एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ कार्तिक । नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले नेपाली काग्रेस विप्पा सम्झौताको सैद्धान्तिक रुपमा विरोधी नभएको बताएका छन्।
अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमूलक देउसी भैलो कार्यक्रममा बोल्दै सभापति कोइरालाले काग्रेसले नै नेपालमा खुल्ला अर्थतन्त्र ल्याएकोले विपाको विरोधी नभएको स्पष्ट पारे। यद्यपि, उनले विपा सम्झौता गर्ने समयप्रति भने असन्तुष्टि जनाए।
उनले भने-लगानीको सुरक्षाको लागि बातावरण बनाउनु पर्छ । बातावरण नबनाउने अनि लगानीको सुरक्षाको कुरा गर्ने यो कन्ट्राडिक्सन भयो।
कोइरालाले मुलुकमा शान्ति र स्थायीत्व भए त्यसले जति पनि लगानी ल्याउने भन्दै शान्ति कायम गरेर सम्झौता गरेको भए उपयूक्त हुने तर्क गरे। उनले भने-शान्ति भएपछि सबै राम्रो हुन्छ लगानीको बातावरण आफै बन्छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ कार्तिक । उपराष्ट्रपति परमानन्द झाले विप्पा सम्झौताको आलोचना विरोधका लागि विरोधमात्र भएको दावी गरेका छन्।
अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानको लागि दवावमुलक देउसी भैलो कार्यक्रममा बौल्दै उपराष्ट्रपति झाले विप्पाले नेपालीलाई संयम हुन बाध्य पार्ने भएकोले संयमता अपनाउन नचाहनेहरुले विरोध गरेको आरोप लगाए।
उनले भने-विपा सम्झौता नगरे कसरी नेपालमा लगानी आकर्षित गर्न सकिन्छ । विपा नराम्रो होईन तर भारतलाई मात्र सुविधा दियो भन्ने भारत विरोधी मानसिकताले विरोध भएको हो।
उनले राजनीतिक दलहरुले नचाहेकैले शान्ति र संविधान निर्माणको कार्य पुरा हुन नसकेको आरोप लगाउँदै अब जनता जागेमात्रै शान्ति र संविधान सुनिश्चित हुने दावी गरे। उनले भने-कसैले मागेर अब शान्ति संविधान आउँदैन जनता जाग्नु पर्छ।
उनले ६२-६३ सालमा पनि जनता जागेर अहिलेको उपलब्धि आएको भन्दै अब पनि जनतानै जाग्नुको विकल्प नरहेको बताए।
उनले राष्ट्रपति, उपराष्ट्रपति सहितका पदाधिकारीले भनेर शान्ति र संविधान आउन नसक्ने भन्दै आफूहरुले आशा बाहेक केही गर्न नसक्ने बताए।
झाले भने- आशा गरौ केही होला तर यस्तै होला भनेर भन्न सकिदैन । म शान्ति र संविधान हुन्छ भनेर ग्यारेन्टी गर्न सक्दिन । उनले दलहरुमा देशलाई निकास नदिने मनस्थिति रहेको आरोप समेत लगाए।
एस, हङकङ / एचकेनेपाल डट कम-
हङकङ, २६ अक्टोबर । हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेप्लीज फाउण्डेशनको संयोजनामा आज बुधवार साँझ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती मनाइदै छ। (more…)
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए। लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो। उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो। देवकोटा चौध भाषा बुझथे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।
सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे। बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे। बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए। साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे। उनको सौखको अर्को साधन साइकल पनि थियो।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए। तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो।
देवकोटा दूरदर्शी थिए। कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने। तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो। उपचारका क्रममा डा.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन। उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षसम्म जागिरमा छिर्न सकेनन्। अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए। उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए। बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए। तर त्यहाँ उनी चार महिना मात्र टिके। त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए। त्यहाँ पनि उनी तीन महिना मात्र टिके। उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए। त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन्। अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो। त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो। उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए। त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे। राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए। त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो। महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए। डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने। ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए।
नेपाली परिवेशमा जन्मिएर युगान्तरकारी स्रष्टाको रूपमा विश्व परिक्रमा गरिरहेका अजर अमर स्रष्टाको नाउँ नै महाकवि लक्ष्मीप्रसाद देवकोटा हो। उनले ३६ वटा खण्डकाब्य ६ वटा महाकाव्यलगायत विविध विधाका ८४ वटा कृति लेखे। उनका अप्रकाशित ४५ वटा कृति भेटिएका छन्।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए। चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए। त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए। तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो। तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए।
naiprasai@gmail.com
एचकेनेपाल डट कम संवाददाता-
यमपञ्चकको दोस्रो दिन आज साँझ अधिराज्यभर धनधान्यकी देवी लक्ष्मीको आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ।
आज साँझ बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरका सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झयाल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ।
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चर्ढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्छन्।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ।
आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन्। यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ।
सत्ययुगमा वामन अवतार विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले विष्णुलाई सन्तुष्ट पारी दानशीलताको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ।
प्रेम न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ८ कात्तिक। हातेमालो अभियान नेपालको आयोजनामा पोखरामा सञ्चालित खुल्ला मैत्रीपूर्ण डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि विशाल खड्का र डोरबहादुर विष्टको जोडीले हात पारेको छ।
मंलबार भएको फाइनल खेलमा राम ध्वजू र सञ्जीव कोइरालाको जोडीलाई २-१ को सेटमा पराजित गर्दै खड्का र विष्टको जोडीले उपाधि हात पारेको हो। पहिलो सेट १५-११ ले हात पारेका विष्ट र खड्का लगातारको खेलाइले दोस्रो सेटमा ७-१५ ले चुके। तर तेस्रो सेटमा संयमतापूर्वक खेलेपछि १५-८ ले कब्जामा पार्दै उपाधि सुरक्षित गरे।
विजेता खड्का र विष्टले नगद पाँच हजार एककको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेतामा सीमित ध्वजू र कोइरालाले नगद तीन हजार एकमा चित्त बुझायो।
तेस्रो स्थान प्राप्त गरेका बालकृष्ण केसी र रमेश श्रेष्ठको जोडी तथा तेजेन्द्र गुरुङ र मनि गुरुङको जोडीले नगद एक हजार प्राप्त गरे। प्रतियोगितामा सञ्जीव कोइराला बेस्ट प्लयेर घोषित भएका थिए।
यसअघि, भएको पहिलो सेमिफाइनल खेलमा राम ध्वजू र सञ्जीव कोइरालाको जोडीले तेजेन्द्र गुरुङ र मनि गुरुङको जोडीलाई १५-१०, ५-१५ तथा १५-१२ ले पराजित गरेको थियो।
दोस्रो खेलमा विशाल खड्का र डोरबहादुर विष्टको जोडीले बालकृष्ण केसी र रमेश श्रेष्ठको जोडीलाई १५-१०, ११-१५ तथा १५-७ ले पराजित गरेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्ण रानामगर, इन्फोम्याक्स कलेज पोखराका संस्थापक समीर थापा, एलआईसी नेपाल पोखरा शाखा प्रमुख सोनबहादुर आले, पश्चिमाञ्चल क्षेत्रीय वृडर सङ्घका अध्यक्ष रामबहादुर थापा, पूर्व वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक धर्मलाल प्रधान, अधिवक्ता सरिता थापामगर, कुमाल समाज कास्कीका अध्यक्ष जीवन कुमाल, मीनबहादुर घले,नेकपा एकीकृत कास्कीका अध्यक्ष भीमबहादुर श्रीस, हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि नेपाल मगर सङ्घका अध्यक्ष पूर्ण रानामगरले खेललाई शारीरिक फिट्नेशलाई मात्र ध्यान नदिइ देश र जनताको हितमा पनि लगाउनुपर्ने बेला आएको बताए। उनले राज्यले बेवास्ता गरेको खेलकुदलाई निजी क्षेत्रले टिकाइराखेको दाबी गरे।
दीपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा इन्फोम्याक्स कलेज पोखराका संस्थापक समीर थापा, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने, पूर्व वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक धर्मलाल प्रधान, खेलाडीको तर्फबाट सञ्जीव कोइरालालगायतले मन्तव्य राखेका थिए।
हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक हर्क आलेमगरले गरेका थिए।
३२ टीमको सहभागिता रहेको सो प्रतियोगितामा धर्मलाल प्रधान,नीरबहादुर थापा, वीरबहादुर आले, फणिन्द्रप्रसाद तिमिल्सेना र आर के अर्यालले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।