एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ असोज । मधेसी बुद्धिजीविहरुले मधेसका मुद्दा र र भावनाको अपमान गर्न खोजिए त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्।
उनीहरुले कसैले पनि कुनै वादको आधारमा मधेशका मुद्दालाई मुद्दै नठान्न र मधेशका जनतालाई अपमान गर्ने चष्टा नगर्न समेत चेतावनी दिए।
रिपोर्टर्स क्लव नेपाल पत्रकार सम्मेलन गर्दै मधेसी नागरिक समाजले गणतन्त्र स्थापनाका लागि मधेशहरुले पुर्याएको अविस्मरणीय योगदानको राष्ट्रले सम्मान नगर्नु, मधेशीलाई अपमान र तिरस्कृत र भेदभाव गर्नु राष्ट्रको लागि दुर्भाग्य हुने चेतावनी दिए।
समाजले मधेशीहरुको आवाजलाई अन्य दल र राष्ट्रले कसरी उपेक्षित गरेको छ भन्ने प्रमाण एकीकृत नेकपा माओवादी र संयुक्त मधेशी मोर्चाबीचको सहमतिविरुद्ध उठेका उत्ऋङ्खला आवाजहरुले देखाएको दावी उनीहरुको थियो।
समाजले चार बुँदेको विश्लेषण गर्दै भने- मधेशमा उत्पीडित, जनजाति, महिला मधेशीहरुलाई राज्यको प्रत्येक अंगमा समावेशी गर्नु, मधेशीहरुलाई राष्ट्रिय सेनामा समावेशी करण गरी राष्ट्रियताको रक्षार्थ अवसर प्राप्त गर्नु, भौगोलिक विविधताको आधारमा राष्ट्रिय पोशाकको व्यवस्था गर्नु, झुटा मुद्दा खारेज गर्नुलाई राष्ट्रघाती सहमति भएको भनी मधेश र मधेशका जनतालाई अपमान गरिएको ठानेको छ।
पत्रकार सम्मेलनमा बोल्दै मधेश नागरिक समाजका अध्यक्ष डा. डम्बरनारायण यादवले भने चार बुँदे सहमति सबै वर्गका लागि समावेशी सहमति भएको हुँदा चार बुँदेलाई गलत अर्थ लगाएर मधेशका जनताको भावनामा ठेस पुग्ने काम गर्नु मधेशले विद्रोहको लागि उक्साउनु भएको दावी गरे।
उनले भने रक्षा मन्त्रीको अभिव्यक्ति समावेशी र मधेशको भावनालाई समेटिएको थियो। भोलि पहाडेको विषयमा समावेशी तरिकाले कुनै नेताले बोल्छ भने हामी त्यसको समर्थन गर्छौं।
मधेशी जनअधिकारका केन्द्रीय सदस्य तथा मधेश नागरिक समाजका उपाध्यक्ष रामेश्वर साहले भने मधेशका उत्पीडित, दलित, पिछडा वर्गलाई उपेक्षा गर्न खोजियो भने मधेश विद्रोह सुरु हुन्छ।
उनले भने चार बुँदे सहमतिलाई राष्ट्रघाती हो भनेर मधेशलाई बदनाम गर्न खोजिए, संयुक्त मधेशी मोर्चाले विद्रोह नगरे, मधेशका जनताले मधेश विद्रोह सुरु गर्ने दावी गरे।
एचकेनेपाल डट कम संवाददाता-
गोरखा जिल्लाको आँपपिपल गाविस वडा नम्बर ४ मा यही असोज १५ गते राष्ट्रिय लिगलिगे दौड प्रतियोगिता हुने भएको छ।
लिगलिगकोट विकास अभियान, गोरखाको संरक्षकत्व कन्सेप्ट नेपाल काठमाडौँद्वारा आयोजित पत्रकार सम्मेलनमा लगभग ६५ जना खेलाडीको सहगागिता रहने जानकारी दिइयो।
ऐतिहासिकस्थल गोरखा, लमजुङ र तनहुँको सिमानामा पर्ने मर्स्याङ्दी र चम्पादेवीको दोभान चेपेघाटबाट सुरु हुने सो दौड लिगलिगकोटको दरबारसम्म करिब १३ किलोमिटर दूरी पार गर्दै दौड सम्पन्न हुनेछ।
कार्यक्रम संयोजक सञ्जीव रानाले आन्तरिक तथा बाह्य पर्यटकलाई ऐतिहासिकस्थलतर्फ आकर्षण गरी सो क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले दौडको आयोजना गर्न लागिएको बताउनुभयो।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमशः रु ५० हजार, २५ हजार, रु १० हजार, रु पाँच हजार र रु तीन हजार प्राप्त गर्नेछन्।
एचकेनेपाल डट कम संवाददाता-
बयालिस वर्षपछि दोस्रो पटक महिला साहित्यकारका रूपमा मदन पुरस्कार विजेता झमक घिमिरेलाई विशेष समारोहमा सो पुरस्कार प्रदान गरियो।
मदन पुरस्कार गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको मदन पुरस्कार गत वर्षका निम्ति साहित्यकार घिमिरेले …जीवन काँडा कि फूल’ नामक निबन्ध कृतिका लागि प्राप्त गर्नुभएको हो।
वि.सं.२०३७ मा जन्मनुभएका झमक शारिरीकरूपमा अशक्त हुनुहुन्छ। औपचारिक शिक्षा नलिई अनौपचारिक शिक्षाबाटै साहित्य लेखनमा उहाँ सक्रिय रहनुभएको छ ।
मदन पुरस्कारसँगै कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई जगदम्बाश्री पुरस्कार प्रदान गरियो।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार प्रदान गर्न थालेको हो। हालसम्म साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका ६६ जना साहित्यिक व्यक्तित्वलाई सो पुरस्कारद्वारा सम्मान गरिसकिएको छ। यसैगरी गुठीले २०४५ सालदेखि जगदम्बाश्री पुरस्कार प्रदान गर्न थालेको हो। हालसम्म यसबाट २३ जना सम्मानित हुनुभएको छ।
दुवै पुरस्कारको राशि रु दुई लाख रहेको छ।
समारोहमा पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले घिमिरेलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मदन पुरस्कारले निकै सहयोग पुर्याएको विचार व्यक्त गर्नुभयो।
गुठीका अध्यक्ष कमलमणि दीक्षितले साहित्य क्षेत्रमा ठूलो योगदान पुर्याउने दुई स्रष्टालाई सम्मान गर्न पाएकामा गौरवान्वित महसुस भएको बताउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
बुद्ध एयरको यही असोज ८ गते दुर्घटना भएको विमानका सम्बन्धमा जाँचबुझ गर्न सरकारद्वारा गठित दुर्घटना जाँच आयोग २०६८ ले असोज १० गतेदेखि कार्य आरम्भ गरेको छ।
दुर्घटना जाँच आयोगका पदाधिकारीले काम आरम्भ गरेको दिन दुर्घटनास्थलतर्फ प्रस्थान गरी दुर्घटनास्थलको निरीक्षण, प्राविधिक नापजाँच र उद्धार कार्यमा संलग्न गाउँले र सुरक्षाकर्मीसँग आवश्यक सोध तथा छलफल गर्यो।
हिमालको दृश्यावलोकन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कने क्रममा ललितपुरको विसङ्खुनारायण गाविस र लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो।
आयोगद्वारा प्रकाशित विज्ञप्तिमा दुर्घटनाग्रस्त उक्त विमानका प्रमुख चालक क्याप्टेन जनकबुद्ध ताम्राकार, क्याप्टेन पद्मा अधिकारी र विमान परिचारिका अस्मिता श्रेष्ठसहित १० जना भारतीय, तीनजना नेपाली, दुई अमेरिकी र एकजना जापानी नागरिक गरी १९ जनाको दुःखद् निधन भएकोमा आयोग कर्मचारीलगायत सम्पूर्ण विदेशी एवम् स्वदेशी यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।
विज्ञप्तिमा यस आयोगलाई आयश्वक पर्ने सूचना जानकारी उपलब्ध गराइदिन दुर्घटना जाँचको कार्यमा सहयोग पुर्याउन सबैमा आग्रह पनि गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घले संयुक्तरूपमा नेपाल सरकारको सहयोगमा यही असोज २५ देखि २७ गतेसम्म काठमाडौंमा पाँचौं गैरआवासीय नेपाली विश्व सम्मेलन हुने भएको छ।
यस वर्षको सम्मेलनको नारा “हाम्रो सञ्जाल – हाम्रो पहिचान : समृद्ध नेपाल” रहेको छ।
परराष्ट्र मन्त्रालय, सिंहदरबारमा बसेको सो सम्मेलन उच्चस्तरीय आयोजक समितिको आजको बैठकको अध्यक्षता गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक कूटनीति कार्यान्वयनलाई जोड दिएको र यसक्रममा गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीप तथा पुँजी लगानीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रभावकारीरूपमा प्रयोग गर्ने नीति रहेको बताउनुभयो।
गैरआवासीय नेपालीको नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउने र नेपालको विकासमा गैरआवासीय नेपालीको योगदान बढाउने सम्बन्धमा छलफल गरी निष्कर्षमा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
उक्त अवसरमा सम्मेलन सफलतापूर्वक आयोजना गर्न हालसम्म भएका तयारी कार्यको समीक्षा गरिनाका साथै सङ्घका तर्फबाट हालसम्म सम्पादन भएका कार्यको विवरण पेस गरियो।
सरकारले सो सम्मेलनलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। विश्वका विभिन्न मुलुकबाट करिब ७०० गैरआवासीय नेपालीको सम्मेलनमा सहभागिता रहने अपेक्षा परराष्ट्र मन्त्रालयले गरेको छ।
सन्तोष काफ्ले / एचनेपाल डट कम-
धरान, १२ असोज । सुनसरीको धरान १८ स्थित आन्टी होटलमा विहीवार वेलुका पौने नौ बजे भिषण आगलागी भएको छ।
धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुल गेट अगाडि रहेको इन्द्रधन लिम्वूको घरमा रहेको आन्टी होटलमा आगलागी हुदा करीब साढे १८ लाख वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
होटलमा विधुत र्सट भएर आगलागी भएको वताइएको छ। घरधनी इन्द्रहाङ लिम्बुको काठको घर जलेर नस्ट भएको छ। आगलागीले काठको घर पूर्ण जलेर ध्वस्त हुंदा पाँच लाख क्षति भएको छ भने आन्टी होटलका सञ्चालिका शर्मिला राईको पाँच लाख, डेरागरी वस्ने गीता उप्रेतीको नगद १ लाखसहित ६ लाख र रमेश देवको डेढ लाख क्षति भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो।
धरान नगरपालिकाको दुईवटा दमकल इटहरी नगरपालिकाको दमकल जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुरक्षागार्ड र स्थानीयवासीले करीव २ घण्टामा आगो नियन्त्रणमा लिएका थिए।
आगलागीवाट आसपासका घरहरुलाई पनि आगोको लप्काले भेटेपछि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। समयमै आगो नियन्त्रण भएकोले ठूलो क्षति हुनवाट वचेको थियो। आगो निभाउन अलिक ढिलो भएको भए प्रतिष्ठान अगाडिको औषधी पसल र घरहरुमा करोडौको क्षति हुनका साथै जन धनको क्षति हुनसक्ने स्थानीयले वताए।
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १२ असोज । लिम्बू विद्यार्थी मञ्चको दोस्रो राष्ट्रिय परिषद् बैठक धरानमा सुरु भएको छ।
दुइ दिनसम्म चल्ने बैठकको मञ्चका सल्लाहकार एवं वरिष्ठ पत्रकार हर्ष सुब्बाले विहीवार चुम्लुङ हिमको सभाहलमा उद्घाटन गर्नुभयो।
बैठकमा १३ जिल्लाका २६ जना प्रतिनिधि र सल्लाहकार तथा केन्द्रीय कार्यसमिति गरि ५० भन्दा वढिको सहभागिता रहने आयोजकले जनाएको छ।
अरुणपूर्वका ९ जिल्ला र काठमाडौ, ललितपुर, भक्तपुर र सिक्किमका प्रतिनिधिहरुको सहभागिता रहेको मञ्चका केन्द्रीय सचिव अविनाश येक्तेनले बताउनु भयो। उहाँले संघीय संरचनामा शिक्षा र पाठ्यपुस्तक निर्माण कसरी गर्ने भन्ने विषयमा रणनीति तयार पार्ने बताउनु भयो।
मातृभाषा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान भन्ने मूल नाराका साथ सुरु भएको बैठकको सभापतित्व मञ्चका अध्यक्ष प्रेम येक्तेनले गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बू, केन्द्रीय सदस्य योगेन्द्र पालुङ्वा, जिल्ला अध्यक्ष चन्द्रबहादुर थक्लुङ लगायतको उपस्थिति रहेको थियो।
पहिलो राष्ट्रिय परिषद्को बैठक २०६६ जेष्ठ १ र २ गते तेह्रथुममा भएको थियो भने सो बैठकबाट राज्य पुनर्संरचनामा लिम्बुवान प्रान्तलाई टुक्राउन नपाउने निर्णय भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १२ असोज । बाल बैज्ञानिकको उपाधि पाएका नविन विश्वकर्माले हाल निर्माण गर्न लागेको नयाँ ढंगको हेलिकोप्टर निर्माणका लागि आम जनसमुदायसँग सहयोगका लागि आह्वान गरेका छन्।
बिहिबार रिपोर्टर्स क्वल नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले सामान्य जनताले पनि चलाउने र घरको छलमा ओराल्न सकिने रेभूलेशन नामक हेलिकोप्टर निर्माण गर्न करिव ४० लाख लाग्ने हुँदा त्यो क्षमता आफूसँग नभएको भन्दै आमजनसमूदायमा सहयोगको आहृवान गरेका हुन्।
निर्माण गर्न लागेको हेलिकोप्टरका लागि २५ लाख र बाँकी रकम ल्याव स्थापना गर्न लाग्ने भएकाले नेपाल सरकारसँग रकम उपलब्ध गराउन २०५८ सालदेखि पहल गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै आफु जनसमुदायसँग हार गुहार गर्न बाध्य हुनुपरेको जिकिर गरे।
२०१२ सम्ममा हेलिकोप्टर बनाई उडाउने लक्ष राखेका नविनले सजिलो र जहाँ पनि बस्न सक्ने हेलिकोप्टरको निर्माणपछि रुकुम, रोल्पा जस्ता विकट जिल्लामा फलेका खाद्यन्न फलफूलको बजार व्यवस्थामा गर्न सहज हुने र आर्थिक उपार्जनमा देशले ठूलो फड्को मार्ने ठोकुवा गरे।
रुकुम खलंगा ५ निवासी नविनले भने आफूले निर्माण गरेको दुइ जना सवारी चालकसहित सात सय केजीसम्मको भार बोक्ने सक्ने रेभूलेशन नामक हेलिकोप्टरले दश वर्षको अन्तरालमा सैयौं युवा वर्गको जागिर सुनिश्चित गर्छ त्यसका लागि सबै तह र तप्काबाट सहयोगको अपेक्षा गर्दछु।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १२ असोज । राष्ट्रिय सममुक्ति पार्टी नेपालमा रहेको ६० लाख दलितहरुको छुट्टै राज्य हुनुपर्ने माग गरेको छ।
उनीहरुले भूबनोटको आधारमा पश्चिमका कुनै जिल्लालाई तोकेर ६० लाख दलितहरुको छुट्टै दलित राज्य बनाए मात्र दलित वर्गको अस्तित्व र सदिऔं वर्षदेखि चलिआएको छुवाछूतको अन्त्य हुने भन्दै अलग राज्यको माग गरेका हुन्।
बिहिबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उत्पीडित, दलित वर्गको उत्थानका लागि देश व्यापी रुपमा संगठन विस्तार गरी वैकल्पिक राजनीतिक शक्तिको महान अभियान थालनी गरेको दावी गरेका छन्।
मनुवादबाट निर्देशित जातीय आडम्बरमा लिप्त मध्ययुगिन सोचबाट ग्रसित नव सामन्ती तथा एकात्मक ब्राम्हणवादी राज्यसत्ताका हिमायतीहरुले दलित वर्गको मागलाई सम्बोधन नगर्ने ठोकुवा गर्दै सममुक्ति पार्टीमा उत्पीडित वर्गको अधिकारका निम्ति आम जनसमुदायलाई अधिकारको लडाईमा संगठित हुन आव्हान गरेका छन्।
उनीहरुले प्रतिक्रान्ति र दलित मुक्तिका लागि दलितले राखेको मागलाई सुनिश्चित गर्न २२२१७ हतियार विहिन सेनालाई धादिङको बेनिघाटमा तालिम दिइरहेको दावी गरेका छन्।
उनीहरुले पार्टीका तात्कालीन पार्टी अध्यक्ष ठाकुर चन्द्र गहतराजलाई २०६७ भाद्र २५ गते नै पार्टीको साधारण सदस्यसमेत नहुने गरी पार्टीबाट निश्कासन गरेकोमा नीज गहतराजले आफू अझै राष्ट्रिय सममुक्ति पार्टीको अध्यक्ष हुँ भन्दै चन्दा उठाई हिँडेकोमा आपत्ति जनाउँदै आईन्दा उनीसँग कसैले कुनै प्रकारको काम कारवाही नगर्न अनुरोध गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ असोज । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सरकार निर्माणको क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डले पार्टी नीति विपरित गरेको चार बुँदे सम्झौता खारेज नभए तेस्रो जनआन्दोलन गर्ने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले बुधवारबाटै आन्दोलन सुरु भईसकेको र यसले छिट्टै तेस्रो जनआन्दोलनको रुप लिने दावी गरे।
साक्षात्कारमा उनले भने-राष्ट्रभन्दा ठूलो सरकार वा अरु केही हुँदैन त्यसैले राष्ट्रघाती चार बुँदे सम्झौता खारेज नहुँदा सम्म आन्दोलन जारी रहन्छ। गजुरेलले लडाकुको हतियार राखिएको कन्टेनरको साँचो बुझाउने विवाद भन्दा ठूलो विषय राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्ने चार बुँदे सहमति भएको भन्दै त्यो पार्टीको घोषित नीतिको समेत विरुद्ध रहेको ठोकुवा गरे । उनले भने-चार बुँदे खारेज नगर्ने हो भने पार्टीको घोषित नीति नै बदल्नु पर्छ । पार्टीको लाईन लागु गर्न सधै विरोध गर्न पाईन्छ। चार बुँदे सहमति पार्टी निर्णय र लाईन विपरित छ।
उनले रक्षामन्त्रीको पछिल्लो मुलुक टुक्राउने अभिब्यक्ति चार बुँदे सहमतिकै अर्न्तबस्तु भएको भन्दै राष्ट्रिय अखण्ड राख्ने जिम्मेवारी पुरा नगर्ने सरकारको औचित्य नभएको दावी गरे। चार बुँदे सहमतिमा रहेको विवाद जारी रहे प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार नै नरहने ठोकुवा गरे।
उनले भने-हामीले राष्ट्र र जनताको सेवाको लागि सरकार बनाएका हौ राष्ट्रघात गर्न होइन। यसको हामी सधै विरोध गरिरहन्छौ तर बेवास्ता गर्दै जाने हो भने सरकारको पनि काम छैन। फिर्ता बोलाउनुपर्छ । राष्ट्र भन्दा ठूलो सरकार होइन।
मधेसी मोर्चासँग बार्ता गर्न पाँच जनाको समिति बनाएकोमा प्रधानमन्त्री र अध्यक्ष एक्लैले सहमति गर्नु भयो अब उहाँहरुले सम्झौता भएकोमा आत्मालोचना गरेर खारेज गर्नु पर्छ-उनले जोड दिदै भने।
सचिव गजुरेलले रक्षामन्त्रीले बोलेको कुरालाई प्रधानमन्त्रीले मिडियामार्फत त्यस्तो आशयमा नबोलेको भनि स्पष्टीकरण दिनुलाई नाङगो झुठको संज्ञा दिदै प्रधानमन्त्रीले रक्षामन्त्रीको अभिब्यक्तिको विषयमा जवाफ र वर्खास्तीको लागि पहल लिनु पर्ने माग गरे।
उनले रक्षामन्त्रीको पछिल्लो विवादित अभिब्यक्तिको विरुद्ध प्रधानमन्त्री डा बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेर औपचारिक रुपमा विरोध गर्नु पर्नेमा चु सम्म नबोलेकोमा आक्रोशसमेत ब्यक्त गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले बरिष्ठ नेता शेरबहादुर देउवाले बुधवार केन्द्रीय सदस्यको पदबाट दिएको राजिनामा फिर्ता लिनु पर्ने भन्दै अब काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नेता देउवासहित मात्र बस्ने दावी गरे।
विहीवार राजधानीमा आयोजित कार्यक्रममा उनले भने- पार्टीले देउवालाई राजिनामा फिर्ता लिने बातावरण निर्माण गर्नु पर्छ। सहमति जुटाएर अगाडि बढ्नुको विकल्प छैन।
नेता केसीले पार्टीको विवाद मिलाउन नसके शान्ति र संविधान सहज नहुने भन्दै पार्टी विवाद चर्किए ठूलो चुनौतिको सामना गर्नु पर्ने तर्क गरे।
लोकतन्त्रमा बहुमतबाट भएको निर्णय नै उचित हुने भन्दै पार्टीले बहुमतबाट गरेको भातृसंगठन विघठटको निर्णय फिर्ता गर्न नहुने उनले स्पष्ट पारे। उनले भने-बहुमतले गरेको निर्णय फिर्ता लिनु ठीक हुँदैन । केन्द्रीय कार्य समितिको निर्णयको परिधि भित्रै रहेर विवाद संयोजन गर्नुपर्छ। तर अल्पमतको पनि सम्मान भने गर्नु पर्छ।
केसीले विघटित भातृ संगठनको निर्वतमान अध्यक्षको संयोजकत्वमा सबै पक्षको प्रतिनिधित्व हुने गरी महाधिवेशन आयोजक कमिटि गठन हुनु पर्ने र त्यसलाई अनुगमन गर्न पार्टीमा भिन्नै संयन्त्र निर्माण गरेर विवादको समाधान निकाल्नु पर्ने बताए । यसमा सभापति समेत सकारात्मक रहेको उनको भनाई थियो।
त्यसै अनसन तोडन नमिल्ने भएकोले नैतिकताको हिसावमा बरिष्ठ नेता देउवाले राजिनामा दिएको दावी गर्दै काग्रेस घात प्रतिघात सहदै आएको लोकतान्त्रिक पार्टी भएकोले पार्टी कुनै पनि हालतमा नफुट्न बरु संहमतिका साथ अझै एकताबद्ध भएर अगाडि बढ्ने ठोकुवा पनि गरे।
एचकेनेपाल डट कम संवाददाता-
जापान, १२ असोज। जापानमा रहेका भवन भट्टले आगामी गैरआवासीय नेपाली पाचौँ विश्व सम्मेलनमा सम्पन्न हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरार्ष्ट्रिय समन्वय परिषद् (आईसिसि) को निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष पदकालागि भवन भट्टको उम्मेदवारी घोषणा
महान चाड दशैंसँगै विश्वभर रहेका नेपालीहरुको अर्को महानपर्व पनिसँगै आइरहेको छ । संसारका कुना काप्चामा रहेका नेपालीहरुलाई एकताको भावनात्मक साङ्लोमा गाँस्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) को पाचौं विश्व सम्मेलन हाम्रो सम्मुख रहेको छ।
आजभन्दा आठ बर्ष अघि नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ स्थापना भएको गैर आवासीय नेपाली संघले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । यसले सार्क मुलुक बाहेक विश्वका विभिन्न छपन्न मुलुकमा छरिएररहेका नेपालीलाई भावनात्मक सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। एनआरएनए अव एक स्थापित नाम बनिसकेको छ भने नेपाल सरकारले पनि यसलाई सम्वोधन गर्दै ऐन र नियमावली ल्याइसकेको छ।
पछिल्लो समयमा बाक्लिएको विदेशीने क्रमले करिब तीस लाख नेपाली देश बाहिर रहेका छन् । राष्ट्रको मेरुदण्डकारुपमा रहेका धेरै युवाहरु विदेशमा छन् । यस्तो अवस्थामा एनआरएन अभियानको सार्थकताले अझ महत्व राख्छ भन्ने मेरो बुझाइ छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि मेरो सक्रियताको पहिलो उद्देश्य भनेकै एनआरएन अभियानको निरन्तरता र यसलाई बलियो बनाउनु हो । म यस अभियानमा निरन्तर लागिरहने प्रतिबध्दता प्रकट गर्न चाहन्छु।
अहिलेको अवस्थालाई नियाल्ने हो भने गैर आवासीय नेपालीहरुले नेपालमा विभिन्न सामाजिक कार्यको सुरुआत गर्नुको साथै स्वदेश र विदेशमा रहेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् । प्रवासमा आफू रहेको देशलाई विपत्ती र समस्या पर्दा पनि तन, मन र धनले सहयोग गरिरहेका छन् । उनीहरुको पीडामा मल्हम लगाउने प्रयास गरिरहेका छन् । एनआरएन जापानले सुनामी पीडितको सहयोगार्थ संचालन गरेको अभियान यसैको उदाहरण हो । एनआरएनको उद्देश्य अनुरुप हामी प्रवासमा रहेका नेपालीहरु जन्मभूमी र कर्मभूमीप्रति हामी उत्तिकै समर्पित हुनै पर्दछ भन्ने मान्यता राखेर तदनुरुप सक्दो गर्दै आएका छौं।
एनआरएनको स्थापनाकाल देखि सक्रिय मैले एनआरएन जापानको राष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष पदमा रहेर सफलतापूर्वक सम्पन्न गरिसकेको छु । त्यसअघि र पछि पनि एनआरएनको गतिविधि र यसको कार्ययोजनासँग अत्यन्त निकट रहेर आफ्नो क्षमताले भ्याएसम्म सघाउने काम गरिरहेको छु।
एनआरएन जापानको आयोजनामा भर्खरै जापानमा करिब दुइलाख ब्यक्तिहरु सहभागी नेपाल महोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा मेरो आफ्नै अध्यक्षतामा रहेको आयोजक कमिटीले एनआरएन जापानको पहलमा करिब एकलाख बीस हजार जापानी नागरिकलाई नेपाल बारे जानकारी दिन सफल भएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने छ । स्मरण रहोस, नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन जापानका लागि नेपाल पर्यटन बर्ष नेपाली अवैतनिक दूतका रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छु।
आफ्नो ब्यवसायका अलावा सामाजिक काम र नेपालीहरुलाई सहयोग नै मेरो ध्येय रहेको छ । एनआरएन जापानको अध्यक्ष रहँदा र अन्य पदमा रहेर कामगर्दाको अनुभव र अव एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदलाई थप मजवुत र गतिशिल बनाएर लैजानु पर्छ, एकपल्टको नेपाली सधैंको नेपाली भन्ने नारा ब्यवहारमा उतार्नुपर्छ भन्ने अभिप्रायले अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा हुने पाँचौं विश्व सम्मेलमा अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी ) को कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु।
देशको आर्थिक विकास विना अन्य सर्वागिंण विकास असम्भव प्रायनै हुन्छ । त्यसैले देशको आर्थिक विकासकालागि केही योगदान पुगोस भनेर नेपालको पहिलो आर्थिक दैनिकको रुपमा कारोवारको सुरुआत गरेको छु । यो नेपालको आर्थिक विकासमा सहायक सिद्ध हुनुका अतिरिक्त सम्पूर्ण एनआरएनको साझा बन्नेमा विश्वस्त छु।
एनआरएनमा मेरो योगदानको मूल्यांकन गर्दै मेरा श्रद्धेय अग्रजहरु, सहयात्री तथा सहकर्मीहरु र सम्पूर्ण एनआरएन साथीहरुले मलाइ यस गरिमामय पदमा निर्वाचित गराउनु हुनेछ भन्ने मेरो विश्वास रहेको छ । एनआरएन अभियानलाई सार्थक बनाउन तथा यसको स्थायित्व र यसका एजेन्डालाई अघि बढाउन सहयोग पाउनेमा आशाबादी रहेको छु।
एनआरएन आइसीसीको कोषाध्यक्षको रुपमा मेरा केही एजेन्डाहरु रहेका छन्।
एजेन्डाहरु
क, संस्थामा आर्थिक पारदर्शिता कायम राख्न पहल गर्ने छु।
ख, आफ्नो कार्य अवधि अर्थात २ बर्षका बीचमा नेपालमा गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माणका लागि क्रियाशिल हुनेछु । दुई बर्षकाबीचमा एनआरएनएको आफ्नै छुट्टै भवन रहने छ।
ग, एनआरएनए आइसीसीका दैनिक गतिविधि संचालन र यसको निरन्तरताकालागि एउटा कोषको स्थापनाका जोड दिने छु।
घ, संस्थापक अध्यक्ष तथा एनआरएनएका बर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोज्यूको योजना हन्ड्रेड मिलियन डलर फन्डलाई ब्यवहारमा उतार्न प्रयत्नसिल रहनेछु । यस अभियानका अग्रजहरुको सहयोग र समर्थन पाएमा यस कार्यलाई अगाडि बढाउन कोषाध्यक्षको हैसियतले प्रमुख जिम्मेवारी लिने सोच बनाएको छु।
ङ, त्यस्तै नेपालको पर्यटन प्रवर्धनकालागि विशेष ध्यान दिने छु । नेपाली राष्ट्रिय ध्वजाबाहक विमानसेवाको अवस्था राम्रो नभएको सबैलाई जानकारीमा नै रहेको छ । यसले स्वदेशी तथा विदेशी यात्रुलाई आवश्यक सेवा दिन नसकिरहेको र बार्षिकरुपमा अरवौं रकम विदेशिई रहेको छ । यस्तो अवस्थामा निकट भविश्यमा संचालन हुन लागेको भगवान बुद्ध एअरवेजलाई एनआरएनको साझा लगानीको परियोजनाका रुपमा अघि बढाउने प्रयास गर्ने छु । यसले नेपालको पर्यटन र समग्र आर्थिक विकासमा टेवा पुग्ने मेरो विश्वास छ।
च, नेपालमा एनआरएनहरुको लगानी प्रवर्धनलाई महत्व दिदैं सामूहिक लगानीमा संचालन हुन सक्ने साना तथा ठूला परियोजनाहरु तयार गरी कार्यान्वयनका निम्ति वातावरण तयार विशेष पहल गर्ने छु।
छ, म्युचुअल फण्ड सरकारले लागु गर्न नसकेको अवस्थामा BVI पद्धतीलाई लागु गरी म्युचुअल फण्ड खडा गर्ने प्रयास गर्ने छु। सामुहिक एजेण्डा
क, नेपालीका लागि नेपाली र एक फेरिको नेपाली सधैको नेपाली भन्ने नारालाई सार्थक बनाउन, गैरआवासीय नेपाली संघले भन्दै आएको नेपालमा ज्ञान, सिप, पुजि र अनुभवहरुको लगानि गर्ने कार्यलाई गैरआवासीय नेपाली संघलाई एक टिमको रुपमा अघि बढाई, नेपालको चौतर्फि विकासमा टेवा पुर्याउने । नेपाल विकासको लागि एकल लगानि, सामुहिका लगानि, खुल्ला विश्वविद्यालयको अवधारणा, परोपकारि कार्यक्रम आदिमा अग्रसर रहन गैरआवासीय नेपालीहरुलाई प्रोतसान गर्ने र सांगठनिक सहयोगका लागि तत्पर रहने।
ख, नेपालमा शान्ति स्थापना र संविधान निर्माणका लागि पुर्ण रुपमा गैरआवासीय नेपालीहरुको तर्फबाट नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा समग्र नेपाली समाजलाई सहयोग गर्नुको साथै, राष्ट्रहितका यी महत्वपूर्ण कामलाई फत्ते गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई सदैव रचनात्मक दवाव सहित अनुरोध गर्ने।
ग, विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग्न नपर्ने प्रावधान आगामी संविधानमा राख्न राजनीतिक दलहरुलाई अनुरोध गरी तार्किक निष्कर्शमा पुराउने।
घ, सरकारलाई गैरआवासीय नेपाली ऐनलाई संसोधन गर्न अनुरोध गरि गैरआवासीय नेपालीको परिभाषालाई ऐनमा सच्चाउने । गैरआवासीय नेपाली संघको विधान अनुरुपको १८२ दिन भन्दा बढी सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने नेपाली तथा नेपाली मुलका विदेशीलाई गैरआवासीय नेपालीको परिभाषामा समेट्ने । यसैलाई आधार बनाएर संस्था दर्ता गर्ने।
ङ, वैदेशिक रोजगारमा सजिलोपन, श्रम अधिकार, सुरक्षा सहित वैदेशिका रोजगारलाई संस्थागत गर्न भरपुर मेहेनत गर्ने।
च, अहिले सम्म गैरआवासीय नेपाली संघले उठाएका एजेण्डाहरुलाई पूर्णता दिने।
आदि। अनुभव
गैरआवासीय नेपाली संघ (एनआरएनए) संग
गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान केन्द्रीय सदस्य २००४ - २००८
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान अध्यक्ष २००८ -२०१०
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान जापान विशेष सल्लाहकार २०१०-२०११
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान संरक्षक २०११
एनआरएन आइसीसीका सम्पूर्ण कार्यक्रममा ब्यक्तिगत र संस्थागत सहभागिता
नेपाल फेस्टिबल २०११ संयोजक
शिक्षा
प्रारम्भिक - सिद्धार्थी बनस्थलि माबि
उच्च -टोकाइ विश्वविद्यालय जापान
पेशा
ब्यापार
संस्थापक अध्यक्ष, टीवीआइ ग्रुप जापान (बहुराष्ट्रिय कम्पनी)
अध्यक्ष टीवीआइ पब्लिकेशन्स काठमाडौं (कारोवार राष्ट्रिय दैनिक )
अन्य संलग्नता
अध्यक्ष बीबी ट्रस्ट
अध्यक्ष नेपाली ब्यवसायी संगठन जापान
अवैतनिक दूत नेपाल पर्यटन बर्ष २०११
निर्देशक जापान नेपाल सोसाइटी
संस्थापक
यदु भट्ट शिक्षा पुरस्कार
बीबी युथ अवार्ड
प्रकाशन
हीरा गीति एल्वम (रचनाकार )
यहाँहरुको साथ,सहयोगको आशा र भरोसाको अपेक्षा राख्दै काठमाडौंमा हुने पाँचौ विश्वसम्मेलनमा भेटने वाचा गर्दछु।
भवन भट्ट
टोक्यो, जापान
हङकङ, २९ सेप्टेम्बर । बिहान सबेरैदेखि जारी ताइफुन नं. ८ (आँधी बेहरी) साँझ पाँच बजे घटेर ३ नं.मा पुगेको छ। यसअघि, टाइफुन नं. ८ आएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको थियो। टाइफुनका कारण विहीवार विद्यालय, कलेज, सरकारी कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरु बन्द भएका थिए। (more…)
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी धरान, ११ असोज । चोरी डकैती अपारधिक क्रियाकलापमा सडक बालकहरुको संग्लनता बढेको भन्दै इलाका प्रहरी कार्यालय धरानले यहाँका ३० भन्दा वढी सडक बालकहरुलाई नियन्त्रणमा लिएको छ।
दुई महिनाअगाडि आफ्नै साथीको हत्या तथा मंगलबार एक पसलमा चोरीमा समेत सडक बालकको संलग्नता पाइएपछि इप्रकाले मंगलबार राति तथा बुधवार दिनभरमा धरानमा रहेका ३० धन्दा बढी सडक बालकहरुलाई नियन्त्रणमा लिएको हो।
सानातिना चोरीमा समेत सडक बालकहरुको संलग्नता रहदै आएकोले उनीहरुलाई पुनस्थापनमको लागि नियन्त्रणमा लिइएको इप्रका धरानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र विष्टले वताउनुभयो। नियन्त्रणमा लिइएका मध्ये धरान बाहिर घर भएकाहरुलाई विभिन्न संघ संस्थाको सहयोगमा घर फर्काइएको तथा धरानलाई पनि उनीहरुका अभिभावक बोलाई सचेत गराई उनीहरुलाई जिम्मा लगाउने उहाँले जानकारी दिनुभयो।
यसले बालबालिकाहरुलाई सडकमा आउनमा केही हदसम्म नियन्त्रण हुनका साथै परिवार समेत सचेत हुने प्रहरीको विश्वास छ। अधिकांश बालबालिका अभिभावकका कारण सडकमा आउने गरेकोले अभिभावकहरुलाई समेत सचेत गराइएको र उनीहरुले चोरी गरेको समान खरिद गर्ने व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिइएको प्रनाउ विष्टले जानारी दिनुभयो।
अधिकांश सडक बालकहरु ड्रनलाईट नामक लागुऔषध सेवन गर्ने गरेको र यो सेवनपश्चात अपारिधिक क्रियाकलापमा संलग्न हुने गरेको उहाँको भनाई छ।
यो ड्रनलाईट जुत्ता तथा सवारी साधनको टायर टाँस्न प्रयोग गरिने एक प्रकारको गम भएकाले यसका विक्रेताहरुलाई समेत सचेत गराइएको प्रनाउ विष्टले जानकारी दिनु भयो।
धरानमा हाल ६० को हाराहारीमा सडक बालकहरु रहेको अनुमान गरिएको छ।
सन्तोष काफ्ले/ एचकेनेपाल डट कम-
सुनसरी धरान, ११ असोज । २२ वटा जिल्लालाई गाभेर देश टुक्रयाउने धम्की दिएको भन्दै एमाले युवा संघले बुधवार धरानमा वर्तमान रक्षामन्त्री शरदसिंह भण्डारीको पुत्ला दहन गरेको छ।
एमालेको भातृसंगठन युवा संघ नेपाल धरान नगर र १ नं. क्षेत्रीय कमिटिले संयुक्तरुपमा मन्त्री भण्डारीको राजिनमाको माग गर्दै पुत्ला दहन गरेको हो।
धरानको भानुचौकमा रक्षामन्त्री भण्डारीको पुत्ला दहन गरिएको थियो। सो क्रममा देश टुक्रयाउने धम्की दिने रक्षामन्त्री मुर्दावादलगायतको सरकारको विरोधका चर्का नारावाजी गर्दै युवा संघका कार्यकर्ताले र्र्याली निकालेका थिए।
पुत्ला दहनपछि आयोजित कार्यक्रममा युवा संघ नगरका अध्यक्ष पारस काङमाङ राई, १ नं. क्षेत्रीय कमिटि अध्यक्ष रमेश लिम्बूलगायतले देश टुक्रयाउन धम्की दिने रक्षामन्त्रीलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने तथा उनले तत्काल राजिनमा दिनुपर्नै मागसमेत गर्नुभएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
चितवन, ११ असोज। विगत २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट व्यतिलाई प्रत्येक वर्ष ‘पद्मश्री साहित्य सम्मान’ प्रदान गर्दै आएको ‘खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ चितवनले यस वर्षदेखि १ लाख रूपैयाँको एउटा अर्को पुरस्कार- ‘पद्मश्री साधना सम्मान’को पनि स्थापना गरेको छ।
आफ्नो साधनाका क्षेत्रमा लामो समयसम्म संलग्न रहेर उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई प्रत्येक वर्ष समर्पण गरिने ‘पद्मश्री साधना सम्मान’ पहिलो पटक नेपाली वाङ्मयका क्षेत्रमा उहाँले पुर्याउनु भएको अमूल्य योगदानका लागि राष्ट्रकवि माधव घिमिरेलाई समर्पण गर्ने निर्णय गरिएको छ।
२०६७ सालको ‘पद्मश्री साधना सम्मान’ राष्ट्रकवि माधव घिमिरेलाई तथा ‘पद्मश्री साहित्य सम्मान’ झमक घिमिरे र डा. श्री रवीन्द्र समीरलाई संयुक्तरूपमा आगामी कोजाग्रत पूर्णिमा दिन काठमाडौंमा समर्पण गरिने छ।
एचकेनेपाल डट कम संवाददाता-
धनगढीको चटकपुरमा आज बिहान बम विस्फोट हुँदा एउटा ट्रकमा क्षति पुगेको छ। बिहान ६ बजे भएको विस्फोटनबाट सडकछेउ रोकिराखिएको ना.३ख ९०३२ नं.को ट्रकमा क्षति पुगेको वडा प्रहरी कार्यालयले जनाएको छ। बम ट्रकमुनि राखिएको थियो।
बम कसले विस्फोट गराएको भन्नेबारे जानकारी प्राप्त भइनसकेको प्रहरीले बताएको छ।
एचकेनेपाल डट कम संवाददाता-
नेकपा (एमाले) ले रक्षामन्त्री शरत्सिंह भण्डारीले सोमबार ‘मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुनसक्ने’ र ‘२२ जिल्लाले छुट्टिने निर्णय गरे कुन ऐन र कानुनले मुलुक बचाउँछ?’ भन्ने अभिव्यक्ति दिनुभएकोप्रति आपत्ति जनाएको छ।
‘सामान्य व्यक्तिले समेत बोल्न नमिल्ने र नसक्ने राष्ट्रिय हित, एकता र अखण्डताविरोधी रक्षामन्त्रीको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन।’ एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
उहाँले यस प्रकारको राष्ट्रिय हितमा आघात पुर्याउने र साम्प्रदायिक विद्वेष फैलाउने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न प्रधानमन्त्रीसँग जोडदार माग गर्नुभएको छ।
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजाले नेपालको जनसङ्ख्या दुई करोड ६६ लाख २० हजार ८०९ रहेको देखाएको छ।
राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले प्रारम्भिक नजिता सार्वजनिक गर्दै दस वर्ष अघि (२०५८) को तुलनामा १४ दशमलव ९९ प्रतिशतले वृद्धि भएको जनाएको हो।
दस वर्षअघिको तथ्याङ्कमा कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४२३ जना रहेको थियो।
पछिल्लो नतिजामा सरदर वार्षिक वृद्धिदर एक दशमलव ४ रहेको विभागले जनाएको छ। नेपालको जनघनत्व भने १८१ पुगेको छ।
विभागका निर्देशक डा रुद्र सुब्बाले प्रारम्भिक नजिताको विवरण प्रस्तुत गर्दै यसपटकको गणनामा अनुपस्थित (विदेशमा रहेका) को सङ्ख्या १९ लाख १७ हजार ९०३ जना रहेका छन्। दसवर्ष अघि यो सङ्ख्या सात लाख ६२ हजार १८१ जना थिए।
प्रारम्भिक नतिजामा पुरुषको सङ्ख्या एक करोड २९ लाख २७ हजार ४३१ र महिलाको सङ्ख्या एक करोड ३६ लाख ९३ हजार ३७८ जना रहेको छ। कुन जनसङ्ख्यामा पुरुषको प्रतिशत ४८ दशमलव ५६ र महिलाको प्रतिशत ५१ दशमलव ४४ रहेको छ। अर्थात् प्रति एकसय जना महिलामा ९४ दशमलव ४१ प्रतिशत पुरुष रहेका छन्। दस वर्षअघिको लैङ्गिक अनुपात ९९ दशमलव ८० थियो।
यसैगरी, नतिजामा ४७ लाख ६७ हजार १९३ वटा घर र ५६ लाख ५९ हजार ९०४ जना परिवार बसोबास गर्ने गरेको देखिएको छ। जसअनुसार प्रतिघर वा आवासीय संरचनामा औसतमा ११९ परिवार बसोबास गर्दछन्।
यसैगरी, सबभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौँ र कम जनसङ्ख्या भएको जिल्ला मनाङ देखिएको छ। काठमाडौँको जनसङ्ख्या विगतमा भन्दा ४ दशमलव ७६ प्र्रतिशतले बढेर १७ लाख ४० हजार ९७३ पुगेको छ भने मनाङको जनसङ्ख्या माइनस ३ दशमलव ८४ प्रतिशतले घटेर ६ हजार ५२७ पुगेको छ।
भौगोलिक आधारमा हेर्दा तराईमा ५० दशमलव १५ प्रतिशत, पहाडको ४३ दशमलव १० र हिमालको जनसङ्ख्या ६ दशमलव ७५ प्रतिशत रहेको छ।
काठमाडौँपछि बढी जनसङ्ख्या हुने अन्य प्रमुख चार जिल्लामा क्रमशः मोरङ, रूपन्देही, झापा र कैलाली छन् भने मनाङपछि कम जनसङ्ख्या देखिने अन्य जिल्लामा मुस्ताङ, रोल्पा, रसुवा र हुम्ला रहेका छन्।
त्यस्तै, गाउँ क्षेत्रको जनसङ्ख्या २ करोड ९ लाख ५० हजार २२ र सहरी क्षेत्रका जनसङ्ख्या ४५ लाख २५ हजार ७ ८७ जना रहेको नतिजाले देखाएको छ।
विभागले गत असार ३ देखि १३ गतेसम्म ४२ हजार कर्मचारी खटाई देशभर राष्ट्रिय जनगणना गरेको थियो।
केन्द्रका महानिर्देशक उत्तमनारायण मल्लले यो गणना अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रश्नावली तयार गरिएकाले यसबाट आफूहरूका लागि नयाँ परीक्षण भएको बताउनुभयो।
उहाँले पूर्ण नतिजा आउँदा हालको प्रारम्भिक नजितामा फेरबदल हुनसक्ने पनि जानकारी दिनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले यही असोज १ गतेदेखि सबै सरकारी अस्पतालका जनरल वार्डमा रहेका बिरामीलाई निःशुल्क सेवा दिन अन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ।
पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत जिल्ला जनस्वास्थ्य र स्वास्थ्य कार्यालयको आर्थिक वर्ष ०६७–६८ को कार्यप्रगति समीक्षा गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले उपलब्ध गराएको निःशुल्क औषधि ग्रामीण क्षेत्रमा पुर्याई जनताको स्वास्थ्योपचार सेवामा सहयोग पुर्याउन आग्रह गर्नुभयो।
एचकेनेपाल डट कम संवाददाता-
एकीकृत (माओवादी)का पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले भारतले २०१८ सालमा सप्तकोसी ब्यारेज निर्माण गर्दा रु १३ करोड नेपाललाई रोयल्टी दिने सहमति भए पनि हालसम्म सो रूपैयाँ नपाइएको बताउनुभएको छ।
सुनसरीको कोसी ब्यारेजमा सप्तकोसी जनाधिकार मञ्चद्वारा आयोजित जनसभामा नेता पोखरेलले त्यो बेलाको रु १३ करोड यतिबेला रु १३ अर्बभन्दा ज्यादा हुने र सो रूपैयाँ अहिले उपलब्ध गराइए सप्तकोसी नदीका कारण विस्थापितलाई सरकारले ठूलो राहत उपलब्ध गराउनसक्ने थियो भन्नुभयो।
नेता पोखरेलले पूर्वी पहाडको धनकुटासम्मको जमिनमा क्षति पुग्ने गरी भारतले सप्तकोसी उच्च बाँध बनाएर सुरक्षित तरिकाले पानी र बिजुली भारत भित्र्याउने खेल सुरु गरेको आरोप लगाउनुभयो।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ असोज । नेपालीहरूको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइंदै छ।
बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टांसी जौ र मकै रोपेर घटस्थापना गरिंदै छ।
असोज १७ गते बिहानै महाष्टमीको पूजा गर्ने, बेलुका कालरात्रिको पूजा, १८ गते बिहान महानवमीको पूजा र १९ गते विजयादशमीको पूजा गरिदैछ।
हाम्रा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा विजया दशमीको सुखद अवसरमा सुख, शान्ति, उन्नति तथा समृद्धिको मंगलमय शुभकामना….।
- एचकेनेपाल डट कम परिवार
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १० असोज । भूमि सुधार तथा ब्यवस्था मन्त्री प्रभु साहले आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरेका छन्।
हिन्दुवादी कार्यकर्ता काशी तिवारी हत्या काण्डमा पक्राउ पुर्जी जारी भएको भनि मंगलबार प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपस्थित हुँदै मन्त्री साहले समाचारमा आए जस्तो आफ्नो नाममा कतैबाट पनि पक्राउ पुर्जी जारी नभएको दावी गरे।
उनले भने-समाचार आएपछि मैले गृहमन्त्री, प्रहरी र संविधानसभा सबैतिर बुझे तर कतै पनि कुनै पत्र मेरो नाममा आएको छैन। मलाई बदनाम गराउने योजना अर्न्तगत त्यस्तो समाचार आएको हो।
साक्षात्कारमा मन्त्री साहले आफू शान्ति, संविधान, जनतालाई राहत र भूमि सुधारको काममा लागेको बेला भू-माफीया र शान्ति संविधान विरोधीहरुले योजनाबद्ध ढंगले आफूलाई र पार्टीलाई बदनाम गराएर प्रभावित पार्ने योजना बनाएको दावी गरे।
उनले आफ्नो चरित्र र राजनीतिक जीवनको हत्या गर्ने योजनाका साथ प्रचारप्रसार गरिएको भन्दै त्यस सबैलाई सचेत हुन समेत आग्रह गरेका छन्। साक्षात्कारमा भोजपुरा राज्य समितिका इन्चार्ज भीमप्रसाद गौतमले माओवादी पार्टी हिन्दुवादी कार्याकर्ता काशी तिवारीवीच कुनै पनि किसिमको सम्बन्ध नरहेको भन्दै जवरजस्ती मन्त्री र पार्टीलाई बदनाम गर्ने योजनाका साथ प्रचारबाजी गरिएको दावी गरे।
उनले पनि माओवादी शान्ति र संविधान निर्माणमा अगाडि बढिरहेको बेला शान्ति र संविधान बन्ने भो भनी आत्तिएका शान्ति संविधान विरोधीहरुले माओवादी र अरुको ध्यान अर्कैतिर मोड्न चलाएको हल्ला भएको बताए।
भोजपुरा राज्य समितिकी सचिव अन्जना विशंखेले तिवारी हत्यामा किटानी जाहेरी नपरेका मान्छेलाई माओवादी कार्यकर्ताको रुपमा देखाएर किटानी बयान भनि दुष्प्रचार गरिएको आरोप लगाईन। उनले आफ्ना दर्जनौ कार्यकर्ताको हत्या भएकोमा प्रहरीले कुनै अनुसन्धान नगरी हुँदै नभएको घटनामा मन्त्रीलाई जोडेर पार्टीलाई बदनाम गराउने योजना अर्न्तगत काम भएको दावी गरिन। विशंखेले सन्चारमाध्यमलाई पनि सत्य तथ्य बुझेरमात्रै समाचार प्रकाशित गर्न आग्रह गर्दै माओवादीलाई सौताको जस्तो ब्यवहार नगर्न सुझाव दिइन्।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १० असोज । मुलुकमा रहेका ८ प्रतिशत तेस्रो लिङ्गीहरुले आफूहरुले पहिचानसिहतको नागरिकता स्वस्थ्य जीवन यापनको लागि कण्डम र लुव्रिकेण्ट्सको माग गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महिला र पुरुष भन्दा फरक लैङ्गीक पहिचान तथा यौन अभिमूखिकरणका कारण यौनिक तथा लैङ्गीक अल्पसंख्यक समूदायका व्यक्तिहरुले समाजमा अपहेलित बन्नुपरेको भन्दै पहिचानसहितको नागरिकता र यौनजन्य रोगबाट बच्नका लागि अस्थायी साधनको माग गरेका हुन्।
उनीहरुले सर्वोच्च अदालतले महिला र पुरुष जस्तै तेस्रो लिङ्गी वा समलिङ्गीहरु पनि मानव हुन र यो देशका नागरिक भएको भन्दै उपयुक्त कानुन बनाउनु वा संशोधन गर्न भनी नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको ४ वर्ष वितिसक्दा पनि सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाएका थिए।
पत्रकार सम्मेलनमा उनीहरुले नागरिकताको अभावमा अन्य नेपालीहरुले पाउँदै आएको सुविधा शिक्षा, रोजगार, स्वास्थ्य सम्पत्ति जस्ता नैसर्गिक अधिकारबाट बञ्चित हुनुपरेको भन्दै केही जिल्लाका केही व्यक्तिहरुले तेस्रो लिङ्गीको नागरिकता प्राप्त गरेको भए पनि पहिचान नखुलेकाले हरेक क्षेत्रमा अपहेलित बन्नुपरेको गुनासो पोखे।
उनीहरुले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुको मानव अधिकार तथा कानुनी अधिकारहरुको संरक्षण, स्वास्थ्यको अधिकार विषेश गरी एच. आई.भि एड्स तथा यौनजन्य रोगहरुको रोकथामका लागि ग्लोवल फण्ड राउण्ड ७ र युएनडिपी, डिफिडको सहयोगलाई विश्वबैङकले निरन्तरता दिने भने पनि स्वास्थ्य मन्त्रालयको कारण विगत २ महिनादेखि बन्द भएकोले खाने, वस्न जटिल बन्दै गएको दावी गरे।
यौनिक तथा लैङ्गी अल्पसंख्यक समुदायको अधिकार तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले ४० वटा शहरमा गर्ने कार्यक्रम बन्द हुने अवस्थामा पुगेका दावी गरेको छ।
कार्यक्रममा बोल्दै नील हिरा समाजका संस्थापक सुनिल बाबु पन्तले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता नदिएर राज्य अपराधी बनेको आरोप लगाए । उनले भने राज्यले हेलचेक्र्याँइ गरिदिँदा हामी राज्यको तर्फबाट पाउनुपर्ने सबै अवसरबाट बञ्चित बनेका छौं।
पूर्वाञ्चलबाट प्रतिनिधित्व गरेकी मनिषा विष्टले स्वास्थ्य नै सेक्स भएकाले स्वस्थ्य बन्नका लागि आफूहरुलाई कण्डम, लुव्रिकेण्ट्सको अभाव भएको बताईन्।
तेस्रो लिङ्गी सुमन लामा (मनकुमारी तामाङ) ले आफू तेस्रो लिङ्गी भएको कार्ड देखाउँदासमेत गाडी, कलेजमा अपहेलित बन्नुपरेको गुनासो गरिन्।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १० असोज । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले रक्षामन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर आन्दोलनमा उत्रिएको छ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अनेरास्ववियूले रक्षामन्त्रीको अभिब्यक्ति चार बुँदे सहमति भित्रकै कुरा हो कि होईन भनी प्रधानमन्त्रीसँग स्पष्ट जवाफको माग गर्दै प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए देश व्यापी आन्दोलन उत्रने चेतावनी दिईयो।
उसले देश टुक्राउने धम्की दिने रक्षामन्त्री भण्डारी देश टुक्र्याउने षडयन्त्रका मतियार बन्दैगएको भन्दै यस्ताविरुद्ध अनेरास्ववियुले लाखौं विद्यार्थीहरुलाई सड्कमा उतारेर संघर्ष गर्ने चेतावनी समेत दिएको छ। उनीहरुले मंगलबार साँझ बागबजारबाट रक्षा मन्त्रीको पुत्लासहित र्याली निकाली रत्नपार्कमा दहन समेत गरिसकेका छन्।
अनेरास्ववियु केन्द्रीय कमिटीले रक्षामन्त्री शरतसिंह भण्डारीले रिपोर्टर्स क्लव नेपालमा राष्ट्र र राष्ट्रियतामा गम्भीर आँच आउने अभिव्यक्ति दिएकोमा आपत्ति प्रकट गर्दै तत्काल राजीनामाको मागपनि गरेको छ।
उनीहरुले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका रक्षा मन्त्री भण्डारीले २२ जिल्लाका मधेशी जनताले चाहे भने राज्य टुक्रिनेमा कुनै तागतले छेक्न सक्दैन भनी दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे। राष्ट्रघाती अभिब्यक्ति दिने मन्त्रीलाई तत्काल पदबाट हटाउन माग पनि गरेको छ।
अनेरास्ववियूले साम्राज्यवादी, प्रभूत्ववादी तथा विस्तारवादी शक्तिले नेपाली राष्ट्रियतामाथि गिद्धे दृष्टि लगाईरहेको बेला रक्षामन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्र टुक्र्याउने एमाओवादी र संयुक्त मधेशी मोर्चाबीचको ४ बुँदे सहमति देश टुक्रायाउने भित्रैदेखिको डिजाईन भएको आरोप लगायो।