Archive for September 11th, 2011

भ्याट बिल ठग्नेको नाम सार्वजनिक गर्नुपर्छ : अर्थमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
अर्थमन्त्री वर्षमान पुनले भ्याट बिल छल्नेको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन्। ठूला औद्योगिक घरानासमेत संलग्न भ्याट बिल छल्नेले अर्बौँको कर छलेका थिए।

विगत लामो समयदेखि नक्कली भ्याट विल र भारु अपचलनको विषय चर्चामा रहेको भन्दै उहाँले भन्नुभयो– नक्कली भ्याट विलको कारोबार अपराध हो, त्यस्तो अपराधलाई कुनै हालतमा छोडिन्न। उहाँले भ्याट विल छल्नेको नाम सार्वजनिक गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो।

भन्सार दस्तुर उठाउने कार्यलाई सरकारले तत्काल नियन्त्रण गर्ने सरकारको नीति रहेको बताउँदै उहाँले केही दिनभित्र आफू भन्सार निरीक्षणमा जाने जानकारी दिनुभयो।

राजनीतिक दलहरूबीच तत्कालिन सरकारले प्रस्तुत गरेको बजेटलाई नै व्यवस्थापिका संसदबाट पास गराउने सहमति भएको जानकारी दिदै अर्थमन्त्री पुनले भन्नुभयो– अहिलेको बजेट नै पारित गर्ने सरकारले निर्णय गरेको छ, आउँदो असोज १ गतेसम्ममा उक्त बजेट पारित हुने विस्वास मैले लिएको छु।

Recent Videos:

Popularity: 5%

Add comment September 11th, 2011

रिक्त पदहरूमा एक महिनाभित्र नियुक्त गर्न प्रमलाई निर्देश

एचकेनेपाल डट कम संवाददाता-
व्यवस्थापिका–संसद राज्य व्यवस्था समितिको आज बैठकले संवैधानिक निकायका रिक्त पदमा एक महिनाभित्र नियुक्त गर्न प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई निर्देशन दिएको छ।

बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका सम्बन्धमा सम्भाव्य उम्मेदवारहरूको सूची तयार गरी सूचीमा समावेश भएका व्यक्तिहरूमध्ये योग्यत्तम व्यक्ति छनौट गर्न नियुक्तिको आधार र मापदण्ड तयार गरी संस्थागत निर्णय गर्ने पद्दतिको विकास गर्नसमेत निर्देशन गरेको छ।

बैठकले प्रक्रिया पुरा गरेर नियुक्ति पाएका पदाधिकारीलाई सरकार परिवर्तन हुनासाथ राजनीतिक आस्थाको नामबाट हटाउने परिपाटी उपयुक्त नभएकाले सोको रोकथामका लागि आवश्यक पर्ने नीति तर्जुमा गर्नसमेत सरकारलाई निर्देश गरेको छ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाईबाट अनुमोदिन पदाधिकारीको नियुक्ति पश्चात् पदीय दायित्व अनुरूपको काम कारबाही पूरा गर्न नसकेको अवस्थामा बाहेक राजनीतिक परिवर्तन हुनासाथ त्यसरी आस्थाका आधारमा हटाइनु ठीक नभएको ठहर गरेको छ।

Recent Videos:

Popularity: 5%

Add comment September 11th, 2011

६८ वर्षमा एसएलसी पास

एचकेनेपाल डट कम संवाददाता-
पर्साको दुर्गमबस्ती ठोरीका ६८ वर्षीय आशबहादुर गुरुङले एसएलसी पास गर्न सफल भएका छन्। अन्ततः प्रवेशिका परीक्षा उत्तीर्ण हुन सफल भएका छन्।

एसएलसी परीक्षाको नतिजामा उनी अङ्ग्रेजी र गणित विषयमा फेल भएपछि साउनमा भएको मौका परीक्षामा उनी सहभागी भएका थिए। यस पटक भने उनी निराश हुन परेन।

भारतको आछाम राइफलमा काम गरी अवकाश भएपछि आफ्नो जीवनको उत्तरार्द्धमा पढ्न सुरु गरेका उनी एसएलसी परीक्षा उत्तीर्ण भएपछि उत्साहित भएका छन्।

एसएलसी पूरा गर्ने आफ्नो चाहना पूरा भएकाले अब उच्च शिक्षालाई पनि निरन्तरता दिने उनले बताए।

नातिनातिनासँगै एसएलसी दिएका गुरुङ विभिन्न सामाजिक क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाहरूमा पनि आबद्ध छन्।

Popularity: unranked

1 comment September 11th, 2011

बजेट पहिलेकै सरकारको पारित हुन्छः अर्थमन्त्री अनन्त

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ भदौ । अर्थमन्त्री बर्षामान पुन अनन्तले अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको बजेटलाई कुनै संसोधन नगरी अगामी असोज १ गतेसम्म पारित गर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पुनले अघिल्लो सरकारले पेश गरेको बजेट संसोधन नगरी असोज १ गतेसम्म संसदबाट पारित गराउने विषयमा दलहरुवीच सहमति नै भईसकेको खुलासा गरे।

साक्षात्कारमा उनले भने-असोज १ गतेभित्र बजेट पारित गर्ने गरी संसदले कार्य तालिका समेत बनाईसकेको छ । ढिलो बजेट पारित हुँदा आर्थिक बृद्धिदरमा समस्या आएकोबाट हामीले शिक्षा लिएका छौ।

दोहोरो अंकको आर्थिकबृद्धि दर हासिल गर्न जस्तो काम गर्नुपरे पनि सरकार पछाडि नहट्ने भन्दै नक्कली भ्याट विल बनाई राजस्व ढगी गर्ने, भारतीय मुद्रा अपचलन गर्नेलाई कुनै पनि हालतमा सरकारले उन्मुक्ती नदिने बताए।

उनले भारु अपचलन अरवौं रुपैयाँमा भएको र यसमा ठूला ठूला बैंकको समेत संलग्नता देखिएको भन्दै त्यस घटनाको छानविन सुरु भएको र कुनै पनि हालतमा उन्मुक्ती नदिने चेतावनी दिए। उनले भ्याट छली काण्डको छानविनलाई पनि तिब्रता दिएको भन्दै उपयुक्त प्रक्रिया अपनाएर त्यसलाई सार्वजनिक गर्ने योजनमा आफू रहेको स्पष्ट पारे।

Popularity: 5%

Add comment September 11th, 2011

बेलायतीको अगुवाईमा गोर्खा अभियान

धर्मराज अधिकारी / एचकेनेपाल डट कम -
बेलायती सरकारको ध्यानाकर्षण गर्न (युनाइटेड ब्रिटिश गोर्खा भूतपूर्व सैनीक संघ) युबिजीइएले शुरु गरेको हस्ताक्षर अभियानमा बेलायती जनताहरुले साथ दिएका छन्।

गोर्खाहरुलाई समान पेन्सन लगायतका सवालमा सरकारले विभेद गरेको जनाउंदै बेलायती जनताले उनीहरुको आन्दोलनमा साथ दिएका हुन्। गोर्खाको सवालमा अनुदार बेलायत सरकारको ध्यानाकर्षण गर्न शुरु हस्ताक्षर अभियानलाई सफल पार्न गोर्खा अभियानकी अभियन्ता आनी वाट्सनले शनिबार आफ्नो ‘होम टाउन’ केन्टमा बेलायती नागरिक तथा सञ्चारमाध्यमलाई भेला गराएकी थिइन्।

हस्ताक्षर अभियानलाई शुरु गर्दै युबिजीइएका अध्यक्ष प्रेमराज राईले गोर्खा आन्दोलनप्रति बेलायती जनताको अत्यन्तै ठूलो सहानुभूति रहेको बताए। अभियानमा साथ दिन बेलायतीहरुले खोजी खोजी हस्ताक्षर गरेको स्मरण गर्दै राईले करीब ५० हजारको हाराहारीमा हस्ताक्षर संकलन भइसकेको जानकारी दिए। गोर्खा आन्दोलनलाई अझै सशक्त बनाउन गोर्खासंग सम्बन्धित सम्पूर्ण संस्थाहरु एक हुनुपर्नेमा जोड दिंदै राईले यस अभियानलाई आफ्नै सम्झिएर साथ दिन सबैलाई अपिल समेत गरे।

गोर्खा सैनिकको झण्डा तथा विभिन्न माग सहितका प्लेकार्ड बोकेका गोर्खा तथा तिनका परिवार मार्च पाससहित क्रानब्रुक हाइस्टि्रटमा भेला भएका थिए। केही बेर सडक अवरुद्ध पारेर आयो गोर्खाली नाराका साथ गोर्खाहरुले मार्चपास गरेको देखेर बेलायती जनताहरुले समेत उत्सुक भई हेरे। सहभागीहरुले समान पेन्सन, गोर्खा विधवाको सम्मान गर, कटौतीमा परेकाहरुलाई समान व्यवहार गर लगायतका नाराहरु अंकित प्लेकार्ड बोकेका थिए। सो अवसरमा संयोजक ज्ञानराज राई, महासचिव दिपक मास्के, समाजसेवी धन घले, सचिव लक्ष्मी घिसिङ, कोषाध्यक्ष मानबहादुर गुरुङ, आनी वाट्सन, इमिली चेक्सफिलड, पिटर क्यरोल लगायत सहभागी थिए।

गोर्खाहरुलाई तिन चरणमा विभाजित गरेको दिनको बिरोध स्वरुप जुलाई एक बाट युबिजीइएले हस्ताक्षर अभियान शुरु गरेको थियो। एक लाख भन्दा बढि हस्ताक्षर संकलन गरी संकलित हस्ताक्षर नोभेम्बर ०९ मा बुझाइने संस्थाले जनाएको छ। नेपाल भारत र बेलायतबीच गोर्खा सैनिकका सवालमा ०९ नोभेम्बर १९४७ मा गोर्खाहरुलाई बेलायती सरह व्यवहार गर्ने त्रिपक्षिय सम्झौता स्मरण गराउन सो दिन बुझाउन लागिएको हो। यस महान अभियानमा साथ दिन संस्थाले https://submissions.epetitions.direct.gov.uk/petitions/10609/signature/new मा गइ अनलाइन हस्ताक्षर गर्न समेत आग्रह गरेको छ।

Popularity: 5%

Add comment September 11th, 2011

एकल साँझमा धिरजको ‘वान साइडेड लभ……!!’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, गायक धिरज राईले दरबारमार्गस्थित आइ क्लबमा आफ्नो ‘वान साइडेड लभ’ व्यक्त गरे। उनको सो नयाँ गीतको म्युजिक भिडियोसमेत सोही स्थानमा ‘लाइभ’ गाएर छायाँकन गरे।

एकपछि अर्को गर्दै सफल ‘एकल कार्यक्रम’हरु गर्दै आएका धिरजको काठमाडौंमा यो १२ औं पटकको एकल कार्यक्रम थियो।

नयाँ एल्बम ‘ट्वेन्टी इयर्स’ को सफलतासँगै उनको ख्याति चरमसीमामा पुगेको छ। मानौं यो वर्ष उनलाई स्टेज कार्यक्रमको बाढी नै आएको छ। ब्रुनाई, मलेसिया, इजरायल हुँदै केही समयअघि कोरियामासमेत उनले एक से एक सफल कार्यक्रमहरु दिईसकेका छन्।

‘टिकट सकिएको’ जानकारी गराउँदा आक्रोशित भएका उनका फ्यानहरु र आयोजकको बीचमा भनाभनसमेत पर्‍यो। महङ्गो टिकट दर रहेको उनको कार्यक्रममा स्थानको भने अभाव देखिन्थ्यो। नयाँ गीत ‘वान साइडेड लभ’ बाट गाउन शुरु गरेका उनले ‘कि बाँच्न देउ’, ‘लुकीलुकी’, ‘तिमी रुँदा एक्लै हुँदा’, ‘सोइ ढोले सोइ’, ‘मिस्टिरियस गर्ल’, ‘तिम्रा नयन तिम्रा अधर’ लगायतका एक दर्जन गीतहरु सुनाए।

अचम्म त के थियो भने कहिल्यै ‘ड्रिङस’ नगर्ने धिरजले सोमरसका डुबिरहेका दर्शकहरुलाई ‘पानी-पानी’ भइन्जेल नचाए। डिस्को थेकको चर्को आवाज अनि उत्कृष्ट प्रकाश व्यवस्थापनले उनको कार्यक्रमलाई झन झन ‘हट’ बनाउँदै लग्यो । सधैं झै यसपटक पनि धिरजले दर्शकहरुलाई ‘हल्ला’ गर्न लगाए।

कार्यक्रमको सफलताबाट हौसिएका आयोजक मिलन लामाले छिट्टै नै पोखरा, धरान, नारायणघाट र दमकको ‘डिस्को थेक’ मा समेत उनको एकल कार्यक्रम गरिने बताए। ‘तुलनात्मक रुपमा यसपालि महिलाहरुको संख्या बढी देखियो…….’ क्लवका म्यानेजिङ्ग डाइरेक्टर स्टालिन शेरचन भन्दै थिए। ‘यो वर्ष त कमाइ निकै भयो होला नि …….-’ ‘त्यस्तै लगभग ७०/८० लाख जति कमाएँ होला। तर त्यो भन्दा बढी श्रोता/दर्शकहरुको माया कमाएँ’ -धिरजले हाँस्दै भने।

Popularity: 4%

Add comment September 11th, 2011

‘गैरआवासीय नेपाली तारा’ को दोश्रो अडिसन सम्पन्न

बुधबल गुरुङ /एचकेनेपाल डट कम-
दोहा, गैरआवासीय नेपाली तारा २०११, कतार छनौटको लागि दोश्रो चरणको अडिसन सम्पन्न भएको छ।

दोश्रो अडिसनबाट नृत्य तर्फ १३ जना र गायन तर्फ२९ जना गरी कुल ४२ जना प्रतिस्पर्धिहरु छानिएका छन्।

उनीहरूले सेप्टेम्बर २३ मा हुने नृत्य तथा गायन तर्फो टप टेन छनौट कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन्। तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको आयोजनामा भएको यस कार्यक्रममा नृत्य तर्फ १७ र गायन तर्फ६९ गरी कुल ८६ मध्ये पहिलो चरणबाट गायनमा ५१ र नृत्यमा १५ जना दोश्रो चरणका लागि प्रवेश गेरका थिए।

तमू सांस्कृतिक परिवार कतारको यो तेश्रो प्रस्तुती हो। यस भन्दा अघि २००८ मा खुल्ला एकल नृत्य प्रतियोगितामा टौमाया गुरुङ प्रथम भएका थिए भने गत बर्ष गैरआवासिय नेपाली तारा २०१० को उपाधि ज्वाला लामाले जितेका थिए।

कार्यक्रमको प्रमुख आतिथि गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल हुनुहुन्थ्यो। विशेष अतिथिहरुमा गैरआवासीय नेपाली संघ - राष्ट्रिय समन्वय परिषद कतार नव निर्वाचित अध्यक्ष अमृत गुरुङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान बहादुर साँवाँ लगायत अतिथिहरुमा कमलमणी गुरागाई, शेर बहादुर परियार एवं अन्य संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।

प्रमुख अतिथि सागर नेपालले, कतारका तमू साथीहरुले गरेको उल्लेखनिय कार्यहरुको प्रशंसा गर्नु भयो । कतारमा बाषिर्क रुपमा आयोजना भईरहेको गैरआवासिय नेपाली तारा कार्यक्रमलाई अन्य देशका गैरआवासीय नेपालीहरुले पनि आयोजना गर्ने तयारीमा रहेको जानकारी दिनु भयो। यसरी यस किसिमको कार्यक्रमहरुको आयोजना गर्दा ब्यक्तिमा भएको प्रतिभा बाहिर आउने र नेपाली कला, संस्कृतिको संरक्षण एवं संबर्धनमा टेवा पुग्ने भएको कार्यक्रमको सफलताको शुभकामना दिदै निरन्तरता दिनेमा विश्वस्त रहेको कुरा बताउनु भयो।

तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक विमल गुरुङका अनुसार गत बर्ष एक जनालाई मात्र गैरआवासीय नेपाली तारा २०११ कतार घोषित गरिएकोमा यस बर्ष गायन र नृत्य तर्फपनि एक/एक जनालाई गैरआवासीय नेपाली तारा २०११ (गायन / नृत्य) र दुबै विधाबाट उत्कृष्ट एक जनालाई गैरआवासीय नेपाली तारा २०११ कतार घोषणा गरिनेछ। उहाँका अनुसार ५० प्रतिशत दर्शकको मत र ५० प्रतिशत निर्णायक मण्डलको नम्बरको आधारमा छनौट हुने यस कार्यक्रमको ग्राण्ड फिनाले भने अक्टोबर २१ का दिन दोहा सिनेमा हलमा हुने जनाएको छ।

सोही कार्यक्रममा तमू बौद्ध सेवा समिति कतारले सन् २०११- २०१३ को लागि गत सेप्टेम्बर २ का दिन सम्पन्न भएको गैरआवासीय नेपाली संघ - राष्ट्रिय समन्वय परिषद कतारको चौथो महाधिवेशबाट गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनु भएका संस्थाका सल्लाहकार अमृत गुरुङलाई सम्मान गरिएको थियो। साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कतार युवा संयोजकमा निर्वाचित हुनु भएका उमेश अधिकारीलाई पनि सम्मान गरिएको थियो।

सम्मानित अध्यक्ष गुरुङले यस सम्मानबाट आफूमा अझ जिम्मेवारी थपिएको बताउनु भयो। मन्तब्यमा नै उहाँले आफूलाई विजय गराउन सहयोग गर्नु हुने सबै मित्रहरुलाई धन्यवाद दिदै चुनावको दिनसम्म मात्र पक्ष विपक्ष रहेको र अबका दिनहरुमा आफू सबैलाई समेटेर समावेशी रुपले अगाडी बढ्ने र केही दिनभित्र नै आफ्ना कार्यक्रमहरुको खाका प्रस्तुत गर्ने कुरा पनि प्रष्ट्याउनु भयो। सो कार्यक्रमहरु सम्पन्न गर्नको लागि सम्पूर्ण कतारबासी नेपाली साथीहरुको सहयोग पाईनेमा विश्वस्त रहेको बताउनु भयो।

कार्यक्रममा प्रतिस्पर्धी गायक तथा नृत्यकारहरुले मनोरन्जनात्मक प्रस्तुतीहरु दिएका थिए । कार्यक्रमका निर्णायकहरु गायन तर्फ रबीन राई र गंगा गौतम तथा नृत्य तर्फ अरमान गुरुङ र रिता लामा हुनुहुन्थ्यो। पर्यवेक्षकहरुमा गैरआवासीय नेपाली संघ कतारका प्रमुख सल्लाहकार कमलमणी गुरागाई, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान बहादुर साँवा, साँस्कृतिक परिवारका संगित संयोजक टोकबहादुर गुरुङ, समाजसेवी शेरबहादुर परियार रहेका थिए।

कार्यक्रमबारे गत बर्षभन्दा यस बर्ष अझ सशक्त भएको कुरा पर्यवेक्षक कमलमणी गुरागाई र शेर बहादुर परियारले बताउनु भयो। उहाँले गत बर्षको कार्यक्रममा हामीले दिएको सुझावलाई यस बर्षो कार्यक्रममा त्यो नियम लागू गरेकोमा खुशी ब्यक्त गर्नु भयो। स्मरण रहोस, उहाँहरु गत बर्षको गैरआवासीय नेपाली तारा २०१० को निर्णायक मण्डलमा हुनुहुन्थ्यो। कार्यक्रम संयोजक बिमल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई राजित गुरुङ र कल्पना गुरुङले संचालन गरेका थिए।

Popularity: 4%

Add comment September 11th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....