Archive for September 4th, 2011

नयाँ मन्त्रीहरु थपिए

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले मन्त्रीहरु थपी आफ्नो दुई सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गर्नुभएको छ। नयाँ मन्त्रीहरुले आजै राति शपथ पनि लिएका छन्।

आज थपिएका १३ मन्त्रीसहित मन्त्रिमण्डलमा प्रधानमन्त्री र दुई उपप्रधानमन्त्री गरेर अब मन्त्रीको सङ्ख्या १५ पुगेको छ।

विस्तारित मन्त्रिपरिषद्मा थप भएका मन्त्रीहरुमा एकीकृत नेकपा (माओवादी)बाट उपप्रधानमन्त्री सहित छ जना र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट सात जना रहेका छन्।

थप भएका मन्त्रीहरुमा उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, ऊर्जामा पोष्टबहादुर बोगटी, अर्थमा वर्षमान पुन, स्थानीय विकासमा टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमा कमला रोका र भूमिसुधार तथा व्यवस्थामा प्रभु साह रहनुभएको छ।

त्यस्तै, सूचना तथा सञ्चारमा जयप्रकाशप्रसाद गुप्ता, कृषि तथा सहकारीमा नन्दनकुमार दत्त, भौतिक योजना तथा निर्माण र कानुन तथा न्यायमा हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसङ्ख्यामा राजेन्द्र महतो, सिँचाइ र महिला, बालबालिका तथा समाजकल्याणमा महेन्द्रप्रसाद यादव, बिनाविभागीयमा राजलाल यादव र वन तथा भूसंरक्षणमा मोहम्मद वकिल मुसलमान रहनुभएको छ।

बाँकी मन्त्रालय हाल प्रधानमन्त्रीमै रहेको छ।

यसैबीच, राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री डा भट्टराईले राष्ट्रपति भवन, शीतलनिवासमा आज साँझ आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो।

Recent Videos:

Popularity: 5%

1 comment September 4th, 2011

राज्य पुनःसंरचनाको टुङ्गो अझै लागेन

एचकेनेपाल डट कम स‍ंवाददाता-
नयाँ संविधान निर्माणमा देखिएको विवाद समाधान गर्न संवैधानिक समितिअन्तर्गत गठित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले राज्य पुनःसंरचनाका लागि समिति गठन गर्ने बारेमा टुङ्गो लगाउन सकेन।

हिजोको बैठकमा राज्य पुनःसंरचनाको विवाद टुङ्गो लगाउनका लागि विशेषज्ञहरू सम्मिलित समिति गठन गर्ने प्रस्ताव आए पनि त्यसबारेमा नेपाली काँग्रेसको आधिकारिक धारणा आउन सकेको थिएन।

बैठकपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पत्रकारहरूसँग कुराकानी गर्दै राज्य पुनःसंरचना आयोग गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै रहेको बताउनुभयो।

उहाँले आयोगको विकल्पमा के गर्न सकिन्छ त्यसबारेमा पार्टीमा छलफल भइरहेकाले अहिले नै निर्णय लिन नसकिने उल्लेख गर्नुभयो।

एकीकृत नेकपा (माओवादी)का नेता देव गुरुङले नेपाली काँग्रेसले आधिकारिक धारणा नल्याएकाले सहमतिमा निर्णय हुन नसकेको बताउनुभयो।

उपसमितिका संयोजक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, संवैधानिक समितिका सभापति निलाम्बर आचार्य र राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो।

Recent Videos:

Popularity: 5%

Add comment September 4th, 2011

गर्भवती बुहारीसित यौन सम्पर्क, आफ्नै श्रीमतीले थुनाइन्

एचकेनेपाल डट कम संवाददाता-
नौ महिनाकी गर्भवती बुहारीसँग यौन सम्बन्ध राख्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउन उनकै श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन्।

बेत्रावतीबजारमा डेरा गरी बस्ने नुवाकोट जिल्ला गेर्खु गाविस–९ केराबारीका राममाया ब्लोन थिङ्गले आफ्नो श्रीमान् प्रहरीको जिम्मा लगाएकी हुन्।

शनिबार दिउँसो २५ वर्षीया जेठी बुहारी लक्ष्मी मगरसँग यौन सम्बन्ध राखिरहेको थाहा पाएपछि राममायाले ४४ वर्षीय श्रीमान् सिंहबहादुरको कठालो समातेर बेत्रावतीस्थित प्रहरी चौकी पुर्‍याएका थिए।

बुहारी र ससुरालाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ। प्रहरीले उनीहरुको स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ। ससुरालाई थुनामा राखिएको छ।

छ महिनाअघि जेठो छोराले विवाह गरेर पाल्पाबाट ल्याएका लक्ष्मी दुई महिनादेखि ससुरा र सासुसँग बस्दै आएका थिए। शनिबार दिउँसो आफू काममा गएको समयमा श्रीमान् र बुहारीको शारीरिक सम्बन्ध भएको छोराहरुले देखेर खबर गरेपछि राममायाले श्रीमान् र बुहारीलाई रङ्गेहात समातेका हुन्। उनीहरुका आठवटा सन्तान छन्।

कुमार थिङ्गसँग छ महिनाअघि विवाह गरेका लक्ष्मीको पहिलाको श्रीमानबाट गर्भ बसेको र त्यसलाई परिवारले स्वीकार गरी विवाह गरेको बताइएको छ। कुमार काठमाडौँमा मजदुरी गर्छन्।

Popularity: 5%

Add comment September 4th, 2011

नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीमा चयन गरेको छ।

त्यसैगरी, ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोका रहेका छन्।

माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधर सरकारमा नजाने भएपछि नारायणकाजी श्रेष्ठसहित अन्य मन्त्रीहरू नियुक्त भएका हुन्।

Popularity: 5%

Add comment September 4th, 2011

सहारा भवनको लागि कोरियामा सांगीतिक कार्यक्रम हुने

दिननाथ बराल /एचकेनेपाल डट कम-
पोखरा, १८ भदौ। पोखरा उपमहानगरपालिका १७ स्थित दोवीलामा निमार्णाधिन अबस्थामा रहेको सहारा एकेडेमिको भवनको सहयोगार्थ कोरियामा सांगीतिक कार्यक्रम हुने भएको छ।

यही भदौ २६ गते देखि असोज ३ गतेसम्म कोरियाको सउलमा माछापुच्छ्रे सांगीतिक कार्यक्रम आयोजना हुन लागेको कोरीया कास्की समाजका संरक्षक तथा कार्यक्रम संयोजक मदन केसीले बताउनु भएको छ।

९ दिनसम्म संचालन हुने उक्त सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु किरण केसी, शिव हरि पौडेल, रामचन्द्र काफ्ले, निशा सुनुवार, पोखरेली कलाकार भाष्करध्वज श्रेष्ठ, धन गुरुङ, सवनाम गुरुङ समेत सहभागी हुने भएको संयोजक केसीले जानकारी दिनु भएको छ।

यस अघि, कोरीया कास्की समाजले नेपालका अन्तर्राष्ट्रिय मेडलिष्ट दिपक विष्टलाई सम्मान गरेको थियो भने दिप श्रेष्ठ एकल साँझ लगायतका अन्य कार्यक्रम गरी अनाथ वालवालिकाहरुलाई सहयोग गर्दै आएको बताईन्छ।

मन्जु कोरीयामा सम्मानित हुने
कोरिया कास्की समाजले २०६५ को पल्सर बर्ष खेलाडी घोषित अन्तर्राष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङलाई कोरियामा एक सांगीतिक कार्यक्रमको साथमा सम्मान गर्ने भएको छ। कास्कीमा रहेर खेलकुदको माध्यमबाट उल्लेखनिय योगदान पुर्र्याएको भन्दै मन्जुलाई कोरियामा निमन्त्रणा गरेर सम्मान गर्न लागेको कोरीया कास्की समाजका संरक्षक मदन केसीले बताउनु भयो।

मञ्जु गुरूङ, फाइल तस्वीरः सुदर्शन रञ्जित, पोखरा /एचकेनेपाल डट कम

नेपाल कोरिया ब्यापार संघ, केलकुद मञ्च, तमु धिं कोरीया, एन आर एन, एनसीसी कास्की परिवार, दुधपोखरी समाजलगायत अन्य बिभिन्न संघ संस्थाहरुले आयोजक संस्थालाई सहयोग तथा मन्जुलाई सम्मान गर्ने भएको बताईन्छ।

Popularity: 5%

Add comment September 4th, 2011

बैद्यले माफी नमागे कारवाही हुन्छः गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले पार्टीको निर्णयविपरित विज्ञप्ति निकाल्ने र आन्दोलन गर्ने बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले आफ्नो गल्ति स्वीकार गरेर आत्मालोचना नगरे कारवाही हुने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले भने-अहिलेको घटना सामान्य होइन, एउटै पार्टीको लेटरप्याडमा दुइ थरी विज्ञप्ति निकाल्नु सामान्य होइन। यसमा उहाँले आत्मालोचना गर्नैपर्छ। आत्मालोचना नगरे, नसच्चिए पार्टीले कारवाही गर्छ। कारवाही नगरे माओवादी पार्टीको औचित्य नै सकिन्छ।

अहिलेको घटनामा आत्मालोचना वा कारवाही नभए माओवादीभित्र अराजकता बढ्ने र यसले पार्टीलाई नै समाप्त बनाउने उनको ठहर थियो। उनले भने-उहाँले आफुलाई नसच्याए कडा कारवाही हुन्छ।

माओवादीभित्रको अहिलेको बहस शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने वा नपुर्याउने भन्ने पक्षवीच रहेको भन्दै उपाध्यक्ष बैद्य समूहले सेना समायोजन र संविधाननिर्माणमा अवरोध गरिरहेको आरोप लगाए। उनले भने-दुइ थरी विज्ञप्ति,चक्का जाम र मसाल जुलुसले उहाँहरु अहिलेको प्रक्रियाको विरोधीको रुपमा हुनु हुन्छ भन्ने पुष्टि गरेको छ। जनता शान्तिको पक्षमा छन भन्ने पनि प्रष्ट भएको छ।

उनले अहिलेको प्रक्रियाबाट क्रान्तिकारी परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा अध्यक्ष प्रचण्ड पक्षधर रहेको तर बैद्य भने अहिलेको प्रक्रियाबाट परिवर्तन हुँदैन भन्ने पक्षमा रहेकोले यस विषयमा संश्लेषण नहुँदासम्म पार्टीभित्र यस्ता विवादहरु आईरहने दावी गरे।

उनले अध्यक्ष पक्षधर दह्रो भए बैद्य समूह सानो टुक्रामा पार्टीबाट बाहिरिने सम्भावन रहेको भन्दै बैद्य पक्षका एक समूह पार्टी फुटाउन लागिपरेको दावी गरे। उनले भने-बैद्य समूहमा पनि पार्टी फुटाउनु पर्छ र भित्रै बसेर संर्घष गर्नु पर्छ भन्ने दुइ पक्ष रहेको भन्दै अहिलेको गतिविधी पार्टी फुटाउने पक्षको उक्साहटमा भईरहेको हो । यस्तै जारी रहे एउटा सानो टुक्रा बाहिर जान सक्छ।

अहिले पार्टी फुटाउने पक्ष हावी भएको छ, स्थायी कमिटिको बैठकमा पनि त्यो देखिएको छ । अब बैद्य पक्ष कसरी बैठकमा प्रस्तुत हुन्छ त्यसैमा पार्टी फुट्न नफुट्ने कुरा निर्भर गर्छ-उनले थपे। उनले उपाध्यक्ष बैद्य कितावबाट क्रान्ति गर्नु पर्छ भन्ने पक्षमा रहेकोले समस्या रहेको भन्दै क्रान्ति कितावमा खोजेर कुनै पनि हालतमा हुन नसक्ने दावी गरे। उनले भने-कितावमा भएका पुरानै तरिकाबाट क्रान्ति गर्ने कुरा हुनसक्दैन। नयाँ र मौलिक ढंगबाट क्रान्ति सफल हुन्छ । यो कुरा बैद्यले बुझ्नु भएको छैन।

Popularity: 5%

Add comment September 4th, 2011

कन्टेनरको साँचो बुझाउने कार्य सकारात्मक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, नेपाली काग्रेसका नेता डा नारायण खड्काले कन्टेनरको साँचो बुझाउने कार्य सकारात्मक भएको भन्दै संख्या, दर्जा , मोडालिटि, पुनर्स्थापना प्याकेजमा सकारात्मक सहमति गरि काम थाले नेपाली काग्रेस सरकारमा जाने बताए।

उनले भने-बाँकी पाँच हप्ताभित्र भने अनुसारको काम गरेर काग्रेसले सरकारलाई समर्थन गर्छ। उनले प्रधानमन्त्रीले सकारात्मक कामको सुरुवात गरेकोले भविष्यमा आट र साहस अझै देखाउनु पर्ने भन्दै विवादित विषयमा सहमतिमा जुटाउन छलफल थाल्नु पर्ने बताए। उनले अन्य विषय मिले लडाकुको संख्याको विषयमा नेपाली काग्रेसले अडान नलिने समेत स्पष्ट पारे।

Popularity: 5%

Add comment September 4th, 2011

राष्ट्रवादी लोककवि अली मियाँ

नरेन्द्रराज प्रसाई /एचकेनेपाल डट कम-
अली मियाँलाई भेटेपिच्छे राजा वीरेन्द्रले सोध्ने गर्थे, “फेरि बिहे गर्नुभयो कि !” अनि त्यसै बेला रानी ऐर्श्वर्य बोल्थिन्, “बच्चाबच्ची हुर्किसके होलान् नि !” अली मियाँका जेठा छोरा हनिफ मियाँका अनुसार अली मियाँले औपचारिक रुपमा पाँच जनासँग मात्र बिहे गरे अनि ५ छोरा र ९ छोरी गरी चौध जना सन्तान पाए।

तर उनको जीवनको उत्तरार्ध पाँच जोईको पोइ कुना पसी रोई भयो । अनि बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथिको चरितार्थमा उनले आफ्नो जीवनयात्रा समाप्त पारे । मियाका कुनै पत्नीको निधन भयो, कुनै पत्नी अर्कैतिर हिँडे र अन्ततः उनी पच्चीस वर्षम्म पत्नीविहीन भएर नै बाँचे।

मियाँलाई उनका सन्तानले सुक्ख दिन चाहन्थे । उनकी पत्नी चाहे परपुरुषसँग लागेका बेला होस् अनि चाहे दिवङ्गत भएका बखतमा होस् छोराछोरीले “बुबा फेरी अर्को बिहे गर्नुहोस्” भन्थे।

मियाले गायिका मैमुन बेगमलाई चार वर्षी छोरी सहित बागलुङबाट जुहारी गीत गाउँदा जितेर ल्याएका थिए । तिनै उनकी कान्छी पत्नी केही वर्षमात्रै मियाँसँग बसेर मियाको सिरीखुरी बोकेर हिंडिन् । अनि त्यसपछि मियालाई प्यारालाइसीस भयो । त्यसैले उनी क्रमशः ओछ्यानमा नै थन्किरहे ।
मियाको जन्म १९७५ साल फागुन १५ गते पोखरामा भएको थियो । उनी दिनमोहम्मद मियाँ र जहुरनका तेह्रौँ सन्तान अथवा कान्छो छोरा थिए । उनी जन्मेको डेड वर्षमा आमा र तीन वर्षमा बुबाले धर्ति छाडेका थिए।

मियाँ आफ्ना दाजुभाउजूको संरक्षणमा हुर्के । त्यसैले उनको बाल्यकाल विपतैविपतमा बित्यो । त्यस बेला उनले खुट्टा टेक्नु भनेको अर्को आर्श्चर्य मानिन्थ्यो । तर पनि उनी कठ्याङ्ग्रिएर नै बामे सर्दै हिंडे।

मियाँ बाल्यकालदेखि नै परिश्रम गर्थे । बिहान घाँस काट्नेदेखि दिउँसो गाइबाख्रा हेर्नेसम्म उनको दिनचर्या मानिन्थ्यो । उनी प्रायः दाउरा बोक्न वनजङ्गल जान्थे र बिहानबेलुका घरधन्दामा पनि सरिक हुन्थे।

१९९० सालको महाभूकम्पपछि पोखरालाई पनि हैजाले रुवावासी बनायो । उनका तेह्र जना दिदीबहिनी र दाजुभाइमध्ये एघार जनालाई हैजाले टिप्यो । तर उनका दाजु मेहरमान र उनीमात्र बाँचे।

मियाँले स्कुले शिक्षा लिन पाएनन् । त्यस समयको नेपाली समाजले एकातिर मुसलमानको पानी चलाउँदैन थियो भने अर्कातिर दलित र मुसलमानलाई स्कुल पढ्न निषेध थियो । त्यसैले उनले किशोरावस्थाको चुलीमा पुगेपछि मात्रै धुलेपाटीमा कखरा लेखे । अनि उनले २१ वर्षपुगेपछि आफ्नो नाउँ लेख्न जाने । त्यसपछि कनीकुथी गरेर उनले चिठीपत्र र गीतहरू लेख्न थाले।

मियाँ बाल्यकालदेखि नै गीत गाउँथे । उनको स्वर सुनेर मान्छेहरू मोहित हुन्थे । तर कसैले उनको दुक्ख देख्तैनथ्यो । साथै उनको स्वरको वर्णन नगर्ने पनि कोही हुँदैनथ्यो । तर पनि त्यसबेला उनको शिक्षाका लागि कोही बोल्दैन थिए।

राम्रो खान र मीठो लाउने हेतु मियाँ १९९९ सालमा लाहुर गए । त्यस बेला उनले वृटिश गोर्खा सेनामा भर्ना भएर देहरादूनमा तालीम लिए । अनि तालीम लगत्तै उनी दोस्रो विश्वयुद्धमा बर्मा पठाइए । त्यस बेलाको सङ्घर्षमा उनका धेरै दौँतरीलाई बारुदले सक्यो तर उनी लगायत केही बाँचे । अनि सग्लो शरीर लिएर उनी २००२ सालमा घर आए । त्यस बेलासम्म उनकी मायालुले डाँडो काटी सकेकी रहेछिन् । आफ्नी श्रीमती अर्कैसँग लागेको बेहोराले त्यति खेर उनी धुरुधुरु रोए । लाहुर नजाने र्सतमा उनले अर्कीसँग फेरी आफ्नो जोडा मिलाए।

मियाको सृजनात्मक प्रतिभा बाल्यकालमा नै पलाएको थियो । घटराज भट्टराईका अनुसार उनले झन्नै एक दर्जन कृति लेखे । स्कुलै नपढी यति धेरै किताब लेख्ने उनी प्रथम नेपाली मुसलमान थिए।

मियाँले लेखेरै देशदेशान्तरमा नाउँ चलाए र गीत गाएरै विश्वभरीका नेपाली माझ ख्याति कमाए । उनी मौलिकताले सुसज्जित र्सजक थिए । उनी आँसुकवि थिए । उनले गीत गाएपछि मान्छेहरू उनीसँग लट्ठ पर्थे । पहिलो पटक भेट्ता होस् या पुरानो परिचित होस् उनी गीत सुनाएरै कुराको आरम्भ र विर्सजन गर्थे । उनको त्यो विंडो जेठा छोरा हनिफ मियाँले पनि धानीरहे।

राष्ट्रमा सग्लो योगदान दिएर मियाले कविशिरोमणि पुरस्कार, नारायणगोपाल पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, कुमुदिनी पुरस्कार पाए । साथै उनले प्रबल गोरखादक्षिण बाहुदेखि अनेक अलङ्कार र थुप्रै सम्मान, अभिनन्दन र कदरपत्रहरू पाइरहे । पोख्रेलीले त उनलाई रथारोहण नै गराए । साथै त्रिभुवन विश्वविद्यालयको एम्एको शोध समेत जोडेर भन्नु पर्दा उनका नाउँमा झन्नै आधा दर्जन कृति लेखिए।

मियाँ रसिला थिए । गीत गाएर नै उनी केटी फकाउँथे । उनलाई सबैले झल्िके कान्छा भन्थे । साथै उनलाई बुद्धि कान्छा पनि भनिन्थ्यो । उनले जसरी रोमान्टिक गीत गाए त्यसरी नै बिरहले ढाकेको गीत पनि गाए । उनी जती गाउँथे आफ्नै रचना मात्रै गाउँथे र नेपाली गीत मात्र गाउँथे । उनी सकेसम्म राष्ट्रवादी धाराकै गीत गाएर हिंड्थे । उनी नेपालका सक्कली लोक कवि र गायक थिए।

मियाँलाई माया गर्नेहरूमा राजा महेन्द्र नै प्रमुख मानिन्थे । मियाँलाई माया गर्ने अर्का व्यक्ति थिए प्रा.शङ्करराज पाठक । उनले आफू गण्डकी अञ्चलाधीश भएताका मियाँलाई खुबै काखी प्यापे । त्यसपछि उनलाई माया गर्ने व्यक्ति थिए भूतका भिनाजु अर्थात् वासुदेव लुइँटेल । लुइँटेलले नै उनको आत्मकथा छपाई दिए । एकपटक काठमाडौँ आएका बेला मियाँले लुइँटेललाई फोन गरेर भने, ‘हजुरलाई भेट्न म आउँदैछु, घरको टुङ्गो पाउँन !” मियाँको प्रश्नमा लुइँटेलले उत्तर दिए, “मियाँजी तपाईं प्रतापी पुरुष हुनुहुन्छ । तपाईंसँग मलाई भेट्न मन लागेन । किनभने भेट भएपछि हाम्रो माया रित्तिन्छ । त्यसैले हामी भेटघाट नगरौँ ।” लुइँटेलका कुरा सुनेर मियाले थुक निले।

मियाँ आफ्नो धर्ममा अटल थिए । तर हिन्दू धर्मप्रति पनि उनको सकारात्मक सोच थियो । त्यसैले उनी प्रायः रामायण र महाभारतका भाकामा पनि गीत गाँउथे । वास्तवमा उनी मानवतावादी थिए र वसुधैव कुटुम्बकमका हिमायती थिए । त्योभन्दा ठूलो कुरा उनी स्रष्टा थिए । उनी आफ्नो सृजना र स्वर जसरी सबैको मन मस्तिष्कमा जोड्न चाहन्थे त्यसरी नै सबैको धर्ममा पनि मान्यता राख्ने गर्थे।

मियाँको बूढेसकाल रोग, शोक र भोकमा नै बित्यो । जीवनको अन्त्यमा उनलाई प्यारालाइसीस लगायत दम र रक्तचापले सारै दुक्ख दियो। मियाँले पोखरामा चुरा र धागो बेचेर नै जीवनभरी गीत गाए । गीतै गाउँदागाउँदै उनी कहिल्यै नउठ्ने गरी सुते । भनौं २०६३ साल साउन १८ गते उनी दिवङ्गत भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment September 4th, 2011

साउदी अरेवियाको एनआरएन अध्यक्षको राजीनामा स्वीकृत

एचकेनेपाल डट कम संवाददाता-
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको अध्यक्ष धरम केसीले एक्कासी दिएको राजीनामा मिति ३१ अगष्ट २०११ को दिन राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको पूर्ण बैठकले उक्त दिन नै स्वीकृति गरेको छ। उक्त दिनबाट लागुहुने गरि कार्यवाहक अध्यक्षमा उपाध्यक्ष हरि घिमिरेलाई तोकेको छ।

यद्यपि के कति कारणले राजीनामा दिएको अनि किन स्वीकृत भयो भनि खुलाएको छैन। यस विषयलाई राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले गोप्यनै राखेको छ।

तर तत्कालीन अध्यक्ष धरम केसीले ईमेल मार्फत हरि घिमिरेलाई पठाउनु भएको पत्रमा १७ अक्टोबर २०११ सम्मको लागि कार्यबाहक तोकिएको पत्र पठाएकोले बास्तविकता बाहिर आउनु सकेको छैन। अन्तर्राष्ट्रिय समन्वय परिषदमा पनि धरम केसीले राजीनामा दिएको र उक्त मितिमानै स्वीकृति भएको जानकारी गराई सकिएको अबस्थामा राष्ट्रिय समन्वय परिषदले केही जानकारी नगराएकोमा साउदीमा रहेका एनआरएनहरुको चासोको विषय बनेको छ।

Popularity: 5%

Add comment September 4th, 2011

भगवती बस्नेतको “रहर भो जिन्दगी” विमोचित

हरि मानन्धर / एचकेनेपाल डट कम-
नेपालीहरूको महान पर्व हरितालिकाको अवसर पारेर शनिवार इजरायलको तेलअभिभ शहरमा अनेसास इजरायल च्याप्टरद्वारा गजलकार भगवती बस्नेतको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन गरिएको छ।

इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर प्रमुख अतिथि तथा अनेसास इजरायल च्याप्टरका बरिष्ठ सल्लाहकार श्याम रोक्काको आतिथ्य रहेको थियो।

कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर शुरू गरिएको थियो भने इजरायलमा कार्यरत नेपाली महिला अम्विका गौतमको आकस्मिक निधन भएकाले मृत आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण समेत गरिएको थियो।

कार्यक्रमलाई अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलद्वारा स्वागत गरिएको थियो भने स्वागत मन्तव्यकै अवसरमा भगवती वस्नेतद्वारा व्यस्त समयका वावजूद पनि गजलसङ्ग्रह निकालेर नेपाली साहित्यलाइ कहि न कहि ईटा थप्ने काम गर्नुभएकाले उहाँलाई बधाइ तथा कृतिको सफलताको कामनासमेत गर्नुभएको थियो।

भगवती बस्नेतजीको गजलसङ्ग्रह “रहर भो जिन्दगी” विमोचन कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रिय सचिव हरि मानन्धर, विमोचन कार्यक्रमका सभापति कृष्णपक्ष थापा र अनेसास इजरायल च्याप्टरका उपाध्यक्ष कुमार पौडेलका साथमा भगवती बस्नेत स्वयं रहेर उक्त पुस्तकको विमोचन गरिएको थियो भने उक्त विमोचनमा अनेसास इजरायल च्याप्टरकी सदस्य सुमित्रा पौडेल पनि रहनुभएको थियो।

विमोचन पश्चात पुस्तकका बारेमा बोल्नुहुदै इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाले भगवतीसँग सामाजिक सञ्जालहरूबाट परिचय भएदेखि हामीहरू माझ परिचित हुनुभएको थियो भने उहाँले गर्नुभएको साहित्य साधनाका कारण उहाँको साहित्य सिर्जनाका रहरहरूले उब्जाएको “रहर भो जिन्दगी” आज हाम्रो हातमा पारेको समेत बताउनुभयो।

मन्तव्यकै क्रममा कृतिकार भगवतीजीले आफ्नो रहरै रहरमा सिर्जना गरिएको सिर्जनाहरूलाई डायरीमा मात्रै राख्दा हराउने वा महत्त्व नरहने हुनाले तिनै सिर्जनाहरूलाई केही अग्रजहरूको सहयोगले “रहर भो जिन्दगी” पुस्तकको रूपमा परिणत गर्न सकेकीले निकै उत्साहित र हर्षित भएकिसमेत बताउनुभएको थियो भने ती सर्जकहरू ज–जस्ले भगवतीको यस यात्रामा हृदयदेखि सहयोग गर्नुभयो, सबैलाई हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

मन्तव्यकै क्रमममा कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका सचिव मानन्धरले भगवती बस्नेतसँगको परिचय पछि उहाँले गर्नुभएको साधनामा बारम्बार भलाकुसरी भैरहने हुनाले उहाँका यस कृतिमा सज्जित धेरै सिर्जनाहरूमा पहिले नै परिचित भैसकेका र एकापसमा सल्लाह सुझावहरू आदानप्रदान हुने हुँदा उहाँसँग साहित्यको बाटोमा धेरै समयसँगै भएकाले उहाँको “रहर भो जिन्दगी” एक उत्कृष्ट कृति रहेको भन्दै कृति भित्रैबाट पछिल्लो समयमा भगवती बस्नेतजीले व्यक्तिगत रूपमा शेयर गर्नुभएको गजल “अपुरै भो तिमीसँग हाँस्ने रहर आखिरी” वाचनसमेत गरेर सुनाउनुभएको थियो।

कार्यक्रमको अन्तमा इजरायलको व्यस्त समयमा पनि अमूल्य समय खर्च गरेर भगवती बस्नेतको रहर भो जिन्दगीको रहरहरूमा सामेल हुन इजरायलमा कार्यरत धेरै भन्दा धेरै नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरूले आ–आफ्नो सिर्जनाहरू समेत बाचन गर्नुभएको थियो। सिर्जना बाचन गर्नुहुनेहरूमा इजरायल च्याप्टरकी कार्यकारी सदस्य दिप्स शाह – गजल तथा कविता, सुमित्रा पौडेल – गजल तथा कविता, कल्पना भावुक – गजल तथा मुक्तकहरू, सुनिता राई – कविता, हरि मानन्धर – गीत र स्याम रोक्काद्वारा गजल वाचन गरिएको थियो।

विमोचन कार्यक्रममै इजरायलमा रहेर गीति एल्वम नेपाली तथा इजरायली बजारमा ल्याउनुहुने गायक ओम प्रसाद प्रसाईँले आफ्नो रचना तथा स्वरमा रहेको गीत गाएर सम्पूर्ण उपस्थित साहित्यिक मनहरूलाई मनोरञ्जन दिनुभएको थियो। उक्त विमोचन कार्यक्रम, च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा कार्यक्रमका बीच–बीचमा सहभागी साहित्यिक मनहरूलाई उत्साहित र मनोरञ्जन भरेर सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको समाप्ति पश्चात उक्त कार्यक्रममा सहभागीहरूलाई तीजको दर तथा खाना नास्ताको व्यवस्था गरिएको थियो।

Popularity: 4%

Add comment September 4th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....