सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १६ पुष । पूर्वी नेपालमा शसस्त्र संघर्ष गर्दै आएको खम्बुवान मुक्ति मोर्चाका थप एक कार्यकर्ता पक्राउ परेका छन्।
सखुवासभा जलजलाका २२ वर्षीय दिपेष रोक्का शनिवार साँझ पक्राउ परेका हुन्। उनलाई घरैवाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
उनलाई अञ्चल प्रहरी कार्यालय कोशीको विषेष प्रहरी टोलीले पक्राउ गरेको हो।
गत चेत्र ११ गते संखुवासभा चैनपुरस्थित मादी होटलमा वम विष्फोटन संलग्न रहेको प्रहरीको दावी छ। सो विष्फोटनमा परि मोर्चाकै एक जिल्ला संयोजक दिलबहादुर खड्को मृत्यु भएको थियो।
प्रहरी यसअघि मोर्चाका प्रवक्ता आकार खम्बुसहित सात कार्याकर्ता पक्राउ गरि सार्वजनिक गरिसकेको छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ पुष । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजकत्वको विवाद समाधान उपसमितिले गरेको सबै सहमति उल्टाईदिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उपाध्यक्ष बैद्यले पार्टीको लाईन विपरित सहमतिको नाममा अध्यक्षले पार्टीका सबै मुद्दाहरु छाड्दै गएकोले पनि उपसमितिको सहमति उल्टिने स्पष्ट पारे।
साक्षात्कारमा उनले भने- अध्यक्षले गलत गलत सहमति गर्दै जानु भएको छ त्यसैले त्यो उल्टिन्छ । पार्टीको लाईन जनवादी क्रान्ति हो, अनि सम्पत्तिमा हदबन्दी नलगाउने कुरा कसरी मानिन्छ।
बैद्यले संविधान उपसमितिले नभई संविधानसभाले बनाउने भएकोले पनि अहिलेको सहमति संविधानसभामा गएर उल्टिने दावी गरे। उनले पार्टीको निर्णयविपरित अध्यक्ष प्रचण्ड उपसमितिमा बसेर सहमति गर्दै गएको भन्दै उपसमितिको औचित्य नै नरहेको ठोकुवा गरे।
बैद्यले संविधानसभाको गरिमालाई बुझ्न नसकेको आरोप लगाउँदै नयाँ बन्ने संविधानमा जनयुद्ध शब्द नस्वीकारिए आफूहरुले पनि जनआन्दोलन शब्द नस्वीकार्ने चेतावनी दिए। उनले भने- जनयुद्ध शब्द मानिदैन भने जनआन्दोलन पनि मानिदैन। होईन भने सबै आन्दोलनलाई स्वीकार्नु पर्छ।
उनले आफ्नै पार्टीका उपाध्यक्ष डा बाबुराम भट्टराई नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा असफल सरकारको संज्ञा दिदै पार्टी सरकारबाट फिर्ता हुनु पर्ने धारणा राखे। उनले पार्टीले सरकार सञ्चालनको लागि ७ जना पदाधिकारीहरुको संयन्त्र निर्माण गरे पनि अहिलेसम्म सरकार सञ्चालनको विषयमा संयन्त्रमा छलफल नगरी एकलौटी रुपमा सञ्चालन गरेकोले सरकारबाट फिर्ता हुने माग अगाडि सार्न आफूहरु बाध्य भएको बताए।
उनले भने -काग्रेस र एमाले नेतृत्वको सरकारले विप्पा गरेन बाबुरामजीलेनै किन गर्नु पर्यो। अहिलेसम्मकै यो असफल सरकार हो। अब नयाँ ढंगले सोच्नु पर्छ।
उपाध्यक्ष बैद्यले सहमतिको सरकारको विकल्प खुल्ला रहेको भन्दै सहमतिमा माओवादीभित्र वा बाहिर जताबाट पनि नेतृत्व हुन सक्ने बताए। उनले गोकर्णको बैठकले चार शीर्ष नेताहरुलाई सहमतिको सरकारको विषयमा सहमति जुटाउन जिम्मेवारी दिएकोले आफूहरु चार नेताको सहमतिको प्रतिक्षामा बसेको बताए।
उनले आफूहरु शान्ति र संविधानको पक्षमै रहेको स्पष्ट पार्दै भने-अरुले भने जस्तो एकहोरो शान्ति मात्र सम्भव छैन। हामीले पहिला राष्ट्रिय सुरक्षा नीति बनाऔ, समायोजन सम्मान जनक रुपमा अघि बढाउँदै संविधान लेखौ भनेका हौ। अहिले सविधानलाई ओझेलमा पारेर शान्तिको कुरा गरिदैछ।
लोक तमू / एचकेनेपाल डट कम-
बुटवल, आफ्नो पुरानो नाँचहरु सोरठी र घाँटु सगै रमाएका छन्। नेपाल तमु विद्यार्थी छोँज धीँ र तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद बदेलपोखरी इकाई समितिले सयुक्त रुपमा गरेको सोरठी तथा विविध सास्कृतिक कार्यक्रम २०६८ कार्यक्रमका गुरुङहरु समाजमा लोपउन्मुख अवास्थामा रहेको सोरठी र घाटुसगै मनाएका हुन्। नेपाल तमु विद्यार्थी छोँज धीं र तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद बदेलपोखरी इकाई समितिले सयुक्त रुपमा आयोजना गरेको सोरठी तथा विविध सास्कृतिक कार्यक्रमका झलकहरु।
संस्कार, संस्कृति, संरक्षण हाम्रो उदेश्य राखिएको कार्यक्रममा तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद मधौलिया इकाई समिति, सानो लेखानी समाज मंगलापुर, तमु हयुल छोँज धीं बदेलपोखरी इकाई समिति र नेपाल तमु विद्यार्थी छोँज धींको समुहले सोरठी नृत्य प्रस्तुत गरेका थिए भने तमु हृयुल छोँज धीं बदेलपोखरी इकाई समितिले बाह्रमासे घाटु, सती घाटु र कुसुण्डा घाटुका प्रकारहरु पस्केका थिए।
तमु ल्होसारमा सोरठी नृत्यु कार्यक्रम गरिएको रुपन्देहीमा पहिलो पटक हो । त्यस्तै साँस्कृतिक कार्यक्रम राष्ट्रिय कलाकारले स्टेजलाई तताए। राधिका हमालले क्याम्पस पढ्ने जानी भन्दै दर्शकसगै नाच्न थालेपछि कार्यक्रममा मौहोल फेरिएको थियो। त्यसपछि इन्द्र जिसीले शिरमै चन्द्रमा, सत्य सत्य तिमीलाई लैजान्छु मसिंरै प्रन्धसम्म आइपुग्दा बसेर आनन्द लिने भन्दा नाच्नेको बर्चश्च हुन पुग्यो। कुलेन्द्र विकले नजाउ है सानु पधेरीमा भन्ने गीतमा आइपुग्दा दर्शकको उफ्राइले कार्यक्रम स्थल धुलाम्य बन्न पुग्यो। कृष्ण देवकोटाले राम्दी झारेर राधिका हमालको साथमा दोहोरी गाउदा गोधुली साँझमा दर्शकको उन्माद झन बढ्यो। इन्द्र जिसी साथमा वोइज भर्सेज वोइजको दोहोरीले पनि कार्यक्रममको माहोल झन तातिएको थियो।
कार्यक्रममको अन्त्यमा राधिका हमाल, इन्द्र जिसी, कुलेन्द्र विक र कृष्ण देवकोटाले सयुक्त दोहोरी गाए । कार्यक्रममा तमु कलाकार धन बहादुर गुरुङको ल्होसारले गीतले र राम चन्द्र चन्दका गीतहरुले पनि धेरै दर्शक कुर्चीबाट स्टेजसम्म पुग्न बाध्य भएका थिए।
प्रमुख अतिथ तमु विद्यार्थीका सस्थाँपक संगठन सचिव राजु गुरुङले मिस तमुस्यो रुपन्देही सहभागी र विजेताहरुलाई पुरस्कार, मायाको चिनो र प्रमाणपत्र बाँडेका थिए । स्युँरा घरदैलो कार्यक्रममा योगदान दिएकाहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। लोक तमु र धनु तमुले कार्यक्रम सञ्चालन गरेका थिए भने पहिलो सत्रको कार्यक्रमको अध्यक्षता बदेलपोखरी इकाई समितिका अध्यक्ष झल बहादुर तमुले गरेको थिए भने दोस्रो सत्रको कार्यक्रम सयोजंक योग तमुले गरेका थिए।
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ पुष । लगातार दोस्रो पटक सूर्य नेपाल इष्टर्न ओपन जित्दै नम्बर १ गल्फर शिवराम श्रेष्ठ करियरको १६औं उपाधि जित्न सफल भएका छन्।
अन्तिम दिन ५ ओभर ७५ को खराब प्रदर्शनका बाबजुत कुल ५ ओभर २१५ अंकका साथ रमेश अधिकारी र रवि खड्कालाई २ स्ट्रोकले पछि पार्दै श्रेष्ठले उपाधि उचाल्न सफल भए।
पहिलो दिन ७२ र दोस्रो दिन ६८ अंक बनाई अन्तिम दिन ४ स्टोकले अघि रहेका शिवरामले १ डवल वोगी र २ वोगीका बिरुद्ध ३ वडी प्रहार गरी फ्रण्ट नाईन १ ओभर ३६ मा सकाए। ब्याक नाईनमा उनले लय गुमाउदा रमेशले १६औं होलमा वर्डी प्रहार गरी शिवरामको अग्रतालाई १ स्ट्रोकमा झारे । तर त्यसपछि दुवैले खेल राम्रो प्रदर्शन गर्न नसकेपनि ब्याक नाईनमा २ वर्डी बिरुद्ध ६ वोगी प्रहार गरे पनि शिवराम २ स्टोकले नतिजा आफ्नो पक्षमा पार्न सफल भए।
दोस्रो दिन संयुक्त दोस्रो स्थानमा रहेका रमेशले मात्र ३ वर्डी प्रहार गर्दा ६ वोगीको सामना गरे र ३ ओभर ७३ अंक सहित कुल २ सय १७ अंक बनाई रवि खड्कासंग दोस्रो स्थानमा संयुक्त उपाधि लिन बाध्य भए। पूर्व नम्बर १ गल्फर रविले ३ वोगी र २ वर्डीको मद्दतले १ ओभर ७१ मा खेल सकाउंदा आठौ स्थानबाट दोस्रो स्थान प्राप्त गरे।
८ ओभर २१८ अंकका साथ लोकल गल्फर थाम बहादुर राई र सविन सापकोटाले संयुक्त रुपमा चौंथो स्थान प्राप्त गरे । थाम बहादुरले ४ ओभर ७४ र सविनले ३ ओभर ७३ स्कोर गरेका थिए । ४ ओभर ७४ अंक जोडी कुल २१९ का साथ सूर्य प्रसाद शर्मा छैटौं हुदा सञ्जय लामा, दिपक थापा मगर र राम थापा १० ओभर २२० का साथ संयुक्त सातौं स्थानमा रहे।
एमेच्योरतर्फ दिनेश प्रजापतिले अन्तिम दिन ११ ओभर ८१ स्कोर गरेतापनि कुल २२८ अंकका साथ उपाधि हात पारे। २० ओभर २ सय ३० अंकका साथ विकास वोगटी दोस्रो तथा २ सय ३१ अंकका साथ शुक्रराज राई तेस्रो भए।
कुल ४ लाख २५ हजार पुरस्कार राशी रहेको सूर्य नेपाल गल्फ टुर २०११-१२ अर्न्तर्गतको आठौ प्रतियोगिताको विजेता शिवरामले ८० हजार प्राप्त गरे। जारी सिजनमा उनको यो पाचौं उपाधि हो । भारतीय गल्फ टुर पिजिटिआईमा छनौट भएका शिवरामले जनवरी १७ देखि हुने बंगलादेश ओपनमा उत्कृष्ट १० भित्र पर्ने लक्ष्य राखेको बताए। संयुक्त रुपमा दोस्रो भएका रमेश र रविले जनही ४३ हजार ५०० प्राप्त गरे।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल प्रोफेशनल गल्र्फस एसोसिएशनद्धारा सञ्चालित तीन दिने प्रतियोगितामा कुल २९ प्रोफेशनल तथा २४ एमेच्योरले सहभागिता जनाएका थिए। विजयी खेलाडीहरुलाई नेपाल प्रोफेशनल गल्र्फस एसोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवार्णा कण्ट्री क्लबका अध्यक्ष शशिराम भण्डारी र निवार्णा कण्ट्री क्लबकी निर्देशक कल्पना भण्डारीले पुरस्कार वितरण गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १५ पुष । अन्तरजातीय मिलन केन्द्र समाजले अन्तरजातीय विवाह गरेका नौ जोडीलाई शुक्रवार राजधानीमा सम्मान गरेको छ।
समाजले गोरखाबाट अन्तरजातीय विवाह गरेका रमेश दालकोटी र सुमा भट्टराई, दुर्गा बराईली र सुजता सिवाकोटीलाई सार्वजनिक गर्दै बधाई ज्ञापन गरेको थियो।
समाजले अन्तरजातीय विवाह गर्ने ठाकुर मगराती र सुनिता भट्टराई, सविन सुनार र जमुना गुरुङ, रमेश दर्नाल र लिला रोका, वसन्त ढुंगाना र पञ्चकुमारी परियार, रामलाल विश्वकर्मा र सुनिता सिंह ठकुरी र मलेसियन नागरिक ल्फाइलेन क्यारोन र सपना वसेललाई बधाई तथा सम्मान गरेको थियो।
सम्मान कार्यक्रममा एमाओवादीका सभासद तथा राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले २१ औं सताब्दी र सूचना प्रविधियुक्त समयलाई आत्मसाथ गर्न नजान्ने हो भने समाज परिवर्तन र विकास नहुने ठोकुवा गरे।
उनले भने- समाजमा जरो गाडेर रहेको वर्गीय शोषण अन्त्यका लागि अन्तरजातीय विवाह गरेका जोडीको साहसलाई राज्यले कदर गर्नुपर्छ।
भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहले आफूले पनि अन्तरजातीय विवाह गरेकोले यस्ता जोडीलाई राज्यले पैसाले होईन सुरक्षित वातावरण र सुयोग्य रोजगारको व्यवस्था गरिदिनुपर्ने धारणा राखिन्।
सम्मान कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले राज्यले अन्तरजातीय विवाहित जोडीहरुको समूह बनाएर उनीहरुको सुरक्षा र रोजगारीको ग्यारेण्टी गरिनुपर्ने माग गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १५ पुष । विश्वेश्व प्रसाद कोइरालाले मेलमिलाप नीति लिएर भारतबाट नेपाल फर्केको ३६ औ बर्षगाँठको अवसरमा विपी संग्राहलयले शान्ति र संविधानको लागि राष्ट्रिय सहमतिको लागि सबै दलका शीर्ष नेताहरुलाई एकै मञ्च उपस्थित गराउने भएको छ।
शान्ति र संविधानको लागि राष्ट्रिय एकता तथा मेलमिलाप आजको अपरिहार्यता विषयक विचार गोष्ठीमा नेपाली काग्रेसका सभापति सुशिल कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाल नेता केपी शर्मा ओली, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठी, उद्योगमन्त्री अनिलकुमार झा, माले महासचिव सीपी मैनाली र नेपाली काग्रेसका महामन्त्री प्रकाशमान सिहलगायतका नेताहरुले धारणा राख्ने कार्यक्रम रहेको छ।
वीपी संग्राहलय सुन्दरीजलमा शनिवार विहान ११ बजे आयोजना हुने कार्यक्रमको तयारीकोलागी वीपी संग्राहलयसहित सबै दलका प्रतिनिधि सम्मीलित एक सर्वदलिय समिति समेत गठन गरिएको छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १५ पुष । अध्यक्ष अमर यादवले स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गरेको भन्दै मधेस तराई फोरम पार्टीको नेतृत्व परिवर्तन गरेको छ।
पटक पटक बैठक बोलाउन आग्रह गर्दा पनि अध्यक्ष यादवले बैठक नबोलाएको, सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीको पद्धति अबलम्बन गर्न नसकेको, राजनीतिक र आर्थिक पारदर्शिता अपनाउन नसकेको, विनाकारण पार्टीबाट निष्कासन गर्ने गरेको लगायतका ७ बुँदे आरोप लगाउँदै पूर्ण बैठकले पार्टीको नेतृत्व परिवर्तन गरेको शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिईएको हो।
बैठकले रत्नेश्वर लाल गोईतलाई नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । नवगठित केन्द्रीय समितिको सदस्यहरुमा पूर्व अध्यक्ष अमर यादव, भाग्य नारायण बैठा, रविन्द्र यादवल, लक्ष्मि नारायण चौधरी, हृदय नारायण चौधरी, सत्य नारायण चौधरी, यज्ञानन्द द्धिबेदी, विजयकुमार यादव, बबिता यादव, महमद साबुद्धिन अन्सारी, भोला यादव, महमद तैयव अलि, महेश ठाकुर, अब्दुल रौफ खान, अमरदेब ठाकुर र कमरे आलम रहेका छन्।
सो पार्टीको बैठकले विचार मिल्ने पार्टीसँग कार्यगत एकता र मोर्चा निर्माण गर्दै मधेसको आन्दोलनलाई उपलब्धिमुलक बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोईतले मधेसका आन्दोलनको उपलब्धि रक्षा गर्ने सवालमा मधेसी दलहरु चुकेको भन्दै त्यसलाई संस्थागत गर्न नयाँ शक्तिको रुपमा पार्टीलाई अगाडि बढाउन पुनर्गठनको आवश्यकता भएको बताए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १५ पुष । कविशिरोमणि लेखनाथ पौडयालको १२८ औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनले कविशिरोमणि काव्यसभाको आयोजना गरेको छ।
त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा कविशिरोमणि लेखनाथ पौडयाल जयन्तीका सञ्चालक यादव भट्टराई, महाकवि देवकोटा जयन्तीका सञ्चालक बाबा बस्नेत तथा त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले कविशिरोमणि लेखनाथ पौडयालले देखाएको बाटोमा हिँड्नु नै नेपाली भाषासाहित्यप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो।
कार्यक्रममा बाबा बस्नेत, सीता भट्टराई, ठाकुर शर्मा, यादव भट्टराई, रामप्रसाद पन्त र हरि पाण्डेय ‘पथिक’ले कविता वाचन गर्नुभयो।
लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौ अर्चलेमा भएको थियो।
२००८ साल असार २९ गते पौडयाललाई राजा त्रिभुवनले कविशिरोमणिको पदवी र मासिक दुइ सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए।
लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानले यिनीहरूलाई त्रिमूर्तिको पदवीले सम्मान गरेका थिए।
२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा उनको रथयात्रा गरिएको थियो। यो काम गर्ने प्रमुख हस्ती गोपाल पाण्डे असीम थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए।
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए। उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमूना मानिन्छन्।
उनको साहित्यप्रतिको कदरस्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो। २०२२ साल फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भएका थिए।
एचकेनेपाल डट कम संवाददात-
काठमाडौ, १५ पुष । सरकारले लोडसेडिङ अन्त्यको लागि डिजलबाट सञ्चालन हुने थर्मल प्लान्ट ल्याउने तयारी गरिरहेको बेला वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले थर्मल प्लान्ट नेपालको लागि उपयूक्त नभएको दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले थर्मल प्लान्ट नेपालको लागि थेग्नै नसक्ने सेतो हाति सावित हुने चेतावनी दिए।
साक्षात्कारमा उनले भने-जुन देशमा डिजेल छैन त्यो देशमा डिजेल प्लान्ट उपयुक्त हुन सक्दैन। डिजेल प्लान्टको साटो ट्रान्समिसन लाईन निर्माण, सोलर उर्जाको विकास र साना जलविद्यूत विकासमा लाग्नु उपयुक्त हुन्छ।
मन्त्री भट्टले उर्जामन्त्री आफू भन्दा पनि इमान्दार भएको भन्दै केही तत्वले कमिसनको हिसावमा प्लान्ट खरिदको योजना बनाएको हुन सक्ने आशंका ब्यक्त गरे।
उनले एक साता भित्रमा अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव अन्त्य हुने दावी गर्दै सरकार तत्कालको लागि डिजेल र ग्यासमा भ्याट हटाएर समस्या समाधानमा लागेको खुलासा गरे। उनले पेट्रोल र मट्टी तेलको मुल्य भने भारतमा कायम हुने मुल्यकै आधारमा मुल्य समायोजन गर्दै जाने बताए।
उनले किसान, विद्यार्थी र आन्दोलनका सहिद, घाईते परिवारलाई राहत दिने गरी नयाँ योजना समेत तयार पारिएको जानकारी दिए।
बिष्णु गुरुङ / एचकेनेपाल डट कम-
क्यालिफोर्निया, समय आफ्नै गतिमा चल्दै थियो । उत्तरतिर सेत़ा हिमालहरु चाँदी झै टल्किरहेको थियो । सेती गण्डकी आफ्नै सुसाईमा सुसईरहेकी थिईन साँच्चै प्रकृतिले आफ्नो सौन्दर्यलाई निस्वार्थरुपमा फिजाएर सुन्दर नगरी पोखरालाई अझ मनमोहक बनाईकी थिइन् । अनि ती प्रकृतिकी सौन्दर्यको काखमा गहन सस्कृतिको धनी तमुहरुको महान चाड - तमु ल्होछारको दिन थियो पौष १५ गते।
तमुहरु आफ्नो मौलिक भेषभूषामा सजिएको दृश्यले पोखरा शहर नै ढकमक्क फूल फुलेको फूलबारी जस्तो हो कि भन्ने भान हुन्थ्यो। त्यसरी ल्होछार पर्वले हाम्रो राष्ट्रलाई संस्कृतिको पनि धनी देश भनेर पहिचान गराउन भने पछि परेको थिएन। तमुहरु सामुहिक रुपमा ल्होछार मनाउन तमु समाज घर, नयाँ बजारमा जम्मा भएका थिए। सामुहिक रुपमा भोजन गरेर सांस्कृतिक कार्यक्रमहरुसँग मनोरंजन लिदै ल्होछार मनाउन पनि पाईने र कयौ बर्ष भेट नभएको ईष्ट मित्र साथीभाईहरु पनि त्यहा भेट्न पाईने भएकोले प्राय जसो सबै तमुहरु बर्षेनी ल्होछार मनाउन यसरी नै सामुहिक रुपमा भेला हुने गर्छन् त्यो सामुहिक भवनमा। म पनि सामेल भए सधै झै ल्होछार मनाउन मनमा खुशी र उमंग लिएर, खेलकुद देखि सांस्कृतिक कार्यक्रमहरु हुदै थियो।
म दङ्ग पर्दै तालि बजाउदै थिए। कुनै परिचित स्वरले बिष्णु सोल्टिनी भनेर बोलाए झै लाग्यो त्यो भिडमा, मैले आवाज आएतिर फर्केर हेरेको त माया सोल्टिनी पो रहेछिन। आफ्नो मौलिक भेषभूषा, गरगहनाले सजिएकी उनी, बिछट्टै राम्री पो देखीएकी थिईन ईष्र्या लाग्दो नै…! एकछिन त उनैलाई हेरेकी हेरे भए म ! साँच्चै गुरुङकी छोरीहरु त आँखा चिम्सा अनि स्याउ जस्ता गाला हुनेपर्ने होईन र तर खैर…! माया रुपकी मात्रा धनी नभएर असल गुणकी र व्यक्तित्वकी पनि धनी थिईन। पढाई साथै अरु धेरै कुरामा उनि जेहेन्दार थिईन। मानिलिउ भगवानले बत्तीसै लक्षणले सजाईकी परी जस्तै थिईन उनी, उनलाई पाउन ब्रिटिशको लाहुरेदेखि जो कोही पनि चाहन्थे।
निकै समयको अन्तराल पछिको भेट भएकोले हामी एक अर्कालाई देखेर खुब खुशी भयौं। म सधै झै उहिँ फरासिलो पाराले बोलचाल गर्न थाले केही अरु क़ुराको प्रसङ्ग चलाउदै गफ गरे तर उनी सधैको ल्होछारहरुमा झै हसिली, रसिली र सक्रिय नभए जस्तो उनको ब्यबहारले देखायो भने उनको अनुहारले एक किसिमको निरासापन झल्काईराहेको थियो।
मलाई केहि अप्ठ्यारो महसूस भयो, मनमा चिसो पस्यो । उनि र म दौतारी भएकोले होला भावनाहरु धेरै मिल्दथ्यो र मनका क़ुरा पनि एक आर्कामा साट्थ्यौं। त्यति बेला नै मलाई एउटा सोच आयो ल्होछारको बेला मनका क़ुरा नगरी कहिले गर्ने उनलाई मसंग एकान्त तिर जान आग्रह गरे ! हामी भिडलाई छाडेर एकान्तमा गयौ ! मैले उनको निरासापनको रहश्य बुझ्न खोजे। शुरुमा उनी निकै अतालिईन् तर मैले सम्झाएपछि उनले आफ्नो कथा यसरी सुनाईंन -
प्रेम आन्धो हुन्छ भन्ने सुनेकी र पढेकी थिएं … यथार्थ आज आफैले भोगिरहेकी छू सोल्टिनी ! हो र ?….बधाई छ ! यस्तो राम्रो कुरामा किन निरासापन त मैले भने …केटा अर्कै जातको हो …अनि के भो त ? अहिलेको जमानामा पनि ….मैले निर्धक्क भएर सहमत जनाए । उनले गह भरी आँसु गरिन् ….म दंग परे …होईन.. के भो फेरी सोल्टिनी…किन रोएको तपाई ? ….साँच्चै के जात पर्यो त केटा ? …..उनले टोलाउदै भनिन ….सानो जात …..मेरो शब्द बन्द भयो ….कान गुन्जियो ….टाउको रिगाउँन थाल्यो …..आफै छाँगाबाट खसे जस्तो भयो ……तर आफैलाई समाल्दै भने यो कदापि हुन नसक्ने क़ुरा अनि चलनमा नचलेको क़ुरा कसरी हुन पुग्यो सोल्टिनी ? …… हामी एक अर्काको लागि नै जन्मिएको जस्तो लाग्छ यस धर्तीमा….म एक पल पनि ऊ बिना बाँच्न सक्दिन…..भनेर उनि रोईंन् …. ….!
मैले हाम्री आमाले हामीलाई बारम्बार दिनु भएको एउटा अर्ति याद आयो …….मोटो छ भन्दैमा कुकुरको मासु कहिल्यै नखानु… सोल्टिनी …मैले सम्झाए ……! उनी झन् रोईन……..!!
त्यस दिनको भेट नै अहिले सम्मको अन्तिम भेट भएको छ माया सोल्टिनीसँग, हाम्रो भेट कलेज पढ्दा भएको थियो। ल्हो केलाउदा हामी एउटै ल्होमा पर्दो रहेछ दौतारी रहेछौ र साईनो चाहिँ सोल्टिनीको साईनोले बाधिएको थियौं। प्रत्येक बर्षको ल्होछारको दिनले मलाई त्यो घट्नको स्मरण गराउछ र प्रश्न गर्न बाध्य गराउछ आफू हुर्किएको यही समाजसँग….मान्छे मान्छे एउटै हो नि फरक किन भो…….? अनि याद आउछ मेरी सोल्टिनी मायाको र हृदयदेखि नै दिल खोलेर चिच्याउन मन लाग्छ ” मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ” !!!
आरसिएन/ एचकेनेपाल डट कम-
बीरगञ्ज, १४ पुस । नेपाल बिद्धत परिषद पर्साले विहीवार स्व.राजा वीरेन्द्र वीरविक्रम शाह देवको ६६ औं जन्म जयन्ती मनाएको छ।
परिषद पर्साले बीरगञ्ज उपमहानगरपालिका वडा नं.१८ स्थित स्व.राजा वीरेन्द्रको शालिकमा पुष्पार्पण गरी जन्मजयन्ती मनाएको हो।
परिषद पर्साका अध्यक्ष हेरम्बप्रसाद जोशीको अध्यक्षतामा जन्म जयन्ती कार्यक्रम सम्पन्न कार्यक्रमको बिशेष अतिथि नेपाल बिद्धत परिषदका केन्द्रिय सदस्य नरेश गिरीले मुलुक अहिले संकटमय अवस्थाबाट गुज्रिरहेकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने चिन्ता व्यक्त गरे।
यसको प्रमुख जिम्मेवारी सम्पूर्ण राजनीति दलका नेताहरुले कुर्सीको हानाथापले गर्दा हुन पुगेको उनले बताए। साथै नेपाली जनताले सभासदहरुलाई संबिधान निर्माण गर्न संबिधान सभामा पठाएको २ बर्षभन्दा बढी भईसकेपनि सत्ताको खेलले गर्दा मुलुक गम्भीर अवस्थामा पुगेकोल बताए। अब मुलुकको निकाश भनेको संबैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्रबाट नै मुलुक जोगिने गिरीले बताए।
समाजसेवी पशुपति बिक्रम शाह र महिला समाजसेवी उषा शाह विशेष अतिथि रहेको कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनक साह, अर्जुन सिहं ठकुरी, राम नारायाण साह, गंगा कार्की, गंगा बहादुर थापा, अरुण बिक्रम शाहलगायतको उपस्थिती रहेको थियो।
मुप्रि ल्होछार मेला
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १४ पुस ।पोखरा प्रदर्शनी केन्द्रमा बुधवारदेखि शुरुभएको मुप्रि ल्हेाछार मेलामा विहीवार दिउसो स्वर्गीय आदिकवि हर्कबहादुर तमुको स्मृतिकोषका लागि रकम हस्तान्तरण, युरोप यात्राका अनुभूति पुस्तक विमोचन र विविध सास्कृतिक कार्यक्रम सम्पन्न भयो।
तमु भाषा, सँस्कृति, राष्ट्र र तमुहरुको विकासका लागि योगदान दिएका तथा गरिव एवं जेहेन्दार तमु एक छात्र र एक छात्रालाई पुरस्कृत गर्न स्थापित स्वर्गीय आदिकवि हर्कबहादुर तमुको स्मृतिकोषका लागि संकलित रकम हस्तान्तरण गरियो।
बेलायतमा रहनु भएका योगेश तमुको पहलमा संकलित साढे ४ लाख ५१ हजार ३३५ रुपैया मुप्रि ल्होछार मेलामा सुमल कुमार तमुले तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई हस्तान्तरण गर्नुभएको हो।
तमु धिं नेपालद्धारा सञ्चालन हुने कोषको अध्यक्षमा कर्म तमु, सदस्य सचिव देविराज तमु, सदस्यहरुमा योगेश तमु, सुमल कुमार तमु, अर्जुन तमु, हीरादेवि तमु र राजेन्द्र तमु रहनुभएको छ।
यसैगरी सुमल कुमार तमुद्धारा लिखित युरोप यात्राका अनुभूतिहरु मुप्रि ल्होछार मेलाकै अवसरमा विमोचन गरिएको छ।
कृतिको तमु धिं नेपालका अध्यक्ष कर्म तमु, शिक्षासेवी गणेशबहादुर तमु, कृतिकारका आमा भाइसीरी तमु, सासु द्रौपती तमुले संयुक्त रुपमा विमोचन गर्नुभयो।
विमोचित कृति र कृतिकारको आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमुले परिचर्चा गर्नुभएको थियो। उक्त अवसरमा कृतिकार सुमल कुमार तमुले तमु धिं नेपाललाई विमोचित दुइसय पुस्तक सहयोग प्रदान गर्नुभएको थियो।
मुप्रि ल्होछार मेलाका संयोजक कर्म तमुको अध्यक्षता र सदस्य सचिव देविराज तमुको सञ्चालनमा भएको कार्यक्रममा पुस्तक लेखक सुमल कुमार तमुले कृतिको बारेमा चर्चा गर्नुभएको थियो।
यसरी नै मुप्रि ल्होछार मेलामा जिफानको संयोजन भएको विविध साँस्कृतिक कार्यक्रममा क्याप्टेन हितमान तमु र साथीहरुले लोपोन्मुख पुराना ठाडोभाका, सुनिमाया, जामतो रेलैमा गीत प्रस्तुत गनुभयो भने रजनी राई, मनोज गुरुङ, खेम गुरुङ लगायतले गीत प्रस्तुत गरेका थिए भने खडागाँउको लालीगुराँस क्लव, तमु प्ये ल्हु संघ युवा समिति, चलचित्रका नायक नायिकाहरुले नृत्य प्रस्तुत गरे भने दोहोरी प्रस्तुति समेत गरिएको थियो।
_____________________________________________
ल्होछार मेलामा खुल्ला सडक दौड प्रतियोगिता
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १४ पुस । पोखरेली तमुहरुले पहिलो पटक पोखरा प्रदर्शनी केन्द्रमा संयुक्त रुपमा आयोजना गरेको मुप्रि ल्होछार मेला अर्न्तगत विहीबार विहान सम्पन्न खुल्ला ७ किमी सडक दौड प्रतियोगितामा पुरुष तर्फदुधपोखरी तमु समाजका चोकबहादुर तमु, महिलामा ज्ञानुबाबा उच्च माविका मनिषा अधिकारी र समुहगतमा दुधपोखरी तमु समाज प्रथम भएको छ।
हिल्हो (बिरालो वर्ग)को विदाइ र मुप्रिल्हो (गिद्ध वर्ग) आगमनसँगै आयोजित खुल्ला दौड प्रतियोगिताको पुरुष तर्फ जनप्रिय क्याम्पसका सिद्धान्त अधिकारी द्धितीय र नयाँ गोरखगण फुलवारी ब्यारेकका नन्दलाल खड्का तृतीय हुदै पुरस्कृत भए।
२३.२६ मिनेटमा दौड पूरा गरेका चोकबहादुर तमु ३ हजार, अधिकारी २ हजार र खड्का १ हजार नगदसहित प्रमाणपत्र र खादाबाट पुरस्कृत भए।
यसैगरी, महिलातर्फ प्रथम भएका ज्ञानुवावाका मनिषा अधिकारीले १ हजार ५ सय, ज्ञानुबाबा कै अनिषा अधिकारी द्धितीय हुदै १ हजार र बगर तमु समाजका मीना तमु तृतीय हुदै ५ सय रुपैया पुरुस्कार प्राप्त गरे।
यसरी नै समूहगततर्फ दुधपोखरी तमु समाज प्रथम हुदै ५ हजार, हिमाली गुरुङ परिवार द्धितीय हुदै ३ हजार र तेश्रो भएको फिर्के तमु समाज २ हजार रुपैयासहित प्रमाणपत्रबाट पुरुस्कृत भए।
१०४ जना प्रतियोगी मध्ये भेट्रान्सतर्फ बगर तमु समाजका ५९ वर्षीय अमर तमु प्रथम, पार्दी समाजका ५३ वर्षीय काजीमान तमु द्धितीय र पार्दी समाजकै ५५ वर्षीय सुवेदार तुलबहादुर तमु तृतीय भए।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी पदम सुब्बा तमु, ल्होछार मेलाका संयोजक कर्म तमु, प्रतियोगिता संयोजक तेजबहादुर तमुलगायतले पुरस्कृत गरेका थिए।
मेलामा तमु लगायत आदिवासी जनजातिका खानाका परिकार, भेषभूषा, लगायत मौलिक पहिचान झल्किने स्टलहरु राखिएको छ। संयुक्त मुप्रि ल्होछार मेलाले तमु एकता, तमु पहिचानको संरक्षण, नयाँ संविधान निर्माणका लागि दवाव र तमुवान स्थापनाका लागि टेवा पुग्ने आयोजकले दावी गरेको छ।
_____________________________________________
प्रधानमन्त्रीद्वारा ल्होछार मेलाको उद्घाटन
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १३ पुष । पोखरेली तमुहरुद्वारा पहिलो पटक संयुक्त रुपमा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मुप्रि ल्होछार मेला बुधवारदेखि शुरु भएको छ। मेलाको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो।
हिल्हो (बिरालो वर्ग)को विदाइ र मुप्रिल्हो (गिद्ध वर्ग) आगमनको अवसरमा आयोजित मेला उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले उत्पीडित तमु जातिले आत्मनिर्णयको अधिकार र स्वायत्तता सहितको संविधान प्राप्त गर्ने बताउनुभयो। प्रमख अतिथि डा. भट्टराईले संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुदै जातीय क्षेत्रीय स्वायत्तता सहितको संविधान जेठ १४ भित्र निर्माण हुने दावी गर्नुभयो। मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराई। तस्वीरः हुम तमु / एचकेनेपाल डट कम
कार्यव्यस्तताका कारण केवल ५ मिनट मात्रै कार्यक्रमस्थलमा रहनु भएका प्रधानमन्त्री डाक्टर भट्टराईले तीन मिनेट भाषण र दुइ मिनट आसन ग्रहण तथा मेला उद्घाटनका लागि समय दिनुभयो।
कार्यक्रममा ल्होछार शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै सभासद अमर तमुले आदिवासी जनजातिका अधिकार प्राप्ति नभएसम्म आदिवासी जनजाति सभासद सञ्जाल ककस लडिरहने वचनबद्धता गर्नुहुदै तमुवान संविधानमा लेख्नका लागि दवावको आवाश्यक रहेको बताउनु भयो। उहाँले संविधानसभालाई चुनौति दिने अर्को शक्ति केन्द्र स्थापना गरेर फेरि निरंकुशता जन्मन थालेको आशंका गर्नुभयो।
अर्का सभासद राजकाजी तमु करणले नयाँ संविधान निर्माणसँगै जातिय क्षेत्रिय आत्मनिर्णयको अधिकार सहितको तमुवान स्थापित हुने ठोकुवा गर्नुभयो।
नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषदका अध्यक्ष पानबहादुर घर्तीले नयाँ बन्ने संविधानमा आदिवासीको पहिचान स्थापित हुनुपर्दछ, यदि पहिचान हटाउन खोजे वा तमुवान प्रदेश घोषणा हुन नदिए शसक्त प्रतिवाद गर्न तमुहरुलाई साथ दिने घोषणा गर्नुभयो।
मेला आयोजक समितिका संयोजक तथा तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, बौद्ध अर्र्घौ सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष झम तमु, तमु धिं युकेका नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद तमु, ङ्योए तमु धिंका अध्यक्ष जंगबहादुर तमु, तमु हृयुला छोंज धिंका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर तमु, लोकतान्त्रिक तमु संघकार् इञ्जिनियर देउकाजी तमु, तमु राष्ट्रिय मुक्ति मोर्चाका धर्म तमु, देविराज तमु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उद्घाटन समारोहमा दुधपोखरी तमु समाज, बाँझापाटन तमु समाज, नौलो सम्झना तमु समाजले छ्याँडु नृत्य प्रस्तुत गरेका थिए भने आँधीखोला तमु समाजले घाँटु नृत्य प्रस्तुत गरेका थिए। यसैगरी, फत्तबहादुर तमुको अगुवाईमा कराँते खेलाडीहरुले १५ सय वर्ष पुरानो जापानी तरवार खेल, कृष्ण लामा, नविन आचार्य, सुष्मा तमु, संगीता लामा, नरेश अधिकारी लगायतले कराँते काता, बुन्काई प्रस्तुत गरेका थिए।
मेलामा गुरुङ फिल्म एशोसियसनको संयोजनमा तमु प्ये ल्हु संघ युवा समिति, अभियान फिल्मस्को धी चलचित्र युनिट, गण्डकी तारा मनोज तमु, भ्वाइस अफ पोखरा सोनम तमु, सराङकोट तारा सरण तमु, दोहोरी गायक पदमबहादुर तमु, शंकर बिरही तमु, सविना तमु, कृष्णा तमु लगायतको टोलीले साँस्कृतिक प्रस्तुति दिएका थिए।
यसअघि मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन पोखराको चिप्लेढुंगा, सिर्जनाचोक र रंगशालागेट अगाडिबाट झाँकी, बाजागाजासहित र्याली निकालिएको थियो।
ल्होछार मेला अर्न्तगत भोलि विहीवार विहान ७ किलोमिटर शुभकामना सडक दौड प्रतियोगिता, पुस्तक विमोचन, स्वर्गीय तमु आदिकवि हर्कबहादुर तमु स्मृति अक्षयकोषका लागि रकम हस्तान्तरण, सुमल कुमार तमुलद्धारा लिखित पुस्तकको विमोचन, तमु हृयुलाचोकमा दीप प्रज्वलन, बोन फायरसहित जिफानको संयोजनमा विविध साँस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ।
मेलामा तमुलगायत आदिवासी जनजातिका खानाका परिकार, भेषभूषा, लगायत मौलिक पहिचान झल्किने स्टलहरु राखिएको छ। संयुक्त मुप्रि ल्होछार मेलाले तमु एकता, तमु पहिचानको संरक्षण, नयाँ संविधान निर्माणका लागि दवाव र तमुवान स्थापनाका लागि टेवा पुग्ने दावी आयोजकले दावी गरेको छ।
कथा- इन्दिरा प्रसाई / एचकेनेपाल डट कम-
“अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्।
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यस पटक भने हङकङको आकाश पार नगर्दै रि“गटा लागेको थियो । रिंगटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसै बेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए।
त्यसो त हवाईपरिचारिकाहरू कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाईजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाईजहाजभित्रको आवाभगतमा हरेक पटकको यात्रामा हवाईपरिचारिकासंगको सामीप्यता थियो उनको । तर यस पटककी परिचारिकाको आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरूको सेवाप्रति कामदेव आह्लादित हुन पुगेका थिए।
त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्याएकी थिइन्।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन्।
“त्यस्तो खास केही नहोला ! तर पनि म जंचाउनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद ¬ ।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन्।
त्यसपछि दुवैले आआफ्ना भिजिटिङ कार्ड एकअर्काबीच साटेका थिए।
यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैको जनसर्म्पर्क अत्यधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरूका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरू तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरूको पहिलो भेट नै अन्तिम भेट हुन सकेन।
उनीहरूबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यस बखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवादहरू आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सर्न्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन्।
कामदेवले आफूलाई फोन गरेर आफ्नाबारे चासो राखेका सर्न्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठबर्षे आफ्नो हवाईपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरूलाई सेवा पुर्याएकी थिइन्। तर यात्रुहरू घर पुगेपछि आफ्नै संसारमा हराउंछन्, रतिको सेवाका बारे फुर्सतमा पनि सम्झन्छन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरूमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगाकपडामा उनको व्यक्तित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । अझ उनको आवाज प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको विराटताको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हवाईजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वस“ग रति बढी प्रभावित भएकी थिइन्।
त्यसपछिको अर्को टेलिफोनको घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई सा“झको चियाका लागि तारे होटेलमा निम्तो गरेका थिए।
रति वास्तवमै सुन्दरी थिइन् । हवाईपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले रति भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यमवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरू भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौ“, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अंगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई हिजोआज पिरोल्न थालेको थियो।
हवाईपरिचारिकाको जागिरमा बिताएका यी आठ वर्ष उनले पनि पुरुषको विविध रूपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिंदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरूका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटकपटक आहत पारेको थियो । त्यसैले हिजोआज रति एउटा सामर्थ्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन्।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् । तर पनि जतिजति उनको कामदेवस“गको सामीप्यता बढ्दै गएको थियो रति कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसै गरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि कामदेव पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसंग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो । तर पनि फुर्सतमा रतिसंग समय बिताउन उनी मन पराउंथे । दुवैको फुर्सतका समयमा प्रायजसो कामदेवले नै रतिलाई कुनै भव्य होटेलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवको मदिरा वा धूमपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्याएर फर्किन्थे।
उनीहरूको पहिलो भेटपछिको झन्डै एक वर्षो समय पनि नाघिसकेको थियो । उनीहरूबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिंदै गएको थियो । कामदेवको शिष्टता र सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरै पटक राखिसकेकी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौर्न्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आ“खाले उनको सौर्न्दर्यको रसपान गर्थे । यसरी नै उनीहरू छुट्टिने गर्थे । रतिको उर्लिंदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसैत्यसै मुरमुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरूपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो।
अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटेलको मैनबत्तीको उज्यालोमा चिया पिउंदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन्।
“म तपाईंसंग विवाह गर्न चाहन्छु” रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए। “के तपाईं पनि मसंग ? ” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरू देखेकी थिइन्। उनले यतिका समयको उनीहरूको सान्निध्यमा कामदेवको यतिबिघ्न अँध्यारो अनुहार देखेकै थिइनन्। आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन्।
“रति ! तिमी साँच्चै मसंग बिहा गर्न चाहन्छयौ -” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन्।
“ठीकै छ, मलाई तिम्रो प्रस्ताव मन्जुर छ तर विवाह गर्नुअघि मेरो पनि एउटा प्रस्ताव छ।”
रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन्।
“मसंग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसंग एक रात बिताउनुपर्छ । अर्थात् तिमीले मसंग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ” कामदेवले अर्थ्याएर भनेका थिए। कामदेवको प्रस्ताव सुनेपछि एकैछिन रतिको होस हराएझैं भएको थियो । के भन्ने - के नभन्ने - को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जबाफ दिन सकेकी थिइनन्।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छयौ ?” कामदेवले पुनः प्रश्न तेर्स्याएका थिए।
“हुन्छ, तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए ?” रतिले केही कामेको स्वरमा भनेकी थिइन्।
“हुन्छ, म पनि तिम्रै फ्लाइटबाट सिङ्गापुर जानेछु । मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउंछु ।” कामदेवको आवाज भने सधैं झैं शान्त र मधुर थियो । त्यस दिन पनि उनीहरू खानपिन सकेर नै छुट्टिएका थिए।
मङ्गलबारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनको आजको सम्पूर्ण क्रियाकलाप यन्त्रचालित झैं थियो । उनको आँखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए। त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा । आज किन हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो हवाईजहाजभरि भरिएका सम्पूर्ण पुरुषहरूमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन्, आजको रात ¬ कामदेवसंग बिताउने पहिलो रात । आँखामा मीठामीठा चित्रहरू सजाएर अनुभूतिका काउकुती संगाल्दासंगाल्दै उनीहरूको जहाजले सिङ्गापुरको धरती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरू संवाद भएको थिएन।
“तिमी मसंगै हिंड, म तिमीलाई होटेलमा पुर्याएर आफ्नो काममा जान्छु।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए। आफ्नो कार्यसम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन्।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलहरूमा रात बिताइसकेकी थिइन्। तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्ण भएको थियो।
‘एक रात बिताइसकेपछि कामदेवले मसंग बिहे गर्न आनेकाने पो गर्ने हुन् कि? अरू पुरुष र कामदेवबीच के फरक होला?’ कामदेवका साथ मोटरमा होटेलतर्फ गुडिरहंदा रतिको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका थिए।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन्।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म सांझसम्ममा आइपुग्छु” होटेलको कोठामा दुवैको सामान थन्क्याउंदै कामदेवले भनेका थिए। त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन्। आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई । तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरूपले उनको रूपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यस बेला छटपटिंदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो। त्यसपछि कामदेवसंग आजको रात बिताउंदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरू डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरूको खानपिन सकिएको थियो।
रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैंभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरू शयनकक्षमा प्रवेश गरेका थिए।
उनीहरू कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए। कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी नाइट गाउनले झनै सुन्दर पारेको थियो । कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन्।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेको कामदेवले एक पटक रतिलाई राम्ररी हेरेका थिए। “अँ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए। निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन्। नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो।
त्यसपछि कामदेव बिछयौनामा गएर बसेका थिए । “रति, यहाँ आऊ त !” कामदेवको आवाज सुनेर पुलकित हुंदै रति कामदेवको नजिकै पुगेकी थिइन्। “मलाई केही सहयोग गर न है !” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दाँत त्यो मगको पानीमा चोपलेर राखिदेऊ न।” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिंदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मगतर्फ कामदेवले देखाएका थिए। केही अचम्मित हुंदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन्।
“रति, यो आँखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ।” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आँखा झिकेर रतिका हातमा हालिदिएका थिए । आफ्ना हातमा आँखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन्। आफ्ना हातमा दाँत समात्दाभन्दा पनि आँखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए। यन्त्रवत् रति कामदेवको निर्देशन पालन गर्दै थिइन्।
“अब यो हात पनि टेबुलमा राखिदेऊ” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए। त्यसपछि भर्खरै मात्रै बाहिरी पोसाक खोलेका कामदेवलाई भित्री गन्जी र कट्टुमा मात्रै रतिले देखेकी थिइन्।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैं भएको थियो । उनको सम्पूर्ण शरीर चिसिएको थियो। एउटा नराम्रो सपना देखिरहेको अनुभूतिले उनी डराएकी पनि थिइन्।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिंन” रतिले भनिन्। त्यसै बेला कामदेवले होटेलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए। naiprasai@gmail.com
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ पुष । ‘पुरानो हुँदैन माया जुनीजुनी लाएपनि, विर्सिदैन मायाले माया चोटैचोट खाएपनि’ जस्ता कर्णप्रिय गीतकी सर्जक निलम आङवुहाङ राई स्रोताको यही अटुट माया नटुटाउन फेरि आएकी छिन् ‘जुनीजुनी २’ लिएर।
एउटा एल्वममा समेटिने केही गीतले मात्रै उनका अर्न्तमनका सवै तरङ्गहरु तरङ्गित हुन नसक्ने भएपछि बाँकी गीतहरुलाई पुस्तकाकार दिएकी छिन् ‘अर्न्तमनका तरङ्गहरु’ शीर्षमा। उनका यिनै दुइ कृति बुधवार सार्वजनिक भएका छन्।
काठमाडौंमा एक समारोहवीच वरिष्ठ गीतकार रत्न शमशेर थापाले एल्वम् र गीतकार डा. कृष्णहरी वरालले गीति संग्रहको लोकार्पण गरेका छन्।
गीति एल्वम्मा ‘जीवन साथी’, ‘बहिजाने हावा’, ‘भैगो मैले’ ‘सातै सागर’,मेरो मुटुको’, ‘उडी आयो भवरा’, ‘सुन्दर कोमल’ गरी सात गीत संगृहित एल्बममा दिपक लिम्बू, सञ्जिवनी र रजिना रिमालले स्वर भरेका छन्। संगीत सुरेश अधिकारीको छ। लेखराज राईले प्रस्तुत गरेको एल्बमको बजार व्यवस्थापन भाइब्स क्रियसनले गरेको छ। पुस्तकमा ८५ वटा गीत समेटिएका छन्।
उनी वि.सं २०५५ सालमा पहिलोपटक ‘इलामे चेलीका रचनाहरु’ संयुक्त गीतिसंग्रहमा आफ्ना गीतहरु मिसाएर गीतकार रुपमा नेपाली साहित्यको आकाशमा देखिएकी थिइन्। त्यसैगरी, ०५७ सालमा आफूजस्तै प्रतिभा भएका तर सार्वजनिक गर्न नसक्नेहरुका लागि ‘मेची किनार साहित्यिक त्रैमासिक’ प्रकाशन गरेकी थिइन्। ०६२ सालमा पहिलो एल्वम् ‘जुनीजुनी’ बजारमा ल्याईन्। जुन एल्वम् निकै सफल भएको थियो।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ पुष । प्रमुख राजनीतिक दलहरुका दलित भातृ संगठनहरु संलग्न संयुक्त राजनीतिक दलित संघर्ष समितिले दलित हत्या र जातीय भेदभावको विरुद्ध नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
संघर्ष समितिले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पुष १७ नेपाल बन्द आब्हान सहितका चरणबद्ध आन्दोलन घोषणा गरेको हो।
घोषित आन्दोलनका कार्यक्रम अनुसार पुष १४ गते विहान १० देखि ११ बजेसम्म एक घण्टा देशब्यापी रुपमा चक्का जाम, १५ गते दलित नागरिक समाज र मानवअधिकारबादीहरुवीच अर्न्तक्रिया र पुष १६ गते साझ साढे पाँच बजे देशब्यापी मसाल जुलस रहेको छ।
संर्घष समितिले आफूहरुले अगाडि सारेको पाँच बुँदे मागमा सरकारले बेवास्ता गरेकोले बाध्य भई आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको दावी गरेको छ। उसले एक्काईसौ सताब्दीमा चुलो छुएको निहूमा दलितको हत्या, अपमान गरिनु संसारकै लागि लाजमार्दो अवस्था भएको भन्दै तकाल छुवाछुत मुक्त राष्ट्र घोषणा र जातीय भेदभाव र छुवाछुत कसुर र सजाय ऐन कार्यान्वयन हुनु पर्ने तर्क गरेको छ।
संघर्ष समितिले कालिकोटमा चुलो छोएको निहुँमा हत्या गरिएका मनवीर सुनारका हत्यारा मिमबहादुर शाही, दिपबहादुर शाही र हत्याको लागि उक्साउने बालकुमारी शाहीलाई कडा कारवाही गर्न, मृतकका बालबच्चाको पालन पोषण र निशूल्क उच्च शिक्षाको ब्यवस्था गर्न र सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्न, ऐनको कार्यान्वयन र दलित हत्या र अपमानजनक ब्यवहारको घटनाको छानविन र दोषीहरुमाथि कारवाही गर्दै जातीय उत्पीडनको घटनालाई नियन्त्रण गर्न माग गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तीलक परियारले आफूहरुको मागमा सरकारले सहमतिको लागि संबादको प्रयास नगरी बेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको बताए।
नेपाल दलित संघका अध्यक्ष खड्गबहादुर बस्यालले राज्यले दलित हत्याको चौतफी विरोध हुँदा समेत गृह प्रशासनले कारवाहीमा बेवास्ता भएको भन्दै गृहमन्त्री लाचार भएको आरोप लगाए।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतमले अपराधी मारिदा र अपराधीलाई आममाफी दिन हतारिने सरकारले दलित हत्यामा वास्ता नगरेर दलितको अपमान गरेको दावी गरे। कार्यक्रममा जातीय समता समाजका उपाध्यक्ष राजेश विश्वकर्मा, उत्पीडित जातीय उत्थान संघ एकीकृतका अध्यक्ष केशबहादुर परियार, नेपाल सद्भावना दलित मञ्चका अध्यक्ष रामचन्द्र झा, नेपाल राष्ट्रिय दलित केन्द्रका उपाध्यक्ष उपेन्द्र छटुञ्जेल , विभेद मुक्ति प्रगतिशिल समाजका अध्यक्ष रुपबहादुर परियार र सभासद शम्भुहजार पासवान लगायतकाले आफ्नो धारणा राखेका थिए।
राजन उपाध्याय / एचकेनेपाल डट कम-
पोखरा, १३ पौष । सेन्चुरी युवा क्लव घान्द्रुक-९ कास्कीको आयोजनामा ल्होछार मेला सुरु भएको छ।
गुरुङहरुको महान पर्व पौष १५ (ल्होछार) को अवसरमा छोम्रोङमा आयोजना गरिएको सो मेलामा विविध सास्कृतिक कार्यक्रम, खाना महोत्सव, खेलकुद प्रतियोगिता गरिएको छ।
मेलाको उद्घाटन गर्दै सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष दल बहादुर गुरुङले दिगो पर्यटनमा जोड दिदै स्थानीय स्तरमा उत्पादित खानाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। समितिका सचिव समलाल गुरुङले यस प्रकारको मेलामा पर्यटन प्रवद्धनमा टेवा पुग्ने बताउनुभयो।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका प्रमुख रामप्रसाद गुरुङले एक्काइस दिने राउण्ड अन्नपूर्णको पैदलमार्ग सडक पुगेपछि सात दिनमा झरेको बताउदै विश्वको उत्कृष्ट १० मा पर्न सफल यो मार्ग पहिचान जोगाउनुपर्नेमा जोड दिनुभयो। सेन्चुरी युवा क्लव छोम्रोङका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका कोषाध्यक्ष पूर्णकुमारी गुरुङ, विकास गुरुङ, पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङका अध्यक्ष हिम गुरुङ, घट्टेखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष नजरमान गुरुङ, धौलाश्री माविका प्रधानाध्यापक छविलाल पौडेल लगायतले कला, सस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिएका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुक, सुन्चुरी पर्यटन व्यवसायी समिति र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको सहयोगमा सो मेला आयोजना गरिएको हो।
पोखराबाट उत्तरपूर्विमा अवस्थित कास्कीको पर्यटकीय गाउँ छाम्रोङ नयाँपुलबाट करिव ७ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। नयाँपुलबाट स्याउलीबजार सम्म हिजोआज यातायात सञ्चालनमा आएको छ। विश्वकै १० उत्कृष्ट मध्यको अन्नपूर्ण पदमार्ग जाँदा र फर्कदा छोम्रोङ गाउँ केन्द्रमा पर्दछ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ पुष । राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालले ऋणिहरुले चलाएको साना तथा मझौला उद्योगहरुको अवस्थालाई नबुझी न्यायाधिकरणले एक तर्फी निर्णय गर्ने गरेको आरोप लगाउँदै न्यायाधिकरण खारेजीको माग गरेका छन्।
संघले सरकारी तथा निजी बैंकहरुले नेपाल सरकारबाट अनुमति लिई ऋण उठाउन गठन गरेको न्यायाधिकरणले बैंकहरुबाट कमिशन लिनका लागि उद्योगहरुको अवस्था नै नबुझी एकतर्फी रुपमा निर्णय गर्ने र त्यसले साना तथ मझौला उद्योगहरु रुग्ण हुँदै जाने भएकाले तत्कालै खारेजीको माग गरेका हुन्।
बुधबार रिपोर्टर्स क्लव नेपालमा राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघ नेपालको केन्द्रीय महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमको घोषणा सभा तथा पत्रकार सम्मेलनमा उनीहरुले नेपाल सरकारले अवलम्बन गरेको गलत आर्थिक, औधोगिक तथा अदूरदर्शी मौद्रिक नीति र राजनीतिक अस्थिरताका कारण निक्षेपकर्ता र ऋणी कारोबार गर्ने व्यवसायीहरु सुकुम्बासी हुँदै जाने र बैंक र वित्तीय संस्थाहरु बोनस बाँड्न सक्ने अवस्थामा पुग्नुले न्यायधिकरणको गलत नीतिको परिणाम भएको प्रष्ट भएको ठोकुवा गरे।
उनीहरुले बैंक तषा वित्तीय संस्थाहरु एकपक्षीय निर्णयबाट नियत खराव राखी ऋण तिर्न चाहने र ऋण तिर्न चाहदा चाहँदै परिस्थिति बस तिर्न नसकेका ऋण उपभोक्ताहरुलाई एउटै दर्जामा राखेर नाम सार्वजनिक गर्ने, कालो सूचिमा लैजाने, भूमाफियाहरुसँग मिलेर करोडौको सम्पति कौडिको मोलमा लिलाम गर्ने जस्ता अमर्यादिक कार्यको विरोध गर्दै नेपाल राष्ट्र बैंकलगायत सम्बद्ध सरकारी निकाय र बैंक वित्तीय संस्थाहरुलाई एकपक्षीय रुपमा अघि नबढ्न १० सूत्रीय ध्यानाकर्षण गराएका छन्।
घोषणा सभामा संघका अध्यक्ष शेषकान्त शर्माले साना तथा मझौला उद्योगलाई धरासायी बनाउने काम बैंकहरुकै माफियाहरु संलग्न भएकाले त्यस्ता माफियाहरुलाई बन्देज लगाउन सरकारसँग माग गरे।
राष्ट्रिय वाणिज्य बैंककी कार्यकारी निर्देशक सिवा काफलेले बैंकहरुको मूख्य काम कर्जा लागानी र प्रवाह गर्ने भएकाले उद्योगहरुको प्रगति हेरेर वाणिज्य बैंकले राहत दिने गरेको धारणा राखिन्।
साना तथा मझौला उद्योग महासंघका अध्यक्ष जंगबहादुर श्रेष्ठले छिमेकी मुलुक भारत र चिनले साना उद्योगीहरुलाई प्रोत्साहन दिएकाले दिन प्रतिदिन प्रगति गरिरहेकाले नेपाल सरकारले पनि साना तषा मझौला उद्योगहरुलाई प्रोत्सान गर्नुपर्ने धारणा राखे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं १३ पुष । रथि विभाग (खाद्य परिवहन) जङ्गी अड्डाले हुम्ला जिल्लाका सेनालाई एक वर्षका लागि चाहिने रासनलगायतका सामानहरुको लागि भएको टेन्डरमा उच्च दर रेट भएको सप्लायर्सको टेण्डर स्वीकृति गरेर गुल्मपतिले भ्रष्टाचार गरेको भन्दै हुम्ला निर्माण व्यवसायी संगठन आन्दोलनमा उत्रिएको छ।
गत असोज १२ गते रासन ठेक्काका लागि श्री सिंह सादुन गुल्मले गरेको वोलपत्र आव्हानमा हुम्लाका १२ वटा सप्लायर्सहरुले गोप्य टेण्डर हालेकोमा सवैभन्दा उच्च दर रेट भएको सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्सलाई गुल्मपति, गणपति र पृतनापतिको मिलेमतोमा टेण्डर पारेको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
हुम्लाका निर्माण व्यवसायीहरुले बुधबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर सार्वजनिक खरिद ऐन २०६३ अनुसार न्यूनतम रकममा सेवा दिने सप्लायर्सहरुलाई ठेक्का दिनुपर्ने नियमको उलङ्घन गर्दै सवैभन्दा कम दर रेट २ करोड ८५ लाख १८ हजार १८ रुपैया ८० पैसाको सप्लायर्सलाई दिनुपर्नेमा गुल्मपति पुरन घले र वोर्ड अध्यक्ष मनोज कुमार कार्कीको मिलेमतोमा ३ करोड ९३ लाख २० हजार ६ सय २८ रुपैया ८५ पैसा उच्च दर रेट भएको सार्थक सेन्टर एण्ड सप्लायर्सलाइ टेण्डर स्वीकृत गरी १ करोड ७ लाख ३५ हजार ६ सय १० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका हुन्।
हुम्लाका निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद नियमावली २०६४ को कानुनी व्यवस्थाको विरुद्ध काम भएको भन्दै अख्तियारसहित विभिन्न निकायमा उजुरी गरे पनि कुनै सुनवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको तर्क गरे। पत्रकार सम्मेलनमा सेनाको सम्बन्धित निकाय, अख्तियारसहित सम्पूर्ण निकायमा उजुरी गरेको जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा हुम्ला निर्माण व्यवसायी संगठनका अध्यक्ष पामा मुटुप लामाले जनताको सेवाका लागि राखिएको सेनाले जनताको करबाट खाने रासनमा आफ्नो मान्छेलाई धेरै दर रेटमा टेण्डर पारिदिएर भ्रष्टाचार गरेको आरोप लगाए।
उनले गुल्मपति, गणपति र पृतनापतिको मिलेमतोमा भएको भ्रष्टाचारको विषयमा रक्षा मन्त्रालय, प्रधान सेनापति, सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग आयोगमा छानविनको लागि निवेदन दिएको जानकारी दिदैं कतैबाट पनि सुनुवाई नभए आफूहरु न्यायको लागि सर्वोच्चमा जाने घोषणा गरे।
संगठनका केन्द्रीय सदस्य छिरिङ उटुप लामाले हुम्लाका व्यवसायीहरुको कम दर रेट भएको टेण्डरलाई अस्वीकृत गरी धेरै दर रेट भएको गुम्ला बाहिरका ठेकेदारलाई टेण्डर दिएर हुम्लाका सेनाले भ्रष्टाचार गरेका आरोप लगाउँदै आगामी वर्षदेखि बाहिरका ठेकेदारलाई जिल्लामा छिर्न नदिने चेतबावनी दिए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ पुष । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले पार्टीको जारी केन्द्रीय समितिको बैठकको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव बहुमतले पारित हुने दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पौडेलले माओवादी शान्ति र संविधानको जारी कोर्षभन्दा दायाबाया नहुने ठोकुवा गर्दै चार दल र मधेसी मोचासँग भएको सम्झौता अनुसार शान्ति र संविधान निर्माण कार्य टुङगोमा पुर्याउने प्रतिवबद्धता ब्यक्त गरे।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्यको प्रस्ताव अस्वीकृत हुने दावी गर्दै उनले अल्पमतमा परेको बैद्यको प्रस्तावलाई तल्लो तहसम्ममै छलफलमा लाने गरी बैठकले शान्ति र संविधानको पक्षमा स्पष्ट निर्णय लिने बताए।
पौडेलले पार्टीभित्र आम सहमति नबने पनि शान्ति र संविधान टुङग्याउने पूर्व प्रतिबद्धता अनुसार नै अगाडि बढ्ने दावी गदै भने-विमति कायम रहे पनि काम अगाडि बढछ झन अब माओवादी शान्ति र संविधान निर्माणमा प्रष्ट ढंगले अगाडि आउँछ। उनले अहिलेको विवादले पार्ट नफुट्ने ठोकुवा पनि गरे।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ पुष । कानून तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताले संविधानसभाको म्याद थप सम्बन्धी फैसलामा पुनरावलोकन नगरेको अवस्थामा निर्धारित समयमा कुनै परिस्थितिको कारण संविधान बन्न नसके त्यसको सम्पूर्ण जिम्मेवारी सर्वोच्च अदालतले लिनु पर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लवले बुधवार गरेको साक्षात्कारमा मन्त्री गुप्ताले भने-संविधान बनाउँदा बनाउँदै दुइ दिन समय पुगेन भने त्यतिबेला के गर्ने फेरि निर्वाचनमा जाने, त्यति बेला सर्वोच्च अदालतले जवाफ दिनु पर्छ।
साक्षात्कारमा उनले पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतबाट भएको दरपिट विरुद्ध सरकार बेन्चमा पुनः जाने जानकारी दिदै सर्वोच्च अदालतले त्यसलाई स्वीकार गरेर फैसला पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे।
उनले संविधानसभाको म्याद थप्ने वा नथप्ने भन्ने निर्णय लिने अधिकार संसदको भएको भन्दै सर्वोच्चको फैसलाले शक्तिपृथकीकरणको सिद्धान्त विपरित द्धन्द्ध बढाएको दावी गरे। मन्त्री गुप्ताले भने-मुलुकमा द्धन्द्ध कायम रहेको र सक्रमणकाल जारी रहेको अवस्थामा राज्यका सबै अंगले जिम्मेवार भए काम गरे सक्रमणकालको सहज अन्त्य हुन्छ नभए अप्ठ्यारो अवस्था आउँछ।
मन्त्री गुप्ताले अदालतले आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गएर फैसला गरेको आरोप लगाउँदै फैसलाको पुनरावलोकन गर्दा केही पनि नबिग्रिने दावी गरे। उनले अहिलेकै जस्तो अवस्था कायम रहे संविधानसभाको म्याद थप्नुको कुनै औचित्य नहरने स्पष्ट पार्दै संविधान जारी गर्न थोरै मात्र समय आवश्यक रहेको अवस्थामा अप्ठ्यारो अवस्था आउने भएकोले म्याद थपको बाटो खोल्नु सबै भन्दा उपयुक्त हुने तर्क गरे।
साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले राजनीतिमा न्यायालय घुसेर आतंकित पार्ने काम गरेको भन्दै संसदले संविधानसभाको म्याद जति पनि थप्न सक्ने दावी गरे।
पौडेलले भने-यति समयमा यो मिति भित्र संविधान बनाउ भन्ने अधिकार सर्वोच्च अदालतको होईन। सर्वोच्च अदालतको भूमिकाले कार्यपालिका र ब्यवस्थापिकालाई निरिह बनाएको छ । सर्वोच्च अदालतले संविधानको ब्याख्या मात्रै गर्नु पर्छ।
मालिङ्गोमा मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, २८ डिसेम्बर । ‘मिलन’ एल्वम्मार्फत नेपाली सांगीतिक क्षेत्रमा देखापरेकी गायिका मिलन अमात्य काठमाडौंमा पहिलोपल्ट एकल गायनमा प्रस्तुत हुने भएकी छिन्।
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकगायिकालाई प्रस्तुत गर्दै आएको मालिङ्गो रेष्टुरेन्टले न्यू इयर-२०१२को पूर्वसन्ध्यामा गायिका मिलनलाई प्रस्तुत गर्न लागेको हो।
‘न्यू इअर इभ२०१२ विथ मिलन अमात्य’ नाम दिइएको उक्त कार्यक्रममा मिलनले आफ्नो एल्वममा समेटिएका गीतसँगै चारवटा तारादेवीका गीत पनि गाउने वताएकी छिन्।
तारादेवी आफ्नो प्रिय गायिका भएकाले उनका गीतहरु गाउने उनले वताईन्। तारादेवीका चर्चित गीतहरु ‘उकाली ओरालीहरुमा’, ‘फूलैफूलको मौसम’, ‘कालीपारी’ र ‘फूलको थुङ्गा’गाउनेछिन्। ‘पहिलोपल्ट काठमाडौंमा एकल गायनमा प्रस्तुत हुने भएकाले उत्साहित छु ‘-उनले भनिन्।
मिलनको साँगीतिक ‘मिलन’ सार्वजनिक
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ डिसेम्बर । गायिका मिलन अमात्यको एकल गीति संग्रह ‘मिलन’ लोकार्पण भएको छ। ‘मिलन’को सोमवार वरिष्ठ गायक प्रेमध्वज प्रधान र नायिका करिश्मा मानन्धरले एक समारोहवीच लोकार्पण गर्नुभएको हो।
एल्वमको लोकार्पणअघि गायिका मिलनले ६ वटा गीत लाईभ म्यूजिकमा गाएकी थिईन्। उनलै आफ्नौ एल्वम् मिलनका चारवटा गीतहरु ‘जहिलेसम्म…’, ‘रिमझिम’, ‘आफन्त’, ‘जसलाई’ त्यसैगरी तारादेवीले गाउनुभएका ‘उकालीओरालीहरुमा… ‘र ‘फूलैफूलको मौसम… ‘ गाएकी थिईन्।
संगीतकर्मी, कलाकार, पत्रकारहरुको वाक्लो उपस्थिति रहेको समारोहमा मिलनको ‘जहिलेसम्म..’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । ट्राफिक सचेतना समेत समेटिएको भिडियो महानगरीय ट्राफिक प्रमुख डिआईजी गणेश राईले प्रोजेक्टरको प्ले वटन थिचेर सार्वजनिक गर्नुभएको थियो। भिडियोमा नरेश, भट्टराई, सतिश तण्डुकार, विवेक सिंह र नन्दिता केसीले अभिनय गरेका छन्। भिडियोको निर्दैशन सुरज श्रेष्ठले गरेका हुन्।
सातवटा गीत संग्रहित एल्वम्मा अनिल स्थापित, विजय कट्टेल, सुशील सापकोटा र विवि अनुरागीका शब्द तथा विवि अनुरागी, विजय कट्टेल र कल्याण सिंहले संगीत गरेका छन्। नेटनसा डटकमको प्रस्तुति तथा सिल्भर इन्टरटेइन्मेन्टको संयोजन रहेको उक्त एल्वम्को वजार व्यवस्थापन विकल्प क्रियसनले गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गायक प्रधानले नेपाली गायन क्षेत्रमा एउटा सुन्दर आवाजको प्रवेश भएको भन्दै मिलनको गायकीको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो ‘गायिका तारादेवीको गीत गाउन थोरैले आँट गर्छन्, ति मध्यै धेरे कमले मात्र न्याय गर्न सक्छन्। तर, मिलनको स्वर सुन्दा तारादेवीलाई सम्झन बाध्य भएँ।’
त्यसैगरी, नायिका मानन्धरले नेपाली फिल्ममा सुन्दर र रोमान्टिक स्वर भएको महिला गायिकाको खाँचो भएका वेला मिलनको आगमन स्वागतयोग्य भएको वताउनुभयो। उहाँले भन्नुभयो ‘ पछिल्लो समय नेपाली फिल्मको पार्श्व गायनमा रोमान्टिक स्वर भएकी गायिकाको प्रवेश अपरिहार्य थियो, मिलनवाट त्यो आशा पूरा हुने विश्वास छ।’
मिलन विगत दश वर्षदेखि गायन पेशामा सक्रिय रहेपनि नेपालमा उनले पहिलो एल्वम् सार्वजनिक गरेकी हुन्। नेपाली भाषा, सँस्कृति र मन भएको परिवारमा आसाममा जन्मेकी उनी आसामकी चर्चित गायिका हुन्। शास्त्रिय संगीतका गुरु श्री सुवासदास (कोलकाता)बाट शास्त्रिय संगीतमा विशारतसम्म गरेकी उनले अहिलेसम्म नेपाली भाषाका ‘कान्छी, मेरो मन, आशा, तृष्णा, वाडुली र मायाको इन्द्रेणी गरी १० एलवममा, त्यस्तै, आसामी भाषामा ‘खुनमोनी, आको अनुपमा, कुँवली, रंगढली र गामुसा, मिलनर रिङ त्यसैगरी राजस्थानीमा घुमर, रुमाझुमा, चुँडीदारगजरो र देवर महारोरे’ लगायतका ४० एल्वममा स्वर दिएकी छिन्। यसैगरी, भजनहरु ‘लगन श्यामसंग लागि, घुमे घोडलियो, पर्चा वावेरो, वुलावे वावो आजारे’ लगायत गाएकी छिन्। सवैगरी जम्मा ३०० वटा गीतमा स्वर भरिसकेकी मिलनले भारतको कोलाकता, दिल्ली, मुम्बई चेन्नाई, जयपुर, नागपुर, सिलिगुरी, गान्टोक, दार्जिलिङ र सवै उत्तर प्रदेशका मुख्य शहरमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी छिन् भने नेपालका प्रमुख शहरहरु काठमाण्डु, विराटनगर,धरान, पोखरा र वीरगञ्जमा समेत गायनकला प्रस्तुत गरिसकेकी छिन्।
उनले सन् २००३ मा अलइन्डिया म्यूजिकल कम्पिटिसनमा फष्ट रनरअपको उपाधि प्राप्त गरेकी थिइन्। आसामी र राजस्थानी लोकसंगीतमा आधारित उक्त प्रतियोगितामा प्रसिद्ध वलिउड संगीत मेस्ट्रो स्व.नौसाद अली र प्रसिद्ध गजल गायक पिनाज मसानी, शास्त्रिय गायक सुसिला रानी पटेल र लोक गायक वद्री भियास निर्णायक थिए।
जुनसुकै अरु भाषाका गीत गाएपनि नेपाली गीत गाउँदा जत्तिको अन्य गीत गाउँदा आनन्दको महशुस अन्यमा हुन नसकेको गायिका मिलन वताउँछिन्। नेपाली संगीत र स्रोताको मायाले तानेर सदाका लागि नेपाल आएको मिलन वताउँछिन्।
—————————————————————————–
मिलन लिएर आउँदै मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ६ डिसेम्बर । भौगोलिक सिमाले भारत भएपनि नेपाली मन र संस्कृति भएका थुप्रै नेपालीहरु सिमापारी छन्। आफ्नो संस्कृति र नेपालीपन दर्शाउन विशेष गरी कला क्षेत्रमा धेरै आउने गरेका छन्। यही क्रममा अर्को नाम थपिने भएको छ, मिलन अमात्य।
छिमेकी मुलुक भारतको आसाममा रहेर गायनमा सक्रिय मिलन अमात्य नेपाली गीतहरूको संग्रह ‘मिलन’ मार्फत आजीवन नेपाली गायन क्षेत्रमा प्रवेश गर्न लागेकी छिन्। मंसिरको अन्तिम सातादेखि बजारमा आउने एल्बमको शीर्ष गीतको म्युजिक भिडियो सुरज श्रेष्ठको निर्दैशनमा निर्माण भइसकेको छ।
सातवटा गीत संगृहीत एल्बममा कल्याण सिंह, बिबी अनुरागी र विजय कट्टेलको संगीत र सुशील सापकोटा, अनिल स्थापित, सुमन श्रापित र विजय कट्टेलका शब्द रहेका छन्। म्युजिक भिडियोमा नन्दिता केसी, नरेश भट्टराई र विवेक सिंहले अभिनय गरेका छन्।
मिलनले आसाममै रहँदा नेपाली, राजस्थानी, आसामी, हिन्दी, मैथिली र भोजपुरी भाषाका तीन सय गीतमा स्वर दिएकी छिन्। गायनवाटै उनले पद्मो भूषण र गजल गायन प्रतियोगितामा उनले पुरस्कार जितेकी थिइन्।
अबको गायन यात्रा नेपालमै रहेर अगाडि बढाउने सोचका साथ नेपाल आएकी उनी यही मंसिर २६ गते पहिलो एकल एल्वम विमोचन तथा परिचयात्मक कार्यक्रम गर्दैछिन्। भर्सटायल गीत गाउन सक्ने मिलनलाई विशेष गरी नेपाली फिल्मका गीतमा स्वर भर्ने रहर छ। विकल्प क्रियसनले वजारमा ल्याउने एल्वम् नेटनसा डटकमले प्रस्तुत गरेको हो।
खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, दक्षिण कोरियाको ४ वर्षको कार्यकाल पूरा गरी दक्षिण कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइराला स्वदेश फर्केका छन्।
कोरियामा पहिलो नेपाली राजदूतको रुपमा आएका कोइरालाले दक्षिण कोरिया र नेपालको सम्बन्ध विस्तारमा राम्रो पहल गरेको कोरियन तथा नेपालीहरुले पनि बताएका छन्।
विदाई कार्यक्रमहरूः
दक्षिण कोरियाका लागि नेपाली राजदूत कोइरालालाई दक्षिण कोरियामा विदाई कार्यक्रमहरु गरिए। डिसेम्बर २७ बाट कार्यकाल पूरा गरेका कोइरालालाई दक्षिण कोरियाका विभिन्न संस्थाहरुले सामुहिक तथा अलग अलग विभिन्न कार्यक्रम राखी विदाई गरेका हुन्। सोमबार साँझ राजदुतावासले एक कार्यक्रम विच विदाई कार्यक्रम गरेको थियो ।
यसैगरी, २५ तारिख आइतबार नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले तेश्रो अधिवेशनको कार्यक्रम विच राजदूत कोईरालाको विदाई कार्यक्रम सम्पन्न
गरेको छ। यस्तै २१ तारिख बुधबार एनआरएन कोरियाले एक समारोहविच तथा सोनसिक र नेपाल ब्यापार संघले पनि छुट्टाछुट्टै कार्यक्रम विच राजदूत
कोइरालाको विदाई गरेका थिए।
गत शनिवार साँझ एनसिसिलगायत कोरियाका विभिन्न संघ संस्थाले संयुक्त कार्यक्रमविच स्वदेश फर्कन लागेको काईरालालाई विदाई गरेका थिए। सम्मान कार्यक्रममा दक्षिण कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायतको पत्रकार टोली नेपाल फर्केका छन्।
दक्षिण कोरियाको ५ दिने भ्रमण पूरा गरी केन्द्रीय सदस्य मातृका पौडेल र सूर्यमणी गौतमसंगै अध्यक्ष गाउले नेपाल फर्केका हुन्।
कोरिया शाखाको तेश्रो अधिवेशनमा भाग लिन आएका पत्रकारहरुले यहाँ विभिन्न संघसंस्थाका प्रतिनिधि र नेपालीहरुसंग भेटघाट गरी दक्षिण कोरियाको बस्तुस्थितीको बारेमा जानकारी लिएका थिए।
पत्रकार टोलीले सोमबार साँझ एसियाली पत्रकार महासंघका संस्थापक अध्यक्ष इ साङ गी लगायत कोरियाका उच्च पदस्थ पदाधिकारीसंग भेटघाट गरेको थियो। यसैगरी, कोरियाका विभिन्न संघ संस्था संगको प्रतिनिधिसंगको भेटमा दक्षिण कोरियामा नेपालीहरुले भोग्नु परेका समस्याहरु, दक्षिण कोरियामा रहेका पत्रकारहरुको अवस्थाको बारेमा जानकारी लिएको थियो।
भ्रमणको क्रममा नेपाली पत्रकारहरुले नेपालीलगायत प्रवासीहरुले दक्षिण कोरियामा पाएको समस्याको सम्बन्धमा कोरियाको पत्रिकाले सहयोगी भूमिका खेल्न सक्नु पर्ने बताए।
यसैगरी, सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायत नेपाली पत्रकारको टोलीले कोरियाको संचारगृहको भ्रमण गरे। दक्षिण कोरियाको स्थानीय किम्हे क्षेत्रमा निस्कने किम्हे न्यूज पत्रिकाको कार्यलयमा गएका नेपाली पत्रकारहरुले कोरियामा रहेका पत्रकारहरुले पाउने न्यूनतम पारिश्रमिकको व्यवस्था, पत्रिकाको समाचार प्रकाशन र संकलन विधि तथा प्रवासीहरुको लागि पत्रिकाले खेल्ने भूमिकाबारे जिज्ञासा राखेका थिए।
यसैगरी, पत्रिकाको तर्फबाट कोरियामा पत्रकारहरुले कोरियामा देखेको अवस्थाको बारेमा जानकारी लिईएको थियो। कार्यस्थलमा नेपाली लगायत प्रवासी मजदुरहरुको हक हितमा लागि पत्रिकाले काम गर्न सके आवाज विहिनको आवाज पत्रिका बन्न सक्ने नेपाली पत्रकारहरुले बताएका थिए। अहिले एउटा पेज प्रवासी कामदारको लागि छुटयाएको पनि मिडिया हाउसको तर्फबाट जानकारी गराइएको थियो। सो अवसरमा अध्यक्ष शिव गाउले, केन्द्रीय सदस्यहरु सूर्यमणी गौतम र मातृका पौडेल दक्षिण कोरिया शाखा अध्यक्ष खेम कार्कीले, ख्यंगनाम राज्य परिषद सदस्य यज्ञराज सुवेदीको साथमा सो भ्रमण गरेका हुन्।
सो अवसरमा नेपाली पत्रकारहरुले सूचनाको हक, समाचार श्रोतको बारेमा पनि जानकारी लिएका थिए। दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशनको लागि पत्रकारहरु दक्षिण कोरिया आएका थिए। आईतबार भएको अधिवेशनमा खेम कार्कीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको थियो। २५ तारिख दक्षिण कोरियाको किम्हेमा दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको हो।
एचकेनेपाल डट कम संवाददाता -
काठमाडौ, ११ पुष । सरकारले पुष ५ गते मधेसी यूवालाई नेपाली सेनामा समूहगत प्रवेश गराउने गरी पारित गरेको नीति पत्र तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बैजनाथ उपाध्यायको एकल इजलासले सोमबार मधेसी भर्ना गर्ने सरकारी निर्णय संबैधानिक ब्यवस्था प्रतिकूल हुने भन्दै तत्कालको लागि कार्यान्वयन नगर्न आदेश गरेको हो।
सरकारको सो निर्णयको विरुद्ध चुरेभावर राष्ट्रिय एकता पार्टीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
फैसलामा बाटाको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत के भएको भन्ने विषयमा लिखित जवाफ पेश गर्न मन्त्री परिषद रक्षामन्त्रालय र नेपाली सेनालाई आदेश पनि दिएको छ।
रिटमा मधेसी मूलका वा जाति विशेषलाई मात्र नेपाली सेनामा भर्ना लिने भनी गरिएको निर्णय संविधानमा उल्लेखित व्यवस्थाप्रतिकूल भएको र अन्य जातजाति, क्षेत्र, सम्प्रदायका जनताको मौलिक हक हनन हुन गएको जिकिर गरिएको छ। रिटमा अन्तरिम संविधानमा कुनै जाति विशेषका आधारमा भेदभाव नगरिने स्पष्ट उल्लेख छ।
नेपाली सैनिकमा नयाँ भर्नाका लागि तीन हजार दरबन्दी स्वीकृत गरेको र त्यसमा मधेसीलाई मात्र भर्ना गर्ने र मधेसीमध्ये महिला, दलित, पिछडिएका जातिलाई समावेश गर्ने भनी पुस ५ मा मन्त्रिपरिषदले गरेको निर्णय संविधान एवं सैनिक ऐन, २०६३ प्रतिकूल भएको दाबी रिटमा गरिएको थियो। रिट चुरेभावर राष्ट्रिय एकता पार्टीको तर्फाबाट त्यसका कोषाध्यक्ष हरिप्रसाद पोखरेलले दायर गरेका हुन्।
अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएको उक्त रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षामन्त्री, प्रधानसेनापति र नेपाली सेनाको मुख्यालयलाई विपक्षी बनाइएको थियो।
फैसलापछि सो पार्टीका सभासद बद्री न्यौपानले सर्वोच्च अदालतले नेपालीको भावना अनुसार सर्वोच्च अदालतले आदेश दिएको भन्दै यसले नेपालीलाई जातको नाममा विभाजन गर्ने षडयन्त्र तत्कालको लागि टरेको बताए।
गोविन्द सुवेदी / एचकेनेपाल डट कम-
पोखरा, ११ पौष । लायन्स क्लव अफ पोखरा भैरवले आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा सोमबार बृद्धवृद्धाका लागि खाद्यान्न समग्री तथा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गरेको छ।
पोखरा १८ रहेको वात्सायन वृद्धाआश्रममा खाद्यान्न तथा पोखरा ३ नदीपुरमा राहेको वाल मन्दिर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।
खाद्यान्न तथा खेलकुद सामग्री वितरण कार्यक्रममा लायन्स कल्व अफ अन्तर्राष्ट्रिय ३२५ वी डिष्ट्रिक नेपालका फष्ट भिडिजि ला.दिपक श्रेष्ठले लायन्स क्लव अफ पोखरा भैरवले आफ्नो पहिलो वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको र स्थापना कालदेखि नै वयोवृद्धाहरुलाई सम्मान गरि क्लवको कार्यक्रम सञ्चालन गर्ने गरेकोमा सोमबार वात्सायन वृद्धा आश्रममा खाद्यान्न र वाल मन्दिर माविमा खेलकुद ,पाठ्य सामग्रीहरु वितरण गरी मानवीय सेवामा लागि परेको भन्दै धन्यवाद दिदै लायन्स सदस्यहरुले यसरी शिक्षा र मानवीय सेवामा लागि परि समाजमा लाग्नुपर्ने विचार व्यक्त गरेका थिए।
कार्यक्रममा वात्सायन वृद्धाश्रमका अध्यक्ष एवं रिजन चेयर प्रसन ला. गोकर्ण कार्कीले वृद्धाअश्रमको स्थापना र पूर्व समयमा वात्सायन नाम गरेका ऋषि आई तपस्या गरेकाले वात्सायन वृद्धाआश्रम नामाकरण गरिएको जानकारी दिदै। सहयोगप्रति आभार प्रकट गरेका थिए।
त्यस्तै वालमन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ला. नरेन्द्र कुमार श्रेष्ठले विद्यालय जस्तो पवित्र स्थानमा लायन्स क्लव अफ पोखरा भैरवको वाषिर्क उत्सवको पूर्वसन्ध्यामा विद्यालयलाई आवश्यक पर्ने पुस्तक र खेलकुद सामग्रीहरु सहयोग गरेकोप्रति आभार प्रकट गरेका थिए। उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका ला. कृष्णमोहन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटि उपसाखा १०/११का सभापति जीवनाथ पौडेल,वालमन्दिर माविका प्रिन्सिपल सुशिल वस्नेत, लायन्स क्लव अफ पोखरा लोकसिटिका अध्यक्ष उत्तममान बुद्धाचार्य, टोल विकास संस्था वडा समन्वय समिति पोखरा १८ का निवर्तमान अध्यक्ष लालित वानिया, ला.वुद्धबहादुर उदास,ला. ला. संजय कुमार श्रेष्ठ, ला. पुष्कर श्रेष्ठ,ला. सुदर्शन बुढाथोकी, ला. नेत्र पौडेल, ला.निर्मल विजुक्छे,ला. राजेन्द्र कङ्साकार, ला. मोती भूजेल,ला. विनोद द्धा,ला. आनन्द किशोर वाटाजु, ला. मेहेश पालिखे र ला. मुकेस कुमार अधिकारी लगायतका वक्ताहरुले छोटो समयमानै लायन्स क्लव अफ भैरवले गरेको विभिन्न सामाजिक र मानवीय सेवाका कार्यप्रति प्रसंशा गर्दै अझै प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा भैरव मन्दिर पोखरा -२ मा रहेको मन्दिरमा आफ्नो स्थापना भएको हुँदा १२ थरि खाद्यान्न र नगद सहयोग, १२ थरि पस्तक लगायत खेलकुद सामाग्री वितरण गरिएको लायन्स क्लव अफ पोखरा भैरवका प्रथम उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले जानकारी दिए।
लायन्स क्लव अफ पोखरा भैरवका प्रथम उपाध्यक्ष लायन सम्मर वहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम अध्यक्ष सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा सम्पन्न भएको थियो।