Archive for July 25th, 2011

उपप्रधानमन्त्री एवम् गृहमन्त्री महराद्वारा राजिनामा

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री एवम् गृहमन्त्री कृष्णबहादुर महराले आफ्नो पदबाट सोमवार राजिनामा दिनुभएको छ।

उहाँले दिउँसो प्रधानमन्त्री झलनाथ खनाललाई भेटी राजिनामापत्र बुझाउनुभएको उहाँका प्रेस सहयोगी मनोज घर्ती मगरले जानकारी दिनुभयो।

उपप्रधानमन्त्री महराले पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले नयाँ मन्त्रीहरूको नाम छनोट गरिसकेको अवस्थामा नयाँ टिमलाई मार्गप्रशस्त गर्न राजिनामा दिएको बताउनुभएको छ।

उहाँले खनालको नेतृत्वमा बनेको वर्तमान सरकारमा एकीकृत नेकपा (माओवादी) का तर्फबाट नेतृत्व गर्नुभएको थियो।

उहाँको राजीनामा प्रधानमन्त्रीले सहमति जुटाउनु पर्छ भन्दै स्वीकृत गरिसक्नुभएको छैन।

Recent Videos:

Popularity: 5%

Add comment July 25th, 2011

१५ करोड धरौटी बुझाउन नसकेपछि पूर्वआईजीपी राणालाई जेल चलान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, विशेष अदालतले माग गरेको १५ करोड धरौटी बुझाउन नसकेपछि पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई सोमवार साँझ जेल चलान गरिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बहुचर्चित सुडान घोटालाका एक मूख्य आरोपी राणासंग १५ करोड धरौटी गरेको थियो।

यसअघि, अदालतले पूर्व प्रहरी महानिरीक्षकद्वय रमेशचन्द ठकुरीसँग ७ करोड र हेमबहादुर गुरुङसँग ५ करोड धरौटी माग गरेको थियो। विशेष अदालतले माग गरेको धरौटी बुझाउन नसक्दा दुबैलाई जेल चलान गरिएको थियो।

पछि ठकुरीका लागि सिभिल बैंक र गुरूङका लागि ग्लोबल बैंक जमानी बस्ने भएपछि उनीहरू जेलबाट छुटेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि २८ करोड ८१ लाख ६१ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग छ।

Recent Videos:

Popularity: 5%

Add comment July 25th, 2011

पोर्तुगलमा २९ औं बीपी स्मृति दिवस

रामहरि लामिछाने/ एचकेनेपाल डट कम-
लिस्बन, नेपाली जन सम्पर्क समिती पोर्तुगलले लिस्बनमा आइतबार २९ औं बीपी स्मृति दिवसको अबसर पारेर “बिचारहरुको सान्दर्भिकता”
बिषयक गोष्ठी सम्पन्न गरेको छ।

स्वर्गीय महानायक बीपीको तस्बीरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रम एनआरएन नेदरल्याण्डका अध्यक्ष एवं जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार हरि पौडेल प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि एबम जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार हरि पौडेलले बिपीले पुर्याउनु भएको योगदानको चर्चा गर्दै बिपीले देखाउनु भएको मार्गमा लाग्नु पर्नेमा जोड दिनुभयो। उहाँले बिपीको सिद्धान्त अनुसार नेपाली कांग्रेस अगाडि बढ्नु पर्ने आबश्यकता औल्याउदै प्रवास मै रहेर भए पनि प्रजातन्त्र जोगाउन लागि पर्न सबैमा आग्रह गर्नुभयो। यसैगरी, उहाँले नेपालका नेताहरुले नेपालको संबिधान बनाउन नसकिरहेको अबस्थामा
संबिधान नबनेसम्म प्रवासमा रहेका कुनै पनि संघ संस्थाहरुले नेताहरुलाई कार्यक्रमको सभागितामा बन्देज गराउनु पर्ने धारणा समेत राख्नुभयो।

नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष एबं कार्यक्रमका सभापति पूर्ण हमालले बिपीको स्मरण मात्र गरेर होइन कि उहाँले दिनुभएको योगदानलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो। यस्तै, एनआरएन पोर्तुगलका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बिपीको भनाइलाई स्वीकार गर्दै नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रमामा बोल्दै नेपाली जनसम्पर्क समिति पोर्तुगलका सल्लाहकार भिम केसी कमलले बीपीका सिदान्तहरुलाई प्रभाबकारी रुपमा अबलम्बवन गर्नुपर्नेमा जोड दिनु भयो।

यसैगरी, कार्यक्रमामा सिता बराल, भानु सापकोटा, सुशील गैरे, दामोदर सुबेदी लगायतले बीपीको एक राजनीतिज्ञ मात्र नभैकन सफल साहित्यकार भएको स्मरण गर्दै उहाँले गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो।

हेमन्त सेढाइंले संचालन र कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले स्वागत भाषण गर्नु भएको कार्यक्रम रेस्टुरेण्ट टेष्ट अफ नेपाल साल्दानाको हलमा सम्पन्न भएको थियो।
कार्यक्रम जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष पूर्ण हमालको
सभापतित्वमा सम्पन्न भएको थियो।

Popularity: 5%

Add comment July 25th, 2011

कांग्रेस सभासभद्वय बेलायतको भेटघाटमा व्यस्त

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
वेल्स, बेलायत भ्रमणमा रहेका कांग्रेस सभासदद्वय शेखर कोइराला र सिता गुरुङले वेल्स एसेम्ब्लीका पहिलो मन्त्री एलुन माइकलसंग शिष्टाचार भेट गरेका छन्।

टोनी ब्लेयर नेतृत्वमा मन्त्री माइकलसंगको भेटमा बेलायत नेपाल सम्बन्धमा छलफल भएको थियो। छलफलमा उहांहरुबीच दुइ देशको दौत्यसम्बन्ध, नेपालको शान्ति प्रकृया, संविधान निर्माण तथा उत्तरी आयरल्याण्डसंग भएको गुड फ्राइडे सम्झौता र त्यसपछिको विकासक्रमका बारेमा छलफल भएको सहभागी एनपीसीसी बेलायतका महामन्त्री शान्तविनोद लामिछानेले बताए।

२१ जुलाईमा भएको भेटमा पूर्वमन्त्री माइकलले नेपालको शान्ति प्रकृया र लोकतान्त्रिक पद्धतिको विकासमा नेपाली कांग्रेसले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनले नेपालको संविधानसभा सदस्यहरुलाई वेल्समा स्वागत गर्न पाउंदा आफूलाई खुशी लागेको समेत बताए।

सो भेटमा नेताद्वयले बेलायत सरकारले नेपालको शान्ति प्रकृया र समग्र मुलुकको विकासमा गरेको अतुलनीय सहयोगप्रति आभार प्रकट गरेका थिए। उनीहरुले यस्तो सहयोग जारी राख्न पनि माइकल मार्फत बेलायत सरकारसंग आग्रह गरे । सोही दिन कार्डिफस्थित वेल्स एसेम्ब्ली सदस्य तथा वेल्स संसद स्वास्थ्य उपसमितिका अध्यक्ष मार्क दर्कफोर्ड तथा काउन्सिलर रमेश पटेलले सभासदद्धयलाई औपचारिक रुपमा स्वागत गरेका थिए। उनीहरुले वेल्स संसदको सथापना, शक्ति विकेन्द्रीकरण, एसेम्ब्लीको भूमिका र अधिकार, संचालन प्रकृया तथा निर्वाचन प्रकृयाका बारेमा जानकारी दिएका थिए। उनीहरुले संसद भवनको स्थलगत भ्रमणका साथै अवलोकन गरे। वेल्स संसद भवनमा सभासदहरुको सुविधाका लागि सिटको अगाडि जडित कम्प्युटरमा बैठकको एजेण्डा, निर्णय तथा खबरहरु हेर्न पाउने व्यवस्था देख्दा उनीहरुले नेपालको संसद भवन सम्झिए।

वेल्समा एकजना एसेम्ब्ली सदस्यले तीन जनासम्म सहायक सुविधा राख्न पाउने व्यवस्था छ। सहायकहरुमध्य दुइले निर्वाचन क्षेत्रका आवश्यकता अनुसन्धान गर्नेछन्।

भ्रमणमा नेपाली जनसर्म्पर्क समितिका पूर्वसभापति विनोद मोक्तान, सदस्य शिवजी श्रेष्ठ, पूर्व महाधिबेशन प्रतिनिधि युवराज गुरुङ, तथा सदस्य विभुषण मान श्रेष्ठको सभागिता रहेको थियो। कोइराला गत शुक्रबार नै नेपाल फर्किसकेका छन् भने सिता गुरुङ शनिबार नेपाल गएकी थिइन्।

Popularity: 5%

Add comment July 25th, 2011

कपिलबस्तु नरसंहारका दोषीलाई कारवाही माग

एचकेनेपाल डट कम संवाददाता-
कपिलवस्तु नरसंहारका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै सोमवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।

एड्भोकेसी फोरम नेपाल तथा जबाफदेहिता निगरानी समिति कपिलवस्तुको अगुवाईमा कपिलवस्तु घटनाका पीडित, कपिलवस्तुका सभासद, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मन्त्री घनश्याम भुसाललाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले पीडितको समस्या सम्बोधन गर्न मंगलबार सम्म समय मागेका छन्।

ज्ञापनपत्रमा पुनरावेदन अदालतका न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्न र पीडितलाई परिपुरण दिन माग गरिएको छ। मल्लिक आयोगले झण्डै डेढ करोड रुपैंया खर्च गरेर प्रतिवेदन तयार पारेको थियो। सरकारले कपिलवस्तु घटनाको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेपछि एड्भोकेसी फोरमकै सक्रियतामा राष्ट्रिय सूचना हकअन्तर्गत राष्ट्रिय सूचना आयोगले २०६८ बैशाख ५ गते प्रतिवेदन सार्वजनिक गरेको थियो।

२०६४ साल भदौ ३० गते कपिलवस्तुको चन्द्रौटामा मोहित खाँको हत्यापछि भड्किएको हिंसामा १३ जनाको हत्या हुनुका साथै दर्जनौ घरमा आगलागी, तोडफोड र क्षति भएको थियो। घटनाको चार बर्ष बितिसक्दा पनि सरकारले पीडितहरुको क्षति भएको सम्पत्ति तथा न्यायको पक्षमा कुनै काम नगरेको जबाफदेहिता निगरानी समिति लुम्बिनी नेर्टवर्कका संयोजक समेत रहेका एड्भोकेसी फोरम कपिलवस्तुका संयोजक ओमप्रकाश अर्याल बताउछन्।

घटनामा एकसय भन्दा बढी सवारी साधन तथा सयौं पसलहरुमा आगजनी र तोडफोड भएपनि पीडितहरुले अहिलेसम्म क्षतिपूर्ति पाउन नसकेको कपिलवस्तु घटना पीडित संर्घष समितिका अध्यक्ष महादेव पोखरेल बताउछन्। एड्भोकेसी फोरमले कपिलवस्तु घटनाका पीडितहरुलाई कानुनी सहायता प्रदान गर्दै आएको छ।

Popularity: 5%

Add comment July 25th, 2011

अछामको बुढीगंगा नदीमा १ जना बेपत्ता

टेकराज भण्डारी / एचकेनेपाल डट कम-
अछाम जिल्लामा बुढिगंगा नदीले बगाएर १ जना बेपत्ता भएका छन्।

जिल्लाको साफेबगर बजार नजिकै प्रभाली गाड र बुढीगंगा नदीको दोभानमा नुहाउने क्रममा शिद्धेश्वर गाविस वडा नं. ७ का डिल्ली लुहार बेपत्ता भएका हुन्।

४० बर्षीय लुहारलाई नुहाउने क्रममा बुढिगंगा नदीले बगाएर बेपत्ता पारेको स्थानीय सुरत भुलले बताए। आईतबार विहान ९ बजेदेखि बेपत्ता लुहारको खोजी कार्यका लागि नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीय बासिन्दा लागि रहे पनि शव कतै फेला नपरेको अछामका प्रहरी नायव उपरीक्षक सुशीलसिहं राठौरले बताए।

Popularity: 5%

Add comment July 25th, 2011

प्रचण्डले बुझाए नयाँ मन्त्रीहरूको सूची

न्युज अपडेटः प्रचण्डले बुझाए नयाँ मन्त्रीहरूको सूची
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार विहान प्रधामनन्त्री झलनाथ खनाललाई नयाँ मन्त्रीहरूको सूची बुझाएका छन्।

केन्द्रीय कमिटीको बैठकको निर्णयबमोजिम वर्तमान सरकारमा पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाइएको हो।

यसैबीच, प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्ट व्यक्त गरेका छन्। पाँच बुँदे सहमति कार्यान्वयन गर्ने दवाब बढिरहेको बेला मन्त्रिमण्डल पुनर्गठनले राम्रो सन्देश नजाने प्रधानमन्त्रीले बताएका छन्।

माओवादीले पठाएको नयाँ मन्त्रीहरूको नामः
नारायणकाजी श्रेष्ठ- उपप्रम, गृह
पोष्टबहादुर बोगटी- सूचना तथा सञ्चार
ओन्सरी घर्ती मगर-युवा तथा खेलकूद,
लोकेन्द्र विष्ट मगर-स्वास्थ्य,
लेखराज भट्ट -वाणिज्य तथा आपूर्ती,
पम्फा भुषाल -शान्ति तथा पुनर्निर्माण,
हिसिला यमी-भूमिसुधार,
जयपुरी घर्ती -महिला तथा बालबालिका

नयाँ राज्यमन्त्रीहरु
गृहमा रामकुमार राई,
सूचना तथा सञ्चारमा अमर तमु,
भौतिकमा देवी खड्का,
स्वास्थ्यमा सत्य पहाडी,
शान्तिमा शरदसिं भण्डारी,
भूमिसुधारमा लीला भण्डारी,
वाणिज्य तथा आपूर्तीमा धर्मशीला चापाँगाई,
पर्यटन तथा नागरिक उड्ययनमा इन्द्रजीत चौधरी,
महिला तथा बालबालिकामा कुमारी मोक्तान,
कानुनमा घनश्याम यादव,
उद्योगमा ध्रुव आङ्दाङ्वे
खेलकूदमा सूर्यमान दोङ

एमाओवादीले सरकारमा नयाँ नेतृत्व पठाउने
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) को हिजो बसेको केन्द्रीय समितिको बैठकले वर्तमान सरकारमा पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ टोली पठाउने निर्णय गरेको छ।

बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ, सूचना तथा सञ्चारमन्त्रीमा पोष्टबहादुर बोगटी, भौतिक योजना तथा निर्माणमन्त्रीमा टोपबहादुर रायमाझी, स्वास्थ्यमन्त्रीमा लोकेन्द्र विष्ट तथा शान्ति तथा पुनःनिर्माण मन्त्रीमा पम्फा भुसालको नाम बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो।

यस्तै, भूमिसुधारमन्त्रीमा हिसिला यमी, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, पर्यटन तथा नागरिक उ•यनमन्त्रीमा खड्गबहादुर बिश्वकर्मा, महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा जयपुरी घर्ती, कानुनमन्त्रीमा प्रभु साह, उद्योगमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुदमन्त्रीमा ओनसरी घर्तीमगरलाई पठाउने निर्णय गरिएको छ।

त्यसैगरी राज्यमन्त्रीतर्फ गृहमन्त्रालयमा रामकुमार राई, सूचना तथा सञ्चारमा अमर तमु, भौतिक योजना तथा निर्माणमा देवी खड्का, स्वास्थ्यमा सत्य पहाडी, शान्ति तथा पुनःनिर्माणमा शरद्सिंह भण्डारी, भूमिसुधारमा लीला भण्डारी, वाणिज्य तथा आपूर्तिमा धर्मशीला चापागाइँ, पर्यटनमा इन्द्रजित चौधरी, महिला बालबालिका तथा समाजकल्याणमा कुमारी मोक्तान, कानुनमा घनश्याम यादव, उद्योगमा धु्रव आङदम्बे र युवा तथा खेलकुदमा सूर्यमान दोङलाई पठाउने निर्णय गरिएको छ।

बैठकले व्यवस्थापिका संसद्को प्रमुख सचेतकमा देव गुरुङ, सचेतकमा कमला रोक्का र सचिवमा खिमलाल देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रवक्ता शर्माले माओवादीका तर्फबाट प्रस्तावित मन्त्री र राज्यमन्त्रीको नामावली आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो।

Popularity: 5%

1 comment July 25th, 2011

नेपालमा विश्वासको वातावरण बन्न सकेको छैनः भारतीय नेताहरु

एचकेनेपाल डट कम संवाददाता-
नयाँ दिल्ली, भारतीय प्रभावशाली नेताहरुले नेपालमा जारी शान्ति प्रक्रिया निष्कर्षमा नपुगेका कारण दलहरुवीच विश्वासको संकट पैदा भएको भन्दै छिटो सहमतिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले आगामी भदौमा काठमाडौमा आयोजना गर्न लागेको नेपाल भारत सम्बन्ध विषय अर्न्तराष्ट्रिय गोष्ठीका लागि भारतीय नेताहरुलाई निम्तो दिन नयाँ दिल्लीमा रहेका क्लबका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा भारतीय नेताहरुले त्यस्तो आग्रह गरेका हुन्।

जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले लडाकु समायोजनको प्रक्रिया अगाडि बढ्न नसक्दा प्रमुख दलवीच विश्वासको खाडल बढेको भन्दै माओवादीलाई तत्काल शान्ति प्रक्रियाको सम्बन्धमा आमुल परिवर्तन हुने गरी निर्णय लिन आग्रह गरे।

उनले नेपालमा प्रमुख दलहरु मिलेर संक्रमणकाल अन्त्य नगरे भारतसमेत प्रभावित हुने भन्दै तीन प्रमुख दललाई मिलेर अगाडि बढ्न सुझाव दिए। उनले काग्रेस सभापति सुशिल कोइरालासँग भएको भेटमा पनि माओवादीप्रति आशंका ब्यक्त गरेको जानकारी दिए।

राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले नेपालको जारी शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माण प्रक्रियालाई आफूले नजिकबाट नियालिरहेको भन्दै शान्ति प्रक्रिया अगाडि नबढ्दा नेपालमा राजनीतिक अविश्वास बढेको बताए।

उनले विहार र नेपालका वीच रोटी बेटीको सम्बन्ध रहेको भन्दै नेपालमा राजनीतिक स्थायीत्व, विकास भएको आफूले हेर्न चाहेको बताए। उनले नेपालमा राजनीतिक स्थायीत्व भए नेपालको विकासमा जस्तो सुकै सहयोग गर्न भारत तयार रहेको बताए।

भारतीय जनतादलका उपाध्यक्ष भगतसिह कोसियारीले थपिएको समयमा शान्ति र संविधान निर्माणको कार्य पूरा नभए ठूलो दुर्घटना हुने तर्फसचेत गराउदै दलहरुलाई मिलेर समयमै जिम्मेवारी पूरा गर्न सुझाव दिए। उनले समयमा सहमति नगरे नेपालको भविष्य राम्रो नभएको भन्दै नेपालमा हुने सबै खाले परिवर्तनको निर्णय नेपाली दल र जनताले नै गर्नु पर्ने बताए। उनले नेपालमा अधिकांश हिन्दू धर्मावलम्बि भएकोले हिन्दू राष्ट्र पुनर्बहाली गरिए उपयूक्त हुने तर्कसमेत गरे।

Popularity: 5%

Add comment July 25th, 2011

टिचिङका चिकित्सक विद्यार्थीहरु पीडित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान डिन कार्यालयले गैरकानूनी रुपमा निर्णय गर्दा त्यहाँ अध्ययनरत चिकित्सक विद्यार्थीहरु पीडित बन्न पुगेका छन्।

डिन कार्यालयले परीक्षाको विचमै र परीक्षाको नतिजा आउने बेलामा आएर कसैलाई जानकारी नदिई विदाको दिन रातारात गोप्य रुपमा निर्णय गरिदिदा विद्यार्थीहरु पिडीत बन्न पुगेका हुन्।

रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पीडित चिकित्सक डा. ऋजुता जोसीले टिचिङको डिन कार्यालयले जिल्लामा गएर काम गरेका चिकित्सकलाई प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको छात्रबृत्तिको सरकारी कोटामा काठमाडौका पोलिक्लिनिक, नर्सिङ होमका चिकित्सकहरुलाई कोटा दिने निर्णय गरेको, पोष्ट ग्राजुएज परीक्षा सकेर नतिजा प्रकाशित भईसकेपछि एडमिसन शुल्क अकस्मात ११ लाख बाट १८ लाख रुपैया पुर्याएको, छात्रबृत्तिको कोटालाई घटाएर भूक्तानी लिने कोटा बढाएको, प्रतिक्षा सूचिमा रहने ब्यवस्था विना गृहकार्य हटाईएको र विद्यार्थी भर्ना नहुन्जेल अर्को विषय खाली हुदा तेस्रो पटक आवेदन दिन पाउने ब्यवस्था अचानक खारेज गरेको कारण आफूहरु पीडित हुनु परेको बताइन्।

प्रसुति विशेषज्ञ अध्ययन गर्ने योजनामा रहेकी डा. जोसी तेस्रो पटक आवेदन दिने तयारीमा रहेको बेला अचानक आफ्नो मान्छेलाई सो अवसर दिने योजनामा डिन कार्यालयले तेस्रो पटक निवेदन दिन नपाउने निर्णय रातारात अबैध रुपमा गरेकोले आफूहरु पीडित बन्न पुगेको पत्रकार सम्मेलनमा गुनासो गरिन्। उनीहरुले डिन कार्यालयको अबैद्य क्रियाकलापको विषयमा आफूहरु सर्वोच्च अदालत जाने तयारीमा रहेको समेत स्पष्ट पारिन्।

Popularity: 5%

1 comment July 25th, 2011

गोर्खा हस्ताक्षर अभियान सफलता नजिकः युविजीइए

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत, गोर्खालीहरुको समान पेन्सन तथा अधिकारका लागि लड्दै आएको संस्था संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युविजीइए)ले सुरु गरेको हस्ताक्षर अभियान सफल हुंदै आएको जनाएको छ।

८ जुलाईबाट सुरु गरेको अभियान होमबेश क्षेत्र रिडिङ, फार्नबरो हुंदै वकिङहामसम्म आइपुग्दा करीब १० हजार हस्ताक्षर संकलन गरिएको अध्यक्ष प्रेमराज राईले जानकारी दिएका छन्। आगामी जुलाई ३० मा न्युवरी पार्कमा हस्ताक्षर अभियान गर्ने जनाएको युविजीइएले बेलायतभर हस्ताक्षर अभियानलाई तिव्रता दिने बताएको छ। यस अनुसार लण्डनस्थित पार्लीयामेन्ट स्क्वायर, हन्स्लो, स्विन्डन, चाथाम, फोक्स्टोन, मेडिस्टोन, सटनर् इलिङ ब्रोडवे, हृयारो, सर्रे, क्याम्बरली, बेइजिङ स्टोक, स्लाउ, साउथहल तथा स्कटल्याण्डमा समेत निकट भविष्यमै अभियान सञ्चालन गरिने अध्यक्ष राईले बताए।

बेलायती जनताले अत्यन्त भावुक मुद्रामा सहानुभूतिका साथ हस्ताक्षर गरेको उनले बताए। अझ यसभन्दा कडा आन्दोलन ल्याउनुहोस्, हामी तपाईहरुलाई जस्तो सुकै सहयोग गर्न तयार छौं, स्थानीयलाई उदृत गर्दै राईले बताए। बेलायती जनताले यस भन्दा राम्रो कार्यक्रम ल्याउन समेत आव्हान गरेका छन् उत्साहजनक रुपमा जनसहभागिता बढेकोप्रति खुशी व्यक्त गर्दै उनले अभियान सफल हुने विश्वास लिए।

राईले तोकिएको दिनमै विशेष तामझामका साथ बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई हस्ताक्षर बुझाइने समेत दोहोर्‍याए।

हस्ताक्षर अभियानमा अध्यक्ष राई, संयोजक ज्ञानराज राई, महासचिव दिपक मास्के, कोषाध्यक्ष मनबहादुर थापा, केन्द्रीय सदस्यहरु कृष्ण हाम्बे, धन घले, जौबहादुर गुरुङलगायत सदस्यहरु लक्ष्मी घिसिङ, यामबहादुर लिम्बु, दिर्घबहादुर सुनुवार तथा पुष्पा सुनुवार शसक्त रुपमा लागेको संस्थाले जनाएको छ।

गोर्खाहरुलाई समान पेन्सनको लागि सहयोग गर्न डब्लु डब्लु डब्लु डट गोर्खाजसिकजस्टिस डट कम मा गई हस्ताक्षर गर्न सकनेछ।

Popularity: 5%

Add comment July 25th, 2011

संसदः गणपुरक सङ्ख्या नै पुगेन

एचकेनेपाल डट कम संवाददाता-
संसद्को हिजोको बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीका तर्फबाट रक्षामन्त्री विष्णु पौडेलले विनियोजन विधेयक २०६८ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव पारित हुन सकेन।

कुनै पनि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनको बैठकले पारित गर्न गणपुरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेसका शोभाकर पराजुलीले आपत्ति जनाउनुभएको थियो।

त्यसपछि सभामुख सुवास नेम्बाङले संसदमा एक चौथाई सभासद् उपस्थित नभएकाले संसदमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नमिल्ने जानकारी गराउनुभएको थियो।

यसअघि सो प्रस्तावमाथि सभासद् यज्ञबहादुर शाहीले उठाउनुभएका प्रश्नको रक्षामन्त्री विष्णु पौडेलले जवाफ दिनुभएको थियो।

विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकमा छलफल यही साउन १४ गतेबाट सुरु हुने कार्यक्रम छ। सो छलफल साउन २७ गतेसम्म चल्ने कार्यसूची तय गरिएको थियो।

साउन २८ देखि ३२ गतेसम्म सम्बन्धित मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथि सभासद्ले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ। अर्को बैठक भोलि साउन ९ गते दिनको १ बजे बस्ने कार्यक्रम छ।

Popularity: 5%

Add comment July 25th, 2011

पाँचबुँदे कार्यान्वयन नभए चुप लागिन्न–पौडेल

एचकेनेपाल डट कम संवाददाता-
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रमुख तीन दलबीच भएको पाँचबूँदे सहमति कार्यान्वयन नभए काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ।

व्यवस्थापिका–संसद्को बैठकमा बोल्दै पाँचबुँदे सहमितको कार्यान्वयनबाट नै शान्ति र संविधानसहित मुलुकमा थाँती रहेका समस्याले निकास पाउने भएकाले काँग्रेस यो सहमति कार्यान्वयनका लागि दृढ रहेको बताउनुभयो।

“पाँचबुँदे सहमतिको कार्यान्वयन भएपछि मात्रै शान्ति र संविधानका कामले निकास पाउँछ, अनि मात्र आफ्नो पार्टीले विश्रान्ति लिनेछ,” नेता पौडेलले भन्नुभयो।

मुलुकले अहिले शान्ति, संविधान र लोकतन्त्रको स्थायित्व खोजेको तर वर्तमान गठबन्धन त्यसतर्फ गम्भीर नभएको आरोप लगाउँदै नेता पौडेलले मुलुकमा बढ्दै गएको विकृति र बेथितिको जिम्मा सरकारले लिनुपर्छ भन्नुभयो।

“संसद्को सम्पत्ति बनिसकेको पाँचबुँदे सहमतिको कार्यान्वयन गर्ने कुरामा आलटाल र छलछाम भएको छ, सरकार अनुत्तरदायी र बेकम्मा बनेको छ, शान्तिको बाटोभन्दा विपरित बाटोमा यो गठबन्धन सरकार लागिरहेको छ,” नेता पौडेलले भन्नुभयो।

उहाँले हालै एमाओवादीले पदीय भागवण्डाका क्रममा सो पार्टीका महासचिव रामबहादुर थापालाई सैन्य विभागको जिम्मेवारीको प्रस्ताव अघि बढाइनु वर्तमान अवस्थामा अनुपयुक्त र शान्ति सम्झौता विपरित हो भन्नुभयो।

“सेना समायोजन विशेष समिति मातहतमा एमाओवादीका लडाकु आइसकेको अवस्थामा रामबहादुर थापा कुन सेनाको इञ्चार्ज हुन्?” नेता पौडेलले भन्नुभयोे, “हतियारको राजनीतिलाई अन्त्य गर्ने र पार्टी र सङ्गठनलाई अर्धसैन्य संरचनाबाट मुक्त पार्ने समझदारी विपरित एमाओवादी र एमाले गठबन्धन अघि बढेकाले देश उल्टो बाटोमा गइरहेको छ।”

Popularity: 5%

Add comment July 25th, 2011

खोलामा डुबेर तीन विद्यार्थीको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
अर्घाखाँचीको ठूलापोखरा गाविसमा धान लिन खेतमा गएको बेला खोलामा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ।

धान लिन खेतमा गएको बेला ठूलापोखरा गाविस वडा नं ९ चौहास्थित जररे खोलामा नुहाउने क्रममा खोलामा डुबेर नेपाल राष्ट्रिय उच्च मावि ठूलापोखरामा अध्यनरत तीन विद्यार्थीको मृत्यु भएको हो।

मृत्यु हुनेमा ठूलापोखारा गाविस वडा नं १ कि उषा विक, रीता विक र वडा नं ३ कि रेखा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

उषा र रेखा कक्षा ८ र रीता कक्षा ९ मा अध्ययनरत रहेको स्थानीय प्रकाशचन्द्र पौडेलले बताउनुभयो।

Popularity: 5%

Add comment July 25th, 2011

प्रधानमन्त्री, छिटो राजीनामा देऊ: काँग्रेस

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेस संसदीय दलको बैठकले शान्ति र संविधानको काम अघि बढाउन पाँच बूँदे सहमति तत्काल कार्यान्वयन गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने ठहर गरेको छ।

बैठकले अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने ठहर गर्दै काँग्रेस सोहीअनुरूप संसदको बैठकमा प्रस्तुत हुने निर्णय गरेको छ।

दलका नेता रामचन्द्र पौडेलको अध्यक्षतमा काँग्रेस सदंसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो।

काँग्रेसले बैठकको निर्णय कार्यान्वयनका लागि संसदमा रहेका मधेसी मोर्चालगायतका सम्पूर्ण राजनीतिक दललाई पाँचबूँदे सहमति कार्यान्वयनका लागि सहयोग गर्न आह्वान गरेको छ।

“पाँचबूँदे सहमतिमा व्यक्त राष्ट्रिय सहमतिको सरकार गठन गरी शान्ति र संविधानको कार्यलाई गति दिन आवश्यक छ, पाँचबूँदे कार्यान्वयन गर्न सो सहमतिअनुरूप प्रधानमन्त्रीको राजिनामा आवश्यक छ,” संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले बैठकपछि पत्रकारहरूलाई भन्नुभयो।

Popularity: 5%

Add comment July 25th, 2011

बेलायतमा रेडिंग कफ फुटबल हुने

कुमार के.सी. / एचकेनेपाल डट कम-
बेलायत, ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी असोसिअसन रेडिंग बेलायतको आयोजनामा आगामी अगष्ट २७ तारिख शनिबारका दिन रेडिंगको प्रोस्पेक पार्कमा पाँचौ रेडिंग कप फुटबल हुने भएको छ।

ननभेटेरन चालिस टिम र भेटेरान आठ टिम गरी अठ्चासी टिमको सहभागिता रहने उक्त प्रतियोगेतामा बेलायतका विभिन्न भागबाट नेपाली फुटबल टिमको सहभागिता रहने कुरा कार्यक्रम संयोजक प्रेम गुरुङले बताएका छन्।

गत बर्षहरुमा बर्ष १६ मुनिकाहरुको लागि पनि आयोजना गर्ने गरिएकोमा यस बर्ष समाबेश गरिएको छैन। सो प्रतियोगिताको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत तथा बिशेष अतिथि रेडिंग बरो काउन्सिलका मेयर रहनेछन्।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नको लागि रेडिंग क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बृहत भेलाले विभिन्न उपसमिति बनाई कार्य बिभाजन गरेको छ। गठित बिभिन्न उपसमितिहरुमा सुरक्षा उपसमिति संयोजक ओमेन्द्र गुरुङ, बिज्ञापन ब्यबस्थापन उपसमिति संयोजक रमेश बास्तोला, अतिथि ब्यबस्थापन उपसमिति संयोजक कृति विलास पन्त, प्राथमिक उपचार तथा एम्बुलेन्स उपसमिति संयोजक सीता लामिछाने, कार पार्क उपसमिति संयोजक तिलबहादुर गुरुङ, लजिस्टिक सपोर्ट तथा स्टोर उपसमिति संयोजक टिकाराम थापा, रेफ्री तथा लाइन्समेन उपसमिति संयोजक मनबहादुर थापा, पिच कन्ट्रोल उपसमिति संयोजक दीपक गुरुङ, स्वयंसेवक तथा सरसफाई उपसमिति संयोजक सुबाश दाहाल, स्वयंसेबक रिफ्रेस्मेंट उपसमिति संयोजक कमला खड्का र मिडिया उपसमिति संयोजक कुमार के.सी. तथा राफल ब्यबस्थापन उपसमिति संयोजक भीमसेन खड्का रहेको उपसमितिहरु निर्माण गरिएको कुरा मिडिया संयोजक कुमार के.सी.ले बताएका छन्।

कार्यक्रममा फुटबल प्रतियोगिता बाहेक बालबच्चाहरुको लागि बाउन्सी क्यासल, फेस पेंटिंग, आर्टको साथै निशुल्क कानुनी सल्लाह, मोर्गेज सल्लाह, ब्लडप्रेसर जांच तथा सुगर जांच गरिने छ। कार्यक्रममा नेपाली सेल रोटी, मम तथा अन्य बिभिन्न परिकारका साथै साँस्कृतिक कार्यक्रम पनि गरिने भएको छ।

प्रतियोगितामा प्रथम हुने मूख्य टीमले १५०० पाउण्ड, ट्रफी तथा प्रमाण पत्र र भेटेरान तर्फको प्रथम हुने टीमले ५०० पाउण्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन्। ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी असोसिअसनका अध्यक्ष्य महेश गुरुङले रेडिंगबासी नेपालीहरुको आयोजना तथा बेलायतको बिभिन्न भागमा बसोबास गर्ने नेपालीहरुको मेलाको रुपमा हेरिएको सो कार्यक्रममा सहभागिताको लागि सबै संघ संस्थाका प्रतिनिधि तथा सबै बेलायतबासी नेपालीलाई आग्रह गरेका छन्।

Popularity: 5%

Add comment July 25th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....