गीतमा संगीत गर्नुका साथै उनले गाएका एवं लेखेका गीतहरु नेपाली संगीतको आकाशमा चर्चाको शिखरमा छन्।

Popularity: 5%

Add comment July 24th, 2011

पुष्पलालको स्मृतिमा रक्तदान

एचकेनेपाल डट कम संवाददाता-
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा संयुक्त जन आन्दोलनका प्रतिपादक क.पुष्पलालको ३३औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिहान १० बजे क. पुष्पलालको तस्वीरमा नेकपा (संयुक्त मार्क्सवादी) का अध्यक्ष लोकनारायण सुवेदीले अवीर अर्पण गरेपछि आरम्भ भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने महानुभावहरुमा नेकपा (संयुक्त मार्क्सवादी) अध्यक्ष क. लोकनारयण सुवेदी, पार्टीका पोलिट ब्यूरो सदस्य क. भीमकुमार बान्तवा, पार्टीका राष्ट्रिय परिषदका सदस्यद्वय क. बिक्रान्त सुवेदी र क. दमन कटुवाल, नबज्योति सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष डीबी तामाङ्ग, नेपालपत्रका कार्यकारी निर्देशक भवानीशंकर ढुगेल, पत्रकार माधव निर्दोष, ,राजेन्द्र बिक्रम मल्ल ठकुरी, सबिना मल्ल ठकुरी,सन्तोष ओझा, झनिन्द्र खतिवडा, रामप्रसाद बडाल, राजेश श्रेष्ठ, राम लामा, दिपक श्रेष्ठ, सोना देउजा, अस्मित केसी र अस्मिन केसी, सौरभ ढकाल, अंकित ढकाल, गीता बराल, हेमन्त मल्ल, सेवक केसी, दिलबहादुर कार्की, तिलक कुमार माझी, दिनेश कार्की प्रबीण भण्डारी, पुष्पा कार्की, राजकुमार तामङ्ग, कल्याण कार्की, आग्नि तामाङ्ग, दीपक बीसी, दिलकुमार तामाङ्ग, सुरेन्द्र बिक्रम राणा, अमरसिंह चौधरी, प्रकाश राई र गोतम शाक्यलगायत ३७ जना थिए।

रक्तदान कार्यक्रमको अन्त्यमा सम्पूर्ण रक्तदाता, सहभागी तथा सहयोगीहरुलाई नेकपा (संयुक्त मार्क्सवादी)का केन्द्रिय सचिवालय प्रमुख शरणबिक्रम मल्लले कृतज्ञताकासाथ धन्यवाद ज्ञापन गरेका थिए।

Popularity: 5%

Add comment July 24th, 2011

बित्यो विद्यार्थीको असार - सुलसुले

सुलसुले / एचकेनेपाल डट कम-
आज सुलसुलेलाई एकाविहानै एउटा अचम्मको समाचारले पिरोल्यो। नेपालकै ठूलो मिडिया हाउसले प्रकाशन गर्ने पत्रिकाले लेखेको रहेछ, ‘नेपालीको झन्डै डेढ अर्ब जोखिममा।’

म एउटा सामान्य विद्यार्थी, अहिले बेलायतमै रहेको नेपालीको कलेजमा पढ्छु, जहां लेखमा उल्लेख भए अनुसार एउटा कलेजमा १२ करोड पचास लाख नेपाली रुपैंया बराबरको लगानी गरिएको रहेछ। ब्रिटिश पाउण्डमा यो रकम करीब १० लाख ९६ हजार हुन आउंछ । यत्रो लगानीको कलेज कस्तो होला ? कलेजको भौतिक पूर्वाधार कस्तो? होला, कक्षा कोठा कस्ता होलान ? को को विद्धानहरु त्यस्ता कलेजका प्राध्यापकहरु कस्ता होलान् ? अनि विद्यार्थीहरुले कस्तो ज्ञान आर्जन गर्लान् ? सर्बप्रथम यस्तो भ्रामक समाचार सम्प्रेषित गरेर कलेज र तिनको सञ्चालकको बित्थामा बिज्ञापन गर्नुभएका पत्रकार मित्रलाई बधाई।

प्रत्यक्ष देख्नुभयो भने म मात्र होइन तपाई पनि अचम्ममा पर्नुहुन्छ, त्यस्तो विज्ञापन गरिएजस्तो कलेजको अवस्था छैन । करीब ८० जनाभन्दा बढि विद्यार्थीहरु भेडाबाख्रा जसरी कक्षामा हुन्छन्। राम्रा कलेजमा विक्न गाह्रो हुने खालका प्राध्यापकहरु नेपालीबाट सञ्चालित कलेजका नामुद प्रिन्सीपल हुन्। प्रायः भारतीय, पाकिस्तानी, बंगाली, श्रीलंकन र अफ्रिकी मुलकाहरुले यी कलेजहरुमा शिक्षा दिइरहेका छन्। बेलायतमा भएपनि कलेको पूर्वाधार नेपालमा रहेका प्लस टु सरह पनि छैनन। कम्प्युटर ल्याब प्राय बन्द, खोलेपनि विद्यार्थीहरुको भिड अनि नचल्ने कम्प्युटर यी केही विशेषताहरु हुन । लाइबे्रेरीमा तपाईलाई किताव उपलब्ध हुन गाह्रो छ । एउटा विषयको २ तीन वटा किताव हुन्छन, पांच दर्जन बढि विद्यार्थी । मुस्किलले किताव भेटेपनि तपाईले डिपोजिट नदिएसम्म किताव पाउनुहुन्न।

एक बर्ष अध्यायनका लागि ट्युसन फि बापत करीब ३ हजार पाउण्ड कलेजमा तिरेको विद्यार्थीले एक हप्ताको लागि किताव लिंदा २५ पाउण्ड डिपोजिट गर्नुपर्नेछ । हेर्नुहोस् तपाई आफैं बुझ्नुहुन्छ, एउटा नेपालीको नामुद भनाउंदा कलेजमा सरदर कति आम्दानी हुन्छ । करीब एकहजार विद्यार्थी छन भन्न ति कलेजका सञ्चालकहरु हिच्किचाउंदैनन । तिनीहरुसंग जनही २ हजार पाउण्ड देखि ३५ सय पाउण्डसम्म असुल्छन्।

बेलायत सरकारले टियरफोर नियम लागू गर्नुभन्दा पहिला यी कलेज व्यवसायीहरुको काम कलेज कुरेर माखा मार्नु जस्तै थियो, एकजना पूर्व विद्यार्थीले सुलसुलेलाइ बताए । अहिले नेपाली सञ्चालकका कलेजहहरु नेपालीकै रगत पसिनाले मोटो गाईमा लागेको किर्ना जस्ता भएका छन्। कलेजको विज्ञापन गर्दा लण्डन शहरका ठूला ठूला भवन देखाइएपनि वास्तवमा कलेज तीन चार कोठामा हुंदो रहेछ।

विद्यार्थीहरुको चापसंगै बेलायतमा रहेका कलेजहरुको आयश्रोतमा बृद्धि भयो । तीन चार कोठाबाट बढाएर अहिले फ्ल्याट तथा सिंगै भवन भाडामा लिएका छन्। एक सय विद्यार्थी नभएका त्यस्ता कलेजहरुमा विद्यार्थीसंख्या अहिले करीब एक हजार भन्दा बढि छ। त्यसमा ८५ प्रतिशत भन्दा बढि नेपाली विद्यार्थी छन्।

टियर फोर लागु हुनुपूर्व एक बर्षको फि ५ सय देखि बढीमा एक हजारसम्म थियो, ति बिद्यार्थीले भने, अहिले त्यहि फि बढाएर दुइ हजार देखि ३५ सयसम्म भएको छ । तपाईहरुलाई थाहै छ, बेलायतमा विद्यार्थीहरुले बिदाको समय काम गर्दा अनिवार्य कलेजको विदा लेटर चाहिन्छ, तर नामुद भनाउंदा केही नेपालीका कलेजहरुले विद्यार्थीहरुलाई कसरी निमोठेका छन, विद्यार्थीलाई अधिकारबाट कसरी वञ्चित गरेका छन्। यो अबधि बिद्यार्थीहरुको पनि असार महिना हो, मानो रोपेर मुरी फलाउने तर अहिले कलेज सञ्चालकहरुले आफ्नो स्वार्थको लागि आफूले विद्यार्थी छंदा विदाभर भांडा माझेको पनि विर्सिए । जुलाई अगस्त र सेप्टेम्बर महिनाभरी प्राय कलेजहरुमा विदा हुन्छ। तर कलेजहरुले विदाको समय विद्यार्थीहरुलाई ठूलो मर्कामा पारेका छन, होलिडे लेटर नदिएर। कामै गर्न नपाएपछि ती विद्यार्थीहरुले कसरी त्यति महंगो फि तिर्लान्? यो भने सेप्टेम्बरको अन्तिमतिर नै थाहा होला।

Popularity: 5%

Add comment July 24th, 2011

महिला प्रहरीद्वारा तीन महिने आधारभुत ब्यूटिसियन तालिम

एकराज गिरी / एचकेनेपाल डट कम-
पोखरा, पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी परिवार महिलासंघको आयोजना तथा हङकङ हर्वल इन्टिचियूटको सहयोगमा तीन महिने आधारभूत ब्युटिसियन तथा क्षमता अभिबृद्धि तालिम पोखरामा आइतवारदेखि सुरु भएको छ।

पोखराका बैदामस्थित पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी बल मुख्यालय मुक्तिनाथ बाहिनीको सभाहलमा शसस्त्र प्रहरीमा कार्यरत प्रहरीका परिवारहरुको क्षमता अभिबृद्धि गरी सिप मुलक कार्यमा लागि आत्मनिर्भर बनाउदै शसक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको तालिमको पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी परिवार महिला संघ अध्यक्ष सिला राईले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो।

तालिमको उद्घाटपछि बोल्दै अध्यक्ष राईले शसस्त्र प्रहरीका परिवारले पनि सिप सिकेर आत्मनिर्भर भएर आर्यआर्जन गर्नुपर्ने बताउनु भयो। उहाँले ब्युटिसियन तालिमले न्यूनतम स्रोत र लगानीले आर्यआर्जन गर्न सकिने भएकाले तीन महिने ब्युटिसियन तालिम संचालन गरिएको बताउनु भयो। महिलाहरुले सिपमूलक काम गरेर पुरुषलाई सहयोग गर्न सकिने बताउदै अव महिलाहरु घरभित्रको काममा मात्रै सिमित रहन नुहने बताउनु भयो। अब घर भन्दाबाहिर निस्केर आफनो क्षमता अभिबृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसअधि प्रहरी परिवारलाई आत्मनिभर बनाउने उद्देश्यले मैनबत्ती बनाउने लगायतका तालिम सम्पन्न गरि सकेको जानकारी दिनुभयो।

कार्यक्रममा हङकङ हर्बल ब्यूटी इन्टिचियूटका संचालक तथा तालिमका प्रमुख प्रशिक्षक मिना गुरुङले महिलाहरुले सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै आर्थिक अवस्था कमजोर भएकाहरुका लागी तालिमले आयआर्जन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले हङकङ हर्वल ब्यूटी इन्टिचियूटले आयमुलक र ब्यवसायीक हितमा मात्रै काम नगरि महिलाहरुको क्षमता अभिबृद्धिका लागी काम गदै आएको जानकारी दिदै कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाई रोजगारीको ब्यवस्था समेत गदै आएको बताउनु भयो। उहाँले स्वास्थ्य र सुन्दरता मानिसको जीवनमा आवश्यक रहेको बताउदै ब्यूटिसियन तालिमले महिलामा आन्मविश्वास बढ्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी परिवार महिलासंघकी सदस्य सचिव आसिका चन्दले तालिममा ब्यवहारिक शैद्धान्तिक मात्रै नभएर ब्यवहारिका ज्ञान दिइने बताउदै सिपमूलक कार्यक्रमबाट आर्थिक स्तर सुधारमा उपयोगी हुने विश्वास ब्यक्त गर्नुभयो। तीन महिनासम्म संचालन हुने तामिमा ४१ जना महिलाहरुको सहभागिता रहेको छ।

Popularity: 5%

Add comment July 24th, 2011

इपिएस परीक्षामा पचास हजार सम्मिलित

एचकेनेपाल डट कम संवाददाता-
नेपालीको वैदेशिक रोजगारीको आकर्षक, गन्तव्यका रुपमा रहेको गणतन्त्र कोरियामा सरकारी माध्यमबाट नेपाली कामदारलाई पठाउने प्रयोजनका लागि काठमाडौँ उपत्यकामा सञ्चालित तेस्रो इपिएस टोपिक भाषा परीक्षा सम्पन्न भएको छ।

दुई दिने सो परीक्षामा कुल आवेदक ५७ हजार ४५७ मध्ये ५० हजार ४३ सम्मिलित भएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। नेपाल तथा दक्षिण कोरिया सरकारबीच भएको सो सम्बन्धमा श्रम सम्झौता भएको छ।

Popularity: 5%

Add comment July 24th, 2011

काँग्रेस एमाओवादी नेतृत्वमा सरकारमा जानसक्छ–जोशी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद् नवीन्द्रराज जोशीले लडाकु पुनःस्थापनामा एमाओवादी सहमत भएमा कांग्रेस एमाओवादीको नेतृत्वमा सरकारमा सहभागी हुनसक्ने बताउनुभएको छ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले पाँचबुँदे सहमति अनुसार प्रधानमन्त्रीको राजिनामा अझसम्म नआउनुले सहमतिको राजनीतिलाई अस्वीकार भएको छ, यो देशका लागि दुर्भाग्यपूर्ण हो भन्नुभयो।

काँग्रेस केन्द्रीय सदस्य एवं सभासद् दीपकुमार उपाध्यायले काँग्रेसलाई ‘वाइपास’ गरेर शान्ति र संविधान लेखन कार्य पूर्ण नहुने बताउँदै सर्वप्रथम शान्ति प्रक्रिया पुरा भएपछि मात्र संविधान निर्माण हुन सक्छ भन्नुभयो।

Popularity: 5%

Add comment July 24th, 2011

मधेसवादी दललाई पनि समेट्नु पर्छः पौडेल

एचकेनेपाल डट कम संवाददाता-
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिका लागि ठूला तीन दलमात्र नभई मधेसवादी दललाई समेत समेटेर लैजानुपर्ने बताउनुभएकोछ।

बिपी कोइराला विचार समाज नेपाल भक्तपुरले आयोजना गरेको ‘बिपी विचार र वर्तमान राजनीति’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उहाँले नेपालमा चौथो शक्तिका रुपमा रहेको मधेस मोर्चालाई राष्ट्रिय सहमतिमा समावेश गराउँदै लैजानुपर्ने बताउनुभयो।

मधेस मोर्चालाई अलग गरेर राष्ट्रिय एकता र सहमति सम्भव नहुने बताउँदै उहाँले मधेस मोर्चालगायत अन्य दललाई समेटेर लगेमा मात्रै मुलकमा एकता कायम हुने र शान्ति तथा संविधान निर्माणको अभिभारा पुरा हुनसक्छ भन्नुभयो।

नेता पौडेलले आम जनतामा सद्भाव र एकता कायम गर्ने, मुलुकलाई सबल बनाउने, प्रजातन्त्रलाई बलियो बनाउने र आर्थिक उन्नतिको जिम्मेवारी पुरा गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो।

एमाओवादीले विस्तृत शान्ति सम्झौताको अवज्ञा गरेकाले शान्ति प्रक्रियाले गति लिन नसकेको बताउँदै उहाँले यही अवस्थामा शान्ति र संविधानको लक्ष्य पुरा नहुने दाबी गर्नुभयो।

आफू प्रधानमन्त्री बन्नकै लागि एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीलाई सरकारमा लगेको आरोप लगाउँदै नेता पौडेलले एमाओवादी र एमालेले शान्ति र संविधानको जिम्मेवारी लिएर सरकारमा गए पनि कुनै प्रगति हुन सकेको छैन भन्नुभयो।

Popularity: 5%

Add comment July 24th, 2011

काँग्रेस नेत्री कोइराला बिरामी, टाइफाइडको शंका

एचकेनेपाल डट कम संवाददाता-
दोलखाको जिरीबाट राजधानी फर्कनेक्रममा सदरमुकाम चरिकोट आइपुग्नुभएकी काँग्रेस नेत्री सुजाता कोइराला बिरामी पर्नुभएको छ।

बिपी स्मृति दिवसका अवसरमा रामेछापमा आयोजित कार्यक्रममा सहभागी भएर नेत्री कोइराला बिहीबार साँझ दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा जानुभएको थियो। चरिकोट आइपुगेपछि कामज्वरो आएकाले कोइरालाको अहिले स्थानीय सङ्गम होटलमा उपचार भइरहेको छ।

उपचारमा संलग्न दीर्घायु सामुदायिक अस्पतालका डा बुद्धिबहादुर थापाका अनुसार ज्वरो निक्कै बढेकाले नेत्री कोइरालामा ‘टाइफाइड’को लक्षण देखिएको छ। नेत्री कोइराला बिरामी भएको खबर सुनेपछि अहिले सङ्गम होटल परिसरमा दोलखाका काँग्रेस कार्यकर्ताको घुइँचो लागेको छ।

Popularity: 5%

Add comment July 24th, 2011

जोर्डनसंग नेपालको लज्जास्पद पराजय

एचकेनेपाल डट कम संवाददाता-
विश्वकप फुटवलको एशियाली क्षेत्रको छनौटमा पहिलो चरण पार गरेको नेपाल शनिवार राति दोश्रो चरण प्रवेशका लागि जोर्डनसंग खेल्दा ० को विरूद्ध ९ गोलले पराजित भएको छ।

अम्मान रंगशालामा सम्पन्न खेलको ७ औं मिनेटमा मोहम्मद हसनले नेपालविरूद्ध पहिलो गोल गरेर गोलको खाता खोलेका थिए। त्यसैगरी, २०औं मिनेटमा खालिल अमेर, ३१औं मिनेटमा अहमद हायल, ४५+१ औं मिनेटमा अब्दुला ५६औं मिनेटमा खालिल अमेर, ६४ औं मिनेटमा अहमद हायल र ७४, ८४ र ९०+३ औं मिनेटमा मोहम्मद हसनले गोल गरे।

खेल अवधिभर मोहम्मद हसनले मात्र ४ गोल गरेपछि उनको हृयाट्रिक भएको छ।

फिफा वरियताक्रममा आफूभन्दा ६४ स्थानमाथि रहेको जोर्डनसंग नेपाल कडा चुनौतीका साथ भिडेको थियो। बराबर नतिजा ल्याउने योजनामा रहेको नेपालले यस खेलमा लज्जास्पद पराजय भोगेको छ। यो खेलसंगै अघिल्लो चरणमा प्रवेश गर्ने नेपालको आशा झिनो हुदै गएको छ। नेपालले अर्को चरणको खेलमा प्रवेश गर्न १०-० ले पराजित गर्नुपर्नेछ।

नियमित कप्तान सागर थापाको नेतृत्वमा मैदानमा उत्रेको नेपालको टिममा रोहित चन्द, सन्दीप राई, विराज महर्जन, निराजन खड्का, भोला सिलवाल, जुमानु राई, अनिल गुरुङ, शिव श्रेष्ठ, विकाससिंह क्षेत्री, सन्तोष साहुखल र गोलकिपर किरण चेम्जोङ थिए।

पहिलो चरणमा इस्ट टिमोरलाई ७-१ ले हराएको नेपालले जोर्डनविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा विहीवार प्रतिस्पर्धा गर्नेछ।

Popularity: 5%

1 comment July 24th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....