Archive for August, 2011

तीज मेलाबाट २५ लाख संकलन

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, पोखराको लामाचौरस्थित नवआदर्श क्लबले आफ्नो १५ औ बार्षिकोत्सवको अवसरमा लामाचौरमा आयोजना गरेका लामाचौर हरितालिका तीज मेला सम्पन्न गर्दै करीब एक लाख दर्शक भित्राउन सफल भएको छ।

क्लबले मेलाको अवसरमा तीज गीत तथा बिभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरेको उक्त मेलाबाट एक लाख दर्शक भित्राउदै अपेक्षा गरे भन्दा दोब्बरले बढी रकम करीब २५ लाख रूपैयाँ संकलन भएको क्लबका अध्यक्ष तथा मेला संयोजक दिलबहादुर थापाले बताउनु भयो।

यही भदौ ८ गते देखि मेलामा बिभिन्न खेलकुद प्रतियोगिताहरु सुरु भएको थियो। मेलामा बिभिन्न ब्यापारिक १७ वटा स्टलहरु रहेको प्रचार संयोजक अर्जुन अधिकारीले बताउनु भयो।

लामौचरमा तीजको साँस्कृति झल्काई धार्मिक तथा सास्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित तीज पर्वको दिनमा तीजे गीत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विन्ध्यबासिनी आमा समूह लामाचौर प्रथम भएको छ। सामुदायिक महिला विकास समिति घारीपाटन दोश्रो, दृष्टिविहिन दिदीबहिनी अममरसिंहचोक तेश्रो भएको छ। महिला विकास बहुउद्धेश्य लमाचौर, जागृति आमा समूह लामाचौर र कालीकधा आमा समूह पोखरा १८ खाल्टे शान्तवना भएका छन्।

प्रतियोगितामा बिजेताले १०, उपबिजेताले ७, तेश्रोले ५ हजार र शान्त्वनाले जनहि २/२ हजार पाएका छन्। प्रतियोगितामा उत्कृष्ट भेषभूषामा शुक्रराज बलभद्र उच्च माबि घोषित भयो भने उत्कृष्ट नृत्यको उपाधि चाउथे दिदी बहिनी समूहले जितेको छ। इन्द्रराज्यलक्ष्मी उच्च माबिको परिसरमा आयोजना भएको उक्त प्रतियेगितामा १७ समूहको सहभागिता रहेको क्लबका सचिव बुद्धि खत्रिले बताउनु भयो।

दुइ दिने मेलामा लोकदोहोरी गायीका बिमाकुमारी दुरा, देवि घर्ति, कलाकार राजु ढकाल, चोलेन्द्र पौडेल रामजी पौडेल, सरस्वती लामिछाने, कृष्ण गुरुङको प्रस्तुतीले कार्यक्रमलाई थप रौनक थपेको थियो।

क्लबले भविवल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुराएको भन्दै यस बर्ष पल्सर बर्षमा मनोनयनमा पर्न सफल पोखरेली सिपोरा गुरुङलाई तीज पर्वको अवसरमा सम्मान गरेको छ।

घैटो फुटाई प्रतियोगितमा कमल कार्की ज्ञवाली प्रथम भइन् भने बेलुन फुटाईमा सोनि श्रेष्ठ प्रथम, मिना राई दोश्रो र मोना आचार्य तृतीय भइन्। मिठाई दौडमा विशाल थापा प्रथम, सुमन राई दोश्रो, सुशान्त शाही तेश्रो भए। टायरमा बल्छी छिर्‍याउनेमा सुनिल थापा प्रथम भए। २० वर्ष माथिको महिलाहरुको कुर्ची रेसमा मेरिका भण्डारी प्रथम, हिमा केसी दोश्रो र विष्णुकुमारी गुरुङ तेश्रो भए। त्यस्तै १५ वर्ष मुनिका महिलाहरुको कुर्चि रेसमा मिनु गुरुङ प्रथम, अस्मिता दोश्रो र सिमला गुरुङ तेश्रो भए।

बिजयी प्रतियोगिहरुलाइ मेला मापन समारोका प्रमुख अतिथि पोखरा बस ब्यावसायी समितिका अध्यक्ष बमबहदुर गुरुङ, पूर्व श्रम सचिव बाबुराम आचार्य, क्लबका सल्लाहकार संयोजक सोमनाथ अधिकारी प्यासी, क्लबका अध्यक्ष दिलबहादुर थापा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।

Recent Videos:

Popularity: 5%

Add comment August 31st, 2011

माले–समाजवादीले अध्यक्षलाई हटाउने

एचकेनेपाल डट कम संवाददाता-
नेपाल कम्युनिस्ट पार्टी (माले–समाजवादी) ले पार्टी अध्यक्ष जगतबहादुर बोगटीलाई पार्टीको अध्यक्षलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छ।

सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत साउन १८ गते बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत सो निर्णय गरेको जानकारी दिइयो।

साथै पार्टीका महासचिव विष्णुराज अर्याललाई सोही मितिदेखि लागू हुने गरी सर्वसम्मतले पार्टी अध्यक्षमा निर्वाचित गरेको जानकारी पनि दिइयो।

सभासद्हरु यदुवंश झा र तिलकबहादुर थापामगरलाई दलत्याग ऐनअनुसार सभासदबाट हटाउने कारबाही भइरहेको नवनिर्वाचित अध्यक्ष अर्यालले जानकारी दिनुभयो।

छोटो समयमा शान्तिप्रक्रिया टुङ्ग्याउनुपर्ने, नयाँ संविधान निर्माण गर्नुपर्ने र शान्तिसुरक्षा, महँगी, भ्रष्टाचारजस्ता विषयमा अनुभूति हुने गरी व्यवस्थापन गर्नुपर्ने कार्यलाई ध्यानमा राखी नेकपा (माले–समाजवादी)ले कुशल अर्थविद् एवम् एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई समर्थन गरेको सो पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अर्जुन न्यौपानेले जनआकाङ्क्षाअनुरुपको काम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।

Recent Videos:

Popularity: 5%

Add comment August 31st, 2011

प्रधानमन्त्रीले भने- फजुल खर्च र तडकभडक कम गरे राम्रो

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री डा. भट्टराईले यस उपलक्ष्यमा आज दिनुभएको शुभकामना सन्देशमा हाम्रो जस्तो विविध सांस्कृतिक सङ्गमको नमूना रहेको देशमा यस्ता पर्वहरुले विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमानलाई अझ उच्च पार्नमा महत्वपूर्ण भूमिका खेल्दछन् भन्नुभएको छ।

यस्ता पर्वहरुमा समाजमा हुनसक्ने तडकभडक र फजुल खर्चलाई कम गरी पवित्र पर्वको धार्मिक मर्मअनुरुप सामाजिक रुपान्तरणमा यसलाई उपयोग गर्न सकिएमा समाज परिवर्तनको प्रयासलाई समेत यसले सहज बनाउने कुरामा विश्वास गर्न सकिन्छ भन्दै उहाँले यस पर्वले सम्पूर्ण हिन्दु नारीहरुलाई यसै दिशातर्फ प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

Popularity: 5%

Add comment August 31st, 2011

हतियारको कन्टेनरको साँचो बुझाउन माओवादी सहमत

एचकेनेपाल डट कम संवाददाता-
माओवादी शिविरमा रहेका लडाकूहरु विशेष समितिबाट खटिएका टोलीको नियन्त्रणमा रहने भएका छन्। त्यसैगरी हतियार रहेको कन्टेनरको साँचो पनि सोही टोलीलाई बुझाउन एमाओवादी सहमत भएको छ।

हाल विशेष समितिबाट सबै शिविरमा नेपाली सेना, नेपाल प्रहरी र एमाओवादी सम्मिलित एक टोली सर्वेक्षणका लागि खटिएको छ।

अहिलेसम्म पनि सो टोलीको नियन्त्रणमा शिविरमा रहेका लडाकूहरु आउन सकेका छैनन्।

शीर्ष तीन दलको आज अपराह्न बालुवाटारमा बसेको बैठकमा एकीकृत नेकपा (माओवादी) ले सो सहमति जनाएको बैठकपछि नेपाली काँग्रेसका नेता डा रामशरण महतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो “शिविरमा रहेका हतियार रहेको कन्टेनरको साँचो पनि सोही टोलीलाई बुझाउन एमाओवादी सहमत भएको छ।”

सम्भवतः आजै साँझसम्ममा साँचो बुझाइसक्ने उहाँले जानकारी दिनुभयो।

डा बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित हुनु भएपछि उहाँले पहिलो पटक आज तीन दलको शीर्ष बैठक राख्नुभएको थियो। प्रधानमन्त्री डा भट्टराई हिजो साँझ मात्र प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको थियो।

शान्ति र संविधान लेखनका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएता पनि आजको बैठक लडाकू समायोजन र पुनः स्थापनामा केन्द्रित रहेको थियो।

लडाकूको पुनः वर्गीकरणबारेमा बैठकमा कुनै निर्णय नभएको डा महतले बताउनुभयो।

बैठकमा तीनै दलका शीर्ष नेताहरुको सहभागिता थियो।

Popularity: 5%

Add comment August 31st, 2011

प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नवनियुक्त भारतीय राजदूत जयन्तप्रसादबीच आज भेटवार्ता भएको छ।

दाहाल निवास नयाँबजारमा भएको भेटवार्तापछि राजदूत जयन्तप्रसादले नेपालमा जारी शान्तिप्रक्रिया र संविधान लेखनमा भएको प्रगतिबारे आफूहरूबीच छलफल भएको जानकारी दिनुभयो।

नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबूत गर्दै जानुपर्नेबारे पनि भेटमा छलफल भएको राजदूत जयन्तप्रसादले जानकारी दिनुभयो।

Popularity: 5%

Add comment August 31st, 2011

राष्ट्रपतिले प्रमाणिकरण गरे संविधानसभा म्याद थपको विधेयक

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान दसौं संशोधन २०६८ लाई आज प्रमाणीकरण गर्नुभएको छ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ वमोजिम व्यवस्थापिका–संसदको हैसियतमा बसेको संविधानसभाको बैठकद्वारा पारित नेपालको अन्तरिम संविधान दसौं संशोधन २०६८ लाई संविधानको धारा ८७ बमोजिम राष्ट्रपति डा यादवले आज प्रमाणीकरण गर्नुभएको व्यवस्थापिका–संसद सचिवालयको सूचनामा जनाइएको छ।

१० औँ संशोधनमा संविधान सभाको म्याद तीन महिना थप गरिएको छ।

Popularity: 5%

Add comment August 31st, 2011

एमालेलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग आज खनाल निवास डल्लुमा भेटवार्ता गर्नुभयो।

सो अवसरमा शान्ति प्रक्रिया, संविधान निर्माण, माओवादी लडाकु समायोजनलगायतका विषयमा छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री डा भट्टराईले सरकारमा सहभागी भई यसलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन आग्रह गर्नु भएको थियो।

पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष खनालले अहिले यस सरकारमा सहभागी हुन नसक्ने बताउँदै तर राष्ट्रिय मुद्दाहरूमा एक ठाउँमा आउनुको विकल्प नरहेकाले शान्ति प्रक्रिया, संविधान निर्माणका लागि सरकारलाई सहयोग गर्ने बताउनुभयो।

प्रधानमन्त्री डा भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठन, शान्ति प्रक्रिया र संविधान निर्माणका लागि हिजो नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गर्नुभएको थियो।

Popularity: 5%

Add comment August 31st, 2011

आज तीज पर्व मनाइदै

एचकेनेपाल डट कम संवाददाता
आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना गर्दै हिन्दूनारी आज शिवको पूजाअचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दुनारी निराहार र निर्जल बसी आजको दिन शिव मन्दिरमा गई पूजाअर्चना गर्नाका साथै उन्मुक्त भई बिहानैदेखि नाचगानसमेत गरिरहेका छन्।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीजपर्व पञ्चमीको दिन सप्तषिर्को पूजा गरेपछि सम्पन्न हुन्छ।

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाची-गाई रमाइलो गरी दरका रूपमा मीठामीठा परिकार खाने चलन पनि तीजको अङ्गसरह भएको छ। दर खान विशेषगरी माइतीले छोरीचेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।

हिन्दु महिलाको महान् धार्मिक पर्वका रूपमा लिइने तीजको व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ।

नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपतिलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ। धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्नेको पनि घुइँचो लागेको छ।

हिमालय पर्वतकी पुत्री पार्वतीले बालककालदेखि “महादेव स्वामी पाऊँ” भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले “महादेव स्वामी पाऊँ” भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका तीज भन्ने गरिएको पुराणमा वर्णन छ।

भाद्र शुक्ल पूणिर्माको तृतीयाको दिन पार्वतीले शिवजीलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसेपछि शिवजीलाई पति पाएकाले तीजको व्रतको महत्व बढेको हो। त्यसैले राम्रो र चिताएको पति पाउन कुमारी केटीले पनि तीज व्रत बस्ने गरेको देखिन्छ।

वर्षदिन घरदैलो ननाघेका नेपाली चेली तीजका दिन रातो साडी र पोतेमा सजिएर मन्दिर-मन्दिर धाएर नाच्दै गाउँदै ‘वर्षदिनको तीजमा माइती लिन नआए, मनका बह पोख्ने कता हो -’ भनी गाउँदै हिँडेको देखिन्छ।

भगवान्को आराधनासहित आजका दिन महिलाले तीजको गीतको भाकामा आफ्ना वर्षरिका पीडा पोख्ने चलनस्वरूप विभिन्न धार्मिकस्थलमा महिलाले मादल घन्काउँदै नारीवादी गीतमा नाचगान गरेको दृश्य देखिन्छ।

विवाहित चेलीले वर्षभरिमा एकदिन भए पनि तीजमा माइत जान पाउने र आफ्ना बाल्यकालका साथीसङ्गिनीलाई भेटी विभिन्न गीत र नृत्यबाट मनोरञ्जन गर्ने हुनाले चेलीबेटीका लागि यो पर्व विशेष महत्व रहन्छ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्मसंस्कृतिअनुसार मनाइने नेपाली महिलाका लागि दसैँ ठानिएको तीजमा विगतका केही वर्षदेखि सरकारी र गैरसरकारीस्तरमा सामूहिकरूपमा तीजको दर खाने र चुरापोते बाँड्ने चलन पनि बढिरहेको छ।

नेपालमा परम्परादेखि मनाइँदै आएको नेपाली महिलाको राष्ट्रिय पर्व तीजमा विवाहित महिला माइत जाने, मीठो खाने र माइतीलाई आफ्नो पीडा पोख्ने गर्छन्। यस दिन महिलाका लागि सरकारी बिदा पनि घोषणा गरिएको छ।

Popularity: 9%

Add comment August 31st, 2011

बन्दी महिलाहरुलाई दर खुवायो

दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, हिन्दू महिलाहरुको महान पर्व हारितालिका तीज पर्वको अघिल्लो दिन अर्थात दर खुवाउने दिनको अवसरमा पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटि इन्स्टिच्युटले कास्की कारागारमा रहेका बन्दी महिलाहरुलाई सामूहिक रुपमा दर खुवाएको छ।

बन्दी गृहमा रहेका ३९ जना महिलाहरुलाई सामूहिक रुपमा दर खुवाउदै उनीहरुसंग तीजे गीतमा नचाएको इन्स्टिच्युटका संचालक तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष मीना गुरुङले बताउनु भयो।

कार्यक्रममा आयोजना गरिएको नृत्य प्रतियोगितामा सुनिता गुरुङ प्रथम, राधा कंडेल दोश्रो र दिपा तेश्रो भए।

कार्यक्रममा पश्चिम क्षेत्रिय प्रहरी महिला संघका अध्यक्ष शोभासिंह भण्डारी, कारागार इन्चार्ज उमाकान्त पौडेल, मिसेस जितका बिजेता रोजी श्रेष्ठलगायतले कार्यक्रममा बोल्दै तीज पर्वलाई नेपाली संस्कार अनुसार मनाउनु पर्नेमा जोड दिनु भएको थियो।

Popularity: 5%

Add comment August 31st, 2011

सितोरीयो कराँतेमा एसओएस प्रथम

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, पोखराको लामाचौरस्थित नव आदर्श क्लबले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरेको विविध खेलकुद प्रतियोगिता अर्न्तगत मंगलबार सम्पन्न भएको सितोरीएको कराँते प्रतियोगितामा एसओएस बालग्राम प्रथम भएको छ।

एसओएसले १५ वटा स्वर्ण पदक मध्य पाँच वटा स्वर्ण पदक जित्दै प्रथम भएको हो।

एसओएसको जितमा ३५ केजी तौल समूहमा विपिन अर्याल, २५ केजी तौल समूहमा कृष्ण केसी, ३० केजी तौल समूहमा विनोद तिवारी र ४५ केजी तौल समूहमा महिला तर्फज्योति विक प्रथम हुदै स्वर्ण पदक जितेका हुन्।

Popularity: 5%

Add comment August 31st, 2011

विश्व सूचीमा परेको तालको अस्तित्व संकटमा

प्रकाश अधिकारी / एचकेनेपाल डट कम -
चितवन, भूपरिवेष्ठित मुलुक नेपाल विश्वको सामु क्षेत्रिय हिसावले सानो भए पनि सौन्दर्यको हिसावले विश्वसामु आपनो विछिट्टै पहिचान दिन सफल भएको छ।

मुगुको रारा, कास्कीको फेवा, बेगनास, रुपा ताल मात्र नभएर गहिरिएर खोज्ने हो भने नेपालको सम्पूर्ण जिल्लामा प्रकृतिले विशेष किसिमको उपहार छाडेको पाइन्छ। त्यस्तै सर्न्दभमा चाहे सुर्खेतको भुलभुले ताललाई लिउ या चितवनको विसहजारी ताललाई। सरकारले यसको चासो कम राखेपनि यसको अस्तित्व भने छुट्टै रहेको छ तर सरकारले पनि चासो नदिने अनि सम्वन्धित निकाय र स्थानीय बासिन्दाले पनि वेवास्ता गर्ने हो भने नेपालमा रहेका यस्ता कयौ स्थानहरु त्यसै खेर जान पनि सक्दछन्।

विश्व रामसार सूचीमा परेको चितवनको विसहजारी तालको अस्तित्व अहिले संकटमा परेको छ। महेन्द्र राजमार्गमा पर्ने भरतपुरबाट करीव ५ किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बनदेवि बरण्डाभार मध्यवर्ती सामुदायीक बन उपभोक्ता समिति अर्न्तरगत रहेको यो ताल अहिले जलकुम्भि र करौते झारले गर्दा मैदानमा परिणत हुन थालेको छ।

विसहजारीको संरक्षण नहुदा मैदानमा परिणत हुन थालेको छ यो ताल संरक्षणको नाममा धेरै रकम आई सकेको छ। तर ताल भने सुरक्षित हुन सकेको छैन। यस तालको नाममा धेरैले आर्थिक आम्दानी गरे । यसैका लागि भनेर विभिन्न ताल संरक्षण समितिहरु पनि बने । ताल लाई संरक्षण गर्छु भनेर विभिन्न राजनैतिक दलका भातृ संगठनहरुले पनि बिभिन्न कार्यक्रम गरे । तर विदेशी बजेट आएका बेला मात्र केही काम गरेको जस्तो देखाउन बजेटको केही प्रतिशत खर्च गरेर अरु कुम्ल्याउने प्रवृतिले तालको यो दुर्दशा भएको छ । केही बर्ष पहिलेसम्म मात्र यो ताल हेर्न दैनिक सयौ आन्तरिक तथा बाहृय पर्यटक आउथे । जव ताललाई विस्तारै जलकुम्भीले ढाक्न थाल्यो, ताल टुहुरो बन्न पुग्यो।

पर्यटन बर्ष लागिरहेको छ । यसबेला ताललाई सुन्दर बनाएर पर्यटकलाई आकषिर्त पार्न छाडेर सम्बन्धित निकाय टुलुटुलु हेरिरहेको छ । करिब आठ सय हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा गैडा, बाघ, भालु, हात्ति, जरायो मृग, बंदेल जस्ता बन्य जन्तु पानी पिउन आउंछन । साईवेरियाबाट समेत साईबेरियन क्रेन चराहरु यहाँ आउने गर्छन्।

उपभोक्ता समितिले तालमा हेर्न जानेहरुसंग प्रबेश शुल्क लिने गरेको छ । तर समिति, तालको जिम्मा नपाएकाले आफूहरुले केही गर्न नसकेको बताउछ।

सामुदायिक बन उपभोक्ता समिति ताल आफ्नो भएको दाबी गर्छ, तर संरक्षणका लागि भने सरकारलाई देखाउंछ । सरकारले पनि केहि चासो देखाएको देखिदैन। यस तालमा दुर्लभ मकर गोही, घडियाल गोहीको बासस्थान समेत छ। ताल वरिपरिको जंगलमा हर्र्रो, बर्र्रो, अमला, क्यामुना, जमुना, दैकमला जस्ता बहुमुल्य जडिबुडिहरु पनि पाईन्छन्।

बिसहजारी तालको नाम सुनेकै भरमा चितवन आउने पर्यटक निकै भेटिन्छन्। तर यहाँ आईसकेपछि ताल कहाँ छ भनेर पर्यटकले नै खोज्नु पर्ने भएको छ।

तालमा आउन प्रयोग भएको पुल समेत भत्किएर काठको सानो पुलको प्रयोग भएको छ भने तालबाट बढि भएको पानी जाने आउटलेट समेत पुरिन थालेको छ।

तालको नाममा जति आर्थिक आम्दानी हुन्छ, त्यति मात्र तालका लागि खर्च गर्ने हो अनि सवै मिलेर तालको सरसफाइ गर्ने हो भने तालको यो दुर्दशा नहुने शिक्षक तथा स्थानीय बासिन्दा पुन्यहरी घिमिरे बताउनु हुन्छ।

महेन्द्र राजमार्गमा पर्ने गोन्द्राङ्गको दक्षिणतर्फ विसहाजरी ताल जानको लागि सुन्दर र भव्य द्धार बनाइएको छ करीव ४ किलोमिटर भित्र गएपछि विसहजारी ताल जानको लागि प्रवेश द्वार आउछ। उक्त द्धारमा विसहजार ताल जानकै लागि बनदेवि बरण्डाभार मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिका प्रवेश शुल्क लिने गर्दछ।

साइकलः रु ५
मोटरसाइकल रु १०
साना सवारी साधन रु १००
ठुला सवारी साधन रु २००

त्यति मात्र होइन २० हजारी ताल छिर्ने पूर्वी चितवनको टिकौली नाकामा पनि यसरि नै शुल्क उठाउने गरिन्छ। तर उठाएको शुल्क मध्येको एक पैसा पनि ताल संरक्षणको लागि भने खर्च भएको छैन।

ताल प्रबेशमा भने शुल्क लिने तर ताल संरक्षणमा वास्ता नगर्ने यस्तै कारणले गर्दा नै अझ २० हाजारी तालको यो दुर्दशा भएको भनेर अड्कल काट्दा पनि फरक भने पर्दैन।

ताल मात्र होइन तालसगै रहेका खगेरी नहरको पनि उचित संरक्षण हुन सकेको छैन। खगेरी नहर बाट ताल छिर्ने पुल समेत भत्किएर आवतजावतमा समेत कठिनाइ हुदा प्रबेशको लागि शुल्क उठाउनेहरु टुलुटुलु हेरिरहेका छन्।

२०२६ सालतिर खगेरी सिचाई योजना अनुसार नहर बन्दा बाध बनेपछि विसहजारी तालको स्थापना भएको थियो। २०३५ साल बाट करिव १ दशकसम्म सिंचाइले तालमा माछा पाल्नको लागि ठेक्कामा दिएको थियो। माछा पाल्ने र मार्ने क्रममा तालको सरसफाइ हुने गरेको थियो। २०४७ सालमा आएर ताल र खगेरि नहरको बाध फुटेपछि तालको संरक्षण गर्नु पर्छ भनेर खगेरी नहर उपभोक्ता समिति गठन गरि तालको बाध पुनः बाँधियो।

ताललाई संरक्षण गर्छु भनेर केही स्थानीय जानकारहरुले पैसाको लोभमा २०५५ सालतिर सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहयोगमा २०हजारी तालको सरसफाइमा केही काम समते गरेको थिए भने साथसाथै खगेरीको नहरको पारिपटि्ट अर्को लक्ष्मी तालको समेत स्थपना गरे।

त्यस लगत्तै करिव १ दशक अगाडि ताल विश्वरामसार सूचीमा सूचीकृत समेत हुन पुग्यो। त्यसपछि ताललाई केही संघसस्थाहरुले पैसा आएको बेलामा कामगरे जस्तो गर्नै र अरु बेलामा बेस्वाता गर्न थालियो। स्थानीय बासिन्दाको पनि ताल संरक्षणमा खासै चासो देखिएन र विस्तारै तालको यो दुदर्शा भएको हो।

आफ्नो गाउको पर्यटकीय स्थलको संरक्षणमा अन्य क्षेत्रको भन्दा पनि स्थानीय निकायबाटै पहल हुनु जरुरी रहेको छ, हैन भने यो ताल एकादेशमा हुन धेरै दिन लाग्ने छैन।

Popularity: 5%

Add comment August 30th, 2011

कांग्रेस एमाले सरकारमा आउने रायमाझीको दाबी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले डेढ महिनापछि नेपाली कांग्रेस र नेकपा एमाले सरकारमा आउने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा रायमाझीले डेढ महिनाभित्रमा प्रतिबद्धता अनुसार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्र्याउने ठोकुवा गर्दै त्यसपछि पनि काग्रेस र एमाले सरकारमा नआए उनीहरु आफै समाप्त हुने चेतावनी दिए। उनले भने- दुनियालाई चकित पार्ने गरी डेढ महिनामा हामी सेना समायोजन गरेर देखाई दिन्छौ। त्यसपछि काग्रेस र एमाले पनि सरकारमा आउनु पर्छ। नआए कमल थापाको लाईनमा जानुको विकल्प उनीहरुसँग रहँदैन।

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्र्याएर संविधान निर्माण नहुन्जेलसम्म अहिलेको सरकार कायम रहने दावी गर्दै एक साताभित्र सरकारले पूर्णता पाउने बताए। उनले संविधानसभाको थपिएको म्यादभित्र शान्ति प्रक्रिया निष्कर्षमा पुगेर संविधानको पहिलो मस्यौदा आउने र त्यसपछि संविधान जारी नहुन्जेलसम्मको लागि संविधानसभाको म्याद फेरि थपिने बताए।

साक्षात्कारमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवले प्रतिबद्धता अनुसार सरकारले ४५ दिनभित्र शान्ति प्रक्रिया टुङग्याएर काग्रेस र एमालेलाई विश्वासमा लिन नसके सरकार छाड्ने चेतावनी दिए।

मन्त्री परिषदलाई पूर्णता दिन माओवादी र मधेसी मोर्चावीच बराबर मन्त्रालय लिने सहमति भएको भन्दै माओवादीले उपप्रधानमन्त्री लिए मोर्चाले पनि थप एउटा उपप्रधानमन्त्री लिने जानकारी दिए। उनले भने-माओवादीले उपप्रधानमन्त्री राख्दैन भने हामी पनि दावी गर्दैनौ। उनले माओवादी र मोर्चाले ११-११ मन्त्रालय लिने र बाँकी मन्त्रालय साना दललाई दिने गरी सहमति भएको समेत साक्षात्कारमा जानकारी दिए।

उनले दुइ परिवर्तनकामी शक्तिको गठबन्धनमा नेपाली जनताले चाहेका डा बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएको भन्दै यसलाई प्राकृतिक गठबन्धनको संज्ञा दिए। यद्यपि उनले सबै राजनीतिक दलको विश्वास लिएर मात्रै प्रधानमन्त्री अगाडि बढ्न सक्ने स्पष्ट पारे।

नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रिय संयूक्त सरकारमा रुपान्तरण हुने सम्भावना नरहेको स्पष्ट पार्दै एमाले सरकार ढाल्न पनि नलाग्ने बताए। उनले भने-यो सरकार ढले माओवादी पार्टीको अर्न्तकलहले नै वा मोर्चाका कारण ढल्छ। हामी सरकार ढाल्न लाग्दैनौ। उनले एमालेले शान्ति र संविधानमा सहमति खोज्ने तर सरकारको विषयमा सहमति नखोज्ने पनि साक्षात्कारमा स्पष्ट पारे।
उनले थपे-हामी संसद अवरुद्ध पार्दैनौ, आम हडताल गर्दैनौ र सिहदरवार घेरेर रेखा थापासँग नाँच्नु पनि हुन्न। ज्ञावलीले माओवादी र मोर्चावीच भएको सम्झौताको १० हजार मधेसी यूवालाई सेनामा प्रवेश गराउने र शान्ति प्रक्रियाका मुल बुँदामा देखिएको मौनताले चिन्तित बनेको भन्दै प्रधानमन्त्रीलाई नेपाली गाडी चढेको जस्तो प्रचारमुखी भन्दै पनि परिणाममुखी काम गर्न सुझाव दिए। उनले भने-बाबुरामजी महंगै गाडी चढ्नुस तर शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएर संविधान निर्माण गर्नुस्।

ज्ञावलीले माओवादीलाई सहमतिको सरकार निर्माणमा कुनै रुचि नभएको आरोप लगाउँदै मोर्चालाई पनि शान्ति र संविधान भन्दा सत्ता नै चाहिएकोले सहमतिको सरकार निर्माण हुन नसकेको दावी गरे।

साक्षात्कारमा नेपाली काग्रेसका नेता अर्जुननरसिह केसीले पनि काग्रेस यथास्थितिमा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको भन्दै सरकार ढाल्न पनि नलाग्ने स्पष्टपारे। उनले भने-हतियार र लडाकुको ब्यवस्थापन नहुन्जेल काग्रेसले माओवादीको नेतृत्वको सरकारमा जाने विषयमा सोच्न पछि सक्दैन। शान्ति प्रक्रिया औपचरिक रुपमा टुङगिएपछि यो विषयमा छलफल गर्न सकिन्छ। उनले प्रतिबद्धता अनुसार बाँकी चार दिनमा शिविर र हतियारको चावी विशेष समितिलाई बुझाए शान्ति प्रक्रिया अगाडि बढ्ने बाटोका लागि सकारात्मक हुने समेत बताए।

उनले मोर्चा र माओवादीवीच भएको सहमतिमा उल्लेख भएका मधेस आन्दोलन सहित विभिन्न आन्दोलनमा परेकालाई राहत दिएर अरुलाई अपमान गर्ने, राज्यपुनर्संरचना आयोग गठन नगर्ने, १० हजार मधेसीलाई सामूहिक प्रवेश गराउने जस्ता विषय आपत्ति जनक, पूर्व सहमति र संविधान विरोधी भएको आरोप पनि लगाए। उनले शान्ति र संविधान निर्माणकार्यमा काग्रेस सहयोगी भएर अगाडि बढ्ने भन्दै सरकारलाई सफलताको शुभकामना पनि दिए।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ४५ दिनभित्र माओवादीले गरेको पाँच बुँदे प्रतिबद्धता अनुसार काम नभए राष्ट्रिय राजनीतिक मञ्चले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आफूहरुको समर्थन सशर्त भएको स्पष्टपारे। उनले साना दललाई साथ लिएर अगाडि बढ्न सकेमात्रै सरकार सफल हुने भन्दै अन्यथा सरकार संकटमा फस्ने चेतावनी दिए।

Popularity: 5%

2 comments August 30th, 2011

अपवित्र गठबन्धनको सरकार लामो समय टिक्दैनः थापा

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री वर्तमान सरकार अपवित्र गठबन्धन भएको भन्दै यो लामो समयसम्म टिक्न नसक्ने ठोकुवा गर्नुभएको छ।

पार्टीद्वारा आयोजित संविधानसभा घेराउ कार्यक्रममा उहाँले मधेसी मोर्चासँगको गठबन्धन हुँदा गरिएको सम्झौताले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि नै खतरा हुने दाबी गर्नुभयो।

उहाँले संविधानसभाले शान्ति र संविधानका मुद्दालाई सम्बोधन गर्न नसकेको वर्तमान अवस्थाको मार्गचित्र नै गलत भएको भन्दै चालक फेरिँदैमा समस्या समाधान नहुने बताउनुभयो।

पार्टी महासचिवद्वय गणेश शेरचन र टङ्क ढकालले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट पार लगाउन तथा दिगो शान्ति स्थापना गरी संविधान जारी गर्न संविधानसभा असफल भइसकेको भन्दै यसको औचित्य समाप्त भइसकेको आरोप लगाउनुभयो।

सभासद् चन्द्रबहादुर गुरुङ, पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठलगायतले मुलुकको विद्यमान अवस्थामा वर्तमान सरकारले पनि कुनै सफलता हासिल गर्न नसक्ने भन्दै सबैको सहमतिबाट सरकार चल्नाको विकल्प नभएको बताउनुभयो।

यसअघि बबरमहलमा जम्मा भएका सो पार्टीका नेता तथा कार्यकर्ताले संविधानसभा भवन नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए।

Popularity: 5%

Add comment August 30th, 2011

यो सरकारले शान्ति र संविधान दिन सक्दैनः भण्डारी

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले वर्तमान सरकारले शान्तिप्रक्रिया र संविधान लेखनको काम पुरा गर्न नसक्ने दाबी गर्नुभएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बहुमतीय आधारमा सरकार बन्नु राष्ट्रकै लागि दुर्भाग्य भएको बताउँदै एमाओवादी लडाकु समायोजन गरेर शान्ति स्थापना गर्नका लागि नेपालका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) प्रतिपक्षमा बसेर सम्भव छैन भन्नुभयो।

उहाँले शान्तिप्रक्रिया र नयाँ संविधान दिनका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको पनि बताउनुभयो।

उहाँले भन्नुभयो–नेपाली महिलालाई एकतामा बाँध्ने तीज पर्वलाई सामाजिक जागरणका रुपमा मनाउनुपर्छ, पर्वको नाममा देखिइएका विकृति पनि हटाउनुपर्छ।

Popularity: 5%

Add comment August 30th, 2011

प्रहरी नै प्रहरीको हिरासतमा

एचकेनेपाल डट कम संवाददाता-
नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक र एक सहायक प्रहरी निरीक्षकलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबार रातिदेखि हिरासतमा राखेको छ।

उनीहरु राष्ट्रसेवक भएर पनि गलत क्रियाकलापमा संलग्न भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबारदेखि हिरासतमा राखेको हो। राति १२ बजे जनसेवा प्रहरी कार्यालय नयाँसडकका सइ आदेश गौतम तथा असइ रवीन्द्र मल्ल र परिन्द्रविक्रम शाहले दरबारमार्गस्थित आइक्लब रेष्टुरेन्ट एन्ड डान्स बारमा गएर त्यहाँका ग्राहकसँग नराम्रो व्यवहार गरेको भन्ने डान्सबारका मालिकको उजुरीका आधारमा उनीहरुलाई हिरासतमा लिइएको परिसरले जनाएको छ।

परिसरका प्रवक्ता धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई नेपाल प्रहरीको मर्यादाको पालना नगरेकाले हिरासतमा लिएर अनुसन्धान गरिएको हो। अनुसन्धानका क्रममा उनीहरुको गल्ती देखिएमा घटुवा समेत गर्न सकिने बताइएको छ ।

Popularity: 5%

1 comment August 30th, 2011

सरकारमा सहभागी हुन राजनीतिक दललाई आह्वान

एचकेनेपाल डट कम संवाददाता-
नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले विस्तृत शान्ति सम्झौताअनुसार शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र सरकारमा सहभागी भई नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखनजस्तो ऐतिहासिक कार्यभारमा जुट्न सबै राजनीतिक दललाई अपिल गरेको छ।

नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा प्रधानमन्त्रीको कार्यालयमा बसेको सो बैठकले राजनीतिक दलहरूको सहमतिबिना शान्ति र संविधानको जिम्मेवारी पुरा गर्न नसकिने र संविधानसभाबाटै सविधान जारी गर्नुपर्छ भन्ने विषयलाई सरकारले आत्मसात् गरेको जनाएको छ।

देशको आर्थिक र सामाजिक विकास तथा शान्तिसुरक्षा कायम गरी शान्ति र संविधानको कार्यभार पुरा गर्ने सरकारको अठोटमा सहयोग र समर्थन गर्न राजनीतिक दल, नागरिक समाज र सबै तह र तप्पासँग आह्वान गर्ने निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक राज्य निर्माणका लागि माओवादी जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडावर्गको आन्दोलन र अन्य समुदायका न्यायोचित मागका लागि भएका आन्दोलनका दौरान वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ।

साथै ती आन्दोलनमा बेपत्ता, घाइते र पीडित भएकाहरूप्रति उच्चसम्मान प्रकट गर्ने निर्णयसमेत बैठकले गरेको उपप्रधानमन्त्री गच्छदारले जानकारी दिनुभयो।

Popularity: 5%

Add comment August 30th, 2011

कोमल वली जेलमा नाच्नगाउन पुगिन्

एचकेनेपाल डट कम संवाददाता-
गायिका कोमल वली केन्द्रीय कारागारका विभिन्न सजाय भोगिरहेका महिला कैदीसँगै दर खान र नाच्न तथा गाउन पुगेकी छिन्।

गायिका वलीले महिलाहरूको राष्ट्रियपर्व हरितालिका तीजका अवसरमा महिला कैदीहरूलाई दर खुवाउने र उनीहरूसँगै नाच्ने अनि गाउने इच्छा राखेपछि कारगारका जेलर तीर्थराज भट्टराईले बन्दोवस्त मिलाइ दिनुभएको हो।

कारागारमा विभिन्न अपराधमा सजाय भोगिरहेका महिला कैदीहरूले गायिका वलीलाई तीन घण्टाभन्दा बढी नाचगान र दर खाने कार्यक्रममा साथ दिएका थिए।

‘वर्षौँदेखिको आफ्नो इच्छा आज पूरा भएको छ,’ तुलसीपुरमा म जाँदाखेरी… बोलको भाकाको गीतलाई कारागारमा म आउँदा खेरि…मा गाउनुअघि गायिका वलीले भन्नुभयो– ‘मानिस भएपछि जिन्दगीमा आइपर्ने उतारचढावको सामना गर्नुपर्छ, तपाइँहरूले पनि त्यही परिबन्ध वा गल्तीको सजाय भोग्नुहुँदैछ, यसमा आत्तिनु हुँदैन।’

गायिका वलीले तीन घण्टाको अवधिमा ‘नाचौँ हामी डिस्कोमा…’, ‘वनमा फुल्यो फूल…’, ‘लरक्कै लर्केको कपाल छ…’, ‘आज बाह्र हाते पटुकीको…’, गीतमा महिला कैदीले प्रस्तुत गरेको नृत्यको मज्जा लिएपछि ‘कारागारमा म आउँदा खेरि…’, ‘गोजीमा गाँठ भाको…’, ‘पोइल जान पाम…’,जस्ता गीत गाउनुभएको थियो।

वलीको गीतसँगै डा केसी, जेलर तीर्थराज भट्टराईलगायतका सुरक्षाकर्मी र महिला कैदीहरू नाच्नमा व्यस्त हुनुहुन्थ्यो। गायिका वलीको प्रस्तुती हेरेर आ–आफ्ना अपराधका ग्लानीमा थोरै भए पनि राहत महसुस गरेका महिला कैदीहरूले हरेकवर्षको तीजमा यसैगरी कारागारमा आउन आग्रह गर्नुभएको थियो।

जेलर भट्टराईले ९ वर्षको अवधिमा कारागारभित्र राष्ट्रिय कलाकारले यस्तो कार्यक्रम गरेको पहिलोपटक भएको भन्दै यस्ता कार्यक्रमबाट कारागारभित्रका महिला कैदीहरूको आत्मवल उच्च हुने बताउनुभयो।

कारागारमा रहेका दुईहजार १९० कैदीमध्ये २४४ महिला र १० जना बालबालिका तथा भारतीय, फिलिपिन्स, थाइल्याण्ड र फ्रान्सका गरी १४ जना विदेशी रहेको पनि जेलर भट्टराईले जानकारी दिनुभयो।

Popularity: 5%

1 comment August 30th, 2011

संविधानसभाको म्याद तीन महिना थपियो

एचकेनेपाल डट कम संवाददाता-
म्याद सकिनु दुई दिन अगाडि नै सोमबार साँझ संविधानसभाको समयावधि तीन महिना थप भएको छ।

व्यवस्थापिका–संसदको आज बसेको तेस्रो बैठकले नेपालको अन्तरिम संविधान दसौँ संशोधन २०६८लाई दुई तिहाइ बहुमतले पारित गरेपछि संविधानसभाको म्याद तीन महिनाका लागि थपिएको हो।

नेपालको अन्तरिम संविधान,दसौँ संशोधन २०६८सम्बन्धी विधेयकलाई बहुमतले पारित गरेपछि संविधानसभाको समयावधि अगामी मङि्सर १४ गतेसम्मका लागि लम्बिएको छ।

Popularity: 5%

Add comment August 29th, 2011

दशौंहजार नेपालीबीच बेलायतमा तेश्रो नेपाली मेला

धर्मराज अधिकारी /एचकेनेपाल डट कम-
लण्डन, नेपाली धर्म, कला र संस्कृतिको जगेर्ना गर्न तथा भावी पुस्तालाई त्यसबारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाली मेला तेश्रो आइतवार सम्पन्न भएको छ।

बेलायतमा रहेका गुरुङ जातिहरुको संस्था तमुधि युकेले आयोजना गरेको ‘नेपाली मेला २०११’मा आ-आफ्ना धर्म-संस्कृति झल्काउने गरी करीब एक दर्जन बढि संस्थाहरुले झांकी प्रदर्शन गरेका थिए।

लण्डनस्थित रिचमण्ड पार्कमा सम्पन्न मेला भर्न बेलायतभरबाट दशौंहजार नेपाली सहभागी भए। नेपाली पोषाक तथा आफ्नो जातीय भेषभुषामा सजिएर मेलामा उपस्थित नेपालीहरुले नेपाल सयौं थुंगा फुलको एकै फुलवारी भएको सन्देश दिएका थिए।

नेपाली मेलाको उद्घाटन संयुक्त रुपमा महामहिम डा. सुरेशचन्द्र चालीसे, एमाले नेता प्रदिप नेपाल, एन आर एन अध्यक्ष सूर्य गुरुङ र तमुधी अध्यक्ष मुच्छेत्र गुरुङले गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले यस्ता कार्यक्रमहरुले नेपाली संस्कृतिको जगेर्नाका साथै नेपाल र बेलायतबीच सांस्कृतिक व्यापार गरेको समेत बताए। बेलायतीहरु नेपाली कला र संस्कृतिको कारण नेपालसंग नजिक भएको बताउंदै चालीसेले भने, ‘यस्ता कार्यक्रमहरु निरन्तर गर्नाले दुइ समुदायकाबीचमा अझै गाढापन थप्नेछ।’ नेपालमा हिमाल र लुम्बिनीजस्ता संसारकै उत्कृष्ट स्थलहरु भएको जनाउंदै राजदूत चालीसेले बेलायती जनतालाई नेपाल भ्रमण गर्न आग्रह समेत गरे।

कार्यक्रममा सहभागी एमाले नेता प्रदिप नेपालले जातीय भेषभूषा र परम्परागत सांस्कृतिक झांकीहरुले नेपाललाई चिनाईरहेको बताए। एनआरएन युकेका अध्यक्ष सूर्य गुरुङले तमुधि बेलायतले नेपाली कला संस्कृतिको जगेर्नाका साथै भावी सन्ततीको लागि सह्रानीय काम गरेको बताए। तमुधिले गोर्खा कप, ल्होसार र नेपाली मेला आयोजना गरेर नेपाली समाजलाई बेलायतमा चिनाउन प्रयत्नरत रहेकोमा आभार प्रकट गरे।

सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मुच्छेत्र गुरुङले नेपाली समुदायमा निहित कला संस्कृतिको जगेर्ना गर्न नेपाली मेलाको आयोजना गरिएको बताए। यस्ता कार्यक्रमले नेपाल बहुभाषिक, बहुजात र बहुधर्मयुक्त स्वतन्त्र राष्ट्र भएको सन्देश दिने गुरुङले दावी गरे।

मेलामा तमुधि युके, तमुधि रेडिङ, बुद्धिष्ट कम्युनीटि सेन्टर युके, पुन समाज युके, नेपाल आदीवासी जनजाती महासंघ युके, किरांत याक्थुंङ चुम्लुङ युके, मनोक्रान्ति अभियान बेलायत, मगर संघ युके, ठांटी नेपाली समाज युके, तमुधि लण्डन इकाई, पासा पुचा गुठी, थकाली सेवा समाज, तामाङ्ग समाज, धौलागिरी नौमती वाजा, चार भञ्भ्या तमु समाज एन्जे ताइकन्दो, साहजा योगा, गोर्खा जिल्ला समाज, रुम्जाटार समाज तथा विभिन्न च्यारीटीका संस्थाहरुले झांकी प्रस्तुत गरेका थिए।

मेलामा झांकी र नृत्यतर्फतमुधि लण्डन इकाइले पहिलो एम्बेसडर कप हात पार्‍यो। दोश्रो र तेश्रो एम्बेसडर कप क्रमशः तमुधि रेडिङ र किरांत याक्थुङ चुम्लुङ्गले हात पारे। पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश ६००, ४०० र २०० नगद समेत प्रदान गरिएको थियो। झांकीतर्फ पुन समाज युके पहिलो भएको थियो। सहभागी मगरसंघले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो। झांकीका निर्णायकहरुमा बौद्धिक एवं समाजका प्रतिष्ठित व्यक्तित्वहरु विश्व आदर्श पण्डित, प्रोफेसर नारायण गुरुङ, प्रसाद थेवे, नारायण गुरुङ, श्रीमती शशी थापा सुव्वा, एकेन्द्र गुरुङ रहेका थिए। विजयी झांकी तथा नृत्य एवं सहभागीहरुलाई महामहिम डा. सुरेशचन्द्र चालीसेले सम्मान गरेका थिए।

यसैबीच, विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने बेलायती नागरिकहरुलाई नेपाल सरकारको तर्फबाट राजदूत डा.चालीसे सम्मान गरे। सफल आरोहीहरु एलान वेट, डेभिड टेइट, एडम पोर्टर, डोमिनिक जुड, जोन ओइनकलाई राजदूतले सम्मान गरेका हुन।

कार्यक्रममा लोक गायक खड्ग गर्बुजाले लोक गितहरु गाएर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए। गायक गर्बुजालाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो।

नेपाली युवा पिंढिलाई लक्षित गर्दै बेलायतस्थित विभिन्न युवा व्याण्डहरुले आफ्ना प्रस्तुती देखाएका थिए। ले. यादव गुरुङले व्यवस्थापन गरेको कार्यक्रमको औपचारिक भाग तमुधिका महासचिव ज्ञाम गुरुङ तथा सदस्य पुष्पा गुरुङले सञ्चालन गरेका थिए।

त्यस्तै, सांस्कृतिक कार्यक्रमको सञ्चालनमा विविसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, मिस युके नेपाल नविना गुरुङ, सूर्य गुरुङ, योगेश गुरुङलगायतले साथ दिएका थिए।

Popularity: 5%

2 comments August 29th, 2011

माओवादी र मोर्चाबीचको सहमतिप्रति आपत्ति

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौं, द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका मुद्दाको खारेजी तथा दोषीलाई आममाफी दिने एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको सहमतिप्रति अधिकारकर्मी र द्वन्द्वपीडितहरुले आपत्ति जनाएका छन्।

बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा बेपत्ता नागरिकका परिवार तथा अधिकारकर्मीहरुले दोषीलाई आममाफी दिने माओवादी र मधेशी मोर्चाको सहमतिको विरोध गरेका हुन्।

नयाँ सरकार गठन गर्ने क्रममा आइतबार माओवादी र मधेशी मोर्चाबीच माओवादी युद्ध, मधेश आन्दोलन, थरुहट, पिछडावर्ग लगायतका आन्दोलनका क्रममा लगाइएका मुद्दाहरुलाई खारेज गर्ने र आममाफीको प्रक्रिया थाल्ने सहमति भएको थियो।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफूमाथि लागेका मुद्दा खारेज गर्ने र आफूलाई आफैले आममाफी दिने कार्य गलत हुने बताउनुभयो। आममाफीका विषयमा माओवादी र मधेशी मोर्चाबीच सहमतिको विरोध गर्दै प्याकुरेलले क्षमादान गर्ने अधिकार पीडित बाहेक कसैलाई नहुने बताउनुभयो। पीडित परिवारले हतियार उठाए विगतको माओवादी युद्ध फिस्टाको खेल हुने उहाँले चेतावनी दिनुभयो। प्याकुरेलले हिम्मत भए अपराध स्वीकार्न चुनौती समेत दिनुभयो।

एड्भोकेसी फोरमका अध्यक्ष मन्दिरा शर्माले देशमा दण्डहिनताको संस्कृति झनै बढेको बताउनुभयो। आफूहरुले बेपत्ता नागरिकको विषयलाई अन्तर्राष्ट्रियकरण गरेको जानकारी दिंदै बेपत्ता नागरिकका विषयमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो।

बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले द्वन्द्वका दोषीलाई आममाफी दिइए देशमा शान्ति नमिल्ने बताउनुभयो । उहाँले शान्तिप्रक्रियाका विषयमा माओवादीले ल्याएको प्रस्तावले आश नथपेको बताउनुभयो। आफ्ना बेपत्ता आफन्तको चिहान खोजेको भन्दै भण्डारीले बेपत्ता परिवारलाई राहत नभई आफ्ना आफन्त कहाँ छन भन्ने सूचना चाहिएको बताउनुभयो।

यसैगरी, न्यायका लागि द्वन्द्वपीडितका समाजका अध्यक्ष जनक राउतले राज्य र राजनीतिक दलहरुले बेपत्ता नागरिकका विषयमा जबाफदेहिता पूरा गर्न नसकेको बताउनुभयो।

कार्यक्रममा एड्भोकेसी फोरमबाट प्रकाशित ‘बेपत्ताको शवोत्खनन-नीतिगत संरचनाको आवश्यकता’ र इन्सेकबाट प्रकाशित ‘बेपत्ता पारिएका नागरिकहरुको पार्श्वचित्र’ नामक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

प्रतिवेदनमा फौजदारी अनुसन्धानमा प्रमाण संकलन गर्न तथा भविष्यमा गठन हुने संक्रमणकालीन न्यायका संयन्त्रको एक अङ्गको रूपमा उत्खनन प्रक्रिया सञ्चालन गर्न सबैले बुझ्ने खालको नीतिगत संरचना तत्काल गठन गर्न माग गरिएको छ।

‘उत्खनन प्रक्रियामा संलग्न व्यक्तिहरुका जिम्मेवारी स्पष्ट रूपमा नतोकिनु, उत्खननका कार्यमा हुने ढिलासुस्ती, यसबाट प्राप्त प्रमाणहरुको जगेर्ना गर्न नसक्नु र कानुन कारबाहीमा यस्ता प्रमाणहरु स्वीकार्य हुने कुराको सुनिश्चितता नहुनु तथा उत्खनन प्रक्रियामा पीडितका आफन्तको आवश्यकतालाई ध्यान नदिइनुले शव उत्खननका लागि नीतिगत संरचनाको आवश्यकता खड्किएको प्रतिवेदनमा उल्लेख छ।

विगतको सशस्त्र द्वन्द्वलाई सम्बोधन र मूल्याँकन गर्न नेपाल अझै प्रारम्भिक चरणमा नै रहेको भन्दै प्रतिवेदनमा भनिएको छ- ‘अन्तर्राष्ट्रिय मापदण्ड तथा राम्रा अभ्यासकै स्तरमा उत्खनन गरिन्छन् भन्ने सुनिश्चितता गर्न अहिले प्रस्ट कानुनी तथा नीतिगत संरचना बनाउने अवसर छ।’

प्रतिवेदनमा एड्भोकेसी फोरमका पहलमा धनुषामा गिरफ्तारपछि हत्या गरिएका पाँच जना किशोरको शव उत्खननलाई प्रतिनिधिमुलक घटनाका रुपमा समेटिएको छ। नीतिगत अभाव र विज्ञको सहभागिताविनै गरिएका शव उत्खननले बैधानिकता नपाउँदा प्रमाण लोप हुने र दोषी उम्कने हुँदा दण्डहिनता झनै बढेर जानसक्ने प्रतिवेदनमा औल्याइएको छ । बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसमा नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।

Popularity: 5%

Add comment August 29th, 2011

प्रधानमन्त्रीद्वारा शपथ, उपप्रम गच्छदार नियुक्त

एचकेनेपाल डट कम संवाददाता-
नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईलाई आज राष्ट्रपति रामवरण यादवले पद तथा गोपनीयताको शपथ गराएका छन्।

भट्टराईले अरु कम्युनिस्ट प्रधानमन्त्रीले जस्तै ईश्वरको नाममा शपथ नलिई देश र जनताको नाममा शपथ लिएका छन्।

भट्टराईले उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि शपथ गराएका छन्।

आज एक मन्त्रीलाई मात्र उनले शपथ गराएका हुन्।

Popularity: 5%

Add comment August 29th, 2011

क्रियटिभ लोकताराको उपाधि स्याङजाकी लक्ष्मी परियारलाई

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, क्रियाटिभ ब्रोडकास्टिङ्ग मिडिया प्लसले अयोजना गरेको दोस्रो क्रियाटिभ लोकताराको उपाधि स्याङजाकी लक्ष्मी परियारले जितिकी छन्। उपविजेता तनहूँकी इनिशा दुरा र म्याग्दीका राजेन्द्र सपकोटा तेस्रो भए। लोकतारामा सान्त्वना पर्वतकी लक्ष्मी पुन भइन्।

८० जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेकी परियारले नगद ७५ हजार प्राप्त गरिन्। उपविजेता बन्न सफल दुराले २५ हजार, तृतीय सपकोटाले २० हजार प्रप्ता गरे भने सान्त्वना हुन सफल पुनले नगद दुइ हजारसहित आकर्षक पुरष्कार जितिन्। निर्णयको ६० प्रतिशत र ४० प्रतिशत भोटिङबाट विजेता छनोट गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका सात जना व्याक्तिहरुलाई सम्मान गरिएको थियो। सम्म्मानति हुनेहरुमा वरिष्ठ चिकित्सक डा. भोला रिजाल, बरिष्ठ लोकगायिका हरिदेवी कोइराला, गायिका देवीका वन्दना, पप गायक धिरज राई, नायक आर्यन सिग्देल र गोर्खाली रेडियोका स्टेशन म्यानेजर सञ्जय मल्ललाई सम्मान गरिएको थियो।

क्रियाटिभ लोकतारा दुइका विजेता तथा सम्मानित व्यक्तिहरुलाई साहित्यकार एंम प्राज्ञ सरुभक्त श्रेष्ठले पुरष्कार वितरण तथा सम्मान गरेका थिए। निर्णयमा लोकदोहोरी गायक तारापति सुवेदी, जिवन दहाल, सञ्चारकर्मी नरेश भट्टराई रहेका थिए।

कार्यक्रममा टप टेनमा परेका कलाकारहरुले समेत प्रस्तुती प्रस्तुत गरेका थिए भने उनीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रम क्रियटिभ ब्रोडकाष्टिङ्ग मिडीया प्लसका प्रबन्ध निर्देशक आइ डी मिलन प्रतिकको अध्यक्षतामा सम्पन्न भएको थियो।

Popularity: 5%

Add comment August 29th, 2011

बेलायतमा रेडिंग कप फुटबल भव्यताकासाथ सम्पन्न

कुमार के.सी./ एचकेनेपाल डट कम-
ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसनको आयोजनामा पाँचौं रेडिंग कप फुटबलप्रतियोगीता पश्चिम रेडिंगको प्रोस्पेक पार्कमा शनिवार भव्यताकासाथ सम्पन्न भएको छ।

४८ मूख्य तथा ८ भेटेरान गरी ५६ फुटबल टीमले भाग लिएको प्रतियोगितामा तुंबा (क्यु.जि.ई.) फूटबल कल्बले जेरो फोर फूटबल कल्बलाई २-१ ले पराजित गरि यस बर्षको शिल्ड, ट्रफी तथा नगद प्राप्त गर्यो।

नन-भेटेरनतर्फ चेत गुरुङ उत्कृष्ठ खेलाडी तथा प्रकाश राई सर्बाधिक गोलकर्ता रहे। त्यस्तै भेटेरन तर्फको प्रथम पुरस्कार स्याण्डहर्स एभेरेस्ट फूटबल क्लबले प्राप्त गर्र्यो भने लुम्बिनी युनाइटेड फूटबल कल्बले दोस्रो स्थान प्राप्त गरे। भेटेरन तर्फको उत्कृष्ठ खेलाडी लोकप्रसाद लिम्बु घोषित भए भने सर्बाधिक गोलकर्ता राजु लिम्बु थिए।

प्रतियोगिताको अन्तमा प्रमुख अतिथि बेलायतका लागि नेपाली महामहिम राजदूत डा. सुरेश राज चालिसे र बिशेष अतिथि रेडिंग बरो काउन्सिलका मेयर देबोराह एडवार्डले प्रथम हुने तथा दोस्रो हुने समूहलाई ट्रफी तथा नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगितामा रेडिंग तथा बेलायतका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।

ठूलो संख्यामा उपस्थित नेपाली तथा गैरनेपालीहरुको उपस्थितिमा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष सूर्य गुरुङ तथा रेडिंग नेपाली समाजका अध्यक्ष महेश गुरुङले संयुक्त रुपमा खेलको उदघाटन गरेका थिए। बेलायतका नाम चलेका नेपाली फूटबल क्लवहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली राष्ट्रिय फूटबल टोलीका चर्चित स्ट्राइकर अनिल गुरुङले सहारा फूटबल कल्बबाट खेलेका थिए। अत्यधिक फुटबल क्लबहरुको सहभागिता, आकर्षक शिल्ड र व्यापक जनसहभागीता यस बर्षको रेडिंग कपको बिशेषता रहेको कुरा अध्यक्ष्य महेश गुरुंगले बताए।

प्रतियोगिता सफल पार्नको लागि १५० भन्दा बढी स्वयंसेवक, कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकार तथा समाजका सम्पूर्ण सदस्यहरुको बिशेष सहभागिता रहेको कुरा समाजका महासचिब नारद भण्डारीले बताए।

कार्यक्रमको अन्तमा कार्यक्रमका स्पोन्सरहरुलाई समाजका उपाध्यक्ष रमेश बास्तोलाले धन्यबाद दिए भने प्रमुख अतिथि, अतिथि, खेलाडी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीहरुलाई समाजका अध्यक्ष्य महेश गुरुङले धन्यबाद दिएर कार्यक्रम समापन गरेका थिए।

Popularity: 5%

Add comment August 29th, 2011

एनआरएन पोर्तुगलले दिदीबहिनीहरुलाई दर खुवाउदै तीज मनायो

रामहरि लामिछाने / एचकेनेपाल डट कम-
लिस्बन, यस पालीको तीज त बबाल बरी लै ……यो गीतले भने झैँ पोर्तुगलमा रहेका नेपाली दिदीबहिनीहरुले यसपालीको तीज भब्य रुपमा मनाएका छन्।
गैरआवाशीय नेपाली संघ पोर्चुगलको आयोजनामा आइतबार पोर्तुगलको राजधानी लिस्बनको मार्केस पोम्बालमास्थित होटल फेनिक्समामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो।

गत बर्षहरु जस्तै यसपाली पनि एनआरएन पोर्तुगलले नेपाली दिदीबहिनीहरुलाई तीजको दर खुवादै नाच गान गराएको छ। कार्यक्रमलाई दुइ खण्डमा बिभाजन गरेर प्रस्तुत गरिएको थियो। एनसीसी सदस्य मकर हमाल प्रमुख अतिथि रहनुभएको कार्यक्रम संघका अध्यक्ष रमेश कुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको हो।

प्रमुख अतिथि मकर हमालले हरितालिका तीज पर्ब पारा पूर्व कालदेखि नै चलिआएको पर्ब भएकोले यसलाई जोगाउनु पर्ने धारणा राख्दै तीज पर्बको महत्वको बारेमा प्रकाश पार्नु भयो। यस्तै गरी, कार्यक्रमका अतिथि एबम एनआरएन पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले नेपाली संस्कार र रितीरिवाजलाई विदेश रहे पनि भुल्न नहुने र यसलाई जोगाई राख्ने हामीहरुको कर्तब्य हुने बताउनुभयो। संघका उपाध्यक्ष डिल्ली राम चापागाईंले स्वागत मन्तब्य राख्नु भएको औपचारिक कार्यक्रमलाई एनआरएन पोर्तुगलका सचिब नबिन गौतमले संचालन गर्नुभएको थियो।

यसैगरी, कार्यक्रमको दोश्रो खण्डमा दिदीबहिनीहरुलाई नाच गराउदै दर खुवाईएको थियो। तीज बिशेष समितिको संयोजक सिता बराल एबम् सदस्यहरुमा बिमला सेडाई, लक्ष्मी रेग्मी, गीता तिमिल्सिना, रिता गौतम, सबित्रा बस्नेत, राधा गौतम ढकाल, रमा , भगबती बस्नेत, बिमला पौडेल, लक्ष्मी पुन, इन्दिरा पुरी, इशा शर्मा, जग कुमारी गुरुङ, उमा गुरुङ, अनिता श्रेष्ठ, राजकुमारी घर्ति मगर, सन्तु राई, दीपा गौतम , रेखा पौडेल ,राधिका सापकोटा , लगयतका अन्य दिदीबहिनीहरुले कार्यक्रममा नाच गान गर्नु भएको थियो।

विदेशमा बसेर भोग्नु परेका पीडा एवं अनुभबहरुलाई पनि तीजको गीत मार्फत प्रस्तुत गरेका थिए। तीजका नया नया भाकाहरुमा दिदी बहिनीहरुले कम्मर मर्काई मर्काई नाचेका थिए।

Popularity: 5%

Add comment August 29th, 2011

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

एचकेनेपाल डट कम सम्वाददाता-
कुशे औँसीका दिन आज हिन्दू धर्मावलम्बी वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदैछन्।

शास्त्रोक्त विधिअनुसार ब्राहृमणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्।

गोकर्ण औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लाग्छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजै राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १३९ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

वि.सं.१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए।

Popularity: 9%

Add comment August 29th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2011
M T W T F S S
« Jul   Sep »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category

More news....