Archive for November 3rd, 2011

भेडेटारमा पर्यटकहरुलाई मनोरञ्जन

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, पूर्वको पर्यटकीय स्थल भेडेटारमा पर्यटकहरुलाई मनोरञ्जन दिनको लागि धरान ७ स्थित धरान कला मन्दिरले विहीवार साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ।

पर्यटकहरुलाई प्राकृतिक दृश्यावलोकन मात्र नभइ मनोरन्जन पनि दिनको लागि साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको कला मन्दिरका निर्देशक विनय प्रधानले जानकारी दिनुभयो।

होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष विष्णु श्रेष्ठले भेडेटारलाई अझ पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गर्न सके अझै पर्यटनको विकासमा टेवा पुग्ने वताउनुभयो।

कार्यक्रममा नेपाली संस्कृति झल्कने खालका मारुनी, कौडा, झ्याउरे, पप, हिन्दी तथा नेपाली लोकगीतहरु लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो। जुनसुकै समयमा पनि चिसो मौसम र प्राकृतिक मनोरम दृश्य हेर्न पाइने भएकोले यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन्।

Recent Videos:

Popularity: 8%

Add comment November 3rd, 2011

१९ दलको संयुक्त प्रेस बिज्ञप्ति

१९ दलको संयुक्त प्रेस बिज्ञप्ति-
संविधान सभा र त्यस बाहिर रहेका १९ दलका प्रतिनिधिहरुको आज २०६८ कार्तिक १७ गते बसेको संयुक्त बैठकले देशको सम सामयिक राजनीतिक स्थितिको बिश्लेषण गर्दै निम्न महत्वपूर्ण निष्कर्श निकालेकोले प्रसारण तथा प्रकाशनका लागि सार्बजनिक गरिएको छः

१. जस्तो राष्ट्रिय अन्तराष्ट्रिय परिप्रेक्षमा २०६८ कार्तिक १५ गते सरकारमा रहेका दुइ र प्रतिपक्षमा रहेका दुइ समेत प्रमुख चार दलले ७ बुँदे सहमति गरेका छन् त्यसले नेपाली जनतामा आशाको सञ्चार गरे जस्तो देखिए पनि यस सहमतिको कार्यान्वयन अत्यन्तै चुनौतिपूर्ण छ । यसको सही कार्यान्वयन नभए देशको स्थिति अझ गम्भीर खतरातर्फ धकेलिने निष्कर्श संविधान भित्र र बाहिर रहेका १९ दलका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले निकालेको छ र जनतालाई सचेत रहन आहृवान गरेको छ। कुनै पनि राष्ट्रिय महत्वका निर्णय लिने सिलसिलामा तीन दलले मात्र निर्णय गर्ने र त्यो निर्णय अन्य दलमाथि लाद्ने हैकमबादी शैली यसपटकको सहमतिमा पनि देखा परेको छ।

२. देशका जिम्मेवार राजनीतिक दलहरुका बीच कुनै राष्ट्रिय सहमति नभएको र भारत भ्रमण सद्भावना भ्रमण मात्र हुने र भ्रमणको बेला कुनै बिवादास्पद सन्धि सम्झौता नगरिने आफ्नै प्रतिवद्धताका विपरीत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नु भएको दुइपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण गर्ने (बिप्पा) सन्धि नेपाली अर्थतन्त्रमा भारतको एकाधिकार जमाउने, तेस्रो देशहरुका लगानीलाई हतोत्साहित गर्ने, राष्ट्रिय अर्थतन्त्र वा राष्ट्रिय उद्योगहरुको अवस्था कमजोर पार्ने र धराशायी बनाउँदै लैजाने, खालको भएकोले समेत त्यो सन्धि गम्भीररुपले राष्ट्रिय हित विपरीत भएको ठहर गरेको छ। त्यो सन्धिमा भारतीय उद्योगहरुलाई विभिन्न अवस्थाहरुमा क्षतिपूर्ति दिने जुन व्यवस्था गरिएको छ, त्यसबाट पनि नेपालले थाम्नै नसक्ने आर्थिक भार पर्नेछ र त्यसबाट नेपालको अर्थतन्त्रलाई ठूलो आघात पुग्ने छ । उक्त सबै कुराहरुमाथि ध्यान दिंदै १९ दलको आज बसेको संयुक्त बैठकले त्यसप्रति जोडदार बिरोध गर्दै राष्ट्रिय हितलाई केन्द्र बिन्दूमा नराखिएको उक्त सम्झौता खारेजीको माग गरेको छ।

बैठकले यस सम्बन्धि श्वेत पत्र जारी गर्न माग गर्दै देश संक्रमणकालीन तरल राजनीतिक स्थितिबाट गुज्रिरहेको आजको कमजोर अबस्थामा पहिलेका सरकाहरुले समेत गर्न नसकेको यो सम्झौता यसै बेला नगरी नहुने स्थिति किन खडा भयो र सहमति गरेपछि प्रधानन्त्रीले जुवा खेलेको भन्ने गैरजिम्मेवार अभिव्यत्ति किन दिनु भयो? बैठकले गम्भीर प्रश्न उठाएको छ। बैठकले यस सम्वन्धि बिरोध कार्यक्रम अघि बढाउने समेत निर्णय लिएको छ।

३. मंहगीले आक्रान्त भएर छटपटाई रहेका नेपाली जनतामाथि यातायाताको भाडामा करीब १० प्रतिशत बृद्धि गरेर ‘मर्‍यो माथि कात्रो’ भन्ने उखानलाई सरकारले चरितार्थ गरेको छ । बैठकले यो यातायात भाडा बृद्धि फिर्ता लिन र सरकारसँग माग गरेको माग गरेको छ।

४. संयुक्त बैठकले मीतब्ययीतामा जोड दिने प्रधानमन्त्री डा. बाबुराम भटराइले आफ्नै प्रतिबद्धता बिपरीत कार्तिक १५ गते ठूलो चियापान आयोजना गरेर राज्य कोषको रकम अनुत्पादक क्षेत्रमा खर्च गरेकोमा त्यसको बिरोध जनाएको छ।

यस संयुक्त बैठकमा नेकपा (मसाल) महामन्त्री मोहन बिक्रम सिंह, नेकपा (माले)का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली, नेकपा (संयुक्त मार्क्सवादी)का अध्यक्ष लोकनरायण सुवेदी, नेकपा (मार्क्सवादी)का पोलिट ब्यूरो सदस्य अच्यूतराज ज्ञवाली, नेकपा (एकीकृत क्रान्तिकारी) का प्रबक्ता हिमलाल पुरी, संयुक्त जनमोर्चाका अध्यक्ष डा. भरत लामिछाने, नेपाली जनता दलका महासचिव रामकुमार ओझा नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक)का अध्यक्ष हुकुमबहादुर लामा जनप्रजातान्त्रिक पार्टीका महामन्त्री गोबिन्द पौडेल, सशत्तक्ति पार्टी अध्यक्ष पद्मिनी प्रधानाङ्ग, समाजवादी जनता पार्टी अध्यक्ष हिक्मत देउवा राष्ट्रिय जनवादी मोर्चाका महासचिव कुलबहादुर मोक्तान लगायत १९ दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

२०६८ कार्तिक १७

Recent Videos:

Popularity: 7%

Add comment November 3rd, 2011

वेपत्ता पारिएका २१ जनाको विवरण हस्तान्तरण

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, द्वन्दकालमा सुनसरी जिल्लाबाट वेपत्ता पारिएका २१ जनाको विवरण सहितको फाइल विहीवार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय विराटनगरले नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई हस्तान्तरण गरेको छ।

सुनसरीका एक महिलासहित २१ परिवारका वेपत्ताहरुको फायल नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई एक कार्यक्रम गरि पूर्वाञ्चाल क्षेत्रीय कार्यालयले हस्तान्तरण गरेको हो।

आइसिआरसिका क्षेत्रीय संयोजक सन्देश श्रेष्ठले विभिन्न जिल्लामा जन्म भइ स्थायी वसोवास गदै आएको तर विभिन्न जिल्लाबाट वेपत्ता पारिएकाको फाइल हस्तान्तरण गरिएको जानकारी दिनुभयो।

उहाँले आइसिआरबाट भन्दा रेडक्रस सोसाइटीबाट वेपत्ता परिवारलाई आफ्ना पीडा राख्न र प्रोत्साहन गर्नको लागि सहज होस् भन्ने उद्धेश्यले फाइल हस्तान्तरण गरिएको वताउनुभयो।

फाइलमा उल्लेख गरिएको तथ्याङ्ग अनुसार सुनसरीबाट वेपत्ता हुनेहरुमा उत्तरकुमार लिम्वु,चन्द्रमाया वस्नेत,चिरिन्जीवि गौतम,चेतनाथ ढुङ्गाना,जयकुमार साह, जयकुमार राई, दिनेश खनाल रहेका छन्। त्यसैगरी दिपक विश्वकर्मा, दिपेन्द्र पोख्रेल,दिपेन्द्र सापकोटा, देवहरी रिजाल, निरन्जन कुमार पाठक, पुष्प भण्डारी, प्रताप वहादुर राई, प्रमोद चौलागाई, फूलकुमार विक, भोजराज तिम्सिना, राजकुमार खड्का, सिताराम तामाङ्ग, हरीवहादुर मगर र हर्क वहादुर माझी रहेकाछन्।

श्रेष्ठका अनुसार नेपालमा १ हजार ३ सय ८३ जना वेपत्ता भएकाछन्। नेपालमा द्धन्द्धकालमा ७५ जिल्ला मध्ये पाल्पा र मनाङ्ग जिल्लाबाट भने वेपत्ता भएको पाइएको छैन। वेपत्ता हुनेहरुको वारेमा राज्यपक्ष र विद्रोही पक्ष कुनैपनि पक्षबाट परिवारको चित्त वुझ्दो जवाफ नआएको श्रेष्ठले जानकारी दिनुभयो।

Popularity: 7%

Add comment November 3rd, 2011

१७ बालिकाको भविष्य अलपत्र पार्नेलाई कारवाहीको माग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १७ कार्तिक । उद्धारका नाममा अलपत्र पारिएका १७ जना बालिकाहरुको भविष्यको ग्यारेण्टी र दोषीलाई कानुन बमोजिम कडा कारवाहीको लागि पीडितका अविभावहरुले माग गरेका छन्।

पीडित विद्यार्थी र अविभावकहरुले विहीबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर १७ जना बालिकाहरुलाई नारी चरित्रको संवेदनशीलतालाई ख्यालै नगरी वालमनोविज्ञान र बालिकाहरुको दीर्घकालीन असर पर्ने गरी र उनीहरुको शैक्षिक भविष्यमाथि खेलवाड गर्ने उपर कडा कारवाहीको माग गरेका हुन्।

वेचिएका चेलिको उद्धार गरी ल्याएको भन्दै अनर्गल प्रचार गरी गत सेप्टेम्बर ४, २०११ मा उनीहरुलाई The esther benjamins trust Nepal, Bakhundol Lalitpur नामक संस्थाले बाल उद्धारका नाममा बालिकाहरुलाई नेपाल भित्र्याएको थियो।

पत्रकार सम्मेलनमा उनीहरुले उक्त संस्थाका निर्देशक भाष्करजङ कार्की र सोही संस्थामा कार्यरत निर कार्की, भारतीय नागरिक शैलजा र इलाम घर भएका दिलु तामाङ मिली हाँसी खुसी पढिरहेका बालिकाहरुलाई नेपाल घुम्न जाउँ तिमीहरुको आमा बाबुलाई भेट गराई दश दिनभित्र फेरी यही स्कुलमा ल्याइ दिन्छौं भन्दै नेपाल ल्याएर अलपत्र पारेको आरोप लगाए।

पत्रकार सम्मेलनमा बोल्दै कक्षा १० मा पढ्दै गरेकी पीडित बालिका निर्मला बोगटीले भनिन्- हामी हाँसी खुसी आफ्नै घरपरिवारमा जस्तो गरेर पढिरहेकालाई ललाई फकाई, डर, धम्की दिएर नेपाल ल्याए, हाम्रो भविष्य अन्धकार भएको छ, हामीलाई यो गति पार्ने त्यो संस्थाका व्यक्तिहरुलाई कडा कारवाही गरी हाम्रो शिक्षाको उचित व्यवस्था होस्। अर्की पीडित बालिका यलिना चौहानले आफूहरुको शिक्षाको व्यवस्था गरिदिन सरकारसँग माग गरिन्। पत्रकार सम्मेलनमा १३ जना अविभावक र १७ जना पीडित बालिकाहरुको उपस्थिति रहेको थियो।

Popularity: 7%

Add comment November 3rd, 2011


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2011
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....