Archive for September 27th, 2011

नेदरल्यान्ड्समा नेपाली जन- प्रगतिशील मंचको स्थापना

थानेश्वर गौतम / एचकेनेपाल डट कम -
नेदरल्यान्ड्स, २६ सेप्टेम्बर । नेदरल्यान्ड्समा नेपालीहरुको एक भेलाले नेपाली जन- प्रगतिशील मंचको गठन गरेको छ।

स्वदेशमै रहँदा बिबिध कारणबश बिदेशमा रहनु पर्दा सामाजिक , आर्थिक तथा राजनीतिक परिवर्तनका लागि भैरहेका संघर्षहरुमा सहभागी हुनु र संघर्षको नेतृत्व गर्ने सहयोद्धाप्रति ऐक्यबद्धता जुटाउनु हामी सबैको कर्तब्य हुन आउछ। यही प्रगतिशील विचार , भावना एबम चेतनालाई एकीकृत गर्दै नेपालीमुलका व्यक्ति हरुको अधिकारको लागि नेदरल्यान्ड्स भरि छरिएर रहेका नेपाली मुलका व्यक्तिहरु बीच एकता, भातृत्वको बिकाश गर्ने र सामाजिक परिवर्तन र बिकाशमा सकारात्मक टेवा पुर्याउने उद्धेबाट प्रेरित भै नेदरल्यान्ड्स नेपालीहरुको एक भेलाले नेपाली जन- प्रगतिशील मंचको गठन गरेको हो।

बिबिध किसिमले नेदरल्यान्ड्समा आइ बसोबास गर्ने एबम कामकाज गर्ने नेपालीहरु संगठित गर्नु ,विभिन्न प्रकारले बिपत्तिमा परेकाहरुलाई सामूहिक प्रयत्नबाट सहयोग गर्नु ,अन्तर्राष्ट्रय रुपमा स्थापित मूल्य र मान्यता अनुरुप प्रवासी नेपालीहरुले पाउनु पर्ने आधारभूत मानव अधिकारको प्रश्नमा तथा नेपाली प्रवासीहरुले झेल्नु परेका समस्या चुनौतीहरुको पहिचान गरी समस्या समाधानको लागि सधै क्रियाशील हुनु ,संसारभरका उत्पीडित जनताले चलाएका कुनै पनि न्यायपूर्ण संघर्षहुरुको समर्थन गर्नु र उत्पीडनको बिरोध गर्नु सो मंचका उद्धेश्यहरु रहेका छन्।

नेपाली जन प्रगतिशील मंच नाम दिइएको उक्त सस्थाले २१ सदस्सीय कार्य समिति र ३ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ। रामचन्द्र पोख्रेलको अध्यक्षतामा गठित उक्त समितिमा रन लामा उपाध्यक्ष ,थानेश्वर गौतम महा- सचिब , संघर्ष के सी सचिब, राम पौडेल कोषाध्यक्ष हुनुहुन्छ भने सदस्यहरुमा क्रमश…तुलसी अमगाई, दीपक बोहरा,प्रयागराज खनाल,रामकृष्ण लामिछाने ,गणेश सिम्खडा ,बिनोद श्रेष्ठ ,कर्ण रोका ,राजन छेत्री , खेम सापकोटा ,प्रकाश महत ,सहितका २१ सदस्यिय केन्द्रीय कार्य समितिको चयन गरेको छ। त्यस्तै डाक्टर बालगोपाल श्रेष्ठ , डाक्टर कृष्ण चन्द्र प्रसाद र बिर्ख बहादुर सुब्बा सल्ल्लाहकार चयन गरेको छ। आम्स्टरडमको एरिनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको निर्माण गर्नुको कारणका बारेमा तुलसी अमगाईले चर्चा गर्नुभएको थियो भने कार्यक्रमको संचालन दीपक बोहराले गर्नु भएको थियो।

Recent Videos:

Popularity: 4%

Add comment September 27th, 2011

प्रधानमन्त्रीको विदेश भ्रमण भत्ता राहतकोषमा

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदा सरकारले उपलब्ध गराएको भत्ता दुई हजार तीन सय १४ अमेरिकी डलर अर्थात एक लाख ७६ हजार तीन सय ६४ रुपैयाँ भूकम्प पिडित राहतकोषमा जम्मा गर्नु भएको छ।

त्यस्तै अमेरिकामा रहनु भएकी प्रधानमन्त्रीकी गुरुआमा इलेनोर इल्कीनेसले पकेट खर्च स्वरुप उपलब्ध गराएको पाँच सय अमेरिकी डलर अर्थात ३८ हजार एक सय पाँच रुपैयाँ रकम पनि राहत कोषमा जम्मा गर्नु भएको छ।

त्यस्तै अमेरिकामा रहेका अर्जुनप्रसाद मैनालीले राहत कोषमा जम्मा गर्नका लागि प्रधानमन्त्रीलाई दिएको १५ सय अमेरिकी डलर अर्थात एक लाख १४ हजार तीन सय १५ रुपैयाँ रकम पनि उक्त राहत कोषमा जम्मा गरिएको छ।

Recent Videos:

Popularity: 4%

Add comment September 27th, 2011

कालिजलाई ताकेको गोली साथीको टाउकोमा

एचकेनेपाल डट कम संवाददाता-
सिकार खेल्न गएको बेला सँगैको साथीले चलाएको गोली लागेर दाङमा सोमबार एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको स्युजा गाविस वडा नं. २ को जङ्गलमा सिकार खेल्न गएका बेला स्थानीय डाठे थापाले हानेको गोली लागी सोही ठाउँका १३ वर्षीय विष्णु विकको मृत्यु भएको हो।

थापाले कालिजलाई हानेको गोली विकको टाउकामा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको दाङका प्रहरीप्रमुख गणेशबहादुर ऐरले जानकारी दिनुभएको छ।

गोली चलाउने थापालाई अहिले जिल्ला प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिइसकेको र उनीहरूसँगै सिकार खेल्न गएका अन्य दुई जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको पनि प्रहरी प्रमुख ऐरले जानकारी दिनुभयो।

Popularity: 4%

Add comment September 27th, 2011

रोगको पीडा सहन नसक्दा आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
रोगको पीडा सहन नसकी झापामा एक जनाले उपचारकै क्रममा झुन्डिएर आत्महत्या गरेका छन्।

झापाको चारपाने–१ बस्ने ४८ वर्षीय तिलविक्रम खड्काले सोमबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लामो समयदेखि जण्डिस रोगबाट पीडित खड्काले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नानघरमा झुन्डिएर आत्महत्या गरेका हुन्।

Popularity: 4%

Add comment September 27th, 2011

राजमार्गका रेष्टुरेण्टको विरोध

एचकेनेपाल डट कम संवाददाता-
अरनिको राजमार्ग खण्ड अन्तर्गत जगातेदेखि नंखेल पलाँसे हुँदै साँगा भन्ज्याङ्गसम्मका हाइवे रेष्टुरेण्ट देहव्यापार र जुवातासको अखडा बनेको भन्दै नंखेल गाविसका बासिन्दाले विरोध गरेका छन्।

रेष्टुरेण्टमा अवैधानिक तथा अनैतिक कार्य बढेपछि साँझ बिहान हिँडडुल गर्न समेत नसकिने भएको, सिंगो गाविस असुरक्षित भएको र गाउँकै बदनाम भएको भन्दै नंखेल गाविसका सात राजनीतिक दलका प्रतिनिधिले आज जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

अरनिको राजमार्ग खण्डको दायाँबायाँ रहेका १७ वटा रेष्टुरेण्ट दैनिक देहव्यापार र जुवातासको अखडा बनेकाले स्थानीयले यस्ता रेष्टुरेण्टलाई कानुनको दायरामा ल्याउनुपर्ने भन्दै गाविसको सर्वदलीय संयन्त्रले ज्ञापनपत्र बुझाएको हो।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र प्रहरी उपरीक्षक नारायणसिंह खड्काले प्रहरीकै संरक्षणमा यस्ता गतिविधि भइरहेको स्वीकार गर्नुभयो।

रेष्टुरेण्ट सञ्चालकले अरनिको होटल सङ्घ खोलेर प्रत्येक रेष्टुरेण्टसंग मासिक रु एक हजार ५ सय सङ्कलन गरी प्रहरीको घुमुवालाई बुझाउने गरेको एमाओवादीका गाविस प्रतिनिधि नकुल रानामगरले दाबी गर्नुभयो

Popularity: 4%

Add comment September 27th, 2011

वाग्लेको सम्पति जफत गर्न अदालतको आदेश

एचकेनेपाल डट कम संवाददाता-
सर्वोच्च अदालतले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको नाममा विभिन्न बैङ्कमा रोक्का राखिएको रू एक करोड ९० लाख बराबरको सम्पति जफत गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय ताहिरअली अन्सारी र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले सो आदेश जारी गर्दै उक्त रकमबाट बढेबढाएको सम्पति भने मुद्दाको अन्तिम किनारा नलागेसम्म रोक्का राख्न अन्तरिम आदेश जारी गरिएको अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताउनुभयो।

पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठसहितको संयुक्त इजलासले विसं २०६७ चैत २४मा पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष कैद र रू एक करोड ९० लाख बराबरको सम्पति जफत गर्न आदेश दिएपछि काठमाडौं जिल्ला अदालत तहसिलको कार्यालयबाट फैसला कार्यान्वयनको क्रममा पूर्वमन्त्री वाग्ले र उहाँका छोरा देवन्द्रका तर्फबाट गत भदौ २७ मा तोकिएको रकम बाहेक त्यसबाट बढेबढाएको सम्पति जफत नगर्न माग गरी रिट परेको थियो।

यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको रिटमा विशेष अदालतले भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको भन्दै उहाँहरूलाई कैद र जरिवाना गर्ने आदेश गरेपछि अदालतमा पुनरावेदन परेको थियो।

Popularity: 4%

Add comment September 27th, 2011

हत्या आरोपमा मन्त्रीलाई पक्राउ पुर्जी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १० असोज । हिन्दु युवासंघ अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न देखिएपछि भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

अशोक बाटिकास्थित शिव-पार्वती मठमा २०६७ असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो।

हत्यामा संलग्न रोहित भनिने अमन कुशवाहाले प्रहरीसमक्ष प्रभु साहको उपस्थितिमा गोली प्रहार गरेको बयान दिएका थिए। अनुसन्धानको क्रममा तिवारी हत्यामा प्रभु साहको संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरी वीरगन्ज पठाउन काठमाडौं प्रहरीलाई पत्र पठाएको छ।

प्रहरी हिरासतमा रहेका अमनले तिवारीमाथि गोली चलाउन प्रभु साहले निर्देशन दिएको प्रहरीलाई बताएको प्रहरीले स्रोतले जनाएको छ।

गोली हान्ने अमनलाई स्थानीय दुई प्रत्यक्षदर्शीले पहिचान गरेपछि उनी प्रकाउ परेका थिए।

Popularity: 4%

Add comment September 27th, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2011
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....