Archive for September 17th, 2011

पोखरामा सिपोराको विजय र्‍याली

पोखरामा सिपोराको विजय र्‍याली
सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, ३१ भदौ, लोकप्रिय वर्षखेलाडी २०६७ घोषित भएकी राष्ट्रिय भलिवल खेलाडी पोखरेली चेली सिपोरा गुरुङलाई सहयोग समितिले २ लाख ५५ हजार नगदसहित सम्मानपत्र, फूलमाला र खादाले सम्मान गरेको छ।

सिपोरा गुरुङलाई लोकप्रिय खेलाडी बनाउन सहयोग समितिले संकलन गरेको रकमबाट बचत उक्त रकम सहितले शनिवार बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सिपोरालाई सम्मान गरेको हो।

तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

सिपोरालाई सम्मान गर्दै प्रमुख अतिथि क्षेत्रिय प्रशासक तुलसीप्रसाद सिटौलाले खेलाडीको सम्मान, राष्ट्रकै सम्मान हो भन्दै सिपोराले खेलवाट पोखरालाई चिनाएकोमा खुशी व्यक्त गर्नु भयो।

सम्मानित भएपछि सिपोराले लोकप्रिय खेलाडी बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गदै लोकप्रिय खेलाडीको उपाधिले आफूमा जिम्मेवारी थपिएको र समग्र पोखरा र भलिवलका लागि थप योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सिपोरा गुरुङ सहयोग समितिलाई विशेष सहयोग पुर्याउने महानुभाव र संघ संस्थालाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रममा समितिका आर्थिक संयोजक सरस्वती गुरुङले आयव्यय प्रस्तुत गर्नुभएको थियो भने सहसंयोजक रमेश पौडेलले स्वागत र महासचिव मोहन घलेले सञ्चालन गर्नुभएको थियो।

सम्मान कार्यक्रमपछि पोखरामा खुशीयाली र्‍याली निकालिएको छ। र्‍यालीका लागि फोर्ड १५ बटा गाडी सहयोग गरेको थियो। र्‍याली पोखरा रङ्गशालाबाट शुरू भई पृथ्बीचोक, नयाँबजार, नदीपुर, पिएन क्याम्पस, टक्यासी चोक, बागबजार, बिन्दबासिनी, भैरबटोल, तेर्सापट्टि पालिखेचोक, महेन्द्रपुल चिप्लेढुङ्गा सभागृहचोक, श्रृजनाचोक, लेकसाईड, राष्टबैङ्गचोक, डयामसाईड, बिरौटा तमु हृयुला चोक हुदै सिपोराले अध्ययन गर्ने फिस्टेल उच्च माबिमा पुगी चियापान सहित समापन भएको थियो।

सिपोरा गुरुङ लोकप्रिय वर्षखेलाडी २०६७ घोषित
हुम गुरूङ /एचकेनेपाल डट कम-
काठमाडौ, २५ भदौ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आइतवार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोह विच सिपोरा गुरुङ लोकप्रिय वर्ष खेलाडी २०६७ घोषित भएकी छन्।

उपाधि जितेपछि सिपोरो गुरूङ। तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

सिपोरा गुरुङले कुल २ लाख ९८ हजार ५१२ एसएमएस भोट मध्ये १ लाख ३६ हजार २७२ प्राप्त गर्दै अन्य चार प्रतिस्पर्धीलाइ उछिन्दै लोकप्रिय वर्ष खेलाडी २०६७ बनेकी हुन्। उनको निकटतम ओलम्पिकमा बक्सिंगबाट नेपाललाई कास्य पदक दिलाएका दिपक महर्जनले १ लाख २८ हजार ६८४ मत प्राप्त गरेका थिए भने फुटवलका राष्ट्रिय टोलीका क्याप्टेन सागर थापाले २१ हजार ९२६ भोट पाए।

लमजुङको दुधपोखरी स्थायी घर तथा हाल पोखरा १७ राष्ट्रबैंक चोक निवासी मोतीलाल गुरुङ र सेती घिसिङ गुरुङकी सुपुत्री सिपोराले ११ वर्षकै उमेरदेखि भलिवल खेल्न थालेकी हुन्।

तेह्र वर्षकै कलिलो उमेरमा श्रीलंकामा सम्पन्न दशौं सागको महिला भलिवलमा कास्य पदक दिलाउन महत्पूर्ण भुमिका खेलेकी सिपोराले विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा कैयन पटक बेष्ट प्लेयर, बेष्ट स्पाइकर र बेष्ट र्सभरको उपाधि चुमेकी १८ वर्षीया सिपोरा पोखराको फिस्टेल उच्च मावि कक्षा १२ मा अध्ययनरत छिन्।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा चौथो पटकको पल्सर लोकप्रिय खेलाडीको मनोनयनमा परेकी सिपोरालाई वर्षको लोकप्रिय खेलाडी घोषणाका लागि स्वदेश तथा विदेशबाट आर्थिक, भौतिक, नैतिक सहयोग पुर्याउने संघसंस्था, महानुभावहरुप्रति सिपोरा गुरुङ सहयोग समिति पोखराले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सिपोरालाई जिताउन पोखरामा प्रचार अभियानः

तस्वीरहरूः सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

भोट माग्दै सिपोरा


भोट माग्दै सिपोरा। तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

Recent Videos:

Popularity: 13%

5 comments September 17th, 2011

सरकारले एक्लै रिग्रुपिङ अगाडि बढाए अबैधः गुरुङ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३१ भदौ । एकीकृत नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले अन्य राजनीतिक दलहरुसँग सहमति नगरी एकलौटी रुपमा लडाकुको रिग्रुपिङको कार्य अगाडि बढाए त्यो अबैध हुने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले एकलौटी रुपमा रिग्रुपिङ गरे त्यस्तो कार्यले संबैधानिक र कानूनी मान्यता नपाउने र त्यसले राजनीतिमा झनै ठूलो शंका उत्पन्न गर्ने ठोकुवा गरे।

साक्षात्कारमा उनले रिग्रुपिङ गर्ने कार्य ठूलो नभएको भन्दै त्यसअघि मोडालिटि र पुनर्स्थापना प्याकेज जस्ता विषयमा प्याकेजमै सहमति जुटाउनु पर्ने सुझाव दिए। उनले भने-सेना समायोजन कार्य अगाडि बढाउन सहमति चाहिन्छ, एकपक्षीय रुपमा अगाडि बढाए त्यसले बैधानिकता पाउँदैन । सहमति गरेर काम गर्नुपर्छ । संविधानमा रहेको ब्यवस्था फलो गर्नै पर्छ।

नेता गुरुङले सरकार निर्माणका सन्दर्भमा माओवादी र मधेसी मोर्चावीच भएको चार बुँदे सम्झौता राष्ट्रघाती र राष्ट्रिय स्वाधिनतामा दिर्घकालीन प्रभाव पार्ने भएकोले त्यसलाई खारेज वा संशोधन गर्नु पर्ने तर्क गरे।

उनले चार बुँदे समझौतामा रहेका राष्ट्रघाति बुंदा सम्सोधन नगरेसम्म र लडाकुको हतियार राखेको कन्टेनरको साँचो बुझाउने निर्णय फिर्ता नभएसम्म आफ्ने समूह सरकारमा कुनै पनि हालतमा सरकारमा नजाने स्पष्ट पारे। उनले भने-अहिलेकै अवस्थामा के गर्न सरकारमा जाने, भन्ने एउटा कुरा र गर्ने अर्को काम अनि कसरी सरकारमा जाने।

उनले चारबुँदेमा रहेको १० हजार मधेसीलाई सेनामा समूहगत समायोजना गरेर छुट्टै यूनिटको रुपमा राख्ने , सिडियोमा रहेको अर्धन्यायीक अधिकार अन्त्य गरी मधेसमा छुट्टै सुरक्षा संरचना निर्माण गर्ने, नगरिकता वितरणलाई सरल बनाउने र छिमेकी राष्ट्रको पेन्डीङ्ग रहेको प्रस्तावलाई पारित गर्ने जस्ता कुरा राष्ट्रघाती भएको दावी गरे।

Recent Videos:

Popularity: 6%

Add comment September 17th, 2011

राष्ट्रिय खेलकुद परिषदविरुद्ध करातेडो महासंघ आन्दोलनमा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३१ भदौ । एसियाली र विश्व कराते डो महासंघसँग आवद्ध रहेका कराते सम्बन्धी संस्थालाई विघटन गरी राष्ट्रिय खेलकुद परिषदले आफू अनुकूलको संघ निर्माण गरेको भन्दै खेलाडीहरु आन्दोलित बनेका छन्।

नेपाल करातोडो महासंघ र नेपाल सितोरिया करातेडो संघले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरे राखेप विरुद्ध चरणबन्द आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

पत्रकार सममेलनमा बोल्दै महासंघका अध्यक्ष पुरेन्द्र विक्रम राखेले राखेपले नियमावली विपरित संघ र महासंघलाई गुण्डा शैलीमा विघटन गरेर आफू अनुकूलको संघ निर्माण गरेर करातेलाई कमजोर बनाउने षडयन्त्र गरेको भन्दै त्यसविरुद्ध बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताए।

संघका अध्यक्ष केदारबाबु सिवाकोटीले निमावली विपरित संघ विघटन गरेको र संघ र महासंघ आबद्ध खेलाडी कर्मचारीहरुलाई सरुवा गर्ने जस्ता कार्य गरेर दुख दिने गरेको भन्दै त्यस्तो कार्य तत्काल नरोकिए आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको बताए। उनले राखेप अहिले खेलकुदमा राजनीति लाद्न र आतंक फैलाएर खेल क्षेत्रलाई कमजोर बनाउने षडयन्त्रमा लागेको समेत दावी गरे।

Popularity: 6%

Add comment September 17th, 2011

स्वरसम्राज्ञी अरुणा लामा

नरेन्द्रराज प्रसाईं / एचकेनेपाल डट कम-
हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु ।
(स्वर : अरुणा लामा, सङ्गीत:कुन्दनराज सुब्बा, शब्द: नरेन्द्रराज प्रसाई )

अरुणा लामाले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन् । एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो, व्यथै व्यथाले भरिएको थियो र दुक्खै दुक्खले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन्, मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यतिमात्र होइन गीतका पारखीले उनलाई ट्राजेडी क्विन पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन्।

अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न !’ यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन् । पहिलो गीत रिकर्डिङ गरेको अर्को वर्षअर्थात् २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन्।

नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रहृयो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वोत्कृष्ट मानिन्छिन् । उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन् “दुक्ख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन्।”

उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ ।
(स्वर : अरुणा लामा, सङ्गीत: नारायणगोपाल, शब्द:भैरवनाथ रिमाल कदम)

अरुणाको जन्म दार्जीलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँचाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन्; तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सातआठ वर्षी हुँदा उनले गीत गाएर दार्जीलिङ हल्लाएकी थिइन्।

पन्ध्रसोह्र वर्षको झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन्।

अरुणा १३ वर्षको हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्का प्रतिको आकर्षणमा झुन्डिएका थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्ष टेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन् । बिहेअघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसामा आबद्ध थिए।

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन् । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए । अनि फेरि अरुणा रुन थालिन् :

पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?
(स्वर :अरुणा लामा, सङ्गीत: अम्बर गुरुङ, शब्द: राजेन्द्र थापा)

अरुणा आफ्ना पतिको निधनपछि झोक्राएर घरैमा बसिन्; तर छ महिनापछि यिनलाई कर्म योञ्जनले जबर्जस्ती रङ्गमञ्चमा पुर्याए । त्यसपछि उनी त्यहीँ रत्तिन थालिन् । पुनः उनी गीत गाएर आफ्नो निष्ठामा समर्पित हुन थालिन्।

आफ्ना पतिको देहान्त भएपछि अरुणालाई आर्थिक अवस्थाले सारै रन्थन्याउन थाल्यो । तर पनि यी आफ्ना यात्रामा संघर्षरत रहिन् । एकातिर जागिर र अर्कातिर आफ्नो गायनलाई पनि उचाल्दै यी निरन्तर अगि बढिन् । यिनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज यिनीप्रति नतमस्तक रहृयो । उनको गायनको सीप र गलाको भाकाले नेपालीहरूलाई एकछत्र प्रेममा डुबाउन थाल्यो।

अरुणाको गायनले नेपाली धर्तीमा राम्ररी जरा गाडिसकेको थियो । गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन् । साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन्।

त्यति मात्र होइन २०५० सालमा सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा ‘अरुणा लामाः स्वणिर्म साँझ’ कार्यक्रमको आयोजना गरिएको थियो । त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै ‘स्वरकिन्नरी’को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईद्वारा सम्पादित ‘अरुणा लामाः कथा र व्यथा’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । त्यस दिन अरुणाले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मीठा स्वरहरू श्रोतासमक्ष अर्पण गरेकी थिइन् । त्यो भव्य समारोहमा उनले अठारवटा नेपाली गीत गाएकी थिइन् र प्रत्येक गीतमा दर्शकको ताली पाएकी थिइन्:
चौतारीमा बसेर रुन पाऊँ
मनको पीर आँसुले धुन पाऊँ
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द: गोपाल योञ्जन)

सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बनिन् । उनी जस्ती स्वरसाधिकाले नेपाली गीत गाएर नेपाली भाषालाई आफ्नै प्रकारले सिँगारिन् । शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवी कला थियो । तर उनले १५० भन्दा बढी गीत रिकर्ड गर्न भ्याइनन्।

अरुणा औषधी उपचारका लागि दार्जीलिङबाट काठमाडौँ आइन् । उनलाई कुनै औषधीले पनि बचाउन सकेन । कैयौँ नेपालीहरू उनलाई बचाउन उनका छेउ पुगे । तर लाखौँ नेपालीले पनि उनलाई कालका मुखबाट छुटाउन सकेनन् । अन्ततः नेपाली गायनकी स्वरसम्राज्ञीको भौतिकचोला यस पृथ्वीबाट २०५४ साल माघ २२ गते अन्त्य भयो।

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द:अम्बर गुरुङ)

naiprasai@gmail.com

Popularity: 6%

1 comment September 17th, 2011

प्रमको भनाइप्रति प्रेस युनियनको आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसदको बैठकमा सञ्चार माध्यमका बारेमा राखेको सरकारी धारणाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्रीले अन्य उद्योग खोल्न धरौटी राख्नु परेजस्तै अब मिडिया उद्योग खोल्दा पनि लगानी र भविष्यको सुरक्षाका लागि निश्चित धरौटी राख्नुपर्ने व्यवस्था गरिने बताउनुभएकोमा युनियनले आपत्ति जनाएको हो।

युनियनद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्रीको यो अभिव्यक्ति ०४६ सालको जनआन्दोलनबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, जनताको सुसूचित हुन पाउने हक र सञ्चार क्षेत्रको विकासमा प्राप्त भएको ऐतिहासिक उपलब्धिलाई सिमित गर्ने प्रपञ्च हो भनिएको छ।

युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति तथा श्रमजीवी पत्रकारहरूको हक अधिकारकालागि श्रमजीवी पत्रकार ऐन पूर्णरूपमा कार्यान्वयन र प्रभावकारी अनुगमनको व्यवस्था गर्न पनि माग गरेको छ।

Popularity: 5%

Add comment September 17th, 2011

गृह सचिवको सरुवा

एचकेनेपाल डट कम संवाददाता-
उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दबाबमा मन्त्रिपरिषद्ले गृह सचिवको सरुवा गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुशीलजङ्ग राणालाई गृहसचिवमा सरुवा गरेको छ। गृहसचिव लीलामणि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो।

बैठकले निजामती कर्मचारीले औपचारिक कार्यक्रममा लगाउने पोसाक दौरा सुरुवाल नै भएको र तराई, मधेस, हिमालसम्म बस्नेले लगाउने आ–आफ्ना पोसाकलाई पनि राष्ट्रिय पोसाकको मान्यता दिने निर्णय गरेको छ।

Popularity: 5%

Add comment September 17th, 2011

एउटै गाविसका तीन मन्त्री

एचकेनेपाल डट कम संवाददाता-
वर्तमान मन्त्रिपरिषद्मा सप्तरीको एउटै गाविसबाट तीनजना मन्त्री बन्नुभएको छ। त्यसमा पनि दुईजना एकै वडाका वासिन्दा हुनुहुन्छ भने दुबैजनालाई एउटै पार्टीबाट मन्त्री बन्ने संयोग जुटेको छ। वर्तमान सरकारमा सप्तरीको कञ्चनपुर गाविसबाट तीनजना मन्त्री बन्न सफल भएका छन्।

सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता, कृषि तथा सहकारी मन्त्री नन्दन दत्त र वातावरण मन्त्री हेमराज तातेड वर्तमान सरकारमा रहनु भएको छ। उहाँहरूमध्ये गुप्ता र दत्त कञ्चनपुर गाविस वार्ड नं १ का हुनुहुन्छ भने तातेड वडा नं ८ का बासिन्दा हुनुहुन्छ।

सञ्चार मन्त्री गुप्ता मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष र दत्त सोही पार्टीका नेता हुनुहुन्छ भने तातेड मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता हुनुहुन्छ।

गुप्ता संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट र तातेड क्षेत्र नं. १ बाट निर्वाचित सभासद् हुनुहुन्छ भने दत्त समानुपातिकबाट सभासद् बन्नु भएको हो।

सम्भवतः नेपालमा यसरी पहिलोपटक एकैपटक मन्त्रिपरिषद्मा एकै गाविसका तीनजना मन्त्री भएकामा गाउँलेहरू हर्षित भएका छन्।

‘हाम्रै गाविसबाट तीनजना मन्त्री बन्नुहुन्छ भने सोचेको पनि थिएनौं, यसमा हामी अत्यन्तै गौरवान्वित भएका छौं’ कञ्चनपुर गाविस–५ निवासी अरविन्द साह भन्नुहुन्छ।

Popularity: 5%

Add comment September 17th, 2011

प्रचण्डका छोराले सगरमाथा आरोहण गर्ने

एचकेनेपाल डट कम संवाददाता-
संसारका सबै देशको झन्डासहित एक पर्वतारोहण दलले सगरमाथा आरोहण गर्ने कार्यक्रमसमेत तय गरिएको छ। सो आरोहण दलमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालसमेत रहेका छन्।

त्यस्तै एमाओवादी सेनाका ब्रिगेड कमाण्डरद्धय सरल सहयात्री र शरद शर्मा, वाइसिएलका काठमाडौ उपत्यका सहसंयोजक रामप्रसाद सापकोटा, सङ्गीतकार चेतन सापकोटा, अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य बिना मगरलगायत ११ जना रहनुभएको छ।

यस अभियानलाई सफल पार्नका लागि केसीको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ।

समितिमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र जिम्बा जाङबु शेर्पा, सहसंयोजक रहनुभएको छ भने सदस्य–सचिवमा सगरमाथा आरोही टीकाराम गुरुङ रहनुभएको छ।

यस्तै समितिमा नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा रहनुभएको छ।

अभियानका अन्य सदस्यहरूमा पर्यटन व्यावसायीहरू क्याप्टेन पासाङ नोर्बु शेर्पा, अर्जुन्ा शर्मा, महेन्द्रसिंह थापा, प्रसिद्ध पाण्डे तथा वायुसेवा सञ्चालकहरूको तर्फबाट क्याप्टेन रामेश्वर थापा एवम् खुम्जुङ गाविसका छिरिङ शेर्पा रहनुभएको छ।

यसैगरी समावेशी महिला आरोही पेम्बा छिरिङ शेर्पा, गैर आवासिय नेपाली सङ्घका अध्यक्ष देवमान हिराचन, कान्छा आरोही शम्भु तामाङ, पूर्व सभासद वाङ्छे शेर्पा पनि समितिमा सरिक रहनु भएको छ।

सो समितिको संरक्षकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल रहनु भएको छ भने सल्लाहकारमा पर्यटनमन्त्री र संस्कृतिमन्त्री रहनुभएको छ।

Popularity: 5%

Add comment September 17th, 2011

पहिरोमा पुरिएर ७ को मृत्यु १९ घाइते

एचकेनेपाल डट कम संवाददाता-
रोल्पा, पूर्वी रोल्पाको रुइनीबाङ बजारमा शनिवार विहान पहिरो जाँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

छ वटा घरमाथि पहिरो खस्दा ७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा सेरम ७ घुसवाङका ७५ बर्षीय नर बहादुर बुढाथोकी, गुम्चाल ३ का २६ बर्षीय काली परियार, ५ बर्षीय मिन्तु परियार, ३ बर्षीया निशा परियार र उवा निवासी ६० बर्षीय जुनतारा रहेका छन्। अन्यको सनाखत हुन सकेको छैन।

पहिरोले ३ वटा पक्की घर, ५ वटा कच्ची घर र ८ वटा पसल पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय रोल्पा, प्रहरी चौकी खुग्री, नेपाली सेनाको देबीदत्त गणका सेना र स्थानियवासीको सहयोगमा उद्धारकार्य जारी छ।

Popularity: 5%

Add comment September 17th, 2011

संवैधानिक अंग प्रमुखमा प्रतिस्पर्धा हुने

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा बाबुराम भट्टराईको अध्यक्षतामा आज बसेको संवैधानिक परिषदको बैठकले रिक्त रहेको संवैधानिक अङ्गमा १५ दिने सार्वजनिक सूचना निकालेर पदपूर्तिका लागि दर्खास्त माग गर्ने निर्णय गरेको छ।

हिजो बसेको परिषद्को बैठकपछि सभामुख सुवास नेम्बाङले संवैधानिक अङ्गमा नियुक्तिसम्बन्धी कार्यविधि नियमावली बैठकले पारित गरेको जानकारी दिनुभयो।

उहाँले १५ दिने सार्वजनिक सूचना निकालेर सो अवधिमा परेका आवेदन दिनेमध्ये सबैभन्दा क्षमता र अनुभव भएको व्यक्तिलाई संवैधानिक परिषद्को बैठकले छनोट गर्ने जानकारी दिनुभयो।

नेपाली काँगे्रसका संसदीय दलका नेता रामचन्द्र पौडेलले उपयुक्त स्थानमा उपयुक्त व्यक्ति चयन गर्ने उद्देश्यले आफूहरूले नियुक्तिमा नयाँ प्रक्रियाको सुरुवात गरेको उल्लेख गर्नुभयो।

परिषद्को बैठकमा प्रधानमन्त्री डा भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री वर्षमान पुन, सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ता र प्रमुख प्रतिपक्ष दलका नेता रामचन्द्र पौडेलको उपस्थिति थियो।

लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक र निर्वाचन आयोगमा पदाधिकारीहरू लामो समयदेखि नियुक्त हुन नसक्दा ती कार्यालयहरूका कामकारबाही प्रभावित भएका छन्

Popularity: 5%

Add comment September 17th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....