Archive for November, 2011

आहा गोल्ड कपको दशौँ संस्करण माघको पहिलो साताबाट

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १४ मंसिर । नेपालकै चर्चित आहा गोल्ड कपको दशौँ संस्करण आउदो माघको पहिलो साताबाट पोखरामा हुने भएको छ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं नाराका साथ आयोजना हुने लागेको अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित दशौँ आहा गोल्ड कप २०६८ फूटबल प्रतियोगिता माघ महिनाको पहिलो साताबाट हुने भएको आयोजक सहारा क्लका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।

हिमश्री फूड्स प्रा.लि.को मुख्य प्रायोजन, सानमिगेल वियरको सह-प्रायोजन, कोकाकोलाको उप-प्रायोजन, यामाहा मोटर साईकलको सह-उप-प्रायोजन, नेपाल पर्यटन बोर्डको प्रवर्द्धक, राष्ट्रिय खेलकुद परिषद एवं अखिल नेपाल फूटबल संघको विशेष सहयोग र पोखरा उप महानगरपालिकाको संयोजनमा उक्त प्रतियोगिता हुन लागेको हो।

उक्त प्रतियोगितामा नेपालको उत्कृष्ट ए डिभिजन क्लबहरु, केही विदेशी टिमहरु सहित मोफसलका क्लब एवं आयोजक सहारा क्बल पोखरा गरि १२ टिमको सहभागिता रहने क्लबले जनाएको छ।

प्रतियोगितालाई विगत बर्षहरुमा जस्तै यस वर्षपनि सम्पूर्ण व्यापारी, विद्यार्थी, राजनैतिक दल एवं भातृ संगठन, यातायात व्यवसायी, भूतपूर्व खेलाडी, सञ्चारकर्मी, सरकारी निकाय लगायत फूटबल प्रेमी दर्शकवृन्दहरुको सहयोग र सद्भाव रहने पूर्ण विश्वास आयोजक सहारा क्लब पोखरा परिवारले लिएको छ।

खेल अवधिभर कुनै पनि बन्द हड्ताल जस्ता कार्यक्रमहरु नराखि विगतका बर्षहरुमा झै सहयोग पाउने क्लबले विश्वास लिएको क्लबका महासचिव केशवबहादुर थापाले बताउनु भयो। क्लबले प्रतियोगितालाई जनजनको मनमनमा पुराउन मोवाईलको रिङ टोनमा समेत प्रतियोगिताको बारेमा संगीतमय सन्देश प्रवाह गरेको छ। नेपाल टेलिकमको मोवाईलमा ०१६००१०७७१ नम्वर डाउन लोड गरेर पछि यो सन्देश लिन सकिने छ।

Recent Videos:

Popularity: 4%

Add comment November 30th, 2011

मृतकको सनाखत अझै हुन सकेन

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी, पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसामा कार्तिक २१ गते भएको दुर्घटनामा मृत्यु भएका आठ मध्ये एक जनाको शव अहिलेसम्म पहिचान हुन सकेको छैन।

कार्तिक २१ गते मधेसा सडक खण्डमा यात्रुवाहक बस र माइक्रो बस एकआपसमा जुद्दा आठ जनाको मृत्यु भएको थियो। घटना भएको महिना बित्न लाग्दासमेत दुर्घटनामा मृत्यु भएका एक पुरुषको शव भने अहिलेसम्म पहिचान हुन नसकेको हो।

मधेसीमूलको अन्दाजी ३५-४० बर्षीय उक्त शव घटना भएको महिना बित्न लाग्दा समेत शव दाबी गर्न कोही नआएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजु मान्नधरले बताए। उक्त व्यक्तिको शव खैरो पाईन्ट, कालो बुट्टावाल सर्ट, रातो पेटी र कालो गन्जी लगाएको अबस्थामा छ।

शव जिल्ला अस्पताल इनरुवाको शवगृहमा राखिएको थियो। पहिचान गर्नका लागि सबै प्रहरी कार्यालयमा शवको तस्वीर पठाइएको भए पनि कतैबाट कोही नआएको प्रहरी उपरीक्षक मान्नधरले बताए। जिल्ला अस्पताल इनरुवाको शवगृह समेत दुर्गन्धित भएपछि इनरुवा नगरपालिकालाई शव जिम्मा लगाई दाहसंस्कार गर्न लगाएको मान्नधरले बताए। महिना बित्ना लाग्दा समेत शव दाबी गर्न कोही नआएपछि शवगृह समेत दुर्गन्धित भएको थियो। मानन्धरका अनुसार शव निकै लामो समय सम्म राखिएका कारण शव कुहिन थालेपछि नगरपालिकालाई शव दाहसंस्कार गर्न लगाएको उनले बताए।

प्रहरीका अनुसार सो व्यतिको नाम र ठेगाना समेत खुल्न नसकेका कारण शव पहिचान गर्न समस्या भएको बताएको छ। प्रहरीका अनुसार उक्त व्यक्ति माइक्रोमा सबार भएको बताएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ। सुनसरीका प्रहरी उपरीक्षक राजु मानन्धरका अनुसार शवको पहिचान भइ कोही आफन्त आएमा उनको क्षतिपूर्ति र दाहसंस्कार खर्च समेत दिने बताए।

गत कार्तिक २१ गते इटहरीबाट इनरुवा जाँदै गरेको ना ३ ख ३१४१ नम्बरको यात्रुबाहक बस र बिपरीत दिसाबाट आँउदै गरेको को १ ज ९३० नम्बरको माइक्रो बस जुध्दा आठ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा सुनसरीका अधिकांश व्यक्तिको मृत्यु भएको थियो भने उक्त घटनामा ७ जना घाइते भएका थिए।

Recent Videos:

Popularity: 4%

Add comment November 30th, 2011

मंसिर मसान्तपछि राष्ट्रिय सहमतिको सरकारः सचिव पोख्रेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १४ मंसिर । नेकपा एमालेका सचिव शंकर पोख्रेलले मंसिर मसान्तपछि राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा सचिव पोख्रेलले भने-यो सरकारलाई शान्ति प्रक्रियाका तोकिएका कुरा पुरा गर्न मंसिर मसान्त सम्मको समय दिने सहमति दलहरुवीच भएको हो। त्यसपछि सहमतिको सरकार बन्छ।

राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको विषयमा बर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई दलहरुको छनौट नभएको भन्दै अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गरे। यद्यपि, उनले डा भट्टराईको नाममा सहमति बन्ने त्यस्तो सम्भावनालाई नकार्न नसकिने समेत बताए। उनले शान्ति प्रक्रिया सुरु भईसकेपछि दुइ-दुइ पटक माओवादी, काग्रेस र एमालेले सरकारको नेतृत्व गरिसकेकोले अब यसको वा त्यसको पालो भन्ने नहुने भन्दै कसैको पनि पालो नभएको सहमतिमा नेतृत्व चयन हुने बताए।

समायोजन रोज्ने लडाकुको संख्या बढेको विषयबाट आत्तिनु पर्ने आवश्यकता नभएको बताउँदै सचिव पोख्रेलले फेरि दिईने सुविधान छनौटको अवसर र नेपाली सेनाको मापदण्ड पूरा गर्नु पर्ने अवस्थाले समायोजन हुने लडाकुको संख्या सहमति भए अनुसार ६ हजार ५ सय पनि नपुग्ने आशंका ब्यक्त गरे। उनले माओवादी भित्रको अर्न्तद्धन्द्धका कारण एक पक्षले समायोजनमा जान निर्देशन दिएकोले संख्या बढेको दावी पनि गरे।

सचिव पोख्रेलले बर्गिकरणको काम अगाडि बढ्नु सकारात्मक भए पनि जग्गा फिर्ता नहुनु, माओवादी नेताले चढेको गाडीको पुनदर्ता नहुनु र वाईसीएलको अर्ध सैनिक संरचनाको अन्त्य नहुनुले शान्ति प्रक्रियामा अझै जटिलता रहेको भन्दै मंसिर मसान्तसम्म यि विषयमा हुने प्रगतिले संविधान निर्माणलाई सुनिश्चित पार्ने धारणा राखे।

अहिले सर्वोच्च अदालतको फैसला अनुसार नै संविधान सभाको म्याद थपिएको र सोही अवधिमा संविधान निर्माण हुनु पर्ने धारणा राख्दै सचिव पोख्रेलले मुलुक संचालन गर्ने राजनीतिले भएकोले सो विषयमा कुनै समस्या आए राजनीतिक दलले उपयूक्त निर्णय लिएर निकास दिने बताए।

सर्वोच्च अदालतले ६ महिनाभित्र संविधान नबने संविधान नै खारेज हुने भनि गरेको फैसला अनुचित भएको दावी गर्दै उनले भने-मुलुकलाई कानून र संविधान दिने काम राजनीतिको हो। विगतमा पनि सहमतिको आधारमा प्रतिनिधिसभा पुनर्स्थापन, अन्तरिम संविधान निर्माण गर्ने काम भएको छ। अदालत गरेको फैसला भन्दा पनि दलहरुले नै संकटको निकास दिन्छन्।

Popularity: 4%

Add comment November 30th, 2011

मिस तमुलाई बधाई तथा सहयोगीहरुलाई धन्यवाद

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १४ मंसिर । तमु विद्यार्थी समिती नेपालले बुधवार एक समारोहवीच तमु धिँ नेपाल मिस तमु २०११ लगायत विधागत उपाधि विजेताहरुलाई बधाई र मिस तमु प्रतियोगिता सफल पार्न सहयोग गर्नेहरुलाई सम्मान गरेको छ।

तमु विद्यार्थी समितीद्धारा मसिर ८ गते सम्पन्न तमु धिँ नेपाल मिस तमु २०११ को उपाधिसहित बेष्ट स्माइल टाइटल प्राप्त गरेकी कल्पना तमु, फष्ट रनर अप अनुजा तमु, बेष्ट फोटो जेनिक सहित सेकेण्ड रनर अपको उपाधि चुमेकी सुष्मा तमु, मष्ट ट्यालेण्ट बिना तमुले, भ्युअर च्वाइस लक्ष्मी तमु, बेष्ट ल्यांग्वेजमा पुनम तमु, मष्ट कन्लिडेन्समा सञ्जु तमु, बेष्ट स्किन प्रीना तमु, मष्ट डिसीप्लिन क्यामी तमु, बेष्ट हेयर क्रिष्टिन तमु बेष्ट पर्सनालिटी आशामाया तमु, बेष्ट ड्रेस कासी तमु, वेष्ट क्याटवाक अनु तमु, बेष्ट डान्स असिन तमु, र नविना तमुले मष्ट फ्रेण्डलीको विधागत उपाधि प्राप्त प्रतियोगीहरुलाई खादा लगाइ दिदै बधाई ज्ञापन गरेको हो।

यसैगरी, कार्यक्रममा मिस तमु २०११ सफल पार्न सहयोग गर्ने तमु धिँ नेपाल, क्षेत्रिय तमु समाजहरु, मुख्य प्रायोजक विन्देश्वरी प्लाजा, सहप्रायोजक गुरुङ व्युटि पार्लर, प्रायोजकहरु, मिस तमुका प्रशिक्षकहरुलाई समितीले खादा र सम्मानपत्रले सम्मान गरेको हो।

यसैवीच मिस तमुको आयोजक तमु विद्यार्थी समितीलाई डाक्टर गोमा तुलाचन तमुले १० हजार रुपैया, पोखरा बस व्यवसायी समितिका अध्यक्ष बमबहादुर तमुले एक हजार पाँच सय, र रेडियो अन्नपुर्णका स्टेशन मेनेजर तथा प्रशिक्षक दीपेन्द्र श्रेष्ठले एक हजार एकसय पन्ध्र रुपैया सदयोग प्रदान गर्नुभयो।

कार्यक्रममा तमु धिं नेपाल मिस तमु २०११ का उपाधि विजेता कल्पना तमुले तमुका मौलिक भाषा, कला सँस्कृति जगेर्नाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै तमु युवाको प्रतिभा प्रष्फुटन गर्न पाउने थलो मिस तमुले आगामी वर्षहरुमा पनि निरन्तरता पाउनुपर्दछ भन्नुभयो। उहाँले आफूलाई विन्देश्वरी प्लाजाले ब्राण्ड एम्बेषडरको अवसर दिएकोले विन्देश्वरी प्लाजाको व्यवसायिक प्रवर्द्धनका लागि सक्दो प्रयास गर्ने बताउनुभयो।

प्रमुख प्रायोजकका तर्फबाट विन्देश्वर प्लाजाका निर्देशक लक्ष्मण तमुले तमु धिं नेपाल मिस तमु २०११ सँग सहकार्य गर्न पाउदा खुशी व्यक्त गर्नुहुदै आगामी वर्ष पनि निरन्तर सहयोग गर्ने बताउनु भयो।

प्रशिक्षक एवम् रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठले तमु धिं नेपाल मिस तमु २०११ ले युवालाई पहिचान दिएको छ, प्राप्त उपलब्धिको गरिमा जोगाउन आग्रह गर्नुहुदै मिस तमुको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।

तमु विद्यार्थी समिती नेपालका अध्यक्ष भरतमान तमुको अध्यक्षता र तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा फेवा फाइनान्सका कार्यकारी अधिकृत रेशम थापा, पोखरा उपत्यका नगर विकास समितीका अध्यक्ष जित वहादुर तमु मामा, पोखरा वस व्यवसायी समितीका अध्यक्ष वम वहादुर तमु, कास्कीका प्रहरी प्रमुख यादवराज खनाल, अनिज कास्कीका अध्यक्ष हुम वहादुर तमु, सन्तबहादुर तमु र तमु विद्यार्थी समिती नेपालका सचिव डेविड तमु लगायतले वोल्नुभएको थियो।

Popularity: 4%

Add comment November 30th, 2011

मर्चरी विग्रेपछि शव गनाउन थाले

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा रहेका मर्चरी विग्रेको कारण शवलाई बाहिरै राखिएको छ । जसकाकारण बाहिर राखिएका शव गनाउन थालेका छन्।

प्रतिष्ठानमा रहेका ४ वटा मर्चरी मध्ये ३ वटा विग्रदा शवलाई व्यवस्थापन गर्नमा समस्या परेको हो। दैनिक ३ देखि ४ जना विरामी उपचारका क्रममा प्रतिष्ठानमा निधन हुने भएपनि हाल प्रतिष्ठानमा बाहिरै शवहरु राख्नु पर्ने अवस्था छ। केही दिन अघि धरान-१६ का ७४ वर्षीय तीर्थबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि उनको शवलाई तत्काल दाहसंस्कार गर्न परिवारजनले नसकेपछि उनको शव मर्चरी राख्न अनुरोध गर्दा प्रतिष्ठानले सिधै अस्वीकार गरेको थियो।

उनका कान्छा छोरा सन्तोष लिम्बूले दाजु भारतमा रहेकाले दाजु आउन्जेलको लागि राख्न अनुरोध गर्दा मर्चरी खराब भएको भन्दै प्रतिष्ठानले सिधै अस्वीकार गरेको बताए। प्रतिष्ठानका उपकुलपति कार्यालय नजिक रहेको सो मर्चरी विग्रदासमेत प्रतिष्ठानको ध्यान नपुग्नु आश्चर्यजनक रहेको उपचारमा आएका विरामीहरुले बताए।

अस्पताल निर्देशक विपी दासले भने मर्चरी विभागका कर्मचारीहरुले प्रशासनमा ढिलो जानकारी दिएको कारणले पनि मर्मतमा ढिलाई भएको बताए। दासले मर्चरीको म्याद गुज्रिएको कारणले पनि केही समस्या भएको हुन सक्ने बताए। मर्चरी खराब भएको स्वीकार गर्दै भने-’बिग्रने र बन्ने क्रम भइरहन्छ। पुरानो भएको कारणले पनि समस्या भएको छ। चाडै मर्मत गरिन्छ। यता मर्चरीका कर्मचारीहरुलै भने समयमै प्रतिष्ठानलाई जनाकरी गाराएको भए पनि मर्मतको लागि पहल नभएको वताए।

Popularity: 4%

Add comment November 30th, 2011

नेपालमा रोमाञ्चक र्र्याफ्टिङ र कायाकिङ प्रशिक्षण हुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ मंसिर । अन्तर्राष्ट्रिय जलयात्रा महासंघ र अल्टरनेटिभ नेपालले नेपालमै रोमाञ्चक खेल र्याफ्टिङ र कायाकिङको प्रशिक्षण दिने भएका छन्।

पर्यटन वर्ष २०११ सफल पार्ने उद्धेश्यका साथ महासंघको आयोजना र अल्टनेटिभको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम सुरु गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

भोटेकोशी नदीको सबैभन्दा जोखिमपूर्ण स्थानहरुमा मंसीर १५ देखि २१ गतेसम्म ९ जना विदेशी र स्वदेशी राफ्टिटङ प्रशिक्षकहरुलाई सुरक्षा र जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिईने पत्रकार सम्मेलनमा आयोजकहरुले जानकारी दिए।

भोटेकोशीको हृवाइट वाटरमा आएर सम्पन्न हुने ६ दिने प्रशिक्षण कार्यक्रममा अष्ट्रेलिया, टर्की, भारत र नेपालका गरी ९ जना प्रशिक्षकलाई आकस्मिक उद्धार, उद्धार सङ्केत, सुरक्षा जोखिम न्यूनीकरणलगायतका विषयमा विषेश प्रशिक्षण दिइने छ।

जलसम्पदाका धनी र सुन्दर देश नेपालमा साहसिक र्याप्टिङ खेलका लागि विश्वकै केन्द्रविन्दु बनाउन सकिने उद्देश्यले र्याप्टिङ प्रशिक्षण सुरु गर्न लागिएको आयोजकले दावी गरे।

विश्वका ठूला नदीहरुमा र नेपालको सुनकोशी, तमोर नदीमा पनि जलयात्रा सम्पन्न गरिसकेका टोलीले नेपालमा पर्यटन प्रवर्धनका लागि दक्ष जनशक्ति उत्पादन गर्न र र्याफ्टिङको विकासका लागि भोटेकोशीमा राफ्टिङ प्रशिक्षण गर्न लागिएको दावी आयोजकले गरे।

पत्रकार सम्मेलनमा नेपाल र्याफ्टिङ एसोसिएशनका अध्यक्ष नानीकाजी थापाले सुनकोशी, भोटेकोशी र कर्णालीलगायतका ठूला नदीहरुको संरक्षण र र्याफ्टिङको उपयोग गर्न सके नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने दावी गरे।

जलवायु परिवर्तन र वायोडाईवरसिटी रिर्सचका अनुसन्धानकर्ता कमल राईले पानी विनाको संसार कल्पना गर्न नसकिने भएकाले पानीको मुहान सुरक्षित गर्नु सबैको दायित्व भएको बताए।

Popularity: 4%

Add comment November 30th, 2011

काग्रेसको प्राथमिकता सरकार होईनः केसी

एचकेनेपाल डट कम संवाददाता -
धादिङ, १४ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिह केसीले अहिले काग्रेसको प्राथमिकता सरकार परिवर्तन नभएको बताएका छन्।

प्रेस यूनियन धादिङ शाखाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै केसीले काग्रेसको अहिलेको ध्यान भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु मात्र भएको बताए। उनले पछिल्लो समयमा माओवादी शान्ति र संविधानमा सकारात्मक भएको भन्दै माओवादीले गरेको प्रतिबद्धता पुरा गरे मुलुकले निकास पाउने दावी गरे। उनले द्धन्द्धकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता गरे माओवादीप्रतिको विश्वासको बातावरण निर्माण हुने समेत स्प्ष्ट पारे। उनले नेपाली काग्रेसभित्र देखिएको विवाद सहमतिमा टुङग्याएर एकता कायम गर्नुको विकल्प नभएको भन्दै काग्रेस एक हुने दावी पनि गरे।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्न दलहरुलाई सुझाव दिदै शान्ति, संविधान र सहमतिको राजनीति अगाडि बढाएको प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई नै राष्ट्रिय स्वरुप दिनु पर्ने धारणा राखे। उनले भट्टराईको नेतृत्वमा सहमति नबने नेपाली काग्रेसले सहमतिको सरकारको नेतृत्व लिएर शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्नु पर्ने बताए।

उनले शान्ति र संविधानले विगतदेखिनै निरन्तर दवावमूलक अभियान दिदै आएको स्मरण गर्दै संविधानसभाको थपिएको समयमा क्लबले राष्ट्रब्यापी दवाव मुलक अभियान चलाउने घोषणा गरे। उनले यसक्रममा ७५ वटै जिल्लामा अर्न्तक्रिया, र्यालीका साथै क्लबका सबै शाखाको अधिवेशन सम्पन्न गर्ने बताए। उनले क्लबले नै पत्रकारको सम्मान र पुरस्कारको स्थापना गरेर परम्पराको थालनी गरेको भन्दै यसलाई भविष्यमा पनि निरन्तरता दिने बताए।

कार्यक्रममा दामन पाख्रिन उत्कृष्ट पत्रकारिता पुरस्कारको लागि १० हजार रुपैया क्लबको तर्फबाट हस्तान्तरण गरेका थिए। सो पुरस्कार धादिङका उत्कृष्ट पत्रकारलाई प्रत्येक तीन वर्ष प्रदान गरिने छ।

प्रेस यूनियन धादिङ शाखाका सभापति मुरारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा धादिङ काग्रेसका सभापति प्राणनाथ अधिकारी, रमेश धमला, भीम ढुङगाना, उर्मिला अर्याल, रामनाथ अधिकारी, पत्रकारहरु शरद अधिकारी, शिव देबकोटा, नारायण अर्याल, रन्जना पौडेल लगायतका पत्रकारहरुले पनि आफ्नो धारणा राखेका थिए।

Popularity: 4%

Add comment November 30th, 2011

डिसेम्बर १८ मा मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता

एस/ एचकेनेपाल डट कम-
हङकङ, नोभेम्बर २९ । यस पटक मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता नहुने हो कि भन्ने आशंका भैरहेको बेला यसका प्रतियोगीहरू भने गुपचुप र अथक परिश्रमका साथ तयारीमा जुटेका छन्। (more…)

Popularity: 4%

Add comment November 29th, 2011

‘मानाव धर्म नै सवैभन्दा ठूलो धर्म’

लोक गुरुङ /एचकेनेपाल डट कम-
बुटवल, १३ मंसिर । मंगलबार बुटवलमा एउटा फरक प्रकारको कार्यक्रम आयोजना गरियो। सधै राजनितिक नेताको भाषण र विभिन्न संघसंस्थाको सधारण सभा र अन्तरकृयामा समित हुने बुटवलमा यो फरक कार्यक्रम हुने अवसर जुटेको हो।

धार्मिक सहिष्णुता र नागरिक सुरक्षामा धार्मिक संघसस्थाहरुको भूमिका नामक कार्यक्रममा सवै धर्मका धर्मगुरु र अगुवाहरु सवैभन्दा ठूलो धर्म मानवता भएको भन्दै मानवता भन्दा ठूलो धर्म हुन नसक्ने बताएका थिए। उनीहरुले विगतमा विभिन्न धर्मका धार्मिक ग्रन्थहरु कुरान, वेद, त्रिपिटकको अपव्याख्या भएको भन्दै ती धर्म ग्रन्थहरु सच्याउन आवश्यक रहेको बताए।

कुनै पनि धर्मले मारकाट गर्न, झगडा गर्न, झुट वोल्न नसिकाउने तर्क गर्दै सवै धर्म एकै प्रकारको भए पनि त्यसलाई पुज्ने विधि मात्र फरक भएको बताए। उनीहरुले नेपालमा धार्मिक सहिष्णुता कायम गर्न जरुरी रहेको भन्दै यसले नेपालको राष्ट्रियतामा थप बल पुग्ने दावी समेत गरे।

कार्यक्रमका वोल्दै मुस्लिम धर्मका प्रतिनिधि अताउ उल्लाह खाँले मनिसको सेवा गर्नु नै कुरानले सिकाएको सवैभन्दा ठूलो विचार भएको भन्दै मुस्लिम धर्मको कुनै ग्रन्थमा पनि हिन्दु, वौद्ध इसाई धर्मलाई दुख दिनुपर्ने भनेर नलेखिएको बताए। ‘यदि कोही सच्चा मुसालमान हो भने उसले कहिल्यै जात, बर्ण धर्मको अधारमा भेदभाव र दुख दिदैन, किन कि इस्लामले त्यो सिकाउदैन’ उनले थप पुष्टि पार्न खोजे।

हिन्दु धर्मका प्रनिधि नारायाण सिग्देलले सवै धर्मका शास्त्रहरुको गलत व्याख्या हुदै आएको भन्दै यसले धार्मिक साहिष्णुतालाई खल्बल्याई रहेको दावी गरे। ‘संसारका सवै धर्मको उद्धेश्य एउटै हो’ उनले थपे ‘त्यसलाई कसरी पुज्ने भन्ने कुराको मात्र फरक हो, कसले भागवानलाई कसरी पुज्छ त्यो सवैलाई स्वतन्त्र छ।’

बुद्ध धर्मर्का भिक्षु ज्ञानेन्द्रले धर्मले शिक्षाको रुपमा समाजलाई डोर्‍याइ रहने हुदा धार्मिक विचारलाई उचो गर्न जरुरी रहेको बताए। नेपालमा धार्मिक रुपमा थोरै महत्व दिइरहेको उल्लेख गर्दै उनले धर्मलाई समाजमा व्यापक बनाउन सके समाजमा शान्ति कायम गर्न पनि सजिलो हुने बताए। ‘हामीकहा ब्रम्हाण समाजमा जन्मेपछि हिन्दु, जनजाति समुदायमा जन्मेपछि बौद्ध भन्ने समाजको अन्धविश्वास छ, यसलाई हटाउन जरुरी छ’ उनले भने । इसाई धर्मका तुफानी भारले सवैले समाजमा धार्मिक बताबरण बनाउन जरुरी रहेको भन्दै यसले समाजलाई सकारत्मक पाटोमा लैजाने बताए।

हिन्दु धर्मका बावुराम ज्ञवलीले सवैले सवैलाई सम्मान गर्न सके धार्मिक बाताबरण आफै बन्ने बताए। इस्लाम धर्मका हाजिर उल्लाह मियाले ठूलो संख्याका धर्मलाई सम्मान गर्ने र सानो सख्यामा रहेका धर्मलाई माया गर्ने सिकेमा धार्मिक सहिष्णुता रहिरहने बताए। कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारीले विभिन्न धर्महरुको एक अर्कालाई सम्मान गरेका शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न संघसस्थाका प्रतिनिधिहरुले बोलेको थिए भने रुपन्देहीसंगै नवलपरासी र कपिलबस्तुका धार्मिक प्रतिनिधिलाई पनि निम्त्याइएको थियो। समाजिक जागरण मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।

Popularity: 4%

Add comment November 29th, 2011

धरान जुनियर जेसिजद्वारा रक्तदान

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १३ मंसिर । धरान जुनियर जेसिजले धरानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम पनि पर्ने भएको र रगतको अभावमा उपचारबाट कोही पनि बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजकको भनाई रहेको छ।

रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको आयोजक समितिका सभापति एलिजा श्रेष्ठले बताइन्।

कार्यक्रमका संयोजक सरोज श्रेष्ठले सामाजिक कार्यमा युवायुवतीलाई समेट्न पनि रक्तदान कार्यक्रम गरिएको बताए। श्रेष्ठले सुनसरीका व्लड बैंकहरुमा रगत अभाव हुन नदिन यसले थोरै भए पनि सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

Popularity: 4%

Add comment November 29th, 2011

नौ नम्बरकी - (कथा)

इन्दिरा प्रसाई -
आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्षपछि जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु। (more…)

Popularity: 4%

Add comment November 29th, 2011

सरकार बदल्नु आवश्यक छैन: गगन थापा

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकार फेर्ने विषयमा नेपाली काँग्रेसले कुनै सोच नबनाएको बताउनुभएको छ।

आगामी सहमतिको सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा रिपोर्टर्स क्लबले आयोजना गरेको छलफल कार्यक्रममा केन्द्रीय सदस्य थापाले पहिले शान्ति र संविधानको प्रक्रिया टुङ्ग्याउने र त्यसपछि मात्र भावी सरकारको नेतृत्वको सवाल उठ्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले नेपाली काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले न्यायालयको निसाफलाई आफूहरूले समर्थन गर्ने बताउँदै एनेकपा(माओवादी) भित्रका विकृतिलाई कानुनी उपचारबाटै अन्त गरिनुपर्ने राय दिनुभयो।

छलफलमा संयुक्त मधेसी मोर्चाको नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकारलाई नै निरन्तरता दिएर शान्ति र संविधानप्रक्रियालाई टुङ्ग्याउनुपर्ने बताउनुुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पर्शुराम खापुङ्गले राज्यको पुनःसंरचना गर्दा स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतालाई ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो।

Popularity: 4%

Add comment November 29th, 2011

सिँचाइ मन्त्रालयका सबै विकास आयोजना स्वीकृत

एचकेनेपाल डट कम संवाददाता-
घुस मागेको आरोप लागेपछि सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवले आफ्नो मन्त्रालयसँग सम्बन्धित चालु आर्थिक वर्षका सबै विकास आयोजना स्वीकृत भइसकेको बताउनुभएको छ।

मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रचार/प्रसारमा आएको कुरा सत्य नभएको र मन्त्रालयका ३४ वटै आयोजनाहरू स्वीकृत भइसकेको जानकारी दिनुभयो।

मन्त्री यादवले मन्त्रालयका ९६ प्रतिशत आयोजना कात्तिक मसान्तभित्रै पारित भएको जानकारी दिँदै बाँकी चार प्रतिशत आयोजनामा प्रक्रियागत ढिलाई भए पनि आजका दिम्मसम्म सबै आयोजना स्वीकृत भइसकेको छ भन्नुभयो।

सिँचाइ सचिव बृन्दा हाडाले राष्ट्रिय योजना आयोगबाट स्वीकृत गराउनुपर्ने दुई र मन्त्रालयसँग सम्बन्धित दुईवटा आयोजना स्वीकृत हुन ढिलाई भएको जानकारी दिँदै सोमबारसम्म शत प्रतिशत आयोजना स्वीकृत भएको जानकारी दिनुभयो।

Popularity: 4%

Add comment November 29th, 2011

एमाले पार्टी कार्यालयमा राखिएको बम निष्कृय पारियो

एचकेनेपाल डट कम संवाददाता-
नेपालगन्जको पासाङ्गल्हामु मार्गस्थित नेकपा (एमाले)को कार्यालयमा राखिएको दुई शक्तिशाली बमलाई सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार, राझास्थित सेनाको इमामनगर व्यारेकको बम डिस्पोजल टोलीले पार्टी कार्यालयको शौचालयको छेउमा बोरामा बाँधेर राखेका दुई शक्तिशाली सकेट बम निष्कृय पारेको हो।

भूमिगत सङ्गठन जनतान्त्रिक तराई मधेस पार्टीका अध्यक्ष भगत सिंहले यहाँका सञ्चारकर्मीलाई टेलिफोन गरी तराईको मुद्दामा नेकपा (एमाले)ले खासै भूमिका निर्वाह नगरेकाले चेतावनीस्वरुप आफ्नो सङ्गठनले बम राखेको दाबी गरेका छन्।

यसैबीच, गएराति कृषि विकास बैंक, बर्दियाका लेखापाल घनश्याम पाण्डेको घरमा सशस्त्र समूहले बम विस्फोट गराएको छ। बम बिस्फोटबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Popularity: 4%

Add comment November 29th, 2011

संविधानसभाको कार्यकाल छ महिना थपियो

संविधानसभाको कार्यकाल छ महिना थपियो
एचकेनेपाल डट कम संवाददाता-
ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद ६ महिना थपेको छ। ब्यस्थापिका संसदमा भएको मतदानमा संविधानसंशोधन प्रस्तावको पक्षमा ५०८ र विपक्षमा ३ मत परेको थियो। उपस्थित ५०८ मध्ये राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालका ३ सदस्यले विपक्षमा मतदान गरेका हुन्।

संविधानसभाको कार्यकाल छ महिना थपिने
एचकेनेपाल डट कम संवाददाता-
संविधानसभाको अवधि थपका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित नेपाली काँग्रेस, एनेकपा (माओवादी) र नेकपा (एमाले)द्वारा गठित चार सदस्यीय कार्यदलले संविधानसभाको अवधि आगामी छ महिना थप्न सिफारिस गरेको छ।

सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा हिजो साँझ बसेको कार्यदलको बैठकले शान्ति प्रक्रियाका काम केही अगाडि बढेको निष्कर्ष निकाल्दै संविधान लेखन प्रक्रियालाई पूरा गर्न छ महिनाको अवधि आवश्यक पर्ने ठहर गरेको हो।

उक्त सिफारिसलाई आज हुने दलका शीर्ष नेताहरूको बैठकमा अन्तिम निर्णयका लागि प्रस्तुत गरिनेछ।

कार्यदलले छ महिनाभित्र शान्ति प्रक्रियासँगै संविधान लेखनसम्बन्धी कार्यतालिका समेत तयार पारेको बैठकपछि कार्यदलका सदस्य तथा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बताउनुभयो।

मन्त्री गुप्ताले एमाओवादीका नेताले प्रयोग गरिरहेका छुट्टै नम्बरप्लेटका सवारीसाधनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो।

गत शनिबारको प्रमुख दलका शीर्ष नेताको बैठकले सो कार्यदल गठन गरेको थियो।

Popularity: 4%

Add comment November 29th, 2011

बिपाविरुद्ध दायर रिटमा अन्तरिम आदेश

एचकेनेपाल डट कम संवाददाता-
नेपाल–भारत लगानी प्रवर्द्धन सम्झौता (बिपा) विरुद्ध दायर रिटमा हाल सो सम्झौता कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशत्रय ताहिरअलि अन्सारी, वैद्यनाथ उपाध्याय र डा. भरतबहादुर कार्कीको विशेष इजलासले अन्तरिम संविधानको धारा १५६ अनुसारको प्रक्रिया अवलम्बन नगरेसम्म वा प्रस्तुत रिट निवेदनको अन्तिम निर्णय नभएसम्म सो सम्झौताको धारा १५ मा उल्लिखित सूचनाहरू आदानप्रदान नगर्न आदेश जारी गरेको छ।

अधिवक्ता बालकृष्ण न्यौपानेले गत कात्तिक १३ गते दायर गर्नुभएको रिटमा अन्तरिम संविधानको धारा ११५ मा दुई देशबीचको सन्धि–सम्झौता, सम्मिलन तथा स्वीकृतिजस्ता विषयमा सदनको दुई–तिहाई बहुमतबाट अनुमोदन गराउनुपर्ने कुरा उल्लेख छ।

रिटमा उठाइएका कानुनी तथा संवैधानिक प्रश्नका विषयमा अन्तिम निर्णयबाट नै बोलिने पनि सर्वोच्चको आदेशमा भनिएको छ। तर सो रिटमा माग गरेबमोजिम समग्र सम्झौतालाई अवरुद्ध गर्नेगरी अन्तरिम आदेश भने जारी गर्न नपर्ने पनि सो इजलासले जनाएको छ।

प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा लगानी प्रवर्द्धनसम्बन्धी सो सम्झौतामा हस्ताक्षर गरिएको थियो।

Popularity: 4%

Add comment November 29th, 2011

१५ हजार ७३१ लडाकु पुनःवर्गीकरण

एचकेनेपाल डट कम संवाददाता-
गत मङ्सिर ३ गते सुरु भएको माओवादी लडाकुको पुनःवर्गीकरण कार्य कैलालीको तालबन्द बाहेक अन्य छवटा शिविरमा हिजो साँझ सम्पन्न भएको छ।

आजसम्म १५ हजार ७३१ लडाकुको पुनःवर्गीकरण भएको सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालयले जनाएको छ।

सचिवालयका संयोजक बालानन्द शर्माका अनुसार इलामको चुलाचुलीस्थित पहिलो डिभिजनमा एक हजार ४९१, सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनमा एक हजार २८१, चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा तीन हजार ३१९, नवलपरासीको ‰याल्टुङ डाँडास्थित चोथौ डिभिजनमा दुई हजार ६०२, रोल्पाको दहवनस्थित पाचौँ डिभिजनमा दुई हजार १२६, सुर्खेतको दशरथपुरस्थित छैटौँ डिभिजनमा दुई हजार ६९३ र कैलालीको तालाबन्दस्थित सातौँ डिभिजनमा दुई हजार २१९ माओवादी लडाकुको पुनःवर्गीकरण गरिएको छ।

Popularity: 4%

Add comment November 29th, 2011

दुर्घटनामा पत्रकारसहित २ को मृत्यु

लोक गुरुङ / एचकेनेपाल डट कम-
बुटवल, १२ मंसिर । रुपन्देहीको सालझण्डीमा सोमवार पत्रकार सवार कार दुर्घटना हुँदा १ पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्।

बा ७ च ६५६२ नं को कार पूर्वपश्चिम राजमार्गअन्तरगत रुपन्देहीको सालझण्डीमा बाटो पार गर्दै गरेको साईकललाई बचाउन खोज्दा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी कारोबार दैनिकका समाचार सम्पादक रिर्पोर्टस क्लब नेपालका संस्थापक कोषाध्यक्ष बिनोदबाबु खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाईते भएका खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। रुपन्देही करहियाका स्थायी बासिन्दा रहेका खत्री काठमाडौंमा बसी पत्रकारिता गर्दै आएका थिए।

यस्तै, साईकलमा सवार रुपन्देही सालझण्डी ४ का ४० वषीय पूर्णबहादुर थारुको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ। कारमा सवार कारोबार दैनिकका पत्रकारहरु लमजुङ गाउँशहर ६ का २६ वर्षका लिला घिमिरे, काभ्रे देवपुर २ की २३ वर्षीया राधिका ढकाल, झापा सुरुङ्गा २ का ३० वर्षीय डी.आर. आचार्यको घाईते अवस्थामा युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ। लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार हुन नसकेपछि उनीहरुलाई भैरहवा रिफर गरिएको हो।

Popularity: 4%

Add comment November 28th, 2011

म्याद थपको लागि सरकार परिवर्तनको सर्त नबनाउने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले संविधानसभाको म्याद थपसँग जोडेर सरकार परिवर्तनको सर्त नराख्ने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य गगन थापा र एमाले मुख्य सचेतक भीमप्रसाद आचार्यले त्यस्तो बताएका हुन्।

साक्षात्कारमा काग्रेस केन्द्रीय सदस्य थापाले संविधानसभाको म्याद थपको विषयसँग सरकार परिवर्तनको मुद्दा साट्न नहुने भन्दै यसले काग्रेसको हित नगर्ने दावी गरे। थापाले अहिले नै नयाँ सरकार निर्माण गर्ने र अहिलेकै सरकारमा सहभागी हुने कुरा काग्रेसले नगर्ने स्पष्ट पार्दै तीन महिनापछि काग्रेसले राष्ट्रिय सहमतिको सरकारको दावी गर्ने बताए।

उनले भने-आगामी तीन महिनामा शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य एउटा निश्चित विन्दूमा पुग्ने काग्रेसको विश्लेशन छ। त्यसैले तीन महिनापछि काग्रेसले सहमतिको सरकारको नेतृत्को लागीिदावी गर्छ र यो स्वभाविक पनि हुन्छ। उनले अहिलेनै काग्रेसले सरकार परिवर्तन र नयाँ सरकार निर्माणको विषयमा पार्टीभित्र छलफल नै नगरेको जानकारी दिदै काग्रेसको अहिलेको प्राथमिकता शान्ति प्रक्रिया भएको बताए।

नेपाली काग्रेस सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिम पटक छ महिना थप्नु भनि गरेको फैसला उल्लघन हुने गरी कुनै पनि सहमति गर्नेपक्षमा नरहेको भन्दै संविधानसभाको म्याद छ महिनानै थपिने स्पष्ट पारे। उनले माओवादीको समायोजन हुने संख्याको आधारमा काग्रेस लचक हुन तयार हुनु पर्ने भन्दै नौ हजार नै लडाकुको समायोजन गर्न पनि तयार रहनु पर्ने बताए। उनले भने-जग्गा फिर्तामा माओवादी अनुदार हुने र संख्यामा काग्रेस अनुदार हुने हो भने शान्ति प्रक्रिया अगाडि बढ्नसक्दैन।

थापाले बहुसदस्यीय मिश्रित समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने, प्रधानमन्त्री संसदबाट निर्वाचित हुने मिश्रित शासकीय प्रणालीमा दलहरुवीच अनौपचारिक सहमति भईसकेको दावी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार विभाजनको विषयमामात्र छलफल बाँकी रहेकोले संविधान निर्माणको कार्य छ महिनमा पुरा हुन सक्ने दावी गरे।

उनले राज्यपुनर्संरचनाको विषयमा दलहरुवीच मात्र नभई दलहरुभित्र समेत भिन्दाभिन्दै मत रहेको भन्दै राज्यपुनर्संरचनको विषयमा दलभित्र, दलहरुवीच र सरोकारवालाहरुवीच समेत छलफल गर्नु पर्ने आवश्यकता औल्याए।

साक्षात्कारमा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीमप्रसाद आचार्यले संविधानसभाको म्याद थपमा एमालेले कुनै सर्त नराख्ने स्पष्ट पार्दै त्यसो भए गल्ति हुने बताए। उनले चार बुँदे जस्तो गलत आधारमा सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारे।

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने आवश्यकता औल्याउँदै आलोपालोमा पहिलो नेतृत्व बाबुराम भट्टराईले नै गरे पनि एमालेलाई मान्य हुने धारणा राखे। भ्रष्टचारमा लिप्त मन्त्रीहरुलाई थामेर हिडदा प्रधानमन्त्री भ्रष्टाचारका नाईके र भ्रष्टाचार शिरोमणीको रुपमा स्थअपित हुने भन्दै अहिलेकै अवस्थामा उहाँ सरकारमा कायम रहनु हितकारी नहुने दावी गरे।

उनले सहमतिविना सरकारको नेतृत्व नगर्ने भन्ने भट्टराईले सहमतिको सरकार निर्माणको लागस राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने भन्दै सहमतिको सरकारको नेतृत्व जसले गरे पनि एमालेलाई मान्य हुने बताए।

साक्षात्कारमा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अहिले सरकार परिवर्तन गर्ने हो भने शान्ति र संविधान निर्माणको कार्य अवरुद्ध हुने ठोकुवा गर्दै अहिलेकै सरकारले ६ महिनामा शान्ति प्रक्रिया र संविधान लेखनकार्य सकेपछि निर्वाचनको लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा जोड दिए। उनले त्यस्तो अवस्थामा मधेसी मोर्चाले जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भए पनि त्यसलाई स्वीकार गर्ने स्पष्ट पारे। उनले अहिले सरकार परिवर्तन गरे विगतको साढे तीन वर्षजस्तै बाँकी छ महिना पनि हुने दावी गर्दै सरकार र संविधान निर्माण कार्यलाई एक अर्कामा जोडन नहुने धारणा राखे। कर्णले शासकीय स्वरुपमा सहमति बने संविधानको पहिलो ड्राफ्ट लेखन कार्य सुरु हुने भन्दै राज्यपुनर्संरचनाले ड्राफ्ट निर्माणमा कुनै असर नपर्ने दावी गरे।

Popularity: 4%

Add comment November 28th, 2011

माग पूरा नगरे आन्दोलनको सुनामी ल्याउने क्षेत्रीहरुको चेतावनी

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, १२ मंसिर । संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले आफ्ना माग पूरा नगरे आन्दोलनको सुनामी ल्याउने चेतावनी दिएको छ।

संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले जातीय विभेदकारी नीति ल्याएर क्षत्रीलाई अन्य जातीमा सूचीकृत गर्नु क्षत्रीको पहिचान समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउँदै क्षेत्रीलाई आदिवासीको सूचीमा सूचीकृत नगरिए आन्दोलनको सुनामी ल्याएर भएपनि आफ्ना हक सुनिश्चित गर्ने चेतावनी दिएका हुन्।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले विकेन्द्रीकरणको सामान्य ज्ञान पनि नभएका नेपाली जनतालाई अग्राधिकारयुक्त जातीय संघीयता बनाएर नियोजित रुपमा मुलुकलाई खण्डिकृत गरी क्षत्री समूदायलाई गुमनाम बनाउन खोजेको आरोप लगाए।

समितिले राज्यले क्षत्रीलाई आदिवासीको १ नम्बर मा सूचिकृत गरी छुट्टै पहिचान कायम गरिनुपर्ने, कुनै पनि जातलाई अन्यमा राख्न नपाईने, आदिवासी जनजाती ऐन तत्काल खारेज गरी नयाँ समावेशी ऐन बनाउनुपर्ने जस्ता ६ सूत्रीय मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएको जानकारी गराएको थियो।

समितिका सदस्य सचिव अर्जुनबहादुर अधिकारीले हिजो पनि देशको रक्षक क्षेत्री नै रहेको र आज पनि राष्ट्र रक्षाका लागि छातीमा गोली खान तयार रहन सम्पूर्ण क्षेत्रीहरुलाई आव्हान गरे।

पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक भुपति खड्काले सरकार र खस क्षेत्रिबीच भएको वार्ता अनाधिकृत भएको र खस क्षेत्री समाज कुनै आधिकारिक नभएको भन्दै सरकार र खस क्षेत्रीको संयुक्त आयोगको औचित्य नभएको दावी गरे।

Popularity: 4%

Add comment November 28th, 2011

गोर्खा आन्दोलनलाई ‘युनाईट दी युनियन’ले सहयोग गर्ने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
ब्राईटन, २७ नोभेम्बर । बेलायती समकक्षी सरह समान पेन्सन लगायतका माग गर्दै हस्ताक्षर अभियानमा जुटेको युनाइटेड व्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युविजीइए) लाई बेलायतस्थित ‘युनाइट दी युनीयन’ले साथ दिने भएको छ।

करीब १७ लाख बढि सदस्य भएको ‘युनाइट दी युनीयन’ बेलायती ‘सिभिलियन’ कर्मचारीहको दोश्रो ठूलो संगठन हो। युनियनले भावी कार्यदिशाका बारेमा छलफल गर्न आयोजना गरेको वार्षिक पत्रकार सम्मेलनमा युविजीइएलाई आमन्त्रण गरेको थियो। ब्राइटनस्थित होटल हिल्टनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युविजीइएका महासचिव दिपक मास्केले बेलायती सरकारको विभेदकारी नीतिका विरोधमा आफूहरु हस्ताक्षर अभियानमा जुटेको बताए।

गोर्खालीहरुका जायज मागलाई बेलायती सरकारले सम्बोधन नगरेको गुनासो गर्दै मास्केले सरकारको ध्यनाकर्षण गराउन पनि युनियनको साथ आवश्यक भएको औंल्याए। मास्केले गोर्खा सैनिकलाई क्षतिपूर्ति सहित समान पेन्सन, विधवाहरुको अधिकार लगायत आधा दर्जन बढि मागहरु रहेको जानकारी दिएका थिए।

सम्मेलनपछि सहभागि गोर्खाहलाई आश्वस्त पार्दै ‘युनाइट दी युनीयन’का राष्ट्रिय संयोजक माइक म्याक्कार्ट्नीले युविजीइएले सञ्चालन गरेको हस्ताक्षर अभियानलाई आफूले सक्दो सहयोग गर्ने वचन दिए।

विभिन्न आन्दोलनमा सहभागी भई सेवा पुर्‍याएबापत प्राप्त मेडल तथा गोर्खा हृयाटमा सजिएका गोर्खाली योद्धाहरुलाई युनियनले भव्य स्वागत गरेको थियो। गोर्खालीहरुको सम्मानमा उनीहरुले एक मिनेटसम्म उठेर ताली बजाई स्वागत गरेका थिए।

आइतबारदेखि एक हप्तासम्म चल्ने सम्मेलनमा बेलायत, अमेरीका, क्यानडा, अष्ट्रेलीया, क्युबा, भेनेजुयला लगायत देशका प्रतिनिधि, बेलायती गृह मन्त्रालय तथा सरकारी क्षेत्रमा क्रियाशिल ट्रेड युनीयन, तथा विभिन्न मानवअधिकारवादी संस्थाहरुको सहभागिता रहेको थियो। सम्मेलनमा युविजीइएका अध्यक्ष प्रेम राई, संयोजक ज्ञानराज राई, महासचिव मास्के, कोषाध्यक्ष मान बहादुर थापा, धन घले, रामकृष्ण राई, कृष्ण हाम्बे, सनमायां गुरुङ लगायत करीब दुई दर्जनबढि सहभागी भएका थिए।

गोर्खालीका माग सम्बोधन गराउन एकलाख बढि हस्ताक्षर संकलन गराई बेलायती संसदमा बहस चलाउने उदेश्यका साथ गोर्खा आन्दोलनको एक घटक हस्ताक्षर अभियानका लागेको हो। अहिलेसम्म भौतिक तथा अनलाईन गरी करीब ७५ हजार हस्ताक्षर संकलन भइसकेको युविजीइएले जनाएको छ।

अभियानलाई साथ दिन www.epetitions.direct.gov.uk/petitions/10609 मा लगअन गरी हस्ताक्षर गर्न युविजीइएले सबैमा आह्वान गरेको छ।

Popularity: 4%

1 comment November 28th, 2011

पत्रकार बिजयबाबु खत्रीको दुर्घटनामा मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डी बजार चोकमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा कारोबार दैनिकका समाचार सम्पादक बिजयबाबु खत्री सहित दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको कारोबार दैनिकको बा७च ५९२ नम्बरको कारले अपराह्न करिब ४ बजे रुपन्देहीको सालझण्डी चोकमा साइकलयात्री सालझण्डी–४, सितलापुर निवासी पूर्णबासी थारुलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट ४० वर्षीय थारुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

रुपन्देहीको करहिया–३ स्थायी घर भई कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षीय खत्रीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

सो दुर्घटनामा झापा सुरुङ्गा–२ बस्ने ३० वर्षीय डिआर आचार्य, काभ्रे देउपुरकी २३ वर्षिया राधिका ढकाल र लमजुङका २६ वर्षीया लीला घिमिरे घाइते हुनुभएको छ।

Popularity: 4%

Add comment November 28th, 2011

‘संविधानसभाको म्याद थपे पनि संविधान नबन्ने’

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाको म्याद जतिपटक थपिए पनि राजनीतिक दलहरूले नयाँ संविधान जारी गर्न नसक्ने दाबी गर्नुभएको छ।

पाटन मङ्गलबजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख राजनीतिक दलका नेताहरूले पटकपटक संविधानसभाको म्याद थप गर्ने तर संविधान निर्माणमा भने ध्यान नदिने गरेको आरोप लगाउनुभयो।

सर्वोच्च अदालतले यही मङ्सिर ९ गते संविधानसभाको म्याद थपबारे सुनाएको फैसलाबाट आफ्नो पार्टीले माग गर्दै आएको नयाँ चुनावको मुद्दा मान्यता प्रदान गरेको उहाँको भनाइ थियो।

तेस्रो पटक थपेको म्याद सकिन तीन दिन बाँकी रहँदा समेत संविधानसभाको एकपटक पनि बैठक बस्न नसकेको उल्लेख गर्दै उहाँले संविधान बनाउने भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले जनतालाई झुक्याउने कार्य गरिरहेको बताउनुभयो।

शान्ति र प्रजातन्त्रका लागि नयाँ चुनावसम्बन्धी अभियान अन्तर्गत राप्रपा नेपालले आज बसन्तपुरमा आमसभा गर्ने भएको छ।

Popularity: 4%

1 comment November 28th, 2011

एमाओवादी नेतालाई ज्यान मार्ने धम्की

एचकेनेपाल डट कम संवाददाता-
एकीकृत नेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिलबहादुर विकलाई अज्ञात व्यक्तिले मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको छ।

थारुवान राज्य समिति सदस्य समेत रहेका विकका अनुसार अपशब्द प्रयोग गर्दै त्यस व्यक्तिले ९८४८७३८७५६ नम्बरबाट ज्यान मार्ने धम्की दिएका थिए।

सुरक्षाको माग गर्दै विकले आजै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ। यसघटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Popularity: 4%

1 comment November 28th, 2011

इस्वी संवतलाई कामकाजको संवत् बनाउन सकिन्छ– मन्त्री किराती

एचकेनेपाल डट कम संवाददाता-
संस्कृतिमन्त्री गोपाल किरातीले इस्वी संवतलाई कामकाजको संवत् बनाउन सकिने बताउनुभएको छ।

किरात येले संवत् अध्ययन समन्वय समिति र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरू’ विषयक दुईदिने गोष्ठीको समापन गर्दै उहाँले इस्वी संवत कामकाजको संवत् बनाउन अत्यन्तै जरुरी भएको बताउनुभयो।

‘सिमाना काटेलगत्तै सबै क्षेत्रमा इस्वी संवतमा व्यवहार गर्नुपर्ने बाध्यता छ’, उहाँले भन्नुभयो– ‘देशमा चलेका अरु संवत्लाई विस्थापित गर्न नभई अन्तर्राष्ट्रिय व्यवहार मिलाउन विद्वानहरूबाट इस्वी संवत चलाउन सुझाव आएको छ।’

Popularity: 4%

Add comment November 28th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2011
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....