Archive for September 22nd, 2011

चलचित्र ‘यो कस्तो कथा’को पोखरामा शुभ मुहूर्त

हुम तमु/ एचकेनेपाल डट कम-
पोखरा, ५ पोखरा । आश्री फिल्म प्रोडक्शन प्रालिको पहिलो प्रस्तुती गुरुङ सँस्कृतिमा आधारित नेपाली फिल्म यो कस्तो कथाको विहीवार पोखराको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ।

निर्देशक विरबहादुर गुरुङले नरिवल फोडेर चलचित्रको शुभमुहूर्त गर्नुभएको हो। मुहूर्तको अवसरमा नायक गमन घले, नायिका मिरा गुरुङ र चरित्र अभिनेता सु्य सुनुवारले शुभममुहूर्त सट दिएका थिए।

गाउँले गरिब युवाको प्रेम संर्घषको कथा रहेको चलचित्रको कास्कीको गुरुङ गाँउ सिक्लेस र पोखरामा दशैभित्रै छायांकन सम्पन्न गर्ने योजना रहेको बताइएको छ।

करिब २० लाखको लागतमा निर्माण गरिने चलचित्रको निर्माता रुपा गुरुङ र श्रीप्रसाद गुरुङ रहनुभएको छ भने कथा एवं निर्देशन विरबहादुर गुरुङ, सहायक निर्देशक प्रतिक्षा गुरुङ, पटकथा सम्वाद माओत्से गुरुङ, श्रृंगार सुमन शंकर, प्रकाशमा मिन गुरुङ, भेषभूषा तथा नृत्यमा रुपा गुरुङ, निर्माण नियन्त्रण श्रीप्रसाद गुरुङ रहनुभएको छ।

चलचित्रका गीतमा राजेशपायल राई, दिया पाण्डे, आशिक राई, विरबहादुर गुरुङको स्वर र आशिक राईको संगीत रहेको छ भने साउण्ड लिंक डिजिटल स्टुडियो काठमाण्डौंले रेकर्डिङ गर्ने भएको छ।

फागुनको दोश्रो सातासम्म प्रदर्शन गरिने उक्त चलचित्रमा गमन घले, मीरा गुरुङ, सुर्य सुनुवार, प्रतिक्षा गुरुङ, नेत्र गुरुङ, आशिक राई, सरस्वती सुनुवार, तीर्थ गुरुङ, तीर्थप्रसाद गुरुङ (मोटे भाई), माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने भएको छ।

निर्देशक गुरुङले यसअघि पतझड, मालती, एकैछिन, विदेशको माटो स्वदेशको पीडा गरी चारवटा चलचित्रको निर्देशन गरिसक्नु भएको छ।

Recent Videos:

Popularity: 4%

1 comment September 22nd, 2011

मातृकाको निरकुंशताविरुद्ध पार्टी परित्यागको घोषणा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं ५ असोज । पुनर्गठित माओवादी पार्टीका प्रवक्ता भरत दाहालसहितका केन्द्रीय नेताहरुले पार्टीभित्र मातृका यादवको निरकुशता र ब्यक्तिवादी चिन्तन चरम अवस्थामा रहेको आरोप लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

उनले संयोजक मातृका यादवलाई व्यक्तिवादी, अराजक र सामन्तीवादी चिन्तन भएको व्यक्ति भएको भन्दै प्रवक्ता दाहाल सहितका केही केन्द्रीय सदस्यहरुले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी त्यस्तो घोषणा गरेका हुन्।

उनीहरुले मातृका यादव पक्षका विश्वास पात्रहरुलाई पार्टीको निर्णयविपरित विना चिठ्ठी र रसिद हतियार किन्नका लागि भन्दै मोटो रकम असुल्ने तर पार्टीमा कुनै हिसाव नदेखाई आफ्नो व्यक्तिगत प्रयोग गरी पार्टीलाई बदनाम गरेको आरोप लगाउँदै अबदेखि मातृका यादव नेतृत्वको अन्तर्गतको पार्टीमा कुनै सम्बन्ध नरहेको स्पष्ट पारे।

दाहाल समूहले मातृका यादवको नेतृत्वमा पार्टीको विकास र विस्तार हुने सम्भावना नरहेको भन्दै उनीहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

Recent Videos:

Popularity: 4%

Add comment September 22nd, 2011

चार बुँदेसहमतिलाई राष्ट्रघाती प्रमाणित गरेर देखाउः सञ्चारमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले चार बुँदे सम्झौतालाई राष्ट्रघाती भएको प्रमाणित गरेर देखाउन काग्रेस, एमाले र माओवादीको बैद्य समूहलाई चुनौति दिनुभएको छ।

रिपोर्टर्स क्लब नेपालमा विहीबार आयोजित साक्षात्कारमा मन्त्री गुप्ताले टुडिखेलमा सर्वदलिय सम्मेलन गरेर चार बुँदे सहमतिबाट कहाँ राष्ट्रघात र सिक्किमीकरण भयो सार्वजनिक रुपमा छलफल गरेर प्रमाणित गर्न चुनौति दिनु भएको हो।

साक्षात्कारमा मन्त्री गुप्ताले मुलुकको आधार जनसंख्या रहेको मधेसलाई अपहेलित गर्ने कामले मुलुकको राष्ट्रियतालाई राम्रो नगर्ने चेतावनी पनि दिनु भयो।

सरकार निर्माणअघि काग्रेस र एमालेले पनि चार बुँदे प्रस्तावमा समर्थन गरेको दावी गर्दै गुप्ताले सरकारको नेतृत्व गर्न नपाएको र सरकार बाहिर बस्नु परेको पीडाको रुपमा राष्ट्रघात र सिक्किमीकरण जस्तो आरोप आएको आरोप लगाउनुभयो।

चार बुँदे सहमतिलाई माओवादीको पदाधिकारी बैठकले अनुमोदन गरेको र अहिले विरोध गर्ने उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलको उपस्थितिमै हस्ताक्षर भएको भन्दै माओवादीले पार्टी भित्रको विवादलाई ब्यवस्थित गर्न नसक्दा चार बुंदेमाथि गम्भीर खालको आरोप लगाईएको दावी गर्नुभयो। उहाँले भन्नुभयो-काग्रेस र एमालेले पनि चार बुँदे स्वीकार गरेका थिए। तर हामीले शान्ति प्रक्रिया उनीहरुबाट पुरा नहुने भएकोले माओवादीलाई समर्थन गरेका हौं। सम्झौता हुने बेलामा अहिले विरोध गर्ने माओवादीको समूहको पनि समर्थन थियो। माओवादीले पार्टीको विवाद ब्यवस्थित गर्न नसक्दा यस्तो भएको हो।

उहाँले पहिला समर्थन गर्ने अनि अहिले आएर यस्तो गम्भीर आरोप लगाउनु मधेसको तर्फबाट अक्षम्य भएको भन्दै माओवादी, काग्रेस र एमालेले यसको दुष्परिणाम मधेसबाट भोग्नु पर्ने चेतावनी दिनुभयो। उहाँले चार बुँदे सम्झौतामाथिको आरोप सामान्य राजनीतिक नीति र शिष्टाचार मर्यादा विपरित भएको आरोप समेत लगाउनुभयो।

Popularity: 4%

Add comment September 22nd, 2011

पोखरा गोल्ड कप २०६८ का बिभिन्न समितिहरु गठन

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ५ असोज । आगामी कार्तिक २२ गतेदेखि पोखरा रङगशालामा संचालन हुने राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिति गठन भएको छ।

कास्की जिल्ला फुटबल संघ एन्फा संघका अध्यक्ष खेम वहादुर गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न भएको बैठकले प्रतियोगितालाई ब्यबस्थित रुपमा सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरेको हो।

प्रथामिक उपचार संयोजकमा संघका सल्लाहकार डा.दिगविजय शर्मा तिमिल्सिना, यातायात तथा होटल ब्यवस्थापनमा सूर्यबहादुर भुजेल, सुरक्षा ब्यवस्थापनमा विमल बस्याल, स्वयंसेवक परिचालनमा दिनेश श्रेष्ठ, टिम समन्वय तथा अतिथि सत्कारमा गणेशबहादुर भट्टराई, प्राविधिक तथा अनुशासनमा गोपाल थापा, मञ्च ब्यवस्थापनमा बिक्रम थकाली चयन हुनुभएको सचिव बसन्त थकालीले जानकारी गराउनु भयो।

एन्फा कास्कीका उपाध्यक्ष गोपी बहादुर भट्टराई प्रतियोगिताको संयोजक रहनु भएको छ। प्रतियोगितामा काठमान्डौमा सम्पन्न भएको रेडबुल लिगबाट सुपरलिगमा प्रबेश गरेका चर्चित ८ ए डिभिजन क्लवहरुसहित बगलादेश, भारत, र भुटानका एक/ एक टिम सहित आयोजक पोखराको एक टिम गरि करीव १२ टिमको सहभागिता रहने एन्फा कास्कीका सहसचिव बुद्धि खत्रिले जानकारी दिनु भयो।

प्रतियोगितामा बिजेताले २ लाख र उपबिजेताले एक लाख र उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल पाउने भएको छ।

Popularity: 4%

Add comment September 22nd, 2011

असोज ८ गतेदेखि रारा सेभेन ए साईड फुटबल

दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ५ असोज । पोखराको रामबजारमा रहेको भ्याली स्पोर्टस क्लबको आयोजनामा यही असोज ८ गतेदेखि प्रथम रारा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ।

असोज १४ गतेसम्म पोखरा रङगशालामा संचालन हुने उक्त प्रतियोगितामा करीब ४० टोलीको सहभागिता रहने क्लबले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

प्रतियोगितामा बिजेता टोलीले नगद ७० हजार र उपबिजेताले नगद ४० हजारको साथमा कप मेडल प्रमाण पत्र पाउने भएको खेल संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी गराउनु भयो।

फुटबल खेलको विकास आपसी भाईचारा र पोखरा खेलकुदको शहर फुटबल विकास गराउन भ्यालीको रहर भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता आयोजना गर्न जुटेको क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले बताउनु भयो।

प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च लाग्ने भएको क्लबले जनाएको छ। क्लबले पोखरा रङगशालाको पश्चिमपट्टिको फुटबल मैदान मर्मत गर्न करीब २५ हजार रुपैया खर्चिएको क्लबका सचिव तथा खेल संयोजक सम्मर बहादुर श्रेष्ठले बताउनु भयो। रारा चाउ चाउ मुख्य प्रयोजन रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न चाउचाउले एक लाख सहयोग गर्ने भएको क्लबका अध्यक्ष मेनकाजी गुरुङले बताउनु भयो।

साथै प्रतियोगिता सम्पन्न गर्न क्लबले सम्मर हादुर श्रेष्ठको मुल संयोजकत्वमा बिभिन्न उपसमिति गठन समेत गरेको छ।

पत्रकार सम्मेलनको अवसरमा सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट हालै पुरस्कृत हुनु भएका रेडियो अन्नपूर्ण/पोखरापत्रका संबाददाता दिननाथ बराललाई बधाई ज्ञापन गरीएको थियो। क्लबका कार्यबाहक अध्यक्ष खेम गुरुङले खादा लगाई सफलताको कामना गर्दै बधाई ज्ञापन गर्नुभएको हो। साथै सोही अवसरमा राष्ट्रिय फुटबल खेलाडी एवम भ्यालीका टिम कप्तान बिजय गुरुङले क्लबका जुनियर टोलीलाई दुइ थान फुटबल हस्तान्तरण गर्नु भएको थियो।

Popularity: 4%

Add comment September 22nd, 2011

अर्थमन्त्रीलाई सुझाब

अधिवक्ता,जगतप्रसाद आचार्य-
दुबई,युएई

सम्मानीय अर्थमन्त्री बर्षमान पुनज्यू
सादर नमस्कार !!!
आज नेपालको इतिहासमा सबै भन्दा कम उमेरको अर्थमन्त्रीको रुपमा पदासिन भई ठूलो जिम्मेवारी लिनु भएको छ।

अब यो जिम्मेवारीलाई बहन गर्नलाई तपाईको अगाडि धेरै चुनौती र समस्या रहेको परिप्रेक्ष्यमा देशको अर्थतन्त्रमा क्रान्तिकारी नीति लागु गरेर नेपालको आर्थिक अवस्थामा आमुल परिबर्तन गर्नु पर्न गहन अविभारा पूरा गर्न र आर्थिक प्रशासनलाई चुस्त राखी बहुसंख्याक जनताहरुको आँखाको नानी बन्न तपाई सफल हुनु भएमा तपाइले द्वन्दकालमा गरे/भएका गल्तीलाई पनि आम जनताले माफी दिनेछन् भन्न मलाई पूर्ण विश्वास छ।

तसर्थ, जनताको तपाईप्रति भएको आशा र समयले तपाईलाई प्राप्त अर्थमन्त्रीको कार्यभार बहन गर्ने अवसरलाई देशको हितमा कार्य गर्न दलीय भाबनामाथि रहेर बिना पूर्बाग्रह भै माओबादीको मात्र मन्त्री नभएर जनताको मन्त्री बन्नु आवश्यक छ। यदि देशमा आर्थिक क्रान्ति मार्फत समग्र नेपाली जनताको हितमा काम गर्न चाहनु हुन्छ भने सर्ब प्रथम तपाइले चढेको पुरानो गाडी फिर्ता गरेर र तपाइको सचिबले भ्रष्टाचारीलाई किरा परोस भनेर भेष्ट लगएर मात्रै पुग्दैन अब अर्थमन्त्रीबाट नै गैर कानुनी रुपमा सम्पति आर्जन गर्ने,भ्रष्टाचारी, कालोबजरि र ठगी गरेर कमाएको संपूर्ण संपतिलाई कानुनको दायरामा ल्याइ सरकारीकरण गरिनु अत्यन्त आबश्यक छ जसको लागि सुरुवात मन्त्रीस्तरदेखि सभासद,सचिब्, बिभगिय प्रमुख, सरकारी कर्मचारीलगायत उद्योगपति, ब्यापारी,बिभिन्न पेशा ब्यबसायीलाई क्रमशः कानुनी दायरमा ल्याउनलाई सोही अनुसार आर्थिक ऐन कानूनमा परमर्जन गरी लागु गरेको खण्डमा अकल्पनिय सरकारी कोषमा रकम जम्मा हुनेछ। जसले यो कार्यमा स्वस्फूर्त रुपमा आफ्नो संपतिको घोषणा गरी यति रकमको स्रोत नखुलेको हुनाले सरकारी निर्णय अनुसार गरीदिन अनुरोध् गरेमा त्यस्ताको लागि अलग मापदण्ड र अटेर गरेर मिचाह प्रबृति गरेमा त्यसलाई अलग मापदण्ड निर्धारण गर्नु उपयुक्त हुनेछ। यसरी प्राप्त कोषको रकम गरीबी,बिपन्न बर्ग,दैबी प्रकोप,निर्माण लगायतका बिभिन्न सामुहिक हितका परियोजनाहरुमा लगानी गरिने कुराको जानकारी अग्रिम रुपमा आम जनताहृरुलाई सूचित गरी अर्थ मन्त्रालयको १ इमेलमा त्यस्ता ब्यक्तिहरु संबन्धि जानकारी माग गरी त्यसको आधारमा सत्य तथ्य पत्ता लगाइ अगाडी बढेको खण्डमा आम जनताहरुबाट यसको सहयोग र प्रसंशा हुनेछ।

संसारका हरेक बिकसित राष्ट्रहृरुमा बस्ने जनताहरुले आफूले त्यस देशमा काम गरी कमाएको संपतिको निश्चित प्रतिशत रकम करको रुपमा सरकारलाई बुजाउनु पर्छ चाहे त्यसले जतिसुकै आर्जन गरोस र बाँकी रहेको रकम त्यसले आफूखुशी गर्दछ। तसर्थ, हामी नेपालीहरुमा पनि यस्तो भावना हुनु आवश्यक छ ताकि आफूसंग भएको सम्पतिको कारणले रातभरि निन्द्रा नलागी छटपटि नहोस्। यसरी दिनरात हरेक सरकार आएपछि छटपटि भै रहनु भन्दा १ पटक सरकारले यो मिति सम्ममा कमाएको/भएको संपूर्ण संपतिको कसरी बैध हुन्छ भन्ने बारेमा कार्यक्रम आह्वान गरी दिए हुन्थ्यो भनि धेरैलाई चिन्ता भैरहेको हुनसक्छ।

अब सरकारले बिगतमा कमाएको र भएको सम्पतिलाई मापदण्ड तयारी गरी अख्तियार, राजस्व अनुसन्धान, बिशेष प्रहरी, गुप्तचर बिभाग, नेपाल प्रहरी र संपूर्ण जनता सबैको सहयोग लिइ आर्थिक अपराध नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाली गैरकानुनी सम्पतिलाई सरकारी कोषमा जम्मा गर्न र त्यस्ता ब्यक्तिहृरुलाई कानुनको दायरामा ल्याउनु र आउने दिनहरुमा यस्ता घटनाहरु दोहोरिन नदिनका लागि अर्थ मन्त्रालय र सरकारले भन्सार,अन्तरिक राजस्व कार्यालय, मूल्य अभिबृद्धि कर कार्यालय(VAT),राजस्व बिभागलगायत सम्पूर्ण क्षेत्रमा सशक्त नियम कानुन लागु गरि नेपाल अधिराज्यमा दर्ता रहेका सम्पूर्ण उधोग, कम्पनी, फर्म र पेशा व्यवसाया सबैलाई इन्टरनेट संजाल मार्फ़त् कर, भ्याट, मालपोत, वाणिज्य बिभाग, उधोग,नगरपालिका सबैमा इन्टर लिङ्कको ब्यबस्था गरि निजहरुले आर्जन गरेको सम्पति वा आयको बिबरणलगायत संपूर्ण कुराहरुको यतार्थता झल्किने ब्यस्था गरिनु नितान्त आवश्यकता छ।

नेपाल राष्ट्र बैंकमार्फत विभिन्न बाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रबर्द्धक तथा सञ्चालकहरूले खराब नियतले आफन्त र मिलेमतोमा कर्जा प्रवाह गरी बैंक तथा वित्तीय संस्थालाई धरासायी बनाइ आफ्नो फाइदाको लागि खेलेको घृणित कार्यलाई आर्थिक अपराधको रुपमा लिइ निजहरुको अन्य बैक तथा कम्पनीमा रहेको शेयरलाई पूर्णतः रोक्का र जफ़त् हुने कडा नियम अबलंबन गरिनु आवश्यक छ।

नेपालबाट बिदेशमा जाने वा लाने सम्पतिलाई निरुत्साहित गर्दै विदेशबाट नेपालमा आई लगानी व्यापार गर्न चाहेनेहरुलाई नेपालको बिविध क्षेत्रमा लगानी गर्न केही खुकुलो र लचिलो आर्थिक नीति अवलम्बन गरिनु आवश्यक हुनेछ जसले देशको बिकासमा टेवा पुग्ने छ।

आर्थिक आध्यादेशमार्फत ग्रामिण स्तरमा स्थापित १० जना भन्दा बढि कामदारहरुलाई रोजगारी दिने उधोगहरुलाई बढीमा ५ बर्षसम्म आयकर मिनाहा गरी दिएमा ग्रामिण स्तरमा सयौ उधोगहरु खुल्ने लहर आउने छ जसले ग्रामिण स्तरमा हजारौं जनताहरुले प्रत्यक्ष रोजगारी र लाखौ जनताहरुलाई अप्रत्यक्ष लाभान्बित हुने छन्।

तसर्थ, देशको मेरुदण्डको रुपमा रहेको अर्थ मन्त्रालयले देश र जनताको आर्थिक बिकासमा क्रान्तिकारी परिबर्तनलाई ध्यान दिन हो भने अब गैरकानुनी रुपमा रहेको सम्पतिको खोजि र व्यस्थापन,बाणिज्य बैंक तथा वित्तीय संस्थामा निगरानी,ग्रामिण उधोगलाई प्रोत्साहन र आगामी दिनमा प्रगतिशील कर प्रणालीको व्यवस्था गरिनु पर्दछ भन्ने मेरो बिनम्र सुझाब रहेको छ। धन्यवाद

Popularity: 4%

1 comment September 22nd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....