Archive for September 8th, 2011

खसीबोका उपहार र राफल चिट्ठा बेच्न निषेध

एचकेनेपाल डट कम संवाददाता-
जिल्ला प्रशासन कार्यालयले आगामी चाडपर्वमा सर्वसाधारणको हकहितलाई ध्यानमा राखी अत्यावश्यक दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव खडा गर्ने काम गर्न गराउन निषेष गरेको छ।

म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने, पटाका, भुइँचम्पाजस्ता सर्वसाधारणलाई त्रसित पार्ने वस्तुको आयात र बिक्री वितरण गर्ने र राफल चिट्ठाजस्ता कार्यक्रम सञ्चालन गर्ने, गराउने कार्य पनि निषेध गरिएको छ।

यात्रुलाई बिक्री गर्ने हवाइ टिकट तथा सवारी साधनका टिकटमा बढी मूल्य लिई बिक्री गर्ने तथा अनधिकृत व्यक्तिलाई त्यस्तो टिकट बिक्री वितरण गर्ने, सामाजिक सङ्घसंस्थाका नाममा विभिन्न व्यापार व्यवसायीबाट चन्दा रकम उठाउने, खसीबोका उपहार दिनेजस्ता कार्यक्रम गर्ने गराउने, विद्यार्थीलाई विद्यालयले थप आर्थिक दायित्व पर्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्ने कार्य पनि निषेध गरिएको प्रजिअ लक्ष्मीप्रसाद ढकालले दिनुभएको सूचनामा जनाइएको छ।

त्यस्तै कानुनले निषेधित गरेका सार्वजनिक स्थानमा मदिरा तथा चुरोट बेचबिखन तथा सेवन गर्ने कार्य र चाडपर्वको मनोरञ्जन गर्ने बहानामा जुवा तास खेल्ने, खेलाउने कार्यमा निषेध गरिएको छ।

यदि सो सूचनालाई बर्खिलाफ गरी कसैले ती कार्य गरे गराएमा सो कार्य गर्ने गराउने जो कोही व्यक्ति वा समूहलाई प्रचलित कानुन बमोजिम सजायँ हुने बताइएको छ ।

Recent Videos:

Popularity: 5%

Add comment September 8th, 2011

शान्तिप्रक्रिया टुङगिएपछि काङ्ग्रेस सरकारमा जान्छ–डा कोइराला

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शान्तिप्रक्रिया टुङ्गिएपछि काङ्गेसलाई सरकारमा जान आपत्ति नभएको बताउनुभएको छ।

उहाँले वर्तमान सरकारलाई शान्तिप्रक्रिया र संविधान लेखनको काममा काङ्ग्रेसले सहयोग गर्ने र र शान्तिप्रक्रिया टुङ्गो लागेपछि काङ्ग्रेस सरकारमा जाने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो,–एमाओवादी लडाकुको प्रारूप, सङख्या, दर्जा निर्धारण र पुनःस्थापना कार्यक्रमको विषयमा सहमति गरेर मात्र पुनः वर्गीकरणमा जानु पर्ने पक्षमा काङ्ग्रेस छ।

नेता डा.कोइरालाले राज्यपुनःसंरचनाका लागि विज्ञ समूहबाट सुझाव लिने प्रस्तावमा काङ्ग्रेस सहमत भएको स्पष्ट पार्दै आयोग गठन गरेर विज्ञ समूह गठन गर्नुपर्ने कुरा काङ्ग्रेसले डेढ वर्ष अघिदेखि उठाएको बताउनुभयो।

बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समाजका रूपमा रहेको नेपालमा फ्रेन्च मोडलको शासकीय प्रणालीमा अधिनायकवादको हुने खतरा रहने भएकाले काङ्ग्रेसलाई चिन्ता लागिरहेको विचार व्यक्त गनुभयो।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने संसदीय शासकीय प्रणालीमा नेपाली काङ्ग्रेस जान सक्छ, संसदीय व्यवस्था काङ्ग्रेसको बटमलाइन हो, तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अहिलेकै जस्तो राष्ट्रपति हुने संसदीय शासकीय प्रणालीमा काङ्ग्रेस सकारात्मक छ, उहाँले थप्नुभयो।

Recent Videos:

Popularity: 5%

Add comment September 8th, 2011

सवारी साधनको भाडादर नबढ्ने

एचकेनेपाल डट कम संवाददाता-
दसै तिहारको आगमनसँगै लामो दुरीको यातायातले मनपरि भाडा वृद्धि गर्ने गरेकोमा यसपालि भने भाडादर यथावत रहने भएको छ। नेपाल यातायात व्यवस्थापन विभागका अनुसार दसैँ तिहारको बेल मनपरि भाडा बृद्धिगर्ने प्रवृत्ति रोक्न अनुगमन सुरु गरिसकेको बताउनुभयो।

रेग्मीले यसपाली कुनै यातायात व्यवसायीले यात्रुबाट यथावत भाडादर भन्दा बढी असुलेको फेलापरेमा सरकारी मुद्दा चलाई कारबाही गर्ने बताउनुभएको छ।

उहाँले यदि कुनै यातायात व्यवसायीले मनपरि भाडा असुलिएको यात्रुले रसिदसहित विभागमा उजुरी दिएमा उक्त यातायातलाई रु पाँच हजारसम्मको जरिवाना र कानुनी कारबाही गर्ने बताउनुभयो।

विगतको दसै तिहारको बेला मनपरी भाडा वृद्धि हुने गरेको स्विकार्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यालयले यसपाली भने यातायात विभागले वैज्ञानिक तवरले तय गरेको भाडा दरनै लिइने जानकारी दिनुभयो।

Popularity: 4%

Add comment September 8th, 2011

कांग्रेसको शान्ति प्रक्रियासम्बन्धी चौधबुँदे अवधारणा पारित

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसले केन्द्रीय समितिमा पेस भएको शान्ति प्रक्रियासम्बन्धी चौधबुँदे अवधारणालाई सर्वसम्मतिले पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पाँच दिनअघि केन्द्रीय समितिमा पेस भएको अवधारणालाई पारित गरेको हो।

शान्ति प्रक्रियासम्बन्धी प्रस्तावलाई पारित गरे पनि राज्य पुनःसंरचनासम्बन्धी अवधारणा भने बिहीबार एमालेलगायतका दलसँग छलफल गरेर अन्तिम टुङ्गो लगाउने काँग्रेसले जनाएको छ।

शान्ति प्रक्रियासम्बन्धी अवधारणामा काँग्रेसले शान्ति प्रक्रियाका आधारभूत कुरा, सेना समायोजनसम्बन्धी प्रारूप, सङ्ख्या निर्धारण, मापदण्ड, शैक्षिक योग्यता, स्वेच्छिक अवकाशलगायतका कुराको पहिला नै टुङ्गो लाग्नुपर्ने अडान लिएको छ।

एमाओवादीका तर्फबाट आएको ४५ दिनभित्र शान्ति प्रक्रियासम्बन्धी काम सक्ने भन्ने कुरालाई तत्कालै प्रक्रिया अगाडि बढाउनुपर्ने काँग्रेसको माग छ।

नयाँ सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमतिमा एमाओवादी, मधेसवादी, जनजातिलगायतका आन्दोलनमा मुद्दा खेपिरहेका अभियुक्तलाई आम माफी दिने भन्ने निर्णय संविधान र कानुन विरोधी भएको र यसले मानवअधिकारको उल्लङ्घन भई दण्डहीनता निम्त्याउने भन्दै काँग्रेसले त्यसको विरोध गरेको छ।

केन्द्रीय समितिको बैठकमा राज्य पुनःसंरचनाको स्वरूप कस्तो हुने भन्ने विषयमा छलफलमात्र भएको थियो।

Popularity: 4%

Add comment September 8th, 2011

भ्रष्टाचार गर्ने चतुर्वेदीलाई एक करोडभन्दा बढी जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीबाट रु एक करोड ३९ लाख २४ हजार ९०६ बराबरको विगो असुल गर्न, विगो बराबरको जरिवाना बुझाउन र एक वर्ष छ महिना कैद भुक्तान गर्नुपर्ने फैसला गरेको छ।

प्रधानन्यायाधीश खिलराज रेग्मी तथा न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चर्तुवेदीले पदमा रहँदा रु एक करोडभन्दा बढी अपचलन गरेको ठहर गर्दै सो फैसला गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चतुर्वेदीले निगममा रहँदा अख्तियारको दुरूपयोग गरेर भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले करिब रु २ करोडको विगो असुल गर्न सोही रकम बराबरको जरिवाना र दुई वर्ष कैद गर्नुपर्ने फैसला गरेको थियो।

सो निर्णयविरुद्ध चर्तुवेदीले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो।

Popularity: 4%

Add comment September 8th, 2011

फुटबल खेलाडी श्रेष्ठ प्रशिक्षणका लिन जर्मनी

एचकेनेपाल डट कम संवाददाता-
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवम् हिमालयन शेर्पा क्लबका मिड फिल्डर जगजित श्रेष्ठ फुटबल प्रशिक्षणमा सहभागिता जनाउन जर्मनीको म्युनिक सहरमा प्रस्थान गर्नुभयो।

हिमालय शेर्पा क्लबद्वारा आयोजित विदाई कार्यक्रममा जर्मनीका नथिङहाम नामक फुटबल क्लबबाट प्रारम्भिक प्रशिक्षण सुरु हुने जानकारी दिइयो।

राष्ट्रिय खेलकुद परिष्दका सदस्यसचिव युवराज लामाले श्रेष्ठलाई विदाई गर्दै सो प्रशिक्षणले खेलाडीको स्तरवृद्धि हुनुका साथै नेपाली फुटबल खेलको विकासमा समेत सहयोग हुने बताउनुभयो।

राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक उपेन्द्रमान सिहंले सो प्रशिक्षण हिमालय शेर्पा क्लबका लागि मात्र नभएर सम्पूर्ण नेपाली फुटबल खेलाडीको स्तर वृद्धिमा सहयोग पुग्ने चर्चा गर्नुभयो।

श्रेष्ठ यस वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताका उत्कृष्ट मिड फिल्डर घोषित भएका हुन्।

सो प्रशिक्षण असोज १४ गतेसम्म सञ्चालन हुनेछ।

Popularity: 4%

Add comment September 8th, 2011

रमाईलो सांस्कृतिक सौगात भाग- ४ को सम्पूर्ण तयारी पूरा

झक थापा/एचकेनेपाल डट कम-
नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो आठौं बार्षिकोत्सव तथा कोरियाको महान चाड छुसकको अवसरमा आयोजना गर्न लागेको रमाईलो सांस्कृतिक सौगात भाग- ४ को सम्पूर्ण तयारी पूरा भएको छ।

“हिमाल, पहाड, तराई, सहयोग, सदभाव, मित्रता बढाऔं कोही छैनौ पराई” भन्ने मूल नाराको साथमा कोरियामा हालै स्थापना भएको नेपाली महिलाहरुको साझा संस्था माइग्रेण्ट वुमेन फर वुमेनले परिकल्पना गरेको आवास गृह निर्माण र नेपाल आदिबासी जनजाति महासंघ गणतन्त्र कोरियाले नेपालमा सञ्चालन गरेको छात्रबृत्ति कोषको लागि सहयोग गर्ने उद्धेश्यले सेप्टेम्बर ११ तारिख आईतबारको दिन सो कार्यक्रम आयोजना गरिन लागेको हो।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रमोद खरेल, राजु गुरुङ, मुना थापा, ईन्दिरा जोशी र नायिका सोनिया केसीको सहभागिता रहने छ।

संघका अध्यक्ष खड्क पुनको अध्यक्षतामा दोङदेमुनमा बसेको बैठकले कार्यक्रमको वारेमा मूल्याङकन र समिक्षा गर्दै अहिले सम्मको स्थिति हेर्दा कोरियामा क्रियाशिल संघ/संस्था, विशिष्ट ब्याक्ति बुद्धजीबी,पत्रकार,बिद्यार्थीलगायत कोरियामा विभिन्न पेशा व्यवसाय र रोजगार गरि वस्नुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुबाट भौतिक, नैतिक तथा विविध सहयोग प्राप्त भैरहेकोले कार्यक्रम भब्यताका साथ सफल हुनेमा कुनै शंका नरहेको निष्कर्ष निकालेको छ। र अझै भव्यरुपमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बृहद छलफल गरि विभिन्न तयारी समितीहरु गठन गरि कार्य बिभाजन पनि गरेको छ।

संघका सचिव नविन काला मगरका अनुसार प्रमुख अतिथि, अतिथिलगायत कार्यक्रम हेर्न आउने दर्शक महानुभावहरुको स्वागत सत्कारको लागि हेम थापा संयोजक तथा गुड्डु पुन थापा सह-संयोजक रहेको ३० (तीस) जना सदस्यहरुको स्वागत सत्कार समिती गठन भएको छ भने संघका उपाध्यक्ष होबिर थापा संयोजक र सुक बहादुर थापा सह-संयोजक रहेको १००(एक सय) जना सदस्यको स्वयम-सेवक समिती गठन गरेको छ। स्वयम-सेवक समितीले कार्यक्रम अवधि भर कार्यक्रम हेर्न आउनुहुने सम्पूर्ण महानुभावहरुलाई आवश्यक पर्ने सहयोग प्रदान गर्ने,कार्यक्रमलाई व्यवस्थित र मर्यादित वनाउन पनि सक्रिय रहने छ। यसै गरी संघले चमान थापा संयोजक रहेको सांस्कृतिक समिती, कोषाध्क्ष ललित थापा संयोजक उपाध्यक्ष नर बहादुर पुन र नेत्र राना सदस्य रहेको तीन सदस्यहरुको आर्थिक समिती, सदस्य दुर्गा गाहा मगर संयोजक रहनुभएको बस व्यवस्था समितीको गठन गर्दै टिकट संकलन तथा बिक्री वितरण समिती गुन राना मगरको संयोजकत्वमा गठन भएको छ।

बैठकको अन्त्यमा संघका अध्यक्ष खड्क पुनले सांस्कृतिक कार्यक्रम दिनको ठीक १२.०० बजे नै शुरु हुने भएकोले प्रमुख अतिथि,अतिथिलगायत कार्यक्रम हेर्न आउने दर्शक महानुभावहरुलाई समयमै उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दै कोरियामा रहेका सम्पूर्ण मगर दाजुभाई दिदीबहिनीहरुलाई सेप्टेम्बर १० तारिख शनिबार सांझसम्म कार्यक्रम हुने हलको नजिकै पर्ने नेपाली टाउनको नामले प्रख्यात दोङदेमुन सउलमा अनिवार्य रुपमा उपस्थित हुन समेत आह्वान गर्नुभएको छ।

Popularity: 4%

Add comment September 8th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....