Archive for September 6th, 2011

मगरहरूको थर परिवर्तन

एचकेनेपाल डट कम संवाददाता-
म्याग्दी, सेरपुजा समाज कल्याण केन्द्र केन्द्रिय समिति जिल्ला समिति र गाउँ समितिको पहलमा म्याग्दीको पाखापानीका पुन थर लेख्दै आएका मगर समुदायका २०० भन्दा बढीले थर परिवर्तन गरेका छन्।

पाखापानीमा सञ्चालित घुम्ती सेवा शिविरमा पुन थर लेख्दै आएका २३७ जनाले थर परिवर्तन गरेर शेरपुजा मगर थरबाट नागरिकता लिएका हुन्।

उनीहरुले आफ्नो वास्तविक थर शेरपुजा मागर भए पनि भारतीय र बेलायती सेनामा भर्ती हुनका लागि पुन थर लेख्ने गरेका थिए। थर परिवर्तन गर्दा जातीय पहिचान सङ्कटमा परेकाले पुनः आफ्नै थरबाट नागरिकता लिन थालेको सेरपुजा समाज कल्याण केन्द्र केन्द्रीय समिति महासचिप ओमकुमार शेरपुजाले बताए।

यसअघि, दग्नामका करिब ३०० ले पनि थर परिवर्तन गरेका थिए। थापा थर लेख्दै आएका उनीहरुले गर्बुजा रोका पुनलगायत थरबाट नागरिकता लिएका हुन्। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको नेतृत्वमा पाखापानी गएको सरकारी कार्यालयको टोलीले ३२९ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।

त्यसैगरी, महिला तथा बालबालिका कार्यालय म्याग्दीले २७ जना अपाङ्गलाई अपाङ्गताको परिचयपत्र वितरण गरेको छ। यस्तै, मालपोत कार्यालयको डोरमुकाम टोलीले १४० जनालाई मालपोतसम्बन्धी कामको सुविधा दिएको छ।

अन्य जिल्लामा पनि सेरपुजा मगर थर कायम गरिने सेरपुजा समाज कल्याण केन्द्र केन्द्रीय अध्यक्ष दलबहादुर सेरपुजा मगरले बताउनु भयो। अन्य जिल्लामा थापा, राना , घर्ति, सेरपुन्जा, सर्बुजा सेर्बुजा, सेर्मंजा,सेरबंजा, सेरपुन सेरपुर्जा लेख्दै आएका छन्।

Recent Videos:

Popularity: 5%

Add comment September 6th, 2011

सरकार गठनमा ४० लाख दलितलाई उपेक्षा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० भदौ। दलित विकास प्रतिष्ठान नेपालका अध्यक्ष हस्तबहादुर विश्वकर्माले दलहरुले सरकार गठनमा दलितलाई उपेक्षा गरेको आरोप लगाएका छन्।

उनले राजसंस्थाको समूल अन्त्यपछि राज्यमा पटक-पटक शासन गर्ने पार्टीले पनि यस मुलुकमा रहेका ४० लाख दलितको भावनामाथि खेलवाड गरेको आरोप लगाएका हुन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले भने- मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि १३ जना दलितले सहादत प्राप्त गरेका छन्, उनीहरुको सम्मान हुन सकेको छैन।

पत्रकार सम्मेलनमा विश्वकर्माले दलितलाई आरक्षण दिने कुरामा नेपाली काँग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच मै मत विभाजन भएकाले दलित वर्गलाई नेताहरुले फुटबल बनाएको आरोप लगाए।

उनले जनताले मानेका व्यक्ति डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि नेपालमै बनेको मुस्ताङ गाडी चढेर उदाहरणीय बन्न खोजेका छन्, उनकै कार्यकालमा दलित वर्गबाट कम्तीमा पनि पाँच जना मन्त्रीमण्डलमा समावेश गरी ४० लाख दलितको सम्मान गर्न सकेमात्र उनको कार्यकाल सफल हुने दावी गरे।

विश्वकर्माले भने- दलितको समस्या दलितले मात्र गर्ने नभै राज्यले गर्नुपर्छ, राज्यले नै दलितलाई दलित बनाएको हुनाले समाजमा हुने छुवाछूतको अन्त्यका लागि राज्यले नै जनजागरण अभियान चलाउनुपर्छ।

Recent Videos:

Popularity: 5%

Add comment September 6th, 2011

अमेरिकी दूतावासविरुद्ध आन्दोलनको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० भदौ । नेपालस्थित अमेरिकी दूतावासको भिसा सेक्सनमा नेपाली नागरिकमाथि अमानविय दुर्ब्यवहार हुने गरेको भन्दै अमेरिकी नागरिकसँग विवाह गरेका डा. विजय सैंजुले त्यसविरुद्ध अभियान चलाउने घोषणा गरेका छन्।

बालअधिकारको विषयमा विद्यावारिधी गरेका डा सैंजु अमेरिकामा हुने एक मानवअधिकार सम्बन्धी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न निम्ता आएकोमा भिषाको लागि अमेरिकी दूतावास जाने क्रममा दुर्ब्यवहारमा परेका थिए।

उनले कार्यक्रमको लागि अमेरिका जान भिषा नदिई अनेक किसिमले दुर्ब्यवहार गरेको आरोप मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बताए। डा सैंजुले १७ वर्षअघि अमेरिकी महिला स्टेफेनी हर्ररीसँग विवाह गरेर बैवाहिक जीवन विताउँदै आएका छन्। यसक्रममा उनी दर्जनौ पटक अमेरिका पुगिसकेका छन्। तर पछिल्लो पटक उनलाई परमानेन्ट भिष लिएमात्रै हुन्छ, छोटो समयको भिषा नदिने भन्दै प्रवेश देखिनै दुर्ब्यवहार, अपमान र गाली गलौच गरेको पत्रकार सम्मेलनमा गुनासो गरे।

डा सैजुले अमेरिकी नागरिक विवाह गरेका नेपालीहरुले दूतावासको दुर्ब्यवहार विरुद्ध आन्दोलनको तयारी गरिरहेकोसमेत सो अवसरमा जानकारी दिए। पत्रकार सम्मेलनमा डा सैजुले भिषा सेक्सनका कर्मचारीहरुले नेपाली नागरिकसँग अबैद्य रुपमा १० लाख रुपैयासम्म लिएर भिषा बेच्ने गरेको भन्दै दूतावासबाट सुलभ रुपमा भन्दा पनि भिषाको ब्यापार हुने गरेको आरोप लगाए। उनले दूतावासमा हुने गरेको नेपाली माथिको दुर्ब्यवहारको लागि अमेरिकी दूतावासले क्षमा याचना गर्नु पर्ने माग पनि गरे।

उनले हालै दुइ तिब्बती शरणाथीलाई नक्कली नेपाली पासपोर्टको आधारमा अमेरिकाको भिषा दिएको विषयमा नेपाल सरकारसँग माफी माग्नु पर्ने माग पनि पत्रकार सम्मेलनमा गरे।

Popularity: 5%

Add comment September 6th, 2011

प्रेमवादी दर्शन सम्मेलन भदौ २४ र २५ गते धरानमा हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २० भदौ । प्रेमवादी दर्शनको अन्तर्राष्ट्रय सम्मेलन आगामी भदौ २४ र २५ गते धरानमा हुने भएको छ।

मानव एकता र विश्व शान्तिको अभियन्ता, हेभेन्ली पाथका परिकल्पनाकार प्रेमवादका सुत्राधार स्वामी बाल तपस्बी सत्गुरु ओमनन्द सुप्रिम मास्टर गड्यान्जल (भक्तकुमार राई) को उपस्थितिमा संविधान सभा सह-सभामुख माननीय पूर्णकुमारी सुवेदीबाट उद्घाटन हुने प्रेमवादी अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य प्रेमवादको दर्शनले विश्व मानवकल्याणका लागि अग्रसर गराउने रहेको छ।

मंगलबार रिपोर्टर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय सम्मेलनमा समाजमा मानवीय योगदान पुर्याए वापत माईती नेपाल र शक्ति समूहलाई लभिजम अवार्ड र साहित्य क्षेत्रमा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई लभिजम गोल्ड र युवा साहित्यकार झमक घिमिरेलाई सिल्भर मेडलद्वारा सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

भारत, भुटन, वेलायत, हङ्कङ, ब्रुनाई, सिङ्गापुर, अमेरिका लगायत विश्वका ६ दर्जन जति देशहरु सहभागी हुने उक्त सम्मेलनमा प्रेमवादी दर्शनको विश्वविकासको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोजक स्वर्गिक मार्ग संघ नेपालले जानकारी गराएको छ।

धरानको डेपोर्ट हाइस्कुलमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा धर्म, जात, राजनीति, क्षेत्र, सम्प्रदाय, अर्थ जस्ता विभिन्न पक्षबाट फुटेका मानव समाजलाई सम्मेलनले एकताको बलियो सन्देश प्रदान गर्ने लक्ष्य राखेको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रेमवादका सुत्राधार गड्न्जलले भने- प्रेमवादको शब्दमा सभ्यता नै प्रेमवाद भएकाले प्रेम जहाँ छ, त्यहाँ घर, समाज र विश्वसमाज छ।

दुइदिने अन्तर्राष्ट्रिय सम्मेलनको बन्दसत्र र घोषणा सभा ब्रिटिस गोर्खा सामुदायिक भवनमा सम्पन्न हुनेछ। हेभेन्ली पाथ नेपाल, हेभेन्ली पाथ नारी र हेभेन्ली पाथ युवाको आयोजनामा सम्मेलन सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

Popularity: 5%

Add comment September 6th, 2011

बेल्जियमको आन्त्वरपेनमा भव्य तीज कार्यक्रम सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
बेल्जियम, नेपाल मिलन केन्द्र बेल्जियमको आयोजना बेल्जियमको आन्त्रोपेन शहरमा आइतवार नेपाली महिलाहरुको पर्व हरितालिका तीजको उपलक्ष्यमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजकुमार पुडासैनीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लोक गायिका शिला आले, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, एनआर एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ, आइसीसीद्वय पिजी शेर्पा तथा अर्जुन कुमार श्रेष्ठ, कवि तथा गीतकार केशव सुवेदीलगायत बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्था तथा उल्लेख्य रुपमा नेपाली समुदाय र बेलायत र नेपालबाट समेत उपस्थिती रहेको थियो।

कार्यक्रमा बोल्दै अध्यक्ष गुरुङले बेल्जियमा हुने सवै जातजाति तथा प्रवासी नेपालीका कार्यक्रमहरुमा गैरआवासीय नेपाली संघको समर्थन र सहयोग रहने बताउनु भयो। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले यी कार्यक्रमहरुको आयोजनाले प्रवासमा रहँदाका पीडाहरुलाई विर्साउदै नेपाली भाषा र संस्कृतिलाई जोगाउने बताउनु भयो। शिला आलेले गीतबाट आफ्नो मन्तव्य दिनु भएको थियो । कार्यक्रममा केशव सुवेदीले आफ्नो मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रम संचालन संस्थाका सचिव श्याम श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा एनआरएन बेल्जियमको सचिव अनुजा प्रधानले गर्नु भएको थियो।

औपचारिक कार्यक्रमप पश्चात नेपाली तीजी गीतहरु तथा लोक गायिका शिला आलेको प्रस्तुतिले सवैलाई नचाएको थियो। प्रवासमा नेपाली पर्वहरुलाई कुनै जाति विशेषको भन्दा पनि साँस्कृतिक रुपमा मनाउदै आइरहेको छ। बेल्जियमको ब्रसेल्स बुग्रे र लुभेन शहरमा यस अगाडि नै तीज कार्यक्रम मनाइ सकिएको छ। कार्यक्रममा खानाको समेत निशुल्क व्यवस्था गरिएको थियो भने कार्यक्रम भव्य रुपमा संपन्न भएको छ।

Popularity: 4%

Add comment September 6th, 2011

पहिरोमा परी छ बेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
सदरमुकाम खलङ्गादेखि ४२ कोस टाढा हुकाम गाविस–७ कतारजङ्गबाट नजिकै रहेको खोलामा मकै पिस्न गएका सातजना बसेको ठाउँमा हिजो साँझ एक्कासी पहिरो आउँदा छजना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार साँझ ६ बजे अत्यधिक वर्षापछि आएको बाढीबाट बच्न एकै ठाउँमा जम्मा भएर बसेको ठाउँमा पहिरो आउँदा उनीहरू बेपत्ता भएका हुन्।

बेपत्ता हुनेको पहिचान हुन सकेको छैन। उद्धारका लागि नजिकै रहेको हुकाम इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ।

Popularity: 5%

Add comment September 6th, 2011

बेचिएका पुराना हतियारबारे छानबिन गरिने

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसद राज्यव्यवस्था समितिले नेपाली सेनाका बेचिएका पुराना हातहतियार पुरातात्विक हुन् वा होइनन् भन्नेबारे समिति गठन गरेर छानबिन गर्ने निष्कर्ष निकालेको छ।

समितिको बैठकमा सदस्यहरूले सेनाका ती हतियार पुरातात्विक थिए वा थिएनन् भन्नेबारे समिति गठन गरी विज्ञको सहयोग लिएर छानबिन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए।

बैठकपछि समितिका सभापति रामनाथ ढकालले नेपाली सेनाको पुरातात्विक भनिएको हतियार बिक्रीसम्बन्धी विषयमा आगामी तीन महिनाभित्र कानुन र विधिसम्मत तरिकाले विज्ञको राय लिएर छानबिन पुरा गर्न प्रयास गरिने बताउनुभयो।

दस वर्षअघि प्रक्रिया पुर्‍याएर बिक्री गरिएको हतियारको विषयलाई अनावश्यकरूपमा राज्यव्यवस्था समिति र सञ्चारमाध्यमले महत्व दिएको भन्नेबारेमा केही कोणबाट सार्वजनिक अभिव्यक्ति आए पनि मूलरूपमा पुरातात्विक सामाग्री बेच्न पाइन्छ वा पाइँदैन, मन्त्रिपरिषद्लाई समेत त्यो अधिकार छ छैन भन्ने गम्भीर प्रश्न उठेको सभापति ढकाल बताउनुहुन्छ।

पुरातात्विक हो होइन अनुसन्धान र बहसको विषय हो, प्रक्रिया पुगेको छ भन्दैमा मुलुकको हित विपरीतको काम गर्न र ऐतिहासिक महत्वका हतियार बेच्न मिल्छ त भनी उहाँले प्रतिप्रश्न गर्नुभयो।

सरकारले संविधान र कानुन बमोजिम मात्र काम गर्न पाउँछ, तर कानुनले नदिएको अधिकारभित्र जान मिल्छ कि मिल्दैन भनी सदस्यले बैठकमा जिकिर गरेका थिए। नेपाली सेनाले सो हतियार बिक्रीसम्बन्धी कार्य २०५७सालदेखि सुुरु गरी २०६० साल भदौमा पुरा गरेको थियो।

नेपाली सेनाले आफूसँग भएका पुराना ती हतियारमध्ये पांँच प्रतिशत मौज्दात राखेर रु २४ करोड ४९ लाख ९२ हजारमा विभिन्न किसिमका तोप, खुकुरी, बन्दुक, पत्थर गोला अमेरिकी कम्पनी इन्टरनेसनल मिलिटरी एन्टिकलाई बिक्री गरेको थियो।

Popularity: 5%

Add comment September 6th, 2011

गैरआवासीय नेपालीको लगानी कम्पनी

एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपालीहरूले स्वदेशमा आर्जन गरेको सम्पत्तिलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गरी मातृभूमिको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले ‘ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि.’ नामक कम्पनी स्थापना गरेका छन्।

कमलपोखरी (नक्साल) काठमाडौँमा मुख्य कार्यालय रहेको सो कम्पनी गैरआवासीय नेपाली सङ्घका अध्यक्ष देवमान हिराचनको पहलमा स्थापना भएको हो। सुरुवाती पूजी रु १ करोड रहेको कम्पनीमा गैरआवासीय नेपालीहरूको मात्र लगानी रहने कम्पनीका संस्थापक अध्यक्ष देवमान हिराचनले बताउनुभयो।

‘नेपालबाहिर रहेका नेपालीलाई स्वदेशमै लगानीको राम्रो अवसर रहेको अवस्था प्रस्ट्याउन र विश्वलाई नेपाल निकटभविष्यमै छिटो आर्थिक प्रगति हासिल गर्न सक्ने सुरक्षित मुलुक हो भन्ने देखाउन हामीले यसरी पहल गरेको हौँ, हिराचनले प्रस्ट्याउनु भयो।

Popularity: 5%

Add comment September 6th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....