Archive for July 27th, 2011

एचआइभी संक्रमित बालकको मृत्यु

टेकराज भण्डारी /एचकेनेपाल डट कम-
अछाम जिल्लामा एक जना एचआइभी संक्रमित बालकको मृत्यु भएको छ। जिल्लाको कालिकास्थान गाविस वडा नम्बर ६ का ५ वर्षीय बालक पवन विकको मृत्यु भएको हो।

मृतक जन्मदेखि नै एच.आइ भी. संक्रमित थिए। आमाबुवा दुबै एचआइभी संक्रमित रहेका र बुवा चक्र विकको मृत्यु भैसकेको छ भने आमा लालु विक पनि एचआइभी संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

उनका भाइमा भने एचआइभी नरहेको स्थानीय तपेन्द्र धामीले बताए। अछाम जिल्लामा गत असार महिनासम्म १ हजार १ सय ४१ जना एचआइभी संक्रमित रहेका जिल्ला स्वास्य कार्यालय अछामका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। जसमध्ये २ सय ६७ जनाले एचआइभी संक्रमितको आयु बढाउने औषधि एआरभी. खाइरहेका छन्।

कामको सिलसिलामा भारत जाने र जोखिमपूर्ण ब्यवहारका कारण अछामलगायत सुदूर पशिचममा एचआइभी संक्रमणको खतरा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थय निरीक्षक झपट ढुङ्गानाले बताए।

Recent Videos:

Popularity: 5%

Add comment July 27th, 2011

क्षतिपूर्ति नदिए अर्को कपिलबस्तु काण्ड दोहोर्र्याउने चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, गत २०६४ साल भदौ ३० गते १४ जनाको मृत्यू र करोडौको क्षति हुने गरी भएको दुघटनाका पीडितहरुलाई तत्काल क्षतिपूर्ति नदिए अर्को विभत्स कपिलवस्तु घटना दोहार्र्याउने चेतावनी सो घटनामा पीडित भएकाहरुको संघर्ष समितिले चेतावनी दिएको छ।

उनीहरुले सरकारले तत्काल कपिलबस्तु घटनाका पीडितहरुलाई २१ करोड क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै त्यस्तो चेतावनी दिएका हुन्।

बुधवार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले कपिलवस्तु घटनामा करिव ५० करोडको नोक्सानी र १४ जनाको ज्यान गएको घटनालाई सरकारले वेवास्ता गरे अर्को कालो दिन दोहोरिने चेतावनी दिएका हुन्।

पत्रकार सम्मेलनमा उनीहरुले २०६४ असोज ३ गते मन्त्रीपरिषदको निर्णयबाट माननीय न्यायाधिश लोकेन्द्र मल्लिकको अध्यक्षता गठिन आयोगले ०६४ पुष ३० गते प्रतिवेदन सरकार समक्ष बुझाउँदा घट्नामा १४ जनाको ज्यान गएको, तीन जिल्लामा २३० वटा गाडीमा क्षति भई रु. ९ करोड ५४ लाख ९५ हजार १८ रुपैया बराबरको नोक्सानी र अन्य व्यवसायी र व्यक्तिहरुको रु. १३ करोडको क्षति भएको ठहर गरेकोमा सो प्रतिवेदन सार्वजनिक नगरेको दावी पीडितहरुको छ।

घटनाका पीडितहरुले मल्लिक आयोगले सार्वजनिक गरेको प्रतिवेदन सार्वजनिक गर्न र क्षतिपूर्ति उपलब्ध गराउन प्रधानमन्त्री नागरिक समाजसमक्ष माग गरेका छन्। उनीहरुले सरकारद्वारा गठन गरिएको प्रतिवेदनको अक्षरश पालना गर्न जोडदार मागसमेत गरेका छन्। उनीहरुले प्रतिवेदन अनुसार कार्यान्वयन नभएमा पीडितहरुको धैर्यताका बाँध टुट्न सक्ने भन्दै यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मवार सरकारले लिनुपर्ने चेतावनी दिए।

कपिलवस्तु घटना पीडित संर्घष समितिका उपाध्यक्ष टीका कुँवरले पीडित जनताले तत्काल क्षतिपूर्ति नपाए कडा आन्दोलनमा उत्रन आफूहरुलाई दवाव दिईरहेका जानकारी दिदै तत्कालका लागि २१ करोड रुपैया उपलब्ध नगराईए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष बलराम अधिकारीले नेपालकै इतिहासमा घटेको सर्वाधिक दुःखद घटनाको रुपमा रहेको कपिलबस्तु घटनाका पीडित जनताको पीडाको सरकारले उपेक्षा गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए। एमाओवादीका जिल्ला सचिव अनुप बरालले सरकारले तत्कालै क्षतिपूर्ति नदिए परिणाम राम्रो नआउने चेतावनी दिए।

Recent Videos:

Popularity: 5%

1 comment July 27th, 2011

मानसिक स्वास्थ्य नीति कार्यान्वयन नभएकोमा सरकारको आलोचना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले राज्यले बनाएको मानसिक स्वास्थ्य सम्बन्धी नीति डेढ दशकसम्म पनि कार्यान्वनय नभएकोमा राज्यप्रति आक्रोश ब्यक्त गरेको छ।

तत्कालिन सरकारले २०५३ सालमा तयार गरी मन्त्री परिषदबाट पारित गराएको नीति कार्यान्वयन हुनु भन्दा हराएर बेपत्ता भएकोमा सोही संस्थाले गत २०६७ सालमा आंशिक रुपमा बुझिने अवस्थामा मन्त्रालयमै बेवारिसे अवस्थामा फालिएको रुपमा फेला पारेको थियो।
सो संस्थाले बुधवार रिपोर्टर्स क्लब नेपालमा अर्न्तक्रियाको आयोजना गरेर राज्यको लापरवाह ब्यवहारप्रति आक्रोश ब्यक्त गर्दै तत्काल नीति अनुसार कार्य प्रारम्भ गर्न माग गरेको छ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मातृका देबकोटाले राज्यले डेढ दशक अघि नीति बनाए पनि नीति अनुसार तत्काल महाशाखा र चिकित्सको दरवन्दी ब्यवस्था गर्नु पर्नेमा डेढ दशकसम्म एउटा मानसिक रोगलाई हेर्ने एउटा टेवुल र कर्मचारी समेत नराखेकोप्रति ब्यङग्य गरे। उनले तत्काल महाशाखा गठनका साथै नीति अनुसार मानसिक स्वास्थ्य र अन्य स्वास्थ्य उपचारलाई एकीकृत योजना अनुसार लैजानु पर्ने धारणा व्यक्त गरे।

नेपालमा मानसिक रोगको अवस्था दिन प्रतिदिन जटिल बन्दै गए पनि उनीहरुलाई औषधी खुवाउने साईक्रयाटिक बाहेकको दरवन्दी नभएको भन्दै अध्यक्ष देबकोटाले साईकोलोजिष्ट र साईक्राटिक नर्सको दरबन्दीको ब्यवस्था गर्नु पर्ने धारणा राखे।

Popularity: 5%

Add comment July 27th, 2011

हिंसाको बीचबाट शान्ति खोज्ने यूवा प्रयास पुस्तकमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, हिंसाको विचबाट शान्ति खोज्ने प्रयास र योजना सहितको युवा लेखक गोविन्द पौडेलद्वारा लिखित पुस्तक विचारमा क्रान्ति, विश्वमा शान्ति नामक पुस्तकको आज जानकारहरुले समिक्षा गर्दै उत्कृष्टताको संज्ञा दिएका छन्।

पुस्तकको समिक्षा गर्दै साहित्यकार, लेखक एवं राजनीतिज्ञ प्रदिप ज्ञवालीले एकले अर्कालाई सिध्याउने होडमा विश्व लागेको बेला गोविन्द पौडेलले विचारमा क्रान्ति विश्वमा शान्ति पुस्तक लेखेर समाजमा सकारात्मक सन्देश दिन खोजेको बताए।

बुधबार रिपोर्टर्स क्लव नेपालमा प्रकाशक अक्फोर्ड पब्लिकेशन प्रालिले गोविन्द पौडेलद्वारा लिखित पुस्तकको समीक्षाका लागि राखिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदिप ज्ञावालीले भने- अहिले रगतको खोला बगाउने कुराहरु थुप्रै सुनिन्छन् तर शान्ति र समाज परिवर्तनको कुरा सुन्न पाईदैन, यो अवस्थामा पौडेलको पुस्तकबाट जनताले केही राहत पाउने छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष नैनसिंह महरले नेपाली समाजमा मानवता हराउँदै गएको समयमा एउटा तन्नेरी युवाले प्रकाशन गरेको विचारमा क्रान्ति, विश्वमा शान्ति नामक पुस्तकले सबै वर्गका पुस्तामा राम्रो सन्देश दिने बताए। उनले भने- राजनीतिमा नैतिकता हराएको बेला, जताततै विवादै विवाद देखा परेको बेला आफैबाट परिवर्तनका रेखाहरु कोर्नु पर्छ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा मात्र होईन, विश्वमा नै अशान्ति बढ्दै गएको बेला विचारमा क्रान्ति विश्वमा शान्ति पुस्तक सान्दर्भिक रहेको दावी गरे। उनले भने- पाँच वर्ष वितिसक्दा पनि हाम्रो देशमा शान्ति र संविधान बन्न सकेको छैन, मुलुकमा शान्ति स्थापनाका लागि पौडेलको पुस्तक मार्गदर्शक बन्नसक्छ।

लेखक गोविन्द पौडेलले हात-हतियारको होडबाजीले विश्वका शक्तिशाली राष्ट्रहरु तेश्रो विश्वयुद्धको तयारीमा जुटेका छन् तर त्यो सोचले मानवमा दूरगामी असर पर्ने भएकाले मानव कल्याणमा सकारात्मक सोच दिनका लागि पुस्तक प्रकाशन गरेको पत्रकारमाझ जानकारी गराए। उनले भने- जबसम्म विश्वमा रहेका आणविक भट्टीहरुको विनास गरिदैन तबसम्म विश्वका जनताले शान्ति र अमनचैनको सास फेर्न सक्तैनन्।

Popularity: 5%

Add comment July 27th, 2011

सपथ गराउनु परे प्रधानमन्त्रीको राजिनामाः ज्ञवाली

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, सत्तारुढ नेकपा एमाले स्थायी समिति सदस्य प्रदिप ज्ञावलीले माओवादीले सिफारिस गरेका नेताहरुलाई सपथ गराउनु पर्ने अवस्था आए प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार बनाउने बेलामा माओवादीले मन्त्रीपरिषद विस्तार गर्ने गरी गरेको निर्णय असमायिक, अनुचित र असान्दर्भिक भएको टिप्पणी गरे।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने-राष्ट्रिय सहमति बनाउने बेलामा मन्त्रीपरिषदको विस्तार अनुचित हो। यसले राष्ट्रिय सहमति निर्माणलाई ओझेलमा पार्छ। यो निर्णय एमालेलाई स्वीकार्य छैन।

ज्ञवालीले काग्रेस र मधेसवादी दलहरु समेटेर सहमति कायम गर्ने बेलामा एमाले कुनै एउटा पार्टीको पछि नलाग्ने स्पष्ट पार्दै सहमतिको बातावरणलाई कमजोर बनाउने कुनै पनि काम एमालेबाट नहुने दावी गरे।

माओवादीबाट सहमति निर्माणकोलागी अहिलेसम्म कुनै पहल नभएको भन्दै सेना समायोजन विशेष समितिको बैठक बस्न नसक्नु, विवाद समाधान उपसमितिको बैठक बस्न नसकनु, संबैधानिक समितिको बैठक बस्न नसक्नु यसको उदाहरण भएको दावी उनले गरे। उनले दावी गर्दै भने-माओवादीको यस्तो निर्णयले समस्याको निकास दिदैन झन जटिल बनाउंछ।

दलहरुले समस्या समाधान र सहमति निर्माणमा आलेटाले गर्ने हो भने भदौ १४ अघिनै संकट गहिरिएर जाने दावी गर्दै मुलुकमा बहुआयामिक द्वन्द सुरु हुने दावी गरे। यसरी सुरु हुने द्वन्दको चपेटामा पहिला माओवादी नै पर्ने दावी गर्दै माओवादीको अगाडि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने वा बहुआयामिक द्वन्दको चपेटामा पर्ने भन्ने दुइ विकल्प मात्रै बाँकी रहेको बताए।

Popularity: 5%

Add comment July 27th, 2011

सपथ नगराए माओवादीले अप्रिय निर्णय लिनसक्छः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भोलिसम्म पार्टीले सिफारिस गरेका मन्त्रीहरुको सपथ हुने दावी गर्दै सपथ नगराए माओवादी समर्थन फिर्तासहित निर्णय गर्न तयार रहेको चेतावनी दिए।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै आजै त्यस्तो निर्णय लिन माओवादी तयार रहेपनि प्रधानमन्त्रीले सहमतिमा सपथ गराउने प्रयास भईरहेकोले पर्खन भनेकोले अप्रिय निर्णय नलिएको उनको दावी थियो।

उनले संविधानसभाको म्याद फेरि तीन महिना थपिने र माओवादीको नेतृत्वमा सरकार बनिहाल्ने भएकोले अहिलेको विस्तारमा विवाद गर्नुको औचित्य नभएको गजुरेलको तर्क थियो।

सरकारको विस्तार सहमतिको बाधक नभएको दावी गर्दै उनले विस्तार र सहमतिको सरकारको विषयलाई सँगसँगै बार्ता गर्न आफूहरु तयार रहेको बताए।

प्रमुख प्रतिपक्षी र आफ्नै पार्टीभित्रबाट दवाव आएर प्रधानमन्त्रीले सपथ नगराएको भन्दै सरकार विस्ताको विषयमा काग्रेससँग बार्ता गर्नुको कुनै औचित्य नभएको प्रष्ट पारे। उनले भने-सरकारमा पाएको मन्त्रालयमा पूर्ति गराउनु हाम्रो अधिकार हो। हामीले पठाएकालाई प्रधानमन्त्रीले सपथ गराउनु पर्छ। काग्रेससँग वार्ता गर्नुको कुनै औचित्य छैन।

सरकारलाई पूर्णता दिने विषयलाई लिएर काग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको दावी गर्दै गजुरेलले कालान्तरमा यो विषय काग्रेसको लागि पनि प्रत्यूत्तपादक हुने चेतावनी दिए। उनले भने-यो संसदीय परम्परा विपरित हो। सहमतिको बातावरण बनाउन वार्ता गर्नु पर्छ, सदन अवरुद्ध गर्नु हुँदैन।

साक्षात्कारमा नेपाली काग्रेसका नेता डा. रामशरण महतले सरकारको विस्तार माओवादीको अहिलेकै सरकारलाई निरन्तरता दिने रणनीति भएको भन्दै सरकार विस्तारको विषय पाँच बुँदे सहमति र सहमतिको भावना विपरित भएको बताए।

उनले सरकार विस्तारको प्रस्ताव ल्याएर माओवादीभित्र कति पद लोलुपता छ भन्ने प्रष्ट पारेको दावी गर्दै माओवादीले संसदीय ब्यवस्थाको अपमान गरेको दावी गरे।

माओवादी शान्ति प्रक्रियाप्रति इमान्दार नभएको भन्दै उनले माओवादी सम्झौता गरेर झारो टार्ने रणनीतिमा रहेको आरोप लगाए। अहिले आएर शान्ति र संविधानको विषयमा बहस गर्नु, लडाकु सेना समायोजन विशेष समितिको मातहतमा आईसकेको बेला पार्टीको सैन्य विभागको प्रमुख बनाउनुले माओवादी शान्ति प्रकृयाप्रति इमान्दार नरहेको र उसले शान्ति प्रक्रियालाई अर्कै बाटो लैजाने षडयन्त्र गरेको प्रष्ट भएको दावी गरे।

प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गर्ने अहिले उपयूक्त समय भएको भन्दै सहमतिको सरकारको नेतृत्व काग्रेसले लिने दावी गरे। एमालेको पालो पुगेको भन्दै महतले शान्ति प्रक्रिया अगाडि बढेसम्म माओवादीको नेतृत्व स्वीकार गर्न नसकिने भएकोले काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने स्पष्ट पारे।

काग्रेस भित्रबाट सहमतिको सरकारको नेतृत्व जसले पनि गर्न सक्ने भन्दै काग्रेसले नेतृत्वको विषयमा अहिले देखिएको विवाद सहजै मिलाउने दावी गरे। उनलेभने-यो पार्टीको आन्तरिक मामिला हो आन्तरिक रुपमा हामी सहजै मिलाउँछौ । काग्रेसबाट नेतृत्व मैले, शेरबहादुर जीले वा रामचन्द्र जी जसले पनि गर्न सक्छ।

Popularity: 5%

Add comment July 27th, 2011

सपनको “तिम्रो यादमा” विमोचित

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
गायक सपन श्रेष्ठले आफ्नो दोस्रो एल्वम “तिम्रो याद”मा रिलिज गरेका छन्।

हालै नयाँ बानेश्वरस्थित अनमोल क्याट्रङिमा आयोजित एक कार्यक्रममा” तिम्रो यादमा”को विमोचन गायक दीप श्रेष्ठ, दिनेश अधिकारी र रजनी थापाले संयुक्त रुपमा गरे।

कार्यक्रममा गीतकार दिनेश अधिकारीले भने,”सपनले गीत छनोटमा धेरै ध्यान दिने गरेका छन्। प्राय कलाकारले यस कुरालाई ध्यान दिन सके राम्रो हुन्थ्यो।” गायक दीप श्रेष्ठले भने,”राम्रो गीत हुन, संगीत र रचनाको मिलन हुन जरूरी छ। उनका गीतहरूमा यो कुरा पाइन्छ।” कार्यक्रममा उनले नयाँ एल्वमका केही गीत समेत गाएका थिए।

“पहिलाको भन्दा धेरै मेहेनत गरेको छु। आफ्नो शैलीलाई पनि केही परिवर्तन गरेको छु।” उनले भने १२ वटा गीत रहेको “तिम्रो यादमा” संगीत ओमप्रकाश राई, राजु श्रेष्ठ, विनोद खुम्बु, सिजन नेपाल, भानु थापा, सुमित खड्का र कृष्ण मुकारूङको रहेको छ। त्यस्तै जय श्रेष्ठ, झपेन्द्र क्षेत्री, माधव सुवेदी, भानु बोखिम र परिक्रमा श्रेष्ठको रचना रहेको छ। गायिका प्रविशा अधिकारीले समेत उनलाई साथ दिएकी छिन्।

एल्वमलाई विकल्व क्रियसनले बजारमा ल्याएको छ। एल्वम विमोचन समारोहमा एल्वममा सहभागी सर्जकलाई मायाको चिनो प्रदान गर्नुका अलावा दिप श्रेष्ठ, दिनेश अधिकारी तथा स्व. राम थापाकी श्रीमति रजनी थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

Popularity: 5%

Add comment July 27th, 2011

शनिबार टीटीभिबाट मिस पूर्वाञ्चल

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
धरान, गत असार ३२ गते धरानमा सम्पन्न दोस्रो मिस पूर्वाञ्चलको फाइनल इभेन्टको पूरा अंश आउँदो श्रावण १४ गते शनिबार बेलुकी ८:३० बजे टिटीभीमार्फत प्रसारण गरिने भएको छ।

शुक्रबार साप्ताहिकको सहभागितामा बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजना र सिल्भर इन्टरटेनमेन्टको मेनेजमेन्टमा सम्पन्न कार्यक्रम छायाँकन गर्न टिटिभी यूनिट चिफ क्यामरामेन सागर प्रधान र सिनियर प्रोडुसर फुर्वा शेर्पाको नेतृत्वमा धरान आएका थिए।

मिस पूर्वाञ्चल प्रतिभा श्रेष्ठ (बीचमा) फस्ट रनरअप लक्ष्मी सुब्बा (वायाँ) र सेकेण्ड रनरअप अनिता विश्वकर्मा। फाइल तस्वीरः उपेन्द्र चाम्लिङ/ एचकेनेपाल डट कम


Popularity: 5%

Add comment July 27th, 2011

सर्पले टोकेर अछाममा १ को मृत्यु

टेकराज भण्डारी / एचकेनेपाल डट कम-
अछाम जल्लाको बयाला गाविसमा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बयाला गाविस वडा नं. १ का मिनबहादुर बिष्ट रहेका छन्। घरमा सुतिरहेको बेला बिहान साढे ४ बजे सर्पले टोकेका बिष्टको दिउसो २ बजे मृत्यु भएको स्थानिय कृष्ण ब. बिष्टले बताए। ३५ बर्षीय बिष्टको पेटमा सर्पले टाकेको थियो।

सुरुमा झारफुकमा लागेको र अन्त्यमा उपचारका लागि बयाला उपस्वास्थ्य चौकीमा लादै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। अछाम जिल्लामा यस बर्ष सर्पले टोकेर मृत्यु हुनेको संख्या ३ पुगेको छ।

Popularity: 5%

Add comment July 27th, 2011

अझै सुल्झिएन नेपालकुबेत म्यानपावर र दूताबासको विवाद

आर.बि.बुढाथोकी “गाउले” /एचकेनेपाल डट कम-
अबुहलिफा, कुबेत, बिगत लामो समयदेखि सार्वजनिक भएको नेपाली दूताबास र नेपाल कुबेत म्यान पावर एसोसियसनको बिबाद एक बर्ष बितिसक्दा पनि सुल्झिएको छैन।

आफ्नो पेशागत हक, हित र परी आउने याबत समस्याहरुको सामुहिक समाधान गर्न भनी गत बर्ष गठित मेन पावरसँग सम्बन्धित ब्यक्तित्वहरुको एक मात्र संगठन नेपाल कुबेत म्यान पावर एसोसियसनलाई दूताबासले हेर्न नजर आम नागरिक तबरको नभै सौतेली आमाको व्यबहार गरेको भनी बारम्बार अन्तरकृया गरी समस्या सुल्झाउन खोझ्दा पनि दूताबासले चासो नदिएको भनी गुनासो पोखेका छन्।

आफ्ना मागहरुलाई दूताबासले सुनुवाइ नगरि भनाभनको स्थिती भएपछि यसै बिषयलाई लिएर एनआरएनएको रहोबरमा अध्यक्ष राजेन्द्र तामाङलगायत महासचिब सुजन के.सी, प्रथम उपाध्यक्ष धर्मराज गिरी, द्वित्तीय उपाध्यक्ष राजकुमार थापा, पत्रकार आर.बी.बुढाथोकीको र सम्पूर्ण म्यान पावर एसोसियसनका पदाधिकारीहरुको उपस्थितीमा एक आकस्मिक छलफल कार्यक्रमको आयोजना गर्यो।

एसोसिएसनका पदाधिकरीहरुले आफ्ना समस्याहरु बूंदागत रुपमा प्रस्तुत गरेको र यस समस्यालाई अध्यक्ष तामाङले सम्बन्धित निकायसम्म पुर्याइदिने आश्वसन दिनु भई छलफल टुङ्गिएको थियो । नेपाल कुबेत म्यान पावर एसोसियसनले प्रथम खण्डको रुपमा आफ्ना समस्याहरु लिखित रुपमा यसरी पेश गरेका थिए:-

नेपाल कुवेत म्यानपावर ऐसोसियसनको २०११- ०७- २३ गते वसेको माषिक वैठकमा छलफल भए अनुसार घरयासी कामदारको लागि आउने २० भिषाको व्यवस्थापनको सन्दर्भमा निर्णय भएअनुसार दूतावास गई जानकारी गराउने उद्धेश्यले आज सोमवार मिति २०११- ०७-२५ नेपालकुवेत म्यानपावर यसोसियसनका प्रतिनिधीहरु नेपाली दूतावास गएका थियौ। हाम्रा बूंदाहरु यसप्रकार थिए
१. नेपाली घरयासि कामदार कुवेतको कानून वमोजिम १०० दिनको कपाला (ग्यारेण्टी) भएकोले त्यसपछि आउने जटिलता विषयमा।
२. दूतावासले शरणमा आउने कामदारहरुको व्यवस्थापनमा अपनाएको कार्य विषय
३. आउने १ तारिखका दिनदेखि नेपाली दूतावासमा भिषा सम्बन्धि कारोवार गर्नेहरुको आकामा (भिषा) १८ नं हुनुपर्ने र नेपाली हुनुपर्ने नेपाली भाषी हुनुपर्ने जस्ता नियमको पालना हुने नहुने विषय
४. दूतावासवाट शरण लिन आउने महिलालाई प्रलोभनमा पारी अवैध तरिकाले काममा पठाउने जस्ता विविध विषय
यस्ता विषयमा नेपाल दूतावासमा गई छलफल गर्दा द्वितीय सचिव पुष्पराज भट्टराईबाट लाचारीको परिचय स्वरुप कुवेतको कानूनी झमेला!!, कसैले न सघाएको!!!, हामी सिमित जनशक्ति भएकोले!!! जस्ता कुराहरु भनी झारो झार्ने कार्य गरेकोमा नेपाल कुवेत म्यानपावर ऐसोसियसन यस्तो कुराको घोर आपत्ति व्यक्त गर्दछ। घरायासी कामदारको सुविधाको लागि प्रति व्यति ५२ केडि असुलेर त्यहि घरयासी कामदारहरुको व्यवस्थापनमा आलटाल गर्ने प्रविधि कति हदसम्म जायज हो र घरायासी कामदारको सेवावापत दिनु पर्ने उपचार अहिले १ वर्ष पुगिसक्दा पनि गर्दै छौ हुदै छ भन्ने जास्ता लाछी शव्द सुन्नु पर्दा नेपाली दूतावासको कार्य प्रतिनै शंका लागेको छ। हामी १ वर्षसम्म मौन थियो नयाँ ठाँउ नयाँ कार्य गर्न गाह्रो नै हुन्छ भनेर त्यसपछि पनि त्यहि कुरा गर्ने र मृगतृष्णाको आभाष गराई सवैलाई उल्लु वनाउने प्रविधि अत्य भएन। घरयासि कामदारमा आउने महिलाको शेवा शूल्कवाट नेपाल सरकारलाई मोटो रकम दिएर वुझो हाल्ने र त्यही महिलाको भविष्यलाई अन्धकारमा राख्ने दलाली प्रविधि कतै मान्य हुने छैन। राजश्वको नाममा घरयासि महिलाको मूल्य वढाउने कार्य तत्कालै अन्त हुनुपर्छ नभए यसले नेपाली जगतकै वदनाम हुनेछ भन्ने हाम्रो तर्क छ।

नेपाल र नेपालीको उत्तराधिकारी भएर नेपाली कामदारहरुलाई नै अन्यौलको वातावाराण सृजना हुने कार्य वन्द गर्न सम्वन्धित पक्षलाई जानकारी गराउन चाहन्छौ।

तसर्थ, आउदा दिनमा यस्ता कुरा हुन नदिन नेपाल सरकार तथा नेपाली जगतलाई सचेत हुन यसै विज्ञप्तिबाट आह्वान गर्दछौं।

Popularity: 5%

Add comment July 27th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2011
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....